महामारी कम गर्ने प्राचीन नाच !
रेणु त्वानाबासु शुक्रबार, १३ फागुन, २०७८
थप
सामग्री : https://www.himalkhabar.com/news/128526
जीवित
देवी भनेर कुमारीको देशव्यापी चर्चा भए पनि भक्तपुरमा भने नवदुर्गालाई पनि जीवित
देवीका रूपमा मानिन्छ। स्थानीयहरू यसलाई ङालाकेगू नाच अर्थात जात्राका रूपमा
चिन्छन्।
हाल
यो नाच भक्तपुरका टोलटोलमा चलिरहेको छ। नाच भक्तपुरका २४ वटा टोलमा देखाइन्छ भने
भक्तपुर बाहिरको साँगा, पनौती, काठमाडौंको टोखामा पनि देखाउन जाने चलन रहेको छ।
“नवदुर्गा नाचमा मुकुण्डो सहित १९ जना
देवगण रहन्छन्,” नाच गर्ने देवगणका सदस्य नारायणमान
वनमाला भन्छन्, “नाचका लागि १३ वटा मकुण्डो रहेको हुन्छ, त्यसमा १२ जनाले एउटा एउटा मुखुण्डो लगाएर नाच्ने
गर्छन्।”
नाचमा
भैरव, महाकाली, वाराही, गणेश, ब्रह्मायणी,
कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, सिम्ह-दुम्ह, महादेव, श्वेतभैरवका
रूपमा देवगणले बाजागाजा सहित नाचिने वनमाला बताउँछन्।
प्रत्येक
दिन फरक फरक टोलमा नाच देखाइने उनी बताउँछन्। भक्तपुरको दत्तात्रय, क्वाठन्डौं, गछें, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेंमा नाच प्रदर्शन गरिन्छ। साथै, टौमढी, तालाक्व, नासमना, गहिटी, क्वाछें, टिबुक्छें, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेंमा भिन्न दिनमा नाच गरिन्छ।
“भक्तपुर बाहेक मध्यपुर थिमि, चाँगुनारायण, काठमाडौंको टोखामा पनि देखाइन्छ भने उपत्यका बाहिर साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि देखाइन्छ,” उनी भन्छन्।
आठ
महीनासम्म चल्ने नाचको शुरूवात भक्तपुर दरबार क्षेत्रको तलेजुबाट हुन्छ। टोलीले
त्यहाँ नाचेपछि जयवागेश्वरीको पशुपतिनाथमा दर्शन गर्न जान्छन्। त्यहाँबाट मध्यपुर
थिमीमा ६ रात ७ दिन बसेर नाच्न जान्छन्। नाच चलिरहेका वेला देवगण घर जान
पाउँदैनन्। देवगणकै पोशाक लगाएर पाटीपौवा, देवलमा
सुत्नुपर्छ।
नाच
चल्ने आठ महीना अवधिमा देवगण हुने व्यक्तिले नाङ्गो खुट्टा, मुकुट बोकेर, देवगणको पहिरनमा नाच देखाउनुपर्छ । नाचको शुरूआत प्रत्येक वर्ष माघ दुई
गते सूर्यमढीबाट शुरू हुन्छ। “सूर्य उदाउँदाको पहिला घाम सो
ठाउँमा पर्ने भएकाले सूर्यमढीमा नाच शुरू गर्ने परम्परा बसेको हो,” संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
नाच
अवधिभर गणका सदस्यले जहाँ पायो त्यहीं खाना खानु हुँदैन भन्ने मान्यता छ। गणले सूर्यमढी, दत्तात्रय क्वाथन्डली, याछें, टौमढी, टिबुक्छें, वंशगोपालमा
खाना खाँदैनन्। यी टोलमा हुने नाचमा गण दिनभर भोकै हुन्छन्।
कहाँ
कहाँ लागिन्छ नाच?
भक्तपुरको
दरबार स्क्वायर तलेजु मन्दिर, जय
बागेश्वरी पशुपतिनाथ दर्शन,
त्यसपछि नगरमा
पुसको अन्तिम दिन देवता ल्याएर माघ दुई गते सूर्यमढीमा नाच शुरू हुन्छ। त्यसपछि दत्तात्रय मन्दिरमा शनिबारका
दिन पारेर नाच देखाइन्छ।
त्यहाँबाट
क्वाठन्डौं, गछें, चागुनारायणमा एक रात दुई दिन, महालक्ष्मी, इनाचो (श्रीपञ्चमीका दिन), गोल्मढी, याछें, साँगा (एक रात दुई दिन), टौमढी, तालाक्व, वंशगोपाल, बालाखु, गहिटी, क्वाछें, टिबुक्छें, भण्डारखाल
(दरबार स्क्वायर), मिवा (खौमा), इताछें, नाला
(दुई रात तीन दिन), धुलिखेल (एक रात एक दिन), श्रीखण्डपुर (खर्पु), बालाखु, इलाछें, बनेपा (तीन रात तीन दिन), पनौती (दुई रात तीन दिन), इछुगल्ली (शक्ति निकाल्ने) मा यो नाच समापन
हुन्छ।
शुरूमा
जय बागेश्वरीमा पशुपतिनाथ दर्शनपछि नाच गण मध्यपुर थिमीमा ६ रात ७ दिन बस्छन्।
त्यसपछि चाँगुनारायणमा एक रात दुई दिन, त्यहाँबाछ
साँगामा एक रात दुई दिन अनि नाला दुई रात तीन दिन नाच देखाउन जान्छन्। त्यहाँबाट
धुलिखेल एक रात एक दिन बसेर श्रीखण्डपुर, खर्पुबाट
बनेपामा तीन रात तीन दिनपछि पनौतीमा दुई रात तीन दिनका लागि नाच्ने तालिका
परम्परादेखि चलि आएको छ।
कसरी
शुरू भयो नाच?
