Monday, November 04, 2019

बिरानो हुँदै डोकेनी


बिरानो हुँदै डोकेनी
कार्तिक ९, २०७६भीम देवान
पुरुषहरू जाँडरक्सी र जुवातासमा रमाउन थाले । युवायुवतीहरू देउसीभैलो नाचगानमा हिँडेपछि घरमा वृद्धवृद्धा केटाकेटीहरू मात्र बाँकी रहे 
यस्तो बेला घरधन्दा र कामको बोझले आजित भएका महिलाहरू विद्रोह गर्ने निधोमा पुगे विद्रोहको अगुवाइ गर्ने महिलाहरूले आफ्नै लोग्नेको लुगा लगाएर पुरुषको भेष धारण गरे अनुहारमा मोसो दले, मुखुण्डो लगाए गर्भवती, सुत्केरी र अशक्त महिलाहरूलाई पनि साथैमा लगे सुत्केरी हुन लागेकी श्रीमतीलाई समेत बेवास्ता गर्दै आफूहरू मात्र रमझममा भुलिरहेका पुरुषहरू खोज्दै गाउँ–गाउँ डुले ती विद्रोही महिलाहरू जुवातासको खाल अखडासम्म पुगे तास च्यातिदिए कौडा फ्याँकिदिए त्यसैको प्रतिकस्वरूप घरपरिवारलाई बिर्सेर जुवातासमा भुल्ने पुरुषहरूलाई चेतावनी दिँदै डोकेनी नाचिएको हो एउटा किंवदन्तीअनुसार डोकेनी नाचको सुरुआत यसरी भयो
घाँसदाउरा बोक्ने डोकोलाई घोप्ट्याएर त्यसको तल्लो भागमा छिटको गुन्यु र माथिल्लो भागमा चौबन्दी चोली लगाइन्छ बीचमा पटुकी, त्यसमाथि खाँडीको पछ्यौरी ओढाइन्छ घोप्ट्याएको डोकोको पिंधमाथि टाउकाको आकृति बनाएर त्यसमा शिरबन्दी र शिरफूल, कानमा ढुंग्री र चेप्टे सुन अनि नाकमा बुलाकी डोकाको बीचबाट दुईपट्टि सिन्का छिराएर हात बनाइन्छ हातमा चुरा कल्ली यो हो डोकेनी तयार पार्ने तरिका
दौरा सुरुवाल, इस्टकोट र टोपी पहिरिएको अनि अनुहारमा मुखुण्डो लगाएको पुरुष भेषको पात्रले डोकेनीको सुरक्षा गर्छ कसैले जिस्क्याए धनुकाँडले हान्न खोज्दै धपाउँछ डोकेनीलाई विभिन्न हाउभाउ गर्न याक्खा भाषाबाटै अह्राउँछ अनि सबैसँग सहयोग माग्दै भन्छ, ‘मेरो बूढी सुत्केरी हुनेवाला छ,’ ‘मसला किन्ने पैसा दे’ आदेशअनुसार डोकोभित्र रहेको व्यक्तिले सिन्काको हातको सहायताबाट नमस्कार, सलामजस्ता विभिन्न हाउभाउ गर्छ डोकेनी नाच यसरी नाचिन्छ
तर, सामाजिक परिवर्तन वा सांस्कृतिक अतिक्रमणवा अरू नै कुनै कारणले हो, पूर्वी नेपालको संखुवासभा जिल्लामा मुख्य बसोबास रहेको आदिवासी याक्खा जातिको यो परम्परागत मौलिक संस्कृति ‘डोकेनी नाच’ हराउँदै जान थालेको छ तिहारमा औँसीको रात घर–घरमा नाचिने यो नाच पछिल्लो समय याक्खा समुदायकै गाउँबस्तीमा ‘बिरानो’ हुँदै गएको मात्र छैन, लोप प्रायः भइसकेको छ केही स्टेज कार्यक्रमहरूमा प्रस्तुत गरिनुबाहेक तिहारमै भने डोकेनी नाचेको बिरलै देख्न पाइन्छ याक्खाहरूको ऐतिहासिक थुम (प्रशासनिक इलाका) हरूमध्ये दशमझियामा मात्र यो नाच अस्तित्वमा बाँकी पाँचमझिया पाँचखपनमा भने डोकेनी नाच्ने प्रचलन हराई नै सकेको
