Wednesday, January 16, 2019

उकालो लागे रिंगमोका भोटिया



उकालो लागे रिंगमोका भोटिया

दिलविक्रम आङ्देम्बे

रिंगमो डोल्पाको ‘से–फोक्सुन्डो' तालनजिकैको एउटा सानो गाउँ हो । गाउँमा अचेल बोन्पो धर्मावलम्बी भोटियाका ४९ घर भेटिन्छन् । ती आफूलाई लामा र बैजी जातिका भोटिया भएको बताउँछन् । बूढा र रोकायाचाहिँ भोटियाभन्दा पनि मगर र क्षेत्री थरसँग मिल्दोजुल्दो छ । त्यहाँ बसेका कतिपय बूढा र रोकायाले पुर्खा जुम्ला (सिन्जा)बाट आएको क्षेत्री भएको दाबी गर्छन् ।

 भाषा–धर्म तथा संस्कार–सस्ंकृति भने उनीहरूले भोटियाकै अपनाएका छन् । त्यसकारण रिंगमो गाउँमा बस्ने बूढा तथा रोकायाथरी परिवार दक्षिणतिरबाट त्यहाँ गई भोटियाकरण भएका मगर वा क्षेत्री हुन् ! अथवा मगर वा क्षेत्री जातिमा उकास्ने प्रक्रिया अपनाइरहेका त्यहाँकै भोटिया हुन् ! यो एउटा अध्ययनको विषय बनेको छ ।

 रिंगमोवासीको मूल पेसा कृषि हो । त्यहाँ गहुँ, आलु, फापर र तोरी खेती गरिन्छ । बर्खामा यार्सागुम्बा टिप्ने, पर्यटनको समयमा ससाना व्यापार गर्ने गर्छन् उनीहरू । वसन्त–ऋतुको आगमनसँगै रिंगमो गाउँमा खेतिपाती सुरु हुन्छ । बाली लाउनुअघि उनीहरू सामूहिक रूपमा ह्युल्सा देवताको पूजा गर्छन् । यो देवताको पूजा चैत महिनाको अन्त्यतिर गरिन्छ ।

 ह्युल्सा देवतालाई रिंगमोवासी ‘भूमे देवता' पनि भन्छन् । भोटिया भाषामा ‘ह्युल'को अर्थ ‘देवता' र ‘सा' को अर्थ ‘भूमि' (माटो) हो । उनीहरूको मान्यताअनुसार, ‘ह्युलसा देवता' मानवमात्रको नभई प्रकृति (बोटविरुवा, कीटपतंग) सबैका संरक्षक देवता हुन् । खेतबारीमा अन्नबाली लाउन माटो खनजोत गर्दा बोटविरुवा, कीटपतंग आदिको विनाश हुनसक्छ ।

 यसरी विनाश गरियो भने प्रकृति (भूमि) देवता ह्युल्सा रिसाउनेछिन् । र, असिना–बादल, खडेरीजस्ता प्रकृतिक प्रकोप निम्त्याई लाएको अन्नबाली सबै नास गर्नेछिन् । त्यसकारण माटो खनजोत गर्दा आफूले बोटविरुवा तथा कीटपतंग आदिको विनाश गरेकोमा माफी माग्न र अब लाउने बालीनालीमा कुनै पनि प्राकृतिक–प्रकोप ननिम्त्याई विनाश नगरिदिन बिन्ती गर्न उनीहरूले ह्युल्साको पूजा गरेका हुन् । देवताको थान गाउँको माथि शिरमा बनाइएको छ ।

 ह्युल्सा देवताको पूजा गर्दा प्रत्येक घरबाट चामल, छ्याङ, रक्सी उठाई सामूहिक भोज खाने चलन छ । त्यसै दिन वर्ष दिनसम्म गाउँको नेतृत्व गर्ने दुईजना व्यक्तिको चयन पनि गरिन्छ । तिनीहरूले एक वर्षसम्म गाउँमा कुनै कार्यक्रम गर्नु परेमा, भोज वा बैठक गर्नु परेमा त्यसको व्यवस्थापन गर्ने गर्छन् । कारबाई प्रक्रियाबारे निर्णय गर्ने काम गर्छन् । प्रत्येक वर्ष दुईजनाका दरले गाउँका सबै घरपरिवारबाट पालैपालो छान्दै जानुपर्छ ।

