नेवार, भोज र वास्तुकला
समय रेखा
चैत्र २३, २०७५अभि सुवेदी
काठमाडौँ — नेपाल सहर अथवा राजधानीको प्रभाव, आकर्षण र केन्द्रीयताको विषयमा एउटा लेख लेख्नुपर्ने मलाई भर्खरै चुनौती आइपर्यो । यसमाथि विचार गर्दा केही विषय खुल्दै गए । पहिलो कुरा कालिक थियो । नेपाल उपत्यका, अलिक पहिले जाँदा नेपाल मण्डल अनि अलकापुरी कान्तिपुरी अझ यता आउँदा काठमाडौं नामले चिनिएको छ ।
तर म सजिलोको निम्ति यसलाई ‘नेपाल सहर’ भन्छु । मेरो विषय काठमाडौं केन्द्रित नेपाली चेतना हो । त्यसमा पनि मैले साहित्यको विषयलाई लिएर काठमाडौं र मोफसलको कुरा लेख्नुपर्ने भएको हो । तर मलाई लाग्यो, नेपाल सहरको विषयमा केही समयदेखि देखिएका परिवर्तन र समस्यालाई लिएर लेख्दा सायद हामीले यो ठाउँको विषयमा भन्नु र लेख्नुपर्ने मुख्य कुरा छुटाउँछौं । एउटा स्तम्भ लेखमा यस्ता विषय छान्नु भनेको एउटा आँधीलाई निम्तो दिनु हो । मेरा निम्ति विषयहरू हुरी हुन् । जो आउँदा कुनै चार पाताको गाइड लाइन बोकेर आउँदैनन् । लाग्यो, नेपाल सहर र मोफसलको विषय मलाई लेख्न दिनेले त्यही अदृश्य चारपाते गाइड लाइन बोकेका थिए । तर मेरो पहिलो हुरी यसरी उठ्यो, जसको वर्णन थोरै शब्दमा मात्र गर्न चाहन्छु ।
नेपाल सहरको वा राजधानीको विषयमा उठेका छलफल आयामिक, अपूर्ण र शक्ति उन्मत्त मनस्थितिका उपज हुन् । यो एउटा इतिहास परिभाषित गर्ने अहम्का कारण नेपाल सहरको मैले भनेको पहिलो चरित्र, म्युजियम, किम्बा किंबन्दी र ‘नेवार बिग्रयो भोजले’ जस्ता उक्तिगत भाष्यमा परिणत भयो । त्यो नेवार सहर जसमा लिच्छवि र केही किराँत कालका स्मृतिहरू पनि छन्, एउटा म्युजियम मानियो । तर त्यो संस्कृति र सभ्यता जसमा प्रस्तुत कला, संगीत र जात्रा अनि उत्सव छन्, जीवन्त छ । त्यसलाई म्युजियम मानेर दोस्रो नेपाल सहर हाबी हुंँदै गयो । म्युजियम र इतिहासको सम्बन्ध गहिरो हुन्छ । तर संस्कृति, कलाका वस्तु, चलन सबै पुराना भए, अब यिनले जीवनमा काम दिंँदैनन् भन्ने धारणा बलियो भएपछि, ‘भैगो अब यी म्युजियममा राखिदिऊँ’ भन्छन् विज्ञहरू । दोस्रो नेपाल सहरले त्यसै गर्ने धारणा र केही पद्धति बनायो । अनि पर्यटकहरूलाई त्यही बुझायो । सम्पदाका ‘डिस्कोर्स’ निकाल्यो । तर एकाध अन्तर्यका कुरामा ध्यान दिएन, दोस्रो नेपाल सहरले । नेवार संस्कृति, सभ्यता र जीवन हिजोको छैन, सत्य हो । परिवर्तन भएको छ र हुन्छ । तर त्यो संस्कृति र जीवन पद्धतिमा एउटा जुन सिर्जनशील गति थियो, त्यो अहिले पनि अनेकौं रूपले देख्न सकिन्छ । हेर्न सक्नुपर्छ । म यो विषयलाई केही वास्तुकला, नाट्य, जात्रा र चलनबाट हेर्न चाहन्छु । छोटो लेख भए पनि विषयसम्म राख्छु ।
