Showing posts with label Literature. Show all posts
Showing posts with label Literature. Show all posts

Monday, June 17, 2019

हतुवागढीमा साहित्यिक रौनक


हतुवागढीमा साहित्यिक रौनक
धनकुटा — असारको महिना भित्रिसक्दा पनि भुईं कुहिरोले मौसम ठन्डा बनाएको थियो झन्डै १४ सय मिटर उचाइको भोजपुरको दक्षिणी क्षेत्र घोरेटार हतुवागढीस्थित फलामढुंगाको मौसमलाई भने गीत, नृत्य र साहित्यिक जमघटले खुबै ततायो 
हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको चारदिने महोत्सवमा सर्वसाधारणको जमघट खचाखच थियो त्यस अवसरमा मुलुकभरका मात्रै होइन, भारतका समेत कलाकार, साहित्यकारको प्रस्तुति थियो विशेष गरी स्थानीय स्तरका कलाकार हतुवागढी क्षेत्रमा जन्मिएर मुलुकमा स्थापित कला, भाषा र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सहभागी थिए कार्यक्रमस्थल आसपासका घोरेटार, रानीबास, पूर्णे, वयाङ, सिन्द्राङलगायतका सर्वसाधारणको उपस्थिति बेसी थियो
 कार्यक्रममा प्रतियोगितात्मक कविता नेपाल तथा भारतका २ सय ५ कविको रचना समावेश गरिएको आयोजकले जनाएको छ उत्कृष्ट १० विमध्ये सुर्खेतका विज्ञानराज कार्की सर्वोत्कृष्ट ठहरिए उनको मौन प्रश्न शीर्षकको कविताले पहिलो स्थान हात पार्दै १५ हजार रुपैयाँ प्राप्त गरेको उनले वाचन गरेका हरफहरू थिए :

भर्खरै सफल भएको छ
बाध्यता मृत्युको हाँगामा झुन्ड्याउन
एक सुस्केरा जिन्दगी
उसरी नै सफल भएको छ एक
जोडी आँखा परेलीमा झुन्ड्याउन
केही थोपा पीडा
के ऊ यसरी आफूलाई झुन्ड्याउन सक्ला?
अस्तित्वको लहरामा
ऊ अर्थात देशप्रेमी

प्रतियोगितामा तेह्रथुमका कवि इन्दु केसीको कफनमा फिरेको देश शीर्षकको कविता दोस्रो भएको छ उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्
 यस्तै, भोजपुरका कवि यादव समीर राई तेस्रो स्थानसहित ५ हजार र सुनसरीका किरण शिवाले सान्त्वना प्राप्त गरे टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथि कवि कुन्ता शर्मा, मायामितु न्यौपाने, राजेश विद्रोहीलगायतले कविता वाचन गरेका थिए
 कार्यक्रममा गायिका लीला राईले आफ्नो चर्चित ‘गीत भेटैमा भयो सोल्टीज्यू राम्रै छ खबर, धरान धनकुटा भेडेटार सोल्टीज्यू जोडौं न घरबार’ लगायत गीत प्रस्तुत गरिन् गायक बाबुराम प्रधान, हिरन राई, नृत्यकार प्रतिभा राईलगायतले पनि प्रस्तुति राखेको अध्यक्ष कृपालसिं राईले बताएप्रकाशित : असार २, २०७६ ०९:०९


Wednesday, June 12, 2019

‘म मरेपछि मेरा पुस्तकहरु’

म मरेपछि मेरा पुस्तकहरु’
पुस्तक
यो आन्दोलन नेपालभाषाका लागि मात्र होइन नेपाली इतिहास, संस्कृति र समग्र मुलुकको निम्ति हो। सायद हामीले भनेको पहिचान र आत्मसम्मानको रक्षा यस्तै कामबाट हुन सक्छ
चैत्र १०, २०७४दीपक अर्याल
