Thursday, October 29, 2020

दसैं: शास्त्रीय आवरणमा छोपिएको नेपाली मौलिक चाड

 


दसैं: शास्त्रीय आवरणमा छोपिएको नेपाली मौलिक चाड

डा. मीन श्रीस मगर

, आईतवार २३:३०

https://www.sajhahub.com/others/,

डा. मीन श्रीस मगर

परिचय

नेपाली समाज जातजाति, भाषाभाषी, धर्म–संस्कृति र भूगोलका आधारमा विविधतायुक्त भए पनि राज्यले हिन्दू शास्त्रीय मान्यताको सापेक्षतामा राखेर हेर्ने परम्पराका कारण यहाँ मनाइने सबै चाडवाडहरू हिन्दू ठहरिएका छन् ।

नेपालको संविधान २०७२ मा धर्मनिरपेक्ष राज्य उल्लेख गरिएको भए पनि दसैं, तिहार लगायतका राष्ट्रिय चाडवाडहरूलाई सरकारी सञ्चार माध्यमहरूबाट ‘हिन्दूहरूको महान् चाड’भनेर प्रचारप्रसार हुँदै आइरहेको छ । राज्यले दसैंलाई हिन्दू धार्मिक चाड भने पनि विभिन्न समुदायमा आ–आफ्नै मान्यता र फरक–फरक शैलीमा मनाउने गरिएको पाइन्छ । यदि दसैं हिन्दू धार्मिक चाड नै भए त हिन्दू दर्शनको उद्गम स्थल भारत र नेपालमा समान शैली, विघि र प्रक्रियामा मनाइनु पर्ने हो । त्यसैले दसैं शास्त्रीय मान्यताका आवरणमा छोपिएको नेपाली मौलिक चाड हो भन्ने प्रष्ट हुन्छ ।


जहानीय राणा शासनका संस्थापक जंगबहादुर कुँवरले वि. सं. १९१० सालमा लागू गराएको हिन्दू धर्मशास्त्रमा आधारित मुलुकी ऐनको प्रभावबाट जसरी नेपाली समाज आजसम्म जातीय तथा लैङ्गिक विभेद र छुवाछुतको अमानवीय दलदलमा फसिरहेको छ । त्यसरी नै नेपाली मौलिक चाडवाडहरू पनि त्यही मुलुकी ऐनको कुप्रभावबाट सङ्क्रमित बनेको छ । वास्तवमा नेपाली समाज धार्मिक तथा सांस्कृतिक औपनिवेशिकरणको दासताबाट मुक्त हुन सकिरहेको छैन । त्यसैले आफ्नै पुर्खाहरूबाट स्थापित मौलिक परम्परागत धरोहरहरूलाई पनि सतही अध्ययन र बतासे निष्कर्षका आधारमा आयातित ठान्ने र भत्काउने बाटोमा उन्मुख भइरहेको देखिन्छ ।

दसैंका मौलिक पक्ष

नेपालमा मनाइने ‘दसैं’भारतमा मनाइने ‘दुर्गापूजा वा दशहरा’को नेपाली भर्सन होइन । प्राचीनकालदेखि नेपालका पहाडी समाजमा मनाइने शरदकालीन कृषि उत्सव (harvest festival)हरूको विकसित तथा एकीकृत रुप नै दसैं हो । असोज महिना वर्षे बाली मकै स्याहार्ने र हिउँदे बाली जौं, तोरी आदि लगाउने समय भएकाले बाली लगाउनु र स्याहार्नु अघि पितृ र प्रकृतिबाट आशीर्वाद लिने तथा धन्यवाद दिने संस्कार सम्पन्न गर्ने क्रममा शरदकालीन उँघौली उत्सव दसैं स्थापित भएको हो ।

नेपाली चाड दसैंमा ऐतिहासिक मगरात भनिने गण्डकी प्रश्रवणक्षेत्रको स्थानीय मान्यता, विधि र शैलीको प्रभाव बढी देखिन्छ भने शास्त्रीय मान्यताको प्रभाव आवरणीय वा सतही रहेको छ । सामान्यतया असोज शुक्लपक्ष प्रतिपदादेखि पूर्णिमासम्मको अवधिलाई दसैं भन्ने गरिन्छ ।


यो समयलाई धौलागिरी र राप्ती क्षेत्रका मगरहरूले पितृपक्ष मान्दछन् । वागलुङ, गुल्मी र अर्घाखाचीका ‘चारथर–तीनघर–चारखाल’ समूहका मगरहरूले दसैंको षष्टीका दिन पितृपूजा गर्दछन् । पश्चिम वागलुङको निसी र रुकुमको खलङ्गा, महत, रुघा आदि स्थानका मगरहरूले अष्टमीका दिन कुलपितृ पूजा गर्दछन् । गुल्मीको ऐतिहासिक मुसीकोटदरवारको दसैंघरमा सारु मगर पुजारीले नवमीका दिन आफ्नो कुल भैरमलाई पुज्ने गर्दछन् । पितृपूजामा दहीचामलको टीका र जमराको प्रयोग गरिन्छ (श्रीस मगर; २०६८: १२४) । खासगरी फूल नपाइने समयमा पितृ र प्रकृतिको पूजा गर्दा मगरहरूले जौंको जमराको प्रयोग गर्दछन् । वागलुङ ताराखोलाका मगरहरूले साउने सङ्क्रान्तिमा पनि जौंको जमरा प्रयोग गर्दछन् भने रुकुम रोल्पातिरको मगर समाजमा माघे सङ्क्रान्ति र सोही समयमा गरिने पितृपूजामा जौंको जमरा र दहीचामलको टीका प्रयोग गर्दछन् (घर्ती मगर, २०७१: ६१ र श्रीस मगर, २०७५: ८८) । डोल्पाली मगरहरूले चैतमा मनाउने रुङ्मा (चैती) चाडमा जौंको जमरा र दहीचामलको टीका लगाउँदछन् (बुढामगर र घर्तीमगर, २०७१: १६५) ।

त्यसैले दहीचामलको टीका र जमरा मगर संस्कृतिको प्रतीक बनेको देखिन्छ, जुन प्रतीक दसैंसँग अन्तरसम्बन्धित भएर नेपाली राष्ट्रिय संस्कृतिको समेत प्रतीक बन्न पुगेको हो । नेपालको तराई र भारतमा मनाइने दुर्गोत्सव वा दशहरामा दहीचामलको टीका र जमराको चलन छैन ।


