Wednesday, December 09, 2020

यो ‘ब्राह्मणवादी पितृसत्ता’को समय हो!

 यो ‘ब्राह्मणवादी पितृसत्ता’को समय हो!

पुष्पा पौडेल

यो ब्राम्हणवादी पित्तृसत्ताले हो जसले महिलालाई पुरुषको ‘भोग्य’, दलित महिलालाई त वस्तु भन्दा तल राखेर व्यवहार गर्छ । र, भन्छ– महिला भएर प्रेम गर्नु बर्जित छ ! 

गएको असोजको एक दिन । काठमाडौंको लामाटार । नीलो आकाशमा कहीं कतै बादल थिएन । उत्तरमा पूरै हिमाल देखिरहेका भए पनि जति दिन छिप्पिंदै गयो त्यति नै गर्मी बढ्दै थियो । यो दिन खास्सा थियो, धान काट्नलाई ।

 खेतमा पर्म तिर्ने गरेर खेताला जम्मा भएका थिए । छुट्टीको दिन भएकाले म पनि धान खेतमा सघाइटोपल्न गएँ । म कामभन्दा बढी त्यहाँ भइरहेको कुराकानीमा चाख दिइरहेको थिएँ । दुःख, गाईवस्तुदेखि पाठेघर, महिलाको स्वास्थ्य, गर्भ निरोधक साधन, पुरुष आदि विविध विषयमा गफ चल्दैथियो । बेला–बेलामा गफ चर्का–चर्कीमा बदलिन्थ्यो । महिलाको यो हूलमा सबै उच्च जातीय हिन्दू थिए।

 त्यहाँ भर्खरै स्थायी बन्ध्याकरण गरेकी एक महिला पनि थिइन् । उनीबारे अर्की महिलाले विशेष चासो देखाइन् र प्रश्न सोझ्याइन्, “तिम्रा श्रीमान् खाइलाग्दा, तगडा छन् त, किन उनैले बन्ध्याकरण गरेनन् ?” एकछिन वातावरण शून्य भयो । 

 अनि ती महिला गर्जेर भन्न थालिन्, “मेरो मर्जी !”

 त्यसपछि जवाफमा उनले जे भनिन्, त्यो सुन्नलायक थियो । पुरुषले स्थायी बन्ध्याकरण गरेमा उनीहरूलाई निकै समस्या हुने, यहाँसम्म कि कतिपय अवस्थामा जीवनभर हिंड्नेडुल्ने गर्न पनि नसक्ने भएकाले महिलाले बन्ध्याकरण गर्नु नै उपर्युक्त हुने उनको तर्क थियो ।

 ‘पुरुषहरूको शक्ति अण्डकोषमा निहित हुने भएकाले आफ्ना श्रीमानको पनि शक्ति क्षीण हुन नदिन, शारीरिक हिफाजतका लागि पनि आफूले नै यसो गरेको र सहन शक्ति बढी हुने हुनाले पनि यो प्रक्रियामा महिला नै अघि सर्नुपर्ने’ ति महिलाको थप जोड थियो ।

 ति महिलाले आफ्नो ‘ज्ञान’को स्रोत बताइनन् न उपस्थित अरुले नै त्यसको खण्डन गरे ।

 मलाई लाग्यो– उच्च जातीय पुरुषत्वको हिफाजत महिलाले आफ्नो शरीरको बाजी थापेर भए पनि गर्नुपर्ने पितृसत्ताको यो बलियो उदाहरण हो ।

 दक्षिण एशियाली समाजमा यी र यस्तै पुरुषत्व, मर्दाङ्गीको रक्षा गर्ने सोच, व्यवहारलाई भारतिय इतिहासकार उमा चक्रवर्तीले ‘ब्राह्मणवादी पितृसत्ता’ को नाम दिएकी छिन् । ब्राह्मणवादी पितृसत्ता जातीय र लैङ्गिक व्यवस्थाको यस्तो गठजोड हो जुन हिन्दू बाहेक अन्य समाजमा पाइँदैन।

 ब्राह्मणवादी पितृसत्ताले कुन जातजातिकी महिला कतिसम्म शोषित हुने/नहुने र कुन जातजातिका पुरुषको शक्ति कति हुने कुराको पनि निर्धारण गर्दछ । कुन महिलाको शरीर कति पवित्र र ‘भोग्य’ हुने जस्ता शरीरमाथिको नियन्त्रण यो व्यवस्थाको कसी हो। यो पित्तृसत्ताले विवाहमा अनेक नियम मात्र होइन प्रेममाथि नै बन्देज लगाउँछ । 

 डा.भीमराव अम्बेडकरले भने झैं सजातीय विवाहको व्यवस्था जातीय समाजको उपज हो भने ब्राह्मणवादी पितृसत्ता यसको रक्षक। 