 रिंगमो गाउँमा वैशाख दोस्रो हप्तातिर आलु रोप्न सुरु हुन्छ । पहिला आलु रोप्न उनीहरूलाई धेरै समय लाग्थ्यो तर पछिल्लो समयमा यार्सागुम्बा टिप्न थालेदेखि कतिपयले जग्गा बाँझै राख्न थाले । आलु रोपेपछि तोरी/फापरको खेती सुरु हुन्छ । रिंगमो गाउँमा जेठको पहिलो हप्तातिर तोरी÷फापर छरिसक्नुपर्छ । ढिलो गरिए पाक्न गाह्रो हुन्छ ।

 जेठको दोस्रो हप्तातिर उनीहरू गाउँदेखि माथि रहेको फूलबारी, पेरिकाप्वा लेक, लाप्च्या लेक आदि जग्गामा यार्सागुम्बा टिप्न जान्छन् । महिना दिन त्यहाँ बसेपछि असारको दोस्रो हप्तातिर गाउँतिर फर्किन्छन् । त्यसपछि गहुँ, आलु गोड्ने समय सुरु हुन्छ । साउन लागेपछि फेरि यार्सागुम्बा बेच्न तिब्बतको ‘क्याटोवा' क्षेत्रतिर जान्छन् । हाल रिंगमोवासीका लागि रुपैयाँपैसा आर्जन गर्ने मुख्य माध्यम यार्सागुम्बा व्यापार नै भएको छ ।

 साउन महिनामा क्याटोवा क्षेत्रतिर व्यापारीहरू निश्चित समयका लागि चाइनाबाट आई टेन्ट लाएर बसेका हुन्छन् । रिंगमोबाट क्याटोवा पुग्न खच्चरबाट तीन दिन लाग्छ । याक÷जोभासित गइयो भने सात दिन लाग्नसक्छ । त्यसपछि यार्सागुम्बा बेचेर त्यहाँबाट रुपैयाँ, दैनिक उपभोग्य वस्तु र लत्ताकपडा आदि लिएर घर फर्किन्छन् ।

 भदौ लागेपछि रिंगमो गाउँमा आलु खन्ने, गहुँ÷फापर काट्ने, तोरी उप्काउने काम सुरु हुन्छ । उनीहरूले पाकेको गहुँ, तोरी र फापरलाई काटिसकेपछि केही दिन घरको ‘थारा' (छाना) माथि सुकाएर राख्ने गर्छन् । असोज लागेपछि खनेर राखेको आलुलाई खाल्डो खनी भण्डार गर्ने, थारामाथि सुकाएको गहुँ, तोरी, फापरलाई कुटेर दाना खाटो (बाकस)मा राख्ने, त्यसको नल घाँसको लागि सुरक्षित ठाउँमा राख्ने काम गर्छन् ।

 असोज र कात्तिकतिर एक महिना से–फोक्सुन्डो तालमा आन्तरिक वा बाह्य पर्यटकको ओइरो लाग्छ । त्यस बेला केही रिंगमोवासी घरमा वा बाटोतिर ससाना होटल थाप्ने गर्छन् ।

 सबै काम सकेपछि रिंगमोवासी सामूहिक भोज खाने गर्छन् । भोजलाई उनीहरू ‘खाटुम' भन्छन् । खाटुम कात्तिकको पहिलो वा दोस्रो हप्तातिर खाने गरिन्छ । आआफ्नो घरबाट छ्याङ, रक्सी, मैदा, चिनी, चामल आदि संकलन गरी सामूहिक भोजको आयोजना गर्ने गरिन्छ । विभिन्न खेल तथा नाचगान हुन्छ । रिंगमोवासी ‘खाटुम' तीन दिनसम्म मनाउँछन् ।

 मंसिर लागेपछि से–फोक्सुन्डो क्षेत्रमा जाडो सुरु हुन्छ । हिउँ पर्न थाल्छ । याकबाहेक अन्य बस्तुभाउ हिउँले त्यहाँ बस्न सक्दैनन् । मंसिरदेखि चैतसम्म स्कुल पनि बन्द हुन्छ । त्यसकारण घरको महत्त्वपूर्ण सामान र हालसाल फलाएको आलु, अन्नबाली (गहुँ, तोरी, फपर) घरभित्रै थन्को गरी घरमा ताल्चा लगाएर हिँउदे जाडो छल्न उनीहरू परिवार, केटाकेटी तथा बस्तुभाउ (जोभा÷झोमा,च्यालु÷च्यांग्रा, खच्चर) लिई मंसिरतिर बेसीमा झर्छन् । केही आवश्यक बस्तु जोभा÷खच्चरलाई बोकाएर ।