पिङ्, मारुनी,सराँय नाच र कृषि औजार तथा कोटपूजा दसैंको अर्को मौलिक विशेषता हो । दसैंको आगमनसँगै कोटघरका छेउछाउमा युवाहरूले लिङ्गेपिङ तथा चर्खेपिङ हाल्ने, युवतीहरूले खाजाको व्यवस्थापन गर्ने, पिङ खेलेर रमाइलो गर्ने र झाम्रे बस्ने पुरानो चलन आद्योपान्त चलिरहेको पाइन्छ । अष्टमीका दिन कोट–मौला पूजा गरेपछि साँझपख मारुनी नचाउने गरिन्छ । यसैगरी दशमी अर्थात टीकाको दिनदेखि पूर्णिमासम्म पश्चिम पहाडका गुल्मी, अर्घाखाँची, स्याङ्जा, पाल्पा, प्यूठान, बागलुङ लगायतका जिल्लाहरूमा सराँय नाच्ने गरिन्छ । खुँडा, खुकुरी, तरवार, ढाल जस्ता हतियारहरू प्रयोग गरेर युद्ध अभ्यास वा त्यसको अभिनय गरेर सराँय नाच नाचिन्छ । वाइसी–चौवीसीकालमा सराँय नाचको विकास भएको मानिन्छ । ‘सरायँ नाच’मगर भाषाको ‘सरङ्या स्याई’बाट अपभ्रंश भई जनजिब्रोमा प्रचलित भएको हो । ‘सरङ’नक्कल गर्नु तथा ‘सरङ्या’नक्कल गर्ने व्यक्ति वा नक्कले र ‘स्याइ’को अर्थ नाच हुन्छ । युद्धको नक्कल वा अभिनय गरेर नाचिने नाचको अर्थमा सराँय नाच जनजिब्रोमा प्रचलित भएको बुझिन्छ । वर्षेवाली स्याहार्ने र हिउँदेवाली लगाउने समयमा आफ्ना कृषि औजारहरू दुरुस्त राख्न र त्यसको सुरक्षित प्रयोगका निम्ति एकै स्थानमा राखेर पूजागर्ने क्रममा सैन्य प्रयोजनका निम्ति प्रयोग गरिने खड्ग लगायतका हतियार समेतको पूजा तथा प्रदर्शन गर्ने चलन बस्न गई कालन्तरमा खड्गजात्रा तथा खड्गसिद्धीका विधिविधान र सराँय नाचको परम्परा विकास भएको हो । कोट भनेको हतियार भण्डार हो ।

दसैंमा पूजा गरिने कोटघरहरूमा खुकुरी, खुँडा, ढाल, बन्दुक जस्ता हातहतियारहरू राखिएका हुन्छन् । नेपाल एकीकरणको समयमा कृषि औजार एवं हातहतियार भण्डार गरिने कोटघरहरू देवीका देवस्थलहरूका रुपमा रुपान्तरण भएको बुझिन्छ । राणाकालमा कोट–मौलालाई स्थानीय प्रशासनिक इकाई वा त्यसको केन्द्रको रुपमा समेत लिइन्थ्यो ।

दसैंको सप्तमीका दिन कोटघरहरूमा फूलपाती भित्र्याउने चलन गोरखाको मौलिकता हो । स्थानीय परिवेशमा उपलब्ध हुने वस्तुहरू धानको बाला, मकै आदि अन्नबाली केरा, दारिम, बेल, उखु आदि फलफूलका साथै माने (जलुको), कचूर, जयन्ती, हलेदो (बेसार), अशोक आदि वनस्पतिलाई फूलपातीका रुपमा दसैंघर (कोटघर) मा चढाउने गरिन्छ । एकीकरणको क्रममा गोरखा राज्यको राजधानी काठमाडौं स्थित हनुमानढोका दरवारमा सरेपछि गोरखा दरबारका मगर पुजारीहरूले फूलपाती हनुमानढोका दसैंघरमा भित्र्याउने परम्परा बसालिएको हो । ऐतिहासिक मगरात भनिने गण्डकी र राप्ती प्रश्रवणक्षेत्रमा अहिलेसम्म पनि कोटघर (दसैंघर) हरूमा मगर पुजारीको परम्परा रहेको छ । गोरखादरवार, लमजुङदरवार दसैंघर, कास्कीदरवार दसैंघर, हनुमानढोकादरवार दसैंघर, मुसीकोट दरवार, सल्यानकोट, मनकामना, आलमदेवी लगायतका सबैजसो दसैंघरका पुजारी वंशपरम्परा अनुसार मगर जातिका रहेका छन् ।

त्यसैले दसैंमा दहीचामलको टीका र जमराले कुलपितृ, कृषि औजार एवं कोट–मौला पुजेर परिवारका मान्यजनबाट आशीर्वाद लिनु, कोटघरमा फूलपाती भित्र्याउनु, मारुनी र सराँय नाच्नु, पिङ खेल्नु आदि ऐतिहासिक मगरात क्षेत्रका मौलिक विशेषता हुन् ।

काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायमा आश्विन शुक्लपक्षलाई मोहनी चाडको रुपमा मनाउने प्रचलन रहेको पाइन्छ । घटस्थापनाका दिन आगमघर (पूजाकोठा) मा जमरा (नःलस्वाँ) राखेर मोहनी चाडको प्रारम्भ गरिन्छ । त्यसपछि दसमीसम्म विभिन्न शक्तिपिठहरूमा पूजाआरधना र विभिन्न स्थानहरूमा विभिन्न जात्रा चलाइन्छ । अष्टमीका दिन आफ्नै टोल र शक्तिपिठहरूमा पूजाआजा गर्नुका साथै कुछिभ्वय् (एकै कुलका सदस्य परिवार बसेर गरिने भोज) गरिन्छ । नवमीका दिन अदुवाको बोट, उखुको वोट, कालो र रातो कपडा राखेर घरघरमा आफ्ना पेशा र व्यवसायमा प्रयोग गरिने औजार तथा सामानहरूको पूजा गरिन्छ जसलाई स्याक्वत्याक्व भनिन्छ । यसै दिन दियो बालेर मोहनी टीका भनिने कालो टीका बनाइन्छ । नवमीका दिन कुखुरा, हाँस आदिको बलि दिएर दाजुभाइ बसेर भोज खाने कार्यलाई सीकाःभू भनिन्छ ।

दसमीको दिनको कार्यक्रमलाई चालं क्वकायेगु भनिन्छ । अघिल्लो दिन पूजा गरी राखिएका सामानहरू दसमीका दिन पूजा गरेर निकालिन्छ । यसो गर्दा सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । दसमीमा मोहनी टीका, रातो र सेतो कपडाको कोखाः माला लगाइन्छ । यस दिनमा चेलीवेटी बोलाएर टीकाजमरा लगाई भोज ख्वाइन्छ । मोहनी चाडमा पूर्णिमासम्म आफन्त नातेदर बोलाएर खुवाउने गरिन्छ । टेबहा, कोहिटी, असन, मखन, यटखा आदि टोलहरूमा बौद्धमार्गी नेवारहरूले तान्त्रिकमतानुसार नवमी र दसमीका दिन खड्गजात्रा चलाउँछन् । पञ्चमीका दिन पचली भैरव र अजिमा (आजु र आजिमा देवत्व प्राप्त गरेका पुर्खाहरू) देवीका जात्रा भव्यताका साथ मनाइन्छ ।

पाटनमा नवरात्रदेखि दसमीसम्म प्रत्येक रात अष्टमातृका नृत्य (गँप्याख) मूलचोकमा नचाउने परम्परा छ । पुरानो गुहेश्वरी बालाजुबाट नेवारी ज्यापुहरूले बोकेर क्षेत्रपाटी ल्याई हनुमानढोका कडेल्चोक भगवती पीठमा फूलपाती (३३ थरीका फूल र पात) भित्र्याउने मल्लकालीन चलन पनि यद्धपि रहेको पाइन्छ । यसरी फूलपाती भित्र्याउँदा हाँसको बलि दिइन्छ । ललितपुरको दक्षिणी खोकना गाउँमा घटस्थापनाको दिनदेखि नवमीसम्म सिकाली जात्रा चलाएर उत्सव मनाइन्छ । चौठीका दिनमा गुठीमा राँगो बलि चढाइ साँझ सामुहिक भोज गरिन्छ । पञ्चमीका दिन गाउँभरिका मन्दिरहरूमा रहेका मूर्तिहरू बाहिर निकाली खटमा राखेर विशेष पूजा गरिन्छ भने साँझ खट यात्रा गराइन्छ । षष्ठीका दिन गुठीबाट देवीनाच, श्रीकालीको नाच गरी जात्रा निकालिन्छ । जात्रापछि भोजभतेर पनि हुन्छ । सप्तमीको दिनभरि विभिन्न देवीको नाच गरी साँझतिर मन्दिर प्रवेश गराइन्छ । अष्टमीमा गुठीबाट देउताका मूर्तिहरू बाहिर निकाली गाउँभरि जात्रा गराई राति पुनः स्थापित गराइन्छ । नवमीका दिन प्रत्येक घरमा पाठपूजा गरी गुठीमा सामुहिक भोज खाएर सिकाली जात्रा समापन गरिन्छ । यसरी नौ दिनसम्म जात्रा मनाए पनि त्यस गाउँमा दसमीका दिन टीकाजमरा लगाउने चलन छैन ।

