Friday, May 01, 2020

नेवार को हुन्?

नेवार को हुन्?
लेखक

May 1, 2020
काठमाडौं उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरु, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन्। यस्ता खाले अनुसन्धानहरु अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवारहरुबारे भएका छन्। तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन।
नेवार जातिका विशेषता विविध
रसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ। जस्तो
, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन्। तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकै नश्ल वा रगतका हुन्। त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरु पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरु सबै आर्य रगतका हुन्। तर नेवारहरुमा त्यस्तो छैन। कोही नेवारहरु आर्यन्, कोही नेवारहरु मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन्। संसारका तीनवटा नश्लहरु नेवारहरुमा छन्।
हुन त ९० प्रतिशतभन्दा बढी तिब्बेत्तो वर्मन अथवा मंगोल छन्, नेवारका नब्बे प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका ‘तिब्बती–वर्मी समूहका’ हुन्, तर अरु आगन्तुकहरु पनि नेवार बनेका छन् ।
नश्ल मात्र होइन, धर्मको हिसावले पनि नेवारहरु थरीथरीका छन् । धर्मका हिसावले पनि अहिले नेवारहरु शैव र बौद्ध धर्म मान्नेहरु छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरु थिए। पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाइहरु सबैलाई ‘देश छाडेर जानू, नजानेहरुलाई मार्नू’ भन्ने आदेश दिए। त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरु भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे। नजानेहरु सबैलाई फाँसी दिइए र मारिए। त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरु नै हराएर गए। अहिले फेरि इसाइ धर्म मान्ने नयाँ नेवारहरु उत्पन्न भएका छन्। नेवार मुसलमानहरु भने ज्यादै थोरै भएको हुनाले उनीहरु खस अथवा पहाडी मुसलमानहरु र तराईका मुसलमानहरुसँग मिसिन गए ।
यसरी नेवारहरुको रगत, धर्म अलगअलग रहेको छ। अनुहारै हेर्दा पनि सबै नेवारहरुको एउटै जाति छैन। कुनै नेवारहरुको नाक थेप्चो भएको अनुहार देखिन्छ, भने कुनै नेवारहरुको चुच्चो नाक देखिन्छ। त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक जाति (ethnic group) समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय वा  (ethnic linguistic) हो । जो नेपाल भाषा बोल्छन्, उनीहरुलाई नेवार भनिन्छ।
नेपाल भाषा भनेको पुरानो किराँत भाषामा लिच्छवीहरुले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो। नेपाल भाषा बन्नुभन्दा पहिला त नेवारहरुको र तामाङ्गहरुको एउटै भाषा थियो। तामाङ्गहरुले पुरानै भाषा बोलिरहे। नेवारहरु भने नयाँ भाषा बोल्न थाले ।
नेवारको श्रमिक वर्ग, जस्तो – नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरु, ज्यापूहरु सबै तिब्बेतो वर्मन वा मंगोल मूलका छन्। नेवारहरुमा यिनीहरुको संख्या ९० प्रतिशतभन्दा बढी छ। नेवार जातिभित्रका केही अरु परिवारहरुको उदाहरण लिऔँ। जस्तो कि, नेवारहरुमा श्रेष्ठहरु छन्। श्रेष्ठहरुमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन्।
७ सय वर्षसम्म मल्लहरुको राज्य चल्दा उनीहरुले सरकारको ठूलाठूला पदहरु अथवा भारदारहरुमा विभिन्न मानिसहरुलाई नियुक्ति गरे। उनीहरु जुनजुन पदहरुमा नियुक्त भए, त्यही पदअनुसार उनीहरुको थर निर्धारण भयो। जस्तो – मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो। उनीहरुका सन्तानहरुलाई अहिले पनि अमात्य, प्रधान, राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ।
श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मंगोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान्।
नेवारमा अरु विलिन हुँदै गए
एउटा उदाहरण लेऔँ। नेपालको इतिहासमा हरि सिंहदेवको नाम आउँछ। हरिसिंहदेव तिरहुतको सिमरौनगढका राजा थिए। सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ। त्यँहा भएको एक आक्रमणमा उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए। तर तिनी बाटैमा मरे। उनका छोराले भक्तपुरको दरवारमा शरण लिए। उनीहरुको थर राजपूत थियो। नेवारीमा ‘रा’लाई ला भनिन्छ। त्यसैले उनीहरु थर लायपू भयो। हरिसिंहदेव लायपूका सन्तानहरु श्रेष्ठमा मिल्न गए ।
