Friday, April 01, 2022

घोडेजात्रा किन मनाइन्छ

 

घोडेजात्रा किन मनाइन्छ

 २७ चैत २०७७ ०९:५९

घोडेजात्रा घोडाप्रतिको सम्मान त हुँदै हो तर यो घोडा दौड नभएर जात्रा भएकाले धार्मिक र सांस्कृतिक मान्यतासँग पनि यसको सम्बन्ध छ। पिशाच चतुर्दशीको भोलिपल्ट औंसी तिथिमा मनाइने यो पर्व भएकाले यसले तान्त्रिक मान्यतालाई आत्मसात गरेको पाइन्छ। किनकि, घोडा दौडाएर पिशाच, दुष्टात्मा भगाउने कार्य र विश्वासलाई मल्लकालको बढ्दो तान्त्रिक विधाको प्रभावसँग जोडेर हेर्दा पनि पुष्टि हुन आउँछ।

हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगका रूपमा नेपालका विभिन्न चाडपर्वलाई पनि लिइएका छन्। ती चाडपर्वलाई सम्पूर्ण नेपालीले खुला हृदयले मिलोमतो गरी भाग लिने गर्छन्। यो चाड चैत्र कृष्ण औंसीका दिनमा पर्छ। यस वर्षको यही चैत २९ गते आइतबार परेको छ। यसलाई पिशाच चतुर्दशी पनि भन्छन्। यस दिन टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि हुन्छ। घोडेजात्रा नेवार समुदायको एउटा ठूलो चाड हो। यस दिन भगवान् शिवजीको धुमधामसँग पूजाआजा गरिन्छ। अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन्। यस दिन काठमाडौंको टुँडिखेल नजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजा–अर्चना पनि गर्ने परम्परा छ। यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाई दिई सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ। यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ। भनिन्छ– घोडे जात्रापछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किम्वदन्ती पनि आजसम्म त्यत्तिकै चरितार्थ रहेको पाइन्छ। 

छिटोछरितो, बलवान् जनावरका रूपमा घोडाको महत्त्व पौराणिककालदेखि नै सर्वस्वीकार्य भएकाले नै मानिसले घोडालाई तालिम दिई कज्याएर आफूअनुकूल यातायात साधन र मनोरञ्जनका लागि उपयोग गर्दै आएका छन्। साथै, वैदिककालमा घोडाको महत्त्वपूर्ण भूमिका र मान्यता रहेको देखिन्छ। उसबेला चक्रवर्ती राजाले आफ्नो प्रतिष्ठा, राज्यको सीमा सुरक्षा स्थिर राख्न, राज्यबाट कर उठाउन श्यामकर्ण घोडालाई विशेष रूपले सजाई विशेष अधिकार दिई दिग्विजय गर्न छाडेका र सो कार्य सम्पन्न भएपछि उनले अश्वमेघ यज्ञ सम्पन्न गरेका पुराणमा उल्लेख पाइन्छ। साथै, सामाजिक प्रतिष्ठान र मान्यतामा नेपालको कर्णाली अञ्चलको मुगु जिल्लाको ’घोडा भेडा’ प्रथामा स्थानीय जनतामा भैपरी आउने मुद्दामामिला, झैझगडा, अंशबन्डा आदिमा स्थानीय भद्रभलाद्मी मध्यस्थकर्ताको सहयोगमा कुनै पनि समस्याको समाधान गरिदिने मध्यस्थकर्तालाई भेडाको मासु खुवाई घर फर्कंदा घोडामा चढाएर पठाउने नियमको उल्लेख पाइन्छ।

घोडेजात्राअघि आजको जस्तो रूपमा हुँदैनथ्यो। तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो। दर्शन गर्न जाँदा राजा घोडामा जाने गर्थे। राजाको पछिपछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो। राजाको दर्शनयात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुने गर्थे। यसरी राजाको घोडेयात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप हुन गएको अनुमान गर्न सकिन्छ। यस जात्राको पहिलाको रूप पाटनको बालकुमारीको चौरमा हिजो आजसम्म पनि देख्न पाइन्छ। आज आएर विभिन्न मनोरञ्जन थपिँदै गए र यो घोडेजात्राको तयारी धेरै दिनअघिदेखि गरिन थालेको हो। यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले घोडा, मोटर, मोटरसाइकल, साइकल, रेसजस्ता खेलहरूको प्रतियोगिता हो। यसका अलावा विभिन्न खेल, तमासा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ र फौजीले हेलिकप्टरबाट विभिन्न किसिमका रोचक तथा घोचक कार्यक्रम लोकप्रिय हुन थालेको छ। यसले घोडेजात्रा हेर्नेको संख्यामा तीव्र प्रतिस्पर्धा हुन थालेको छ। अहिले आएर साधारण जनताले मोटरसाइकल, साइकल, दौडमा भाग लिन पाउँछन्। त्यस्तैगरी महिलाले पनि विभिन्न खेलमा भाग लिन थालेका छन्। टुँडिखेल मञ्चमा राष्ट्रपतिलगायत, प्रधानमन्त्री अन्य मन्त्री र विदेशका प्रतिनिधिलगायत उच्च पदस्थ सरकारी कर्मचारीको पनि यस अवसरमा सरिक भएको पाइन्छ।

घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्त्व पनि रहेको छ। यस किसिमको प्रचलनको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन्। यो जात्रा खासगरी काठमाडौं उपत्यकाको तीन सहरमा भव्यरूपमा मनाइन्छ। यो जात्रामा विशेषगरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ। यो चाड तीन दिनको भए पनि अन्तिम दिन चैत शुक्ल परेवाको दिन मातृका देवीका खटहरू सहरमा परिक्रमा गराई छवटा गल्लीबाट ल्याई असन चोकमा सातवटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोकभेट भएको पनि भनिन्छ भन्ने किम्वदन्ती छ।