तराईबासी नेपालीहरूले दसैंको बेला दशहरा वा दुर्गापूजा भनेर अलि भिन्न शैलीमा मनाउने गर्दछन् । पहिलो दिन कलशस्थापनादेखि दस दिनसम्म दुर्गाभवानीको विधिपूर्वक पूजाअर्चना गरिन्छ । दुर्गासप्तशती पाठका साथै घरघरमा महादेव पूजन गरिन्छ । यस अवधिमा प्रत्येक विहान घरघरमा ढोल बजाएर दुर्गाभवानीलाई आह्वान गर्ने चलन छ । जनकपुरधाममा दुर्गाभगवतीको मूर्ति बनाएर दस दिनसम्म पूजाआराधना र सांस्कृतिक कार्यक्रम गरिन्छ । घरको प्रवेशद्वारमा गोलाकार मोसो दल्ने, बोक्सीको प्रभावबाट बच्नका लागि कालो कपडामा हिंग, लसुन र सुईको टुक्रा बाँधेर बालबालिकाको घाँटीमा झुण्ड्याउने चलन रहेको पाइन्छ । तान्त्रिक र बोक्सीको टुनामुनालाई प्रभावहिन बनाउन दसैंभरि तन्त्रविद्यामा आधारित झिझिया नृत्यको आयोजना हुनेगर्दछ ।

सन्थाल समुदायमा दसैंभरि सन्थालनाच नचाइन्छ । असंख्य छिद्र भएको माटोको गाग्रोभित्र माटाकै दियो बालेर किशोरीहरूले शिरमा राखी नाच्ने यो नाच घटस्थापनादेखि शुरु गरेर दशमीको रातिसम्म नाचेर गाग्रोलाई नजिकैको जलासयमा सेलाइन्छ । दसैंको बेलामा घटस्थापनादेखि तृतीयासम्म विभिन्न शक्तिपिठहरूबाट बाजागाजा सहित झाँकी निकालिन्छ र बेलवृक्षको पूजा गरिन्छ जसलाई बेलनौती भनिन्छ ।

त्यसपछि एउटै हाँगामा जुधेर फलेका बेलफललाई पहेंलो कपडाले बेरेर मन्त्रोचारण गरी बाँधिन्छ । सप्तमीमा सो बेललाई टिपेर शक्तिपिठहरूमा लगेर बलि दिइन्छ । अष्टमीका दिन राजदेवीको मन्दिरमा बलिपूजा गरिन्छ । कतिपय स्थानमा पञ्चमी, सप्तमी, अष्टमी र नवमी तिथिमा बलि प्रदान गरिन्छ । मिथिलामा दसैं घटस्थापनादेखि नवमीसम्म मात्र मनाइन्छ । दसमीका दिन विहानै नीलकण्ठ चराको दर्शन गरेर दहीचिउरा खाने परम्परा पाइन्छ । घरमा राखिएको जयन्ती लगाइन्छ तर टीका लगाउने चलन छैन । दशमीका दिन मूर्ति स्थापना गरेको स्थान तथा काली र भगवती मन्दिरमा मेला लागेपछि दशहरा समापन हुन्छ । कोजाग्रत पूर्णिमाका दिन लक्ष्मीको पूजा गरिन्छ । मिथिलाका विवाहित महिलाहरूले नवरात्र प्रारम्भ भएदेखि पतिको दीर्घायुको कामना गर्दै उपासना बसेर सप्तमीका दिन दुवो, अक्षता, बेसार, जनै, सुपारी र भेटी सहितको पोका दुर्गादेवी भवानीको खोइँछ (पोल्टा) मा चढाउने परम्परा रहेको छ । माटोबाट बनाइएका देवीका प्रतिमाहरूका आँखा उघार्ने विधि पनि सप्तमीकै दिन गरिन्छ । षष्टिकै दिन रोजिएको बेलको भेट्नाले कातेर आँखा उघार्ने चलन रहेको छ ।

समग्रमा तराईको दशहरा चाड आसामी र वंगाली समुदायको जस्तो बढी धार्मिक र तान्त्रिक हुन्छ भने पहाडी भेकमा मनाइने दसैं बढी सांस्कृतिक र सामाजिक हुन्छ ।

नेपाली वौद्धमार्गीहरूले दसैंलाई राष्ट्रिय चाडकै रुपमा युगौंयुगदेखि मनाउँदै आइरहेका छन् । काठमाडौंका वौद्ध तथा हिन्दूमार्गी नेवार समुदायले समान आस्था र मर्यादाका साथ दसैं मनाउँदै आएका छन् । पाटनवासीले दसैंको अवसरमा कुमारीको हातबाट रातो टीका र जमरा ग्रहण गरी दक्षिणा दिने गर्दछन् । कुमारी वौद्धमार्गी वज्राचार्य परिवारबाट गुठीले नियुक्ती गर्ने परम्परा रहेको छ । काठमाडौं वौद्ध स्तुपा क्षेत्रमा बसोबास गर्ने अधिकांश वौद्धमार्गीहरूको घरघरमा दसैंको रातो र कतिपयले सेतो टीका र जमरा लगाउने चलन रहेको पाइन्छ । दोलखा जिल्लाको उत्तरी भेकमा पर्ने ऐतिहासिक एवं धार्मिक महत्वको विगु गुम्वामा बलि चढाएपछि दैनिक वत्ति बाल्ने परम्परा अद्यापि कायम छ । धार्मिक महत्वको धरोहर मानिने यस गुम्वामा हरेक वर्ष दसैंमा पशु बलि दिइए पछि प्रायश्चित स्वरुप वत्ती बाल्ने चलन रहेको छ (गोरखापत्र समाचारदाता, २०६७: ९) । वौद्धमार्गी डोल्पाली मगरहरूले दसैंमा माईको थानमा कुखुरा काटेर पूजा गरी मनाउने गर्दछन् ।

शास्त्रीय मान्यता

शास्त्रीय मान्यताका आधारमा दसैंलाई ‘विजयादशमी’वा ‘दुर्गोत्सव’का रुपमा मनाउने चलन रहेको छ । हिन्दू धार्मिक शास्त्रीय मिथकका अनुसार रामले रावण माथि र दुर्गाले महिषासुर माथि विजय प्राप्त गरेको उपलक्ष्यमा विजयादशमी र दुर्गोत्सव मनाउन थालिएको भनाई रहेको छ । ई. पू. २०० तिरको कृति मानिएको रामायणका पात्र रामलाई भारत उत्तर प्रदेश अयोध्याका राजा दशरथका पुत्र तथा रावणलाई लंकापुरीका राजा मानिन्छ । अनुसन्धानकर्ता विज्ञहरूका अनुसार रामायणको लंकापुरी मध्य प्रदेशको अमरकंटक दण्डकारण्य क्षेत्र हो ।

