Showing posts with label Slavery. Show all posts
Showing posts with label Slavery. Show all posts

Friday, June 14, 2019

दासत्वको अन्तिम अवशेष

दासत्वको अन्तिम अवशेष
पञ्चायती
चैत्र २४, २०७५आहुति
काठमाडौँ — केही साताअगाडि छापामा एउटा खबर प्रकाशित देखियो— मुक्त घोषित हलियाको व्यवस्थापनका निम्ति छुट्याइएको तीन अर्ब रकम सकियो । मुक्त घोषित हलिया, कमैया र कम्लरीको आधारभूत समस्या समाधान नभएको मात्र हैन, बरु उल्टो जटिल बनिरहेको यथार्थबारे छापाहरूमा समाचार पनि आइरहेकै छन् ।
तीन अर्ब रकम दामासाहीले हलिया परिवारलाई वितरण गरिदिएको भए हलिया परिवार पहाडको निम्नमध्यमवर्गीय किसान बन्न सोझै सम्भव थियो । सरकारी संयन्त्र, त्यसको कामको तरिका अनि बीचबीचमा घुस्ने अनेक रङ र बहानाका बिचौलियाको कोपभाजनमा परी तीन अर्ब सकियो तर समाधान हुनुपर्ने समस्याको आधा मेलो पनि सरेन ।
त्यो समाचार छापिएकै साता सिंहदरबारस्थित समाज कल्याण मन्त्रालयको सभाकक्षमा मधेसबाट आएका हरवाह–चरवाह अथवा हरुवाचरुवाका प्रतिनिधिहरू जम्मा थिए । उनीहरू त्यो दासत्वपूर्ण प्रथाबाट मुक्ति खोज्न आएका थिए । सभाहलमा भने त्यस्तै दृश्य थियो, जस्ता दृश्यहरू हलिया, कमैया र कम्लरी मुक्तिको कथित घोषणाभन्दा पहिले छरपस्टै देखिन्थे । मन्त्री हतारिँदै भाषण दिएर बाटो लागे ।
मुक्तिका निम्ति प्रेरणा र सहायता दिन सात समुद्रपारिबाट आएका गोरा छालाले केही उपदेश दिए । हरुवाचरुवा र सरकार तथा विदेशी दातृ संस्थाबीच समन्वय गर्न लागिरहेका गैरसरकारी संस्थाका प्रतिनिधिले धन्यवाद दिए । दस वर्षभन्दा अगाडि हलिया मुक्तिको घोषणाताका सलबलाएका यस्ता परिदृश्य पुनः नाटक मञ्चन गरेझैं हलमा प्रकट भइरहेको आभास हुन्थ्यो ।
हलिया, कमैया र कम्लरीको कथित मुक्तिका निम्ति अपनाइएको अवधारणा र तरिका मधेसका हरुवाचरुवा प्रथाबाट प्रताडितहरूमाथि पनि अपनाउन लागिपरेको सन्दर्भले सजिलै अनुमान गर्न सकिन्छ, कुनै दिन फेरि एकपल्ट हरुवाचरुवाको पनि मुक्तिको घोषणा त गरिनेछ तर उनीहरूको जीवनमा आधारभूत मुक्तिचाहिँ आउनेछैन, बरु समस्या झन् जटिल बन्नेछ र दस वर्षपछि फेरि कुनै छापामा छापिनेछ— हरुवाचरुवाको व्यवस्थापनको पाँच अर्ब सकियो तर समस्या यथावत् !

