Saturday, December 23, 2023

सोरठी जोगाउनै मुस्किल

 



सोरठी जोगाउनै मुस्किल

टोपलाल अर्यालगुल्मी, naya patrika,

२०८० कार्तिक २९ बुधबार ०७:३०:००

 

गुरुमा ६२ वर्षीय डम्बरबहादुर थापाले सोरठीको साँखी बाँधेपछि मादले रिमलाल थापाले मादल घन्काए। घेरामा उभिएका कलाकारले सोरठी लयमा स्वर भर्न थाले। पुर्सुंगे तीलबहादुर थापासँगै महिला भेषका मारुले अशोक राना र चित्रबहादुर थापा भुर्न (नाच्न) थालेपछि मुसिकोटको बामी बसपार्क सोरठीमय बन्यो। 

डम्बरबहादुर थापा १२ वर्षदेखि सोरठीका गुरुमा हुन्। गुरुमाले सोरठीको नेतृत्व र सुरुवात गर्छ। सोरठी देख्दा निकै आनन्द आउँछ। तर, प्रस्तुत गर्न सजिलो छैन। सोरठीका १६ चरण (हाँगा) हुने भएकाले लामो हुन्छ। गाउँको एक घरमा सोरठी खेल्ने र छिमेकीहरू जम्मा भएर सोरठी हेर्ने चलन रहेको थापाले बताए। 

पश्चिमी संस्कृतिका कारण युवाहरूबीच नेपाली मौलिक लोक भाका, संंस्कार र संस्कृति गुमनाम बनिरहेका वेला बाग्लुङको रिघामा सोरठी पुस्तान्तरणको प्रयास गरिएको छ। रिघामा तिहारको पाँच दिन खुबै सोरठी खेलिन्छ। ‘गाउँमा पुराना गुरुमा र कलाकार छैनन्। कोही बिते कसैले बिस्तारै छोडे,' उनले भने, ‘सानो प्रयास र देखासिकी गरेर सोरठी आउँदैन।’ सोरठीको लागि समय धेरै चाहिने भएकाले सबैको घरमा खेल्न सम्भव छैन। 

सोरठीलगायतका संस्कृति जोगाउन चुनौती

टोलटोलमा खेलिने भएकाले सबैले थोरै धेरै गरेर पचास हजारदेखि एक लाखसम्म पैसा पनि दिन्छन्। तर, स्थानीय रूपमा पैसाभन्दा संस्कृतिको संरक्षणलाई जोड दिइएको सोरठी समूहको नेतृत्वकर्ता दलबहादुर बुढाथोकीले बताए। उनले गाउँमा युवापुस्ता नै कम हुन थालेपछि सोरठीलगायतका संस्कृति जोगाउन चुनौती रहेको बताए। जिटिभी नेपालले आयोजना गरेको सोरठी नृत्य प्रतियोगितामा बाग्लुङ गल्कोट नगरपालिका–११ को सानो रिघाको सोरठी प्रथम बनेको छ।

गुल्मीको मुसिकोट नगरपालिका–८ मालारानीका ६१ वर्षीय टेकबहादुर छन्तेल सोरठीका गुरुमा हुन्। उनले चारै दिशाका देवीदेवता भाकेपछि सोरठीको मेलो सुरु हुन्छ। मादलका गुरु टेकबहादुर श्रीस र तुलप्रसाद छन्तेलले मादल ठोकेपछि घाँगर, धोती, इस्टकोट र सेतै साफाले सजिएका पुर्सुंगे तेजबहादुर छन्तेलसँगै महिलाको पोसाकमा अभिनय गर्ने मारुले गोविन्द छन्तेल र उमेश दर्लामी नृत्यमा बग्छन्। 

गुम–गुम मादलको लामो स्वरमा गाइने सोरठी र भुर्भुर नृत्य दर्शकका बीच निकै मनमोहक देखिन्छ। मालारानी जनजातिहरूको राम्रो बसोबास भएको गाउँ हो। तर, सबै समुदाय मिलेर सोरठी खेल्दै आएको गुरुमा टेकबहादुर छन्तेलले बताए। छन्तेलले सोरठी पाको पुस्तामा रहेकाले पुस्तान्तरणका लागि युवाहरूमा चासो नरहेको गुनासो गरे। यद्यपिआफूहरूले नै सोरठीको जीवन्तता बचाइरहेको छन्तेल बताउँछन्। मालारानीको सोरठी समूह जिटिभी नेपालले आयोजना गरेको सोरठी नृत्य प्रतियोगितामा दोस्रो बनेको थियो।