दण्डकारण्य क्षेत्र अर्थात समस्त विन्ध्य पर्वत र वनक्षेत्रमा द्रविद आदिवासीहरू गोण्ड, उराँव र शवरहरूको बसोबास छ । गोण्डहरूले आफूलाई रावणवंशी मान्दछन् । ‘लंका’शब्द शवर भाषाको शब्द हो जसको अर्थ पहाडको चुचुरो भन्ने हुन्छ । नर्मदा नदीको मुहान लवण पर्गना निकट किल्ला सहितको एउटा पहाडी टाकुरालाई दक्षिणमा दलदल, उत्तरमा ताल र पूर्वमा समुद्र झैं फैलिएको शोण नदीले घेरेको छ । सोही स्थान नै रामायणमा उल्लेखित लंका हो (चाम्लिङ, २०७७) ।

अर्का मिथकीय पात्र महिषासुरको स्मरणमा शहादत दिवस मनाउन सन् २०१४ अक्टुवर ९ का दिन जवाहरलाल नेहरु विश्वविद्यालय नयाँदिल्लीमा कार्यक्रम आयोजना भएको उल्लेख thttp://thehimalayanvoice.blogspot.com मा गरिएको थियो । उक्त अनलाइन प्रेसनोटका अनुसार महिषासुर वंग प्रदेश (वंगाल, विहार, उडिसा र झारखंड) का प्रतापी, न्यायप्रेमी र शक्तिशाली राजा थिए । आर्यहरूले महिषासुरलाई युद्धमा परास्त गर्न नसकेपछि छलपूर्वक दुर्गाद्वारा हत्या गराइएको थियो । शास्त्रीय मान्यताअनुसार प्राचीनकालको शरदकालीन पूर्णिमाको समयमा अयोध्याका रामले लंकापुरीका रावण तथा दुर्गाले वंग प्रदेशका राजा महिषासुर माथि विजय प्राप्त गरेकाले विजयदशमी वा दुर्गोत्सवको थालनी भएको मानिएको छ ।

यही हिन्दु शास्त्रीय मिथकलाई तोडमोड गरेर नेपालमा केही समूहले लमजुङका द्रव्य शाहले गोर्खाका मगर राजाको हत्या गरेर वा आर्यहरूले आदिवासी जनजाति समुदाय माथि हमला गरेर दसैं मनाउन थालिएको भ्रम सिर्जना समेत गरेको पाइन्छ । दसैंको वास्तविक तथा मौलिक पक्षलाई ओझेलमा पारेर एउटा राज्यले अर्को राज्यलाई वा एउटा समुदायले अर्को समुदायलाई दमन गरेको वा पराजय गरेको मिथकलाई केन्द्रमा राखेर चाडवाडहरूको अपव्याख्या गर्नु भनेको असभ्यता र अमानवीयताको द्योतक हो । धार्मिक तथा सांस्कृतिक औपनिवेशीकरणको दासतामा रमाउने प्रवृत्ति हो ।

गोर्खाली राजा पृथ्वीनारायण शाहको समयदेखि औपचारिक रुपमा नेपाली मौलिक संस्कृतिमा भारतीय संस्कृतिको प्रभाव भित्रिन थालेको मानिन्छ । उनले उत्तर भारतका राजा रजौटाका कन्याहरूसँग विवाह गर्ने परम्पराको थालनी गरेका थिए । यो परम्परालाई पछि राणा शासकहरूले पनि सिको गरे । नेपाल दरबारबाट खजान्जी, ज्योतिष र वेदोक्त ब्राह्मण गरी तीन जनालाई डोलेको रुपमा उत्तर भारतको वनारस, गाजीपुर, आजमगढ, छपरा, गोरखपुरतिर पठाउने गरेको कुरा राष्ट्रिय अभिलेखालयमा संग्रहित उबेलाका अर्जीपत्रहरूबाट प्रष्ट हुन्छ । नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१६) देखि गोर्खा भर्तीको थालनी भएसँगै सर्वसाधारण स्तरबाट पनि संस्कृतिकरणको प्रक्रियामा मलजल पुग्यो । गोर्खा भर्तीको थालनी अघि दरबारिया र उच्च घरानियाहरूले शिक्षा र वैवाहिक माध्यमबाट भारतीय शास्त्रीय मान्यताहरूलाई नेपाली समाजमा भित्र्याएका थिए । परिणाम स्वरुप नेपाली मौलिक चाड दसैंमा राम–रावण तथा दुर्गा–महिषासुरको मिथक मिश्रण हुनगयो भने कोट–मौलाहरू दुर्गा मन्दिरमा रुपान्तरण हुनपुगे ।

निष्कर्ष

दसैं आम नेपालीमा हर्ष र उमंग ल्याउने चाड तथा सांस्कृतिक सम्मिलन र अन्तरघुलनको बिम्ब हो । यसलाई धार्मिक वा साँघुरो परिभाषामा बुझ्नु भन्दा पनि राष्ट्रिय एकता, भाइचारा र सहिष्णुताको सन्देश प्रवाहकका रुपमा बुझ्दा उत्तम हुन्छ । सहिष्णुताको प्रतीक दसैंलाई संकुचित भावना र आडम्वरमा होइन आदर्शमा मनाउनु पर्छ । दसैंलाई हिन्दू, वौद्धमार्गी र स्थानीय प्रकृतिपूजक समुदायले आ–आफ्नै मान्यता र परम्पराअनुसार मनाउनु नै अनेकतामा एकताको सर्वोत्कृष्ट नमूना एवं सामाजिक सद्भावको प्रतीक हो । मध्यकालको उत्तराद्र्धसम्म दसैं सबै जातजाति र सांस्कृतिक समूहको साझा चाडको रुपमा स्थापित भइसकेको कुरा गोरखा दरवार दसैंघरको पूजाआजा सम्पन्न गराउनका लागि विभिन्न जातजातिका मानिसहरूलाई उनीहरूको स्वभाव, विशेषता र जीवनशैलीका आधारमा कर्तव्य तोकिएबाट प्रष्ट हुन्छ । त्यसकारण दसैं शब्दले पनि बालीनाली भित्र्याउने र लगाउने कार्यको थालनी (डस्याक्के) को अर्थबाट माथि उठेर दसौं दिनसम्म देशैभरि धुमधामसँग भिन्न–भिन्न स्थान र समुदायअनुसार दसौं प्रकारले मनाइने दसौं थरिका स्थानीय मान्यताहरूको समग्रतालाई संकेत गरेको देखिन्छ । समय परिस्थितिअनुसार दसैं सम्बन्धि विश्वास, मान्यता र शैलीमा अनेकन रुपान्तरण एवं परिष्करण भित्रिएका छन् ।

नेपाली संस्कृतिमा क्रमशः मगरीकरण, नेपालीकरण र संस्कृतिकरणका प्रक्रियाहरू क्रियाशिल हुँदै आएका हुन् । नेपाल एकीकरणको चरणमा नेपाली संस्कृति निमार्णमा मगरीकरणले केही बढी प्रभाव पारे पनि तत्पश्चात नेपालीकरणको प्रक्रियाले स्थान पायो ।

राणाकालको प्रारम्भसँगै बनेको वि. सं. १९१० को मुलुकी ऐन (legal code 1854)  ले संस्कृतिकरणको प्रक्रियालाई वैधानिकता प्रदान गरेपछि चाडवाडहरूमा शास्त्रीय मान्यताहरूले बढी प्रभाव पारेको देखिन्छ । परिणाम स्वरुप नेपाली मौलिक चाड दसैंलाई विजयादशमी वा दुर्गोत्सवको रुपमा मात्र बुझ्ने प्रवृत्ति देखापरेको छ । आयातित होइन आफ्नै मौलिक परम्परालाई चिन्ने र गर्व गर्ने सोंचको विकास गर्न सकेमा मात्र सही अर्थमा पहिचानको सवालले सार्थकता पाउने देखिन्छ ।

 

Wednesday, October 21, 2020

के ‘मगरात’ मगर जातिको मौलिक धर्मसंस्कृतिको पहिचान बन्न सक्छ?