काठमाडौँ — नेपालमा सबैभन्दा धेरै खोलिने तर दीर्घकालसम्म नटिक्ने संस्थाहरूमध्येको एउटा संस्था पुस्तकालय हो । खासखास राजनीतिक उथलपुथल वरिपरि पुस्तकालयहरू व्यापक मात्रामा खोलिएका छन् । तर यी जति धेरै खोलिए त्यति नै मात्रामा बन्द पनि भए ।
यसो हुनुका थुप्रै कारण होलान् तर एउटा मुख्य कारण भने पुस्तकालय खोलिनुपर्छ भन्ने हुटहुटी भएका युवा जमातले पुस्तकालय खोलेका केही वर्षमै उनीहरू विविध कारणले लाखापाखा लाग्नु हो । उनीहरूले सक्दासम्म त्यसको रेखदेख गर्छन् । पुस्तकहरू मागेर, किनेर संकलन गर्छन् र पुस्तकालय खडा गर्छन् तर रोजगारी, लेखाइपढाइ वा अन्य कारणले उक्त समूह त्यो स्थानबाट बाहिर निस्केपछि खोलिएको पुस्तकालय धान्ने अर्को समूह निस्कँदैन । त्यसपछि जम्मा भएका पुस्तकहरू त्यसै थन्किन्छन्, धमिरा लाग्छन्, मुसा लाग्छन् र सदाका निम्ति हराउँछन् । किताब, पत्रपत्रिका र कतिपय ठाउँमा पाण्डुलिपिहरू नासिन्छन् । सायद हामीमा संस्थालाई संस्थागत गर्ने धैर्य र अनुभवको अभाव छ ।
पढ्नेलेख्ने व्यक्तिहरूकै घरमा रहेका सामग्रीहरू पनि समयक्रममा नास हुन्छन् । एउटा पुस्ताले आफ्नो रुचिअनुसार पढ्नका लागि दु:खले जम्मा गरेका पुस्तक, पत्रपत्रिका, हस्तलिखित सामग्री दोस्रो पुस्ताका लागि उत्तिकै महत्त्वको लाग्दैन वा रुचिको विषय बन्दैन । त्यसैले ती सामग्री सुरक्षित रहनुपर्छ भन्ने वा कुनै सरकारी निकाय वा निजी पुस्तकालयहरूमा सुरक्षित राख्‍नुपर्छ भन्नेमा ध्यान जाँदैन । अझ, यस्ता व्यक्तिगत संकलनहरू कसले सुरक्षित राख्छन् ? किन सुरक्षित रहनुपर्छ भन्ने विषयमा चर्चा नै हुँदैन र समयक्रममा ती नासिँदै जान्छन् ।
मदन पुरस्कार पुस्तकालयले मूलत: नेपाली भाषाका पुस्तकपुस्तिका, पत्रपत्रिका, पर्चा–पम्पलेट र पाण्डुलिपिहरू सुरक्षित राख्न थालेको ६० वर्ष पुग्यो । हाल यसमा ३९ हजार पुस्तक, ५ हजार ७ सय ३० पत्रपत्रिका, १६ हजार पर्चा–पम्पलेट सुरक्षित छन् तर बजारमा उत्पादित तथा वितरित यत्ति नै सामग्रीहरू मदन पुरस्कार पुस्तकालयमा आइपुगेका छैनन् । पाण्डुलिपिका हकमा सरकारी स्तरमा राष्ट्रिय अभिलेखालयले सामग्रीहरूको संरक्षण गर्छ भने निजीस्तरबाट उत्पादन भएका सामग्रीहरूलाई केही हदसम्म मदन पुरस्कार पुस्तकालयले संकलन र संरक्षण गर्छ । त्यसो त राष्ट्रिय पुस्तकालय, केन्द्रीय पुस्तकालय, केशर पुस्तकालय लगायतका पुस्तकालयले पनि सामग्रीहरू राख्ने गर्छन् । तर यी पुस्तकालय वा संग्रहालयले जति सामग्रीहरू सुरक्षित गरेका छन् त्योभन्दा धेरै सामग्रीहरू निजी संकलनमा छरिएर रहेका हुन सक्छन्, जुन प्रत्येक दिन हराउँदै छ ।