हाम्रो समाजमा विभिन्न चाडपर्वका आआफ्नै किसिमको महत्त्व बोकेर आएका छन्। त्यसमध्ये घोडेजात्रा पनि एक महत्त्वपूर्ण पर्व हो। यसको धार्मिकभन्दा सामाजिक महत्त्व बढी भएको पाइन्छ। यसले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ। यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ। अत: नेवारी समाजमा यसलाई जोड दिएको प्रतीत हुन्छ। त्यसैले हिन्दु संस्कृतिमा आफ्ना पूर्वजप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरका रूपमा यस जात्रालाई लिन सकिन्छ। यो घोडेजात्रा पर्व विशेषता कृषक वर्गले आनन्द गर्ने चाड हो। घोडेजात्रा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यंग्य गरिएको पाइन्छ। यसर्थ प्रत्येक वर्ष घोडेजात्रा यसरी नै सम्पन्न हुन्छ।

 


Friday, March 25, 2022

पानी नभएर भोकै सुत्नुपर्ने बाध्यतामा ब्रुसवाङका चेपाङ

 

पानी नभएर भोकै सुत्नुपर्ने बाध्यतामा ब्रुसवाङका चेपाङ

अर्जुन श्रेषठ, नयाँ पत्रिका, २०७८ फाल्गुण १६ सोमबार

डाँडाको बस्ती, भिरालो जमिन, भिरमै खेतीपाती । टाँकी र सिस्नुको तरकारी, मकैको ढिँडो अनि गिठ्ठा र भ्याकुर । त्यसमा पनि ६ महिना सहकाल, ६ महिना अनिकाल । आकाशेपानीको भर, कुवा धाउन टाढाको बाटो, पानी लिन घन्टाैँको सकसपूर्ण यात्रा । खानेपानी सापटी लिएर दैनिकी चलाइरहेका धादिङका ब्रुसवाङवासीको वास्तविकता हो यो । बेनीघाट रोराङ गाउँपालिका– २, ब्रुसवाङका ३६ घरपरिवार राज्यका आधारभूत आवश्यकताबाट  वञ्चित छन् । 

ब्रुसवाङकी फूलमाया चेपाङ मिर्मिरे उज्यालोमै पँधेरो पुग्छिन् । बिहान तीन बजे घरबाट हिँड्ने उनी पानी लिएर घर फर्कँदा सात बज्छ । फूलमायाले पानी नभएर कैयौँ रात भोकै सुत्नुपरेको पीडा सुनाइन् । ‘बस्तीनजिक पानी–पँधेरो छैन । डाँडै काटेर जानुपर्छ । एक गाग्री पानी लिन हिँड्न सक्नेलाई तीन घन्टा लाग्छ ।’ पानी नभएर धेरै रात भोकै सुतेका छौँ,’ उनले भनिन्, ‘धेरैपटक खानेपानी ऐँचाेपैँचो गरेर चलाएका छौँ ।’

धादिङको बेनीघाट रोराङ गाउँपालिका– २, ब्रुसवाङका चेपाङ समुदाय राज्यले दिने आधारभूत आवश्यकताबाट वञ्चित छन् । वर्षाैँदेखि बस्ती स्थानान्तरणको पर्खाइमा रहेका उनीहरू खानेपानी मेत ऐँचोपैँचो गरेर जीवन धानिरहेका छन् । 

सुत्केरी हुँदा छिमेकीसँग एक गाग्री पानी सापटी लिएर नौ दिन पुर्‍याएँ । १२–१५ दिनमै काखीमा सानी नानी च्यापेर घन्टाैँ धाएर पानी बोकी पैँचो तिरेँ, सम्झँदा पनि साह्रै दुःख लाग्छ । हामीलाई जस्तो दुःख संसारमा कसैलाई छैन होला, नपरोस् पनि,’ लामो सास फेर्दै फूलमायाले भनिन् । ब्रुसवाङका स्थानीय सोमलाल चेपाङले बिहान दुई बजे उठेर पानी लिन जाने र ६ बज्दा बल्ल घर आइपुग्ने बताए । एक गाग्री पानी बोक्न चार घन्टा खर्चनुपर्ने बाध्यता भएको उनको गुनासो छ । पुसमंसिरतिर घन्टाैँ धाएर जाँदा पनि धारामा पालो पर्खनुपर्ने भएकाले निकै समय लाग्ने उनले बताए । ‘स–साना नानीबाबुदेखि वृद्धवृद्धासम्म पानी लिन जानुपर्छ । खानेपानी समस्याले मेलापात, अर्मपर्म गर्न भ्याइन्न । पाहुनापासो आउँदा, चाडपर्वजस्ता समयमा धेरैपटक पानी पैँचो गरेर चलाएका छौँ,’ उनले भने । 

कोही आकाशेपानीको भरमा... 
असार–साउन गइहाल्यो । अब कहिले पानी पर्ला ?’ ब्रुसवाङकै ७२ वर्षीया गौरीमाया चेपाङ आफैँलाई प्रश्न गर्छिन् । उनलाई सधैँ वर्षा र झरी भइदिए हुन्थ्यो जस्तो लाग्छ । आकाशेपानी थाप्न पाइने आसले उनलाई वर्षाको सिजन मन परेको हो । ब्रुसवाङका धेरै परिवारको खानेपानी जोहो आकाशेपानीको भरमा छ । उनी भन्छिन्, ‘शान्ति नेपालले हिलट्यांकी दिएपछि वर्षातको समयमा बिहान भर धाएर पानी ल्याउनुपर्ने समस्या हटेको छ । पानी नपरेको वेला दुई–तीन घन्टा लगाएर डाँडापारि जानुपर्छ । तर, आकाशबाट परेको पानी जम्मा पारेर पिउन थालेपछि अलि सहज भएको छ ।’

