Showing posts with label Language. Show all posts
Showing posts with label Language. Show all posts

Thursday, July 21, 2022

37 languages on verge of extinction in Nepal being preserved

 37 languages on verge of extinction in Nepal are being preserved

MyRepublic, Published On:  February 21, 2022, 11:21 AM NPT


KATHMANDU, Feb 21: The Language Commission has started the preservation of a total of 37 languages with less than 1,000 native speakers in order to save them from extinction.

At a seminar jointly organized by the Commission, Nepal Academy, and UNESCO on Monday on the occasion of International Mother Language Day, it was shared that among the 37 languages, 23 are already on the verge of extinction. 

Presenting a working paper, Commission's Chairperson Dr. Lavdev Awasthi said that the Commission began preserving those languages in association with the University Grant Commission. 

On occasion, Dr. Sulochana Manandhar presented a paper on popular Nepali fairy tales and interrelated relations between humans and the environment while Dr. Balkrishna Bal shed light on the technical process of translation of languages. 

Similarly, Dr. Som Bahadur Dhital presented his paper on the Dhimal language and its relation with cultures. All the paper presenters univocally called for the preservation of the mother languages of various ethnic communities. 

Inaugurating the event, Academy's Chancellor Ganga Prasad Uprety said that the program was organized to support the preservation as well as conservation of all mother languages in a multilingual society like ours. 

Similarly, the secretary at the Ministry of Culture, Tourism and Civil Aviation Maheshwor Neupane viewed that the State should ensure that mechanisms, infrastructures, and human resources to provide education to students in their respective mother languages as mandated by the constitution. 

He underscored coordination among three-tier governments to preserve and conserve mother languages. 

Likewise, member-secretary at the Academy Jagat Prasad Upadhyay underlined coordination among various universities and stakeholder agencies to provide education across multiple mother languages. He shared that a study showed that every 15 days, two languages were being extinct across the world.

UNESCO representatives Nirjana Sharma, representatives from the Bangladeshi Embassy in Nepal Ishrat Jahan, and scholar Yogendra Prasad Yadav among others reaffirmed their commitment to continue with the collaboration among the stakeholders for the preservation of the mother languages. 

The United Nations Educational, Scientific and Cultural Programme (UNESCO) 2000 declared to observe International Mother Language Day every February 21.

(RSS)

Monday, April 19, 2021

मगर व्याकरण र शब्दकोश निर्माण

 

मगर व्याकरण र शब्दकोश निर्माण

चाँदनी हमाल, ४ फाल्गुन २०७४

प्रकाशित: ४ फाल्गुन २०७४ ०९:२९ शुक्रबार

https://nagariknews.nagariknetwork.com/arts/140182-1518752640.html

काठमाडौं –  मुलुक संघीय संरचनामा गइसकेको छ । प्रदेशमा  बहुजातीय पहिचानयुक्त प्रशासनको प्रयास पनि थालिएको छ । नेपाली भाषा जनसम्पर्कको मुख्य भाषा रहे पनि मातृभाषाले अबको प्रादेशिक संरचनामा स्थान पाउन सक्ने व्यवस्था नेपालको संविधानले गरिसकेको छ ।

नयाँ व्यवस्थाअनुसार कुनै एक जाती विशेषको जनसंख्याको वर्चश्व रहेका स्थानमा मातृभाषामै सरकारी कामकाज गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ । मातृभाषामा कुनै पनि समुदायको मौलिकता रहने भएकाले पनि यसको जगेर्ना गर्नु सामाजिक, ऐतिहासिक र सांस्कृतिक देष्टिले महत्वपूर्ण छ । यसै मेसेमा विभिन्न निकाय तथा व्यक्तिहरू भाषिक संरक्षणका लागि खटिएका छन् ।

सोही सन्दर्भमा बिहीबार राजधानीमा मगरभाषा व्याकरण तथा शब्दकोष निर्माणका लागि संवाद थालिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मगर अध्ययन केन्द्रको संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाललाई बहुजातीय र बहुभाषिक भनि स्वीकार गरिएको बताए । पञ्चायकालमै २०३३ सालमा रेडियो नेपालले पहिलोपल्ट विभिन्न भाषामा समाचार दिने व्यवस्था भएको उनले स्मरण गरे ।

भाषा पहिचानसँग सम्बन्धित भएकाले राजनीतिक कुरा पनि हो,’ उनले भने । अबको समय आफ्नो भाषालाई सक्षम बनाएर सम्पर्क भाषाका रूपमा अघि बढाउने समय रहेको उनले औंल्याए । बहुलताको अवसर समात्न मातृभाषा सक्षम नभए नेपाली भाषा प्रयोगको विकल्प नरहेको उनले टिप्पणी गरे । जसका लागि आफ्नो भाषा भनेर घुमिहिँड्नुभन्दा विज्ञसमूहको सहयोग लिएर भाषाको विकास गर्न उनले मगर समुदायलाई सुझाव दिए । कतिपय शब्दहरू नेपालीबाट मगर वा अन्य भाषामा रूपान्तरण गर्न शब्दहरू पर्याप्त नभएकाले अध्ययन अनुसन्धानको खाँचो रहेको उनले बताए ।

प्राध्यापक रामराज रेग्मीले भाषिक संरक्षणका लागि अनुसन्धान र व्याकरण निर्माणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अहिलेसम्म नेपालमा ९७ भाषाको मात्र सर्वेक्षण भएको जनाउँदै उनले भने, ‘भाषा सजीव विषय भएकाले समयअनुसार अगाडी बढ्दै जान्छ,’ उनले थपे, ‘त्यसमा पनि १ सय २५ जनजातीमध्ये जनसंख्याकै आधारमा तेस्रो तहमा रहेको मगर भाषाको थप अध्ययन अनुसन्धान आवश्यक छ ।’ नेपालको जनसंख्यामध्ये १८ लाख ८७ हजार ७ सय ३३ जनसंख्या मगरजातीको रहेको छ । जसमा पनि ८ लाख १५ हजार ७१३ जनसंख्या अर्थात ४३ प्रतिशतले मात्र मगरभाषा बोल्ने गरेको छन् ।

मगर भाषा आफैंमा सबल भाषा भए पनि नयाँ पुस्तामा मगर भाषा बोल्ने क्रम हराउँदै गएर नेपालीकरण हुँदै गएको चिन्ता रेग्मीले गरे । भाषा संरक्षण गर्ने एउटा बलियो माध्यम भनेको त्यसको व्याकरण र शब्दकोश निर्माण भएको बताउँदै उनले मगर भाषामा पनि तीन मुख्य भाषिका रहेको र मगर ढुट, खाम मगर र काइके भाषिकाको बारेमा चर्चा गरे ।‘भाषा सामान्यतया विचारको आदानप्रदान गर्ने साधन हो,’ रेग्मीले भने, ‘सबैभन्दा थोरै शब्द प्रयोग गरेर मिहिनभन्दा मिहिन विचार पोख्न सकिन्छ ।’

व्याकरण बने पनि त्यसको व्यवहारीकणमा समस्या रहेको प्रष्टयाए । समुदाय र व्यक्ति व्यक्तिमा भाषिक एकरूपता कायम गर्न अप्ठेरो रहेको उनले दाबी गरे । डा. दुबिनन्द ढकालले मगर भाषाको शब्दकोष निर्माण विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले १२ भागमा विभाजन गरेर शब्दकोश निर्माणका लागि आवश्यकताहरू उजागर गरे ।

उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्म बोलिने मगर भाषालाई एकै ठाउँमा सूचीकृत गरिएको छ । ‘भौगोलिक किसिमले ठूलो क्षेत्र ओगट्ने भाषामा क्षेत्रीय भेद हुने हुनाले ती भेदलाई शब्दकोशमा कसरी समावेश गर्ने भन्ने विषय जटिल रहेको छ,’ उनले औंल्याए, ‘पुराना सन्दर्भग्रन्थ, भाषिक व्याकरण र शब्दकोशको तारतम्य मिल्नुपर्छ ।’

त्यस्तैगरी कम्युटरमा प्रविधिकरण गर्नका लागि पनि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । प्रविष्टी र परिभाषाको उदाहरणहरू उस्तै राख्नुपर्ने, समानार्थी र विपरीतार्थी शब्दको संयोजन पनि एकै ठाउँमा शब्दकोषमा राख्न सकिने उनले बताए ।

कार्यपत्रमाथि लोकबहादुर थापा र विष्णुकुमार सिञ्जालीले टिप्पणी गरेका थिए । मगर अध्ययन केन्द्रका अध्यक्ष गोविन्दप्रसाद थापाले मगर भाषा नेपालको बहुसंख्यक जनजातीको भाषा भएकाले यसको प्राज्ञिक विकासमा कमजोरी रहेको स्वीकारे । संवैधानिक प्रावधानअनुसार मगरभाषाले कामकाजको मातृभाषाको रूपमा प्रयोग गर्न पाउने सम्भावना रहे पनि यसको व्याकरण, शब्दकोष र भाषिक ज्ञानको अभाव रहेको उनले बताए ।

 

 


Thursday, June 18, 2020

गुफामा बस्नेको भाषा: भोटे?


