Thursday, March 17, 2022

लोकतन्त्रको कसीमा दलहरु असफल भएका हुन त..

 

लोकतन्त्रको कसीमा दलहरु असफल...

 अजयभद्र खनाल

आजकाल यस्तो लाग्छ मानौं राजनीतिक दलहरु लोकतन्त्रलाई सुदृढ बनाउने माध्यमा हैनन, बरु लोकतान्त्रिक पुनजार्गरणका बाधक हुन् । उनीहरु जनताको ईच्छा र चाहना पुरा गर्ने माध्यम नभएर, तिनका अवरोधका रुपमा देखापरेका छन् ।

लोकतन्त्रका दुई पक्ष जनताको प्रतिनिधित्व र संवैधानिक प्रक्रिया दुवैमा नेपाली दलहरु फेल भएका छन् । तैपनि नेपाली जनताको लागि नयाँ विकल्प आईसकेको छैन ।

नेपालमा राजनीतिक द्वन्द्व, असमानता र अन्यायका केहि वस्तुगत आधारहरु छन्, जसको समाधान जरुरी छ । तर वर्तमान राजनीतिक दलहरुले यी वस्तुगत समस्याहरुलाई सुल्झाउँदै, नेपाललाई आर्थिक विकास र समृद्दिको बाटोमा लाने संभावना देखिँदैन ।

परम्परागत दलहरुको असफलता

नेपालको राजनीतिमा दुईवटा प्रमुख एजेन्डा छन् ः क) राजनीतिक द्वन्द्व, असमानता र अन्यायका वस्तुगत आधारहरुलाई निमिट्यान्न पार्ने, ख) आर्थिक विकास र समृद्दिका आधार तयार पार्ने ।

नेपालका वर्तमान राजनीतिक दलहरुले ६ वर्ष लामो कसरतका बाबजूद यी दुवै एजेन्डालाई अगाडि बढाउन असफल भएका छन् । यी असफलताका प्रमुख कारण निम्न छन् ः

जब साधनले साध्यलाई निस्तेज बनाउँछ । नेपालका प्रमुख दलहरुले राजनीतिक शक्ति हासिल गर्न अपनाएका साधन (सार्वजनिक सम्पतिको दूरुपयोग, हिँसा, अपराध, चन्दा आतंक, गुटवन्दी, भागवन्डा, अतिकेन्द्रीकृत संगठन) ले एकातिर दलभित्र नैतिकताको स्खलन भैराखेको हुन्छ भने अर्कोतिर उनीहरुको राजनीतिक उद्देश्य हासिल गर्ने प्रयासलाई खोक्रो बनाईराखेको छ ।

हालै माओवादी नेताहरुले आन्दोलनको समयमा भारतसंग गोप्य सम्झौता गरेको कुरा बाहिर आएको छ । यस्तै सम्झौता अन्य दल र नेताहरुले पनि गरेका होलान् । अनि सत्तामा आएपछि कसरी उनीहरु राष्ट्रिय हितका लागि अडान लिन सक्छन् ? त्यस्तै राजनीतिक दलहरु व्यापारीवर्ग संग करोडौं पैसा उठाउँछन् । अनि आर्थिक नीति बनाउने बेला कसरी उनीहरुल तिनै व्यापारीक स्वार्थ बाहिर जान सक्छन् ? उनीहरु कार्यकर्तालाई हिंसा र अपराधमा उक्साउँछन्, अनि कसरी उनीहरु कानूनी शासनका लागि तिनै कार्यकर्तालाई जेल पठाउन सक्छन् ? सत्ताका लागि अपनाईने यस्ता साधनले कोही सत्तामा आउन सक्ला, तर त्यतिन्जेल तिनको साध्य खोक्रो र देखावटी मात्र भैसकेको हुन्छ ।

दलभित्रको सामन्तवाद र लोकतान्त्रिक निर्णय प्रक्रिया र पद्दतिको अवमूल्यन । परम्परागत दलहरु अझै पनि लोकतान्त्रिक निर्णयप्रक्रियालाई स्वीकार गर्न तयार भएको देखिँदैन्न । संविधान सभाको असफलता यसको प्रमुख उदाहरण हो । यदि संविधानसभाका प्रक्रियागत पद्दतिलाई संविधान सभाभन्दा बाहिरका नेता, दल तथा शक्तिहरुले अपहरण गर्न नसकेको भए, यो सँस्था असफल हुने थिएन ।

लोकतन्त्रको दुईवटा प्रमुख पाटा । एउटा प्रतिनिधित्व, अर्को संवैधानिक प्रक्रिया । नेपाली राजनीतिक दलहरुको ध्यान प्रतिनिधित्वको दाबी गर्नेतर्फ मात्र केन्द्रित छ । जब संवैधानिक प्रक्रियामार्फत लोकतन्त्रको फल जनतालाई प्रदान गर्ने कुरो आउँछ, तब दुईवटा समस्या देखापर्छ । पहिलो समस्या हो दलीय र व्यक्तिगत स्वार्थका लागि संवैधानिक प्रक्रिया र सँस्थालाई वेवास्ता गर्नु । अर्को समस्या शीप र ज्ञानसंग सम्बन्धित छ । राज्यसंचालन, र अनुमनजस्ता संवैधानिक प्रक्रियाका लागि चाहिने शीप र ज्ञान वर्तमान राजनीतिज्ञहरुमा देखिँदैन ।

