Wednesday, January 16, 2019

छाउगोठ भत्के पनि प्रथा उस्तै


छाउगोठ भत्के पनि प्रथा उस्तै

कान्तिपुर, पुस २६, २०७५


सुर्खेतदैलेख र अछाम — असार दोस्रो साता सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि छाउगोठमै स्थानीय तीन युवाले बलात्कार गरे बलात्कारपछि किशोरीको स्वास्थ्य अवस्था गम्भीर बन्यो दुई साता उपचारपछि उनी घर फर्किइन्

  • दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–६ की तुलसा शाहीको गत असारमै छाउगोठमा सुतेका बेला सर्पले डसेर मृत्यु भयो

त्यसअघि जेठमा सोही नगरपालिका–३ की लालसरा विकले गोठमै सर्पको डसाइले ज्यान गुमाइन्



छाउगोठ बस्दा यो वर्ष घटेका यी तीन प्रतिनिधिमूलक घटना हुन् घटनाको केही समयसम्म गाउँबाट छाउपडी हटाउने विषयमा विभिन्न कार्यक्रम आयोजना गरिए सबैको चासो यिनै घटनामा केन्द्रित भयो अहिले यी गाउँमा छाउपडी कायमै महिनावारी हुँदा घरदेखि टाढाको सानो छाप्रोमा कम्तीमा पाँच दिनसम्म बस्नुपर्ने बाध्यता छ झ्यालढोका नहुने भएकाले छाउगोठ अत्यन्तै असुरक्षित मानिन्छ



मुक्त घोषणा गरिएका सुर्खेतका गुटु, बाबियाचौर, तातापानीलगायत आधा दर्जन गाउँमा छाउपडी प्रथा हटेको छैन छाउगोठ बस्दा विभिन्न स्वास्थ्य समस्या आउने र महिला असुरक्षित हुने थाहा भए गाउँलेले नभत्काएको स्थानीय अगुवा खगेन्द्र पुन बताउँछन् ‘किशोरी बलात्कृत भएको गाउँमा छाउगोठ कायमै ,’ उनले भने, ‘अभियान हुन्छ, गोठ भत्किन्छन् केही समयपछि नयाँ बन्छन्।’ गोठ भत्काउने होइन, अन्धविश्वास तोड्न सक्नुपर्ने उनले बताए



चौकुने गाउँपालिका–६, भापरलाई चार वर्षअघि छाउपडीमुक्त घोषणा गरिएको थियो त्यो एक वर्ष टिकेन अभियानक्रममा गैरसरकारी सरकारी निकायबाट करिब १० लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो साविकको गुटु गाविस कार्यालयले भत्काएको एक महिनामै स्थानीयले नयाँ छाउगोठ बनाए २० घरधुरी रहेको भापरमा चारवटा छाउगोठ छन् महिनावारी भएका बेला महिला दिनसम्म छाउगोठमा बस्ने गरेको स्थानीय प्रतिमा वयकले बताइन्




‘छाउगोठ भत्काएर हाम्रो मन फेरिने हो र,’ उनले भनिन्, ‘वर्षौंदेखि मान्दै आएको रीतिलाई एकै दिनमा कसरी छोड्ने?’ भापरका धर्मराज शर्माले आफ्नो सबै जग्गा ‘श्री बन्डाली देवताको गुठी’ को नाममा भएकाले पुराना प्रथाप्रति स्थानीयको बढी विश्वास रहेको बताए ‘नजिकै बन्डाली देवताको मन्दिर ,’ उनले भने, ‘महिनावारी भएका बेला छाउ नबसे अनिष्ट हुने हो कि भन्ने त्रास छ।’ आफूहरूले पटकपटक प्रयास गर्दा पनि महिलाको मन परिवर्तन गर्न नसकेको उनले बताए