यस्ता सामग्रीहरूको स्थिति बुझ्ने प्रयासस्वरूप मदन पुरस्कार मार्फत धरान, धनकुटा, विराटनगर, इलाम र गुल्मीजस्ता केही स्थानहरूका पुस्तकालय र निजी संकलकहरूसँग भेटघाट र चिनजान गर्ने प्रयास गर्‍यौं । यसरी भेट्ने क्रममा धेरैको प्रश्न मदन पुरस्कार पुस्तकालयका संस्थापक कमल दीक्षितको निधनपछि पुस्तकालय के हुन्छ ? भन्ने रह्यो । धेरैले उहाँ हुँदासम्म जिल्लाका सामग्रीहरू पुस्तकालयलाई संकलनका लागि पठाएको तर निधनपछि अलमलमा परेको बताउनुभयो । अर्थात् एउटा संस्था र व्यक्तिलाई हामीले कसरी जोडेर हेर्‍छौं वा खास व्यक्तिको अभावले संस्थालाई कतिसम्म असर पर्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण थियो । अर्थात् व्यक्ति नहुनासाथ संस्था नरहन सक्छ वा संस्थाले सोही काम उत्तिकै दृढताका साथ नगर्न सक्छ भन्ने शंका धेरैका मनमा हुनेरहेछ । हाम्रो काम संस्थाले जे काम गरिरहेको थियो त्यो गर्नेछ नै बरु त्यसको दायरलाई कसरी अझै फराकिलो पार्न सकिन्छ भनेर यहाँहरूको सुझाव र सल्लाह लिन आएका हौं भनेर आश्वस्त पार्नुपर्ने थियो ।
भेटघाटको एउटै जोड थियो, स्थानीय स्तरमा उत्पादित सबै सामग्रीहरूको सुरक्षा हुनुपर्छ । त्यो स्थानीय स्तरमै भए राम्रो, एक ठाउँमा मात्रभन्दा धेरै ठाउँमा भए राम्रो र यदि त्यसका लागि कुनै प्राविधिक सहयोग चाहिएमा मदन पुरस्कार पुस्तकालय तयार छ । हामीले जुनसुकै क्षेत्रमा उत्पादित जुनसुकै भाषाका सामग्रीहरू पनि उत्तिकै महत्त्वका हुन्छन् र ती सुरक्षित हुनुपर्छ भन्ने मान्यता राख्छौं । त्यति मात्र होइन हामीले धरानका कृष्णप्रसाद श्रेष्ठको व्यक्तिगत संकलनमा रहेको केही सामग्रीलाई मदन पुरस्कार पुस्तकालयमा उहाँकै नाममा संकलव गर्ने निधो गर्‍यौं । यसो गर्दा मदन पुरस्कारमा पहिले नै रहेका कैयौं पुस्तकहरू दोहोरिन्थे । स्थान अभावले सकेसम्म एउटा मात्र पुस्तक वा पत्रपत्रिका राख्ने हाम्रो नीतिलाई यो उपयुक्त थिएन । तर, नेपालमा ‘कम्युनिस्ट आन्दोलन, शिक्षा वा स्कुल’ का लागि अतुलनीय योगदान दिएका श्री श्रेष्ठले पढेका पुस्तकहरू र ती पुस्तकमा उहाँले लगाएका चिन्ह, लेखेका नोटहरू ‘कम्युनिस्ट आन्दोलन वा स्कुल परम्परा’ को अध्ययन गर्नेहरूका लागि महत्त्वपूर्ण स्रोत हुन सक्छ भन्ने ठान्यौं । त्यसैले ती प्रत्येक पुस्तकको महत्त्व अब पहिले नै मपुपुमा रहेका सोही पुस्तकभन्दा भिन्नै हुनेछन् । यस अर्थमा व्यक्तिका व्यक्तिगत संकलनहरू पनि हाम्रा साझा सम्पत्ति हुन् ।
विविध भाषा सामग्री
विभिन्न समयमा भएका पहिचान आन्दोलनसँग सम्बन्धित सामग्री, मातृभाषाहरूमा लिखित तथा प्रकाशित सामग्री संकलन र संरक्षण स्थानीय स्तरमा कसरी सम्भव छ ? त्यसका लागि स्थानीय, प्रादेशिक वा केन्द्रीय सरकारको नीति कस्तो हुनुपर्ने भन्ने विषयमा गफ भए । केही सल्लाह सुझावहरू प्राप्त भए । मदन पुरस्कारमा संकलन र संरक्षणका लागि सामग्रीहरू संकलित भए तर ती पर्याप्त छैनन् । यस्ता सामग्रीहरूको संकलन र संरक्षण कसले गर्ने, कसरी गर्ने ? सबैतिर अन्योल छ । व्यक्तिगत संकलनमा यस्ता सामग्रीहरू सुरक्षित छन् तर त्यसको सीमा हुने कुरा विराटनगर क्षेत्रमा व्यक्तिगत पुस्तकालय राख्नेहरूलाई धमिराले दिएको दु:खले पुष्टि गर्छ । तथापि इलाम सेरोफेरोमा भेटिने विभिन्न