 के ‘मगरात’ मगर जातिको मौलिक धर्मसंस्कृतिको पहिचान बन्न सक्छ ?

बलबहादुर घर्ती मगर 

https://www.pahilopage.com/2020/10/18/

२ कार्तिक २०७७, आईतवार २०:२७

२०३० को दशकमै प्राडा केशरजंग बरालले मगर जातिका मौलिक लोक संस्कृति र संस्कारहरु सम्बन्धमा अध्ययन गर्नुभएको थियो । उहाँले मगर जातिका सयौँ मौलिक संस्कृति र संस्कार अध्ययन गर्ने क्रममा मगर जातिका आफ्नै मौलिक सांस्कृतिक र धार्मिक मान्यताहरु रहेको निष्कर्ष निकाल्नु भयो । ती मान्यताहरु वस्तुगत, सरल र प्राकृतिक विज्ञानमा आधारित रहेको २०३८ सालमा प्रकाशित उहाँको मगर संस्कृति सम्बन्धी पुस्तकमा उल्लेख गर्नु भएको छ ।

प्रकृतिप्रति श्रद्धा राख्ने पितृपूजक मगर जाति काल्पनिक देवीदेउताहरुको पूजा नगर्ने बरु यथार्थरुपमा अस्तित्वमा रहेका प्राकृतिक शक्ति र पितृहरुको पूजा र शान्ति गर्ने गरेको उहाँको मत छ । मगर संस्कृतिविद् बमकुमारी बुढामगरका अनुसार मगर जातिका आफ्नै २ ऋतुहरु छन् जसलाई उभेउली र उधेउली भनिन्छ । बार्षिक समयचक्रलाई यही २ ऋतुमा मौलिक ढंगले मानव जीवनपद्धतिसँग मगर जातिले आवद्ध गरेको छ ।

मगर संस्कृतिका अध्ययेता डा. मीन श्रीसका अनुसार नेपालको राप्ती–गण्डकी प्रश्ववण क्षेत्रको मगरात सभ्यतामा विकसित भएको पितृपूजामा आधारित लोकधर्मले वाइसी–चौबीसीकालमा राज्यस्तर र नेपाल एकीकरणपछि राष्ट्रियस्तरमा प्रभाव पारेको बताउनु हुन्छ । मगर भाषा र संस्कृतिका अध्ययेता विष्णु सिञ्जाली मगरको धारणाअनुसार मगर जातिको मौलिक संस्कृति आम मगरहरुलाई जोड्ने एक मात्र प्रभावकारी कडी हुनसक्छ । सबै क्षेत्रमा बसोबास गर्ने मगर जातिको संस्कृतिको तुलनात्मक अध्ययन र सांस्कृतिक उपनिवेशको विनिर्माण गरेर हेर्ने हो भने आम मगर जातिको मौलिक संस्कृति र संस्कारको आधारभूत मान्यता एउटै हुन आउने बताउनु हुन्छ । तराली भेगका मगर जाति पनि मगर मौलिक संस्कारहरु अनुसरण गर्ने गरेको मगर संस्कृतिका अध्ययेता जगबहादुर बुढाको धारणा छ । तिब्बती बौद्ध र खस संस्कृतिको चपेटाका बाबजुद डोल्पाका तराली मगरको मौलिक सांस्कृतिक पहिचान आज पनि चुल्होका बज्यु र बराहाको पूजा मार्फत बाँचिरहेको उहाँको धारणा छ ।

यसै सन्दर्भमा मगर जातिको जातीय पहिचान स्थापित गर्न करिब ४ दशकदेखि पहिचानको मगरात आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल मगर संघले उल्लिखित विद्वानहरुको धारणालाई कहिल्यै वास्ता गरेन । मगरात आन्दोलनलाई एउटा राजनीतिक भूगोलको रुपमा मात्र अघि सार्यो । मगरात भूगोल मात्र नभई भाषा, धर्म÷संस्कृति, इतिहास र आम मगरातबासी मानिसहरुको भावना पनि हुन् ।

नेपाल मगर संघले स्थापनाकालदेखि जातीय पहिचानको आधार भाषा र भूगोललाई अघि सारे पनि संस्कृतिलाई भने छलफलमै ल्याएन । खासमा मगर जातिलाई आपसमा जोड्न सक्ने कडी धर्मसंस्कृति एउटा प्रवल आधार हुनसक्छ किनभने धर्मसंस्कृतिमा मगर जातिको साझा इतिहास छ । साझा मिथकहरु छन् । साझा मूल्यमान्यताहरु छन् । साझा आजीविकाको आधार छ ।

मगर जातिलाई नेपाल मगर संघले न त हिन्दू संस्कृतिबाट उपनिवेशिकरण भएको मगर संस्कृतिको विनिर्माणको निमित्त अध्ययन गर्न पहल नै थाल्यो न त मौलिक धर्मसंस्कृतिको जागरण नै उठायो । बरु मगर जातिमा भएको हिन्दू धार्मिक उपनिवेशकरण ८० प्रतिशत भन्दा घटेन । मगर जातिका मौलिक लोक संस्कृति, संस्कार र मान्यताहरुलाई मेट्ने गरी अझ तिब्बती बौद्ध बोन संस्कारलाई मगर जातिको धर्मसंस्कृतिको रुपमा भित्राउन सघायो ।

स्मरण रहोस्, मगर जातिको धेरै मौलिक पर्वहरुमा ल्होसार पर्दैन किनभने मगर जातिको आफ्नो मौलिक लोक संस्कार तिब्बती बोन संस्कृति भन्दा प्राचीन छ । मगर जातिको लोक संस्कृति र संस्कारको स्रोत नेपालको मध्ये पहाडको पर्यावरण हो । यही पर्यावरणमा विकास भएको मगर जातिको मौलिक लोक संस्कार ५ हजार वर्षभन्दा पुरानो छ । मगर जातिको माघे संक्रान्तिको महिमाले मगर जातिको प्राचीनतालाई पुष्टि गर्छ ।