गुफामा बस्नेको भाषा भोटे?
मुस्ताङको छोसेरका पाहाडी भित्तामा अनगिन्ती प्रचीन गुफाहरू देखिन्छन्। तलको फोटोमा देखाइएको गुफा निकै प्रसिद्ध छ। यो गुफा घर भन्दा व्यवस्थित छ। यी गुफामा जिन्दगी काटेकाका सन्ततीहरूले ल्होवा भाषा बोल्छन्। लोमान्थाङ, किम्लिङ, छोसेर र चराङमा लगभग उस्तै बोलिए पनि चुङजुङमा अलि फरक बोलिन्छ। भनिन्छ, ल्होवा तिब्बतीको भाषिका हो। विभिन्न भाषीहरूसँगको सम्पर्क र समय अगाडि बढ्दै जाँदा भाषामा परिवर्तन हुँदै जान्छ। ल्होवामा पनि परिवर्तन भएको छ। गुफामा बस्दाको भाषा कस्तो थियो होला रु यो अनुसन्धानको विषय नै हो। एउटा मननयोग्य कुरा के हो भने यहाँका लामाहरू हिमाली क्षेत्रमा बोलिने सबै भाषाहरूलाई एउटै भोटे भाषा मान्नु ठिक हुने तर्क गर्दछन्। ूयी क्षेत्रका सबैले सबैले बोलेको बुझ्दछन्। किन छुट्टै भाषा मान्नुरुू यसै कुरा मान्ने हो भने त नेपालमा पंचायतकालमा गरिएका भाषा गणना पनि त बेठीक त रहेनन्रु कसो१ ूभोटेू भित्र करिब १० भन्दा बढी भाषाहरू आउन सक्छन्। नेपालमा भाषाको सङ्ख्याको विवाद कहिले टुङ्गिने हो१ फरक माने फरक समान माने समान के ले पो छुट्टिने हो?

Danraj Regmi, facebook

Friday, May 01, 2020

खस भाषालाई पुनर्जीवन


खस भाषालाई पुनर्जीवन
लेखन निर्देशिका, शब्दकोश निर्माण
२५ विद्यालयमा पाठ्यक्रम
फाल्गुन २८, २०७५एलपी देवकोटा
जुम्ला — हान भैँसी किलावानभित्त जुम्ल खाई खलंगा तल, हर्प लाछु ज्युला छुमर्के मार्सीधान।।।कुनै बेलाको चर्चित यो गीत अचेल त्यति बज्दैन । कार्तिवास्वार्मी– ७ का कृष्णप्रसाद देवकोटाले यो गीतमा जुम्ली सभ्यता, खस भाषाको महत्त्व र अर्थलाई पस्केका छन् । भाषा लोप हुने अवस्थामा पुगेकाले चिन्तित अगुवा यो भाषालार्ई पुनर्जीवन दिन जुर्मुराएका छन् ।
र, तयार भएको छ– खस भाषा संरक्षणका लागि लेखन निर्देशिका । शब्दकोश निर्माण पनि अन्तिम चरणमा छ । तातोपानी गाउँपालिकाले खस भाषामै आधारित पाठ्यक्रम बनाएको छ । यसै वर्षदेखि स्थानीय २५ वटा विद्यालयमा पढाउने निर्णय गरिएको छ । अगुवाहरूका अनुसार खस देउडा अहिले आधुनिक खसका रूपमा स्तरोन्नति भएको छ ।
पहिचान नै संकटमा पर्ने भएकाले भाषा जोगाउन आफूहरू क्रियाशील भएको भाषाविद् रमानन्द आचार्यले बताए । उनका अनुसार तीन दशकअघिसम्म साविक कर्णालीका पाँच र आसपासका जिल्लामा खस भाषाको वर्चस्व थियो । तत्कालीन बाइसे, चौबिसे राज्यमा खस भाषाकै प्रभाव रहेको उनको भनाइ छ । ‘१८४६ पछि कर्णालीको पहुँच केन्द्रीय सरकारबाट कमजोर हुँदा खस भाषा ओझेलमा पर्दै गएको हो,’ उनले भने ।
‘गोर्खालीले राज्य लिया, भाषा पनि लिया, खस भाषा बिगाडीकन जुम्लै पठाइदिया,’ कनकासुन्दरी–५, हाडसिँजाका ८१ वर्षीय धनलाल हमाल भन्छन्, ‘सिँजा राज्य एकीकरण भएसँगै खस भाषा पनि हराएको हो ।’ अहिले बेवारिसे अवस्थाका ढुंगे खम्बा, दबल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषमा मात्र खस भाषा भेटिन्छ । जानकारहरूका अनुसार खस भाषाको उत्पत्ति सिँजाको हाटसिँजाबाट भएको हो । सिँजा राज्यसँगै खस भाषा पनि विलय भएपछि राष्ट्रिय भाषा नेपाली भएको भाषाविद् आचार्यले बताए ।
‘जुम्लाको वाडतुड गर्न राजाले सुन्योन, यै भाषाको विकास गर्न राज्यले गुन्योन,’ कनकासुन्दरी पाण्डवगुफाकी उर्मिला खत्रीले खस भाषामै भनिन्, ‘हिन्दी गीत, पूर्वेली गीत रेडियो बजाउन्छन्, पढेलेख्या भन्नयाहरू खस बोल्न लजाउँछन् ।’ उनले नेपाली भाषाकै उत्पत्ति आधार खस भाषाको संरक्षणमा सरकारी निकायले बेवास्ता गरिरहेको गुनासो गरिन् ।
स्थानीय जानकार तुला चौलागाईंले युवापुस्तामा खस भाषा हस्तान्तरण हुन नसकेको बताए । ‘खस भाषा हेला, पूर्व ठूलो मान्या,’ उनले भने, ‘खसियाका छोराछोरी खस भाषा नजान्या ।’
पहिचान जोगिने विश्वास
खस भाषाको वर्णविन्यास लेखन निर्देशिकालाई जिल्लाका भाषाविद्ले पुनरावलोकन गरी अन्तिम रूप दिइएको हो । खस भाषालाई चलनचल्तीमा ल्याउन खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको भेलाले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको थियो । निर्देशिका प्रकाशनका लागि मातृभाषा केन्द्र नेपालले सहजीकरण गरेको थियो । ‘तत्कालीन कर्णाली खस राज्यभित्र बोलिने खस भाषा र जनबोलीलाई आधार बनाएर तयार पारिएको निर्देशिकाबाट सबैले सहजै खस भाषालाई प्रयोगमा ल्याउन सक्छन्,’ भाषाविद् तथा जुम्ली खस शब्दकोशका सम्पादक आचार्यले भने ।
निर्देशिकामा कर्णाली क्षेत्र र तिनको सेरोफेरोका जिल्लाको बोलचालसम्बन्धी खस भाषा समेटिएको छ । पूर्वशिक्षक, कला संस्कृति एवं खस साहित्यकार, भाषाका जानकार र पत्रकारको संलग्नतामा तयार गरिएको निर्देशिकामा यो क्षेत्रको कथ्य शब्द ‘स्ह’ को लेख्य रूप दिन नयाँ वर्णमा प्राथमिकीकरण गरिएको छ । पूर्वशिक्षक मुनिश्चन्द्र न्यौपानेले खस भाषा पूरै राष्ट्रियकरण नभए पनि नेपाली भाषाका धेरै वर्ण खस भाषाबाटै विकसित भएको बताए । ‘खस भाषामा आधारित निर्देशिकाले यहाँको पहिचान जोगाउनेछ,’ उनले भने ।
शब्दकोश लेखनमा दशक
चन्दननाथ–२ का ७२ वर्षीय आचार्य जुम्ली शब्दकोश लेखनमा व्यस्त छन् । चन्दननाथ उच्च माविका पूर्वनेपाली विषयका शिक्षकसमेत रहेका आचार्यले जुम्ली शब्दकोश लेखन अभियान थालेको झन्डै एक दशक पुगेको छ । उनले शब्दकोश प्रकाशनको अन्तिम तयारीमा पुगेको जनाए । साविक जिविसले आचार्यलाई खसिया आखर जुम्ली खस भाषाको शब्दकोश लेखन एवं सम्पादनको जिम्मेवारी दिएपछि उनी त्यसमा लागेका हुन् ।
अहिले समन्वय समितिमा रहेको खसिया आखर जुम्ली शब्दकोश तयारी कार्यालयमा उनी दैनिक उपस्थित हुन्छन् र त्यही व्यस्त रहन्छन् । नेपाली भाषाको उत्पत्ति भएको खष भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोश निर्माण थालिएको हो । प्रारम्भिक चरणमा जुम्लाको चौधबिस, सिँजा, असी, पाँच सय क्षेत्र, मुगु, हुम्लाको सोरु गल्पा, कालिकोटका रासकाट र डोल्पाको तलिभोटानमा गएर शब्द संकलन गरिएको थियो । शब्दकोशमा १६ हजार बढी शब्द संकलन र सम्पादन गरिसकिएको छ ।
शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ । असी दराली भाषिकाभित्र असी दरा, पाँच सय दरा, सिँजा दराका भाषा राखिएको छ । त्रिविकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् । रासकोटी भाषिकाभित्र कालिकोटमा बोलिन भाषा राखिएको छ भने मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषालाई समावेश गरिएको छ । आर्थिक समस्याका कारण प्रकाशनका लागि प्रेसमा पठाउन नसकिएको उनले जानकारी दिए ।
२५ विद्यालयमा खस पाठ्यक्रम
ततोपानी गाउँपालिकाले खस भाषामा आधारित स्थानीय पाठ्यक्रम तयार पारेर पहिलो चरणमा प्राथमिक तहमा लागू गर्दै छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पाठ्यक्रममा जिल्लाका आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, वन, कृषि धार्मिक सम्पदाको चित्रण गरिएको जानकारी दिए । ‘पुर्खाहरूको गौरवगाथा पनि सहज ढंगले खस भाषामै लिपिबद्ध गरिएको छ,’ उनले भने, ‘यसै शैक्षिक सत्रदेखि पढाइ गर्ने तयारी गरिरहेका छौं । पाठ्यक्रमको ८० प्रतिशत काम सकिएको छ ।’
गाउँपालिकाभित्रका २५ विद्यालयमा यो पाठ्यक्रम लागू हुनेछ । खस भाषा संरक्षणका लागि पढाइले सहयोग पुग्ने पाठ्यक्रम निर्माण समितिका संयोजक एवं वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंले बताए । पाठ्यक्रम निर्माणमा चौलागाईंको संयोजकत्वमा पाँच सदस्यीय समिति संलग्न छ ।
चैत महिनाबाट विद्यालयमा खस भाषामा एउटा विषय पढाइने समितिले जनाएको छ । गाउँपालिकाले अतिरिक्त विषयका रूपमा नयाँ पाठ्यक्रम तयार पारेको हो । कक्षा १ देखि ३ सम्म एउटा विषय हुनेछ भने कक्षा ४ र ५ का लागि एउटै खालको पाठ्यक्रम निमाण भइरहेको छ । प्रकाशित स् पबलतष्उगच, फाल्गुन २८, २०७५ ०७स्२६