आकाशबाट परेको पानी पिउनयोग्य छ–छैन, उनीहरूलाई थाहा छैन । पानी शुद्धीकरण गरेर प्रयोग गर्ने ज्ञानको समेत अभाव छ ।  सरिता चेपाङले शुद्धताभन्दा पनि आवश्यकता ठूलो भएको बताइन् । उनले भनिन्, ‘हिउँदको वेला दुई–तीन घन्टा धाएर डाँडापारि पानी लिन जानुपर्छ । तर, बर्खाको समयमा आकाशबाट परेको पानी हिलट्यांकीमा जम्मा गरेर पानी खान्छौँ । शुद्धभन्दा पनि आवश्यकता ठूलो हो ।’ बिहान–बेलुका पानी बोकेर गाउँका धेरै आमाहरू रोगी बनेको पनि उनले बताइन् । 

न बस्ती सर्‍यो न आवश्यकता टर्‍यो
दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ मा पर्ने ब्रुसवाङवासी काठमाडौंबाट नजिकै भए पनि  राज्यले उपलब्ध गराउने सेवा–सुविधाबाट वञ्चित छन् । उनीहरूलाई आधारभूत आवश्यकताको पहुँचाबाट टाढा पारिएको छ । सेवा–सुविधा विस्तार गर्न कठिन भएको र भूकम्पले पनि थिलथिलिएको ब्रुसवाङवासी सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको पर्खाइमा छन् । आइतसिंह चेपाङ भन्छन्, ‘डाँडामा बस्ती छ । मानिस उभिन नसक्ने भिरमा मकै लगाएर गुजारा चलाइरहेका छौँ । त्यो पनि ६ महिना सहकाल, ६ महिना अनिकाल हो । अन्न नभएर धेरै रात भोकै अनिँदो बिताएका छौँ हामी ब्रुसवाङवासीले’, उनले भने । 

८२ वर्षीय टेकबहादुर चेपाङ पनि सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको पर्खाइमा छन् । ‘बस्ती सारिदिने भनेर गाउँमा धेरै नेताहरू धेरैपटक आए, छलफल भयो । तर वर्षाैँ बित्यो । न बस्ती सर्‍याे, न आधारभूत आवश्यकता टर्‍याे,’ उनले भने, ‘समस्याको भुमरीमा पैँठेजोरी खेलिरहेका छौँ । बस्ती सर्ने आसमा दुई मुठी सास जान मात्र बाँकी छ ।’ भक्कानिँदै उनले भने । आफूहरूको गाउँमा खानेपानी, गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार सबै समस्या रहेको पनि उनले बताए । ‘घरको न घाटको भएर बाँचिरहेका छौँ । ढुंगा खाउँ कि माटो खाउँ भएको छ । यो दुःखको गह्रौँ भारी बिसाउने सुरक्षित ठाउँ कहिले जान पाइएला ?’ रसाउन लागेका आँखासँगै उनले प्रश्न गरे ।  

अन्याेलमै बस्ती स्थानान्तरण
ब्रुसवाङवासीलाई सुरक्षित ठाउँमा सार्ने  आशा देखाइएको वर्षौँ भयो । पाँच वर्ष बित्दा पनि राज्यले न बस्ती सार्न सक्यो, न त आधारभूत सेवा–सुविधा विस्तार गर्न सक्यो । ब्रुसवाङका ३६ घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गर्ने भनिए पनि उनीहरूलाई उपलब्ध गराउने भनिएको जग्गा विवादले उनीहरूलाई थप निराश बनाएको छ । 

जिल्ला समन्वय समितिले बस्ती स्थानान्तरणका लागि एक करोड रुपैयाँ व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर, पहिले तोकिएको जग्गाको मूल्य जग्गाधनीले दोब्बरले बढाएपछि खरिद गर्न नसकिएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले बताए । उनले भने, ‘दुई वर्षसम्म सार्न नसकिएको बस्ती तत्काल सर्छ भन्न सकिन्न । दसैँसम्म सार्ने भनिए पनि रकम, कोरोना, जग्गा विवादलगायत विविध समस्याका कारणले बस्ती स्थानान्तरणको समय सरेको हो । अझै पनि ब्रुसवाङवासीको बस्ती स्थानान्तरण कहिलेसम्म हुन्छ भनेर यसै भन्न सकिन्न ।’

आगामी वर्ष बजेट विनियोजन गरेर बस्ती स्थानान्तरण गर्ने अध्यक्ष डल्लाकोटीले बताए । उनले भने, ‘पहिलो प्राथमिकता बस्ती स्थानान्तरण हो । बिजुलीका लागि पोलहरू गाड्ने काम पनि भइरहेको छ । विद्युत् पुर्‍याउन सकिए अन्धकार र खानेपानीको ऐँचोपैँचो समस्या समाधान गर्न सकिन्छ ।’ 

 


Wednesday, March 23, 2022

‘मर्मत’को राजनीति

 

मर्मत’को राजनीति

रमेशकुमार अधिकारीविचार

 ३० फागुन २०७८ १२:२२

व्यवस्था बदल्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने कमजोरी नेपालको राजनीतिमा पुनरावृत्ति हुँदै आएको छ।