दशमझियाको पनि केही गाउँहरूमा मात्रै डोकेनी नाचिने गरेको याक्खा जातिको इतिहासका खोजकर्ता मागमान जिमी बताउँछन् नेपाली समाजको पहिचानसँग जोडिएको यस्तो सांस्कृतिक सम्पदा लोप हुन लागेकोप्रति उनले चिन्ता व्यक्त गरे उनी भन्छन्, ‘याक्खा समुदाय र याक्खाहरूको सामाजिक संस्था किराँत याक्खा छुम्माले चासो नदेखाए यो नाच केही वर्षमै हराएर जाने ठूलो सम्भावना छ।’ बाह्य सांस्कृतिक अतिक्रमणका कारण याक्खा जातिको संस्कार संस्कृतिहरू लोप हुँदै वा यसको मौलिकता हराउँदै गइरहँदा डोकेनी पनि लोपोन्मुख भएको जिमीको ठम्याइँ डोकेनीजस्ता विभिन्न जातजातिले अपनाउँदै आएको नेपालका मौलिक संस्कृतिहरूको जगेर्नाका लागि राज्यले पनि चासो दिनुपर्ने उनको भनाइ छ
पछिल्लो समयमा याक्खा समुदायको विभिन्न सामाजिक संघसंस्थाहरूले गर्ने डोकेनीको प्रस्तुतिमा एकरूपता नभएका कारण पनि यसको मौलिक शैली संकटमा परेको कतिपयको बुझाइ छ। नाच्ने शैलीमा एकरूपता नभएकाले पनि डोकेनीप्रतिको बुझाइमा भिन्नता आउन थालेको छुम्माका केन्द्रीय उपमहासचिव सोनाम याक्खा बताउँछन् ‘डोकेनी कुनै प्रकारको वाद्यवादनबिना नै नाचिने नाच हो मैले बुझेअनुसार डोकोभित्रको मानिस बसेको हुनुपर्छ, उभिने होइन,’ उनले भने, ‘तर आजभोलि ट्र्याक बजाएर वा केई (ढोल) बजाएर नाच्ने गरिएको छ यो मौलिक शैली होइन।’ डोकेनीलगायतका अन्य संस्कार संस्कृतिहरूमा एकरूपता ल्याउन छुम्मामार्फत पहल भइरहेको उनले बताए डोकेनी नाचको सुरुआत कहिले कसरी भयो भन्नेबारे याक्खा समुदायमा बेग्लाबेग्लै नश्रुति पाइन्छ तर यो नाच तिहारमा महिलाहरूले मात्र नाच्ने भन्ने विषयमा भने एकमत
अझै पनि जुवातासको खेलिरहेको भेटे डोकेनी समूहले पैसा खोस्ने र जुवाडेहरूलाई लात्ताले हिर्काउनसमेत याक्खा समुदायमा छुट हुने तत्कालीन दशमझिया थुमअन्तर्गत संखुवासभा तामाफोककी ५० वर्षीया कमला लिम्बुहिम बताउँछिन् डोकेनी नाचमा महिलाहरू मात्र सहभागी हुने भएकाले कुनै समयको त्यही विद्रोहको परिणामस्वरूप आजको समानतामूलक याक्खा समाज निर्माण भएको हुन सक्ने छुम्माका केन्द्रीय सदस्य विजयसेन सोम्याहाङले बताए सामाजिक विकृतिको विरुद्ध एको विद्रोहको प्रतिकस्वरूप नाचिने यो नाचको संरक्षण र संवर्द्धनमा संस्थाको ध्यान नगएको उनी स्विकार्छन्
देउसीभैलो र नाचगान निषेध गर्ने याक्खा जातिको ‘तेनताम्मा’ पूजाको कारण पनि डोकेनी नाच लोप हुने अवस्थामा पुगेको कतिपयको बुझाइ छ अन्नबालीको ‘सहकाल’ डाक्न एक वर्ष बिराएर गरिने तेनताम्मा पूजापछि गाउँघरमा सुसेली हाल्न, बाँसुरी मुरली बजाउनसमेत वर्जित हुन्छ यसरी तेनताम्मा पूजा गरेको वर्ष डोकेनी नाच्नसमेत छुट्ने हुँदा बिस्तारै यो बिर्सदैँ गएको केहीको भनाइ
प्रकाशित : कार्तिक ९, २०७६ १०:३१