भाषाका पाण्डुलिपि र अन्य सामग्रीहरू युद्धप्रसाद वैद्यले कसरी संरक्षण र प्रयोग गरिरहनुभएको छ भन्ने कुरा धेरै क्षेत्रका लागि एउटा राम्रो उदाहरण हुन सक्छ । धरानकै विमल स्मृति पुस्तकालय र सार्वजनिक विद्या भवन, धनकुटाको गर्गाचार्य पुस्तकालयका सामग्रीहरू आफैंमा महत्त्वका छन् र यी र यस्तै पुस्तकालयले स्थानीय स्तरमा उत्पादित सामग्रीहरू स्थानीय स्तरमै सुरक्षित र संरक्षित राख्न सक्छन् ।
धेरैजसो पुस्तकालयमा ठाउँको अभाव, फर्निचर, मानवीय स्रोत, आर्थिक स्रोतका अतिरिक्त कीरा, मुसाहरूले यस्ता सामग्रीहरूलाई सुरक्षित राख्न दिएको छैन । यस अर्थमा मदन पुरस्कार पुस्तकालय केही हदसम्म भाग्यमानी छ । यसले पुराना सामग्रीहरू माइक्रोफिल्म वा डिजिटल प्रविधि मार्फत सुरक्षित राखिरहेको छ । नयाँ संकलनमा आएका सामग्रीहरूलाई पनि तुरुन्तै संरक्षण गर्ने नीति बनाएको छ । त्यसैले नै नेपालीभाषी, नेपाली भाषाका सामग्रीहरूको वर्चस्व हुँदाहुँदै पनि मपुपुमा संकलित सामग्रीहरूका आधारमा केही फरक कथाहरू भन्न सकिन्छ, लेख्न सकिन्छ ।
सामग्रीहरू कुनै न कुनै रूपमा सुरक्षित हुँदा नै सार्वजनिक संकथनको निर्माण हुन सक्छ । हाम्रा बहसहरू फराकिलो हुन सक्छ । आलोचना र समालोचनाका आधारहरू फराकिलो हुन सक्छ । २०३९ सालमा चन्द्रबहादुर लामाले ‘तामाङ भाषा श्लोक रामायण सुन्दरकाण्ड’ किन अनुवाद गरे र मुलुकसिं लामाले किन प्रकाशन गरे भन्ने कुरामा बहस हुन सक्ला तर बहसको आधार भने सोही पुस्तक हो र उक्त पुस्तक सुरक्षित रहे मात्र बहस गर्न सहज हुन्छ, सान्दर्भिक हुन्छ । यस्ता पुस्तकहरू कसरी जोगाउने, कसले जोगाउने, किन जोगाउने भन्ने कुरामा प्रशस्त बहस गर्नुपर्ने बेला भएको छ । नेपालभाषा एकेदमिको विधान (२०४९, नेसं १११२) भलै नेपालभाषामा नभएर नेपाली तथा अंग्रेजी भाषामा छ तर यो नेपालभाषाको संरक्षणका निम्ति भएको एउटा पहलको दस्तावेज हो ।
किरात व्याकरण (लिम्बु) इमानसिंह चेम्जोङ ग्रन्थावलीअन्तर्गत इमानसिंह चेम्जोङले २०२७ सालमा प्रकाशित गरेपछि दोस्रो संस्करण २०६० मा किरात याक्थुङ चुम्लुङबाट प्रकाशित भयो । के किरात आन्दोलन वा किरात भाषाको चर्चा गर्दै गर्दा २०२७ सालमा पुस्तक छाप्न सहयोग गर्ने सज्जनहरू सुब्बा नन्दप्रसाद, हर्कप्रसाद, गुञ्जमान, खगेन्द्रसिंह, लप्टन राजबल, ज जसहाङ, स्व रनध्वज आदिका विषयमा थप कुरा खोज्न सकिन्छ ? उहाँहरूको योगदानको चर्चा गर्ने आधार पक्कै पनि यो पुस्तक हो जसको प्रकाशनलाई उहाँहरूले सहयोग गर्नुभएको छ र उहाँहरूको नाम पुस्तकमा समावेश छ ।
एसएमपीपी गुप्ताले प्रकाशन गरेको मगर कुरा शिक्षा (विसं १९९६), अयोध्याप्रसाद प्रधानको मगर–शब्द–संग्रह (१९९६), नेपाल तामाङ समितिको घोषणापत्र तथा मसौदा संविधान (२०१३), किरात मुन्थुम लुङको विधान (२०१४), किरात साहित्यको इतिहास (२०१४), तमु क्यूई चेके देदैं रोमे (२०१५), जितया पावनी (२०१६), किराती खेदा (दोस्रो संस्करण २०१८), तामाङ गीद (सन् १९६३), मगर भाषाका शुरूवौ किताप भगदा प्राइमरी थाकसे (२०२२), मगराँती भाषाङ ल्हिङ द टुक्कावौ किताब (२०२५) आदि पुस्तकहरू अन्य उदाहरण हुन् जसका आधारमा थप काम गर्न सकिन्छ, थप बहस र छलफल गर्न सकिन्छ ।