अंग्रेजी शब्द ‘प्रिपेयर’र ‘रिपेयर’ले व्यक्ति, व्यवस्था र राष्ट्रको जीवनलाई दिशाबोध गर्ने सामथ्र्य राख्छन्। ‘प्रिपेयर’ शब्दले नेपालीमा तयार वा तम्तयार भन्ने अर्थ दिन्छ। ‘रिपेयर’ शब्दले मर्मत भन्ने जनाउँछ। ‘प्रिपेयर’ वा ‘रिपेयर’ शब्दसँग राजनीतिको के साइनो छ ?। यो जिज्ञासा शान्त पार्न कुन मोडबाट राजनीति सञ्चालन हुँदा व्यवस्थाले राम्रो नतिजा दिन सक्छ ? भन्ने प्रश्न उत्तरित हुनुपर्छ। यस सन्दर्भमा नाम चलेका विद्वान पिटर उर्सं बेन्डरको भनाइ ती दुई शब्दको मर्म मनन् गर्न उचित हुन्छ। ‘गट फिलिङ’ नामक पुस्तकका लेखक बेन्डरले भनेका छन्– तयार गर्नेभन्दा मर्मत गर्ने काम कठिन हुन्छ (रिपेयर इज डिफिकल्ट देन प्रिपेयर)।
रिपेयर’ मोडबाट राजनीति सञ्चालन हँुदा कठिन मार्गबाट अघि बढ्नुपर्ने हुन्छ र राजनीति सधैं टालटुले र समस्यामा जेलिने स्थिति बन्छ। विगतलाई नियाल्दा नेपालको राजनीति पटकपटक ‘प्रिपेयर’ मोडबाट चल्न सक्ने परिस्थिति बनेको देखिन्छ। तर पनि उक्त मोडमा अडिन नसकेर ‘रिपेयर’ मोडमा सिफ्ट भएको पाइन्छ। यसबाट राजनीति अस्थिर र अविश्वासिलो बन्ने खतरा बढ्दै गएको छ। त्यसैले प्रश्न तेर्सिन्छ ‘रिपेयर’को राजनीति कहिलेसम्म ?

नेपाली जनताले २००७ सालमा प्रजातन्त्र प्राप्त गरेका हुन्। त्यसयता सात दशकभन्दा बढी समय राजनीतिमा खर्च भएको छ। यो अवधिमा नेपाल धर्तीमा राजनीतिक प्रणालीका विभिन्न स्वरूपको प्रयोग भएको छ। प्रयोग गरिएका राजनीतिक व्यवस्था फेरिँदै अहिले संंघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूपमा संस्थागत भएको छ। यो ढाँचामा नेपाली राजनीति आइपुग्दासम्म पनि सरकारको अस्थिरताको नियति भने निरन्तर कायम छ। यही एउटा लक्षण नै काफी छ कि नेपालको राजनीति ‘प्रिपेयर’ मोडबाट चल्न सकेको छैन। अधिकांश समय ‘रिपेयर’ मोडबाट गुजे्रको छ।

प्रिपेयर’ मोडमा चल्न राजनीतिका दुई पाटामा सन्तुलन मिल्नुपर्छ। पहिलो राजनीतिक दलले जनताको विश्वास जितेर सरकारको नेतृत्व गर्ने अवसर पाउनुपर्छ। दोस्रो सरकारको नेतृत्व गर्ने नेताले अवसर उपयोग गर्ने चरित्र र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ। यस आधारमा पछिल्लो ३० वर्षको अवस्थालाई फर्केर हेर्दा जनताले पत्याएर राजनीतिक दलले पटकपटक त्यस्तो अवसर पाएका छन्। यसरी अवसर पाउनेमा २०४८ सालमा नेपाली कांग्रेस दल पर्छ। सो वर्ष सम्पन्न आम निर्वाचनबाट प्रतिनिधिसभामा सुविधाजनक बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गर्ने अवसर उक्त दललाई प्राप्त भएको हो। गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गर्नु भएको थियोे। त्यतिबेला राजनीति र सत्ता सञ्चालन ‘प्रिपेयर’ मोडबाट चल्ने अपेक्षा गरिएको थियो। सुरुका दिनमा लक्षण देखिएको पनि हो। तर तीन वर्ष बित्दा नबित्दै राजनीति र सत्ता सञ्चालन ‘रिपेयर’ मोडमा सिफ्ट हुन पुग्यो। र मुलुकले अनेकथरीका समस्या व्यहोर्ने स्थितिको सिलसिला आरम्भ भयो।

यसरी अघि बढेको ‘रिपेयर’ मोडको राजनीतिले चरम अस्थिरताका बीच माओवादी द्वन्द्व बेहोर्दैमा दशक लामो समय व्यतित भयो। बल्लतल्ल २०६२÷०६३ मा निकास निस्क्यो। राजनीतिक व्यवस्थाले नयाँ स्वरूप ग्रहण गर्‍यो। त्यसपछि २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनबाट राजनीति र सत्ता सञ्चालन ‘प्रिपेयर’ मोडमा जाने अवसर फेरि प्राप्त गर्‍यो। यो अवसरलाई सदुपयोग गर्ने मौका नेकपा माओवादीलाई प्राप्त भयो। संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता सम्हाल्ने अवसर पाउनुभयो। यतिखेर पनि राजनीति ‘प्रिपेयर’ मोडबाट सञ्चालन हुने आम अपेक्षा थियो। तर उहाँले पनि राजनीति र सत्ता सञ्चालनलाई ‘प्रिपेयर’ मोडमा स्थिर राख्न सक्नु भएन। करिब नौ महिनामै स्वयं सत्ताबाट बाहिरिनुभयो। त्यसपछि फेरि राजनीति ‘रिपेयर’ मोडमा फक्र्यो। मुलुकले संविधान निर्माणको प्रसव वेदना व्यहोरिरहेको त्यो समय अत्यन्त कठिन थियो। जेहोस् ‘रिपेयर’ मोडबाटै राजनीतिले संविधान निर्माणको कार्य सम्पन्न गर्‍यो। २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो। ‘प्रिपेयर’ मोडबाट राजनीति चल्ने आशा फेरि पलायो।