Tuesday, April 28, 2020

झर्रोवाद: हिजो र आज

झर्रोवाद: हिजो र आज
कान्तिपुर, फाल्गुन १८, २०७५ बालकृष्ण पोखरेल
काठमाडौँ — यसभन्दा अगाडि झर्रो शब्दलाई लिएर केवल छेत्रीहरू मात्रै घमण्ड गर्थे । मठ्याहा छेत्रीहरूबाट आफूलाई अलग राख्न एकथरी चोखा भनाउँदा छेत्रीहरू आफूलाई ॅझर्रो’ भन्ने गर्थे । ॅनौलो पाइलो’ र उपर्युक्त अन्य ६ पत्रिकाका लेखकहरूले हिन्दी र संस्कृतको उग्र प्रयोगको विरोधमा उभिएको आफ्नो शैलीलाई पनि यसै 'झर्रो' विशेषणले सिङारे। यसरी नेपाली भाषामा झर्रोवादको जन्म भयो
जब संवत् २०१३ मा बनारसका तन्नेरी नेपाली विद्यार्थीहरूले नेपाली भाषाको भविष्यतर्फ ध्यान दिए उनीहरूको सातोपुत्लो उड्यो। उनीहरूले नेपाली भाषा हिन्दीका शब्द, वाक्य एवं उच्चारण पद्धतिबाट झन्झन् धेर प्रभावित हुँदै गएको देखे। स्वदेशमा विश्वविद्यालय नभएकाले भारतका विश्वविद्यालयहरूमा पढ्न जाने नेपाली छात्रहरू भारतको समाजमा केही महिनाभित्रै कति साह्रो रतिन्थे भने तिनीहरूलाई भारत बसुन्जेल परदेशको न्यास्रोले कहिल्यै छुँदैनथ्यो
जब यी छात्रहरू पढलेख गरेर नेपाल फर्कन्थे यिनीहरूको रूप रङ अर्कै हुन्थ्यो। पोसाक र आनीबानीमा मात्रै होइन, बोली र भाषामा पनि यी भारतको रङमा रङ्गिएका हुन्थे। यसरी फर्केर नेपाल आउने ‘इन्डियारिटर्न’ हरूको पारम्परिक हित्यारी–मित्यारी त प्रायः हिन्दीमै चल्थ्यो, तर जब यी नेता अथवा लेखक भएर समाजमा प्रसिद्ध हुन चाहन्थे, यिनीहरू लाजैगालै नेपाली भाषामा बोल्न र लेख्न बाध्य हुन्थे र नेपाली भाषाले एउटा अड्बाङ्गे रूप पाउन लाग्यो, जो झन्डै यस प्रकारको हुन्थ्यो— ‘अगर हामी नेपालीहरूले आफ्नो देशको तकाजामा ध्यान दिंदैनौं र देशको मागको बाबजुद हामी चल्छौं त यो जोरसँग ऐलान गर्न सकिन्छ कि हामी आदमी होइनौं बल्कि हेवान हौं।’

अर्कोतर्फ फेरि बनारसबाट विद्या कमाएर घर फर्किएका पण्डितहरू झन्डै यसो लेख्थे— ‘उतुङ्ग हिमशैलको धबल प्रांगणमा निवास गर्दै पतितपावनी कल्मष प्रक्षालन कार्य सुसम्पन्ना सरिता वाग्वतीको पवित्रोदक पान गर्दै पर्वत चूडामणि चन्द्रागिरिको नैकट्य पाएका काष्टमण्डप निवासीहरू धन्य हुन्
।’ बनारसै पढिरहेका भए पनि ती तन्नेरी छात्रहरूले विदेशी हिन्दी र पाण्डित्यपूर्ण संस्कृतको ज्यास्ती प्रयोगले नेपाली भाषाको आफ्नोपना थिचोमिचोमा परेको देखी सहेनन्। ‘इन्डियारिटर्न’ अंग्रेजीबाजहरूले अगर, मगर, बल्कि, चूँकि, बाबजुद, जरुरत, तकाजा, आदमी, हेवान। बीसवीं, बाईसवीं, एसियाईजस्ता असंख्य हिन्दी शब्दहरूलाई ल्याएर नेपालीलाई पाहाडी हिन्दी भनेर घोषणा गर्ने पण्डाहरूलाई सजिलो तुल्याइदिएका थिए भने सयकडा उनान्सय मात्रामा तत्सम शब्द मात्रै काचर्ने संस्कृतवादी बाजेहरूले पनि ती पण्डाहरूलाई नेपाली भाषाको स्वतन्त्र अस्तित्वमा आरोप लगाउन कम सजिलो पारिदिएका थिएनन्
संवत् २०१३ तिर बनारसमा पढिरहेका ती नेपाली छात्रहरूले यस विषादपूर्ण झ्याउलाई उखेलेर फाल्ने अठोट गरे। विश्वविद्यालयको अध्ययनतिर भन्दा धेर समय उनीहरूले नेपाली भाषा र साहित्यको समस्यामा लगाउन लागे। फलस्वरूप ‘नौलो पाइलो’, ‘छात्र’, ‘छात्रदूत’, ‘उदय’, ‘दीपक’ र ‘सन्देश’ नाउँका सात पत्रिकाहरूमा ती छात्रहरूका असन्तोषपूर्ण आवाजहरू प्रकाशित हुन लागे। यी पत्रिकाहरूमध्ये ‘नौलो पाइलो’ त ती छात्रहरूको एक प्रकारको मुखपत्र नै थियो, किनभने यसमा लेखिएको थियो, ‘झर्रो नेपाली संस्कृति र साहित्यको नमुना।’ यसभन्दा अगाडि झर्रो शब्दलाई लिएर केवल छेत्रीहरू मात्रै घमण्ड गर्थे। मठ्याहा छेत्रीहरूबाट आफूलाई अलग राख्न एकथरी चोखा भनाउँदा छेत्रीहरू आफूलाई ‘झर्रो’ भन्ने गर्थे। ‘नौलो पाइलो’ र उपर्युक्त अन्य ६ पत्रिकाका लेखकहरूले हिन्दी र संस्कृतको उग्र प्रयोगको विरोधमा उभिएको आफ्नो शैलीलाई पनि यसै ‘झर्रो’ विशेषणले सिङारे। यसरी नेपाली भाषामा झर्रोवादको जन्म भयो। ‘इन्डियारिटर्न’ बाज र ‘बनारसरिटर्न’ बाजेहरू झर्रोवादको जन्मले गर्दा चिन्तित भए। उनीहरूले झर्रोवादलाई अपरिपक्व मथिङ्गलको तुजुक ठहर्‍याउने चेष्टा गरे। के कुरो यहाँ भनिरहनु नपर्ला भने, बाज र बाजे दुवैथरीलाई आक्रमण गरेबापत झर्रोवादले समर्थन कसैबाट पाएन। बरु यसले भर्त्सना र गाली मात्रै सुन्नुपर्‍यो। झर्रोवादले बाज र बाजे श्रेणीमध्ये कुनैमा नपर्ने केही नेपाली साहित्यिकहरूका दोषहरूलाई लिएर पनि आलोचना गरेको थियो। यसैले ती पनि झर्रोवादका विरोधी नै भए
यसरी ठूलाबडाको उपेक्षाको पात्र भएर पनि झर्रोवाद ओइलाएन। यसले साहित्यिक समाजमा हाहाकार ल्याइपुर्‍यायो। नेपाली भाषाको समस्यामा सोच्न यसले धेरैलाई हुटहुटी लगायो। भाषाको नाउँमा ‘भ’ पनि नजान्नेहरू पनि आफूलाई समाल्न नसकी यस कोलाहलमा भाग लिन जुर्मुराए। नेपाली भाषा–संसारमा चिन्तनको सूत्रपात भयो। तर्कका लागि पेस गर्नेहरू पनि कम थिएनन्। तैपनि ‘नहुनुभन्दा कानु मामा जाती’ भन्ने उखान चरितार्थ हुँदो थियो। समाजमा धेरै कुरा यस्ता हुन्छन् जो विद्वतवर्गबाट सर्दै शिक्षक–मण्डलीमा पुग्छन् र त्यसपछि मात्रै छात्र–संसारमा पुग्छन्। तर झर्रोवादचाहिं छात्र–संसारमा नै जन्म्यो, पछिबाट मात्रै यसलाई शिक्षक र विद्वान्हरूले चिने। सम्भतः छात्रहरूको मथिङ्गलको उप्जा भएकाले नै झर्रोवादले यसरी लाञ्छित र अपमानित हुनुपरेको होला
हुन त परिवर्तनशील संसारको वस्तुको नाताले भाषा पनि सधैं एकै अवस्थामा रहिरहन सक्दैन। यसले बेलाबखतमा काँचुली नफेरी धरै पाउन्न। तर, संवत् २०१३ भन्दा पहिलेको नेपाली भाषा र आजको नेपाली भाषालाई कसैले दाँज्यो भने ऊ के निर्क्योलमा पुग्नेछ भने यी सात वर्षहरूमा जे–जति परिवर्तन नेपाली भाषामा आयो त्यसको मात्रालाई लर्तरो ढकले जोख्न सकिने छैन। सात वर्षपहिलेको रोगी नेपाली भाषालाई आज हामी एकदम सारसौंदो हालतमा देख्दैछौं। सात वर्षअगाडि पराईको मुखमा परेर पच्नपच्न आँटिसकेको नेपाली भाषा आज कतिसम्म बलियो भइसकेको छ भने पराईको मुखको गाँस हुने परिस्थिति अब अतीतको वस्तु भइसकेको छ। हुन पनि आज नेपाली भाषा ‘इन्डिया–रिटर्न’ बाज र ‘बनारस–रिटर्न’ बाजेहरूको चटक हेर्न गुजुम्म उभिने मूर्खहरूको भाषा मात्र नभएर आफ्नै माटोमा शिक्षित भएका चेतनशील हिमालीहरूको भाषा हुन पुगेको छ। हुन सक्छ, यस परिवर्तनको प्रमुख कारण शिक्षाको प्रचार हो, तर के कुरालाई पनि लुकाउन उचित नहोला भने यस परिवर्तनलाई यति चाँडै सार्थकता प्रदान गर्न झर्रोवादको पनि चानचुने योगदान छैन। यस सत्यलाई अरूले भन्दा एकेडेमीका उपकुलपति बालचन्द्र शर्माले मानेझैं छ

