कहाँ हराए ती नाच ?
(पाल्पा)
— रैनादेवी छहरा गाउँपालिका–७ जुठापौवाका ८४ वर्षीय इन्द्रबहादुर खाम्चा मगर
सानोछँदा मारुनी, सोरठी, झाम्रे, कडुवालगायत नाच खुबै नाच्थे । अहिले कहींकतै मात्र भेटिन्छन् । पोसाक पनि परिवर्तन हुँदै गएको छ । ‘पहिला चाडपर्वमा, धान भित्र्याउने, लाहुरे घर फर्किंदा पनि नाच्ने चलन थियो,’ उनले भने, ‘अहिले यस्ता नाच कमै
देखिन्छ ।’ गाउँकै ज्येष्ठ नागरिक रुद्रबहादुर सारुसँग पनि पुराना नाचको सुन्दर सम्झनाहरू छन् ।
अचेल मेला, पर्व र उत्सवमा बाध्यकारी भए मात्र यस्ता नाच
देख्न पाइने भएको छ । ‘कतिपय युवा पुस्तालाई त यी नाचबारे जानकारीसमेत छैन,’ उनले
भने ।
मगर समुदायको हराउँदै
गएको कला र संस्कृतिबारे हालै यहाँ बहस चल्यो । नेपाल मगर संघ र पाल्पा साहित्य समाजले गरेको ‘मगरको कला र संस्कृति’ विषयक छलफलमा धेरैले पुरानो संस्कृति हराएको प्रति चिन्ता जनाए । ‘मगर समुदायले जोगाएको नेपाली संस्कृति अहिले देशकै सम्पत्ति
बनेको छ,’ मगर
संस्कृतिका ज्ञाता एवं अध्येता डा. कुसुमाखर न्यौपानेले भने, ‘पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीत
अध्ययन गर्ने विषय बनेको छ । त्यसमा पनि मगरको कला र संस्कृति नै पहिलो रोजाइ हुन्छ ।’ मगरको घाँटो नाच, सालैजो, सोरठीजस्ता लोकसंगीत तथा लोक नाच निकै
शक्तिशाली रहेको उनले बताए । बागलुङका मगरले बचाएको गोपीचन लोकनाटक संसारकै उदाहरणीय रहेको समेत उनको दाबी छ । उति बेलाका मगरहरूले नपढेका भए पनि नेपाली संस्कृतिको रक्षा र यथार्थताको प्रतीक लोकगाथामा उतारेको उनको बुझाइ छ ।
‘मैले
त पीएचडी मात्रै गरेको हुँ, खासमा
त्यो भोगाइ र अनुभवले खारिएका मगर समुदायको अनुभवको हो,’ उनले भने, ‘गोपीचन लोकनाटक मगरकै कला र संस्कृतिको बेजोड
प्रस्तुति हुन आउँछ ।’ गोपीचनको विषयमा सोधखोज गर्दा अमेरिकाबाट उनले सम्मानसमेत पाए । गोपीचनमा त्यसबेलामा राजा र प्रजाबीचको सम्बन्धलाई समेटेको छ । यो लोकगाथा अहिले नेपालका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले पढ्नुपर्ने विषय बनेको छ । ‘त्यसैले मैले भन्ने गरेको छु, मगरले बचाएको संस्कृति नेपालकै संस्कृति हो,’ उनले भने । उनका अनुसार संगीतमा मगर शैली, बाजा, नाचहरू निकै फरक हुन्छन् । मगर समुदायकै
अध्येता डा. मुकुन्द शर्माले सांस्कृतिक हिसाबले अहिलेसम्म मगरहरूको खोजबिन
नभएकोमा चिन्ता व्यक्त गरे । मगरको सांस्कृतिक अध्ययन हुनु जरुरी छ,’ उनले भने, ‘मेरो अध्ययनमा मगर नेपालमा सुरुदेखि नै बसोबास
गर्ने जाति हुन् ।’ चालचलन, भाषा, संस्कृति र रहनसहन मगरको अलग्गै छ । अब मगरको कला र संस्कृतिको इतिहास खोज्नुपर्ने बेला आएको उनले बताए ।
विदेशी लेखकहरूले
अहिलेका ठकुरी पनि मगर रहेको प्रमाण पेस गरेको उनले सुनाए । ‘छुट्टै ठाउँ पाएपछि राजा शाह भएको र उनीहरू पछि ठकुरी बनेका हुन्,’ उनले
भने । मगरहरूको घाँटो नाचबाटै पछि गुरुङहरूले सिको गरेर घाँटु नामकरण गरिदिएको उनको दाबी छ । इतिहासकार निर्मल श्रेष्ठले मगर भाषा, कला, संस्कृति र इतिहासको रक्षा गर्न जरुरी रहेको
बताए । ‘यसमा पहिला मगर समुदाय नै अघि सर्नुपर्ने हुन्छ,’ उनले
भने, ‘आन्तरिक
र बाह्य पर्यटक लोभ्याउन पनि मगर कला र संस्कृतिको रक्षा गर्नुपर्छ भन्ने बुझाउन
सक्नुपर्छ ।’
पाल्पा साहित्य समाजका
अध्यक्ष पुष्करराज रेग्मीले मगर समुदाय कला, संस्कृतिमा धनी भए पनि यसलाई विस्तारै छाड्दै
गएकामा चिन्ता व्यक्त गरे । नेपाल मगर संघका जिल्ला अध्यक्ष तेजबहादुर घर्तीमगरले मगर कला र
संस्कृतिको धनी भईकन यसलाई जगेर्ना गर्नेतर्फ सबैको ध्यान नपुगेको बताए । अगुवा मगर महिला प्रतीक्षा सिञ्जालीले महोत्सव, मेला, दिवसमा कला र संस्कृतिको कुरा गर्ने तर अन्य
समयमा बिर्सिने बानीले पनि जगेर्ना हुन नसकेको बताइन् ।
पाल्पा साहित्य समाजका
संरक्षक राजेन्द्रगोपाल सिंहले आफ्नै जातिबाट नै संरक्षणको पहल हुनुपर्नेमा जोड
दिए । राष्ट्रिय जनगणनाअनुसार पाल्पामा मगर समुदायको जनसंख्या ५२.२९ प्रतिशत छ । जिल्लाको कुल जनसंख्या १ लाख ३६ हजार ५ सय ८८ रहेको छ ।प्रकाशित : कान्तिपुर, फाल्गुन २५, २०७६ १०:२५