साविकको गुटु गाविसमार्फत सञ्चालन गरिएको छाउपडीमुक्त गाउँ घोषणा अभियानका संयोजक सरुण बडुवालले पुरानो मान्यता तोड्न नसकेकाले स्थानीयवासीले पुन: छाउगोठ बनाएको बताए स्थानीय अगुवा झपेन्द्रबहादुर वयकका अनुसार महिनावारी भएका बेला महिला घरभित्र बस्न मान्दैनन् ‘अभियानका बेला केही समय घरमै बसेका केही महिला बिरामी परे,’ उनले भने, ‘त्यसैले फेरि गोठमै बस्न थाले।’



गुटुकी लक्ष्मीदेवी उपाध्यायले महिनावारी भएका बेला घरभित्र बस्दा देवीदेवताले अनिष्ट गर्ने भएकाले गोठमा बस्ने गरेको दाबी गरिन् ‘हामीलाई पनि कष्ट सहेर बस्न रहर छैन,’ उनले भनिन्, ‘पुरानो थिति नमान्दा अनिष्ट हुन्छ कि भन्ने डर हुन्छ।’ उनले सामूहिक सुरक्षित छाउगोठ बनाउन गाउँपालिकासँग माग गरिन्



‘सुरक्षित घर बनाइदिए पुराना गोठ भत्काउँछौं,’ उनले भनिन् चौकुने–६ का वडाध्यक्ष इन्द्रप्रसाद ढकालले सामाजिक विकृति रोक्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ‘अभिभावकको दबाबका कारण किशोरीहरूलाई छाउगोठ बस्नुपर्ने बाध्यता ,’ उनले भने, ‘यो वर्षदेखि सचेतना कार्यक्रमलाई अझै प्रभावकारी बनाउँछौं

स्थानीय तहको प्राथमिकता कम

छाउगोठमै दुई महिलाले ज्यान गुमाएको चामुन्डा विन्द्रासैनी नगरपालिकाले छाउपडीविरुद्ध अभियानमा एक रुपैयाँ पनि छुट्याएको छैन महिनावारी भएका महिला अहिले पनि पाँच दिनसम्म साँघुरा छाउगोठमा बस्छन् अघिल्लो वर्ष राकममा छाउविरुद्ध अभियानमा लागेका महिला आफैं छाउगोठमा बस्न थालेका छन्



दैलेखका ११ वटै स्थानीय तहले छाउगोठविरुद्धको अभियानलाई प्राथमिकता दिएका छैनन् स्थानीय सरकार गठन भएपछि छाउपडीविरुद्ध अभियान सेलाएको जनप्रतिनिधिको प्राथमिकतामा नपर्दा समस्या ज्युँका त्युँ रहेको स्थानीय बास्ना थापाले बताइन् ‘महिला निर्णायक तहमा हुँदा नि समस्या घटेको छैन,’ उनले भनिन्, ‘छाउपडीविरुद्ध शीर्षकमा बजेट नहुँदा अभियान ओझेलमा परेको छ।’



आठबिस नगरपालिका उपप्रमुख दीपा बोहराले पुरातन सोचका कारण यो प्रथा हट्न नसकेको बताइन् ‘छाउपडी, बालविवाह, जातीय विभेद र लैंगिक हिंसा कायमै छन्,’ उनले भनिन्, ‘लामो समयदेखि विश्वास गरिँदै आएकाले हटाउन समय लागेको हो।’



स्थानीय सरकार गठनपछि जिल्लाका ९० वटै वडामा छाउपडीविरुद्ध कार्यक्रम सञ्चालन गरिएको छैन जिल्लामा चार सयभन्दा बढी छाउगोठ रहेको जिल्ला समन्वय समितिको तथ्यांक चामुन्डा विन्द्रासैनीकी उपप्रमुख तारा शाहीले छाउपडी शीर्षकमा रकम नछुट्याए पनि लक्षित वर्गको रकमले अभियान सञ्चालन गर्ने दाबी गरिन्