मधेसका मैथली, भोजपुरी, बज्जिका, अवधीलगायत भाषिक क्षेत्रमा मध्ययुगीन सामन्तवादी समाजमा सुरु भएका विभिन्न बाँधा प्रथामध्येको कठोर प्रथा हो— हरुवाचरुवा । सम्भवतः नेपाली समाजमा यो नै बधुवा श्रम प्रथाको अन्तिम अवशेष हो । हलो जोत्ने हरुवा र वस्तुभाउ चराउने चरुवा । यो प्रथा केही वर्षअघिसम्म पश्चिम पहाडमा घोषित रूपमा रहेको हलिया प्रथा जस्तै हो, केही विशेषता फरक भए पनि आधारभूत प्रकृति उस्तै हो । चार अवस्थामा श्रमिक परिवार हरुवाचरुवा प्रथाको सिकार हुन बाध्य हुने गरेको पाइन्छ ।
पहिलो, जीवनको गुजारा ठप्पै रोकिने भएपछि गिरहत अथवा जग्गाधनीसँग सधैँ उसको खेतमा हलो जोत्ने सर्तमा ऋण लिँदा । जग्गाधनीको जग्गा ज्यालामा होइन, पहिले लिएको ऋणको गुन तिर्न मात्रै जोत्नुपर्ने भएपछि न ऋण तिरिन्छ न त ब्याज तिर्ने पैसा अन्तबाट कमाउन भ्याइन्छ । त्यसपछि नमरुन्जेल हलो पनि जोत्दै जानुपर्ने र साँवाब्याज पनि बढ्दै जाने दुश्चक्र चल्छ ।
पाँच हजार ऋण पचास वर्ष हलो जोत्दा पनि तिरिँदैन, बरु ब्याजमाथि स्याज जोडिएर छोरानातिका पालामा पुग्दा ऋण पचास हजार पुगिसकेको हुन्छ । दोस्रो, बासका निम्ति झुपडी गाड्न जग्गाधनीसँग जमिन लिएबापत सधैँभरि जग्गाधनीकहाँ हरुवा बस्न स्वीकार गर्दा । त्यसरी झुपडी गाडेको जग्गा हरूवाका नाममा कहिल्यै दिनु नपर्ने प्रथाका कारण हरूवाको परिवारले अन्त छाप्रो बनाउने जमिन नकिनेसम्मको पुस्ता हरुवाचरुवा भइरहनुपर्ने भयो ।
छाप्रो गाड्नकै निम्ति त हरुवा प्रथामा बाँधिन बाध्य परिवारले अन्यत्र जमिन किनोस् कसरी ? त्यसपछि पुस्तौँपुस्ता हरुवा प्रथाको पिंजडामा ! तेस्रो, बेरोजगारी र गरिबीका कारण अत्यन्त कम ज्यालामा जग्गाधनीकहाँ हरुवा बस्दा । ज्याला भन्नाले त्यस प्रथामा नगद होइन, अन्न र कतिपयले थोरै रक्सी दिने हो । श्रम गरेर बाँच्नै धौधौ हुने श्रमिक अरू उद्यम गरी स्वतन्त्र कसरी हुन सकोस् ?
चौथो, अब बाबुआमा हरुवा प्रथाअन्तर्गत पूरै गिरहत अथवा जग्गाधनीको निगाहमा बाँच्ने भएपछि तिनका बच्चाहरूचाहिँ स्वतन्त्र हुने कुरै भएन । ती बच्चाले चाहिँ जग्गाधनीका बस्तुभाउ चराउने काम गर्नुपर्‍यो अर्थात् चरुवा हुनुपर्‍यो । चरुवा बच्चाहरू मात्र हुन्छन् भन्ने हैन, तैपनि चरुवाको मुख्य प्रथा र हिस्सा यसरी नै बन्ने हो । त्यसो त हरुवा बन्ने सर्तहरूमा पनि चरुवा मात्र पनि कुनै बच्चा वा वृद्ध बन्न सक्ने भयो ।
आजभोलि बस्तु पालन कम हुँदै जाँदा एउटा जग्गाधनीको सट्टा पूरै गाउँका पशु चराउने स्तरमा यो प्रथा परिमार्जन हुँदै गएको पाइन्छ । त्यस प्रथाको बन्धनमुखी चरित्रमा भने फेरबदल आएको देखिँदैन । नेपाली समाजको उत्पीडितको सबैभन्दा पीँध यही नै हो ।