हजारौँ बर्ष पहिले कुटुमबुरा कुटुमबुरीले हिमालयन रेञ्जको मध्ये पहाडमा पहिलोपटक महजरीकोको खोज गरी कोदोको फरमेन्टेशन गरी ‘ली’ बनाउन सिके । यो पवित्र अमृत तथा अन्य लेकाली बुटीले मगर जातिको स्वास्थ्य संस्कृतिमा आमूल परिवर्तनको आरम्भ भयो । मगर आदिवासी प्रविधि संस्कृतिको रुपमा अन्य क्षेत्र र युगौँयुगसम्म विस्तार भयो । मगर जातिको सभ्यता विकासमा महजरीलाई हिन्दू संस्कृति र राज्यतहबाट जति तिरस्कृत र बदनाम गरे पनि आजसम्म जीवन्त रहिरह्यो । मगर जातिको पितृ संस्कार र वंशाणुगत ज्ञानको रुपमा हरेक मगर घरघरका छोरी र बुहारीको जान्मजात आदिवासी शीपको रुपमा रहँदै आएको छ ।

मध्य पहाडको जहाँसुकै पाइने तितेपाती मगर जातिको पूजाआजामा उपयोग हुने धूप बन्यो जो विज्ञानले अधिक एन्टिवायोटिक गुण भएको वनस्पतिको रुपमा व्याख्या समेत गर्यो । भाङ्गो जसलाई फरा भनिन्छ यसको औषधीय उपयोगको अलावा रेसाबाट पोशाक संस्कृतिको विकास गर्यो । मध्ये पहाडमा सजिलै फसल दिने प्राचीन अन्न कोदो, घैया र जहूँलाई खाध्य संस्कृतिमा उपयोग गर्यो । मध्ये पहाडको पर्यावरणमा काठे कैलेगाई तथा लेकाली भेकमा भेडा र लाडनेबाख्रा पालनबाट मगरको प्राचीन अर्थतन्त्र निकै समृद्ध रहेको पुष्टि हुन्छ । पशुपालनका माध्यमबाट पोशाक संस्कृति, खाद्य व्यवहार तथा आभूषण र संगीतयन्त्र समेत निर्माण गरी उपयोग गरेको देखिन्छ ।

यति समृद्ध मगर सभ्यताबाट निःसृत मगर लोक संस्कृति र संस्कार आज गुमनाम भएको छ । सांस्कृतिक उपनिवेशका कारणले कतिपय मगरको मौलिक संस्कृति पनि अरुको झै देखिन थालेको छ ।

अर्कोलाई काखा र आफ्नोलाई पाखा गर्ने नेपाल मगर संघको नेतृत्वको विगतदेखिको प्रवृत्तिमा खासै बदलाव आउन सकेको छैन । नेपालका मगर जाति नेपालको जनसंख्यामा हिन्दू, बौद्ध र ईशाईको रुपमा देखिन्छन् । मगर जातिको मौलिक लोक धर्मसंस्कार मान्नेहरुलाई कहाँ गायब बनाइयो ? यो विषय मगर जातिको पहिचानको स्थापित गर्छु भन्ने नेपाल मगर संघले सोच्नु पर्छ कि पर्दैन ? अब मगर जातिको खास मौलिक धर्मसंस्कृतिको पहिचानको निमित्त कदम नचाल्ने हो भने मगर जातिको इतिहासमा नेपाल मगर संघ एउटा अभिशापको रुपमा परिचित हुनेछ । पहिचानको नाममा पहिचान मेटाउने दलालमा दर्ज हुन्छ । नेपाल मगर संघ मगर जातिको मौलिक पहिचानको आन्दोलन हो नकि बाह्य धर्मसंस्कृति आयात गरी उपभोक्ता बढाउने बजार एजेण्ट ।

हजारौँ मगर पूर्वजहरुले सयौँ पुस्ताको अवधिमा मध्य पहाडको प्राकृतिक पर्यावरणमा विकास गरेको मगर जातिको मौलिक संस्कृति र संस्कारको शुद्धता कायम गर्नु र त्यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो पुस्ताको दायित्व हो । मगरको मौलिक संस्कार मगर जातिको पहिचानको मूल आधारमध्य एक हो । मगर जाति आदिवासी जनजाति हुनु भनेको आफ्नो भिन्न संस्कृति हुनु हो । जो मगर जातिसँग छ ।

मगर जातिको मौलिक संस्कारको मान्यता
मगर जाति आफैमा कुनै धर्मको बन्धनमा बाँधिएको जाति होइन । धार्मिक दृष्टिले यो स्वच्छन्द मानव समुदाय हो । मानव जीवनप्रति आफ्नै दर्शन र सरल परिभाषा छ । प्रकृतिको नियमसँगत मानव जीवनलाई सरल ढंगले निर्धारण गरेको छ ।

मगर जातिको लोक संस्कारमा अलग भगवानको अस्तित्व छैन । मानव जन्ममा र पा अर्थात माता र पिताको उपहार हो । यही मान्यताले मगर जातिमा पितृहरु पूजनीय हुन पुगे । पितृ मानव जीवनोत्तरको चरण हो र त्यो हरेक जीवनको मोक्षको अवस्था हो ।

ईशाइ मान्यताअनुसार मृत्युपर्यन्त आत्माले शान्ति पाउँछ । आत्माले स्वर्गमा शान्ति प्राप्त गर्नु मोक्ष हो । हिन्दू मान्यताअनुसार मृतात्मा बैकुण्ठमा पुग्नुपर्छ । त्यसका निमित्त मृत्यु संस्कारमा गरुढपुराण सुनेर आफन्तले ब्राम्हणलाई दान दिनुपर्छ । बौद्ध मान्यताअनुसार मृतात्मा बुद्धसँग जोडिनुपर्छ त्यसका निमित्त लामाहरुको विशेष शास्त्रवाचन र विधि अवलम्बन गर्नुपर्छ । मगर जातिको लोक मान्यताअनुसार मृतात्मा पितृ बन्छ । कुटुम्बहरुबाट निश्चित विधि पूरा गरी मृतात्मालाई अन्य पितृत्मासँग समाहित गरिन्छ । यो मगर जातिको मौलिक मान्यता हो । मृतकको नाममा लिखिनदुङ खडा गरी बिसौनामा परिवारजनले युगौँयुग पूजा गरिरहन्छन् ।

जीवन प्रकृतिको कृपा हो । घाम, जून, हावा, वर्षा, मुहान, नदी, पहाड, रुख, जंगल, जनावर पत्थर सबैमा आत्मा हुन्छ । तिनको शान्तिले मानव जीवनमा शान्ति हुन्छ भन्ने मगर जातिको लोक मान्यता छ । त्यसैले औँसीपुन्नी, वायो, सिमेभूमे, सातसल्ले, देउराली, बराहा, रमा (झाँक्री), पालु लगायत प्रकृतिको सिम्बोलहरुको थान बनाएर अनुष्ठान हुन्छ ।

मगर लोक संस्कारमा पापको अवधारणा छैन । हिन्दू धर्म जस्तो स्वर्ग र नर्कको अवधारणा पनि छैन । मृत्युपश्चात सरल ढंगले पितृत्व प्राप्त गर्न सक्नु नै मानव जीवन चक्रले पूर्णता प्राप्त गरेको मानिन्छ । अप्राकृतिक मृत्युले वायो हुने र मृत्यु संस्कारमा विधि नपुगेमा प्रेत बन्ने मान्यता छ । यही विधिलाई पूर्णता दिनु कुटुम्बको जिम्मेवारी हुन्छ ।

जन्म, जो मातापिताको उपहार हो, जीवन प्रकृतिको कृपा हो र मृत्यु पितृत्व प्राप्तिको चरण हो । यही चक्रमा मगर जातिको लोक संस्कारले मान्छेमा मानवता भर्छ । मान्छेमा मानवता भर्नु नै संसारभरका धर्महरुको ध्येय हो । के यति प्रष्ट मानव जीवनको मार्गदर्शन दिने मगरको लोक संस्कारलाई अपूर्ण भन्न मिल्छ ?