गोठ भत्काएर छाप्रो

छाउगोठमुक्त घोषणा गरिएका अछामका साविक ७५ मध्ये ३१ गाविसका महिला अहिले झाडीमा स्याउला र त्रिपाल टाँगेर बस्न थालेका छन् कतिपय ठाउँमा सामूहिक छाउगोठ निर्माण भइरहेको छ महिलाले घरभित्र नबस्ने निर्णय गरेका छन्



बलाताकी नन्दा साउदले चार वर्षअघि गाउँका महिलाले महिनावारी हुँदा घरभित्र नबस्ने सल्लाह गरेकाले आफू मात्रै घरमा बस्दा गाउँ–समाजबाट अलग हुनुपर्ने अवस्था आउने बताइन् ‘गोठ भत्काएपछि झन् दु:ख हुन थाल्यो,’ उनले भनिन्, ‘परम्परागत रीति छोड्न नसकिँदो रहेछ।’



ढकारीकी सिर्जना योगीको माइती नेपालगन्ज हो उनले माइतमा कहिल्यै छाउ (महिनावारी) बारिनन् विवाह गरेर ढकारी आएपछि बार्न बाध्य भइन् ‘माइती घरमा हुँदा छाउगोठमा बस्छन् भन्ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘खुट्टा तान्न नमिल्ने सानो ठाउँ, सोचेभन्दा नितान्त फरक र अप्ठयारो धेरै दिन रोएर बसेकी छु।’



जनप्रतिनिधिलाई कानुनबारे बुझाउन नसक्दा छाउपडी प्रथा नियन्त्रणमा कठिनाइ भएको ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद बताउँछिन् ‘टोलटोलमा जनप्रतिनिधि हुनुहुन्छ, उहाँहरूले मात्रै बोल्न सकेको भए धेरै परिवर्तन हुन्थ्यो,’ उनले भनिन्, ‘महिला जनप्रतिनिधिले नै प्रथा छोड्न सकेका छैनन्।’



छाउगोठमै महिलाले ज्यान गुमाउनुपरेका कारण आएको कानुनलाई कार्यान्वयन गर्न चुुनौती देखिन छ।एक वर्षपहिले छाउपडी कुप्रथाविरुद्ध कानुन बनाउँदा खुसियाली मनाएका महिला अहिले उजुरी गर्न सकिने अवस्था नभएको बताउन थालेका छन् प्रकाशित : पुस २६, २०७५ ०७:४४


उकालो लागे रिंगमोका भोटिया



उकालो लागे रिंगमोका भोटिया

दिलविक्रम आङ्देम्बे

रिंगमो डोल्पाको ‘से–फोक्सुन्डो' तालनजिकैको एउटा सानो गाउँ हो । गाउँमा अचेल बोन्पो धर्मावलम्बी भोटियाका ४९ घर भेटिन्छन् । ती आफूलाई लामा र बैजी जातिका भोटिया भएको बताउँछन् । बूढा र रोकायाचाहिँ भोटियाभन्दा पनि मगर र क्षेत्री थरसँग मिल्दोजुल्दो छ । त्यहाँ बसेका कतिपय बूढा र रोकायाले पुर्खा जुम्ला (सिन्जा)बाट आएको क्षेत्री भएको दाबी गर्छन् ।

 भाषा–धर्म तथा संस्कार–सस्ंकृति भने उनीहरूले भोटियाकै अपनाएका छन् । त्यसकारण रिंगमो गाउँमा बस्ने बूढा तथा रोकायाथरी परिवार दक्षिणतिरबाट त्यहाँ गई भोटियाकरण भएका मगर वा क्षेत्री हुन् ! अथवा मगर वा क्षेत्री जातिमा उकास्ने प्रक्रिया अपनाइरहेका त्यहाँकै भोटिया हुन् ! यो एउटा अध्ययनको विषय बनेको छ ।

