Friday, March 25, 2022

पानी नभएर भोकै सुत्नुपर्ने बाध्यतामा ब्रुसवाङका चेपाङ

 

पानी नभएर भोकै सुत्नुपर्ने बाध्यतामा ब्रुसवाङका चेपाङ

अर्जुन श्रेषठ, नयाँ पत्रिका, २०७८ फाल्गुण १६ सोमबार

डाँडाको बस्ती, भिरालो जमिन, भिरमै खेतीपाती । टाँकी र सिस्नुको तरकारी, मकैको ढिँडो अनि गिठ्ठा र भ्याकुर । त्यसमा पनि ६ महिना सहकाल, ६ महिना अनिकाल । आकाशेपानीको भर, कुवा धाउन टाढाको बाटो, पानी लिन घन्टाैँको सकसपूर्ण यात्रा । खानेपानी सापटी लिएर दैनिकी चलाइरहेका धादिङका ब्रुसवाङवासीको वास्तविकता हो यो । बेनीघाट रोराङ गाउँपालिका– २, ब्रुसवाङका ३६ घरपरिवार राज्यका आधारभूत आवश्यकताबाट  वञ्चित छन् । 

ब्रुसवाङकी फूलमाया चेपाङ मिर्मिरे उज्यालोमै पँधेरो पुग्छिन् । बिहान तीन बजे घरबाट हिँड्ने उनी पानी लिएर घर फर्कँदा सात बज्छ । फूलमायाले पानी नभएर कैयौँ रात भोकै सुत्नुपरेको पीडा सुनाइन् । ‘बस्तीनजिक पानी–पँधेरो छैन । डाँडै काटेर जानुपर्छ । एक गाग्री पानी लिन हिँड्न सक्नेलाई तीन घन्टा लाग्छ ।’ पानी नभएर धेरै रात भोकै सुतेका छौँ,’ उनले भनिन्, ‘धेरैपटक खानेपानी ऐँचाेपैँचो गरेर चलाएका छौँ ।’

धादिङको बेनीघाट रोराङ गाउँपालिका– २, ब्रुसवाङका चेपाङ समुदाय राज्यले दिने आधारभूत आवश्यकताबाट वञ्चित छन् । वर्षाैँदेखि बस्ती स्थानान्तरणको पर्खाइमा रहेका उनीहरू खानेपानी मेत ऐँचोपैँचो गरेर जीवन धानिरहेका छन् । 

सुत्केरी हुँदा छिमेकीसँग एक गाग्री पानी सापटी लिएर नौ दिन पुर्‍याएँ । १२–१५ दिनमै काखीमा सानी नानी च्यापेर घन्टाैँ धाएर पानी बोकी पैँचो तिरेँ, सम्झँदा पनि साह्रै दुःख लाग्छ । हामीलाई जस्तो दुःख संसारमा कसैलाई छैन होला, नपरोस् पनि,’ लामो सास फेर्दै फूलमायाले भनिन् । ब्रुसवाङका स्थानीय सोमलाल चेपाङले बिहान दुई बजे उठेर पानी लिन जाने र ६ बज्दा बल्ल घर आइपुग्ने बताए । एक गाग्री पानी बोक्न चार घन्टा खर्चनुपर्ने बाध्यता भएको उनको गुनासो छ । पुसमंसिरतिर घन्टाैँ धाएर जाँदा पनि धारामा पालो पर्खनुपर्ने भएकाले निकै समय लाग्ने उनले बताए । ‘स–साना नानीबाबुदेखि वृद्धवृद्धासम्म पानी लिन जानुपर्छ । खानेपानी समस्याले मेलापात, अर्मपर्म गर्न भ्याइन्न । पाहुनापासो आउँदा, चाडपर्वजस्ता समयमा धेरैपटक पानी पैँचो गरेर चलाएका छौँ,’ उनले भने । 

कोही आकाशेपानीको भरमा... 
असार–साउन गइहाल्यो । अब कहिले पानी पर्ला ?’ ब्रुसवाङकै ७२ वर्षीया गौरीमाया चेपाङ आफैँलाई प्रश्न गर्छिन् । उनलाई सधैँ वर्षा र झरी भइदिए हुन्थ्यो जस्तो लाग्छ । आकाशेपानी थाप्न पाइने आसले उनलाई वर्षाको सिजन मन परेको हो । ब्रुसवाङका धेरै परिवारको खानेपानी जोहो आकाशेपानीको भरमा छ । उनी भन्छिन्, ‘शान्ति नेपालले हिलट्यांकी दिएपछि वर्षातको समयमा बिहान भर धाएर पानी ल्याउनुपर्ने समस्या हटेको छ । पानी नपरेको वेला दुई–तीन घन्टा लगाएर डाँडापारि जानुपर्छ । तर, आकाशबाट परेको पानी जम्मा पारेर पिउन थालेपछि अलि सहज भएको छ ।’

आकाशबाट परेको पानी पिउनयोग्य छ–छैन, उनीहरूलाई थाहा छैन । पानी शुद्धीकरण गरेर प्रयोग गर्ने ज्ञानको समेत अभाव छ ।  सरिता चेपाङले शुद्धताभन्दा पनि आवश्यकता ठूलो भएको बताइन् । उनले भनिन्, ‘हिउँदको वेला दुई–तीन घन्टा धाएर डाँडापारि पानी लिन जानुपर्छ । तर, बर्खाको समयमा आकाशबाट परेको पानी हिलट्यांकीमा जम्मा गरेर पानी खान्छौँ । शुद्धभन्दा पनि आवश्यकता ठूलो हो ।’ बिहान–बेलुका पानी बोकेर गाउँका धेरै आमाहरू रोगी बनेको पनि उनले बताइन् । 

न बस्ती सर्‍यो न आवश्यकता टर्‍यो
दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ मा पर्ने ब्रुसवाङवासी काठमाडौंबाट नजिकै भए पनि  राज्यले उपलब्ध गराउने सेवा–सुविधाबाट वञ्चित छन् । उनीहरूलाई आधारभूत आवश्यकताको पहुँचाबाट टाढा पारिएको छ । सेवा–सुविधा विस्तार गर्न कठिन भएको र भूकम्पले पनि थिलथिलिएको ब्रुसवाङवासी सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको पर्खाइमा छन् । आइतसिंह चेपाङ भन्छन्, ‘डाँडामा बस्ती छ । मानिस उभिन नसक्ने भिरमा मकै लगाएर गुजारा चलाइरहेका छौँ । त्यो पनि ६ महिना सहकाल, ६ महिना अनिकाल हो । अन्न नभएर धेरै रात भोकै अनिँदो बिताएका छौँ हामी ब्रुसवाङवासीले’, उनले भने । 

८२ वर्षीय टेकबहादुर चेपाङ पनि सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको पर्खाइमा छन् । ‘बस्ती सारिदिने भनेर गाउँमा धेरै नेताहरू धेरैपटक आए, छलफल भयो । तर वर्षाैँ बित्यो । न बस्ती सर्‍याे, न आधारभूत आवश्यकता टर्‍याे,’ उनले भने, ‘समस्याको भुमरीमा पैँठेजोरी खेलिरहेका छौँ । बस्ती सर्ने आसमा दुई मुठी सास जान मात्र बाँकी छ ।’ भक्कानिँदै उनले भने । आफूहरूको गाउँमा खानेपानी, गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार सबै समस्या रहेको पनि उनले बताए । ‘घरको न घाटको भएर बाँचिरहेका छौँ । ढुंगा खाउँ कि माटो खाउँ भएको छ । यो दुःखको गह्रौँ भारी बिसाउने सुरक्षित ठाउँ कहिले जान पाइएला ?’ रसाउन लागेका आँखासँगै उनले प्रश्न गरे ।  