आफ्नो कला र संस्कृति प्राणभन्दा प्यारो

सोरठी नाच्न र गाउन अब्बल गंगुप्रसाद छन्तेल, गुरुमा हरिलाल छन्तेल र नरबहादुर छन्तेल दिवंगत भए। ८९ वर्षीय खड्गबहादुर घर्ती अझै पनि सोरठी खेल्छन्। घर्ती १४ वर्षको उमेरदेखि सोरठी नाच्न थालेका हुन्। उनका बाउबाजेहरू पनि सोरठीका कलाकार थिए। उनैबाट खड्गबहादुरले पनि सिके। 

उनीसँग गाउने, नाच्ने र बजाउने सबै कला छ। उमेरले रातिमा खेल्न र टाढा पुग्न सक्दैनन्। तर, नजिकमा सोरठी छुटाउँदैनन्। किनकि गाउँमा आफ्नो शेखपछि पनि सोरठी जीवितै रहोस् भन्ने चाहना घर्तीमा छ। ‘पल्टनभन्दा पहिले सोरठी सिकेर गाउने र नाच्ने गरेँ। पेन्सनपछि सोरठीसँगै घाटु नाच भित्र्याएँ,' घर्तीले भने, ‘आफ्नो कला र संस्कृति प्राणभन्दा प्यारो लाग्दो रहेछ।’ जैसिंगे राजाको जीवन गाथा, देविदेवताको नामसँगै बीचबीचमा चुट्कासहित सोरठी प्रस्तुत गरिन्छ।

तिहारपछि मंसिरको पूर्णिमासम्म सोरठी खेलिने भएकाले गाउँ, छिमेकसँगै बामी, बुर्तिबाङदेखि बुटवलसम्म पुगेर सोरठी खेलिएको खड्गबहादुरले सुनाए। मालारानीमा सोरठी र घाटुबाट उठेको रकमले थुप्रै सामाजिक कामहरूसमेत भएका छन्। 

नयाँ पुस्तालाई छैन चासो

सोरठी दिनरात खेलिन्छ। गाउँको मूलघरमा देवी बाँधेपछि गाउँ डुल्न फुक्छ। आफूहरूले दुई रात नसुतेर पनि सोरठी खेलेको सम्झिँदै घर्तीले नयाँ पुस्तामा चासो नभएको बताए। ‘त्यो वेला बाउबाजेको डर हुन्थ्यो, त्यसैले सिक्ने र खट्ने हुन्थ्यो। अहिलेको पुस्ता सुन्न, हेर्न र सिक्न उत्सुक छैन,' उनले भने, ‘म आफैँ टोलीमा उभिएर नयाँलाई सोरठी सिकाइरहेको छु।’

गाउँमा निकै प्रख्यात मानिएको सोरठी हराउँदै जान थालेपछि जिटिभी नेपाल सूचना केन्द्रले वार्षिक उत्सवको अवसरमा सोरठी नृत्य प्रतियोगिता आयोजना गरेको थियो। गुल्मी र बाग्लुङका १० समूहले प्रतियोगितामा भाग लिएको केन्द्रका अध्यक्ष दीपक नेपालीले बताए।

Rajendra Bikram Kunwar

मारुले बोलिचालिको भासामा प्रयोग गरिए पनि मारुनी सहि हो ।
दसैंको कालरात्रीमा स्थानिय कोतमा देविबन्धना सङै ध्वजा बाँधेपछी सोरठी फुक्ने र गाइतिहारको साँझ सोरठिको गुरु (ठूलो नाँचको नाइके) घर वा स्थानिय कोतमा बाध्यबादनका साधन तथा पहिरनका सामाग्री सङै देवि देवताको प्राथना, पूजा र ध्वजा अर्पण गरेर भैलो, सोरठिको आरम्भ गर्ने गरिन्छ ।

 

 


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...