 यहाँ अम्बेडकरको प्रसंग किन पनि भने, दलित अधिकारकर्मी र अभियन्ताले मात्र होइन, महिलावादी आन्दोलनका लागि पनि अम्बेडकर बिर्सने नहुने नाम हुन् । अमेरिका र बेलायतमा बसेर उच्चशिक्षा हासिल गरेको कारण पनि हुनुपर्छ, अम्बेडकरमा महिलालाई हेर्ने दृष्टिकोण उदार र स्पष्ट थियो । कतिपयले त उनलाई महिलावादी समेत भनेका छन् ।

 अम्बेडकरलाई यसो भनिनुमा ‘हिन्दु कोड बिल’ प्रमुख आधार हो । ११ अप्रिल १९४७ मा स्वतन्त्र भारतको पहिलो कानूनमन्त्रीको हैसियतमा अम्बेडकरले यो विधेयकलाई संसदमा प्रस्तुत गरेका थिए, जसमा हिन्दु महिलाका लागि सम्बन्धविच्छेद, विधवा विवाह, पुरुष बराबरको सम्पतिको हकलगायतको व्यवस्था गरिएको थियो ।

 तर, कट्टर हिन्दु समुदायलाई यो सैह्य भएन । चौतर्फी विरोध प्रदर्शन हुन थाल्यो । आसन्न निर्वाचनका कारण पनि जवाहरलाल नेहरू नेतृत्वको सरकारले विधेयक संसदबाट फिर्ता लिन बाध्य भयो।

 भारतीय संविधानका प्रमुख मस्यौदाकारसमेत रहेका अम्बेडकर आफूले संविधानभन्दा भन्दा पनि हिन्दु कोड बिल पारित गराउनुमा बढी खुशी महशुस गर्ने बताउँथे। संसदबाट यो विधेयक फिर्ता भएलगत्तै नैतिकताका आधारमा उनले कानून मन्त्री पदबाट राजीनामा दिए । 

 सुनियोजित सत्ता–त्रासदी 

धेरैलाई ब्राह्मणवादी पितृसत्ता सुन्दै असजिलो लाग्नेगर्छ । जातको विरोधलाई जातिय गालीकै अर्थमा पनि कतिपयले बुझ्ने र प्रतिप्रश्न गर्ने गरेका छन् । भारतमा दुई वर्ष अघि ट्वीटरका प्रमुख कार्यकारी निर्देशक ज्याक डोरसेले ‘ब्राह्मणवादी पितृसत्तालाई खत्तम गरौं’ भनेर लेखेकै हुनाले ठूलै खप्की खानुपरेको थियो।

 हामीकहाँ पनि करीब दुई महीनाअघि ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रममा अभियन्ता सरिता परियारले यो शब्द प्रयोग गरेकी थिइन् । जात व्यवस्था सम्बन्धी परियारको गहिरो विश्लेषण सुन्नु भन्दा पनि ब्राह्मणवादी पितृसत्ता शब्दको प्रयोगले सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चियो। हुँदाहुँदा कार्यक्रमलाई आर्थिक सहयोग गर्ने दातृ संस्थासँग धार्मिक ध्येय जोड्दै कार्यक्रम प्रस्तोता चर्चित अभिनेता राजेश हमालसम्मको नियतमा प्रश्न उठ्न थाल्यो । कार्यक्रम उत्पादक संस्था समता फाउन्डेशनले विज्ञप्ति नै निकाल्नुपर्यो‍ ।

स्वभाविक थियो, ‘जातको प्रश्न’मा प्रश्न उठाउनेहरू अधिकांश उच्च जातका पुरुषहरू नै थिए । र, यो विरोधले ब्राह्मणवादी पितृसत्ताको अर्थ र अभिष्ट छर्लङ पारेको थियो । कार्यक्रममा परियारले भनेझैं कुनै खास किसिमको ज्ञानलाई मात्र स्वीकार्ने बानी परेको उच्च जातीय पुरुषहरूलाई आफ्नो जात र त्यसले दिएको अथाह शक्ति माथिको प्रश्न असह्य भएको हुनुपर्दछ ।

 सदियौंदेखि दबाउन बानी परेकाहरूलाई जात व्यवस्थावाट पीडितहरूको कथामा सहानुभूतिका हिसाबले आक्रोश पोख्ने तर दलितका विषयमा सशक्त बोल्ने अभियन्तालाई लाञ्छना लगाउने प्रक्रिया पनि ब्राह्मणवादी पितृसत्तात्मक सोच नै हो। हरेक महिलालाई निश्चित घेरामा राख्न चाहनेहरूको हाम्रो समाजमा दलित महिलाको आवाज झनैं ‘कर्णकटु’ लाग्नेगर्छ। यूट्यूबका टिप्पणी कार्यक्रम प्रस्तोताको तारिफ, दलित समुदायका नाम चलेका कलाकारलाई ल्याउनुपर्ने सल्लाहले भरिएका छन् । यो विषयान्तरणले दलित समुदायको संघर्षलाई अझै उही घेरामा सीमित गरिदिएको छ ।