 सुक्टिलामु, ज्यालस रिंगमोबासीका बेसीमा झरेर बस्ने जग्गाहरू हुन् । केही परिवारचाहिँ गाउँनजिकै पोलामतिर पनि बस्छन् । यस वर्ष भने जलवायु परिवर्तन भई फोक्सुन्डो क्षेत्रमा ढिलो जाडो आएकाले पुसको पहिलो हप्तातिरमात्र उनीहरू तलतिर झरे । हाल पोलाममा नौ परिवार, सुक्टीलामुमा पाँच परिवार र ज्यालसमा ३५ परिवार रिंगमोवासी बसेका भेटिन्छन् । याकचाहिँ माथि गाउँनजिकको जंगलतिरै छाडिराख्छन् ।

 त्यहाँ उनीहरूले याक हेर्ने केही गोठाला पनि राखेका हुन्छन् । रिंगमोवासी बेसीतिर झर्नुको कारण मानिस तथा पशु–प्राणीलाई हिउँदे जाडोबाट जोगाउनुका साथै तल्लो–क्षेत्रमा गई बर्खा टार्ने अनाज संकलन गर्नु पनि हो । सुक्टिलामु, ज्यालसतिर बस्दा डोल्पाको तल्लो क्षेत्रतिर ओर्लेर अनाज संकलन गर्न उनीहरूलाई सजिलो हुन्छ । यी ठाउँमा उनीहरू मंसिरदेखि चैतसम्म बस्छन् ।

 बेसीतिर बस्दा महिलाहरू बालबच्चा हेर्ने, भातभान्सा बनाउने, धागो कात्ने, चाङ बुन्ने काम गर्छन् । उनीहरूले बुन्ने चाङहरू ल्यु, पाखी, पउरो, झोला, छ्युवा, किटी आदि हुन् । बुनेका वस्तु तल्लो भेगका बासिन्दासँग बिक्री गर्छन् । डोल्पा क्षेत्रमा किटी (मटी) भोटिया महिलाले मात्र लाउँथे तर अचेल त्यहाँका तल्लो क्षेत्रमा बस्ने मगर, ठकुरी, क्षेत्री, दलित महिलाले समेत लाउन थालेका छन् । किटीभित्र हावा छिर्न सक्दैन र शरीर सधैं न्यानो भइरहन्छ । जाडामा यसको प्रयोग बढ्दै गएको हो ।

 चौंरी ाईको दूध दुने, दूधबाट घ्यू निकाल्ने काम पनि उनीहरू नै गर्छन् । रिंगमो गाउँमा पुरुषले दूध दुने चलन छैन । वृद्घा महिलाचाहिँ पटुका बुन्दै बस्छन् । उनीहरूले बुनेका पटुका खरिद गर्न तल तारागाउँका तराली मगरहरू आउँछन् । पटुका उनीहरू बागलुङ, रुकुम, रोल्पा आदि क्षेत्रमा लगेर बेच्छन् । युवाहरू यसरी बेसीतिर बस्दा यार्सागुम्बा बिक्रीबाट ल्याएको पैसा बोकेर खसान क्षेत्रतिर झर्छन् ।

यसपालि भने जलवायु परिवर्तन भई सेफोक्सुन्डो क्षेत्रमा कम जाडो आएको र हिँउसमेत त्यति नपरेकाले चैत महिनाको सुरुआतमै उकालो लागे । हाल सबै परिवार माथि गाउँमा पुगिसके । भण्डार गरेको अनाज जोभा÷खच्चरलाई बोकाएर माथि लागे ।