२०३३ सालमा थारू कल्याणकारिणी सभाद्वारा प्रकाशित ‘थारू संस्कृति’ ले थारू कल्लायणकारिणी सभाको स्थापनाको कथा भन्न सक्छ । रमानन्दप्रसाद सिंह, डा. बृजनारायण चौधरी, त्रिभुवन चौधरी, प्रभु नारायण चौधरी, अमृत खाँको योगदान आदिका विषयमा खोज्न सकिन्छ । पुस्तकभित्र रहेका लेख र गीतहरूले तत्कालीन समयका केही सामाजिक, सांस्कृतिक, ऐतिहासक कुरा बोल्न सक्छ, जुन अध्येताका लागि सन्दर्भ सामग्री हुन सक्छ ।
२०१२ सालमा प्रकाशित सुब्बा खड्गबहादुर नेम्बाङको ‘किरात मिक्हन् साम्लो’ (किरात जागरण गीत), २०३८ सालमा प्रकाशित किरात मिक्हन् साम्लो (दोस्रो संस्करण), अमृत ह्योन्जनको तामाङ संख्या प्रणाली (सन् १९९१), याक्थुङ पानसुम (लिम्बु शब्दावली) २०४९, बैरागी काइँलाको महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङमा पन्थका भजनमाला (२०४७) त्यस्तै महत्त्वपूर्ण सामग्रीहरू हुन् जसले विविध नेपाली भाषा, संस्कृतिको कुरा भन्न सक्छ । यस अर्थमा आशा सफु कुथीले गरिरहेको काम पनि ‘आन्दोलन’ नै हो । यो आन्दोलन ‘नेपाल भाषा’ का लागि मात्र होइन नेपाली इतिहास, संस्कृति र समग्र मुलुकको निम्ति हो । सायद हामीले भनेको पहिचान र आत्मसम्मानको रक्षा यस्तै कामबाट हुन सक्छ ।
मदन पुरस्कारमै रहेका अन्य पुस्तकहरू जस्तै : टासी फिन्जो लामा ‘टुल्कु’ र इमानसिंह लामाद्वारा सम्पादित संकलित एवं प्रकाशित ‘थ्वीनडेल’ (२०३३), करुणासिंह तुलाचनले २०४३ सालमा प्रकाशित ‘थकाली जातिको भाषा र संस्कृति’, नेवा भां प्रचारिणी समितिबाट प्रकाशित नेवा भांया शिक्षा (सन् १९४७) हाम्रा साझा दस्तावेज हुन् । यी कसरी सुरक्षित छन्, कहाँ सुरक्षित छन् वा कसले सुरक्षित राख्ने भन्ने विषयमा स्थानीय, प्रादेशिक वा केन्द्रीय सरकारले नयाँ नीति निर्माण गर्न सक्छ । व्यक्तिगत संकलनहरू कसरी जोगाउने, कसरी सुरक्षित राख्‍ने त्यो विषयमा पनि चिन्ता गर्नुपर्ने बेला भएको छ । व्यक्तिलाई सामान्यभन्दा सामान्य लाग्ने दैनिक काम कारबाहीका कागजातले व्यक्ति, समुदाय, क्षेत्र, जात वा खास ठाउँको इतिहास बोकिरहेको हुन्छ र ती कुनै न कुनै समय कसै न कसैले अध्ययन गर्नेछन् भन्ने मान्ने हो भने हामीले गर्न सक्ने काम ‘सुरक्षा’ गर्नु मात्र हो । हामी सामग्रीहरू सुरक्षित राख्ने कामका निमित्त मात्र हौं, यसमा बहस गर्ने, छलफल गर्ने, वादविवाद वा झगडा नै गर्ने काम विद्वत्जनको हो।
प्रकाशित : कान्तिपुर, चैत्र १०, २०७४ १०:३१

'बुँख्याचा' बालकृष्ण

'बुँख्याचा' बालकृष्ण
फाल्गुन १८, २०७५डा. तीर्थबहादुर श्रेष्ठ