यसै क्रममा वसन्त महर्जनले लेखेको ‘भोजले नेवार बिग्रेको छैन’ शीर्षकको कान्तिपुर (१८ माघ २०७५) मा प्रकाशित एउटा सान्दर्भिक लेख भेटेंँ । त्यसमा महर्जनले नेवार बिग्रियो भोजले भन्ने उक्तिलाई अतिरञ्जक चेतनाको अभिव्यक्ति भनेका छन् । लेखमा उनको भनाइको सार यसरी राखिएको छ, ‘भोजले नेवार समाजलाई सक्रिय बनाएको छ । यसले सम्पन्न व्यक्ति वा परिवारलाई प्रोत्साहन गर्छ र अरुलाई प्रगतिको आवश्यकता बोध गराउँछ । यही अवसरमा नयाँ काम वा सामाजिक घटनाक्रम विकास हुने गर्छ ।’ महर्जनले आधुनिक पुँजीवादी उपभोक्ता संस्कृतिको नेवार समाजमा पनि प्रभाव परेको उल्लेख गरेका छन् । त्यो प्रभाव जुन सर्वत्र परेको छ, नेवार समाजमा पनि देखिन्छ । तर यसलाई मान्दा–मान्दै पनि यहाँ भन्न खोजेको मूल कुरा अलिक फरक छ ।
एउटा संस्मरणबाट लेख्छु । नोभेम्बर २०१३ मा चीनको कुनमिनको एउटा सम्बन्धित सम्मेलनमा भएका एकाध छलफलबाट म आफ्नो कुरा जोड्न चाहन्छु । मैले नेपालको अमूर्त संस्कृति वा ‘इन्ट्यान्जिबल कल्चरल हेरिटेज’ (मलाई चल्तीको यो अनुवाद उपयुक्त लाग्दैन) मा आफ्नो कार्यपत्र प्रस्तुत गरेको थिएँ । त्यसमा युनेस्कोकै परिभाषा अनुसार नेपालको, खासगरी पहिलेको नेपाल उपत्यकाको, सांस्कृतिक सम्पदामाथि मेरा विचार राखेको थिएँ । नेपालका दुईजना कलाकार पनि भएको त्यो सम्मेलन उपलब्धिपूर्ण थियो । युनेस्कोको परिभाषा अनुसार, कुनै संस्कृति वा चलन अझै पनि कुनै न कुनै रूपले गतिवान छ भने त्यो ‘इन्ट्यान्जिबल’ संस्कृतिको कोटीमा पर्छ । परिभाषामा ‘काइनेस्थेटिक’ भन्ने शब्द प्रयोग गरिएको छ । गति वा चलायमान भन्ने अर्थ हो, त्यसको । युनोस्कोका प्रतिनिधिले संस्कृतिको कुनै प्रयोग हुनछाडेको सर्त हुनुपर्छ भने । मैले युनेस्कोकै परिभाषा लिएर भने नेपाल सहरमा नेवार संस्कृति गतिवान छ । त्यो नित्य जीवनशैलीमा देखिन्छ, जात्रामा देखिन्छ, भोजमा देखिन्छ, कलाको नित्य साधना र निर्माणमा देखिन्छ, नाच, धिमे, अनि बाँसुरी वादन र गायनमा सुनिन्छ । बहस बढ्दै जाँदा भने तिम्रा विज्ञहरू गएर सुन्दर काठका झ्याल र ढोकाहरूका चित्र खिच्छन्, अनि तिनलाई म्युजियमको संज्ञा दिएर रिपोर्ट लेख्छन् । तर नेवार संस्कृतिमा जीवन हावी भएकाले म्युजियममा जान त्यो मान्दैन । म्युजियम र जीवन्त संस्कृतिका छलफल भएका ग्रन्थ र आलेखहरू छन् । ‘इन्ट्यान्जिबल कल्चरल हेरिटेज’को धेरै वर्ष छलफल भएपछि मात्र यो परिभाषा निस्केको थियो । मैले नेपाल एकेडेमीको प्रा. गोविन्द भट्टराईले सम्पादन गरेको नेपालिज लिटरेचर, आर्ट एन्ड कल्चर (२०१३ः२) मा त्यो लेख/पत्र छापिसकेको हुनाले यहाँ दोहोर्याउन चाहन्न । मैले भक्तपुरको परिवेशमा गएर लेखेका अनि अनेकौं ठाउँमा मञ्चित भएका दुइटा नाटक ‘आरुका फूलका सपना (२०५८)’ र ‘चिरिएका साँझहरू (२०६८)’ मा पनि त्यो अन्तर्य राख्न खोजेको छु ।
दोस्रो, नेपाल सहरले नेवारको भोजको अन्तर्य अनि त्यसको कालिक गतिले समय, संस्कृति, स्मृति र समाजको एक कलेवर रचना गरेको देखेन । दोस्रो नेपाल सहर पछिल्लो पुँजीवादी प्रसाद ग्रहण गरेर त्यसैमा मस्त छ । हिजो खासै केही धन नभएका परिश्रमी, राम्रै सिद्धान्त भएका राजनीतिका मानिसहरू दोस्रो नेपाल सहरमा आए । यहाँ धनको उपयोग वा दुरुपयोग गर्ने अवसर भएकाले तिनले यतैको जीवन सजिलो माने । यो दोस्रो खण्डको विषय भए पनि यहाँ यत्तिसम्म उल्लेख गरिहाल्छु । पछिल्लो पुँजीवादी उपभोक्तावादी अर्थनीति भएका, अकुत धन कमाएकाहरूले वर्षभरि नै धेरै पैसा खर्च गरेर गरेका भोज, अपव्यय, खाद्यवस्तुका छताछुल्ल दुरुपयोग गरेर टन्न भएर देखासेखीको संस्कृतिलाई अगाडि ल्याइरहेको अवस्था हो, अहिलेको ।