 दलित महिलाको उत्पीडन र विद्रोहको कथा लेख्न सक्ने हैसियत, आँट र अधिकार यो पङ्तिकारसँग छैन् तर उच्च जातीय महिलाका माझ कसरी ब्राह्मणवादी पितृसत्ताले काम गर्छ भन्ने केही उदाहरण प्रस्तुत गर्न चाहन्छु ।

 महात्म्यको २९, ३० अध्यायमा महिला कस्तो हुनुपर्छ, के गर्नुहुन्छ, हुँदैन भन्ने बारे लेखिएको रहेछ । ‘पतिसँग हँ गरेर बोल्ने नारी अर्को जन्ममा लाटी हुन्छे, पतिसँग झगडा गर्ने नारी अर्को जन्ममा विधवा हुन्छे...’ म जति जति पढ्दै गएँ, कन्सिरीका रौं उति उति तातिन थाले । तर, मैले पढ्न छोडिनँ।

असोजकै अर्को एक दिन म घरमा हजुरआमासँग एक्लै थिएँ । मलमासको समय थियो । बिहान–बिहान हजुरआमालाई ‘पुरुषोत्तम महात्म्य’ सुन्नुपर्ने रहेछ । महात्म्यको त्यो पुस्तक संस्कृत र नेपाली दुवै भाषामा लेखिएको थियो । एकपटक संस्कृतमा पढेर म नेपाली अर्थ भन्न थालें ।

 महात्म्यको २९, ३० अध्यायमा महिला कस्तो हुनुपर्छ, के गर्नुहुन्छ, हुँदैन भन्ने बारे लेखिएको रहेछ । ‘पतिसँग हँ गरेर बोल्ने नारी अर्को जन्ममा लाटी हुन्छे, पतिसँग झगडा गर्ने नारी अर्को जन्ममा विधवा हुन्छे...’ म जति जति पढ्दै गएँ, कन्सिरीका रौं उति उति तातिन थाले । तर, मैले पढ्न छोडिनँ । त्यहाँ त महिलाले हेर्दा, हाँस्दा, बोल्दा, हिंड्दा के, कसो गर्नुपर्छ, पुरुषका लागि गर्नुपर्ने कार्यसूचीदेखि विधवा महिलाको हैसियत सम्बन्धी नियम, नियम नमानेमा हुने दण्ड सबै स्पष्ट लेखिएका रहेछन् । दण्ड नियम अधिकांश अर्को जन्मका सजायमा आधारित थिए । 

 हुन त हाम्रा हजुरआमा पुस्ता बाहेकले यस्ता पुराण विरलै सुन्छन् होला तर यो पढिसक्दा दुई कुरा मस्तिष्कमा आए । एकातिर हिन्दू उच्च जातका महिलालाई हदैसम्मको अनुशासनमा रहनुपर्ने, महिला हुनुको अर्थ नै पुरुषमा निहित हुने, उनीहरूको जीवन पतिसेवामा समर्पित हुनुपर्ने नियम बनाइएका छन् भने अर्कातर्फ यी महिला बाहेकका अन्य महिलाहरूलाई (दलित/जनजाति) ‘मानिस’ हुन् भन्ने आभाससम्म दिलाउन नखोज्ने प्रवृत्ति छ ।

 ब्राम्हणवादी पितृसत्तामा ‘भोग्य’ ठानिने दलित महिलालाई वस्तुभन्दा पनि तल्लो तहमा राखिन्छ । यसो गर्नाले एकसाथ तीन उद्देश्य पूरा हुन्छ । पहिलो दलित र जनजाति महिला मात्र नभई सबै महिलाको शरीरमाथि नियन्त्रण, दोस्रो आफ्नो स्थानमा नबसे दलित महिला जस्तै भोग्नुपर्ने नियतिको त्रास अनि तेस्रो महिलाको सामूहिक एकता बन्न नदिने आधार ।

 यी तीन डरको खेल ब्राह्मणवादी पितृसत्ताको महत्वपूर्ण हत्कण्डा हुन् । महिला मात्र नभई उपेक्षित सबैलाई एक ठाउँमा आउन नदिने र तहतहमा विभाजित गर्ने कार्यले व्यवस्थामाथि चुनौती दिन नसकिने आधार जात व्यवस्थाले बनाएको हुन्छ । कथं यो व्यवस्थालाई प्रश्न मात्र गरे पनि भोग्नुपर्ने नियति यति कठोर हुन्छ कि यस्तो आँटलाई जरोकिलो उखेलिने गरी भताभुङ्ग पारिन्छ ।

 यसरी ब्राह्मणवादी पितृसत्ताले यसरी सुगठित रूपमा एकै तीरले धेरै निशाना लगाउँछ । नेपालको सन्दर्भमा त संरचनात्मक अनि कानूनकै रूपमा लादिएको यो गठजोडलाई भत्काउन ठूलै कसरतले पनि नभ्याउने देखिन्छ । 

 प्रतिरोधकै हत्या !

