Tuesday, July 30, 2019

भार्ता नाच्दै कर्णाली


भार्ता नाच्दै कर्णाली
श्रावण १४, २०७६राजबहादुर शाही
मुगु — गमगढीको शिरमा सेतो घर छ । बाहिर कालो अक्षरमा लेखिएको छ– ‘कर्णाली आर्टस सेन्टर ।’ भुइँतलामा कर्णालीको लोकबाजा हुड्को बजिरहेको सुनिन्छ । त्यहाँ कुनै विवाह समारोह हैन । रंगकर्मी हीरा बिजुली नेपालीले भार्ता रेकर्डिङ गरिरहेका छन् । हुड्को बजाउँदै हीरा मिठो स्वरमा भार्ता गाउनमै व्यस्त छन् । ‘नमो नमो नारायनय राजयौं तुमी दाइना भयाँ ओ ! तुमी दाइना भयाँ...।’ 

यसरी भार्ता गाउन हीरालाई विष्णुमाया परियार, जयलक्ष्मी हमाल, गणेश खड्का, रामु बिक, राज मल्ललगायतका कलाकारले पनि साथ दिइरहेका छन् ।

हालै राजधानीमा हुड्के नाच देखाएर जन्मथलो फर्किएका उनले ‘भार्ता जोगाउ अभियान’ को थालनी गरेका हुन् । दूरदराजका गाउँबस्तीमा पुर्ख्यौली बाजा हुड्को बजाउँदै गाउने भाका भार्ता हराउँदै गएकोप्रति यो समूहको चिन्ता छ । त्यही भएर उनीहरू यसलाई रेकर्डिङ गरेर श्रोतामाझ पुर्‍याउने अभियानमा छन् । ‘लोकसंस्कृति जोगाउने यो नयाँ तरिका हो,’ हीराले भने, ‘पुरानै तरिकाले अब परम्परा बचाउन नसकिने भयो ।’

भार्ता खासमा गायन शैलीमार्फत् कथा भन्ने पुरानो परम्परा हो । लामो स्वर निकालेर गाउने एक प्रकारको गीतजस्तै हो यो । शुभ र अशुभ दुवै कार्यमा भार्ता सुनाउने चलन गाउँ घरमा पहिले थियो, अहिले हराउँदै गएको छ । देवीदेवता राजामहाराजलाई पुकार गर्दै भार्ता सुरु गरिने हीराको भनाइ छ ।

गाउँका गरिव पिछडिएका दमाई जातिले कम्मरमा सेतो पटुका, कालो जुहारीकोट र टाउकामा सेतो मथेरो लाएर हुड्को बजाउँदै भार्ता गाउने चलन पुरानै हो । हीराका अनुसार हुड्को बाजा बजाउँदै गीत भट्ट्याउनेलाई हुड्के भनिन्छ । ‘एक जना हुड्केले सुरु गरेपछि चार/पाँच जनाले सहयोगीको रूपमा लयबद्ध स्वरले गाउने चलन छ,’ उनले भने, ‘विशेष गरेर कर्णालीका बस्तीहरूमा छोरीलाई ज्वाइँको घर पठाउँदा र बुहारीलाई आफनो घर ल्याउँदा हुड्केले भार्तागाउने गरिन्छ ।’

यस्तो बेला चेलीे जन्मेदेखि विवाह बन्धनमा बाँधिदासम्मको दुःखान्त र सुखान्त दुबै कुरालाई भार्ताद्वारा गाइन्छ । विवाह व्रतबन्धनको दिन सम्पूर्ण गाउँले जम्मा भएर हुड्केको भार्ता सुन्ने गर्छन् । हीराका अनुसार परम्परागत भार्तामा भने हुड्केलाई इच्छाअनुसारको पैसा दिएर मनखुसी बनाइदिने चलन पनि छ । गाउने क्रममा महादेव, गुरा, बिजई, मष्टा कुलदेवता, भवानीलगायत देवी–देवतालाई धामीझाँक्रीले पूर्णिमाका दिन पूजा गर्ने पनि गरिन्छ । ‘भार्ता गाउँदा गाउँदै झाँक्री काँपेर हुड्केलाई अक्षता फूलमाला दिने गर्छन्,’ उनले भने, ‘अचेल छोरा नाति जन्मिँदा मुखिया घरमा रातभरि भार्ता गाउने चलन भने हराउँदै गएको छ ।’