नयाँ संविधानबमोजिम २०७४ मा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भयो। संघीय प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई झन्डै दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सञ्चालनको अवसर पाउनु भयो। प्रदेशतर्फ ६ वटा प्रदेशमा उक्त गठबन्धनले सरकार बनाउने हैसियत प्राप्त गर्‍यो। बाँकी एक प्रदेशमा पनि केन्द्रमा सत्ता साझेदारी गरेको दलको नेतृत्वमा सरकार बन्यो। यो अवस्थाले अब मुलुकमा ‘प्रिपेयर’ मोडबाट राजनीति चलेको र सत्ता सञ्चालन भएको देख्न पाउने स्थिति बनेको आकलन गरियो। दुर्भाग्यवश यो स्थिति पनि टिक्न सकेन र फेरि ‘रिपेयर’ मोडबाटै देशको राजनीति यद्यपि गुज्रिरहेको छ। उल्लेखित घटनाक्रमले के प्रमाणित गर्छ भने जनताले राजनीतिक दल विशेषलाई ठुलो दल बन्ने र सरकार सञ्चालन गर्न पाउने हैसियत पटकपटक प्रदान गरेका छन्। तर सत्ता चलाउन पुग्ने नेतृत्वले राजनीति र सत्ता सञ्चालनमा सन्तुलन मिलाउन सकेका छैनन्।

व्यवस्था बदल्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने कमजोरी नेपालको राजनीतिमा  पुनरावृत्ति हुँदै आएको छ। अहिलेका शीर्ष तहका नेताहरूले पछिल्लो ३० वर्षदेखि राजनीतिमा रजगज गर्दै आउनु भएको छ। निर्वाचनका दौरान उहाँहरूले जारी गर्नु भएका प्रतिबद्धता र उहाँहरूका बोलीलाई जनताले विश्वास गर्दै निर्वाचनका माध्यमबाट सत्ता सञ्चालनको अवसर दिँदै आएका पनि छन्। तर पनि कार्यप्रगति सन्तोषजनक हुन सकेको छैन। राजनीतक स्थिरता टिकाउ हुन सकेको छैन। राज्य संयन्त्रका अवयवहरू पनि प्रभावकारी हुन सकेका छैनन्। एक प्रकारले काम चलाउ अवस्थाबाट मुलुक गुज्रिरहेको छ।
संघीय ढाँचालाई सुदृढ रूपमा संस्थागत गर्न सरकारले चौबिसैघण्टा काम गर्नुपर्ने आवश्यकता छ। विभिन्न विषयमा तत्काल कानुन निर्माण गर्न जरुरी छ। तीन तहको सरकारको लय र ताल मिलाउने परिस्थिति निर्माणका लागि धेरै काम गर्न आवश्यक छ। यति धेरै काम हुँदाहुँदै पनि जगजाहेर छ राजनीति सत्ताको किचलोमै फनफनी घुमेको छ। हुन त नेताहरूले आफ्ना अप्ठ्यारा बताउने गर्नुहुन्छ तर सामाजिक चेतना उच्च भएको जमानामा राजनीतिक दलका नेताले आफ्ना अप्ठ्यारा बताएर कमजोर क्षमताको ढाकछोप गर्नु आत्मरति मात्र हो।

सबैले बुझेको कुरा हो राजनीति समग्र नीतिहरूको मूल नीति हो। राजनीति ठिक भए राज्यको समग्र शासन व्यवस्था ठिक हुन्छ। तर पनि राजनीति ‘डेलिसियसली मेस्सी’ छ। देख्दा सजिलो तर बेहोर्दा झन्झटिलो। कसेर नबाटेको डोरी त्यसै भुइँमा राख्दा जसरी गुजुल्टिन्छ राजनीति पनि जतन नगर्ने हो भने त्यसरी नै गुजुल्टिन्छ। राजनीति शास्त्रको यही जटिलतालाई प्रष्ट पार्दै प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्–‘पोलिटिक्स इज मचमोर डिफिकल्ट देन फिजिक्स।’

नेपालको राजनीति संघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूपमा सञ्चालन भइरहेको छ। राजनीतिलाई जीवन्त बनाउने काम राजनीतिक दलहरूको हो। दलका नेता राजनीतिका खेलाडी हुन्। राजनीतिको चित्र सुन्दर र चरित्र सम्मानित हुने आम अपेक्षा सधैं जीवित हुन्छ। राजनीतिका माध्यमबाट शासन प्रणाली पारदर्शी र प्रभावकारी हुने विश्वास सधैं कायम रहन्छ। यिनै अपेक्षा र विश्वासका बीच २०७४ को आमनिर्वाचन  सम्पन्न भएको थियो।

संघीय ढाँचामा तीन तहका सरकारको गठन भएको थियो। निर्वाचित नेतृत्वको कार्यकालको अन्तिम वर्ष चलिरहेको छ। वास्तवमा ‘रिपेयर’ मोडको राजनीतिले पूर्वानुमान गर्नै नसकिने परिस्थिति बन्दो रहेछ। यस्तो परिस्थितिले अनेक दाउपेच खेल्ने ठाउँ दिँदो रहेछ। अहिले न्यायपालिका र व्यवस्थापिकामा जेजस्ता दृश्यहरू देखिएका छन् ती लाजलाग्ने खालका छन्।

भविष्यतर्फ फर्केर हेर्दा भने राजनीतिलाई ‘प्रिपेयर’ मोडबाट सञ्चालन गर्ने अवसर फेरि सामुन्नेमा आउँदै गरेको देखिन्छ। आउने वर्ष २०७९ सालमा तीनै तहको निर्वाचन सम्पन्न हुनेछ। नयाँ नेतृत्व सरकार सञ्चालनमा सरिक हुनेछ। यसरी सामुन्नेमा आइरहेको सुन्दर अवसरलाई नेपाल र नेपालीको उज्ज्वल भविष्य निर्माणको कोसेढुंगा सावित गर्न चुक्नु हुँदैन। अर्थात् अबको निर्वाचनले ‘प्रिपेयर’ मोडबाट राजनीति र सत्ता चलाउन सक्ने परिस्थिति बनाउनुपर्छ। अन्यथा विकास र समृद्धिको विश्व दौडमा नेपाल धेरै पछि पर्नेछ। पुर्खाले बनाएको परिचय र प्रतिष्ठा पनि ओझेल पर्नेछ। यस सन्दर्भमा दलहरूले काल्पनिक योजनाका भाषण गरेरमात्र सुशासन र विकास हुन सक्दो रहेनछ भन्ने सत्यलाई स्वीकार्नुपर्छ। यसका लागि राजनीतिक दलहरू स्वयंले गहिरो आत्मसमीक्षा गरेर सक्षम र सदाचारी नेतालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउनुपर्छ। जनतामा पनि दलका झन्डा र चुनाव चिह्नको पछि लागेर दिएको मतले मात्र असल र सक्षम नेता पाइँदो रहेनछ, उम्मेदवारको चरित्र र क्षमता पनि हेर्नै पर्ने रहेछ भन्ने चेत खुल्न जरुरी छ। निर्वाचनको मैदानमा उत्रेका उम्मेदवारहरूमध्ये सक्षम, सदाचारी र समर्पित पात्रलाई मत दिएर विजय गराउनु पर्छ।