झर्रोवादले नेपाली भाषालाई बरालिन नदिएर जोगाएको हो तापनि परम्परागत बाजे–शैली र सात सालपछि ढुसी पलाएझैं पलाएको बाज–शैलीका अनुयायीहरूले यसलाई उल्लीबिल्ली मात्रै गरे
। आफ्नो भाषाको सेवा गरेबापत झर्राहरूले ‘टर्रो’ को संज्ञा पाए। कहाँसम्म भने एउटा पत्रिकामा व्यंग्यस्तम्भको नाउँ नै ‘झर्रोटर्रो’ राखियो। पहिले यस स्तम्भको उद्देश्य थियो— झर्रोवादलाई टर्रो घोषित गर्नु। आज दुई जना झर्रोवादीहरू यस पत्रिकाको सल्लाहकारमण्डलमा छन्। तापनि ‘झर्रोटर्रो’ भन्ने उक्त स्तम्भले झर्रोवादप्रति काठमाडौंका मानिसको प्रतिक्रियाको सम्झना दिन्छ। आज निक्लने अधिकांश पत्रपक्रिकाहरू बाज र बाजे–शैलीदेखि मुत्त भइसकेका छन्। हुन त बिग्रनु जति सजिलो हुन्छ त्यति सजिलो सप्रनुहुन्न, र त यी पत्रपत्रिकाहरूमा पनि एकरूपता कायम हुन सकेको छैन। तैपनि झट्टै नै हाम्रा लेखकहरू आफ्नो भाषाको स्वभावलाई चिन्न बानी पार्नेछन् भन्ने कुरामा केही शंका छैन

झर्रोवाद आजभन्दा सात वर्ष पहिले उरालिइरहेका बाजे र बाजहरूलाई तहमा ल्याउन ज्यादै उपयोगी ‘वाद’ थियो
। नेपाली भाषाका शब्दहरू गाउँले शब्द हुन् र तिनको साटो संस्कृत र हिन्दीबाट सापट लिए मात्र उच्च भावको अभिव्यञ्जना हुन सक्छ भन्नेहरूलाई मुखभरिको जवाफ दिनलाई झर्रोवादले पनि बाध्य भएर एउटा उग्र बाटो पक्रिनुपरेको थियो। यसबाट जाहेर हुन्छ— बाजवाद र बाजेवादसरह झर्रोवाद पनि एउटा उग्रवाद नै थियो। उग्र नभईकन कट्टर बाज र बाजेहरूलाई तह लगाउन नसकिने देखिएबाट नै झर्रोवादले उग्र काम जिम्मा लिएको हो। हुन त झर्रोवादीहरूले विभिन्न स्रोतबाट शब्द सापट लिने कुरालाई सैद्धान्तिक दृष्टिले विरोध गरेका छैनन्, केवल आफूसँग भएका शब्दहरूलाई पनि साहित्यमा प्रयोग गर्न थालौं भन्ने मात्रै उनीहरूले भनेको पाइन्छ, तैपनि उनीहरूले लेखेका कथा, कविता र निबन्धमा चाहिँ तत्समविरोधी भावना अनि विदेशी स्रोतबाट आएका शब्दहरूका विरोधमा चिम्टे नीति पाइन्छ। उदाहरणार्थ, ‘मानव सभ्यताप्रेमी प्राणी हो’ भनेर लेख्नुपरे कुनै झर्रोवादी यसो लेख्थ्यो, ‘मानिस साभालुपनारोजुवा जनावर हो।’ हुन त आज छर्लङ्ग्याउनु, छर्लङ्ग्याइ, गहकजस्ता शब्दहरू ज्यादै लोकप्रिय भइसकेका छन् तर ‘छर्लङ्ग, अव्यय र ‘गहकिलो’ विशेषणबाट कुँदिएका कृत्रिम शब्द हुन् भन्ने कुरा हामीमध्ये कमैलाई थाहा होला। वास्तवमा स्पष्ट गर्नु, स्पष्टकरण र वजनजस्ता शब्दहरूलाई हुन्याउने उद्देश्यले यिनको निर्माण झर्रोवादअन्तर्गत भएको हो
झर्रोवादको आरम्भ निम्नलिखित सिद्धान्तको थियो–

१. ग्रामीण अथवा सदरिया भन्ने भेद ल्याएर गाउँमा प्रचलित शब्दहरूलाई घृणा गर्नुको मतलब नेपाली भाषालाई आफ्नो खुट्टामा उभिन नदिनु हो। नेपालीझैं शततः गाउँलेहरूको काखका हुर्किएको भाषाले ग्राम्य–दोष एवं ग्रामीणता भनेर गजक्क पर्न सुहाउन्न
२. सापट लिनु अनुचित होइन तर ज्यास्ति सापट लिनुचाहिं राम्रो होइन

३. नेपालीकी जननी संस्कृत हो भन्दैमा शब्दकोशका जम्मै शब्दहरूलाई नेपाली भाषामा प्रयोग गर्न हुन्छ भन्ने धारणा अनुचित हो

४. देशमा अनेक नागरिक हुन्छन्
। त्यसैगरी भाषामा पनि अनेक शब्द हुन्छन्। यी शब्द हुन् भाषा–संसारका नागरिक। चाहे विश्वको कुनै कुनाबाट आएको मानिस होस्, नेपालको नागरिक भएपछि त्यसले नेपाली ऐन मान्नैपर्छ, त्यसैगरी चाहे संस्कृतबाट आएको शब्द होस् चाहे अंग्रेजीबाट, त्यसको ‘स्पेलिङ’ अन्य नेपाली शब्दहरूको आधारमा ढालिनुपर्छ
५. कुनै छिमेकमा एकभन्दा धेरै भाषा बोलिन्छन् भने तिनको बीचमा अनेकौं समानता औ साझा बेहोराहरू हुनु अवश्यम्भावी छ
। यस्ता साझा बेहोराहरूको महत्त्व मनग्गे बेसी हुन पनि सक्छ, तापनि यी साझा बेहोरालाई लिएर छिमेकको कुनै पनि भाषाले पेवापन अनुभव गर्न सक्दैन। उदाहरणार्थ, हामी संस्कृतबाट लिइएका तत्सम शब्द, अरबेली–फार्सेलीबाट अनि अंग्रेजीबाट आएका सापट शब्दहरूलाई लिन सक्छौं। यी शब्द नेपाली, हिन्दी, बंगाली, मराठी इत्यादि सबै भाषाका साझा शब्द हुन्। यी साझा शब्दहरूको आफ्नै प्रकारको महत्त्व हुन्छ तापनि यिनले भाषाको अंग पूरा गर्दैनन्। भाषाको अंग त्यस बेला मात्रै पूरा हुन्छ जब त्यसको वैयक्तिकताको पनि कदर हुन्छ। कुनै भाषाको पेवा बेहोरा नै त्यस भाषाको व्यक्तित्व हो। त्यसैले पेवा बेहोरालौ पाखे र गाउँलेको संज्ञा दिनु उचित होइन