अझै पनि अजित मिजार, नवराज विकहरूको ज्यान जातकै कारण गइरहेको छ । यस्ता घटनाको त्रासदी दलित समुदायमा मात्र होइन, सम्पूर्ण समाजमा बृहत् र मिहिन दुवै प्रकारले परेको छ ।

जस्तो कि, रुकुम घटनालगत्तै मेरी बहिनी पर्ने एक युवतीले आफ्नो प्रेमीको नियति नवराज विकको झैं नहोस् भनेर प्रेमको तिलाञ्जली दिइन । प्रतिरोधको शुरुआत गर्नै आँटेकी ती बहिनी हत्यासम्म उत्रने समाजको चरित्र देखेपछि नराम्ररी तर्सिइन् ।

 जातीय समाजले ‘चोखो’ राखेको उच्च जातका महिलाको शरीर विवाहपछि मात्र सार्थक भएको ठहरिन्छ । जस्तो कि, मेरै घर छिमेकमा तीस वर्ष टेकिसकेकी अविवाहितलाई ‘कन्या केटी’ को दर्जामा राखेर दशैंको टीका पहिले लाइन्छ ।

 यसो गरिनु घुमाउरो हिसाबमा महिलाको शरीरमा शुद्धताको नाममा नियन्त्रण गरिरहनु हो । उच्च जातका पुरुषका लागि यसरी शुद्ध राखिएको शरीरमा दलित पुरुषले प्रेम पर्नु मात्र पनि पुरुषत्वमा प्रश्नचिह्न तेस्र्याउनु हो भन्ने बुझाइ नै रुकुम घटनाको जड हो । र यसको कारण ब्राह्मणवादी पितृसत्ता नै हो ।

अम्बेडकरले यो जात व्यवस्था चिर्न ‘शिक्षित हुनु, सङ्गठित हुनु र संघर्ष गर्नु’ भनेका छन् । र, यसो गरिनु दलित समुदाय मात्र नभई, हरेक समुदायका महिला मुक्तिका लागि पनि अत्यन्तै आवश्यक छ । विभाजन गरेर शक्ति केन्द्रीकृत गर्ने ब्राह्मणवादी पितृसत्ताको विरुद्ध जुट्न अम्बेडकरको यो रणनीति महत्वपूर्ण शुरूआत हो ।

(पौडेल मानवशास्त्रकी विद्यार्थी हुन्।)

सामग्री : https://www.himalkhabar.com/news/121197 

Tuesday, December 01, 2020

आठपहरियाको पर्व वाडाङ्‌मेट सुरु

 


आठपहरियाको पर्व वाडाङ्‌मेट सुरु

Kantipur, मंसिर १५, २०७७रमेशचन्द्र अधिकारी

धनकुटा — आठपहरिया जातिको मुख्य पर्व वाडाङ्‌मेट सोमबार सुरु भएको छ । १५ दिनसम्म मनाइने यस पर्वमा पितृको सम्झना गर्दै शुभकामना साटासाट गरिन्छ 

धनकुटा नगरपालिकाका याक्ते, सान्ताङ, डाँडागाउँ, देब्रेबास, ठोका, वेलहारा, सेउले, छारागाउँ, भीरगाउँलगायत क्षेत्रमा आठपहरिया जातिको मुख्य बसोबास छ । यस पर्वमा सुनसरीको बराहक्षेत्र गएर नुहाउने र परिवारका सदस्य गुमाएकाहरूले यो शुद्धशान्ति गर्ने चलन रहेको आठपहरिया समाजका महासचिव सूर्य आठपहरियाले जानकारी दिए 

खास गरी यो चाडमा आठपहरिया जातिभित्रको होम्बारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाचिन्छ । यस्तै परिवारका सदस्यको मृत्यु भएको पीडालाई सप्तकोसी, कोकाहाखोला र तमोरमा बगाउने चाडका रूपमा वाडाङ्‌मेटको विशेष महत्त्व रहेको उनले बताए 

यो पर्वमा मार्गा, श्रीपञ्चमीलगायत थलोमा विशेष पूजा गरिन्छ । निमसल्ला घरघरमा पठाएर सुखशान्तिको कामनाका साथै भाकल पूजा गरिन्छ । अल्पसंख्यक यो जातिको संस्कृति, भाषा तथा लिपि जोगाउन लागि पछिल्लो पुस्ताले चासो दिएको आठपहरियाले बताए । ‘चाडपर्वमा पछिल्लो पुस्ताले संरक्षण गर्नुपर्ने भएकोले यसतर्फ जुटेका छौं,’ उनले भने, ‘वाडाङ्‌मीलगायत हाम्रो चाडपर्वका अवसरमा पछिल्लो पुस्तालाई पछ्याउने अवसरका रूपमा लिन सकिन्छ ।’

पर्वका अवसरमा नयाँ लुगा लगाउने तथा मिठा परिकार खाँदै घरघरै नाचगान गरिन्छ । मौलिक पोसाकका रूपमा महिलाले आफैले बुनेको मेख्ली र सिम तथा पुरुषले दौरा–कछाड लगाउने चलन रहेको समाजकी केन्द्रीय अध्यक्ष सारकुमारी आठपहरियाले जनाइन् 