समस्याकै गर्भमा समाधानको बिउ हुन्छ भनिन्छ। आशा गरौं आगामी तीनै तहको निर्वाचनमा नेपालका राजनीतिक दलहरू नै समाधानका द्योतक बन्ने छन्। सम्भावनाका संवाहक बन्नेछन्। उनीहरू निर्वाचनमा योग्य उम्मेदवार चयनमा इमान्दार हुनेछन्। जनताले पनि सन्ततिको भविष्यसमेत हेरेर सक्षम, सदाचारी र समर्पित पात्रलाई गोप्य मतदानका माध्यमबाट रोज्नेछन्। निर्वाचित हुने पात्रले राजनीति र सत्तालाई बुद्धिमानीपूर्वक ‘प्रिपेयर’ मोडबाट चलाउने सामथ्र्य देखाउने छन्। मुलुक नयाँ उत्साहका साथ अघि बढ्नेछ। सुशासन, विकास र समृद्धिका सपना साकार हुँदै जानेछ। 
अधिकारी नेपाल सरकारका पूर्वसहसचिव हुन्।

 

 

राज्य व्यवस्था सुधारको कडी

 राज्य व्यवस्था सुधारको कडी

 १२ असोज २०७८ १०:४३

घरको पालीमाथि राखेको भित्र, भित्रै कुहिइसकेको फर्सी जसलाई हेर्दा सिंगो र सद्दे देखिन्छ। अहिले देश पनि त्यस्तै अवस्थामा पुग्न लागेको छ। देशमा तीनखाले बुद्धिजीवी छन्—आफ्नो बुद्धि विदेशको लागि बेच्ने, देशको हरेक कुरा बिगार्न र भाँजो हाल्नमात्र बुद्धिको दुरुपयोग गर्ने र बुद्धि देशको हितमा खर्चिने (अहिराज)।

एक अर्काथरी पनि बुद्धिजीवी छन् बुुझेर पनि बुझ पचाइपचाइ व्यक्तिगत वा अरूको स्वार्थको लागि काम गर्ने। यस्ता वर्ग सबैभन्दा राष्ट्रघाती हुन्छन्। एक देश हाँक्ने अवसरसमेत पाएका डाक्टर बिवान तः होलान् तर बुद्धिमान भएनन्। भाँडभैलो गर्नमा नै खर्चिरहेका छन् आफ्नो ज्ञान र जीवन दुवै। प्रमुख मन्त्रालयहरू हाँकेका तथा राष्ट्रकै प्रतिनिधित्व गरेका केही अरू पनि छन् सबै बुुझेर पनि राष्ट्रघाती उद्योग गर्नमा उद्दत् छन्।
दोस्रो, तेस्रो पुस्ताका नेताहरू चाहिँ बूढो थाक्रो नभई उक्लिनै नसक्ने लहराजस्ता छन्। समयसँगै थाँक्रो ढल्दा भुइँमा लत्रेर बाहेक यिनको भविष्य केही देखिँदैन। सायद नियति नै पो यस्तो छानेका हुन् कि यिनीहरूले। यो दलदलबाट निस्कन चाहने केही क्रान्तिकारी देखिने ‘विचार समूह’ भन्ने झुन्डहरू पनि आखिर बूढो थाँक्रोकै सहारा लिनपुगे। अब आस गर्ने कसबाट।

तर, यही परिवेश हो वैकल्पिक राजनीतिक अवसरको। सबै प्रमुख राजनीति पार्टीहरू कमजोर भएको यो बेला राजनीतिक नयाँ धारको सुरुवात गर्ने र स्थापित राजनीति पार्टीहरूलाई पाखा लगाई राष्ट्रलाई नयाँ निकास दिने। राष्ट्र, राष्ट्रियता, देश र जनतालाई केन्द्रमा राखी समान राष्ट्रिय मुद्दा बोकेर हिँडेका, बनेका पार्टी, अभियन्ता, संघ, संगठन, अगुवाहरूलाई न्यूनतम साझा राष्ट्रिय मुद्दाको छाता मुन्तिर संगठित गर्न सके यो सम्भव छ। यस्तो गठबन्धनले वैकल्पिक राजनीति धारको रूप लिन सक्छ, अहिले। लक्षणहरू देखिन पनि थालेको छ तर, सार्थकता पाउनेमा प्रश्नहरू छन् अनेक। यसैले सहज भने पक्कै छैन। प्रश्न यो उब्जिन्छ कि किन मिल्न सत्तैनन् त ? यिनीहरू जब सबैको राष्ट्रिय मुद्दा र एजेन्डामा धेरै समानता छ भने ? यसको एक मूल कारण भनेको सबै पार्टी, अभियन्ता, समूह, र अगुवाहरूमा विद्यमान आ–आफ्नै अहम्ता हो भने सबैलाई सम्मानजनक हिसाबले समेट्ने पहल नहुनु अर्को कारण हो।

संगठित हुनुपर्छ, गर्नुपर्छ भन्ने कुरा आदर्श र सैद्धान्तिक जस्तो देखिए तापनि यसलाई वास्तविकतामा रूपान्तरण गर्न नसकिने भने होइन। आ–आफ्नै अहम्तालाई झट्ट त्याग्न नसके पनि यसलाई व्यवस्थापन गर्न सकिएला नि ? अन्यथा आधा शताब्दी वा माथि उमेरका केही गरुँ, गर्नुपर्छ र सकिन्छ भनेर लागेका अगुवाहरूले यो अवसर गुमाउने हो भने कम्युनिस्ट पार्टीका त्रि–मोहन जस्तै असान्दर्भिक भई उनीहरूकै जस्तो अवस्थामा पुग्न धेरै समय लाग्ने छैन। अब निकासका उपायका कुरा गरुँ।
सबैलाई एउटै छातामुनि कसरी ल्याउने ?