मल्ल राजा भुपतिन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरि वैद्यहरु आएका थिए। उनीहरु दरवारमा गएर राजाको वैद्यको रुपमा काम गर्न थालेकाले उनीहरुलाई राजवैद्य भन्न थालियो। तिनीहरुसँगै आएका वैद्यहरु तर राजदरवार नपुगेकाहरु श्रेष्ठ नभई अरु जातमा विलिन भए। बाहुनहरुमा पनि बाहिरबाट आएका देवकोटा, रिमाल, आचार्य, सुवेदी, यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरु ६/७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरुले नेवारी बोले, उनीहरुलाई राजउपाध्याय भनिन्छन् वा नेवारबाहुन पनि भनिन्छ।
त्यस्तै, तराईबाट पनि तिरहुते ‘झा, ओझा मिश्र थरका’ बाहुनहरु पनि यहाँ आएर नेवाल भाषा बोलेर नेवार बाहुन बने। यसरी ८/९ सय वर्षपहिले आएर काठमाडौं उपत्यकामा बसेर नेवाल भाषा बोलेपछि उनीहरुलाई नेवार भन्न थालियो । यसरी नेवारहरुको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरुबाट आएका र विभिन्न जातिका मानिसहरु एक आपसमा विलय भएर बनेको जाति हो नेवार।
संस्कृतिकै हिसावले हेर्ने हो भने पनि नेवारहरुको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ। यहाँका कला र कलाकारका बारेमा रुसका एकजना ठूला इतिहासकार डा. बन्दरेब्स्कीले भनेका छन्– “विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो। त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएको थियो, नेपालमा एघारौं शताब्दीमा नै ठूलाठूला विश्वप्रशिद्ध मन्दिर र चित्रहरु बनाइसकेका थिए ।”
त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो। यो कुरा कोरियामा पनि उल्लेखित छ। ती पुस्तकहरुमा नेपालको ठूलो राजवैद्यले बनाएको औषधीको बारेमा चर्चा गरिएको छ। यसरी एकपटक मल्लकालमा नेवारहरु निक्कै धेरै विकसित भएका थिए र विश्वमै प्रशिद्धि कमाएका थिए ।
नेवारहरु आदिवासी हुन् कि होइनन्
अब नेवारहरु आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौं ! मेरो विचारमा नेवारहरु आदिवासी नै हुन्। किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरु आदिवासी नै हुन् । अरु बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ। आदिवासी भन्नेबित्तिकै नेवारहरु शुरुदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ। संसारमा शुरुदेखि बसेका त कोही पनि छैनन् होला। मानव जातिको उत्पति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ ।
उनीहरु नै संसारभरि फैलिएका हुन्। त्यसैले आदिवासी भनेर तिनीहरुलाई भनिन्छ, जुन जातिहरु शासक जातिभन्दा पहिला आएर बसेका हुन्। अहिले नेपालका शासक जाति ‘नेपाली वा खस भाषा बोल्ने बाहुन क्षेत्री ठकुरी’ हुन् । उनीहरु ४/५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरु त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरुलाई आदिवासी भन्नुपर्छ ।
नेवारहरु जनजाति हुन् कि होइनन्
अर्को, नेवारहरु जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ। नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहद शब्दकोषमा जनजातिको परिभाषा ‘जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछिपरेका, नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषाअन्तर्गत नेवारहरु पर्दैनन्। यो परिभाषाअनुसार नेवारहरुलाई जनजाति भनियो भने नेवारहरुको बेइज्जत हुन्छ भन्न थालियो ।
अन्तर्राष्ट्रिय श्रम संगठनले जनजातिको परिभाषा ‘देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जनजाति भनिन्छ’ भनेर दिएको छ। किनभने शासक जातिको भन्दा अलग्गै भाषा, धर्भ र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरुको भाषा कति उत्पीडित छ भन्ने कुरा त विगतमा मूल्यांकनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरु जनजाति नै हुन् भन्ने मलाई लाग्छ ।
यदि नेवारहरु जनजाति हुन् भने मैथिलीहरु किन जनजाति होइनन् भन्ने प्रश्न पनि उठ्न सक्छ। मैथिलीहरुको भाषा अलग्गै भएता पनि उनीहरु हिन्दू धर्म र आर्य संस्कृतिका हुन्। उनीहरुको धर्म र संस्कृति शासकहरुको धर्म र संस्कृतिसँग मिल्छ। त्यसैले उनीहरु जनजाति भएनन् । शासकहरुको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरु जनजाति नै हुन्।
एकपटक शासक भइसकेका नेवारहरु कसरी जनजाति हुनसक्छन् भन्ने प्रश्न पनि उठ्न सक्छ। तर नेवारहरु कहिले पनि शासक जाति भएका छैनन्। मल्ल राजाहरुलाई नेवार राजा भनिए तापनि उनीहरु नेवारहरु नै होइनन्, ठकुरीहरु हुन्। नेपाल भाषा बोलेर शासकहरु नेवार भएका थिए। उनीहरु शासक छँदा नेवारहरु अलग्गै थिए। पृथ्वीनारायण शाहले मल्लहरुको राज्य खोसेपछि मात्र मल्लहरु नेवारसँग मिल्न गएका थिए ।
(यो लेख र फोटो के. के. मल्लले कहिं भेटाएको हुँ  भनेर फेसबुकमा राख्नु भएको रहेछ। त्यसैमा उहाँले लेख्नु भएको छ “नेवार को हुन् भन्ने विषयमा प्रा. माणिकलाल श्रेष्ठले पनि लेख्नुभएको मलाई थाहा छ।” हामीलाई यहाँ भएका केही सूचनाहरुबारे छलफलमा आउन् भनेर यहाँ राखेका छौं-सम्पादक)

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...