आठपहरिया जातिले धनकुटा नगरलाई आठपहरिया स्वायत्त क्षेत्रमा सूचीकृत गरिनुपर्नेमा जोड दिँदै आएका छन् । आठपहरियालाई जनजाति महासंघमा सूचीकृत नगरिएकोमा पनि उनीहरूको गुनासो छ । २०६८ सालको जनगणना अनुसार जिल्लामा आठपहरियाहरूको संख्या ५ हजार ९ सय ७७ छ 

धनकुटा नगरपालिकामा सार्वजनिक बिदा

वाडाङ्‌मेट पर्वका अवसरमा धनकुटा नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । नगरपालिका क्षेत्रमा बसोबास गर्ने आठपहरिया जातिको विशेष चाड रहेकोले सार्वजनिक बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । नगरपालिका कार्यालयसहित नगर क्षेत्रका शिक्षण तथा स्वास्थ्यसंस्थामा पनि बिदा दिइएको छ 

प्रकाशित : मंसिर १५, २०७७ १०:०५

Monday, November 30, 2020

मगर संस्कारमा गरिने पितृ/पितर पूजा

 


मगर संस्कारमा गरिने पितृ/पितर पूजा

जिवन रोकामगर, प्रकाशित मिति : 15 November, 2020 4:07 pm

https://nagarikkhabar.com/2020/11/

१. विषय प्रवेश
नेपाल भौगोलिक विविधतासँगै जातीय विविधता, भाषिक विविधता, साँस्कृतिक विविधताका साथै धार्मिक रुपले पनि विविधतायुक्त मुलुक हो । नेपालको जनगणना २०६८ का अनुसार नेपालमा १२५ जातजातिहरु बसोवास गर्ने गर्दछन् । नेपालमा विभिन्न जातजातिहरुको बसोवास रहेकाले पनि उनीहरुको संस्कार र संस्कृतिहरुमा विविधता पाइने गर्दछ । नेपालको आदिवासी जानजातिहरु मध्येकै पहिलो र समग्र देशको जनसंख्याको तेस्रो स्थानमा रहेको मगर जाति भित्र पनि भाषा, संस्कार तथा संस्कृतिमा विविधता रहेको पाइन्छ । मगरहरुको आफ्नो मौलिक भाषा, संस्कृति तथा भेषभुषा भएको छुट्टै पहिचान र ऐतिहासिकता बोकेको जाति हो । उनीहरुलाई साहसिक, परिश्रमी तथा इमान्दारी जातिको रुपमा पनि चिनिन्छ । मगरहरु जीवन निर्वाह गर्ने क्रममा आफु जुन ठाउँमा, जुन परिवेशमा बसोबास गरेका छन्, त्यही ठाँउको पर्यावरणसँग अनुकुलन हुने खालका व्यवहार, रहनसहन, चालचलन तथा जीवनशैली अपनाएको पाइन्छ । उनीहरु प्रकृतिलाई आफ्नो जननीको रुपमा थानी भूमी, रुखवृक्ष तथा खोलानालाका मुलहरुमा पूजा गर्ने गर्दछन् । त्यसैले मगरहरुलाई प्रकृतिपुजकका रुपमा पनि चिनिने गरिन्छ ।

मगर समाज आफ्नै खाले धर्म, संस्कार, संस्कृति र तौर तरिकाले चलेको पाइन्छ । उनीहरु मगर भाषा बोल्दछन्, मगर भेषभुषामा सजिन्छन्, मगराँत चाडपर्वमा रमाउछन् र मगराँत धर्मलाई आफ्नो सभ्यता ठान्दछन् । मानिसको जन्म देखि नमरुन्जेलसम्म आफ्नो अस्तित्व बचाउन र बाँच्नका लागि प्रकृतिमा विभिन्न क्रियाकलापहरु गरी जीवन निर्वाह गर्ने गर्दछन् । तर पनि अहिलेको विकास, आधुनिकीकरण तथा विश्वव्यापीकरणका कारण पुर्खैउली थाकथलो छोडी शहरतिर बसाई सर्ने क्रमले मगर जातिका भाषा, धर्म र संस्कृति संकटमा पर्दै गएको पाइन्छ ।