सामाजिक दरारहरुको राजनीतिकरण अर्को प्रमुख समस्या हो । समाजमा अवस्थित दरारहरुलाई स्वीकार गर्नु एउटा कुरा हो, तर ती दरारहरुलाई बढाएर त्यसका आडमा राजनीति गर्दा राजनीतिक द्वन्द्वमा बढी ध्यान केन्द्रित हुन्छ र जनतालाई प्रदानगर्नुपर्ने सेवामा कम । यसको अर्को अर्थ हो, जनतालाई ईमान्दारीका साथ सेवा गर्ने भन्दा पनि राजनीतिक शक्ति हासिल गर्ने कुरा यी दल र नेताहरुको प्राथमिकतामा पर्छ ।

यी विविध पक्षहरु केलाउँदा प्रष्ट हुन्छ, भविष्यमा पनि परम्परागत राजनीतिक दलहरु देशका समस्याहरुको समाधान गर्न असफल हुनेछन् ।
दल तथा जनताको बीचमा बढ्दो दुरीका कारण यो खुला स्थानमा नयाँ लोकप्रिय शक्ति उदाउने गर्छ, विशेष गरी दक्षिणबाट । यसैगरी यस दूरीले संवैधानिक र गैरसंवैधानिक तत्वहरुलाई पनि स्थान दिन्छ । दीर्घकालमा जनताको सहभागिताबिनाको तर जनताकै लागि भनेर काम गर्ने शक्तिहरुले सरकार बनाउन सक्छन् ।

नयाँ राजनीतिको उद्भव ?
नेपालमा मात्र हैन, विश्वमै राजनीतिक दल र जनताको सम्बन्धमा एकै खालको परिवर्तन देखा परिरहेको छ । एकातिर परम्परागत राजनीतिप्रति साधारण नागरिकहरुको वितृष्णा बढ्दो छ भने अर्कोतिर नागरिक समाज र बौद्दिक वर्गको राजनीतिमा चासो बढ्दो छ ।

विश्वभरि नै जनताको प्रतिनिधिको रुपमा राजनीतिक दलहरुले निर्वाह गर्ने भुमिका घट्दै गैरहेको छ र यो भविष्यमा अझ घट्दै जाने छ । त्यस्तै परम्परागत राजनीतिक दलबाट जनता र समाज टाढिँदैछन्, र राजनीतिक दलहरुले विशिष्ट र बलियो साँगठनिक पहिचान बनाउन गाह्रो छ । यसको अर्थ के हो भने, सबै आईडियोलोजी देखावटी र व्यवहारिक रुपमा निकम्मा भएका कारण आगामी दिनमा राजनीतिक दलहरुले कुनै विशेष आईडियोलोजी मात्र लिएर राजनीति गर्न कठिन हुनेछ ।

नेपाली राजनीतिको असफलताका कारण आम जनता, माओवादी लडाकु झैं, परम्परागत राजनीतिको मैदानबाट निजी जिवनमा फर्किरहेका छन् भने राजनीतिक दलहरु स्वयं जनताको घरदैलो र गाउँघरका मैदानबाट आफ्नै निजी स्वार्थको मैदानमा फर्किरहेका छन् । फलस्वरुप उनीहरुको केन्द«विन्दु राज्य र सरकार बन्न पुगेको छ ।

झट्ट हेर्दा आम नागरिकको परम्परागत राजनीतिक दलहरुप्रतिको वितृष्णाले सिर्जना गरेको समस्याको हल गर्न बौद्दिक वर्गको चासो बढेको हो कि जस्तो भान हुन्छ । तर यथार्थ केहि फरक छ ।

विश्वका विभिन्न राजनीतिक चिन्तकहरुको बिचार पढ्दा राजनीतिमा जनसहभागिता बढाउन भन्दा पनि आम सहभागिता घटाउनतिर उनीहरु लागिरहेका हुन् कि जस्तो देखिन्छ । राजनीतिमा जनताको वितृष्णा बढिरहेको सन्दर्भमा लोकतन्त्रको अवधारणालाई नै पुनर्परिभाषित गरेर लोकतन्त्रलाई सुदृढ बनाउने उनीहरुको चासो रहेको देखिन्छ । “लोक” अनुपस्थित भएको अवस्थामा लोकतन्त्रको नयाँ परिभाषा गर्नु उनीहरुको उद्देश्य हो ।

यसका लागि पहिला राजनीतिशास्त्रीहरुले संवैधानिक लोकतन्त्र र लोकप्रिय लोकतन्त्रबीचको भिन्नता उजागर गरेका छन् । संवैधानिक लोकतन्त्रको अवधारणाले “जनताको लागि” भनेर बनेको सरकारलाई सफल बनाउन संविधानमा रहेका नियन्त्रण र सन्तुलनका संयन्त्रहरुमा जोड दिन्छ भने लोकप्रिय लोकतन्त्रको अवधारणाले आम जनताको सहभागिता अर्थात “जनताद्वारा” गरिने प्रक्रियालाई महत्व दिन्छ ।

उदाहरणको लागि फरिद जाकारिया भन्छन्, “आधुनिक ईतिहासमा यूरोप र उत्तर अमेरिकाका सरकारहरुलाई विश्वका अन्य सरकारहरुबाट छुट्याउने प्रमुख चरित्र लोकतन्त्र हैन, संवैधानिक उदारवाद हो । “पश्चिमेली नमूना” को उच्चतम प्रतिविम्ब आम मतदाता हैनन, बरु निष्पक्ष न्यायाधीश हुन् ।” यसको अर्थ हो पश्चिमेली लोकतन्त्रहरु मतदाताको सहभागिता हैन कि सुशासनका लागि बनेका संवैधानिक संयत्रहरुका कारण सफल भएका हुन् ।