उनका अनुसार कुनै समय न्वारानको बेला हुड्केले ‘पइकेलो’ शब्द उचारण गर्दै भार्ता सुनाउँथे । राजामहाराजको छोरालाई ‘पैइकेलो’ भन्ने चलन छ । रोपाइँका दिनमा हुड्केलाई निम्तो गरेर भार्ता गाउने चलन ग्रामीण भेकमा अझै छ । खेतमा महिला पुरुष तन्नेरीले धान रोप्ने र हुड्केले खेतको आलीमा बसेर भार्ता गाउँदै फनफनी नाच्ने गरिन्छ । ‘मृत्यु संस्कारमा पनि भार्ता गाउने गरिन्छ,’ उनले भने, ‘गाउँबस्तीका भद्रभलादमी एवं झाँक्रीको मृत्यु भएको खण्डमा पनि भार्ता गाइन्छ ।’

मृतकलाई घरदेखि घाट पुर्‍याउँदा सम्म हुड्केले दुःखान्त शब्दमा भार्ता गाउनुपर्छ । भार्ता खस भाषाको प्रयोग हुन्छ । हीराका अनुसार खस राज्यकै पुर्ख्यौली सांस्कृतिक सम्पदाको रूपमा यो अभ्यास हुँदै आएको हो । ‘नयाँ पुस्ताले चासो नदिँदा भने यो ओझेलमा पर्दै गएको छ,’ उनले भने, ‘हुड्को खेल्ने र भार्ता गाउँने दमाई समुदायबाहेक यसलाई अरूले निरन्तरता दिएनन् । त्यसमाथि यो युवामा हस्तान्तरणहुन सकेन ।’

स्वर र बजाउने कला भएको व्यक्तिले मात्र हुड्को खेलेर भार्ता गाउन सक्ने स्थानीयको भनाइ छ । राज्यको नजर नपर्ने हुड्को बजार जीविका चलाउने अवस्था पनि नभएको पुरुमुरु गाउका प्रसिद्ध हुड्के कलाकार मानवीर दमाईले सुनाए । अर्कोतिर हुड्को बाजा बनाउने सिपको पनि संरक्षण र हस्तान्तरण हुन नसक्दा गाउँबस्तीमा यो परम्परागत बाजा नै पाउन मुस्किल हुन थालेको छ । द्वन्द्वकालीन समयमा माओवादीले हुड्केलाई जनसांस्कृतिक कलाकारको रूपमा समेत प्रयोग गरेका थिए ।

निर्वाचनको समयमा होस् या दलको आमसभाको बेला जनतालाई आकर्षित बनाउन पनि ‘हुड्के नाच’ प्रयोग हुँदै आएको छ । ‘तर यसको जर्गेनातिर पनि कसैले ध्यान पुर्‍याउन सकेको छैन,’ हीराको गुनासो छ ।

हीराकै कर्णाली आर्टस सेन्टरले भने समसामयिक विषयलाई पनि भार्तामा मिसाएर प्रस्तुत गर्दै आएको छ । सामाजिक परिवर्तन र जागारणका लागि उनीहरूले यसो गरेका हुन् । हालै उनीहरूले चैन गाउँको मन्दिर प्रवेश, रुघा गाउँका लावड जातिको बाबियो र थार्पको मष्ट तथा पिना साहनी बाँडाको निगालोको कथालाई पनि भार्तामा रूपान्तरण गरेका छन् । सामाजिक विसंगतिका मुद्दालाई समेत भार्तामार्फत भनेर जनचेतना फैलाउन सकिने भएकाले यसो गरिएको हीराले बताए ।प्रकाशित : श्रावण १४, २०७६ ०९:०८

आज गँठेमंगल


आज गँठेमंगल
श्रावण १४, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — नेवार समुदायले मंगलबार राक्षसी स्वरूपमा घण्टाकर्ण दहन गर्दै गँठेमंगल मनाउँदै छन् । साउन कृष्ण चर्तुदशीका दिन यो पर्व मनाइन्छ । त्यसैले यसलाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ । भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने चलन छ ।
दिनभर ठड्याइएको नर्कटले बनेको गँठेमंगललाई घाम अस्ताएपछि नदीमा लगेर विर्सजन गरिन्छ । त्यस अगाडि छालीको चिराग समातेर तीनपल्ट परिक्रम गराइने चलन पनि छ ।