काठमाडौँ —  विक्रम संवत् २०३६ सालमा गठन भएको प्राज्ञ–परिषदको नवग्रहजस्ता नौजना सदस्यमध्ये भाषातर्फका एक ग्रह अनायास अस्ताए भन्ने समाचारले निकै विह्वल भएको छु  । नेपाली भाषाका भीष्मपितामह मानिने विद्वान बालकृष्ण पोखरेल अब हामीमाझ हुनुहुन्न भन्ने कुराले पिरोल्दो छ  ।
उक्त प्राज्ञ–परिषद्का नौ जना सदस्यमध्ये कुलपति कलाकार लैनसिंह बाङदेल, सदस्य सचिव प्रसिद्ध मूर्तिकार अमर चित्रकार, लोकप्रिय कवि भूपि शेरचन, विशिष्ट विद्वान नयराज पन्त, वरिष्ठ इतिहासकार ढुण्डीराज भण्डारीसमेत गरी ७ जना प्राज्ञ परलोक भइसकेका छन् आजका दिनमा ।
ती सहकर्मी र सहधर्मीहरू इहलोकबाट बिदा भएको पीडा सहनुपर्ने बाध्यता तत्कालीन उपकुलपति वर्तमान राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा विज्ञान विधाका तत्कालीन सदस्य यस पंक्तिकारमा आइपरेको छ । यो घडीमा विद्वान बालकृष्ण पोखरेलका दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी श्री परमेश्वरसँग प्रार्थना गर्दछु । र, शोकसन्तप्त परिवारजनलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गर्दछु । एकैसाथ, श्रद्धासुमनको केही संस्मरण पनि पस्कन चाहन्छु । प्रज्ञा–प्रतिष्ठानमा को आए र को गए भन्ने कुरा गौण हो । यहाँ बसेर कसले, कस्तो योगदान पुर्‍याए भन्ने कुराको स्मरण गर्नु उचित हुन्छ । बालकृष्ण पोखरेलको सन्दर्भमा त्यो कुरा नेपाली वाङ्मयको साधना र सिर्जनामा लागेका विद्वानवर्गबाट समीक्षा हुने नै छ । उहाँले नेपाली बृहत् शब्दकोशको सम्पादनमण्डल निर्देशकका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बस्दा कति खट्नुभयो, कसरी खट्नुभयो—त्यसको एकमात्र दर्शक थिएँ म । मेरो विषय प्राकृतिक विज्ञान र उहाँको विषय भाषा विज्ञान । प्राकृतिक विज्ञानमा विशेषगरी मानव प्रजातिको उत्पत्ति, डार्बिनका विकासवादी सिद्धान्त तथा जीव–प्राणीका सृष्टि, विकास र भौगोलिक वितरण सम्बन्धमा उहाँ निकै गहिरो चासो राख्नुहुन्थ्यो । बेलायतको ब्रिटिस म्युजियमबाट मैले ल्याएको एउटा सानो पम्पलेट ‘पिल्टडाउन म्यान होयस्क’ उहाँलाई पढ्न दिएको थिएँ ।
मनुष्यको विकासक्रमसम्बन्धी अनुसन्धानलाई कसरी अल्मलाउने भन्ने कुचेष्टा हुन सक्छ भन्ने त्यसमा खुलासा गरेको थियो । वर्तमान मनुष्यको वंश बाँदरबाट प्रादुर्भाव भएको थियो भन्ने डार्बिनको निर्क्यौल थियो । तर, बाँदर र मनुष्य बीचमा सेतुप्राणी कस्तो होला भन्ने खोजतलास सन् १९०८ र १९१२ तिरै भएको थियो, वैज्ञानिकहरूले बेलायतको ससेक्से, पिल्टडाउन भन्ने ठाउँमा केही मानव अवशेष पनि भेट्टाएका थिए । केही मानव खप्पर, दाँत र बङ्गाराका अवशेषले मानव र बाँदरबीच सेतुप्राणीको प्रतिनिधित्व हुने प्रमाण फेला पर्‍यो तर, ती अवेशषको रासायनिक एवं रेडियोधर्मी अनुसन्धानले त्यसको पुष्टि गरेन । ती अवशेषहरू नक्कली र कृत्रिम थिए भन्ने प्रमाणित भयो । भाषा विज्ञानको