 रिंगमोवासीको मूल पेसा कृषि हो । त्यहाँ गहुँ, आलु, फापर र तोरी खेती गरिन्छ । बर्खामा यार्सागुम्बा टिप्ने, पर्यटनको समयमा ससाना व्यापार गर्ने गर्छन् उनीहरू । वसन्त–ऋतुको आगमनसँगै रिंगमो गाउँमा खेतिपाती सुरु हुन्छ । बाली लाउनुअघि उनीहरू सामूहिक रूपमा ह्युल्सा देवताको पूजा गर्छन् । यो देवताको पूजा चैत महिनाको अन्त्यतिर गरिन्छ ।

 ह्युल्सा देवतालाई रिंगमोवासी ‘भूमे देवता' पनि भन्छन् । भोटिया भाषामा ‘ह्युल'को अर्थ ‘देवता' र ‘सा' को अर्थ ‘भूमि' (माटो) हो । उनीहरूको मान्यताअनुसार, ‘ह्युलसा देवता' मानवमात्रको नभई प्रकृति (बोटविरुवा, कीटपतंग) सबैका संरक्षक देवता हुन् । खेतबारीमा अन्नबाली लाउन माटो खनजोत गर्दा बोटविरुवा, कीटपतंग आदिको विनाश हुनसक्छ ।

 यसरी विनाश गरियो भने प्रकृति (भूमि) देवता ह्युल्सा रिसाउनेछिन् । र, असिना–बादल, खडेरीजस्ता प्रकृतिक प्रकोप निम्त्याई लाएको अन्नबाली सबै नास गर्नेछिन् । त्यसकारण माटो खनजोत गर्दा आफूले बोटविरुवा तथा कीटपतंग आदिको विनाश गरेकोमा माफी माग्न र अब लाउने बालीनालीमा कुनै पनि प्राकृतिक–प्रकोप ननिम्त्याई विनाश नगरिदिन बिन्ती गर्न उनीहरूले ह्युल्साको पूजा गरेका हुन् । देवताको थान गाउँको माथि शिरमा बनाइएको छ ।

 ह्युल्सा देवताको पूजा गर्दा प्रत्येक घरबाट चामल, छ्याङ, रक्सी उठाई सामूहिक भोज खाने चलन छ । त्यसै दिन वर्ष दिनसम्म गाउँको नेतृत्व गर्ने दुईजना व्यक्तिको चयन पनि गरिन्छ । तिनीहरूले एक वर्षसम्म गाउँमा कुनै कार्यक्रम गर्नु परेमा, भोज वा बैठक गर्नु परेमा त्यसको व्यवस्थापन गर्ने गर्छन् । कारबाई प्रक्रियाबारे निर्णय गर्ने काम गर्छन् । प्रत्येक वर्ष दुईजनाका दरले गाउँका सबै घरपरिवारबाट पालैपालो छान्दै जानुपर्छ ।

 रिंगमो गाउँमा वैशाख दोस्रो हप्तातिर आलु रोप्न सुरु हुन्छ । पहिला आलु रोप्न उनीहरूलाई धेरै समय लाग्थ्यो तर पछिल्लो समयमा यार्सागुम्बा टिप्न थालेदेखि कतिपयले जग्गा बाँझै राख्न थाले । आलु रोपेपछि तोरी/फापरको खेती सुरु हुन्छ । रिंगमो गाउँमा जेठको पहिलो हप्तातिर तोरी÷फापर छरिसक्नुपर्छ । ढिलो गरिए पाक्न गाह्रो हुन्छ ।

 जेठको दोस्रो हप्तातिर उनीहरू गाउँदेखि माथि रहेको फूलबारी, पेरिकाप्वा लेक, लाप्च्या लेक आदि जग्गामा यार्सागुम्बा टिप्न जान्छन् । महिना दिन त्यहाँ बसेपछि असारको दोस्रो हप्तातिर गाउँतिर फर्किन्छन् । त्यसपछि गहुँ, आलु गोड्ने समय सुरु हुन्छ । साउन लागेपछि फेरि यार्सागुम्बा बेच्न तिब्बतको ‘क्याटोवा' क्षेत्रतिर जान्छन् । हाल रिंगमोवासीका लागि रुपैयाँपैसा आर्जन गर्ने मुख्य माध्यम यार्सागुम्बा व्यापार नै भएको छ ।