पिटर मायरका अनुसार आमसहभागितालाई भन्दा संवैधानिक प्रक्रियालाई जोड दिनुपर्ने प्रमुख कारण राजनीतिक दलहरुको अकर्मण्यता हो । राजनीतिक दलहरु असफल भएका कारण नै लोकप्रिय लोकतन्त्रपनि असफल भएको हो । यसरी दलहरुभन्दा पृथक समाधान खोज्नु भनेको लोकतन्त्रमा आमसहभागितालाई न्यून गर्नु हो । राजनीतिक दलहरुको असफलता भनेको प्रतिनिधिमूलक सरकारको असफलता हो ।

जाकारिया र अन्य चिन्तकको प्रयास यस्तो लोकतन्त्रको परिकल्पना गर्नु हो जसले काम गर्छ, जसले वैधानिकता पाएको हुन्छ, तर जसले नागरिकको नियन्त्रणको अवधारणालाई केन्द«विन्द मान्दैन ।

राजनीतिक दलहरुले जनताको प्रतिनिधिको भुमिका कमजोर भएतापनि, लोकतन्त्रको बाहकको रुपमा खेल्ने भुमिका बढ्दो छ । अर्थात, उनीहरुको राज्य संचालन गर्ने भुमिका कमजोर भएको छैन । हामीले राजनीतिक दलहरुलाई जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न असफल भएकोमा आलोचना गर्छौं, तर उनीहरुले राज्य संचालनमा भुमिका खेल्न हुँदैन भनेर भन्दैनौं ।

भविष्यमा राजनीतिक दलहरुको ठुल्ठुलो संगठन हुने छैन, र गाउँ गाउँमा उपस्थिति पनि हुने छैन । यसको सट्टा दलहरुले अरुको कुरा सुन्ने र नागरिक समाजमा रहेका विभिन्न गैरदलीय संघ, सँस्थाहरुको समर्थन जित्ने प्रयास गर्नेछन् । यसको अर्थ के हो भने, आफ्नो सांगठनिक कमजोरीलाई प्रतिस्थापन गर्न, उनीहरुले विभिन्न संगठन, सञ्जाल र समाजिक आन्दोलनको सहारा लिनेछन् । यस्ता गैर दलीय संघसँस्थाले राजनीतिक दलहरुलाई सुझाव र बिचार प्रदान गर्न सक्छन् । यस्तो गर्दा राजनीतिक दलहरुले आफ्नो श्रोत राजनीतिक प्रचारमा र सार्वजनिक पदमा निर्वाह गर्नुपर्ने भुमिका चुस्त बनाउनमा खर्चिन सक्छन् । तर नागरिक समाजका संघसँस्थाले सबै जनताको आवाज प्रतिनिधित्व गर्न सक्दैनन्, जुन परम्परागत दलहरुले गर्न सक्छन्, विशेष गरी समाजवादी वा वामपन्थी दलहरुले गर्न सक्छन् ।

नयाँ राजनीतिक अवसर
राजनीतिक दल र जनताबीचको सम्बन्धमा आईरहेको परिवर्तनले नयाँ राजनीतिक अभियानलाई केहि अवसरहरु प्रदान गरेको छ ।
एकातिर मतदाताहरु कुनै विशेष दललाई मात्र समर्थन नगरेर कुनै पनि दललाई मतदान गर्न सक्ने अवस्थामा पुगेका छन्, भने दलहरुपनि एकअर्काभन्दा भिन्न देखिन छोडेका छन् । नेपाली काँग्रेस र एमालेबीच नेपाली जनताले निकै अघिदेखि कुनै भिन्नता देख्न छाडिसकेका छन् । अब एनेकपा माओवादीपनि ती भन्दा खासै भिन्न नहोला ।

जनता र परम्परागत दलहरुबीच आएको यस परिवर्तनका कारण मतदाता समूहहरु पनि परम्परागत संरचनाबाट मुक्त हुुँदै छन् । यसको अर्थ हो, एजेन्डा स्थापना गर्नमा सँचार माध्यम (औपचारिक र सामाजिक) को भुमिक बढ्नेछ र दल तथा उम्मेद्वारहरुलाई चुनावी प्रचार प्रसारमा थप प्रयास गर्न आवश्यक हुनेछ । मतदाताको व्यवहार सापेक्ष हुँदैछ भने उनीहरुको रोजाई आकस्मिक ।

राजनीतिक दलहरुको आईडियोलोजीमा आएको विखण्डनका कारण कुनै दलविशेषको आईडियोलोजी भन्दा पनि उम्मेदवारको आकर्षणले मतदाताको व्यवहारलाई निक्र्यौल गर्नेछ । दलका हाकिमहरुले रोजेको उम्मेद्वारको भन्दा चुनावी क्षेत्र पहिल्यैदेखि लोकप्रिय रहेका उम्मेदवारहरुको संभावना बढी हुन्छ । अझ केन्द्रिय नेतृत्व अलोकप्रिय भएको अवस्थामा पार्टी र आफ्नो केन्द्रीय नेताको भारीसमेत बोक्न उम्मेदवारहरुलाई अप्ठेरो हुन्छ ।
दलका नेताहरुले आँफु र आफ्नो केन्द्रलाई बलियो बनाउँदा, दलको चुनावी मैदानको संगठन कमजोर हुने गर्छ । त्यस्तै चुनावी मैदानलाई बलियो बनाउँदा, दलको केन्द्र कमजोर हुन्छ ।

राजनीतिक दलहरुको असफलताका बाबजुद पनि यदि जनताले आफ्नो देशको भविष्य आफ्नै हातमा लिएनन् भने, हाम्रा सन्ततिले पनि हामीले झैं दुख पाउने छन् । नेपाली जनताले आशा गरेको परिवर्तन ल्याउन आज हामीलाई नयाँ प्रकारको राजनीति चाहिएको छ । शायद हामीले बिचार गरेका छैनौं होला, तर नयाँ खालको राजनीति आवश्यकता मात्र नभएर एउटा अवसर पनि हो ।
ajaya.khanal@gmail.com

Tuesday, March 01, 2022

महामारी कम गर्ने प्राचीन नाच !