मगरहरुले वर्षलाई दुई ऋतुका रुपमा उँधेली र उभेली लाई मानी खेतीपातीको समय छुट्याउने गर्दछन् । र त्यही समय अनुसार उनीहरुले विभिन्न पूजाआजाहरु गर्ने गरेको पाइन्छ । उनीहरुले अनिवार्य र आवश्यकताका आधारमा विभिन्न समयमा प्रकृतिको पूजा, लैलक्ष्मी (वस्तुभाउ)को पूजा, बालीनालीको पूजा, देविदेवताको पूजा र पितर पूजा गर्ने गरेको पाइन्छ । त्यसमा पूजाको प्रकृति अनुसार पुरै गाउलेले गर्ने सामुहिक पूजा, सन्तान र गोत्रले गर्ने पूजा, एक घरकाले गर्ने पूजा तथा व्यक्तिले गर्ने पूजा फरक फरक हुने गरेको पाइन्छ । त्यसैले यहाँ मगर जातिले आफ्नो सृष्टिकर्ता मृत्यु भैसकेका साखापुर्खा, जिजुबराजु, बाजेबजै तथा बुबाआमाको सम्झना र सम्मानका लागि पितृ थानी गरिने पितर (पुर्खा÷पितृ) पूजा किन गरिन्छ ? कहिले गरिन्छ ? र कसरी गरिन्छ ? भन्ने जिज्ञासा मेटाउन यो लेख तयार गरिएको छ ।

२. अध्ययन सीमा/अध्ययन विधि
यो लेख तयार पार्नका लागि अठार मगरात क्षेत्रको रोल्पा जिल्लालाई चयन गरीएको छ । पितर (पुर्खा÷पितृ) पूजाको पूजा गर्ने विधि र प्रक्रियाका बारेमा अध्ययन गर्न जिल्लाका विभिन्न मगर गाँउहरुको भ्रमण, स्थानीयबासी सँगको कुराकानी, मगर पूजारीहरु सँगको अन्तर्वाताका आधारमा कथ्य सामग्रीको संकलन गरी तयार पारिएको छ । मगर समाजमा गरिने पूजाहरुको प्रयाप्त अध्ययन अनुसन्धानको अभावले लेखका लागि चाहिने आवश्यक लेख्य स्रोतहरु प्रयाप्त मात्रामा संकलन गर्न सकीएको छैन ।

पितर (पुर्खा/पितृ) पूजा मगर जातिले आफ्नो पुर्खाको सम्झना र सम्मानका लागि गर्ने पूजा भएकाले यो पूजा ठाँउ अनुसार फरक फरक समय र फरक फरक तरिकाले पूजा गर्ने गरिएको पनि पाइन्छ । त्यसैले केही आवश्यक सुचनाको अभाव, समय र साधनस्रोतको अभाव, जानकारीको अभावका कारणले यस पूजा सम्बन्धि केही विधि विधान तथा गर्ने प्रक्रियाहरुको बारेका समाबेश गर्न तथा व्याख्या विश्लेषण गर्नमा छुतेको पनि हुन सक्दछ ।

३. मगर जातिमा गरिने पूजाआजाहरु
मगर जातिमा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि विभिन्न खाले पूजाहरु गर्ने गरिएको पाइन्छ । मगर जातिमा ठूलो देवताका रुपमा बराहा देवताहरुलाई लिई थानमा बली दिएर पूजा गर्ने गरिन्छ । बाह्रभाइ बराहाहरु मगरहरुका पवित्र देवता हुन । भने बाईसबहिनी बज्यूहरु मगरहरुका पवित्र देवी हुन । बाह्रभाइ बराहाहरुको मुख्य थान रोल्पाको जलजलालाई मानिन्छ (घर्तीमगर, २०७१ः८५) । रोल्पा जिल्लाको जलजलामा रहेको बामा पुपमा भनिने बामा ओडार (बामाको अर्थ बाबु+आमा=बामा तथा पुपको अर्थ ओडार) बाह्रभाइ बह्राको बुवाआमा बसेको ओडार हो । त्यही ओडारमा बाह्रभाइ बराहा र बाईसबहिनी बज्यूहरुको जन्म भएको हो भन्ने विश्वास गरिन्छ । त्यही भएर प्रत्येक वर्षको बैसाख्या पुन्नी, जेठाँसी पुन्नी र साउने पुन्नीमा सबै बराहहरुका नाममा बामापुपमा बलि दिई पूजा गर्ने गरिएको स्थानियले बताउँछन् । बाह्रभाइ बराहाहरुको जन्मथलोको रुपमा हेरी समग्र त्यस क्षेत्रलाई नै बह्राक्षेत्रको रुपमा चिनिने गरिन्छ ।

जोन हिचककले मगरहरुले पूजा गर्ने देविदेवतालाई धूप खाने र भोग खाने गरी दुई समुहमा विभाजन गरेका छन् । तर मगरहरुले एउटै देवतालाई कहिले धूप मात्र र कहिले भोगसमेत चढाउने भएकाले धूप र भोग खाने देविदेवतालाई स्पष्ट रुपमा छुट्याउन सकिदैन (बरालमगर, २०६८ ः १२९) । बरालमगर ले मगरहरुले गर्ने पूजाहरु पितृ पूजा, कूल पूजा, मण्डली पूजा, बजुबराजू पूजा र अन्य भनि उल्लेख गरेका छन् । उनले उल्लेख गरेका पितृ पूजा, कूल पूजा, र बजुबराजू पूजाका नामहरु रोल्पाका मगर गाँउहरुमा गरिने पूजाका नामहरुसँग मेल खाए पनि रोल्पामा पितृ पूजा, कूल पूजा र बजुबराजू पूजा एकै चोति पितर पूजाका नाममा गर्ने गरेको पाईन्छ ।