हलिया मूलतः पश्चिम नेपालका आर्य–खस दलितमाथिको उत्पीडनको प्रथा भए जस्तै हरुवाचरुवा चाहिँ मधेसी दलितभित्रको पनि सबैभन्दा सीमान्त दलितमाथिको उत्पीडनको प्रथा हो । हलिया प्रथा होस् या हरुवाचरुवा, यो सिधा दलित अवस्थासँग जोडिएको छ । मध्ययुगीन सामन्तवादी कृषि युगबाट सुरु भएको मानिएका यस्ता बाँधा प्रथाले भूमिहीन र भूमिपतिबीचको सम्बन्धलाई उजागर गर्छन् ।
सामन्तवादी युगमा जोसँग धेरै जमिन हुन्थ्यो, त्यो भूपति अर्थात् सामन्त हुन्थ्यो । जोसँग आफूलाई पुग्ने जमिन हुन्थ्यो, त्यो प्रजा हुन्थ्यो अर्थात् स्वतन्त्र किसान र जोसँग जमिन हुँदैनथ्यो, त्यो भूदास वा मोही किसान हुन्थ्यो । भूदासका विविध प्रकार हुन्थे । तीमध्येकै एउटा निकृष्ट प्रकार हो— हरुवाचरुवा प्रथा । त्यस युगमा जोसँग जमिन हुँदैनथ्यो, ऊ भूमिमा बाँधा बस्न बाध्य हुन्थ्यो ।
युरोप र चीनलगायतमा विकसित दास युग र सामन्तवादमा जो पनि दास, भूदास हुन सक्थ्यो, जो पनि भूपति वा स्वतन्त्र किसान हुन सक्थ्यो । त्यहाँ माओ थर भएको परिवार भूपति, स्वतन्त्र किसान वा भूदास जे पनि हुन सक्थ्यो किनकि युरोप, चीनलगायत समाजमा हिन्दू वर्ण व्यवस्थामा आधारित जात व्यवस्था थिएन ।

भारत र नेपालमा रहेका सामन्तवादकालीन हरुवाचरुवा, हलियाजस्ता बाँधा प्रथाभित्र चाहिँ अपवादबाहेक दलित मात्र किन बाँधिएका छन् त ? यसको सिधा उत्तर हो— हिन्दू वर्णव्यवस्थामा हिजोको ’अछूत’ वा आजका दलितलाई कुनै पनि सम्पत्तिको मालिक बन्ने अधिकारै थिएन ।
सामन्तवादी समाजको मुख्य सम्पत्ति जमिन आफ्नो बनाउने अधिकारै नभएको वर्णव्यवस्थाका कारण दलित समुदाय स्वतः भूमिहीन बन्न पुग्यो । मुख्य सम्पत्ति भूमि नै आफ्नो बनाउन नपाउने दलित त्यसका लागि बँधुवा श्रमिक बन्नुको विकल्प हुनै सक्दैनथ्यो । यसरी हरुवाचरुवा प्रथाको सिधा सम्बन्ध दलितको भूमिहीनतासँग छ र दलित समुदायको भूमिहीनताचाहिँ हिन्दू वर्णव्यवस्थामा आधारित जात व्यवस्थासँग छ ।
त्यसैले हरुवाचरुवा प्रथा सबै समाजमा सधैँभरि चलिरहने सामान्य सामाजिक आर्थिक प्रक्रियाको परिणाम होइन । हिन्दू तथा हिन्दू शासकद्वारा शासित समाजले योजनाबद्ध कानुन र संस्कृति बनाएर दलित समुदायलाई भूमिहीन बनाएपछि जन्मिएको व्यवस्था हो यो ।
यो परम्परागत राज्य र शासक समुदायको योजनाबद्ध अत्याचारको अनिवार्य परिणाम हो । परम्परागत राज्य नै यस्तो प्रथा जन्माउन लागिपरेको थियो, समुदायको अज्ञान वा गलत अन्तरक्रियाबाट यो जन्मिएको होइन । हिन्दू जात व्यवस्थामा आधारित राज्यको योजनाबद्ध उत्पीडनबाट जन्मिएको र सयौं वर्षदेखि जारी रहेको हरुवाचरुवा प्रथाले पुस्ता–दरपुस्ता लाखौं दलित परिवारको जीवन नारकीय बनाएको छ । त्यसैले हरुवाचरुवाको मुक्ति राज्यका निम्ति उपकार गर्ने, विकास गर्ने, पुनःस्थापना गर्ने होइन, बरु आजको राज्यले क्षमायाचना गर्ने र तिनलाई ऐतिहासिक उत्पीडनको क्षतिपूर्ति दिने विषय बन्नुपर्छ ।