 





महामारी कम गर्ने प्राचीन नाच !

रेणु त्वानाबासु शुक्रबार, १३ फागुन, २०७८

थप सामग्री : https://www.himalkhabar.com/news/128526

जीवित ‌देवी भनेर कुमारीको देशव्यापी चर्चा भए पनि भक्तपुरमा भने नवदुर्गालाई पनि जीवित देवीका रूपमा मानिन्छ। स्थानीयहरू यसलाई ङालाकेगू नाच अर्थात जात्राका रूपमा चिन्छन्।

हाल यो नाच भक्तपुरका टोलटोलमा चलिरहेको छ। नाच भक्तपुरका २४ वटा टोलमा देखाइन्छ भने भक्तपुर बाहिरको साँगा, पनौती, काठमाडौंको टोखामा पनि देखाउन जाने चलन रहेको छ।

नवदुर्गा नाचमा मुकुण्डो सहित १९ जना देवगण रहन्छन्,” नाच गर्ने देवगणका सदस्य नारायणमान वनमाला भन्छन्, “नाचका लागि १३ वटा मकुण्डो रहेको हुन्छ, त्यसमा १२ जनाले एउटा एउटा मुखुण्डो लगाएर नाच्ने गर्छन्।”

नाचमा भैरव, महाकाली, वाराही, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, सिम्‍ह-दुम्ह, महादेव, श्वेतभैरवका रूपमा देवगणले बाजागाजा सहित नाचिने वनमाला बताउँछन्।

प्रत्येक दिन फरक फरक टोलमा नाच देखाइने उनी बताउँछन्। भक्तपुरको दत्तात्रय, क्वाठन्डौं, गछें, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेंमा नाच प्रदर्शन गरिन्छ। साथै, टौमढीतालाक्व, नासमना, गहिटी, क्वाछें, टिबुक्छें, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेंमा भिन्न दिनमा नाच गरिन्छ।

भक्तपुर बाहेक मध्यपुर थिमि, चाँगुनारायण, काठमाडौंको टोखामा पनि देखाइन्छ भने उपत्यका बाहिर साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि देखाइन्छ,” उनी भन्छन्।

आठ महीनासम्म चल्ने नाचको शुरूवात भक्तपुर दरबार क्षेत्रको तलेजुबाट हुन्छ। टोलीले त्यहाँ नाचेपछि जयवागेश्वरीको पशुपतिनाथमा दर्शन गर्न जान्छन्। त्यहाँबाट मध्यपुर थिमीमा ६ रात ७ दिन बसेर नाच्न जान्छन्। नाच चलिरहेका वेला देवगण घर जान पाउँदैनन्। देवगणकै पोशाक लगाएर पाटीपौवा, देवलमा सुत्नुपर्छ।

 

नाच चल्ने आठ महीना अवधिमा देवगण हुने व्यक्तिले नाङ्गो खुट्टा, मुकुट बोकेर, देवगणको पहिरनमा नाच देखाउनुपर्छ नाचको शुरूआत प्रत्येक वर्ष माघ दुई गते सूर्यमढीबाट शुरू हुन्छ। “सूर्य उदाउँदाको पहिला घाम सो ठाउँमा पर्ने भएकाले सूर्यमढीमा नाच शुरू गर्ने परम्परा बसेको हो,” संस्कृतिविद् ओम धौभडेल बताउँछन्।

नाच अवधिभर गणका सदस्यले जहाँ पायो त्यहीं खाना खानु हुँदैन भन्ने मान्यता छ। गणले सूर्यमढी, दत्तात्रय क्वाथन्डली, याछें, टौमढी, टिबुक्छें, वंशगोपालमा खाना खाँदैनन्। यी टोलमा हुने नाचमा गण दिनभर भोकै हुन्छन्।

कहाँ कहाँ लागिन्छ नाच?

भक्तपुरको दरबार स्क्वायर तलेजु मन्दिर, जय बागेश्वरी पशुपतिनाथ दर्शन, त्यसपछि नगरमा पुसको अन्तिम दिन देवता ल्याएर माघ दुई गते सूर्यमढीमा नाच शुरू हुन्छ। त्यसपछि दत्तात्रय मन्दिरमा शनिबारका दिन पारेर नाच देखाइन्छ।

त्यहाँबाट क्वाठन्डौं, गछें, चागुनारायणमा एक रात दुई दिन, महालक्ष्मी, इनाचो (श्रीपञ्चमीका दिन), गोल्मढी, याछें, साँगा (एक रात दुई दिन), टौमढी, तालाक्व, वंशगोपाल, बालाखु, गहिटी, क्वाछें, टिबुक्छें, भण्डारखाल (दरबार स्क्वायर), मिवा (खौमा), इताछें, नाला (दुई रात तीन दिन), धुलिखेल (एक रात एक दिन), श्रीखण्डपुर (खर्पु), बालाखु, इलाछें, बनेपा (तीन रात तीन दिन), पनौती (दुई रात तीन दिन), इछुगल्ली (शक्ति निकाल्ने) मा यो नाच समापन हुन्छ।