सिङ्जाली (२०७१ : पृ.२१–२९) ले मगरहरुले गर्ने चण्डीपूजाको बारेमा विस्तृत अध्ययन गरेको पाइन्छ । यसरी हाल सम्म पाल्पा, तनहुँ र स्याङ्जा लगायतका बाह्र मगरात क्षेत्रका मगरहरुले गर्ने पुजाआजाका बारेमा केही अनुसन्धान भएतापनि रोल्पा रुकुमका मगरहरुले गर्ने पूजाआजाहरुको बारेमा अध्ययन भएको नभेतिएकाले स्थानिय बासिन्दाहरुको भनाईका आधारमा रोल्पा रुकुमका मगर समाजमा गरिने पूजाहरु भूम्या पूजा, बराहा पूजा, पितर (पुर्खा÷पितृ) पूजा, भिनसिङ पूजा, तिवार पूजा, कुलामी पूजा, पूर्वयानी पूजा, देउती पूजा, छा¥या पूजा, हाईभाँडा पूजा, उत्त¥या पूजा, लगायतका पूजाहरु गर्ने गरिन्छ ।

यी सबै पूजाहरु गर्दा थानमा तितेपातीले चोख्याएर धुप हाली धजा, अछेता चढाएर प्राय कुखुरा, भाले बोका, भेडा लगायतका पशुपक्षीबाट बलि दिएर गर्ने गरिएको पाइन्छ । यी देवताहरुका पूजा गर्ने विधि प्रक्रिया तथा सामग्रीहरु नत हिन्दुसँग मिल्छ, नत बौद्धसँग मिल्छ । तर पनि दुःखको कुरो मगरका आफ्नो मौलिक धर्म र सभ्यता हुँदाहुँदै पनि अध्ययन अनुसन्धानको अभावका साथै संस्थानीकरण हुन नसक्दा मनले नस्विकार्दा नस्विकार्दे पनि आफ्नो धर्म कोहीले हिन्दु, कोइले बौद्ध त कोहीले क्रिश्चियन लेख्न बाध्य भएको पाइन्छ ।

४. पितर (पुर्खा/पितृ) पूजा
पितरहरुलाई दाइनो पार्न सम्मान गरी पुजीने पितर (पुर्खा÷पितृ) पूजा मगर जातिको मौलिक पूजा हो । यसको शुरुवाट कहाँ बाट ? कहिले देखि भएको हो ? भन्ने कुराको उत्तर पाउनका लागि अभैm खोज तथा अध्ययन भएको पाईदैन । यो पूजा मगर जातिमा आफुलाई जन्म दिने बुवा आमा, बुवालाई जन्म दिने बाजे बज्यै, बाजेलाई जन्म दिने जिजु जिजुनी, जिजुलाई जन्म दिनु क्याप्जु क्याप्जुनी लाई बितिसके पछि आफ्ना पुर्खाहरुलाई पितर थानी उनीहरुको आत्माले शान्ती पावस देउपितर दाइनो (शान्त) भएर हामीलाई सधै रक्षा गरुन भन्ने मान्यताका साथ पुर्खाहरुको सम्झना र सम्मान स्वरुप पूजा गर्ने गरिएको पाइन्छ ।



छोराछोरीहरुले तोकिएको गाँउ नजिकै सार्वजनिक बाटोहरुमा विसौना बनाई पिपल, ल्यखुरी, ओखरका विरुवा रोपिदिने चलन रहेको पाइन्छ । त्यस विसौनामा प्रत्येक जिजु, बाजेका अलग अलग थानहरु छुट्याएर बनाइएको हुन्छ । जुन थानमा प्रत्येक वर्षको जेठाँसी पुन्नी, मंसिरे पुन्नी, वा औंशी (दवारा) मा गाँउका जिजुबाजेका सबै सन्तानहरु प्रत्येक घरबाट विसौनामा गई गरिने पूजालाई पितर (पुर्खा/पितृ) पूजा भनिन्छ । जुन पूजाका लागि घरमा पहिलेदेखि नै पितृहरुका नाममा पितर स चढाउनका लागि जाँड बनाएर राखिन्छ । करिब एक बर्ष अगाडीदेखि पितरहरुका नाममा चल्लालाई उठाएर पाल्ने गरिन्छ जसलाई मगर खाममा पितर बाँदा भनिन्छ । पितर (पुर्खा÷पितृ) पूजालाई स्थानिय मगर खाममा (पितर बाँदा ख्याने) भनिन्छ । घरको अनुकुलता अनुसार सकिएमा वर्षको दुई पटक जेठाँसी पुन्नी र मंसिरे पुन्नीमा पितर बाँदा फालिन्छ भने नसकिएमा कम्तिमा वर्षको एकचोटी भने गर्नु नै पर्ने अनिवार्य जस्तै मानिन्छ । यो पूजा ठाँउअनुसार कसैले जेठाँसी पुन्नीमा मात्रै कसैले मंसिरे पुन्नीमा, कसैले (दवारा) तिहारको औंशीमा त कसैले माघे सकराती वा माघ महिनाको कुनै पनि बिहिबारका दिनमा भएपनि वर्षको एकचोटी पितर पूजा गर्ने गरिएको पाइन्छ ।