क्षेत्रमा पनि बालकृष्णजी यस्तै सेतुभाषाको खोजीमा रहेछन् । मानव इतिहासमा स्थानीय बोलीचाली र त्यहाँको भूगोल र वातावरणबाट भाषाको विकास हुन्छ । जीवप्राणीको विकास सिद्धान्तमा वंश र वातावरणको भूमिका खोजेजस्तै भाषा विकासको विज्ञानमा उहाँका विचारहरू सुन्ने मौका मिलेको थियो । त्यो वर्षको मलाई राम्ररी सम्झना छ किनभने प्रसिद्ध नाटककार बालकृष्ण समको निधनमा हामी शोकसभा गर्दै थियौं प्रज्ञा–प्रतिष्ठानमा । २०३८ साउने झरीको त्यो सम्झना २०७५ फागुनमा फेरि बल्झेर आयो— अर्को बालकृष्णको निधनमा ।
जन्मनु र मर्नु प्राकृतिक नियम हो । २०७५ साल फागुन १३ गतेका अखबार, पत्रपत्रिकाले ‘बालकृष्ण पोखरेल फागुन १२ गतेका दिन अस्ताए, ८६ वर्षको उमेरमा’ भनेर खबरहरू सम्प्रेषण गरेका छन् । ठीक त्यही ८६ वर्षको उमेर काटेर २०३९ सालमा निधन भएका प्राज्ञ धनशमशेर जंगबहादुर राणका संस्मरणमा बालकृष्ण पोखरेल लेख्छन्— ‘...नेपालका प्रख्यात तान्त्रिकको चोला उठ्यो ८६ वर्षेको उमेरमा । उहाँ जन्मनुभएको थियो— संवत १९५३ मा ।’ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको रजत जयन्ती प्रकाशन मालाको १९ सौं अंकका निम्ति हामी सबै प्रज्ञा सदस्यहरू आ–आफ्ना अविस्मरणीय क्षणहरू लेख्दै थियौं । र, उहाँका अविस्मणीय क्षणमा धनशमशेरको चोला उठेको अवस्था थियो । निधन भए र चोला उठ्यो भन्नुमा कति फरक भन्ने कुरा विचार्दा आमा र माता भन्नुमा कति फरक छ भन्ने उहाँको तर्क थियो । त्यसो त झर्रो नेपालीका त उहाँ पितामह नै थिए । जगदम्बा प्रेसले २०६४ सालमा प्रकाशन गरेको ‘झर्रो शब्द्यौली’को मिठास हामीलाई प्राप्त छ ।
बालकृष्ण पोखरेल मोरङका बाहुन अनि म काठमाडौंको रैथाने नेवार । उहाँ मसँग नेवारीमा निकै ठट्टा गर्नुहुन्थ्यो । सधैं हँसिलो र सधैं ठट्यौली । टेलिफोन वार्तामा उहाँसँग फँसियो भने आधा घण्टाले पुग्दै पुग्दैनथ्यो । एक दिन ‘बुँख्याचा’ को प्रसंगमा फँसियो । नेवारी भाषामा ‘बुँ’ भनेको खेत वा बारी हुन्छ, ‘ख्याँ’ भनेको तर्साउने ख्याक र ‘चा’ जोड्छन् । रामे, श्यामे भनेझैं रामचा, श्यामचा, दाइचा, भाइचा आदि इत्यादि । अन्ततोगत्वा सबै माटोमा मिल्छ भन्ने यथार्थ बोध ‘चा’ले गराउँछ भन्ने मेरो मान्यता थियो । त्यही सन्दर्भमा मैले उहाँलाई ‘बालकृष्णचा’ पनि ठोकें । त्यही बँख्याचा (बुख्याचा) को प्रसंग जोडेर उहाँले आफ्नो निजात्मक निबन्ध २०६० सालमा ‘मैले जुलुङ्गो रोजें’ भन्ने शीर्षकमा नेराप्रप्रको समकालीन साहित्यमा प्रकाशित गर्नुभयो । त्यस निबन्धको सार बुझ्न मैले धेरैपल्ट दोहोराएर पढें । अझै बुझ्न सकेको छैन ।
बायाँबाट क्रमशः स्रष्टाहरु विजयबहादुर मल्ल, भूपि शेरचन, अमर चित्रकार, माधवप्रसाद घिमिरे, लैनसिंह बाङ्देल, ढुण्डीराज भण्डारी, डा. तीर्थबहादुर श्रेष्ठ, बालकृष्ण पोखरेल र नयराज पन्त।