 साउन महिनामा क्याटोवा क्षेत्रतिर व्यापारीहरू निश्चित समयका लागि चाइनाबाट आई टेन्ट लाएर बसेका हुन्छन् । रिंगमोबाट क्याटोवा पुग्न खच्चरबाट तीन दिन लाग्छ । याक÷जोभासित गइयो भने सात दिन लाग्नसक्छ । त्यसपछि यार्सागुम्बा बेचेर त्यहाँबाट रुपैयाँ, दैनिक उपभोग्य वस्तु र लत्ताकपडा आदि लिएर घर फर्किन्छन् ।

 भदौ लागेपछि रिंगमो गाउँमा आलु खन्ने, गहुँ÷फापर काट्ने, तोरी उप्काउने काम सुरु हुन्छ । उनीहरूले पाकेको गहुँ, तोरी र फापरलाई काटिसकेपछि केही दिन घरको ‘थारा' (छाना) माथि सुकाएर राख्ने गर्छन् । असोज लागेपछि खनेर राखेको आलुलाई खाल्डो खनी भण्डार गर्ने, थारामाथि सुकाएको गहुँ, तोरी, फापरलाई कुटेर दाना खाटो (बाकस)मा राख्ने, त्यसको नल घाँसको लागि सुरक्षित ठाउँमा राख्ने काम गर्छन् ।

 असोज र कात्तिकतिर एक महिना से–फोक्सुन्डो तालमा आन्तरिक वा बाह्य पर्यटकको ओइरो लाग्छ । त्यस बेला केही रिंगमोवासी घरमा वा बाटोतिर ससाना होटल थाप्ने गर्छन् ।

 सबै काम सकेपछि रिंगमोवासी सामूहिक भोज खाने गर्छन् । भोजलाई उनीहरू ‘खाटुम' भन्छन् । खाटुम कात्तिकको पहिलो वा दोस्रो हप्तातिर खाने गरिन्छ । आआफ्नो घरबाट छ्याङ, रक्सी, मैदा, चिनी, चामल आदि संकलन गरी सामूहिक भोजको आयोजना गर्ने गरिन्छ । विभिन्न खेल तथा नाचगान हुन्छ । रिंगमोवासी ‘खाटुम' तीन दिनसम्म मनाउँछन् ।

 मंसिर लागेपछि से–फोक्सुन्डो क्षेत्रमा जाडो सुरु हुन्छ । हिउँ पर्न थाल्छ । याकबाहेक अन्य बस्तुभाउ हिउँले त्यहाँ बस्न सक्दैनन् । मंसिरदेखि चैतसम्म स्कुल पनि बन्द हुन्छ । त्यसकारण घरको महत्त्वपूर्ण सामान र हालसाल फलाएको आलु, अन्नबाली (गहुँ, तोरी, फपर) घरभित्रै थन्को गरी घरमा ताल्चा लगाएर हिँउदे जाडो छल्न उनीहरू परिवार, केटाकेटी तथा बस्तुभाउ (जोभा÷झोमा,च्यालु÷च्यांग्रा, खच्चर) लिई मंसिरतिर बेसीमा झर्छन् । केही आवश्यक बस्तु जोभा÷खच्चरलाई बोकाएर ।

 सुक्टिलामु, ज्यालस रिंगमोबासीका बेसीमा झरेर बस्ने जग्गाहरू हुन् । केही परिवारचाहिँ गाउँनजिकै पोलामतिर पनि बस्छन् । यस वर्ष भने जलवायु परिवर्तन भई फोक्सुन्डो क्षेत्रमा ढिलो जाडो आएकाले पुसको पहिलो हप्तातिरमात्र उनीहरू तलतिर झरे । हाल पोलाममा नौ परिवार, सुक्टीलामुमा पाँच परिवार र ज्यालसमा ३५ परिवार रिंगमोवासी बसेका भेटिन्छन् । याकचाहिँ माथि गाउँनजिकको जंगलतिरै छाडिराख्छन् ।