अन्याेलमै बस्ती स्थानान्तरण
ब्रुसवाङवासीलाई सुरक्षित ठाउँमा सार्ने  आशा देखाइएको वर्षौँ भयो । पाँच वर्ष बित्दा पनि राज्यले न बस्ती सार्न सक्यो, न त आधारभूत सेवा–सुविधा विस्तार गर्न सक्यो । ब्रुसवाङका ३६ घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गर्ने भनिए पनि उनीहरूलाई उपलब्ध गराउने भनिएको जग्गा विवादले उनीहरूलाई थप निराश बनाएको छ । 

जिल्ला समन्वय समितिले बस्ती स्थानान्तरणका लागि एक करोड रुपैयाँ व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर, पहिले तोकिएको जग्गाको मूल्य जग्गाधनीले दोब्बरले बढाएपछि खरिद गर्न नसकिएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले बताए । उनले भने, ‘दुई वर्षसम्म सार्न नसकिएको बस्ती तत्काल सर्छ भन्न सकिन्न । दसैँसम्म सार्ने भनिए पनि रकम, कोरोना, जग्गा विवादलगायत विविध समस्याका कारणले बस्ती स्थानान्तरणको समय सरेको हो । अझै पनि ब्रुसवाङवासीको बस्ती स्थानान्तरण कहिलेसम्म हुन्छ भनेर यसै भन्न सकिन्न ।’

आगामी वर्ष बजेट विनियोजन गरेर बस्ती स्थानान्तरण गर्ने अध्यक्ष डल्लाकोटीले बताए । उनले भने, ‘पहिलो प्राथमिकता बस्ती स्थानान्तरण हो । बिजुलीका लागि पोलहरू गाड्ने काम पनि भइरहेको छ । विद्युत् पुर्‍याउन सकिए अन्धकार र खानेपानीको ऐँचोपैँचो समस्या समाधान गर्न सकिन्छ ।’ 

 


Wednesday, March 23, 2022

‘मर्मत’को राजनीति

 

मर्मत’को राजनीति

रमेशकुमार अधिकारीविचार

 ३० फागुन २०७८ १२:२२

व्यवस्था बदल्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने कमजोरी नेपालको राजनीतिमा पुनरावृत्ति हुँदै आएको छ।

अंग्रेजी शब्द ‘प्रिपेयर’र ‘रिपेयर’ले व्यक्ति, व्यवस्था र राष्ट्रको जीवनलाई दिशाबोध गर्ने सामथ्र्य राख्छन्। ‘प्रिपेयर’ शब्दले नेपालीमा तयार वा तम्तयार भन्ने अर्थ दिन्छ। ‘रिपेयर’ शब्दले मर्मत भन्ने जनाउँछ। ‘प्रिपेयर’ वा ‘रिपेयर’ शब्दसँग राजनीतिको के साइनो छ ?। यो जिज्ञासा शान्त पार्न कुन मोडबाट राजनीति सञ्चालन हुँदा व्यवस्थाले राम्रो नतिजा दिन सक्छ ? भन्ने प्रश्न उत्तरित हुनुपर्छ। यस सन्दर्भमा नाम चलेका विद्वान पिटर उर्सं बेन्डरको भनाइ ती दुई शब्दको मर्म मनन् गर्न उचित हुन्छ। ‘गट फिलिङ’ नामक पुस्तकका लेखक बेन्डरले भनेका छन्– तयार गर्नेभन्दा मर्मत गर्ने काम कठिन हुन्छ (रिपेयर इज डिफिकल्ट देन प्रिपेयर)।
रिपेयर’ मोडबाट राजनीति सञ्चालन हँुदा कठिन मार्गबाट अघि बढ्नुपर्ने हुन्छ र राजनीति सधैं टालटुले र समस्यामा जेलिने स्थिति बन्छ। विगतलाई नियाल्दा नेपालको राजनीति पटकपटक ‘प्रिपेयर’ मोडबाट चल्न सक्ने परिस्थिति बनेको देखिन्छ। तर पनि उक्त मोडमा अडिन नसकेर ‘रिपेयर’ मोडमा सिफ्ट भएको पाइन्छ। यसबाट राजनीति अस्थिर र अविश्वासिलो बन्ने खतरा बढ्दै गएको छ। त्यसैले प्रश्न तेर्सिन्छ ‘रिपेयर’को राजनीति कहिलेसम्म ?

नेपाली जनताले २००७ सालमा प्रजातन्त्र प्राप्त गरेका हुन्। त्यसयता सात दशकभन्दा बढी समय राजनीतिमा खर्च भएको छ। यो अवधिमा नेपाल धर्तीमा राजनीतिक प्रणालीका विभिन्न स्वरूपको प्रयोग भएको छ। प्रयोग गरिएका राजनीतिक व्यवस्था फेरिँदै अहिले संंघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूपमा संस्थागत भएको छ। यो ढाँचामा नेपाली राजनीति आइपुग्दासम्म पनि सरकारको अस्थिरताको नियति भने निरन्तर कायम छ। यही एउटा लक्षण नै काफी छ कि नेपालको राजनीति ‘प्रिपेयर’ मोडबाट चल्न सकेको छैन। अधिकांश समय ‘रिपेयर’ मोडबाट गुजे्रको छ।

प्रिपेयर’ मोडमा चल्न राजनीतिका दुई पाटामा सन्तुलन मिल्नुपर्छ। पहिलो राजनीतिक दलले जनताको विश्वास जितेर सरकारको नेतृत्व गर्ने अवसर पाउनुपर्छ। दोस्रो सरकारको नेतृत्व गर्ने नेताले अवसर उपयोग गर्ने चरित्र र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ। यस आधारमा पछिल्लो ३० वर्षको अवस्थालाई फर्केर हेर्दा जनताले पत्याएर राजनीतिक दलले पटकपटक त्यस्तो अवसर पाएका छन्। यसरी अवसर पाउनेमा २०४८ सालमा नेपाली कांग्रेस दल पर्छ। सो वर्ष सम्पन्न आम निर्वाचनबाट प्रतिनिधिसभामा सुविधाजनक बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गर्ने अवसर उक्त दललाई प्राप्त भएको हो। गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गर्नु भएको थियोे। त्यतिबेला राजनीति र सत्ता सञ्चालन ‘प्रिपेयर’ मोडबाट चल्ने अपेक्षा गरिएको थियो। सुरुका दिनमा लक्षण देखिएको पनि हो। तर तीन वर्ष बित्दा नबित्दै राजनीति र सत्ता सञ्चालन ‘रिपेयर’ मोडमा सिफ्ट हुन पुग्यो। र मुलुकले अनेकथरीका समस्या व्यहोर्ने स्थितिको सिलसिला आरम्भ भयो।

यसरी अघि बढेको ‘रिपेयर’ मोडको राजनीतिले चरम अस्थिरताका बीच माओवादी द्वन्द्व बेहोर्दैमा दशक लामो समय व्यतित भयो। बल्लतल्ल २०६२÷०६३ मा निकास निस्क्यो। राजनीतिक व्यवस्थाले नयाँ स्वरूप ग्रहण गर्‍यो। त्यसपछि २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनबाट राजनीति र सत्ता सञ्चालन ‘प्रिपेयर’ मोडमा जाने अवसर फेरि प्राप्त गर्‍यो। यो अवसरलाई सदुपयोग गर्ने मौका नेकपा माओवादीलाई प्राप्त भयो। संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता सम्हाल्ने अवसर पाउनुभयो। यतिखेर पनि राजनीति ‘प्रिपेयर’ मोडबाट सञ्चालन हुने आम अपेक्षा थियो। तर उहाँले पनि राजनीति र सत्ता सञ्चालनलाई ‘प्रिपेयर’ मोडमा स्थिर राख्न सक्नु भएन। करिब नौ महिनामै स्वयं सत्ताबाट बाहिरिनुभयो। त्यसपछि फेरि राजनीति ‘रिपेयर’ मोडमा फक्र्यो। मुलुकले संविधान निर्माणको प्रसव वेदना व्यहोरिरहेको त्यो समय अत्यन्त कठिन थियो। जेहोस् ‘रिपेयर’ मोडबाटै राजनीतिले संविधान निर्माणको कार्य सम्पन्न गर्‍यो। २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो। ‘प्रिपेयर’ मोडबाट राजनीति चल्ने आशा फेरि पलायो।