यिनै थिए झर्रोवादका केही गन्थन
। यी गन्थनलाई कार्यरूपमा ल्याउन झर्राहरूले तलका उपायहरू अङालेका थिए ः–
(क) इतिहासका पानाबाट मृतप्रायः शब्दहरूलाई लिनु अनि तिनलाई लोकप्रियता दिने चेष्टा गर्नु

(ख) पूर्व र पश्चिमका स्थानीय नेपाली भाषिकाहरूबाट शब्द बटुलेर अभावको पूर्ति गर्नु

(ग) नेपाली शब्दहरूको आधारमा कृत्रिम पद्धतिबाट शब्द निर्माण गरेर अभावको पूर्ति गर्नु

(घ) संस्कृतबाटै हिन्दी इत्यादिसित नमिल्ने किसिमले शब्द निर्माण गरेर अभाव टार्नु

(ङ) स्पेलिङलाई सकेसम्म सजिलो पार्नु

(च) नेपाली तद्धितपुछ्रे र कृत्पपुछ्रे प्रत्ययहरूको चलन बढाउनु


झर्रोवादले अङालेका यी उपायहरूमध्ये पहिलो (क) र चौथो (घ) ठीकठीकैका भएकाले तिनलाई लिएर हल्ला मच्चिएन तर बाँकी चारलाई लिएर चाहिँ ठूलो हल्ला मच्चियो
। यिनमध्ये तेस्रो (ग) को त अति नै निन्दा भयो। हुन त यस उपायअन्तर्गत जन्माइएका थुप्रै शब्दहरू नेपाली भाषामा प्रचलित पनि भए (जस्तै ः छर्लङ्ग्याउनु, गहक इत्यादि), तर आज झर्रोवादीहरूले गाली सुन्नुपरेको सबैभन्दा ठूलो कारण हो— यही तेस्रो (ग) उपाय
दोस्रो उपाय (ख) लाई धेरैले समर्थन गर्दै आएका छन्
। तापनि कसैकसैले चाहिँ यसलाई साहित्यमा पाखेपन ल्याउने उपाय पनि भनेका छन्। हालै एक जना अर्थशास्त्री गोविन्दप्रसाद लोहोनीले पनि यस प्रकारको विचार व्यक्त गरेको पाइयो। हुन पनि अर्थशास्त्र र यस्तै अन्य असम्बन्धित विषयका विशेषज्ञहरू नै झर्रोवादको यस उपायका विरोध भई आएका छन्। तर ज्ञातव्यचाहिँ के हो भने यो उपाय झर्रोवादको सबैभन्दा राम्रो उपाय थियो
पाँचौं उपाय (ङ) झर्रोवादको मौलिक खोजी होइन
। झर्रोवाद जन्मनुभन्दा अगावै महानन्द सापकोटाज्यूले यतातिर औंलो तेर्साइसक्नुभएको थियो। आज सबैभन्दा ठूलो सफलता यसै उपायले पाएको छ

झर्रोवाद एउटा उग्रवाद थियो भनेर भनिसकिएको छ
। यी उपायहरू अभाव–पूर्तिका साधन मात्रै थिए, नयाँ भाषा जन्माउने मूलमन्त्रचाहिँ थिएनन्, तापनि आफ्ना उग्र प्रतिद्वन्द्वी बाज र बाजेहरूलाई परास्त पार्नका लागि व्यक्त झर्रोवादीहरूले यस कुरालाई बिर्से। यसैले उनीहरू यी पाँच उपायहरूलाई मूलमन्त्रझैं मान्न लागे। तत्सम भएको अपराधमा या विदेशी स्रोतबाट आएको अपराधमा उपयोगीभन्दा उपयोगी शब्दहरूले पनि झर्रोवादीहरूका रचनामा प्रवेश पाउन छोडे। यस्तै अरू पनि त्रुटि झर्रोवादका समर्थकहरूले गरे। यसैले अब नेपाली भाषाका प्रेमीहरूले भाषालाई लिएर कोलाहल सुने उनीहरूले बाज र बाजेका साथै झर्रोवादीहरूलाई पनि दोषी पाए। त्यसैले आजभोलि हामी झर्रोवादलाई लिएर कम कानेखुसी सुन्दैनौं

आज कार्यरूपमा सबै सप्रिसकेका छैनन् तापनि के कुरोचाहिं सबैछेउ जाहेर भइसकेको छ भने बाज र बाजे दुवैथरी नेपाली भाषाका हितु होइनन्
। किनभने यिनले गर्दा हाम्रो भाषाको स्वाभिमान खल्बलिएको थियो। यिनको विरोधमा जन्मिएको उग्रवादी झर्रोवादलाई आज भलै जस्ताको तस्तो अनुकरण गर्न नसकियोस्, भलै यसमा समयजनित केही विरामहरू टुप्लुकिऊन् तर यसको जगमा आफ्नोपनाप्रति प्रेम र अभिमान भएकाले यसको इतिहासलाई ठट्टामा उडाउन निस्स्यै सकिन्न। अर्को भाषामा, यो जतिसुकै उग्र होस्, यसलाई बाजे र बाजहरूको हाराहारी राख्न सकिन्न। बाजे र बाजहरू प्रतिवादी हुन् भने झर्रोवाद वादी हो, बाजे र बाजहरू आक्रामक तत्त्व हुन् भने झर्रोवाद प्रतिरक्षात्मक तत्त्व हो। झर्रोवाद र बाजे–बाजवादमा यही अन्तर छ

आज हामीहरूले आफ्नो भाषाको समस्या प्रायः बुझिसकेका छौं
। कुन बाटो हिँड्दा सप्रिने सम्भावना छ र कुन बाटो हिँड्दा बिग्रने सम्भावना छ— हामीले बुझिसकेका छौं। अब हामीलाई बराल्न बाजे र बाजहरूको संयुक्त हमलाले पनि सक्ने छैन। यस हालतमा अब झर्रोवादझैं उग्रवादी स्कुलको चासो छ–छैन यसतर्फ हामीले सोच्नु असल छ। नभन्दै हाम्रा दुस्मन बाज र बाजेहरूको अस्तित्व अर्थहीन भइसकेकाले अब हामीलाई कुनै पनि उग्र नीति चासोपर्दो छैन। म आफैं पनि झर्रोंवादी परिपाटीको एक जना विद्यार्थी हुँ तापनि म अब के कुरो स्वीकार गर्न चाहन्छु भने सात वर्षसम्म लगातार बाज र बाजेहरूसँग लाप्पा खेलेर झर्रोवादले आफ्नो लक्ष्य पूरा गरिसकेको छ। उसले नेपाली लेखकहरूलाई कुनै पनि आक्रामक तत्त्वहरूदेखि सतर्क रहनुपर्छ भनेर जनाउ दिइसकेको छ। यसकारण अब उसले अझै पनि आफ्नो उग्रवादी बेहोरालाई कायम राख्नु नकारात्मक बाटोमा हिंड्नु हो। अब पनि झर्रोवादले आफ्नो उग्र स्वभाव अङालिरहन्छ भने त्यो उसको ढिपी मानिनेछ

तर जो अझै झर्रोवादलाई नचिनीकनै र त्यसको अध्ययन नगरीकनै त्यसलाई ठट्टाको विषय तुल्याउँछन्, तिनको मूर्खतामा अझै पनि झर्रोवाद हाँस्न सक्छ
। झर्रोवादको आङबाट ‘उग्र’ विशेषण हटाइदिने हो भने यसका सिद्धान्त र उपाय अझै पनि उत्कृष्ट ठहरिन सक्छन्। भलै ‘उग्र’ विशेषणले विहीन भएपछि झर्रोवादको नाममा टाँसिएको ‘झर्रो’ शब्दको उपयोगिता नरहला, तापनि यसका सिद्धान्त र उपायहरूको उपादेयता कत्ति कम हुने छैन। ज्ञातव्य के छ भने झर्रोवाद केवल कार्यनीतिमा मात्र उग्र थियो, सिद्धान्त र उपायमा उग्र थिएन। यसका सिद्धान्त र उपायहरू अझै उपादेय किन हुन सक्छन् भने तिनको निर्माण भुइँफुट्टा काइदाले भएको नभएर पुष्करशमशेर, बालकृष्ण सम र महानन्द सापकोटाका वाणीहरूलाई आधार मानेर भएको हो। यिनमा पनि पुष्करशमशेर र महानन्दलाई त झर्रोवाद आदिगुरु नै मान्छ। के पनि यहाँनिर प्रस्ट हुनुपरेको छ भने यो त्रुटिपक्षलाई लिएर चाहिँ कसैको समर्थन गर्दैन। यसले आफ्नै त्रुटिलाई पनि लाजवश लुकाउन मन पराउन्न