विसं २००८ देखि नेपालमा भूमिव्यवस्थासम्बन्धी आयोगहरू बन्न थालेका हुन् । २०२१ मा भूमिसुधारको ठूलै हल्लाखल्ला भयो । आधा शताब्दी लामो भूमिसुधार र व्यवस्थासम्बन्धी सरकारी कामहरू आयोगको प्रतिवेदन सार्वजनिक गर्नेभन्दा बढी भएनन् । ठोस कदम २०१६ को बिर्ता उन्मूलन र २०२१ को भूमिसुधार नै थिए तर तिनले दलित भूमिहीनतालाई वास्तै गरेनन् ।
त्यसै गरी सबै भूमिसम्बन्धी आयोगका निष्कर्षमा दलित भूमिहीनताको ऐतिहासिक विशिष्टता परिभाषित नै गरिएन । यथार्थमा नेपालमा भूमिसुधारका निम्ति भनी राज्यले गरेका घोषणा त मूलतः सामन्तलाई जग्गा लुकाउन दिइएको सूचनाको स्तरमा सीमित भए । हलिया र हरुवाचरुवा वास्तवमा मोही किसान हुन् ।
नेपालमा कानुनमै मानिएका मोहीले भन्दा बढी श्रम गर्नुपर्ने उनीहरू मोही नभए के हुन् त ? प्रथाका कारण मात्र मोहीको सट्टा हलिया वा हरुवाचरुवा परिचय बनेको हो । आजसम्म पनि हरुवाचरुवा वा हलियालाई मोहीका रूपमा परिभाषित नगर्नु उनीहरूको अधिकारप्राप्तिको आन्दोलनको सैद्धन्तिक गल्ती भइरहेको छ ।
नेपालमा दास प्रथा अर्थात् बाँधाको मुक्ति चन्द्रशमशेरले पशुपतिनाथको खजाना झिकेर बाँधा मालिकको त्यतिबेला करिब पैँतीस लाख ऋण तिरिदिएर गराएको भन्ने छ अर्थात्, तत्कालीन दासहरूमाथि तिनका मालिकको अन्यायलाई चन्द्रशमशेरले अन्याय मानेनन्, बरु स्वतन्त्र खेताला श्रमिकको श्रम खरिद गर्न सक्षम होओस् भनेझैं गरी दास मालिकलाई अनुदान दिइयो ।
अझ भनूँ, तत्कालीन दासहरूलाई व्यक्तिबाट राज्यले किनेर राज्यअन्तर्गत बेहाल बन्ने व्यवस्थामा ल्यायो । चन्द्रशमशेरको नेतृत्वको यो शासकीय प्रवृक्ति अहिलेसम्म जारी छ । कमैया, कम्लरी र हलिया मुत्तिको घोषणा गर्दा उनीहरूले साहुको ऋण तिर्नु नपर्ने घोषणा गरियो । पचासौं वर्षसम्म गरेको श्रमले त्यो ऋणभन्दा धेरै गुणा बढी अन्यायपूर्वक असुल भइसकेको थियो ।
यथार्थमा कमैया, कम्लरी र हलियाले तिनका जग्गा र घरधनीलाई उल्टो ऋण लगाइसकेका थिए तर राज्यले कमैया, कम्लरी र हलियालाई नै ऋणी मान्यो र राज्यचाहिँ ऋणदाता मालिकका पक्षमा उभियो । सयौँ वर्षदेखि अत्याचार गर्ने, श्रम लुट्ने, बधुवा बनाउनेहरूको अपराध माफ भयो, अत्याचारमा पर्नेहरूचाहिँ दयाका पात्र बनाइए । त्यसैले त हिजो कमैया, कम्लरी र हलियाका रूपमा दुःख पाए अनि मुक्त भनिएपछि मुक्ति नपाएर दुःख पाइरहेछन् !