नयाँ संविधानबमोजिम २०७४ मा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भयो। संघीय प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई झन्डै दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सञ्चालनको अवसर पाउनु भयो। प्रदेशतर्फ ६ वटा प्रदेशमा उक्त गठबन्धनले सरकार बनाउने हैसियत प्राप्त गर्‍यो। बाँकी एक प्रदेशमा पनि केन्द्रमा सत्ता साझेदारी गरेको दलको नेतृत्वमा सरकार बन्यो। यो अवस्थाले अब मुलुकमा ‘प्रिपेयर’ मोडबाट राजनीति चलेको र सत्ता सञ्चालन भएको देख्न पाउने स्थिति बनेको आकलन गरियो। दुर्भाग्यवश यो स्थिति पनि टिक्न सकेन र फेरि ‘रिपेयर’ मोडबाटै देशको राजनीति यद्यपि गुज्रिरहेको छ। उल्लेखित घटनाक्रमले के प्रमाणित गर्छ भने जनताले राजनीतिक दल विशेषलाई ठुलो दल बन्ने र सरकार सञ्चालन गर्न पाउने हैसियत पटकपटक प्रदान गरेका छन्। तर सत्ता चलाउन पुग्ने नेतृत्वले राजनीति र सत्ता सञ्चालनमा सन्तुलन मिलाउन सकेका छैनन्।

व्यवस्था बदल्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने कमजोरी नेपालको राजनीतिमा  पुनरावृत्ति हुँदै आएको छ। अहिलेका शीर्ष तहका नेताहरूले पछिल्लो ३० वर्षदेखि राजनीतिमा रजगज गर्दै आउनु भएको छ। निर्वाचनका दौरान उहाँहरूले जारी गर्नु भएका प्रतिबद्धता र उहाँहरूका बोलीलाई जनताले विश्वास गर्दै निर्वाचनका माध्यमबाट सत्ता सञ्चालनको अवसर दिँदै आएका पनि छन्। तर पनि कार्यप्रगति सन्तोषजनक हुन सकेको छैन। राजनीतक स्थिरता टिकाउ हुन सकेको छैन। राज्य संयन्त्रका अवयवहरू पनि प्रभावकारी हुन सकेका छैनन्। एक प्रकारले काम चलाउ अवस्थाबाट मुलुक गुज्रिरहेको छ।
संघीय ढाँचालाई सुदृढ रूपमा संस्थागत गर्न सरकारले चौबिसैघण्टा काम गर्नुपर्ने आवश्यकता छ। विभिन्न विषयमा तत्काल कानुन निर्माण गर्न जरुरी छ। तीन तहको सरकारको लय र ताल मिलाउने परिस्थिति निर्माणका लागि धेरै काम गर्न आवश्यक छ। यति धेरै काम हुँदाहुँदै पनि जगजाहेर छ राजनीति सत्ताको किचलोमै फनफनी घुमेको छ। हुन त नेताहरूले आफ्ना अप्ठ्यारा बताउने गर्नुहुन्छ तर सामाजिक चेतना उच्च भएको जमानामा राजनीतिक दलका नेताले आफ्ना अप्ठ्यारा बताएर कमजोर क्षमताको ढाकछोप गर्नु आत्मरति मात्र हो।

सबैले बुझेको कुरा हो राजनीति समग्र नीतिहरूको मूल नीति हो। राजनीति ठिक भए राज्यको समग्र शासन व्यवस्था ठिक हुन्छ। तर पनि राजनीति ‘डेलिसियसली मेस्सी’ छ। देख्दा सजिलो तर बेहोर्दा झन्झटिलो। कसेर नबाटेको डोरी त्यसै भुइँमा राख्दा जसरी गुजुल्टिन्छ राजनीति पनि जतन नगर्ने हो भने त्यसरी नै गुजुल्टिन्छ। राजनीति शास्त्रको यही जटिलतालाई प्रष्ट पार्दै प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्–‘पोलिटिक्स इज मचमोर डिफिकल्ट देन फिजिक्स।’

नेपालको राजनीति संघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूपमा सञ्चालन भइरहेको छ। राजनीतिलाई जीवन्त बनाउने काम राजनीतिक दलहरूको हो। दलका नेता राजनीतिका खेलाडी हुन्। राजनीतिको चित्र सुन्दर र चरित्र सम्मानित हुने आम अपेक्षा सधैं जीवित हुन्छ। राजनीतिका माध्यमबाट शासन प्रणाली पारदर्शी र प्रभावकारी हुने विश्वास सधैं कायम रहन्छ। यिनै अपेक्षा र विश्वासका बीच २०७४ को आमनिर्वाचन  सम्पन्न भएको थियो।

संघीय ढाँचामा तीन तहका सरकारको गठन भएको थियो। निर्वाचित नेतृत्वको कार्यकालको अन्तिम वर्ष चलिरहेको छ। वास्तवमा ‘रिपेयर’ मोडको राजनीतिले पूर्वानुमान गर्नै नसकिने परिस्थिति बन्दो रहेछ। यस्तो परिस्थितिले अनेक दाउपेच खेल्ने ठाउँ दिँदो रहेछ। अहिले न्यायपालिका र व्यवस्थापिकामा जेजस्ता दृश्यहरू देखिएका छन् ती लाजलाग्ने खालका छन्।

भविष्यतर्फ फर्केर हेर्दा भने राजनीतिलाई ‘प्रिपेयर’ मोडबाट सञ्चालन गर्ने अवसर फेरि सामुन्नेमा आउँदै गरेको देखिन्छ। आउने वर्ष २०७९ सालमा तीनै तहको निर्वाचन सम्पन्न हुनेछ। नयाँ नेतृत्व सरकार सञ्चालनमा सरिक हुनेछ। यसरी सामुन्नेमा आइरहेको सुन्दर अवसरलाई नेपाल र नेपालीको उज्ज्वल भविष्य निर्माणको कोसेढुंगा सावित गर्न चुक्नु हुँदैन। अर्थात् अबको निर्वाचनले ‘प्रिपेयर’ मोडबाट राजनीति र सत्ता चलाउन सक्ने परिस्थिति बनाउनुपर्छ। अन्यथा विकास र समृद्धिको विश्व दौडमा नेपाल धेरै पछि पर्नेछ। पुर्खाले बनाएको परिचय र प्रतिष्ठा पनि ओझेल पर्नेछ। यस सन्दर्भमा दलहरूले काल्पनिक योजनाका भाषण गरेरमात्र सुशासन र विकास हुन सक्दो रहेनछ भन्ने सत्यलाई स्वीकार्नुपर्छ। यसका लागि राजनीतिक दलहरू स्वयंले गहिरो आत्मसमीक्षा गरेर सक्षम र सदाचारी नेतालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउनुपर्छ। जनतामा पनि दलका झन्डा र चुनाव चिह्नको पछि लागेर दिएको मतले मात्र असल र सक्षम नेता पाइँदो रहेनछ, उम्मेदवारको चरित्र र क्षमता पनि हेर्नै पर्ने रहेछ भन्ने चेत खुल्न जरुरी छ। निर्वाचनको मैदानमा उत्रेका उम्मेदवारहरूमध्ये सक्षम, सदाचारी र समर्पित पात्रलाई मत दिएर विजय गराउनु पर्छ।