केही स्थानमा भने विभिन्न स्थानका गँठेमंगललाई एकत्रित गरेर जलाउने चलन मात्र पनि छ । धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुवाँ पठाउने पनि गरिन्छ । यसबाट किटाणु भाग्ने विश्वास छ । परापूर्व कालमा नास्तिक व्यक्तिले कानमा घण्ट झुन्ड्याएको र उनको आतंकले धेरैलाई गाह्रो भएको उनलाई दहन गरिएको कठन पनि छ ।

यस्तै अर्को किम्बदन्तीअनुसार ठूलो खानदानकी युवतीसँग प्रेममा परेका एक युवालाई समाजले नस्विकारे बेवारिसे बनाइएको थियो । उनै युवाको मृत्यु सडकमै भएपछि दहन गरेको थियो ।

त्यसै हुनाले पछि परालको मान्छे बनाई दहन गर्ने परम्परा चलेको पनि मानिन्छ । यस दिन घरको मूल ढोकामा भूतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे गाड्ने पनि गरिन्छ । यस्तै फलामको औंठी लगाउने चलन पनि छ । ज्यापू समुदायमा धान रोप्ने बेलामा आमन्त्रित शक्ति पन्छाएर पनि यो पर्व मनाउने गरिन्छ ।प्रकाशित : श्रावण १४, २०७६ ०७:५४


Monday, July 29, 2019

‘मध्यकालीन भक्तपुर’


इतिहाससम्बन्धी चार पुस्तक
२०७६ श्रावण ४ शनिबार ०७:५५:००
रत्न पुस्तक भण्डारले इतिहाससम्बन्धी चार पुस्तक बजारमा ल्याएको छ । एउटा नयाँ पुस्तक प्रकाशन गरेको हो भने तीनवटा पुराना पुस्तक पुनः प्रकाशन गरेको हो ।
रत्नले डा. बलराम कायस्थले लेखेको ‘मध्यकालीन भक्तपुर’ पहिलोपटक प्रकाशन गरेको हो । यसमा विसं. १२०४ देखि १८२६ सम्मको भक्तपुरको इतिहास समेटिएको छ । पाँच अध्याय भएको पुस्तकको पहिलो अध्यायमा भक्तपुरको परिचय, नामाकरण, राजनीतिक पृष्ठभूमिलगायत विषय छन् । पुस्तकमा भक्तपुरको पूर्वमध्यकालीन इतिहास, राजाहरू, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालगायत विषय समेटिएका छन् ।
रत्नले चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ एवं ‘श्री ५ रणबहादुर शाह’ तथा प्राडा. श्रीरामप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’को पुनः प्रकाशन गरेको हो । चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’को पहिलो संस्करण ०१३ सालमा प्रकाशित भएको थियो । ‘श्री ५ रणबहादुर शाह’ पुस्तकको पहिलो संस्करण भने ०२० सालमा प्रकाशन भएको थियो । 
‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’मा त्यतिवेलाको राजनीतिक व्यवस्था उल्लेख छ । अर्को पुस्तकमा रणबहादुर शाहको जीवनी समेटिएको छ । श्रीरामप्रसाद उपाध्यायको पुस्तक ‘नेपालको इतिहास’को पहिलो संस्करण ०५५ सालमा प्रकाशन भएको थियो । यो पुस्तकमा प्राचीन तथा मध्यकालीनदेखि आधुनिक कालसम्मको इतिहास समेटिएको छ । 

त्रिपिटक बुझाउने विश्वकोश


त्रिपिटक बुझाउने विश्वकोश
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक पालि भाषामा भएकाले सबैले बुझ्दैनन् । बुद्धकालीन नेपाली विश्वकोशले यसको अन्त्य गरेको छ
श्रावण १३, २०७६हिमेशरत्न वज्राचार्य
काठमाडौँ — बौद्ध धर्मको गहन अध्ययनका लागि नेपालमा सामग्री अभाव रहेको पाइन्छ, त्यसमाथि नेपाली भाषामा छैनन् भन्दा पनि हुन्छ । त्यसैले पनि धेरैका लागि बौद्ध धर्मबारे राम्रोसँग बुझ्न कठिन हुने गरेको छ । अब भने केही सजिलो हुने भएको छ । यसै साताबाट २७ पुस्तकको संगालोका रूपमा बुद्धकालीन नेपाली विश्वकोश उपलब्ध भएको छ ।
वीर पूर्ण पुस्तक संग्रहालयले यसलाई बजारमा ल्याएको हो । बौद्ध धर्मको मूल ग्रन्थ हो त्रिपिटक । यो पालि भाषामा छ । यसको सरल अनुवाद पनि पाइन्न । यस्तोमा बौद्ध धर्मबारे सजिलै बुझ्ने उपाय के हो त ? बुद्धकालीन नेपाली विश्वकोश त्यही उपायसम्म पुग्ने सबैभन्दा सटिक बाटो हुनेछ । ‘बौद्ध धर्मका जिज्ञासुका लागि यो विश्वकोश प्रकाशनमा आउनु आफैंमा अभूतपूर्व र अद्वितीय छ,’ प्रकाशक संस्थाका दुण्डबहादुर वज्राचार्यले भने । उनी लामो समयदेखि त्रिपिटकको अनुवादमा व्यस्त छन् ।