- कुनै एक, दुई स्थापित पार्टी वा अभियन्ता समूहले समान राष्ट्रिय मुद्दा र एजेन्डा बोकेका सबै पार्टी तथा अभियन्ता, अगुवाहरूलाई आमन्त्रण गर्ने। सबैलाई सम्मानजनक स्थान दिई समतामूलक वातावरण सिर्जना गरी केही सांगठनिक भेलाहरूको आयोजना गर्ने। सबैको आत्मसम्मानको कदर गर्दै त्यो भेलाले भविष्यमा सञ्चालन हुने बैठकहरूको सभापतित्व सबै पार्टी, अभियन्ताका अगुवाहरूले पालैपालो गर्ने नीति निर्माण गर्ने। यसरी अहम्ताको व्यवस्थापन गर्न सकिन्छ।

तत्पश्चात्का बैठकहरूमा घनिभूत छलफल गरी सर्वस्वीकार्य न्यूनतम राष्ट्रिय मुद्दा तथा एजेन्डाहरू तय गर्ने र एउटै छातामुनि बसी आगामी चुनावमा जाने रणनीति बनाउने। सर्वस्वीकार्य हुन नसकेका मुद्दाहरूलाई पछि सम्बोधन गर्नेगरी हाललाई थाँती राखी अगाडि बढ्ने।
-
केही बैठकहरूको अभ्यासपछि बहुमतको आधारमा केही नेतृत्व तथा विविध विषयमा संयोजकत्व गर्न सक्ने व्यक्तित्वहरू अवश्य पनि निस्कनेछन् भने जनताले रुचाउने केही लोकप्रिय अनुहारहरूको पहिचान पनि हुनेछ। अनि छानिएका व्यक्तित्वहरूलाई अघि सारी चुनावमा जान सकिन्छ। यो अभ्यासलाई भने तदरुकताकासाथ अगाडि बढाउन अब ढिला गर्नु हुँदैन र बढीमा अबको ६ महिनाभित्र यो वैकल्पिक राजनीतिक शक्तिले मूर्तरूप लिनैपर्छ– ठोस चुनावी एजेन्डा र कसरी प्राप्त गर्न सकिन्छ भन्ने रणनीतिसहित।
-
समान राष्ट्रिय मुद्दा बोक्ने नेता, अभियन्ता र विभिन्न अगुवाहरूलाई एउटै छातामुनि ल्याउनसके यो गठबन्धनको राष्ट्रव्यापी सञ्जाल र जिल्ला स्तरसम्मको बलियो संगठन निर्माण पनि सहज हुनेछ। न्यूनतम साझा राष्ट्रिय एजेन्डा नै यो गठबन्धन बनाउने मूल कडी हो।

चुनौती
पहिलो चुनौती भनेको नेता, अभियन्ता, र विभिन्न अगुवाहरूलाई न्यूनतम सर्वमान्य राष्ट्रिय मुद्दाको लागि एउटै छातामुनि ल्याई संगठन गर्नु हो। यसको लागि सबैमा भएको अहम्ताको ससम्मान व्यवस्थापन र चुनावसम्म जाने वातावरणको सिर्जना हो।

दोस्रो चुनौती भनेको यो समूहलाई चुनाव अगाडि तथा चुनाव पछाडिसम्म पनि टिकाइ फुट्न नदिई राष्ट्रिय एजेन्डालाई अगाडि बढाउने र राज्यव्यवस्था सञ्चालनमा गर्ने हो। यसको लागि नेतृत्वमा जाने महत्वाकांक्षा नबोकेका एक सानो सर्वमान्य सक्षम समूहले जिम्मा लिएर यसको व्यवस्थापन गर्न सकिन्छ।

अवसर
देश चुनावी राजनीतिको माहोलमा होमिन सुरु भइसकेको छ र मूल पार्टी र यिनका चोइटाहरू अस्तित्व जोगाउने अनेक रणनीतिमा लागेका छन्। यही समयलाई अवसर बनाउनु पर्छ, वैकल्पिक राजनीति धार सिर्जना गर्ने हो भने।

विभिन्न कालखण्डमा नेतृत्व गर्ने सबैले मनग्य गल्तीहरू गरिसके र गरिरहेका छन् तर, आ–आफ्नो तर्फबाट भएको गल्तीको स्वीकारोक्ति कसैबाट भएको छैन र हुने पनि देखिँदैन। सबै स्थापित पार्टीहरूभित्र राष्ट्रिय चिन्तन राख्ने ऊर्जाशील नेताहरू पनि प्रशस्तै छन् र यी समान विचार समूहका दोस्रो, तेस्रो पुस्ताका नेताहरूले बाहिर निस्कने आँट गरेर नयाँ दिशा दिने हो भने सम्भाव्य वैकल्पिक राजनीतिक शक्तिको रूप पनि लिन सक्छ। तर, क्षमता हुँदाहुँदै पनि यिनीहरूमा न आँट, न हुत्ती न त औकात नै देखियो, बिग्रेका मालिकको अधीनमा बस्नुबाहेक। जबसम्म यिनीहरूले आ–आफ्नो औकातको मूल्यांकन गरेर नयाँ धारको निर्माण गर्ने आँट व्यवहारमा उतार्न सक्तैनन्– यिनीहरू पनि फोहोरको कीरा फोहोरमै रमाउनेभन्दा फरक हुने छैनन्, आदर्श र सिद्धान्तका कुरा जति गरे पनि।