प्राचीन
कालमा भूतप्रेतको डर मानिने वेला यो नाच शुरू भएको जनविश्वास छ। सो कालमा विभिन्न महामारी र रोगव्याधिले सताएका
वेला भगवान्लाई खुशी पार्न यो नाच नचाउन थालिएको किंवदन्ती रहेको संस्कृतिविद्
धौभडेल बताउँछन्।
नवदुर्गाको
नाच शुरू भएपछि रोगव्याधि कम हुने जनविश्वास छ।
कुनै घरमा भूतप्रेतको डर भएमा नवदुर्गाको नाच नचाउँदा शान्ति हुने र दुःख दिने
दुष्ट शक्ति नाश हुने विश्वास छ।
नाच
देखाउन बार अनुसारको तालिका पनि परम्परादेखि निरन्तर छ। दरबार स्वायर, इताछें, वंशगोपालमा
मंगलबार, गहिटी र खौमामा बिहीबार र दत्तात्रय, टौमढी, क्वाछें तथा इताछेंमा शनिबारका दिन नाच
देखाइन्छ।
नाचको
महत्त्व
नाचले
सामाजिक सचेतना फैलाउन सघाउ पुर्याएको संस्कृतिविद्हरू बताउँछन्। “यो नाच चलेका वेलामा समूहमा रहेर
बाँडेर खाना खानुपर्छ भन्ने मान्यता छ भने दाँत माझ्नुपर्ने, खकार-सिंगान जताततै फाल्नु हुँदैन। महिला तथा
पुरुषले लुगा धोइधाइ पारेर सफा हुनुपर्छ भन्ने मान्यता पहिलादेखि चलेको छ,” धौभडेल भन्छन्।
द्यौसीभैली
खेल्नेले आसिक दिए जस्तै यस नाचमा पनि आसिक दिने प्रचलन छ। नाचको अन्तिममा जनता
सधैं सुखी रहून्, दुःख नहोस् भनेर आशीर्वाद दिने चलन छ।
देवगणका
दुःख
नवदुर्गा
नाच तथा नवदुर्गा देवगणलाई सम्बन्धित निकायले वास्ता नगरेकोमा देवगण सदस्य
बालकृष्ण वनमालाको दुःखेसो छ। “सबैभन्दा धेरै जात्रा हुने भक्तपुर नगरपालिकाको
ङालाकेगु जात्रा गर्दा बत्तीको व्यवस्था पनि छैन, न त सरसफाइ तथा सुत्ने व्यवस्था छ,” उनले भने।
नाच
अवधिमा खाली खुट्टा हिंड्नुपर्दा सिसाले घोच्ने, घाइते हुने गरेको उनी सुनाउँछन्। अहिले पनि देवगणहरू फल्चा (पाटी) मा यत्तिकै विना सिरक सुत्न बाध्य
छन्। “देवगणले आफ्नो मुकुटको स्याहार गर्न नै सकस हुन्छ। लुगाकपडा र ओढ्नेको
व्यवस्था कसरी गर्ने,” उनले प्रश्न गरे, “भक्तपुरको जात्रालाई भक्तपुरवासीले नै वास्ता
नगरे कसले गर्छ?”
वर्षको
करीब ११ महीना जात्रा हुन्छ। नाचमा सहभागी हुने विद्यार्थी
सदस्यको पढाइ छुट्छ। “त्यसैले अहिले स्कूल, कलेजका
विद्यार्थीहरू देवगणमा आउँदैनन्,” उनले भने, “यस्तै भइरह्यो भने भोलिका दिनमा देवगणमा आउने मान्छे नै हुँदैन।”
देवगण
भइसकेपछि रोजगारी पनि गर्न नसकिने अवस्था भएको हुँदा अर्को समस्या हुने गरेको उनी
सुनाउँछन्। नाचलाई निरन्तरता दिन के गर्न सकिन्छ भनेर सम्बन्धित निकायले
सोच्नुपर्ने उनको भनाइ छ।
शुक्रबार, १३ फागुन, २०७८, ०९:३०:०० मा प्रकाशित