शुरूमा जय बागेश्वरीमा पशुपतिनाथ दर्शनपछि नाच गण मध्यपुर थिमीमा ६ रात ७ दिन बस्छन्। त्यसपछि चाँगुनारायणमा एक रात दुई दिन, त्यहाँबाछ साँगामा एक रात दुई दिन अनि नाला दुई रात तीन दिन नाच देखाउन जान्छन्। त्यहाँबाट धुलिखेल एक रात एक दिन बसेर श्रीखण्डपुर, खर्पुबाट बनेपामा तीन रात तीन दिनपछि पनौतीमा दुई रात तीन दिनका लागि नाच्ने तालिका परम्परादेखि चलि आएको छ।



कसरी शुरू भयो नाच?

प्राचीन कालमा भूतप्रेतको डर मानिने वेला यो नाच शुरू भएको जनविश्वास छ। सो कालमा विभिन्न महामारी र रोगव्याधिले सताएका वेला भगवान्‌लाई खुशी पार्न यो नाच नचाउन थालिएको किंवदन्ती रहेको संस्कृतिविद् धौभडेल बताउँछन्।

नवदुर्गाको नाच शुरू भएपछि रोगव्याधि कम हुने जनविश्वास छ। कुनै घरमा भूतप्रेतको डर भएमा नवदुर्गाको नाच नचाउँदा शान्ति हुने र दुःख दिने दुष्ट शक्ति नाश हुने विश्वास छ।

नाच देखाउन बार अनुसारको तालिका पनि परम्परादेखि निरन्तर छ। दरबार स्वायर, इताछें, वंशगोपालमा मंगलबार, गहिटी र खौमामा बिहीबार र दत्तात्रय, टौमढी, क्वाछें तथा इताछेंमा शनिबारका दिन नाच देखाइन्छ।

नाचको महत्त्व

नाचले सामाजिक सचेतना फैलाउन सघाउ पुर्‍याएको संस्कृतिविद्हरू बताउँछन्। “यो नाच चलेका वेलामा समूहमा रहेर बाँडेर खाना खानुपर्छ भन्ने मान्यता छ भने दाँत माझ्नुपर्ने, खकार-सिंगान जताततै फाल्नु हुँदैन। महिला तथा पुरुषले लुगा धोइधाइ पारेर सफा हुनुपर्छ भन्ने मान्यता पहिलादेखि चलेको छ,” धौभडेल भन्छन्।

द्यौसीभैली खेल्नेले आसिक दिए जस्तै यस नाचमा पनि आसिक दिने प्रचलन छ। नाचको अन्तिममा जनता सधैं सुखी रहून्, दुःख नहोस् भनेर आशीर्वाद दिने चलन छ।

देवगणका दुःख

नवदुर्गा नाच तथा नवदुर्गा देवगणलाई सम्बन्धित निकायले वास्ता नगरेकोमा देवगण सदस्य बालकृष्ण वनमालाको दुःखेसो छ। “सबैभन्दा धेरै जात्रा हुने भक्तपुर नगरपालिकाको ङालाकेगु जात्रा गर्दा बत्तीको व्यवस्था पनि छैन, न त सरसफाइ तथा सुत्ने व्यवस्था छ,” उनले भने।

नाच अवधिमा खाली खुट्टा हिंड्नुपर्दा सिसाले घोच्ने, घाइते हुने गरेको उनी सुनाउँछन्। अहिले पनि देवगणहरू फल्चा (पाटी) मा यत्तिकै विना सिरक सुत्न बाध्य छन्। “देवगणले आफ्नो मुकुटको स्याहार गर्न नै सकस हुन्छ। लुगाकपडा र ओढ्नेको व्यवस्था कसरी गर्ने,” उनले प्रश्न गरे, “भक्तपुरको जात्रालाई भक्तपुरवासीले नै वास्ता नगरे कसले गर्छ?”

वर्षको करीब ११ महीना जात्रा हुन्छ। नाचमा सहभागी हुने विद्यार्थी सदस्यको पढाइ छुट्छ। “त्यसैले अहिले स्कूल, कलेजका विद्यार्थीहरू देवगणमा आउँदैनन्,” उनले भने, “यस्तै भइरह्यो भने भोलिका दिनमा देवगणमा आउने मान्छे नै हुँदैन।”

देवगण भइसकेपछि रोजगारी पनि गर्न नसकिने अवस्था भएको हुँदा अर्को समस्या हुने गरेको उनी सुनाउँछन्। नाचलाई निरन्तरता दिन के गर्न सकिन्छ भनेर सम्बन्धित निकायले सोच्नुपर्ने उनको भनाइ छ।

शुक्रबार, १३ फागुन, २०७८, ०९:३०:०० मा प्रकाशित

Monday, February 21, 2022

संसदीय व्यवस्थाकै मजाक


संसदीय व्यवस्थाकै मजाक

सभामुखलाई सरकारको बिजनेस रोक्ने संवैधानिक र कानुनी अधिकार छैन।

 ०८ फागुन २०७८ ०९:२०:००

 एमसीसी संसद्बाट अनुमोदन गर्ने कि नगर्ने विवादले राजनीति तातेको छ। संसद्देखि चियापसलसम्म यो विषयमा गन्थनमन्थन भइरहेका छन्। दुई वर्षअघि नै सरकारले संसद्मा दर्ता गरे पनि मुख्य राजनीतिक दलबीच सहमति नजुट्दा एमसीसी संसद्मै अड्केको छ। ‘तत्कालीन सभामुख कृष्णबहादुर महरादेखि हालका सभामुख अग्नि सापकोटाले विभिन्न बहानामा यो सम्झौता रोक्दै आउनुभएको छ। जुन, संसदीय प्रणाली, यसका मूल्य मान्यता र संवैधानिक व्यवस्था विरोधी काम हो।’