 त्यहाँ उनीहरूले याक हेर्ने केही गोठाला पनि राखेका हुन्छन् । रिंगमोवासी बेसीतिर झर्नुको कारण मानिस तथा पशु–प्राणीलाई हिउँदे जाडोबाट जोगाउनुका साथै तल्लो–क्षेत्रमा गई बर्खा टार्ने अनाज संकलन गर्नु पनि हो । सुक्टिलामु, ज्यालसतिर बस्दा डोल्पाको तल्लो क्षेत्रतिर ओर्लेर अनाज संकलन गर्न उनीहरूलाई सजिलो हुन्छ । यी ठाउँमा उनीहरू मंसिरदेखि चैतसम्म बस्छन् ।

 बेसीतिर बस्दा महिलाहरू बालबच्चा हेर्ने, भातभान्सा बनाउने, धागो कात्ने, चाङ बुन्ने काम गर्छन् । उनीहरूले बुन्ने चाङहरू ल्यु, पाखी, पउरो, झोला, छ्युवा, किटी आदि हुन् । बुनेका वस्तु तल्लो भेगका बासिन्दासँग बिक्री गर्छन् । डोल्पा क्षेत्रमा किटी (मटी) भोटिया महिलाले मात्र लाउँथे तर अचेल त्यहाँका तल्लो क्षेत्रमा बस्ने मगर, ठकुरी, क्षेत्री, दलित महिलाले समेत लाउन थालेका छन् । किटीभित्र हावा छिर्न सक्दैन र शरीर सधैं न्यानो भइरहन्छ । जाडामा यसको प्रयोग बढ्दै गएको हो ।

 चौंरी ाईको दूध दुने, दूधबाट घ्यू निकाल्ने काम पनि उनीहरू नै गर्छन् । रिंगमो गाउँमा पुरुषले दूध दुने चलन छैन । वृद्घा महिलाचाहिँ पटुका बुन्दै बस्छन् । उनीहरूले बुनेका पटुका खरिद गर्न तल तारागाउँका तराली मगरहरू आउँछन् । पटुका उनीहरू बागलुङ, रुकुम, रोल्पा आदि क्षेत्रमा लगेर बेच्छन् । युवाहरू यसरी बेसीतिर बस्दा यार्सागुम्बा बिक्रीबाट ल्याएको पैसा बोकेर खसान क्षेत्रतिर झर्छन् ।

यसपालि भने जलवायु परिवर्तन भई सेफोक्सुन्डो क्षेत्रमा कम जाडो आएको र हिँउसमेत त्यति नपरेकाले चैत महिनाको सुरुआतमै उकालो लागे । हाल सबै परिवार माथि गाउँमा पुगिसके । भण्डार गरेको अनाज जोभा÷खच्चरलाई बोकाएर माथि लागे ।

काइगाउँ, पहाडा, लिकु, जुफाल, सुँ, कालिका, सर्मी आदि उनीहरूका खसान क्षेत्रतिर झर्ने जग्गा हुन् । त्यहाँबाट मकै, कोदो, गहुँ, उवा, सिमी, खुर्सानी किनेर जोभा÷खच्चरलाई बोकाई माथि लान्छन् । कहिलेकाहीँ चौंरीकोटसम्म पनि पुग्छन् । चौंरीकोट डोल्पा र जुम्लाको सीमा–क्षेत्रतिर पर्छ । चौंरीकोट जाँदाचाहिँ तिब्बतबाट ल्याएको भोटे–नुन लिएर जान्छन् । र, त्यसले स्थानीय त्यहाँका गुरुङ (भोटे)हरू सँग अनाज साटेर ल्याउँछन् । हाल चौंरीकोटमा एक फाक्तेन (जग) भोटेनुन लिएबापत चा फाक्तेन मकै, उवा दिने चलन छ । चौंरीकोटवासी भोटेनुनलाई चिया खान र वस्तुलाई दिन प्रयोग गर्छन् । चामल, तेल, च्युरा, मसला, साबुनचाहिँ रिंगमोवासी तल जाजरकोटको तल्लु–बगर र रुकुमको राढी–ज्युलासम्म झरेर लग्छन् ।