समस्याकै गर्भमा समाधानको बिउ हुन्छ भनिन्छ। आशा गरौं आगामी तीनै तहको निर्वाचनमा नेपालका राजनीतिक दलहरू नै समाधानका द्योतक बन्ने छन्। सम्भावनाका संवाहक बन्नेछन्। उनीहरू निर्वाचनमा योग्य उम्मेदवार चयनमा इमान्दार हुनेछन्। जनताले पनि सन्ततिको भविष्यसमेत हेरेर सक्षम, सदाचारी र समर्पित पात्रलाई गोप्य मतदानका माध्यमबाट रोज्नेछन्। निर्वाचित हुने पात्रले राजनीति र सत्तालाई बुद्धिमानीपूर्वक ‘प्रिपेयर’ मोडबाट चलाउने सामथ्र्य देखाउने छन्। मुलुक नयाँ उत्साहका साथ अघि बढ्नेछ। सुशासन, विकास र समृद्धिका सपना साकार हुँदै जानेछ। 
अधिकारी नेपाल सरकारका पूर्वसहसचिव हुन्।

 

 

राज्य व्यवस्था सुधारको कडी

 राज्य व्यवस्था सुधारको कडी

 १२ असोज २०७८ १०:४३

घरको पालीमाथि राखेको भित्र, भित्रै कुहिइसकेको फर्सी जसलाई हेर्दा सिंगो र सद्दे देखिन्छ। अहिले देश पनि त्यस्तै अवस्थामा पुग्न लागेको छ। देशमा तीनखाले बुद्धिजीवी छन्—आफ्नो बुद्धि विदेशको लागि बेच्ने, देशको हरेक कुरा बिगार्न र भाँजो हाल्नमात्र बुद्धिको दुरुपयोग गर्ने र बुद्धि देशको हितमा खर्चिने (अहिराज)।

एक अर्काथरी पनि बुद्धिजीवी छन् बुुझेर पनि बुझ पचाइपचाइ व्यक्तिगत वा अरूको स्वार्थको लागि काम गर्ने। यस्ता वर्ग सबैभन्दा राष्ट्रघाती हुन्छन्। एक देश हाँक्ने अवसरसमेत पाएका डाक्टर बिवान तः होलान् तर बुद्धिमान भएनन्। भाँडभैलो गर्नमा नै खर्चिरहेका छन् आफ्नो ज्ञान र जीवन दुवै। प्रमुख मन्त्रालयहरू हाँकेका तथा राष्ट्रकै प्रतिनिधित्व गरेका केही अरू पनि छन् सबै बुुझेर पनि राष्ट्रघाती उद्योग गर्नमा उद्दत् छन्।
दोस्रो, तेस्रो पुस्ताका नेताहरू चाहिँ बूढो थाक्रो नभई उक्लिनै नसक्ने लहराजस्ता छन्। समयसँगै थाँक्रो ढल्दा भुइँमा लत्रेर बाहेक यिनको भविष्य केही देखिँदैन। सायद नियति नै पो यस्तो छानेका हुन् कि यिनीहरूले। यो दलदलबाट निस्कन चाहने केही क्रान्तिकारी देखिने ‘विचार समूह’ भन्ने झुन्डहरू पनि आखिर बूढो थाँक्रोकै सहारा लिनपुगे। अब आस गर्ने कसबाट।

तर, यही परिवेश हो वैकल्पिक राजनीतिक अवसरको। सबै प्रमुख राजनीति पार्टीहरू कमजोर भएको यो बेला राजनीतिक नयाँ धारको सुरुवात गर्ने र स्थापित राजनीति पार्टीहरूलाई पाखा लगाई राष्ट्रलाई नयाँ निकास दिने। राष्ट्र, राष्ट्रियता, देश र जनतालाई केन्द्रमा राखी समान राष्ट्रिय मुद्दा बोकेर हिँडेका, बनेका पार्टी, अभियन्ता, संघ, संगठन, अगुवाहरूलाई न्यूनतम साझा राष्ट्रिय मुद्दाको छाता मुन्तिर संगठित गर्न सके यो सम्भव छ। यस्तो गठबन्धनले वैकल्पिक राजनीति धारको रूप लिन सक्छ, अहिले। लक्षणहरू देखिन पनि थालेको छ तर, सार्थकता पाउनेमा प्रश्नहरू छन् अनेक। यसैले सहज भने पक्कै छैन। प्रश्न यो उब्जिन्छ कि किन मिल्न सत्तैनन् त ? यिनीहरू जब सबैको राष्ट्रिय मुद्दा र एजेन्डामा धेरै समानता छ भने ? यसको एक मूल कारण भनेको सबै पार्टी, अभियन्ता, समूह, र अगुवाहरूमा विद्यमान आ–आफ्नै अहम्ता हो भने सबैलाई सम्मानजनक हिसाबले समेट्ने पहल नहुनु अर्को कारण हो।

संगठित हुनुपर्छ, गर्नुपर्छ भन्ने कुरा आदर्श र सैद्धान्तिक जस्तो देखिए तापनि यसलाई वास्तविकतामा रूपान्तरण गर्न नसकिने भने होइन। आ–आफ्नै अहम्तालाई झट्ट त्याग्न नसके पनि यसलाई व्यवस्थापन गर्न सकिएला नि ? अन्यथा आधा शताब्दी वा माथि उमेरका केही गरुँ, गर्नुपर्छ र सकिन्छ भनेर लागेका अगुवाहरूले यो अवसर गुमाउने हो भने कम्युनिस्ट पार्टीका त्रि–मोहन जस्तै असान्दर्भिक भई उनीहरूकै जस्तो अवस्थामा पुग्न धेरै समय लाग्ने छैन। अब निकासका उपायका कुरा गरुँ।
सबैलाई एउटै छातामुनि कसरी ल्याउने ?

- कुनै एक, दुई स्थापित पार्टी वा अभियन्ता समूहले समान राष्ट्रिय मुद्दा र एजेन्डा बोकेका सबै पार्टी तथा अभियन्ता, अगुवाहरूलाई आमन्त्रण गर्ने। सबैलाई सम्मानजनक स्थान दिई समतामूलक वातावरण सिर्जना गरी केही सांगठनिक भेलाहरूको आयोजना गर्ने। सबैको आत्मसम्मानको कदर गर्दै त्यो भेलाले भविष्यमा सञ्चालन हुने बैठकहरूको सभापतित्व सबै पार्टी, अभियन्ताका अगुवाहरूले पालैपालो गर्ने नीति निर्माण गर्ने। यसरी अहम्ताको व्यवस्थापन गर्न सकिन्छ।

तत्पश्चात्का बैठकहरूमा घनिभूत छलफल गरी सर्वस्वीकार्य न्यूनतम राष्ट्रिय मुद्दा तथा एजेन्डाहरू तय गर्ने र एउटै छातामुनि बसी आगामी चुनावमा जाने रणनीति बनाउने। सर्वस्वीकार्य हुन नसकेका मुद्दाहरूलाई पछि सम्बोधन गर्नेगरी हाललाई थाँती राखी अगाडि बढ्ने।
-
केही बैठकहरूको अभ्यासपछि बहुमतको आधारमा केही नेतृत्व तथा विविध विषयमा संयोजकत्व गर्न सक्ने व्यक्तित्वहरू अवश्य पनि निस्कनेछन् भने जनताले रुचाउने केही लोकप्रिय अनुहारहरूको पहिचान पनि हुनेछ। अनि छानिएका व्यक्तित्वहरूलाई अघि सारी चुनावमा जान सकिन्छ। यो अभ्यासलाई भने तदरुकताकासाथ अगाडि बढाउन अब ढिला गर्नु हुँदैन र बढीमा अबको ६ महिनाभित्र यो वैकल्पिक राजनीतिक शक्तिले मूर्तरूप लिनैपर्छ– ठोस चुनावी एजेन्डा र कसरी प्राप्त गर्न सकिन्छ भन्ने रणनीतिसहित।
-
समान राष्ट्रिय मुद्दा बोक्ने नेता, अभियन्ता र विभिन्न अगुवाहरूलाई एउटै छातामुनि ल्याउनसके यो गठबन्धनको राष्ट्रव्यापी सञ्जाल र जिल्ला स्तरसम्मको बलियो संगठन निर्माण पनि सहज हुनेछ। न्यूनतम साझा राष्ट्रिय एजेन्डा नै यो गठबन्धन बनाउने मूल कडी हो।