त्यो मुक्तिको घोषणा यथार्थमा कमैया, कम्लरी र हलिया बनाउने मालिकहरू, मालिक वर्ग एवं समुदाय र मालिक समुदायको राज्यको मुक्ति थियो । राज्यले नैतिक रूपमा गर्नुपर्ने क्षमायाचना र क्षतिपूर्ति दिनुपर्ने वर्तमानको लोकतान्क्रिक दायित्वबाट ती मालिकहरूको मुत्ति थियो । त्यसैले त पूर्व कमैया, कम्लरी र हलियाको जिन्दगी रसातलमै छ, किताबमा भने त्यो प्रथा छैन ।
यसरी राज्यको आजसम्मको प्रवृत्ति शोषण–उत्पीडनलाई जायज ठहर्‍याउने अनि त्यसबाट ध्वस्त जीवनलाई दया गर्ने खालको छ, जुन न्याय क्षेत्रमा कुटिल अपराधी प्रवृत्तिका रूपमा बुझिन्छ । राज्यको यही प्रवृक्तिका कारण हरुवाचरुवाको मुत्तिको प्रश्न ओझेलमा परेको छ ।
२०१९ यताका कानुनले दासत्वपूर्ण प्रथालाई अस्वीकार गर्छन्, व्यवहारमा त्यो लागू भइरहेको छैन । राज्य अहिले पनि पुरानै प्रवृत्तितिर स्पष्टै वेगवान् देखिन्छ । भूमिहीन दलितलाई जीविकोपार्जनका निम्ति जमिन उपलब्ध गराउने संविधानको भावनालाई बलात् तोडमोड गरेर घडेरी मात्र दिने कानुनको षड्यन्त्र गर्नुले राज्यको जाली प्रवृत्ति छ्यांग भएको छ ।
केही वर्षयता हरुवाचरुवा अधिकार मञ्च जस्ता संगठन गठन भई यो प्रथाविरोधी आन्दोलनात्मक अभियान चलेको छ । आन्दोलनले आफ्ना मागहरू अघि सारेको छ । यस्ता संगठन र आन्दोलनको सबैभन्दा ठूलो समस्या के देखिन्छ भने ती कुनै न कुनै दातृ संस्था वा गैरसरकारी संस्थाको उत्प्रेरणा र सहयोगमा उभिएका छन् । जतिसुकै परोपकारी भए पनि त्यस्ता उत्प्रेरणा परियोजनामुखी हुन्छन् ।
फलस्वरूप आन्दोलन नै परियोजनामुखी बन्दै जाने जोखिममा फस्दै जान्छ । अधिकारका निम्ति आन्दोलन र संगठन निर्माण राजनीतिक ढाँचामा ढालिए मात्र त्यसले राज्यलाई चुनौती खडा गर्न सक्छ । परियोजनाको ढाँचामा ढालिएपछि त त्यो राज्यका निम्ति कहिल्यै चुनौती बन्दैन । दातृ संस्थाहरूको उत्प्रेरणाका कारण परियोजनामुखी विकृति घुसेको आन्दोलनले राजनीतिक नेता जन्माउँदैन, परजीवी पेसेवर कार्यकर्ता मात्र उत्पादन गर्न थाल्छ ।
राष्ट्रिय भूमि अधिकार मञ्च जस्ता संस्थाले निकै राम्रा अभियान चलाउँदाचलाउँदै पनि अन्ततः यही रोगले गर्दा ठोस उपलब्धितिर वेग मार्न नसकेका हुन् । हलिया प्रथा, कमैया, कम्लरी प्रथाविरोधी अभियानमा परियोजनामुखी प्रवृत्तिकै कारण सजिलै विकृति उत्पन्न भएको थियो । तसर्थ हरुवाचरुवा मुक्तिको आन्दोलनलाई राजनीतिक आन्दोलनमा कसरी रूपान्तरण गर्ने भन्ने विषय नै मुख्य समीक्षाको विषय बन्नुपर्छ ।
राजनीतिक आन्दोलनको रूप नदिई यसले न आफ्ना मागहरूलाई ठीक ढंगले प्रस्तुत गर्न सक्छ न त लक्ष्यतिरै तीव्रतासाथ परिचालित हुन सक्छ । जीवन गुजाराको निकै कठिन प्रक्रिया, त्यसमाथि अपमानित दासत्वमा रहेका हरुवाचरुवाको आन्दोलनलाई राजनीतिक रूप दिनु निकै कठिन काम हो, तथापि त्यो दिशामा नगईकन समस्याको ठीक समाधान निस्कनेछैन ।