 घरमा जोभा÷खच्चरलाई बोकाएर अनाज ल्याउने पुरुष नभएमा त्यो काम गर्ने कुनै व्यक्तिलाई निश्चित समयका लागि निश्चित पारि श्रमिक दिई घरमा राखेका पनि हुन्छन् । हालसाल ज्यालसका कार्मा–छिरिङ बुढा (भोटिया) ले जोभा÷खच्चर खेदाई, खसान–क्षेत्रबाट अनाज ल्याउन जुम्लाको लामीडाँडा गाउँका वीरेन्द्र बोहरालाई मासिक १३ हजार दिएर राखेका छन् ।

 तलबाट खच्चर खेदाई अनाज ल्याउने कामबाहेक फुर्सदको समयमा वीरेन्द्र बोहराले बस्तुभाउ जंगल लाने पोसाउने, साँझतिर घर ल्याउने काम पनि गर्छन् । अन्य युवाले पनि खसान क्षेत्र वा चौंरीकोटबाट घर फर्किसकेपछि अथवा कुनै कारणले घरै बस्ने अवस्था भएमा तलबाट ल्याएको अनाजलाई घट्टमा लगी पिस्ने र निश्चित ठाउँमा लगी भण्डार गर्ने, बस्तुभाउलाई जंगल लाने ल्याउने, दानापानी ख्वाउने आदि काम गर्दै बस्छन् । रिंगमो गाउँमा घट्ट छैन । उवा, मकै, कोदो तलबाटै पिसेर लानुपर्छ । यसका अलावा उनीहरू फेरुवा कात्ने, छिपा बुन्ने, ताख्वा (फेरुवा कात्दा प्रयोग गरिने सामग्री) बनाउने आदि काम पनि गर्छन् । यसरी रिंगमोवासी मंसिरदेखि फागुनसम्म समय बिताउँछन् ।

 फागुन महिनाको अन्त्यसँगै से–फोक्सुन्डो क्षेत्रमा जाडो कम हुन थाल्छ । स्कुल लाग्न सुरु हुन्छ । रिंगमोवासी फेरि माथि गाउँतिर फर्किन सुरु गर्छन् । सधैं चैत महिनाको दोस्रो हप्तातिरमात्र माथि फर्किने उनीहरू यसपालि भने जलवायु परिवर्तन भई से–फोक्सुन्डो क्षेत्रमा कम जाडो आएको र हिउँसमेत त्यति नपरेकाले चैत महिनाको सुरुआतमै उकालो लागे । हाल सबै परिवार माथि गाउँमा पुगिसके । भण्डार गरेको अनाज जोभा÷खच्चरलाई बोकाएर माथि लागे ।

 प्रतिघर २० देखि ३० बोरासम्म अनाज उनीहरूले माथि लगेका देखिन्छ । त्यही अनाज बर्खाभरि खाना खाने, छ्याङ खाने, रोटी खाने तथा वस्तुलाई दाना खुवाउने गर्छन् । गाउँमा सबै घरपरिवार भेला भइसकेपछि चैत महिनाको अन्त्यतिर पुनः ह्युल्सा देवताको पूजा गर्छन् । यस सालको पूजा भरखर गरे । अब उनीहरू बालीनाली लाउने कामतिर लाग्छन् ।

लेखक त्रिवि कीर्तिपुरको मानवशास्त्रका अध्येता हुन् ।


 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...