मगर जातिको यही मौलिक दर्शनलाई संरक्षण र सम्बद्र्धन गर्न मगर जातिमा भएको सांस्कृतिक उपनिवेशको विनिर्माण गरी मगर लोक संस्कारको शुद्धीकरण गर्नु छ । यस सन्दर्भमा मगर जातिलाई रुढिवादी धार्मिक सम्प्रदाय हुनबाट बचाउनु छ । मगर जातिमा लागेको धार्मिक सम्प्रदायको भ्रामक लेप पखाली आफ्नै यथार्थ र खास संस्कारको उजागर गरी पुरनर्जागरणको आरम्भ गर्नु छ ।

त्यसैले, मगर जातिको पहिचानलाई बलियो बनाउन थुप्रै क्षेत्रमा भएको भाषिक, सांस्कृतिक, धार्मिक उपनिवेशीकरणलाई शीघ्र विनिर्माण गर्न मगर जातिको मौलिक संस्कारको शुद्धताका निमित्त सांगठनिक अभियानको आवश्यकता देखिएको छ । यसका निमित्त मगर मौलिक संस्कृति र संस्कार समेटिएको मगरात मौलिक संस्कृतिको नाममा पुनर्जागरण अभियानको थालनी गर्नुपर्छ । यसको निमित्त नेपाल मगर संघको भूमिका निर्धारक हुन्छ ।

विशेषगरी तिब्बती संस्कारमा आधारित बौद्ध धर्म संस्कारलाई मगर जातिको जातीय धर्मको वकालत गर्दै हिड्ने नेपाल मगर संघ अब मगर जातिको आफ्नै मौलिक मान्यताहरु छन् भन्ने बहुसंख्यक मगरहरुको भावनालाई कसरी लिन्छ ? के अब पनि नेपाल मगर संघ जातीय पहिचानको मौलिक संस्कृति र संस्कारलाई रछ्यानमा फालेर धर्मसंस्कार आयात गर्ने बजार एजेण्ट बनिरहन्छ ? हेर्न बाँकी छ ।

जय मगरात !

 

Monday, October 19, 2020

मगर जातिको सामाजिक, राजनैतीक, धार्मिक पहिचान

 मगर जातिको सामाजिक, राजनैतीक, धार्मिक पहिचान

बल बहादुर घर्तिमगर

राज्यसत्ता, Wednesday, 15 May 2019 12:05

मगर जाति नेपालको प्राचीन जाति हो । हाल आएर मगर नेपालभर फैलिएको छ । त्यति मात्र होइन भारत बर्मा र विश्वका अन्य मलुकहरुमा पनि बसाई सर्दै गएको छ । जो जहाँ पुगे पनि हाल भौगोलिक पहिचान स्थापित गर्न खोजिएको भूमि नै मगर जातिको मूल थलो हो ।

मगर जाति मध्येपहाडी भूभागको पहारिलो स्थानमा बस्न रुचाउने जाति हो । त्यसैले पहाडी क्षेत्रका पहारिला ठाउँमा मगर वस्ती आज पनि देख्न सकिन्छ । मगर वस्तीहरु एकै ठाउँमा एकिकृत रुपमा रहेका देखिन्छन् । घरमा झल्कने वास्तुकला र बसाईको एकरुपताले मगर जातिको भावनात्मक एकतालाई पनि प्रतिविम्वित गर्दछ । त्यसैले होला समुदायबाद मगर जातिको प्रमुख विशेषता हो । हरेक निर्णयहरु व्यक्तिगत भन्दा समुहबाट निर्धारण हुने गर्दछ । मामा चेली र फूपुचेलाबीच विवाह सम्बन्ध हुने यो जातिको सामाजिक संरचना पनि नेपालका अन्य जातजाति भन्दा भिन्न छ । खासगरी मध्ये पहाडको प्राकृतिक श्रोतको उपयोग र व्यवस्थापनमा मगर जातिको अब्बल क्षमता रहेको छ । पुनरजन्ममा विश्वास गर्ने तर स्वर्गको परिकल्पना नगरिएको मगर जातिको जीवनोत्तर अवस्थाको पनि आफ्नै खालको विश्वास र मान्यता छ ।

मगर जातिको राजनीतिशास्त्र

मगर जातिको आफ्नै राजनीतिशास्त्र छ । समुदायवाद मगर जातिको मुख्य राजनीतिक दर्शन हो । यो परिवारको तहसम्म पनि रहेको छ । पारिवारिक निर्णयमा महिलाको सहमति वेगर कमै निर्णय हुने गर्दछन् । मगर जातिमा शुरुवातमा खसहरुको प्रभाव त्यसपछि हिन्दु समाज व्यवस्थाको जबरजस्त प्रभाव परेको देखिन्छ । यसले मगरको मौलिक राजनैतिक प्रकृयामा पनि निकै बदलावहरु भए । यसको परिणाम आज हाम्रो सामू छ । मगरहरुको मौलिक राजनैतिक अभ्यासले नेपालको राजनीतिक विकासक्रममा केही न केही प्रभाव पारेकै होला तर यसको अध्ययनको खाँचो छ । नेपालको भूमि प्रशासनमा प्रचलित रैकर शब्द मगर भाषाबाट नै गएको शब्द हो ।

रई राजा वा मालिक हो । मगर जातिमा आज पनि रई भन्ने शब्द छ । यसले पनि मगर जाति सामुहिक तर केन्द्रिकृत नेतृत्वमा विश्वास गर्ने जाति हो । मगर जातिमा उमेर नेतृत्वको मुख्य योग्यता हो तर निर्णय सामुहिक हुने गर्दछ । शिर्तू, ङएतामे, पोन निर्धारणमा मुख्य आधार आज पनि उमेर रहनु यस्को ज्वलन्त उदाहरण हो । मगर जाति वंशलाई नभई उमेरलाई नेतृत्वको मुख्य आधार मान्दछ । उमेरले जेठो मान्छे समुहमा सम्मानित हुन्छ । उसबाट समुहले अगुवाईको अपेक्षा गर्दछ । परिवारमा पनि जेठो मान्छेको आशन अरु भन्दा विशेष हुन्छ । विवाद निरुपण तथा कुनै विशेष कार्याम्भमा पनि समुदायको जेठो व्यक्तिको भूमिका अपेक्षित गरिन्छ ।

मगर जातिको सामाजशास्त्र
मगर जाति हिन्दु वर्ण व्यवस्थाबाट प्रभावित छैन । हिन्दुहरुले वैंश्य जातिको व्यवहार गर्न खोजे पनि वि.सं. २०५८ पछि भने आदिवासी जनजातिमा समुहकृत भएको छ । यसले मगर जातिलाई कथित हिन्दु वैंशे जातिबाट मुक्ति दिलाएको छ । मगरभित्र कुनै पनि थरहरु उचनीच शुध्द अशुध्द हुँदैनन् । सामान्य त मगर जातिका प्रमुख थर पद हुन् भने उपथर उत्पत्तिको थर हुन् । जस्तो रोका पुन बुढा भनेका क्रमश ग्राम उपप्रमुख, पुजारी, सेनापति हुन् । पुन मगरजाति भित्रबाट विकास भएको पद हो भने बाँकी दुई खस राज्यबाट आयात भएका हुन् । राना थापा लगायतका थरहरु पनि पद नै हुन् । उपथर खुट्याएर विवाहबारी चलाउने प्रचलन आज पनि छ जस्तो बाइजाली र दर्लामी । मामाचेली र फूपुचेलाको विवाह हुने भएकोले उपथरकै आधारमा पूर्व निर्धारित इस्त माइतीको स्थायी नाता सम्बन्ध रहेको हुन्छ । विवाह हिन्दु धर्म जस्तो कन्यादानको दर्शनबाट निर्देशित नभएर संझौता सम्बन्ध वा माइतीको चेलीमा