चुनौती
पहिलो चुनौती भनेको नेता, अभियन्ता, र विभिन्न अगुवाहरूलाई न्यूनतम सर्वमान्य राष्ट्रिय मुद्दाको लागि एउटै छातामुनि ल्याई संगठन गर्नु हो। यसको लागि सबैमा भएको अहम्ताको ससम्मान व्यवस्थापन र चुनावसम्म जाने वातावरणको सिर्जना हो।

दोस्रो चुनौती भनेको यो समूहलाई चुनाव अगाडि तथा चुनाव पछाडिसम्म पनि टिकाइ फुट्न नदिई राष्ट्रिय एजेन्डालाई अगाडि बढाउने र राज्यव्यवस्था सञ्चालनमा गर्ने हो। यसको लागि नेतृत्वमा जाने महत्वाकांक्षा नबोकेका एक सानो सर्वमान्य सक्षम समूहले जिम्मा लिएर यसको व्यवस्थापन गर्न सकिन्छ।

अवसर
देश चुनावी राजनीतिको माहोलमा होमिन सुरु भइसकेको छ र मूल पार्टी र यिनका चोइटाहरू अस्तित्व जोगाउने अनेक रणनीतिमा लागेका छन्। यही समयलाई अवसर बनाउनु पर्छ, वैकल्पिक राजनीति धार सिर्जना गर्ने हो भने।

विभिन्न कालखण्डमा नेतृत्व गर्ने सबैले मनग्य गल्तीहरू गरिसके र गरिरहेका छन् तर, आ–आफ्नो तर्फबाट भएको गल्तीको स्वीकारोक्ति कसैबाट भएको छैन र हुने पनि देखिँदैन। सबै स्थापित पार्टीहरूभित्र राष्ट्रिय चिन्तन राख्ने ऊर्जाशील नेताहरू पनि प्रशस्तै छन् र यी समान विचार समूहका दोस्रो, तेस्रो पुस्ताका नेताहरूले बाहिर निस्कने आँट गरेर नयाँ दिशा दिने हो भने सम्भाव्य वैकल्पिक राजनीतिक शक्तिको रूप पनि लिन सक्छ। तर, क्षमता हुँदाहुँदै पनि यिनीहरूमा न आँट, न हुत्ती न त औकात नै देखियो, बिग्रेका मालिकको अधीनमा बस्नुबाहेक। जबसम्म यिनीहरूले आ–आफ्नो औकातको मूल्यांकन गरेर नयाँ धारको निर्माण गर्ने आँट व्यवहारमा उतार्न सक्तैनन्– यिनीहरू पनि फोहोरको कीरा फोहोरमै रमाउनेभन्दा फरक हुने छैनन्, आदर्श र सिद्धान्तका कुरा जति गरे पनि।

राष्ट्र सुधार्न राज्य–व्यवस्थाको मर्मतसहितको पूर्णजाँच अर्थात् ‘रिइन्जिनियरिङ’ विकल्प हो। देशमा केही गर्नुपर्छ र गर्छु भन्ने भावना छ भने सबै संगठित हुनुपर्छ।

यो परिवेशमा कुनै वैकल्पिक राजनीतिक शक्ति निर्विकल्प रूपमा उदाउन सक्छ देशलाई पुनः सही दिशामा लगी निकास दिनको लागि। कसैले कसैलाई निषेध नगरी स्वच्छ प्रजातान्त्रिक राजनीति अभ्यास सुरु गर्ने संकल्प आवश्यक छ। यस्तो अठोटसहित देशको राज्यव्यवस्था सञ्चालनको प्रष्ट खाका तथा समयतालिकासहितको देश र जनताले पाउने डेलिभरीको व्यावहारिक सुनिश्चितता खट्किएको छ। यसो भए जनताको मन र समर्थन जित्न सकिन्छ। यो नै सम्भाव्य नयाँ राजनीतिक शक्तिको मूल एजेन्डा र चुनावी राष्ट्रिय नारा हुनुपर्छ। अहिले सबै जनताले चाहेको र भन्ने गरेको मूल मुद्दा– भ्रष्टाचार तथा कालोधनमाथि निर्मम कारबाही, विद्यमान चौतर्फी अराजकता हटाई सुशासनको स्थापनासहित जनताको हक अधिकारको सुनिश्चितता हो। वैकल्पिक राजनीतिक धारले जित्न सक्ने मूल आधार भनेको तटस्थ÷असंलग्न ‘न्युट्रल स्विंङ’ भोट हो। जसको भावनात्मक संवेदनशीलतालाई आफ्नो पक्षमा पार्न अहिलेको परिस्थिति उपयुक्त छ।

अब पनि स्थापित पार्टीका नेतृत्वमा चेत नखुल्ने र नयाँ पुस्ताले पनि आँट नदेखाउने हो भने भविश्य अन्धकार छ। लेन्डुप दोर्जे प्रवृत्तिको अस्तित्वलाई नै समूल नष्ट नगरेसम्म नेपालको अस्तित्व सधैं नै संकटमा पर्ने खतरा भने रहिनै रहन्छ। उपरोक्त कुनै पनि अवस्थामा देशले लिने दिशा र भविष्य भने तरल रहनेछ। यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश÷भूमिका, जनताको भावना–समर्थन÷विरोध, शक्तिकेन्द्रहरूको भूमिका र दुई छिमेकीहरूको भूमिकाले विशेष महत्व राख्छ। तर जनताको सकारात्मक वा नकारात्मक भावना र भूमिका नै निर्णायक हुनेछ।
वास्तवमा देशलाई दुर्घटनाबाट जोगाउने हो र देशको भविष्यलाई सही ट्र्याकमा ल्याउने हो भने देशमा केही वर्षको कठोर शासन अनिवार्य छ र यो भनेको ‘कानुनी शासन’को आधारमा कठोर राज्यव्यवस्थाको अभ्यास हो।
यो आदर्शजस्तो देखिने अभ्यास जो कोहीले पनि गर्न सक्छ। पार्टीहरूभित्रका आँट भएका विचारक समूह हुन वा नयाँ गठबन्धनको वैकल्पिक शक्ति। यो कार्य फत्ते गर्ने जसले अठोट गर्छ उसले देशको शक्तिशाली सुरक्षा संस्थाको साथ र समर्थन लिनैपर्छ र यो नै सबभन्दा व्यावहारिक, औचित्यपूर्ण र सान्दर्भिक हुन्छ। यस्तो पावन उद्देश्यसहितको राष्ट्रिय अभियानमा सुरक्षा संस्था÷निकायहरूको साथ, समर्थन हुने देखिन्छ। राजनीतिक महत्वाकांक्षा नेपालको सेनालाई राष्ट्रिय सुरक्षाको हिसाबले पनि राष्ट्रिय हितमा काम गर्न अप्ठ्यारो पर्ने देखिँदैन।

विद्यमान चौतर्फी नकारात्मक पाटोलाई नियाल्दा देश असफल राष्ट्रउन्मुख छ र यसलाई रोक्न अब साधारण उपचारले सकिँदैन। व्यवस्थापनको सिद्धान्तअनुसार अब देशलाई साधारण सुधार ‘रिफर्म’ र पुनर्संरचना ‘रिस्ट्रक्चरिङ’ गरेर ट्र्याकमा ल्याई उद्धार ‘स्याल्भेज’ गर्न सकिने अवस्था कटिसक्यो। अबको कदम भनेको राज्य–व्यवस्थाको पूर्णजाँच÷मर्मतसहित ‘रिइन्जिनियरिङ’ मात्र हो र अहिलेको आवश्यकता भनेको यही हो।
समान राष्ट्रिय मुद्दा/एजेन्डा बोक्ने पार्टी नेता, अभियन्ता, र अगुवाहरूले आफूलाई मात्र ठूलो सम्झने र घमण्डी भ्यागुतो झैं फुल्ने मात्र हो भने भ्यागुताको धार्नी कहिले पुग्दैन। यदि देशमा केही गर्नुपर्छ र गर्छु भन्ने भावना छ भने सबै संगठित हुनुको विकल्प छैन– वैकल्पिक राजनीतिक धार÷शक्ति निर्माणको लगि पनि।
(भण्डारी पूर्वजर्नेल हुन्)

Monday, March 21, 2022

‘नेपाल एकीकरणको इतिहास’ कति पूर्ण? कति अपूर्ण ?