युनेस्कोका अष्ट्रियाली आर्किटेक्ट कार्ल पुसरले नेपाल उपत्यकाको बृहत किताब (१९७५) मा पहिलोपल्ट यहाँ ८८८ वटा वास्तु सम्पदा रहेको देखाए । तर एउटा भोज सान्दर्भिक आर्किटेक्चरको विषय यहाँ राखिहाल्न चाहन्छु । नेपाल मण्डलमा जीवन र मृत्यु, उत्सव र शोक यस्तो जीवन दर्शनसँग जोडिएका छन्, जसमा बाँच्नु र कर्म गर्नुलाई एउटा नदी, एउटा प्रवाह मानिन्छ । पहिलो नेपाल सहरमा साधारण किसान र तिनका कर्मबाट जीवन दर्शन हेर्नुपर्छ । निम्न वर्गका ती कलाकार किसानहरू शोषित थिए । समाजमा ती दुःखले जीवन धान्थे । आफ्नै भूमि भएका केही किसान भए पनि नभएका धेरै थिए, जसको लेखाजोखा नभेटे पनि हामी तिनको जीवन पद्धतिबाट अनुमान गर्न सक्छौं । एउटा अर्को कुराले मलाई जहिले पनि प्रभावित गरिरहन्छ । इटालीका लेखक पओलो पोर्टोघेसीले एउटा प्रकृति र वास्तुकला (२०००) भन्ने किताबमा भनेका छन्, मानिसहरूको भेला हुने, झुरुप्प भएर शब्द, ध्वनि र अभिनयले कुरा भन्ने स्वभाव हुन्छ । उनीहरू त्यही अनुसारको वास्तुकला रचना गर्छन् । उनी त्यसलाई ‘फ्रन्टालिटी’ वा अग्रत्व भन्छन् । पहिलो नेपाल सहरका मूल वास्तुकलामा त्यो स्वभाव प्रतिविम्बित हुन्छ । एकाध उदाहरण छन् । बसन्तपुर
र पाटन दरबार स्क्वायरलाई लिऊँ । यी रचना बनाउनेहरू तिनै साधारण, किसान र शिल्प भएका मानिस थिए, जो सहरका यी आकार बनाएर साँझमा आफ्ना निवास खेत वा बाहिर भागमा जान्थे । तर तिनीहरूले वर्षको एकपटक भोज गर्ने ठाउँ पोर्टोघेसीले भनेजस्तै दरबार वा मन्दिरका अग्रभागका चोक वा आँगनमा बनाए । ती त्यहाँ भोज गर्न फर्के अमूक दिन र पर्वमा । बसन्तपुर दरबार स्क्वायरमा हुने वर्षदिनको भोज त्यही हो । हाम्रा अंग्रेजीका विद्यार्थी थेचोका गौतम महर्जनले लेखेको एमफिल थेसिसमा पाटन दरबार स्क्वायरमा किसानहरू वर्षमा एकदिन त्यहाँदेखि आएर भोज गर्ने चलनको बयान गरेका छन् । नेवारको भोज यसरी कला र वास्तुकलासँग सोझै जोडिन्छ । नाचसँग जोडिन्छ, संगीतसँग जोडिन्छ, कार्तिक नाचसँग जोडिन्छ, मन्दिरका रचनाहरूसँग सदियौंदेखि जोडिएको छ । धेरै धनको दुरुपयोग गरेर उपभोक्तावादी भोज हसुर्नेहरूले यो नबुझ्नु स्वाभाविक हो ।
नेवारको उत्सव भोज र प्रस्तुति कलाको वास्तुकलासँग सम्बन्ध छ । मरुटोलदेखि पकनाजोलसम्म लगिने इन्द्रजात्राको उपकु यात्राले लिएको बाटोबाट मध्ययुगिन सहरको आरम्भ भएको देखिन्छ भनेर सिनासको हिस्टोरिक सिटिज (२०६८ः३२) मा अध्येताले लेखेका छन् । त्यो नागर सभ्यता र संस्कृति, अनि ती भोज खाने परिश्रमीहरूले रचेको जीवन्त ‘पोइटिक्स’लाई बुझ्न नखोज्नु वा नसक्नुले गर्दा पहिलो नेपाल सहरलाई लिएर गरिएका वर्णन अपूर्ण भएका हुन् ।
प्रकाशित : चैत्र २३, २०७५ ०८:५६