उनले जीवनको अधिकांश समय त्रिपिटकको अनुवादमै बिताएका छन् । नेपाल भाषामा त्रिपिटकका अधिकांश ग्रन्थ उपलब्ध भएका छन् । उनकै अनुवादमा नेपाली भाषामा त्रिपिटकको दीघनिकाय र मझिमनिकाय प्रकाशित भइसकेका छन् । यो क्रम अझ अगाडि बढ्नेछ । वज्राचार्यको अनुभवमा पनि सबैका लागि त्रिपिटक अध्ययन सजिलो छैन, एकैपल्टमा बुझ्न गाह्रो हुन्छ । त्यसका लागि सबैभन्दा पहिले यिनै २७ पुस्तक पढ्नु उपयुक्त हुन्छ ।

यी सबै पुस्तकको पृष्ठ जोडदा साढे १३ हजारभन्दा बढी हुन्छ । यी पुस्तक बेलाबेला प्रकाशित भएका हुन् । लेखक भने भिक्षु अमृतानन्द हुन् । उनले त्रिपिटकलाई आधार मानेर बुद्धकालीन ग्रन्थमाला लेखे । ती पुस्तक दुर्लभजस्तै भइसके, सजिलै पाउन सकिन्न । यस्तोमा वीर पूर्ण पुस्तक संग्रहालयले यसलाई बुद्धकालीन नेपाली विश्वकोशको स्वरूप दिएको हो ।

नेपालको थेरवादी बौद्ध धर्मका अग्रणी भिक्षुमा पर्छन्, अमृतानन्द । तानसेनको भीमसेन टोलमा शाक्यकुलमा जन्मेका उनी बौद्ध धर्मको प्रचारप्रसार गरेको आरोपमा जेलसमेत परेका थिए । सन् १९४२ यता उनले काठमाडौं आएर बौद्ध धर्मको प्रचारमा सक्रिय रहे । उनी नै बौद्ध धर्मबारे नेपाली, नेपाल भाषा र अंग्रेजीमा आजसम्म सबैभन्दा बढी पुस्तक लेख्ने लेखक हुन् । उनका ६ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

अमृतानन्दले त्रिपिटकका ग्रन्थ र सूत्रमा उल्लेख भएका चरित्रलाई क्रमबद्ध मिलाएर २६ पुस्तक लेखे । त्यसमा बुद्धकालीन ब्राहमण भाग १ सबैभन्दा पहिले ०२८ सालमा प्रकाशन भएको थियो । त्यसपछि बुद्धकालीन गृहस्थी, राजपरिवार, परिव्राजक, महिला, श्रावक चरित, श्राविका चरित, ब्रहमादिदेव, प्रेतकथा, विमानकथाका पुस्तक निस्के । यी सबै सुरुमा आनन्दकुटी विहारबाट प्रकाशन भएका थिए । अब यी सबैलाई नयाँ स्वरूप दिइएको छ ।

विश्वकोशको २७ औं कृतिमा भने संक्षिप्त बुद्ध जीवनीसँगै अनुरुद्ध स्थवीर, सम्राट् अशोक र बुद्धशासनको इतिहास रहेको छ । ‘भिक्षु अमृतानन्दले निकै मिहिनेत गरेर यी सबै पुस्तक तयार पारेका हुन् ।

यत्तिको गहन अध्ययन गरेर लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तक सम्भवतः अरू भाषामा पाइन्न,’ वज्राचार्यले थपे, ‘हाम्रा लागि नेपाली भाषामा यति धेरै पुस्तक उपलब्धि हुनु वास्तवमै निकै ठूलो उपलब्धि हो । यसले नेपाली भाषालाई पनि धनी बनाएको छ ।’प्रकाशित : श्रावण १३, २०७६ ०९:०७


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...