 नेपाल एकीकरणको इतिहास’ कति पूर्ण? कति अपूर्ण ?

डा. जगमान गुरुङ

नयाँ पत्रिका, २०७८ कार्तिक १३ शनिबार 

हामीले इतिहासलाई इतिहास बनाउन जान्नुपर्छ । वास्तविक सत्य र तथ्यका आधारमा इतिहास लेखिनुपर्छ ।

नेपाली सेना, जंगी अड्डाले वि.सं. २०७७ फागुन २७ गते, बिहीबार महाशिवरात्रि, सेना दिवसको उपलक्ष्यमा ‘नेपाल एकीकरणको इतिहास’ शीर्षकको पुस्तक प्रकाशित गरेर एउटा प्रशंसनीय काम गरेको छ प्रा.डा. त्रिरत्न मानन्धर, प्राज्ञ प्रा. दिनेशराज पन्त, प्रा. कमलराजसिंह राठौर र डा. विनोद थापाजस्ता वरिष्ठ इतिहासविद्हरू यस महान् कार्यमा जुटनुभएको छ यस पुस्तकको विवेच्य विषय वि.संं. १८०१ देखि वि.सं. १८७२ सममको घटना भए पनि पुस्तकको पहिलो अध्यायमा पृष्ठभूमिको रूपमा एकीकरण अभियानपूर्वको नेपाल र सेनाको स्वरूपको सन्दर्भमा संक्षिप्त चर्चा गरिएको छ

इतिहास लेखनको मुख्य स्रोत र आधार प्रमाण अभिलेख नै हो तापनि हाम्रा कतिपय लोकविश्वास, मान्यता, परम्परा र जात्रा आदिको विश्लेषणात्मक अध्ययनबाट पनि राम्ररी केलाएर इतिहास लेख्न सकिन्छ जनता सेनाको बीचमा समन्वय गराउने, सेनाको मनोबललाई उच्च बनाउने र रणकौशललाई उदीप्त बनाउने खालका घटनाको समुचित व्याख्या र विश्लेषण गरिनुपर्छ यसैगरी एकीकरणको इतिहासमा नेपाल राष्ट्रको निर्माणमा नेपालका विविध समुदायको भूमिका योगदानको व्याख्या विश्लेषण गर्न अत्यावश्यक  

यस पुस्तकमा गोपालवंशभन्दा अघिको भनेर मानिएको असुरकाल र नागवंशको उपेक्षा गरिएको छ गोपालवंशको भन्दा अघि नेपालमा असुरहरूको शासन थियो स्वर्गका देवराज इन्द्रलाई दमन गरेको हुँदा वाणासुरका छोरा वज्रनाभ दैत्य महेन्द्रदमन नामबाट कहलाएका थिए स्वयं पृथ्वीनारायण शाहले पनि नेपालका गढी किल्लाहरूलाई इन्द्रवज्र तुल्याएर राख्न सकेमा वैरी के इन्द्रको आसन पनि डगाउन सकिन्छ भनेका छन् 

वास्तवमा नेपालको सैनिक इतिहास अघि पुरानो ढुंगेयुग पैशाचकालबाट सुरु हुन्छ नेपालमा मनाइने घोडेजात्रा पर्वको परम्पराबाट यो कुरा सिद्ध हुन्छ घोडेजात्रा नयाँ वर्षको उपलक्ष्यमा रणकौशलको अभ्यासका लागि मनाइने पर्व हो यति लामो गौरवमय इतिहास भएको सेना नेपालबाहेक विश्वको कुनै पनि देशको छैन यसरी यति लामो इतिहास परम्परा भएको नेपाली सेना नेपाल राष्ट्रको गौरव हो अतः नेपालको सैनिक इतिहासको पृष्ठभूमिमा यस्ता गरिमामय विषय समावेश गरिनुपर्छ

यस पुस्तकमा लिच्छवि राजा नरेन्द्रदेवको समयमा चीनले भारतको कन्नौजका राजा हर्षवद्र्धनका सेनापति अरुणाश्वलाई दमन गर्दा नेपालले चीनलाई सात हजार घोडचढी सेनाद्वारा सहयोग गरेको उल्लेख छ, तर नेपालका मायावी राजा अरमुडीले कालीगण्डकीको किनारामा गुरिल्ला युद्धद्वारा कास्मिरका राजा जयापिड (वि.सं. ८३९) लाई परास्त गरेको कुरा भने उल्लेख गरिएको छैन पर्वत जिल्लामा कुस्माको अर्मादिघाट नै नेपालका मायावी राजा अरमुडीले कास्मिरका राजा जयापिडलाई परास्त गरेको थलो हो त्यसकारण नेपाली सेनाको उच्च मनोबल रणकौशलको वृद्धिका लागि नेपालको एकीकरणको इतिहासमा यो घटना र थलोमाथि अत्यन्तै उच्च रूपले प्रकाश पार्न अत्यावश्यक छ

पृथ्वीनारायण शाहको सन्दर्भमा चर्चा गर्दा भुटानका औतारी लामाले गरेको तान्त्रिक अनुष्ठानबाट पृथ्वीनारायण शाहको जन्म भएको हो भन्ने मान्यता छ, तर यो पुस्तकमा यस सम्बन्धमा कुनै चर्चा गरिएको छैन पृथ्वीनारायण शाहले वि.संं. १८०१ मा नुवाकोट विजय गरेको हुँदा यो पुस्तकमा वि.संं. १८०१ देखि नेपालको एकीकरणको इतिहास शुभारम्भ गरेको छ, तर ससुराली मकवानपुरमा बेइज्जती सहेर मनमा ठूलो उत्साह लिई चन्द्रागिरिको डाँडाबाट नेपाल उपत्यका हेरेको घटनालाई नेपालको एकीकरणको सपना मानिएको छ अतः चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको मनमा जुन विचार उत्पन्न भयो, त्यही नै नेपालको एकीकरणको भावनाको उदय थियो त्यस अवसरमा भानु अर्याल कुलानन्द ढकालले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्नका लागि उत्साह दिएका थिए त्यसकारण चन्द्रागिरिको डाँडाको घटनाबाट नेपाल एकीकरणको इतिहास शुभारम्भ गरिनुपर्छ, तर यस पुस्तकमा चन्द्रागिरिको उक्त घटनालाई महत्व दिइएको छैन