संसदीय व्यवस्थामा टेकेर सत्ता र शक्तिको उपभोग गरिरहेका दलहरूबाटै संसद्लाई कमजोर बनाइँदैछ। यसको धज्जी उडाउन खोजिएको छ। जनताका आवाज बोल्ने थलोलाई रबर स्टयाम्प बनाउने षड्यन्त्र भइरहेको छ। सभामुख सरकारको बिजनेस रोक्नेतिर उद्यत छन्। तर, संसदीय प्रणालीको विश्वव्यापी मान्यता, अनुभव र हाम्रै संवैधानिक व्यवस्था अनुसार पनि सरकारको प्रस्ताव संसद्मा पेस गर्दिन भन्ने अधिकार सभामुखलाई हुँदैन। सरकारको बिजनेसअनुसार मात्र संसद् सञ्चालन हुन्छ। त्यसैले सरकारको कुनै पनि प्रस्ताव रोक्ने अधिकार सभामुखसँग हुँदैन भन्ने संसदीय व्यवस्थाको मूल सिद्धान्त हो।

सांसदले निजी विधेयक (प्राइभेट विल) संसद्मा दर्ता गरे भने संविधान अनुकूल छ कि छैन ? अथवा, त्यो विधेयकले मौजुदा कानुनलाई कहीँकतै प्रतिकूल असर पारेको छ कि छैन भनेर छलफल गर्नुपर्छ। त्यस्तो छलफल गर्ने थलो भनेको कार्यव्यवस्था परामर्श समिति हो। अन्यथा, सरकारको कुनै पनि प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुँदैन। कृष्णबहादुर महरा सभामुख हुँदादेखि नै गलत परम्पराको सुरुवात भइसकेको थियो। बहालवाला सभामुखबाट अत्यन्तै गलत काम भइरहेको छ। एमसीसी त उदाहरण मात्रै हो। चर्चामा रहेकाले एमसीसी रोकियो भन्ने खबर सबैले थाहा पाए। तर, यस्ता दर्जनौं विधेयक÷प्रस्ताव सचिवालयमै त्यत्तिकै थन्क्याइएका छन्।

मूल प्रश्न राजनीतिक इमान्दारिताको हो। हामी संसदीय व्यवस्था मान्छौं भने पुरापुर मान्नुपर्यो। मान्दैनौं भने, त्यहीअनुसार अघि बढ्नुपर्यो। तर, यो रणनीतिको व्यवस्था होइन। कसैको रणनीतिक साधन बन्न यो व्यवस्थालाई अंगिकार गरेका पनि होइनौं। हो, यो उवाउ छ, ढिलो हुन्छ। तर, योभन्दा बेहत्तर व्यवस्था संसारमा छैन। संसदीय व्यवस्थालाई नै असफल बनाउनुपर्छ भन्ने पात्रहरूको बोलवाला छ। कम्युनिष्टहरू संसदीय व्यवस्था मान्दैनन् भन्ने भ्रममा जनतालाई राखिएको छ। कार्यकर्तालाई त्यही प्रशिक्षण दिइएको छ। भ्रमको राजनीति गरिएको छ। त्यति मात्र होइन, आपूm संसदीय व्यवस्थाको माध्यमद्वारा सत्ता सञ्चालन गर्ने, राज्यसत्तामा भूमिका बढाइराख्ने तर, यसलाई विफल पार्ने काम पनि भित्रभित्रै गरिरहने दोहोरो चरित्र प्रदर्शन भइरहेको छ। त्यही कारण संसद् प्रभावहीन बनाइएको छ।

संसदीय व्यवस्थामा टेकेर सत्ताा र शक्तिको उपभोग गरिरहेका दलहरूबाटै संसद्लाई कमजोर बनाइँदैछ।

कार्यकारिणीको आय र खर्चमाथि निगरानी र नियन्त्रण गर्ने काम संसद्ले गर्छ।  त्यही भएर सरकारको वार्षिक बजेट पनि संसद्बाट पास हुन्छ। राज्यका अंग र निकायका वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख, सरकार हुँदै संसद्मा आउँछन्। अदालतको प्रतिवेदन पनि संसद्मा आउँछ। अख्तियार, महालेखाको प्रतिवेदनमाथि पनि संसद्ले छलफल गर्छ। तर, यति राम्रो संसदीय व्यवस्थालाई मजाक उडाउनेहरूको बाहुल्यता भयो। हाम्रो विडम्बना नै यही हो।