राष्ट्र सुधार्न राज्य–व्यवस्थाको मर्मतसहितको पूर्णजाँच अर्थात् ‘रिइन्जिनियरिङ’ विकल्प हो। देशमा केही गर्नुपर्छ र गर्छु भन्ने भावना छ भने सबै संगठित हुनुपर्छ।

यो परिवेशमा कुनै वैकल्पिक राजनीतिक शक्ति निर्विकल्प रूपमा उदाउन सक्छ देशलाई पुनः सही दिशामा लगी निकास दिनको लागि। कसैले कसैलाई निषेध नगरी स्वच्छ प्रजातान्त्रिक राजनीति अभ्यास सुरु गर्ने संकल्प आवश्यक छ। यस्तो अठोटसहित देशको राज्यव्यवस्था सञ्चालनको प्रष्ट खाका तथा समयतालिकासहितको देश र जनताले पाउने डेलिभरीको व्यावहारिक सुनिश्चितता खट्किएको छ। यसो भए जनताको मन र समर्थन जित्न सकिन्छ। यो नै सम्भाव्य नयाँ राजनीतिक शक्तिको मूल एजेन्डा र चुनावी राष्ट्रिय नारा हुनुपर्छ। अहिले सबै जनताले चाहेको र भन्ने गरेको मूल मुद्दा– भ्रष्टाचार तथा कालोधनमाथि निर्मम कारबाही, विद्यमान चौतर्फी अराजकता हटाई सुशासनको स्थापनासहित जनताको हक अधिकारको सुनिश्चितता हो। वैकल्पिक राजनीतिक धारले जित्न सक्ने मूल आधार भनेको तटस्थ÷असंलग्न ‘न्युट्रल स्विंङ’ भोट हो। जसको भावनात्मक संवेदनशीलतालाई आफ्नो पक्षमा पार्न अहिलेको परिस्थिति उपयुक्त छ।

अब पनि स्थापित पार्टीका नेतृत्वमा चेत नखुल्ने र नयाँ पुस्ताले पनि आँट नदेखाउने हो भने भविश्य अन्धकार छ। लेन्डुप दोर्जे प्रवृत्तिको अस्तित्वलाई नै समूल नष्ट नगरेसम्म नेपालको अस्तित्व सधैं नै संकटमा पर्ने खतरा भने रहिनै रहन्छ। उपरोक्त कुनै पनि अवस्थामा देशले लिने दिशा र भविष्य भने तरल रहनेछ। यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश÷भूमिका, जनताको भावना–समर्थन÷विरोध, शक्तिकेन्द्रहरूको भूमिका र दुई छिमेकीहरूको भूमिकाले विशेष महत्व राख्छ। तर जनताको सकारात्मक वा नकारात्मक भावना र भूमिका नै निर्णायक हुनेछ।
वास्तवमा देशलाई दुर्घटनाबाट जोगाउने हो र देशको भविष्यलाई सही ट्र्याकमा ल्याउने हो भने देशमा केही वर्षको कठोर शासन अनिवार्य छ र यो भनेको ‘कानुनी शासन’को आधारमा कठोर राज्यव्यवस्थाको अभ्यास हो।
यो आदर्शजस्तो देखिने अभ्यास जो कोहीले पनि गर्न सक्छ। पार्टीहरूभित्रका आँट भएका विचारक समूह हुन वा नयाँ गठबन्धनको वैकल्पिक शक्ति। यो कार्य फत्ते गर्ने जसले अठोट गर्छ उसले देशको शक्तिशाली सुरक्षा संस्थाको साथ र समर्थन लिनैपर्छ र यो नै सबभन्दा व्यावहारिक, औचित्यपूर्ण र सान्दर्भिक हुन्छ। यस्तो पावन उद्देश्यसहितको राष्ट्रिय अभियानमा सुरक्षा संस्था÷निकायहरूको साथ, समर्थन हुने देखिन्छ। राजनीतिक महत्वाकांक्षा नेपालको सेनालाई राष्ट्रिय सुरक्षाको हिसाबले पनि राष्ट्रिय हितमा काम गर्न अप्ठ्यारो पर्ने देखिँदैन।

विद्यमान चौतर्फी नकारात्मक पाटोलाई नियाल्दा देश असफल राष्ट्रउन्मुख छ र यसलाई रोक्न अब साधारण उपचारले सकिँदैन। व्यवस्थापनको सिद्धान्तअनुसार अब देशलाई साधारण सुधार ‘रिफर्म’ र पुनर्संरचना ‘रिस्ट्रक्चरिङ’ गरेर ट्र्याकमा ल्याई उद्धार ‘स्याल्भेज’ गर्न सकिने अवस्था कटिसक्यो। अबको कदम भनेको राज्य–व्यवस्थाको पूर्णजाँच÷मर्मतसहित ‘रिइन्जिनियरिङ’ मात्र हो र अहिलेको आवश्यकता भनेको यही हो।
समान राष्ट्रिय मुद्दा/एजेन्डा बोक्ने पार्टी नेता, अभियन्ता, र अगुवाहरूले आफूलाई मात्र ठूलो सम्झने र घमण्डी भ्यागुतो झैं फुल्ने मात्र हो भने भ्यागुताको धार्नी कहिले पुग्दैन। यदि देशमा केही गर्नुपर्छ र गर्छु भन्ने भावना छ भने सबै संगठित हुनुको विकल्प छैन– वैकल्पिक राजनीतिक धार÷शक्ति निर्माणको लगि पनि।
(भण्डारी पूर्वजर्नेल हुन्)

दलितलाई खै ?

  दलितलाई खै ? सञ्जीव कार्की भदौ १६ , २०८१ आइतबार ९:२५:५१ माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको , दा...