पृथ्वीनारायण शाहलाई काशी जान खर्चको अभाव हुँदा बिसे नगर्चीको सल्लाहअनुसार बाह्र हजार गोरखाको घरैपिच्छे एक–एक रुपैयाँ उठाएर बाह्र हजार रुपैयाँ पोको पारेर पृथ्वीनारायण शाह काशी गएका थिए यसबाट बिसे नगर्ची एउटा कुशल अर्थविद् योजनाकार रहेको स्पष्ट हुन्छ यसैगरी पृथ्वीनारायण शाहले ज्ञानकर बाँडालाई पश्चिमतिरको युद्ध रोक्नका लागि मनकामनामा तान्त्रिक अनुष्ठान गराएका थिए नेपाल एकीकरणको भियानमा पृथ्वीनारायण शाहले गुरुसमान मानेका सिद्ध भगवन्तनाथको ठूलो भूमिका छ यसैगरी लखनौका तीनजना मुसलमान कालिगडलाई पृथ्वीनारायण शाहले आफ्नो सेनामा जागिर दिई हातहतियार बनाउने काममा लगाएका थिए तर यस पुस्तकमा यी कुराले ठाउँ पाएका छैनन् त्यसकारण यस पुस्तकमा पृथ्वीनारायण शाहको सन्दर्भमा सबैलाई समेटेर बाहुनको कुरा, औतारी लामाको कुरा, दमैको कुरा, बाँडाको कुरा, जोगीको कुरा र मुसलमानको कुरा लेखिदिएको भए नेपालको एकीकरणमा सबै वर्ग र समुदायको सहभागिता रहेको वास्तविकता राम्ररी स्पष्ट हुन्थ्यो र यसबाट सबै नेपालीमा नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको साझा भावना विकास हुने थियो
एक्लो झागल गुरुङ पोखरा गएर परशुराम थापाको षड्यन्त्रलाई विफल बनाएपछि पृष्ठशोधन गरेपछि पृथ्वीनारायण शाह निर्भीकतापूर्वक अघि बढ्न सकेको घटनालाई विस्तृत रूपमा व्याख्या गरिदिएको भए यसबाट नेपाली सेनामा शौर्य, वीरता र कार्यकुशलताको भावना अभिवृद्धि हुने थियो, तर त्यस्ता वीर झागल गुरुङको तस्बिरसम्मले पनि यस पुस्तकमा ठाउँ पाउन सकेन 

यस पुस्तकको पृ. ५५ मा मिरकासिमलाई जितेपछि गोरख कम्पनी स्थापना गरिएको उल्लेख छ, तर वास्तवमा मकवानपुरमा मुसलमानलाई र सिन्धुलीमा अंग्रेजलाई जितेपछि मुुगलको दोष मेट्न गोरखनाथको नामबाट श्रीनाथ र गोरखकालीको नामबाट कालीबक्स कम्पनी स्थापना गरिएका हुन् यस पुस्तकको पृ. ७१ मा पृथ्वीनारायण शाहले अंग्रेजलाई रोक्न वंशराज पाण्डे, श्रीहर्ष पन्त, वीरभद्र उपाध्याय र वंशु गुरुङलाई सिन्धुली खटाएको उल्लेख छ, तर सिन्धुलीको युद्धसम्बन्धी भूगोल र युद्धको वर्णन पनि राम्ररी मिलेको छैन

पुस्तकमा पृथ्वीनारायण शाहका सन्दर्भमा सबैलाई समेटेर बाहुनको कुरा, औतारी लामाको कुरा, दमैको कुरा, बाँडाको कुरा, जोगीको कुरा र मुसलमानको कुरा लेखिदिएको भए नेपालको एकीकरणमा सबै वर्ग र समुदायको सहभागिता रहेको वास्तविकता राम्ररी स्पष्ट हुन्थ्यो

सिन्धुलीको ढुङ्ग्रेबासको जंगलको युद्धमा अंग्रेजलाई परास्त गरेका सिकारी सर्दार गुरुङको नाम के थियो, त्यो नाम मिलेको छैन अतः त्यो कुरा निश्चित गर्न आवश्यक .शि. बाबुराम आचार्यद्वारा लिखित ‘नेपालको संक्षिप्त वृत्तान्त’ शीर्षक पुस्तकमा ढुङ्ग्रेबासको जंगलमा अंग्रेजसँग लडेका गुरुङको नाम भैंसे गुरुङ लेखिएको ्यसपछि स्वयं इ.शि. बाबुराम आचार्यले लेखेको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह’ शीर्षक पुस्तकको भाग ३, पृ. ४९०–४९१ मा प्रकाशित भाषावंशावलीमा दुई ठाउँमा वंश गुरुङ र एक ठाउँमा वंसु गुरुङ लेखिएको छ तर बाबुराम आचार्यले चाहिँ उक्त पुस्तकको पृ. ४७८–४७९ मा वंसु गुरुङ लेख्नुभएको छ .शि. बाबुराम आचार्यले वंसु गुरुङ लेखिदिएको हुँदा त्यसपछिका इतिहास लेख्नेहरूले यस विषयमा समुचित अनुसन्धान नै नगरी आँखा चिम्लेर वंसु गुरुङ नै लेखे तर यो यथार्थपरक विश्लेषणात्मक इतिहास लेखन होइन केवल अन्धोभक्ति मात्र हो

नेपाली सेनाले अहिले प्रकाशित गरेको पुस्तकमा पनि पं. नयराज पन्तको संयोजकत्वमा संगठित इतिहास संशोधन मण्डलद्वारा सम्पादित एवं जगदम्बा प्रकाशनद्वारा प्रकाशित ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ शीर्षक पुस्तकको पृ. ८६२–८६३ को सन्दर्भ दिएर उक्त सिकारी सर्दारको नाम वंशु गुरुङ लेखिएको छ, तर उक्त पुस्तकमा वंशु गुरुङ नभएर वंश गुरुङ लेखिएको छ यसरी हुँदै नभएको कुराको सन्दर्भ दिनु अथवा एउटा कुरा लेखिएकोमा अनर्थ हुने गरी अर्कै कुरा लेख्नु, यो कस्तो नेपाल एकीकरणको इतिहास लेखन हो ? अतः यो कुरा ज्यादै त्रुटिपूर्ण र आपत्तिजनक छ, किनभने त्रुटिपूर्ण र भ्रमपूर्ण इतिहास लेख्न, छाप्न र पढ्न हुन्न यसले मानिसको मतिभ्रष्ट पार्छ

डा. डिल्लीरमण रेग्मीद्वारा लिखित मोर्डन नेपाल भोल्युम १ को पृ. १९० मा स्थानीय वंशावलीको उल्लेख गर्दै सिन्धुलीगढीको ढुङ्ग्रेबासमा अंग्रेजसँग लडेका सिकारी सर्दारको नाम वंश गुरुङ लेखिएको छ पं. नयराज पन्तको प्रत्यक्ष निर्देशनमा इतिहास संशोधन मण्डलले सम्पादन गरेको कमलमणि दीक्षितजस्ता वरिष्ठ विद्वान्को निर्देशनमा सञ्चालित जगदम्बा प्रकाशनजस्तो गरिमामय संस्थाद्वारा प्रकाशित ‘श्री पृथ्वीनारायण शाहको उपदेश’ शीर्षक ुस्तकको पृ. ८६२–८६४ मा शुद्ध रूपमा प्रस्टसँग उक्त सिकारी सरदारको नाम वंश गुरुङ लेखिएको छ अतः सिन्धुलीको ढुङ्ग्रेबासको जंगलमा गुरिल्ला युद्धद्वारा अंग्रजलाई परास्त गर्ने व्यक्ति बसु गुरुङ वा वंशु गुरुङ नभई वंश गुरुङ हुन् यो नै यथार्थ इतिहास हो अतः हामीले इतिहासलाई इतिहास बनाउन जान्नुपर्छ वास्तविक सत्य तथ्यको आधारमा इतिहास लेखिनुपर्छ