राजनीतिक भ्रष्टाचारी चोख्याउने काम भयो
०५१ सालमा म संसद्को लेखासमितिको सभापति थिएँ। त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग मिलेर समितिले भ्रष्टाचार र आर्थिक अनियमितताका ठुल्ठूला मुद्दामा छानबिन गर्याै। निष्कर्षमा पुर्यायौं। समितिले उठान गरेका विषयमा अध्ययन\अनुसन्धानमा अख्तियारले सहयोग गर्यो। अख्तियारसँग मिलेर धेरै काम गर्याै त्यो बेला। दोस्रोपटक स्थानीय निकायको निर्वाचन अघि अख्तियार, महालेखा र लेखासमितिले मिलेर महत्वपूर्ण नीतिगत निर्णय गरेका थियौं। जुन–जुन जनप्रतिनिधिको बेरुजु, पेस्कीलगायत आर्थिक कारोबार बाँकी देखिन्छ, त्यस्तो व्यक्ति उम्मेदवार बन्न नपाउने निर्णय गर्यौं। यो निर्णयपछि स्थानीय निकायको अर्बाैं रुपैयाँ बेरुजु उठ्यो। त्यस बेला, अख्तियार र लेखासमिति निकैनजिक भएर सहकार्य गरेका थियौं। अख्तियार दुरुपयोग तथा आर्थिक अनुशासनहिनता सम्बन्धी ठुल्ठूला घटनाहरू बाहिर ल्याउँदै समाधान गर्न पनि सफल भयौं। तर, पछिल्लो अवधिमा लेखा समितिले उठाएका विषयलाई अख्तियारले चासोको साथ हेरिदिएन। यसको मुख्य कारण अख्तियारमा भागबन्डा र राजनीतिक नियुक्ति नै हो। राजनीतिक भागबन्डाका आधारमा नियुक्ति बढ्दै गएपछि कुनै न कुनै घटना, कुनै न कुनै दलसँग जोडिन थाले। यस्ता घटनामा ‘लेनदेन’ हुन थाल्यो। ‘मेरो विषयमा तँ चुप, तेरो विषयमा म चुप’ भनेर खुलमखुला लेनदेनको कुसंस्कार सुरु भयो। अन्तत्वोगत्वा संस्था नै चुप बस्ने अवस्था आयो। लेखासमितिले नक्कली एलसी काण्डको छानबिन गरेको थियो। रोचक पक्ष के छ भने, त्यतिबेला नक्कली एलसी काण्डमा दोषी भेटिएका अधिकांशपछि निजी बैंकका सीईओ भए।

अदालतको भूमिकाले ९ खर्बको हानी
भ्रष्टाचार निवारणमा जोडिने प्रमुख अंग हो, अदालत। अदालतभित्र आफ्ना किसिमका विकृति त छँदैछन्, त्यसमा छुट्टै छलफल गरौंला। तर, अदालतका कारण २०५० सालदेखि यता देशलाई ९ खर्ब रुपैयाँ नोक्सानी छ। सरकारले राजस्वका लागि कुनै निर्णय लिनासाथ सहज रूपले अदालत गुहार्न थालियो। अदालतले त्यस्ता मुद्दामा तत्कालै आदेश जारी गर्छ। त्यसै कारण सरकारलाई ९ खर्ब राजस्व घाटा छ। जुन, उठ्नुपर्ने रकम हो। यसमा सरकारी निकायको पनि कमजोरी छ। अदालतले तुरुन्तै ‘स्टे अर्डर’ दिएर राजस्व नतिर्न भन्छ। तर दुई वर्षपछि फेरि राजस्व तिर्नुपर्छ भनेर पूर्ण फैसला गर्ने गर्छ। पूर्ण फैसलाको फलोअप हुँदैन। राजस्व असुल गर्नु भनिएका कतिपय मरिसके होला, कतिपय फर्म बन्द भइसकेका होलान्। तर, फलोअप नै भएन। स्टे अर्डरको तत्कालै कार्यान्वयन हुन्छ, तर कर्मचारीतन्त्र निरन्तरताको अभाव र संस्थागत ‘मेमोरी’ नहुँदा पूर्ण फैसलाको फ्लोअप र कार्यान्वयन हुँदैन।

यस्तो प्रवृत्ति बढ्दै गएपछि लेखा समितिले यसलाई गम्भीरतापूर्वक लियो। राजन खनाल अर्थसचिव हुँदा यस्ता ५०\६० वटा फाइलको अध्ययन भयो। केहीबाट राजस्व संकलन पनि भयो।अहिलेका कतिपय चर्चित विषयमा अख्तियारको पनि परीक्षा भइरहेको छ। हामीले सानातिना खरिदार, अमिन, सुब्बा, अफिसरको २ लाख, ५ लाख, १० लाख भ्रष्टाचारका प्रकरणमा ध्यान दिइरहेका छौं।

एनसेल कर प्रकरणमा अदालतले राहत दिएको थियो। तर, लेखासमितिले पटक-पटक ताकेता गर्यो। समितिले बाध्य पारेपछि एनसेलले सरकारलाई राम्रै राजस्व तिर्यो। भ्रष्टाचार बढ्नुमा हाम्रा केही नीतिगत वनावट पनि कारण हुन्। जस्तै, किसानलाई अनुदान भनेर वार्षिक करोडौं बजेट खर्च भइरहेको छ। तर, यस्तो अनुदान किसानले पाउँदैनन्, बिचौलियाले मात्रै लिइरहेका छन्। अनुदान रकम बाँड्ने संस्था आफैं पनि यसमा लिप्त हुन्छन्। यो नीतिगत भ्रष्टाचार हो। 

राजनीतिक नेताहरूले के गडबड गर्छन् भन्नेमा मात्रै सबैको ध्यान हुन्छ। नेताहरूको ५ वा सय रुपैयाँको भ्रष्टाचारले समाजको ध्यानाकर्षण गराउँछ। तर, करोडाै रुपैयाँको नीतिगत भ्रष्टाचार ओझेलमा पार्ने गरिन्छ।