काइगाउँ, पहाडा, लिकु, जुफाल, सुँ, कालिका, सर्मी आदि उनीहरूका खसान क्षेत्रतिर झर्ने जग्गा हुन् । त्यहाँबाट मकै, कोदो, गहुँ, उवा, सिमी, खुर्सानी किनेर जोभा÷खच्चरलाई बोकाई माथि लान्छन् । कहिलेकाहीँ चौंरीकोटसम्म पनि पुग्छन् । चौंरीकोट डोल्पा र जुम्लाको सीमा–क्षेत्रतिर पर्छ । चौंरीकोट जाँदाचाहिँ तिब्बतबाट ल्याएको भोटे–नुन लिएर जान्छन् । र, त्यसले स्थानीय त्यहाँका गुरुङ (भोटे)हरू सँग अनाज साटेर ल्याउँछन् । हाल चौंरीकोटमा एक फाक्तेन (जग) भोटेनुन लिएबापत चा फाक्तेन मकै, उवा दिने चलन छ । चौंरीकोटवासी भोटेनुनलाई चिया खान र वस्तुलाई दिन प्रयोग गर्छन् । चामल, तेल, च्युरा, मसला, साबुनचाहिँ रिंगमोवासी तल जाजरकोटको तल्लु–बगर र रुकुमको राढी–ज्युलासम्म झरेर लग्छन् ।

 घरमा जोभा÷खच्चरलाई बोकाएर अनाज ल्याउने पुरुष नभएमा त्यो काम गर्ने कुनै व्यक्तिलाई निश्चित समयका लागि निश्चित पारि श्रमिक दिई घरमा राखेका पनि हुन्छन् । हालसाल ज्यालसका कार्मा–छिरिङ बुढा (भोटिया) ले जोभा÷खच्चर खेदाई, खसान–क्षेत्रबाट अनाज ल्याउन जुम्लाको लामीडाँडा गाउँका वीरेन्द्र बोहरालाई मासिक १३ हजार दिएर राखेका छन् ।

 तलबाट खच्चर खेदाई अनाज ल्याउने कामबाहेक फुर्सदको समयमा वीरेन्द्र बोहराले बस्तुभाउ जंगल लाने पोसाउने, साँझतिर घर ल्याउने काम पनि गर्छन् । अन्य युवाले पनि खसान क्षेत्र वा चौंरीकोटबाट घर फर्किसकेपछि अथवा कुनै कारणले घरै बस्ने अवस्था भएमा तलबाट ल्याएको अनाजलाई घट्टमा लगी पिस्ने र निश्चित ठाउँमा लगी भण्डार गर्ने, बस्तुभाउलाई जंगल लाने ल्याउने, दानापानी ख्वाउने आदि काम गर्दै बस्छन् । रिंगमो गाउँमा घट्ट छैन । उवा, मकै, कोदो तलबाटै पिसेर लानुपर्छ । यसका अलावा उनीहरू फेरुवा कात्ने, छिपा बुन्ने, ताख्वा (फेरुवा कात्दा प्रयोग गरिने सामग्री) बनाउने आदि काम पनि गर्छन् । यसरी रिंगमोवासी मंसिरदेखि फागुनसम्म समय बिताउँछन् ।

 फागुन महिनाको अन्त्यसँगै से–फोक्सुन्डो क्षेत्रमा जाडो कम हुन थाल्छ । स्कुल लाग्न सुरु हुन्छ । रिंगमोवासी फेरि माथि गाउँतिर फर्किन सुरु गर्छन् । सधैं चैत महिनाको दोस्रो हप्तातिरमात्र माथि फर्किने उनीहरू यसपालि भने जलवायु परिवर्तन भई से–फोक्सुन्डो क्षेत्रमा कम जाडो आएको र हिउँसमेत त्यति नपरेकाले चैत महिनाको सुरुआतमै उकालो लागे । हाल सबै परिवार माथि गाउँमा पुगिसके । भण्डार गरेको अनाज जोभा÷खच्चरलाई बोकाएर माथि लागे ।

 प्रतिघर २० देखि ३० बोरासम्म अनाज उनीहरूले माथि लगेका देखिन्छ । त्यही अनाज बर्खाभरि खाना खाने, छ्याङ खाने, रोटी खाने तथा वस्तुलाई दाना खुवाउने गर्छन् । गाउँमा सबै घरपरिवार भेला भइसकेपछि चैत महिनाको अन्त्यतिर पुनः ह्युल्सा देवताको पूजा गर्छन् । यस सालको पूजा भरखर गरे । अब उनीहरू बालीनाली लाउने कामतिर लाग्छन् ।

लेखक त्रिवि कीर्तिपुरको मानवशास्त्रका अध्येता हुन् ।


 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...