इतिहास संशोधन मण्डल विद्वत्वर दैवज्ञ पं. नयराज पन्तको प्रत्यक्ष संरक्षण र निर्देशनमा संगठित एवं सञ्चालित संस्था हो इतिहास संशोधन मण्डलले वैज्ञानिक अन्वेषण गरेर नेपालको प्रामाणिक इतिहास प्रकाशन गरी ठूलो मान इज्जत कमाएको छ त्यसकारण इतिहास संशोधन मण्डलले गरेको काममा कसैसँग कुनै सम्झौता हुन सक्दैन यदि इतिहास संशोधन मण्डलले गरेको काममा अन्यथा हुन गएमा पं. नयराज पन्त, वरिष्ठ इतिहासविद् धनवज्र बज्राचार्य र प्राज्ञ ज्ञानमणि नेपालको मानमर्दन गरेको ठहरिनेछ

यस पुस्तकको पृ. ८८ मा पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग गर्ने खोटाङ, खार्पाका हरिनन्द उपाध्याय पोखरेल र उनका दाजु त्रिलोचन उपाध्याय पोखरेलको नाम उल्लेख गरिएको छ, तर नेपाल एकीकरणको वातावरणलाई सहज बनाएका पं. विश्वेश्वर अर्याल र जग्गाजमिनको श्रेस्ता मिलाएर नेपाललाई अखण्डित बनाएका पृथ्वीन्द्रोदय महाकाव्यका रचयिता पं. उदयानन्द अर्यालको योगदानको भने चर्चा गरिएको छैन

आज खम्बुवान र लिम्बुवानमा केही असन्तुष्टि बढिरहेको छ पूर्वी नेपाल बृहत् नेपाल राष्ट्रमा समाहित भएपछि पृथ्वीनारायण शाहले धर्म भाकेर किरातहरूलाई उनीहरूको अघिदेखिको जग्गाजमिनको भोग र प्रशासनिक अधिकार थामिदिएर एउटा संरक्षकको दायित्व वहन गरेका थिए यसैगरी पृथ्वीनारायण शाहले जनकपुरका महन्त सुमरनदासलाई उनको पद गुठी जग्गा थामेर मैथिली भाषामा लालमोहर गरिदिएका थिए यसरी पृथ्वीनारायण शाहले मिथिलाक्षेत्र र त्यहाँको भाषा एवं धर्म, संस्कृतिप्रति अपनत्वको भाव दर्साएका छन्, तर यस पुस्तकमा यस्ता यी संवेदनशील कुराहरूको व्याख्या गरिएको छैन

आज खम्बुवान र लिम्बुवानमा केही असन्तुष्टि बढिरहेको छ । पूर्वी नेपाल बृहत् नेपाल राष्ट्रमा समाहित भएपछि पृथ्वीनारायण शाहले धर्म भाकेर किरातहरूलाई उनीहरूको अघिदेखिको जग्गाजमिनको भोग र प्रशासनिक अधिकार थामिदिएर एउटा संरक्षकको दायित्व वहन गरेका थिए ।

नेपाल एकीकरणको इतिहासमा वि.सं. १८३९ आषाढशुदी ८, बिहीबार कालीमराङठानामा लिइएको सैनिक हाजिरीले ठूलो महत्वपूर्ण स्थान राख्छ उक्त हाजिरीमा कुन ठाउँको कुन व्यक्ति हो ? उनको पद के थियो ? उनका साथमा कति जवान र के–कस्ता कति हतियार थिए ? उनको खान्कीमा कति खेत दरिएको थियो ? यी सबै विवरण खुलाइएको छ त्यसकारण नेपाल एकीकरणको इतिहासमा कालीमराङठानाको उक्त सैनिक हाजिरीको महत्वपूर्ण स्थान रहेको हो, तर यो पुस्तकमा कालीमराङठानाको उक्त सैनिक हाजिरीको उल्लेख नगरेर नेपाल एकीकरणको इतिहासको छुटाउनै नहुने एउटा महत्वपूर्ण बुँदा छुटाइएको छ

बहादुर शाहको नायवीकालमा पश्चिमतिरको विजय अभियान थालियो नेपाली सेना स्याङ्जाको लसर्धा र कार्कीकोटमा गएर भेला भए त्यस अवसरमा दलमुखी भएर अघि बढेका देवान जीव शाहले युद्धमा आफ्नो विजय होस् भन्ने कामनाबाट वि.सं. १८४३ ज्येष्ठकृष्ण सप्तमी, शनिबार, घनिष्ठा नक्षत्र, मध्याह्न सिंह लग्नमा लसर्घाको कुलदेवता आलमदेवीलाई नगरा र कर्णाल चढाई पूजाका लागि गुठी पनि राखिदिएका थिए अतः स्याङ्जाको लसर्धा, आलमदेवी पश्चिम नेपालको एकीकरण अभियानको अग्रगामी थलोको रूपमा प्रसिद्ध छ, तर यस पुस्तकमा यो थलो र यहाँ भए–गरेका गतिविधिहरूको चर्चा गरिएको छैन

नेपाली सेनाद्वारा प्रकाशित ‘नेपाल एकीकरणको इतिहास’ शीर्षक यस पुस्तकमा वि.सं. १८७२ वैशाख ५ गते मलाउको युद्धमा कप्तान भक्ति थापाले वीरगति प्राप्त गरेको घटनापछि पश्चिमतिरको युद्धको विवरण टुंग्याइएको छ, तर वि.सं. १८७२ वैशाख ५ मा पश्चिमतिरको युद्ध टुंगिँदैन।मलाउको किल्लामा वि.सं. १८७२ वैशाख गतेको जुनेली रातमा भएको ुद्धमा ७२ वर्षका कप्तान भक्ति थापाले वीरगति प्राप्त गरेका हुन् त्यसको भोलिपल्ट वि.सं १८७२ वैशाख गते राजगढको युद्धमा सुब्बा प्रह्लाद गुरुङले वीरगति प्राप्त गरेपछि चौतारिया बम शाहले युद्धविरामको घोषणा गरिदिए त्यसकारण पश्चिमतिरको युद्ध वि.सं. १८७२ वैशाख ५ गते नभएर वि.सं. १८७२ वैशाख ६ गते टुंगिएको हो

त्यसपछि वि.सं. १८७२ वैशाख १७ गते महाकाली नदीलाई साँध मानेर कुमाउमा नेपाल र अंग्रेजबीच सन्धि भयो त्यस सन्धिमा नेपालको तर्फबाट चौतारिया बम शाह, काजी चामु भण्डारी, कप्तान अंगद घले र सर्दार जसमर्दन थापाले हस्ताक्षर गरेका थिए सन्धि गरेपछि नेपाली सेना महाकाली तरेर बैतडी आएर बसे त्यसपछि वि.सं. १८७२ जेठ गते सबै कुराको वृत्तान्त लेखेर श्री गीर्वाणयुद्ध वीरविक्रम शाहलाई पठाइएको थियो।यसरी पश्चिम किल्ला काँगडातिरको युद्ध टुंगिएको थियो, तर यस पुस्तकमा वि.सं. १८७२ वैशाख ६ गतेदेखि वि.सं. १८७२ जेठ ५ गतेसम्मको वृत्तान्त छुटेकाले यो पुस्तक अपूर्ण छ यसैगरी यस्तो महत्वपूर्ण पुस्तकमा अनुक्रमणिका दिइएको छैन यो त्रुटि यस पुस्तकको दोष हो

अच्युत ता केवल भगवान् मात्रै हुन्छ, तापनि जुनसुकै काम गर्दा पनि गम्भीर हुनुपर्छ अतः अर्को–अर्को संस्करणमा यस्ता त्रुटि सच्याउँदै, अधुरोलाई पूर्ण गर्दै केस्रा–केस्रा केलाएर नेपाल एकीकरणको वैज्ञानिकस्तरको प्रामाणिक इतिहास लेखेर नेपाल राष्ट्रको प्राज्ञिक आवश्यकताको आपूर्ति हुनेछ भन्ने आशा गर्छु

विज्ञेषुकिमधिकम् अस्तु 

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...