संसदीय समिति आफै‌ं अदालत जाँदैन। अख्तियार नै अदालतमा मुद्दा हाल्ने हो। अदालतमा गइसकेपछि हठात रूपमा किसिम किसिमका निर्णय आउँछन्। एउटै प्रवृत्तिका मुद्दामा कहिले एउटा निर्णय आउँछ, कहिले अर्कै खालको। विशेष गरी भूमिसम्बन्धी मुद्दामा यस्तो देखिएको छ। एउटै प्रकृतिका जग्गाको सम्बन्धमा अदालतले फरक–फरक निर्णय गरेको देखिन्छ।

संसद्मा यसरी संरक्षण गरिन्छ
नेता÷मन्त्रीमाथि भ्रष्टाचारको विषय उठे, त्यही पार्टीका सांसदहरू नेता जोगाउन समितिमा अघि सर्छन्। वाइडबडी खरिद प्रकरण, एनसेलको कर विषय यसका ज्वलन्त उदाहरण हुन। जुन राजनीतिक दलको नेतृत्वमाथि प्रश्न उठेको हुन्छ। त्यो राजनीतिक दलका प्रतिनिधिको भाषा, शैली र व्यवहारबाटै निजले जोगाउन खोज्यो भन्ने प्रष्ट थाहा हुन्छ। यस्ता दृश्य समितिमा खुलेआम देखिन्छन्। लुकाउनुपर्ने कुनै कारण छैन।

०५१ सालमा म लेखा समितिको सभापति हुँदा चाइना साउथ वेष्ट प्रकरण आयो। समितिमा रहेका एमालेका साथीहरू त्यो मुद्दासँग उदासीन हुन्थे। लाउडा प्रकरणमा कांग्रेसका साथीहरू उदासीन हुन्थे। त्यसैले भ्रष्टाचारका विषयमा दलहरूको आ-आफ्नै बुझाई र व्यवहार हुन्छन्।

राज्य संरक्षित तस्करी
मुलुकमा सजिलो गरी पैसा कमाउने ‘इजी मनी’ धन्दा बढेको छ। बैंकहरू पनि यही धन्दामा छन। मुलुकमा रेमिट्यान्स कम भएको होइन। हुन्डी कारोबार फस्टाएको हो। यो विषयमा अध्ययन, अनुसन्धान गरौं भनेर कोही पनि अघि नसर्नु मुलुककै लागि दुर्भाग्य हो।

हाम्रो अहिलेको बैंकिङ प्रणाली पनि आयातमुखी छ। विदेशबाट केराउ, सुपारी र पेस्तादाना आयात गरिन्छ। अनि, तस्करी गरेर भारत पठाइन्छ। डलरमा मगाउने अनि, भारुमा भारतमा तस्करी गराउने काम भइरहेको छ। अख्तियार दुरुपयोग गर्दै राज्य संरक्षित तस्करी बढेको छ। बैंकहरू एलसी खोल्न हतारिन्छन्। बैंकिङ प्रणाली उद्योगमैत्री छैन। बैंकहरू उद्योगमा लगानी गर्न चाहँदैनन्। उद्योग स्थापना गर्न प्रोत्साहित गर्दैैनन्। हाम्रो कानुनले पनि गर्दैन, बैंकको नीतिले पनि गर्दैन।

स्थानीय तहमा डरलाग्दो अनुशासनहीनता
सबैभन्दा डरलाग्दो आर्थिक अनुशासनहीनता स्थानीय तहमा छ। महालेखा परीक्षकको चार वर्षको वार्षिक प्रतिवेदन हेर्यौं भने, प्रत्येक वर्ष डरलाग्दो गरी आर्थिक अनुशासनहीनता बढ्दै गएको छ। तर, दुःखको कुरा यसबारे छलफल गर्ने संयन्त्र र ठाउँ छैन। संघीय सरकारका विषयमा महालेखा परीक्षकले उठाएका विषयमा संघको लेखासमिति र प्रदेशको प्रदेश लेखासमितिमा छलफल हुन्छ। तर, स्थानीय तहको बेरुजुसम्बन्धी छलफल गर्ने ठाउँ नै छैन। न संवैधानिक व्यवस्था छ, न कानुनी नै। प्रत्येक वर्ष ठूलो रकम स्थानीय तहमा गइरहेको छ। आर्थिक अनुशासनहीनता बढेको छ, महालेखाले प्रश्न उठाइरहेको छ। र, पनि यसतर्फ राज्यका जिम्मेवार निकाय र दलहरू संवेदनशील छैनन्।

म संघीय मामिलामन्त्री हुँदा महालेखा परीक्षक र अख्तियार प्रमुख बसेर यस विषयमा गृहकार्य पनि गरेका थियौं। स्थानीय तहको बेरुजू हेर्ने संयन्त्रको प्रस्ताव पनि गरेका थियाैै। प्रदेशसभाको लेखासमितिको सदस्यको संयोजकत्वमा महालेखाको प्रतिनिधि र जिल्ला समन्वय समितिको प्रमुख सदस्य रहने गरी तीन सदस्यीय संयन्त्रको प्रस्ताव गर्यौं।त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पनि लगे। तर, बिफल पारियो। भ्रष्टाचार नियन्त्रणमा संसद्को ठूलो भूमिका छ। तर, त्यसको कहिल्यै सदुपयोग भएन। संसद्का तर्फबाट संसदीय समितिले सर्वोच्चताको प्रयोग गर्ने हो। समितिलाई जति प्रभावकारी बनाउन सक्यौं, त्यति नै भ्रष्टाचार निर्मूल गर्न सहयोग पुग्छ।

(सांसद् त्रिपाठी जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हुन्।)

 

दलितलाई खै ?

  दलितलाई खै ? सञ्जीव कार्की भदौ १६ , २०८१ आइतबार ९:२५:५१ माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको , दा...