अन्तमा म दुई सुझाउ दिन चाहन्छु
। भलै झर्रोवाद भन्ने संज्ञाको अस्तित्वमा बाधा परोस्, झर्रोवादीहरूले ‘आफ्नो उग्र बाटो त्याग्नैपर्छ। ‘उग्र’ विशेषणलाई आफलेर बाँकी झर्रोवादलाई अरूले पनि अङाल्नैपर्छ
(गद्य साहित्यतर्फ २०२१ सालमा मदन पुरस्कार प्राप्त कृति ‘नेपाली भाषा र साहित्य’ बाट साभार गरिएको हो
। यो कृति २०२१ साल भदौमा ‘पहिलो बाजी’ रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको थियो।)प्रकाशित : फाल्गुन १८, २०७५ १२:५९


खस जातिको खास कुरो


डा. माधवप्रसाद पोखरेल, फुर्सद,  ११ फागुन २०७५ ०७:४५:००
खस जातिको खास कुरो
सभ्यता
जुम्लामा नारायणको पूजा गर्दा पनि बोको बलि गर्ने चलन छ। यो चलन हिन्दू धर्मसित मिल्दैन। यसरी खसहरूका चलन नै हिन्दूहरूसँग धेरै मिल्दैनन्।

नेपाली भाषालाई मगर, नेवार र पश्चिमका केही जनजाति खस भाषा भन्छन्। त्यस्तै नेपाली मातृभाषा हुने पहाडे बाहुन, क्षेत्री, ठकुरी, सन्न्यासी, कामी, दमाई, गाइने र (सम्भवतः) वादीहरूलाई खस जाति भनेर प्रायः आफूले भन्दा अरूले अलिक तल खसालेर चिनाउने चलन थियो। हिजोआजचाहिँ विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिमका नेपाली मातृभाषीहरूले आफू र आफ्नो मातृभाषालाई गर्वसाथ खस भनेर चिनाउने चलन चलेको पाइन्छ। आफूलाई ‘खस आर्य’ भनेर चिनाउने राजनीतिक आन्दोलन पनि केही वर्षअघि चलेको थियो। वास्तवमा खसहरू को हुन् र तिनीहरूको प्रागैतिहासिक, ऐतिहासिक, भौगोलिक र सामाजिक चिनारी के हो भन्ने कुरो अत्यन्त छोटकरीमा दिन यो लेख लेखिएको हो।
महाभारत, विष्णु पुराण, मार्कण्डेय पुराण, वायुपुराण आदि पुराणमा खस जातिको वर्णन पाइन्छ। इसापूर्व पाँचौं शताब्दीका युनानी इतिहासकार हेरोडोटस, इसापूर्व तेस्रो शताब्दीका रोमन इतिहासकार प्लिनी, सातौं शताब्दीका चिनियाँ यात्री स्वेन चाङ, बाह्रौं शताब्दीको काश्मीरको इतिहास ‘राजतरंगिणी’ आदि ग्रन्थहरूमा खस जातिको सामान्य चर्चा छ। युधिष्ठिरको राजसूय यज्ञमा खसहरू कैलाश मानसरोवर क्षेत्रबाट कमिलाले धुल्याएको बुकी सुन कोसेली लिएर पुगेका थिए।
एड्वार्ड एट्किन्सन (१८८४ इ) ले ‘हिमालयन गजेटियर’मा खसहरूको विस्तृत परिचय दिएका छन्। राहुल सांकृत्यायनले खसहरूका वर्णन तीनचारवटा किताबमा गरेका छन्। तर इटालीका पुरातत्त्वविद् जिउसेप्पे टुची (१९५६ इ) र योगी नरहरिनाथले २०१२–१३ साल तिर कैलाश मानसरोवर क्षेत्र र जुम्लामा खसहरूको सिँजा खोला उपत्यका फेला नपारुन्जेल नेपालीहरूलाई काठमाडौंको इतिहासलाई मात्र नेपालको इतिहास भन्ने बानी परेको थियो।
टुचीले कैलाश मानसरोवर क्षेत्रदेखि जुम्लाको सिँजा खोला उपत्यका हुँदै दैलेखको दुल्लुसम्म खस राज्यका कीर्ति राख्ने बलिया प्रमाण प्रस्तुत गरे। योगी नरहरिनाथ (२०१३, २०२२) ले ‘इतिहास प्रकाश’ का तीनवटा किताब मात्र निकालेनन्, खस प्रदेशका थुप्रै अभिलेख पनि प्रकाशित गरे। त्यसपछि मात्र इतिहासको अध्ययन गर्नेहरूले अशोक चल्लका अभिलेखहरू भारतको गयामा अनि गढवाल र कुमाउमा क्राचल्ल र अशोक चल्लका अभिलेख भएको कुरो प्रकाशित भइसकेको कुरो खोजेर बटुले। अबचाहिँ खस राजाहरूको कीर्ति दुल्लुमा भएको पृथ्वी मल्लको कीर्तिस्तम्भ (१४१३) ले मात्र देखाएन पृथ्वी मल्लका पुर्खा अशोक चल्लले त गयाको अभिलेखमा आफूलाई ‘सपादलक्ष प्रदेश’ र ‘दानव भूतल (कुमाउँको ‘दानापुर’ र बर्दियाको ‘दानव ताल’ छेउ) का राजा’ भनेर चिनाएका रहेछन्। तेह्रौं शताब्दीमै जुम्लाका आदित्य मल्लले काठमाडौं उपत्यका जितेको कुरो धनवज्र वज्राचार्य (२०२२) ले प्रकाशमा ल्याए।
कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा एमए गरेर फर्केपछि बालकृष्ण पोखरेलले खसानमा पैदल यात्रा गरेर ‘नेपाली’ पत्रिकामा ‘नेपाली भाषाको कथा’ (२०१७) भन्ने लेख लेखेर ऐतिहासिक भाषा विज्ञानका आधारमा ध्वनि परिवर्तनका नियम बनाएर कर्णाली प्रस्रवण क्षेत्रको ‘खस’ भाषा नेपाली भाषाको माउ हो भन्ने प्रमाणित गरे, अनि पनि ‘पाँच सय वर्ष’ (२०२०) का अभिलेखहरू कालक्रम मिलाएर प्रकाशित गर्दै खस जातिको परिचय दिने विस्तृत भूमिका लेखे। बालकृष्ण पोखरेलको त्यो भूमिका राहुल सांकृत्यायनका ग्रन्थबाट प्रभावित थियो। यसरी त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका विद्यार्थीहरूलाई पढाउँदा पोखरेलले नै खस जातिको परिचय दिए।
चूडामणि बन्धु उनकै विद्यार्थी हुन्, जसले ‘नेपाली भाषाको उत्पत्ति’ (२०२६) भन्ने किताबमा खस भाषा र नेपालीको विस्तृत परिचय दिए। सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भएपछि सिँजाखोला उपत्यकाको ‘लोक संस्कृति’को परियोजना बनाएर पाँच जना बेग्ला बेग्लै शोधकर्ता (भाषामा चूडामणि बन्धु, मानवशास्त्रमा विहारीकृष्ण श्रेष्ठ, भूगोलमा स्थिरजंगबहादुर सिंह, लोक साहित्यमा प्रदीप रिमाल र इतिहासमा आफैं) लिएर स्थलगत अनुसन्धान गर्न २०२७ सालमा जुम्ला पुगे। झन्डै डेढ महिनाको स्थलगत अध्ययनपछि प्रकाशित भएको पाँच ठेलीको ‘कर्णाली लोक संस्कृति’ भन्ने किताबले २०२८ सालको मदन पुरस्कार पायो। त्यसपछि मोहनबहादुर मल्ल, सूर्यमणि अधिकारी, पूर्णप्रकाश नेपाल ‘यात्री’ आदि अनुसन्धाता खसको खोजीमा कर्णाली प्रस्रवण क्षेत्रतिर आकर्षित भए।
नेपालमा खसहरूबारे केही भ्रम प्रचलित छन्। पहिलो भ्रमचाहिँ खस जाति ‘खस्’ धातुबाट विकसित भएको हो कि भन्ने भ्रम। तर ‘संसारको छानो’ भन्ने विश्वको सबभन्दा अग्लो ताजिकिस्तानमा पर्ने पामिरको पठार वरिपरि (नेपाल, कुमाउँ, गढवाल, पञ्जाब, काश्मीर, पाकिस्तान, अफगानिस्तान, ताजिकिस्तान, चीनको सिन्च्याङ र पश्चिम तिब्बत) हिमाच्छादित पर्वतमालाको वरिपरि ‘खस मण्डल’ बनाएर एक ढिक्को भएर आज पनि अनुहार, भाषा, भेस, संस्कृति र स्थान नाममा दसीका रूपमा देखिने खस जातिको नामको व्युत्पत्ति कसरी नेपाली भाषाको ‘खस्’ धातुबाट हुनु सम्भव छ ?