बालकृष्ण पोखरेल आज हाम्रा माझ हुनुह्न्नु । उहाँको ‘चोला उठ्यो’ तर उहाँ एक अमर प्राज्ञ हुनुहुन्छ । नेपाली भाषा–इतिहासको अनुसन्धान र निरुपणमा उहाँको अद्वितीय योगदान रहेको छ । नेपाली वाङ्मयको कुनै विधालाई पनि उहाँले छोड्नुभएको छैन । छेडेरै छाडेको छ उहाँका तिखा कलमका धारले ।
बालकृष्ण पोखरेलले नेपाली वाङ्मयलाई छाडेर गएका अमूल्य धनधान्यहरू सँगाल्यो भने नेपाली बृहत् शब्दकोशदेखि बृहत् नेपाली–अंग्रेजी–नेपाली कोशलगायत झर्रो शब्द्यौली, पाँचसय वर्ष, नेपाली भाषा र साहित्य, राष्ट्रभाषा, नेपाली निर्वाचन आदि कृतिहरूले नेपाली भाषाको उर्वरा फाँटमा विशाल क्षेत्र ओगट्छ होला । यसैगरी कथा, कविता, बालकविता, उपन्यास, निबन्ध, खण्डकाव्यहरू पनि धेरै प्रकाशित छन् । विविधताको सँगालो नै बालकृष्ण पोखरेल हो भन्ने कुरा विजयबहादुर मल्ल भन्नुहुन्थ्यो । सो कुरा उहाँका लेखकीय नाम र उपनामबाट झल्कँदो रहेछ । तीमध्ये रूपावासी, वसन्त, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिँलो, हिमाल पानेबराल आदि प्रचलित छन् । पोखरेल भए पनि आफ्नो निकट पुर्ख्यौली भूगोललाई स्मरण गरेर रूपावासी भन्न र भनाउन रुचाउँदथे— बालकृष्ण पोखरेल । र, सोही भूमि र भूगोलका स्मरणमा उहाँको अन्तिम कृति ‘रूपारानी’ नामक महाकाव्यलाई अधुरो नै छोडेर उहाँ जानुभयो । उहाँले सम्पन्न गर्नुभएका कृतिहरूको कीर्तिमानीका रूपमा उहाँले प्राप्त गरेका थुप्रै पुरस्कार, पदक, सम्मान, विभूषण र अभिनन्दनहरू संगृहीत हुनुपर्छ । बालकृष्ण पोखरेल एक अमर प्राज्ञ हुन् भन्ने कुरा तिनले नै बोल्नेछन् ।
विसं २०३६ सालको वैशाखमा उहाँलाई पहिलोपल्ट भेट्दा दाह्री जुँगा सफाचट चम्किलो अनुहार र हँसिलो मुद्राको सम्झना हुन्छ । प्रायः सधैं काखीमा किताब च्यापेरै हिँड्ने उहाँको बानी थियो । प्राज्ञ–परिषद्को बैठकमा बोल्दा पनि ‘म भन्न गइरहेको छु’ भन्दै आफ्नो कुरा अघि सार्ने उहाँको बानी थियो । अरूलाई निकै हँसाउने र आफू भने खित्का मात्र छोड्ने प्रकृतिका थिए— बालकृष्ण पोखरेल । प्रज्ञा–प्रतिष्ठानमा हामी सबैलाई २०४१ सालमा पुनः नियुक्तिका लागि चर्चा चल्दै गर्दा उहाँले संरक्षक राजा वीरेन्द्रछेउ दोस्रो नियुक्ति नहोस् भनेर बिन्ती गरेका रहेछन्— राजाको धनकुटा सवारीमा ।
तसर्थ २०४१ बाट उहाँ काठमाडौं छाडेर विराटनगरस्थित आफ्नै निवास तीनटोलिया बस्न थाल्नुभयो । विसं २०४६ सालपछि उहाँलाई काठमाडौंमा भेट्दा दाह्री–जुँगाले ढपक्कै छोपेको अनुहार देखेर छक्कै परेको थिएँ । त्यसपछिका दिनहरूमा उहाँको मुखारी चिह्न नै बाक्लो दाह्री–जुँगा र उही मसिनो स्वरको मिठास तथा खित्के हाँसो मेरो स्मृतिपटलमा झल्किरहन्छ । र, नेपाली वाङ्मयको फराकिलो फाँटमा ‘बुँख्याचा’ बनेर जुलुङ्गोको रूपमा ठडिरहनेछ भन्नेमा म विश्वस्त छु । मेरो विश्वास, मेरा श्रद्धाञ्जली ।
प्रकाशित : koseli, फाल्गुन १८, २०७५ १२:५५

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...