Monday, April 18, 2022

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

 


नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

नागरिक, काठमाडौँ, ५ वैशाख २०७९

नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ।

जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो। गत शनिबारमध्य रातमा देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका ८३ वर्षका धामी हरिमानसिंह डङ्गोल आज बिहान नुवाकोटको धरमपानीमा पुगेर आराम गरिरहेका छन्।

जात्राअन्तर्गत जालपादेवी मन्दिरमा पुर्‍याइएको भैरवीदेवी, अष्टमातृकासहितको रथयात्रालाई स्थानीयवासी, तीर्थालु, जात्रालुले आइतबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए। भैरवीको रथ लच्याङका ६० डोके, ३२ नोले गुठीयारहरुले देवीघाटस्थित जालपादेवी मन्दिरबाट आइतबार साँझ प्रस्थान गरेर आज बिहानीपख धरमपानीमा पुर्‍याइएको हो।

शनिबार राति जालपादेवी मन्दिर पुगेका धामी पनि गएमध्यरातमा लामबगैँचा, बाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहेका छन्। मध्यरातको सङ्कटासन्न समयमा धामी देवीघाटबाट नुवाकोटतर्फ फर्किएका द्वारे शाहीले जानकारी दिए। 'उनी फर्केको हेरेमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेकाले धामीमध्ये रातको सुनसान समयमा फर्कने चलन छ।' उनले भने।

देवीघाट  पुग्नुभएका धामीले यस वर्ष विसं २०७९ मा देशमा के हुन्छ भनेर गोप्यरुपमा भविष्यवाणी गरेकाे छ। 'धामीले देशमा यस वर्ष हुने घटनाक्रमको गोप्यरुपमा भविष्यवाणी गरे।' द्वारे शाहीले भने, 'धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई द्वारेमार्फत शब्दमा उतारेर राष्ट्रिपतिसमक्ष पठाइन्छ।'

आज अपराह्न ३ बजेपछि जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थितिमा जबरजङ्ग गण देवीघाटका नेपाली सैनिकले निशान झण्डा र भैरवी सलामीको बढाइँ दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर छर्केसँगँ यस वर्षको सिन्दूरेजात्रा मनाइने गरिएको छ।  

गत फागुपूर्णिमाको दिनदेखि भैरवी वर्ष बन्धन सुरु भए पनि वैशाख २ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै विशेष उल्लास सुरु भएको हो। यो उल्लास आज सिन्दूर खेल्ने समयसम्म कायम रहने गरेको छ। भैरवी वर्षबन्धन–२०७८ को धार्मिक विधि भने वैशाख १३ गतेसम्म कायम रहने द्वारे शाहीले जानकारी दिए।

सरकारी जात्राको रुपमा रहेको सिन्दूरेजात्रा कहिलेदेखि सुरु भएको यकीन मिति पाइन्न तर, विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजयी गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबारको निर्माण गरेर जात्रालाई विशेषरुपमा मनाउने व्यवस्था मिलाएको बताइएको छ।

सिन्दूरेजात्राको विशेष रौनक लिङ्गो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवानकाे रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोगबली, राष्ट्रमा के हुन्छ भने गरिने गोप्य भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाका सरोकारवाला व्यक्तिको उपस्थितिमा खेलिने सिन्दूर मुख्य आकर्षण र महत्वको रुपमा रहेको छ।
रासस
प्रकाशित: ५ वैशाख २०७९ ०८:५४ सोमबार

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...