Thursday, October 31, 2019

पुर्ख्याैली लाेकनाचः एक चिनारी

लेखिका प्रतिभा पुनले “आदरणीय विद्वान श्री डा. गोविन्द प्रसाद थापाज्यू प्रति आदरका साथ ससम्मान उपहार” भनि दिनु भएको पुस्तक “पुख्र्याेली लोकनाचः एक चिनारी” बाट मलाई मन परेको सोरठीको कथा सबै जनाले थाहा पाउन् भनेर सम्पादित केही अंश यहाँ राख्दै छु । साथै पुस्तक उपहार दिनु भएकोमा प्रतिभाज्यूलाई धेरै धन्यवाद छ ।
पूर्व देशमा भिमला राजा जन्मिन्छन् । अर्को वर्ष पश्चिम देशमा हइमया रानी जन्मिन्छन् । दुवै जना हुर्कदै जान्छन् । तिन वर्षका भिमला राजाले दूधभात खान्छन् भने हइमया रानीले खाजाभुजा खान्छिन् । जब भिमला राजा सात वर्षका हुन्छन् तब तारो भेजो खेल्न सुरु गर्छन् । हइमया रानी भने ढिकी जाँतोमा आफनो दैनिकी बिताउँछिन् । एघार वर्ष पुगेका भिमला राजाले दस वर्षकी हइमया रानीसंग विवाह गर्छन् । हइमया रानीको कन्यादान गरिदिन्छन् ।
राजाले जुत्ता, गुनियो, टेकिय, पटुकी, चोली, पोते, कानै लगाउने सुन, दन्तै लगाउने विरी, नत्थी, गाजल, टिका, शिरपूलादि गहना र लत्ताकपडा काशीबाट ल्याइदिने प्रण गर्छन् तर काशीबाट ल्याउन नपाएपछि वेशीबाट ल्याइदिने इच्छा प्रकट गर्दछन् ।
व्यापारीले केके लिएर आएको देखेपछि रानीले राजासंग लुगालत्ता किनी दिन आग्रह गर्छिन् । राजाले रानीको आग्रहअनुसारकै लत्ताकपडा किनिदिएपछि रानी खुसी हुन्छिन् । त्यसै गरी सुनार आएको देखी गरगहना पनि किनिदिन आग्रह गर्छिन् । रानीको आग्रहलाई स्वीकार गर्दै रानीको इच्छानुसारकै गरगहना पनि किनिदिन्छन् । यति लत्ताकपडा र गरगहना पाएपछि रानी खुसी हुन्छिनु ।
एकदिन काँकरीको विऊ ल्याउँछन् । बिऊ लगाउछन्, सात दिनमा बिरुवा निस्कन्छ, दिनदिनै हुर्कदै जान्छ, थाँकरी लगाइदिन्छन्, पहेँला पूmलहरु फुल्छन् र चिचिला लाग्छन् । तर कुनै फल रहन्न, भुइँमा झर्छन् । यो देखेर मैया रानी (हइमया रानी) निराश हुन्छिन् ।
एक दिन रानी गर्भवति हुन्छिन् । तीन महिना पुगेपछि अनाज गन्हँउछ । चार मास पाँच महिना हुँदा मासु खान मन लाग्छ । सात महिना पुगे पछि रानीलाइ अमिलो खान मन लाग्छ । नवौं मास दसौं महिना पुगेपछि प्रसव वेदना लाग्छ । माघ महिना सोमवारको दिन एक बालखीको जन्म हुन्छ ।
राजाले कटुवाललाई बोलाएर सोरेनी (सुँढेनी) बोलाउन भनी आदेश दिन्छन् । ..राजाको आज्ञा पाएपछि पूर्व देशबाट पण्डित आउँछन् । पण्डितले बाह्रपुस्ता पल्टाइ हेर्दा बालखी सातमूल परेको जानकारी दिन्छ । राजाले सातमूलले के गर्छ र यसलाई कसरी हटाउन सकिन्छ ? भनि प्रश्न गर्छन् । यसले आमालाई सिध्याउने र राज्यमा ठुलो विपत्ति आउने र यसको कुनै उपाय नभएको पण्डित बताउँछ । पण्डितले चाँदीको ढकनी भएको सुनको सन्दुस भित्र बालखीलाई राखेर नदीमा बगाई दिने सल्लाह दिन्छ र सोही अनुसार नदीमा बगाई दिन्छन् ।
बालखीलाई नदीमा बगाएपछि रानी छटपटिन्छन् । दुधे बालखीलाई दूध खुवाउने बेला यो मेरो छाती चर्कियो, मुटु दुख्यो, मलाई मेरो बालखी चाहियो भनी रुन्छिन् ।