इस्तको हकले तय गर्दछ । त्यसैले बुहारीको स्थान कमजोर हुँदैन । माइती पक्ष बलियो र माथिल्लो स्थानमा हुने हुँदा कुटुम्बका लागि माइतीको आशिर्वाद सदा अपेक्षित हुन्छ ।

मगर जातिको अर्थशास्त्र

मगर जाति नेपालको मध्ये पहाडी क्षेत्रमा सदियौँदेखि रही आएको जाति हो । मध्येपहाडका धेरै जस्तो स्थानको नामाकरण पनि मगर भाषाबाट नै भएको देखिन्छ । यहाँको जल जमिन जंगल जडिबुटीको उपयोग गर्दै पुस्तौँ पुस्तासम्म रही आएको मगर जातिको मुख्य पेशा खेती र पशुपालन हो ।उपल्लो भेगतिर भेडापालन पनि मुख्य पेशाको रुपमा देखिन्छ तर मध्ये पहाडमा अन्नबाली र गाई भेडा बाख्रा पालन प्रमुख जीविकोपार्जनका साधन हुन् ।

पाहा अरिङ्गाल छिचिम्म्रा सुगुर गाई भैसी तथा सिस्नो जुलुका च्याउ कोदो जस्ता जीव र वनस्तपती समेत मगर जातिका खाध्य श्रोत हुन् जस्लाई गैररैथानेले अखाध्य वस्तुको रुपमा परिभाषित गर्दै आएको देखिन्छ । केही दशक अघिसम्म नुन बाहेक सबै वस्तु आफै उत्पादन गर्न सक्ने र आत्म निर्भर अर्थतन्त्र भएको जाति हो मगर । पछिल्लो समय भने भारतीय र बेलायती सेनामा सेवा गर्ने अभ्यास हुन थालेपछि मगर जातिको अर्थशास्त्र लाहुरिज्मतिर शिफ्ट भएको छ । यो आज झन् विस्तार भएको छ ।

मगर जातिको संस्कृति

नदीनालाका मुहान, पर्वत, जंगललाई मगर जातिले पूजा गर्दछ । विसौना स्थापना गरी पुस्तौँ पुस्ता पित्तरहरुलाई वरपिपल घेरेर थापना गर्ने चलन छ । परिवार आफ्ना पित्तरहरु आफ्नै कुलमा पुनरजन्म लिएर आउन भन्ने अपेक्षा गर्दछन् । मृत्यूपछि पनि पित्तरको रुपमा घुर विसौनीमा आफैसँग रही रहने हुँदा मिठो मसिनो र पाहुनाको पाहुर पहिलो नम्बरमा उनीहरुलाई पस्केर मात्र अरुले खाने चलन छ । यसले मगर जाति आफ्ना पूर्वजप्रति अति समर्पित जाति हो भन्न सकिन्छ । मगरहरु १२ भाई इहरीहरुलाई बराहाको रुपमा पूजा गर्ने गर्दछन् । नेपालमा बली दिएर वर माग्ने र वर प्राप्त गर्न सकिने विश्वास भएका देवी देउताहरु मगरहरुकै बराहा हुन् । रोल्पाको जलजला म्याग्दीको खैर बराहा तनहुँको छब्दी बराहा फेवातालको ताल बराही गोरखाको मनकामना यसका उदाहरण हुन् । जन्म विवाह मृत्य संस्कारहरु आफ्नै खालका छन् । कुटुम्ब विना यिनको विधि पुरा हुँदैन । मगरको कर्म काण्डमा पण्डित लामा पाश्चरको खाँचो हुँदैन । कुटुम्ब वा इस्तहरु अनिवार्य छ ।

मगर जातिको धर्म

मगर जाति कुनै धर्मको बन्धनमा बाँधिएको जाति होइन । संस्थागत रुपमा मगर संघले मगरको जातीय धर्म बुध्द घोषणा गरे पनि त्यो यथार्थ होइन । नेपाल हिन्दु अधिराज्य हुँदा हिन्दु धर्मलाई काउन्टर गर्न पनि नेपालको दोश्रो ठूलो धर्म बौध्द अंगालियो होला । अर्को कुनै समय यस्तो थियो कि धर्म नभएको पनि मान्छे हुन्छ र, भनिन्थ्यो । प्रकृति पूजकले पहिचान पाएको थिएन । धर्मको महलमा कुनै न कुनै धर्म उल्लेख गर्नु पर्ने बाध्यता थियो । त्यसैले मगर संघले हिन्दुको ज्यादती विरुध्दको आवाज उठाएको पनि हुन सक्छ । त्यो सन्दर्भमा सायद नेपालको मगर जातिसँग त्यो नै उपयुक्त विकल्प थियो होला । तर मगर जातिको जातीय धर्म बौध्द हुन सक्तैन । यसो भनिरहँदा खेरी फेरी डोल्पाका काइके भाषी मगरहरु र अन्य बौध्द धर्मालम्बी मगरहरुको पनि धर्म बौध्द होइन भनेको चाँही होइन । तिब्बती समुदायसँग निकट रहेका मगरहरुले भने बौध्द धर्म अंगालेको देखिन्छ । अन्य मगरहरुमा हिन्दु धर्मको प्रभाव बढी देखिन्छ । कतिपय मगरहरुको त बाहुन पण्डित विना कर्मकाण्ड नै नहुने अवस्था पनि छ, खस जस्तै । कतिपय मगर क्रियश्चनतिर प्रवेश गरेको पनि पाइन्छ । तर जो जहाँ भएपनि यो चाँही निश्चित हो कि मगर जाति धार्मिक सम्प्रदाय होइन बरु सांस्कृतिक रुपमा अत्यन्त सम्पन्न जाति हो । त्यसैले मगर जातिलाई धर्मबाट अलग पारेर भाइचार निर्माण गर्नु पर्छ ।

धर्मको शास्त्रीय विकासलाई हेर्ने हो भनेपनि यो ३ चरणमा विकास हुन्छ । प्रकृति पूजक, बहुदेउतावाद, एकलदेउतावाद । एकलदेउतावाद नै धार्मिक सम्प्रदाय हो । खासमा भन्ने हो भने मगर जाति कुनै धर्मको कित्तामा जानु पर्ने आवश्यकता छैन । अब त बरु राज्यलाई धर्मको महल नै हटाउने भन्नु पर्ने बेला आएको छ । धर्म निरपेक्ष समाजमा यसको आवश्यकता छ । धर्मको नाममा हामीबीचको बन्धुत्वलाई किन कमजोर बनाउने । हाम्रा पूर्वजहरुले अंगालेको संस्कृति बचाउँ, यसलाई अझ समयानुरुप विकास गरौँ अनि आधुनिक र उन्नत समाजमा फड्को मारौँ । धर्म राजनीतिक पार्टिको नाममा हामी ध्रुवीकरण नहऔँ, यसमै मगर जातिको कल्याण हुने छ ।

 

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...