खसहरूबारे दोस्रो भ्रम हो— तिनीहरू नेपालमा बाहिरबाटै आए भन्ने भ्रम। माथि उल्लेख गरिएको हिमाली भूभागमा एक ढिक्को भएर पनि कतै बाहिरबाट आउन सकिन्छ ? खसहरूसित अनुहार मिल्ने मानिस माथि उल्लेख गरिएको ताजिकिस्तान, तुर्कमेनिया, उज्बेकिस्तान, इरान, ककेसस, रुस लगायत पूरै युरोपसम्म लगातार रूपमा जोडिएको नदेखेर खसहरू बाहिरबाट आए भन्नु भ्रम र पूर्वाग्रहबाहेक केही पनि होइन। खस जनता जहाँजहाँ छन्, त्यहीँकै आदिवासी हुन् भन्ने अनेक प्रमाणहरू छन्।
अरूकै छोरीबुहारी र पत्नीहरूसित एकै चोटि रासलीला मनाउने पुरुषलाई भगवान् कृष्ण मानेर पूजा गर्न समाजले केही पनि अप्ठ्यारो मानेको छैन। कृष्णजी र राजामहाराजाहरूलाई समाजले चरित्रहीन ठहर्‍याएर कलंकित गरेको छैन। तर, मातृसत्तात्मक समाजमा त्यसैगरी एउटै महिलाले बेग्लाबेग्लै पुरुषसित रात बिताएको पनि स्वाभाविक हुन्छ भन्ने कुरो हाम्रो पितृसत्तात्मक आँखाले बुझ्न सक्तैन।
महाभारत र माथि उल्लेख गरेका पुराणहरूमा खसहरू मानसरोवर क्षेत्रमा भएको उल्लेख छ। महाभारत काललाई प्राध्यापक बीबी लाल (१९५५ इ) ले खैरो रङका माटाका भाँडा चलाउने समय (इसापूर्व नवौं शताब्दी) को ठहर्‍याएका छन्। महाभारतको घटना नवौं शताब्दी भए पनि पुराणहरू इसापूर्व दोस्रो शताब्दीअघि लेखिएनन्। धेरैजसो पुराण त गुप्त काल (चौथो—छैटौं शताब्दी)मा लेखिए। विष्णुपुराण र मार्कण्डेय पुराणलाई सबैभन्दा पुराना मानिएको छ। एट्किन्सनले ती पुराणमा पनि खसहरूको उल्लेख भेटेका छन्।
इसापूर्व पाँचौं शताब्दीका युनानी इतिहासकार हेरोडोटसले कैलाश मानसरोवरको कमिलाले उत्पादन गरेको बुकी सुनको चर्चा गरेका छन्। अलेक्जेन्डर कनिङ्घमले इसापूर्व छैटौं शताब्दीसम्म भारतमा सुनको सिक्का बनाउने चलनै थिएन, त्यसैले भारतीय राजाहरू इसापूर्व छैटौं शताब्दीका इरानी सम्राट् दारिउसलाई बुकी सुन नै थैलामा राखेर चढाउँथे भन्ने लेखेका छन्। खसहरूले मानसरोवर क्षेत्रको त्यही कमिलाले उत्पादन गर्ने बुकी सुन (पिपिलिका सुवर्ण) नै आफ्नो खटनमा राख्न नै मानसरोवर क्षेत्र रोजेका रहेछन्। इरानका सम्राट्लाई भारत सरकारले चढाउने बुकी सुन पनि मानसरोवर क्षेत्रमै उत्पादन भएको होला।
इटालेली लामा तारानाथले बुद्ध धर्मको इतिहासको परिशिष्टमा ‘दिव्यावदान’ र ‘अशोकावदान’ शीर्षकका दुइटा लेख दिएका छन्, जसअनुसार इसापूर्व तेस्रो शताब्दीमा पाटलीपुत्र (पटना) मा अशोकका बाबु बिन्दुसारको मृत्यु भएपछि अशोकलाई राज्यको उत्तराधिकार नदिन राज्य विप्लव भएका बेलामा अशोकलाई गद्दीमा चढाउन पश्चिम नेपालका दुइटा खसहरूले सघाएका थिए भन्ने कुरो देखिन्छ। पछि अशोकले पश्चिम नेपालको खस प्रदेश जितेको कुरो पनि बौद्ध साहित्यमा पाइने सूचना सेलुप्स्की (१९६७ इ) ले दिएका छन्। रोमन इतिहासकार प्लिनी (इसापूर्व पहिलो शताब्दी)ले पनि हिमालयको यस भेगमा खसहरूको बसोवासको चर्चा गरेका छन्।
बालकृष्ण पोखरेलले ‘खस जातिको इतिहास’मा युरेसियामा भेटिने खसका सबै गोती (शक) हरूलाई खस घोषित गरेका छन्। तर समग्र भित्री र बाहिरी युरेसियाको ऐतिहासिक र पुरातात्त्िवक अनुसन्धानको अध्ययन गर्दा राहुल सांकृत्यायनले भनेझैं, खसको उपवर्ग शक नभएर शकको उपवर्ग मात्र खस भएको देखिन्छ। ‘खस’ शब्दसित मिल्ने ठाउँहरू ताक्लामकान, अफगानिस्तान, पाकिस्तान, आदि ठाउँमा पाइने भए पनि (खोअस, खोअस्पेस, खोफेने, खसमीर, खसघर, खो, आदि) यस जातिलाई खालि भारतको कुल्लुदेखि नेपालसम्म मात्र खस नामले बोलाउने गरेको पाइन्छ। यी तथ्यले पनि खसहरूलाई ‘खसमण्डल’सँग मात्र जोड्छ, बाहिर पु‍र्‍याउँदैन। कैलाश पर्वत शिवजीको मूल थलो मानिन्छ।
शिवजीलाई ‘यक्षस्वरूपाय जटाधराय’ (जटाधारी यक्ष स्वरूपका) भनिएको छ। एट्किन्सनले खसहरूलाई पहिले ‘यक्ष’ भनिन्थ्यो भन्ने लेखेका छन्। खसहरू शिवभक्त हुन्छन्। खसहरू बसेको ठाउँमा शिवजीकै पूजा बढ्ता हुन्छ। वासुकी नाग शिवजीको गहना मानिन्छ। खसहरू वासुकी नागलाई धेरै मान्दछन्। खसहरूका बसोवास क्षेत्रमा नागपञ्चमी, नाग पूजा, नाग लाग्ने, नागको शिर, जस्ता अनेक लोकाचार पाइन्छन्।
तेस्रो भ्रम खस राजाहरू भोटे हुन् कि भन्ने पनि छ। किनभने पहिलो त तिब्बतबाटै आएर नागराजले जुम्लालाई आफ्नो केन्द्र बनाएको कुरो कीर्तिस्तम्भमा छ। दसौं शताब्दीपछि तिब्बतका राजा स्रङ चन गम्पोका सन्तानले तिब्बतलाई तीनओटा राज्यमा बाँडे। त्यसपछि पूर्वको केन्द्र ह्लासा भयो, बीचको केन्द्र मानसरोवर क्षेत्र भयो र पश्चिमको केन्द्र चाहिँ लद्दाख भयो। त्यसपछि ह्लासाबाट मानसरोवर क्षेत्र (गुगे र पुराङ) तिब्बती संस्कृतिको केन्द्र भयो। एघारौं शताब्दीका भोटे राजाले थोलिङ गुम्बा बनाए अनि काश्मीर र विहारमा विद्यार्थीहरूलाई संस्कृत पढ्न पठाए, तर काश्मीरकै गर्मी पनि तिब्बती विद्यार्थीले सहन सकेनन्। धेरै विद्यार्थी मरेपछि राजाले विक्रमशीला महाविहारबाट धेरै प्रयत्न गरेर गुरु दीपंकरलाई बोलाए। एघारौं शताब्दीमा दीपंकर नेपालको बाटो थोलिङ गुम्बा पुगे, त्यहाँका विद्यार्थी पढाउने जिम्मा लिए, तिब्बती पनि सिके र संस्कृतका सयौं ग्रन्थ अनुवाद गरे। जुन राजाले दीपंकरलाई बोलाए, तीचाहिँ दुई जना छोरासहित भिक्षु भए। ती राजाको संस्कृत नाम ज्ञानप्रभ थियो र उनका एउटा छोराको नाउँ नागराज थियो।
पृथ्वी मल्लको दुल्लुको कीर्ति स्तम्भमा दुइटा वंशावली छन्। पृथ्वी मल्लका बाबु पुण्य मल्ल जन्मिँदा पाल थरका थिए, तर राजा हुँदा ससुराली मल्ल राजाहरू अपुता भएकाले ‘मल्ल’ थर लिएर घर ज्वाइँ तथा पुण्य मल्लका उत्तराधिकारी धर्मपुत्र भए। यसरी दुइटा वंश जोडिएर मल्ल भएको देखिन्छ। मल्ल थर भएका मानिसहरू त बुद्धकै पालामा पनि कुसिनगरमा बस्थे। राजाहरूको पाल वंश आठौं शताब्दीतिर बंगालमा थालियो। ठीक त्यसै बेला गुजरातमा गुर्जर प्रतिहारवंशी राजाहरू बलिया भए। तर नवौं, दसौं शताब्दीमा गुर्जर प्रतिहारवंशी राजाहरूले कन्नौज हत्याउँदा उनीहरूको थर पाल भइसकेको थियो। मध्य एसियाका राजा मुहम्मद गजनीले एघारौं शताब्दीमा कन्नौज हत्याएपछि आफ्ना आसेपासे लिएर उनीहरू मानसरोवर पुगे र सम्भवतः उनीहरूले तिब्बती राजवंशबाट राज्य हत्याए। यसरी गुगेका पाल थर भएका राजाहरू भोटे राजाका उत्तराधिकारी भएका देखिन्छन् अनि कालान्तरमा तिनीहरूकै मल्ल थर हुन्छ।