माथितिर काली गंगा र तलतिर समुद्रको बिचको सेरोफेरोमा जलेरीको रुपमा पण्डित र कुमालेको भेट हुन्छ । दुवैजनाले एकआपसमा मीत लगाउँछन् । जाल हानी सुनको सन्दुस हात पार्छन् । सुनको सन्दुसबारे सबै कुरा थाहा पाएको जलेरीले कुमालेलाइ सन्दुस वा सन्दुसभित्रको सामान कुन लिने भनि सोधछ । कुमालेले सन्दुस भित्रको सामान लिने भन्छ । सन्दुस भित्रकोृ बालखीको मृत्यु भैसक्यो भनि ढुक्क भएको जलेरीले सन्दुस खोल्छ । सन्दुसभित्र बालखी जिउदै रहेकाले कुमालेले बालखी लिएर आफनो बाटो लाग्छ र सुनको सन्दुस लिएर जलेरी आफनो बाटो लाग्छ ।
आफनो घरद्वार नभएको, धनसम्पत्ति नभएको र इष्टमित्र समेत नभएको कारणले अत्यन्तै चिन्तित कुमालेले बालखीलाई के खुवाउने के लगाइदिने कहाँ राख्ने भनी उसको हृदय रुन थाल्छ ।
बालखीलाई लिएर भौतारिदै हिँडेको कुमालेको चौरैभरि भैसीगोठ बन्छ, पाखो भरि गाईगोठ हुन्छ, बुगेन भरि भेडी गोठ बन्छ, ठाउँ ठाउँमा धारो पानी, ठाँटी र पौवा बन्छ । कुमालेको पातीको झुपडी नौतले दरबार बन्छ । यसरी कुमालेका दुखका दिनहरु जान्छन् र सुखका दिनहरु फर्किन्छन् ।
पुर्णिमाको जुन जस्तो उज्याली बालखी अब योवनामा प्रवेश गर्छिन् । बगैचामा साथीहरुसंग खेल्न गएकी कुमालेकी चेलीमाथि सिकार खेल्न आएका राजाका सिपाहीहरुको नजर पुग्छ र यो कुरा सिपाहीहरुले राजालाई सुनाउँछन् । राजा आफै पनि कुमालेकाी चेलीलाई हेर्न पुग्छन् । उनको रुप सौन्दर्यले राजा मोहित हुन्छन् । राजाले विहेको प्रस्ताव कुमाले समक्ष राख्छन् । कुमालेले प्रस्ताव स्वीकार गर्छ र लगन जुराएर खबर पठाउँछ ।
बिहे गर्न कुमालेको दरबारमा जन्त पुगे पछि कुमालेकी चेलीलाई लत्ताकपडा र गरगहना पहिराउनका लागि बुझाउँछन् । “बाबाले दिएका गरगहना र लत्ताकपडा हरेक चेली लगाउँछन्, त्यसैले मैले पनि लगाउँछु” भनी कुमालेकी चेलीले राजाले ल्याएका गरगहना र लत्ताकपडा पहिरिन्छिन् ।
शिर देखी पाउ सम्म सिँगारिएकी कुमालेकी चेलीलाई विवाहको जग्गेमा बसाउँछन् । राजाले सिन्दूर दिन्छन् । यस पछि कुमालेकी चेलीले “बाबैजुले दिएको सिन्दुर कोही चेली पहिरिदैनन्, मै चेली नि पहिरिन्न” भनी सिन्दुर अस्वीकार गर्छिन् । यस्तो कुरा सुने पछि राजा अलमल्ल पर्छन् र कुमालेलाई एकान्तमा साँचो कुरा के हो भनि सोधछन् । कुमालेले सबै वृतान्त सुनाउँछ । राजाले रानीलाई एकान्तमा बोलाएर बालखी हाम्री रहिछन् भनी सुनाउँछन् । यति सुने पछि रानीले बालखीलाई अँगालो मारेर रुन्टिन्, म्वाइ खान्छिन् र भगवानलाई पुकार्र्दै काखमा राख्छिन् । राजा, रानी, र सारा जनताले खुसीका आँसु झार्छन् र आफनो दरवार फर्किन्छन् । बालखीको गलत भविष्यवाणी गरेका षडयन्त्रकारी पण्डितलाई बोलाएर फाँसीको सजाए दिन्छन् ।
यही कथासारमा तिहारमा सोरठी नाच आज सम्म गाउँघरमा नाचिने चलन कायम छ । यस पुस्तकमा सोरठी नाचमा प्रयोग हुने गितको बोल समेत भएको र नाचका लागी गरिने पूर्व तयारी समेतका बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ । मलाई त यस पुस्तकले धेरै जानकारी दियो । पुरानो संस्कृतिको संरक्षणमा यसले टेवा पुरयाउने विश्वास लिएको छु ।
पुस्तककालागी मगर अध्ययन केन्द्रमा ९८५११४२२१२ र लेखिका प्रतिभालाइ ९८४७२७९१२२ मा सम्पर्क गर्नु हाेला । धन्यवाद ।

इतिहासको विपरीत धार

  इतिहासका विपरीत धार - - युग पाठक रेग्मीको इतिहास लेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् । आश्विन ७...