हलिया र कमैया आन्दोलनका जस्तै आज हरुवाचरुवा आन्दोलनले उठाएका माग र अवधारणा निकै फितला देखिन्छन् । आन्दोलनले हरुवाचरुवामाथिको ऋण खारेजी र पुनःस्थापनाको अवधारणाबाट आफूलाई माथि उठाउनुपर्छ । वर्षौंदेखि उनीहरूको श्रम लुटेर पनि अझै उनीहरूको टाउकामाथि ऋण छ भन्नु उनीहरूमाथि खराब प्रथाले लादेको अत्याचार मात्र हो ।
उनीहरू ऋणी होइनन्, अन्यायपूर्ण प्रथा र प्रथालाई टिकाइराख्ने राज्यका उत्पीडितहरू हुन् । त्यसैले आन्दोलनले हरुवाचरुवा ऋणी होइनन् भन्ने घोषणा किन नगर्ने र राज्यलाई सो घोषणा स्वीकार गर्न बाध्य पारिनुपर्छ । बाँधा प्रथामार्फत लुट मच्चाएर हरुवाचरुवाको पुस्तौंको जीवन ध्वस्त बनाउने अपराध र ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिस्वरूप हरुवाचरुवा परिवारहरूले स्वतन्त्रतापूर्वक सम्मानजनक जीवन जिउन सक्ने आर्थिक, शैक्षिकसहितको समग्र प्याकेज उपलब्ध गराउनबाट राज्य कसरी उम्कन मिल्छ ?
नेपाली समाजकै दासत्वपूर्ण प्रथाको सबैझन्दा अन्तिम अवशेषबाट सदाका निम्ति मानिसलाई मुक्त गर्न राज्यले थोरै इच्छा मात्र राख्दा हरुवाचरुवाको मुत्तिको प्रक्रिया द्रुत प्रक्रियामा टुंग्याउन सक्छ । हरुवाचरुवा प्रथा जुन क्षेत्रमा छ, त्यहाँको चल्तापुर्जा मध्यमवर्ग नै यसबाट बढी लाभान्वित छ । त्यो वर्ग राजनीति, व्यापार, बौद्धिक क्षेत्र आदिमा हावी छ । त्यो वर्गको सुविधाको खुसियालीको एउटा अंश हरुवाचरुवाको सस्तो श्रम र अपमानित जीवनमाथि टिकेको छ ।
ती क्षेत्रमा सबैजसो पार्टीले हरुवाचरुवामाथिको उत्पीडनलाई पार्टीको सरोकारभित्र प्रवेशै गराउँदैनन् किनभने पार्टीको हर्ताकर्ता त त्यही वर्ग छ ! अर्कातिर, हरुवाचरुवा प्रथाको बँधुवा जीवन संसदीय राजनीतिका निम्ति सस्तो भोट बैंक पनि हुने गर्छ । यो सस्तो बैंकलाई स्वतन्त्र भएको देख्न नचाहने राजनीति अर्को समस्याका रूपमा छ ।
त्यसैले हरुवाचरुवा आन्दोलनले आफूलाई राजनीतिक आन्दोलनबाट अलग राखेर होइन, राजनीतिक पार्टीहरूको अजेन्डाभित्र यस विषयलाई प्रवेश गराउने रणनीति बनाउनैपर्छ । हरुवाचरुवाको मुक्तिको विषय एउटा जमातको समस्याको विषय मात्र होइन, बरु यो त मानव दासत्वको पुरानो युगको लज्जास्पद अवशेष हो ।
त्यसैले मधेसको चल्तापुर्जा मध्यमवर्ग हरुवाचरुवाप्रति अझै निर्दयी बनिरहन कसरी मिल्छ ? संसद्वादी पार्टीहरूले भोट बैंकको स्वार्थले मानवताविरोधी यस प्रथाबारे मौन बसिरहन कदापि मिल्दैन अनि दासत्वपूर्ण प्रथाको अन्तिम अवशेषलाई अन्त्य गर्ने थोरै तत्परतासमेत नदेखाई शासकहरूले समाजवादको गफ्फा दिइरहन मिल्छ ?प्रकाशित : चैत्र २४, २०७५ ०७:४१

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...