यसरी प्रागैतिहासिक आप्रवासको परिणामस्वरूप खस जाति दुई किसिमले क्रमशः सर्दै कर्णाली प्रदेश आइपुगेको देखिन्छ। खस शासकहरूचाहिँ पामिरको फेरो मारेर पश्चिम चीनको ताक्लामकान उपत्यकाबाट ताजिकिस्तान, ताजिकिस्तानबाट अफगानिस्तान, अफगानिस्तानबाट पाकिस्तान, पाकिस्तानबाट काश्मीर, काश्मीरबाट गढवाल, गढवालबाट कुमाउँ र कुमालबाट नेपाल आएको इतिहासले देखाउँछ। गुगल अर्थ हेर्दा खस जनताचाहिँ ताक्लामकान उपत्यकाबाट पाखैपाखा पश्चिम तिब्बतको ताक्लाकोट हुँदै नेपाल मात्र होइन, काश्मीर, ताजिकिस्तान, किर्घिजिस्तान र मंगोलियासम्म त्यसै पुग्न सक्ने देखिन्छ। यसरी खस जनताचाहिँ पामिरको मालभूमि वरिपरिको भौगोलिक मण्डल बनाएर एक ढिक्को भएर फैलेको देखिन्छ। यो भूभाग भित्र बीचमा अर्को जाति नै छैन।
भारतमा आइपुगेका खस शासकहरू पनि नेपालमा शासन गर्न आइपुगेकै देखिँदैन। मानसरोवर क्षेत्रबाट नेपालमा शासन गर्न कर्णाली प्रदेश आएका ‘खस राजा’ हरूको थर ‘पाल’, ‘चल्ल’ र ‘मल्ल’ देख्ता तिनीहरू एघारौं शताब्दीमा भारतको बंगाल, विहार र काश्मीरमा शक्ति खिएर पश्चिम तिब्बत पुगेर शक्ति सञ्चय गर्दै तिब्बती राजवंशलाई विस्थापित गरे पनि तिब्बती संस्कृतिको संरक्षण गर्ने भारतीय शासकहरूका रक्तमिश्रित वंशज होलान् भन्ने अड्कल गर्न सकिन्छ। तर उनीहरूका जनतालाई पनि भारतीय नै ठान्नु इतिहासको बहुआयामिक स्वरूपसित परिचित नहुनु हो। यसरी खस राजाहरूका रगतमा त भारतीय र तिब्बतीहरूको रक्त मिश्रण भएको हुने सम्भावना भए पनि खस जनतालाई पनि त्यस्तै ठान्न सकिँदैन।
यसै आधारमा जबजब गंगा सिन्धुको मैदानमा मध्य एसियाबाट विदेशी आक्रमण भयो, तबतब पुराना शासकहरू विस्थापित भएर गढवाल, कुमाउँ र नेपालका हिमाली र पहाडी प्रदेशतिर भाग्न बाध्य भए। क्यारमका गोटी सरेझैं त्यस्ता शासक उनीहरूका सेनामेना तथा आशामुखीहरू लिएर हिमाली र पहाडी प्रदेशतिर विस्थापित हुँदै गए होलान्। त्यसरी विस्थापित हुने अनेक सभ्यताका पत्रपत्र गढवाल, कुमाउँ र नेपालका हिमाली र पहाडी प्रदेशमा भेटिन सक्छन्। यसरी कर्णाली प्रदेशका खसहरूको सभ्यता भित्र अनुसन्धान गरे, अनेक सभ्यताका पत्र पाइन सक्छन्।
खसहरूका धेरै चलनहरू भारतका हिन्दुका चलनसँग मिल्दैनन्। आज पनि हुम्ला र डोल्पामा ४०५ परिवारमा द्रौपदी प्रथा पाइन्छ। यो चलन तिब्बती मूलका जनतामा मात्र होइन, खसहरूमा पनि पाइन्छ। बादीहरूको बहुपति प्रथा हिमाली क्षेत्रको ‘द्रौपदी प्रथा’ भन्दा फरक छ। पितृसत्तात्मक समाजले धेरै दरबारका राजा महाराजाहरूमा प्रचलित एउटै पुरुषले बेलुकैपिच्छे अर्का अर्कै महिलासित रात बिताएको धेरै अस्वाभाविक मान्दैन। अरूकै छोरीबुहारी र पत्नीहरूसित एकै चोटि रासलीला मनाउने पुरुषलाई भगवान् कृष्ण मानेर पूजा गर्न समाजले केही पनि अप्ठ्यारो मानेको छैन। कृष्णजी र राजामहाराजाहरूलाई समाजले चरित्रहीन ठहराएर कलंकित गरेको छैन। तर मातृसत्तात्मक समाजमा त्यसैगरी एउटै महिलाले बेग्लाबेग्लै पुरुषसित रात बिताएको पनि स्वाभाविक हुन्छ भन्ने कुरो हाम्रो पितृसत्तात्मक आँखाले बुझ्न सक्तैन।
बादीहरूको समाजमा मातृसत्तात्मक समाजको त्यही अवशेष छ, जहाँ श्रीमतीहरू गाउँका राजा, रजौटा र ठालुहरूकहाँ नाचगान गरेर रात बिताउन पुग्छन् र उनीहरूका पतिहरू चाहिँ मादल र बाजा बजाएर सहजकर्ता हुन्छन्। बादीहरूले खस जातिको प्रागैतिहासिक चलन साँचेको देखिन्छ। चीन, ग्रिस, संस्कृत र मध्य एसियामा ‘स्त्रीराज्य’को वर्णन पाइन्छ। महाभारत र हेरोडोटसले पनि कुमाउँको ब्रह्मपुर मास्तिरको खसहरूको स्त्रीराज्यको उल्लेख गरेका छन्। खसहरूका परिवारमा सौता अंश लाग्छ, भारतमा जस्तो छोरा अंश लाग्दैन। पाञ्चाल (कुमाउ)की राजकुमारी द्रौपदीको बहुपतित्वको उपहास महाभारतमा पनि गरिएको छ।
कर्णाली प्रस्रवण क्षेत्रमा कुनै पुराणमा पनि उल्लेख नभएका असंख्य देउताको पूजा हुन्छ। कुमाउमा कुम्भ निकुम्भको पूजा हुन्छ। डोटी र बैतडीमा घटाल (घटोत्कच) देवताको पूजा हुन्छ। खसहरू हिन्दू धर्मशास्त्र बन्नुभन्दा अगाडिदेखि नै यस भूभागमा बसोवास गरेकाले र गंगा सिन्धुको मैदानमा वेद, ब्राह्मण र हिन्दू पुराणहरू लेखिएकाले ब्राह्मण धर्म (वर्णा श्रम धर्म) बन्नुभन्दा अगाडि नै हिमालयको यस भेगमा बसिरहेका आदिवासी खसहरूलाई मनुस्मृतिमा पनि जातमा काढेको देखिन्छ। कुमाउँ, बैतडी, डोटी, अछाम, हुम्ला र जुम्लामा अझै पनि जनै नलगाउने (मतवाली) क्षेत्रीहरू पाइन्छन्। गबारियोले यस्तै क्षेत्रीलाई चाहिँ सक्कली खस मानेका छन्। पछि बनेको हिन्दू वर्णा श्रम धर्मले यस्ता छेत्रीहरूलाई अछाममा पानी नै काढेको पनि देखिन्छ भने, कतैकतैचाहिँ बिहेबारी चल्ने सूचना पनि पाइएको छ।
संस्कृति के चार अध्याय’ भन्ने किताबमा दिनकरले लेखेका छन्— हिन्दू समाजले प्रविधिज्ञहरूलाई चाहिँ जातकट्टा गरेर पानी काढेको देखिन्छ। नेपालका कामी, दमाई, सार्की, गाइने, आदि त्यस्तै प्रविधिज्ञ हुन्स नेपालका प्राचीन इन्जिनियर हुन्। डा. महेश्वर जोशी (२०११ ई) ले ‘शूद्रों का ब्राह्मणत्व’ भन्ने किताबमा लेखेका छन्— कुमाउमा गोर्खालीहरूले नजितुन्जेल त्यहाँका शूद्रलाई पानी काढिएको पनि थिएन। बाहुनसँग बिहेबारीमा पनि बन्देज थिएन। यसरी नेपालमा चाहिँ मैदानी हिन्दू धर्मको प्रभावले आफ्नै सीप भएका केही खस जातिलाई अन्यायपूर्वक दलित बनाइएको रहेछ।
http://annapurnapost.com/news/121200

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...