रोल्पा रुकुमका प्राय गाउँ तथा बाटोहरुमा यस्ता विसौनाहरु थुप्रै देख्न पाइन्छ । जुन विसौनालाई मगरहरुले पवित्र ठाँउको रुपमा मानी पितृहरुको आस्था र मान राख्ने थलोका रुपमा पनि पुज्ने गर्दछन् । तरपनि हाल देशमा भएको सशस्त्र जनयुद्धका कारण यो क्रम अनियमित भई कसै कसैले पूजा गर्न नै विर्सिसकेको पनि पाइन्छ भने अहिलेको आधुनिक जमानासँगै आफुलाई आधुनिक ठान्नेहरुले यो बाजे बज्यैले गर्दै आएको रुढीवादी परम्परा हो भनेर पूजा नगर्ने गरेकाले चित्त दुख्ने र आफुलाई जन्म दिने आमा बुवाको मानै नराखेको पुर्खाको अपमान गरेकाले चित्त दुख्ने गरेको स्थानियले बताउछन् । कसैले बसाई सराईका कारणले अरुको समाजमा गएपछि पूजा गर्ने अनुकुल ठाँउ, सामग्रीको अभाव तथा अन्य समाजको प्रभावले यो पितर पूजा गर्ने नगरेको पाइन्छ । भने गाँउमै रहेका मगरहरु पनि सडक निर्माण र विस्तारका कारण बाटोमा रहेका उहिले देखिका पुर्खाहरुका नाममा बनाईएका कयौं विसौनाहरु पूजा गर्ने थानहरु डोजरले भत्काईएको ले गर्दा पनि पितर पूजा गर्ने नगरेको बताउछन् भने कसैले त्यो भत्कीएको थानको ढुङ्गा खोजेर ल्याई घरनजिकै राखी पितर पुृजा गर्ने गरेको बताउँछन् ।

हरेक औसी पुन्नी, चाडपर्व, घरमा गरिने हरेक उत्सब (विवाह, न्वारन) लगायत परपाहुना आउँदा, चेलीवेटी माईत आउदा जहिले पनि आफुले खानुभन्दा अगाडि चुलोको माथी बनाइएको बारमा पितर स चढाएर मात्रै खाने गरिन्छ । हरेक चाड पर्वमा आफ्नो सन्तानको सबैभन्दा वर्षले जेठो लोग्ने मान्छेलाई एक बोटल रक्सी, मासु र रोटी लगेर कुलको जेष्ठ व्यक्तिलाई मान राख्ने चलन पनि मगर समाजमा रहेको पाइन्छ । जसलाई स्थानिय मगर खाम –भाषा) मा पितर स÷लिस भन्ने गरिन्छ ।

४.१. पूजा गरिने पितरहरु
पितर पूजा गर्दा ठाँउ र चलन अनुसार पितरहरुको विभिन्न प्रकारहरु रहेता पनि प्राय गरी निम्न प्रकारका पितरहरुलाई मानी एकै चोती पूजा गर्ने गरिएको पाइन्छ ।

१. पुर्खा पितर
क) साखा पितर (जिजु भन्दा अगाडीका साखा पुर्खाहरु)
ख) देउ पितर (परिवारमा मानिने देउताहरु बाह्र भाई बराहा, एक्ले सिद्ध, काला सिद्ध आदि)
ग) कुल पितर (आफ्नो चुलाका थाहा पाईए सम्मका जिजु बाजेको नाम लिई अन्तिम मृत्यू भएको व्यक्तिको नाममा पु¥याएर थकानिने)
२. मुथुङ पितर (भर्खरै बितेको घरको बुवा आमा, बाजे बजै वा नजिकको नाता)
३. झाँक्री पितर (घरका वा सन्तानमा वितेका झाँक्री नभएमा धङस्याल झाँक्री)
४.२. पूजाका लागि चाहिने आवश्यक सामग्री ः
पितर पूजा गर्नका लागि सरी स्याउला, फादुला, धजा, धुप, तिते पाती, अछेता (चामल), कमेरो, गोबर, रुना (तामाको टुक्रां) भाले, रोटी, रक्सी वा जाँड, रिस (चोखो पानी) आदि सामग्री आवश्यक पर्ने गरेको पाइन्छ ।



४.३. पूजाको विधि
मगर जातिमा आफ्ना बुवा आमा, बाजे बजै, जिजु जिजुनी र उहाँहरु भन्दा अगाडी देखिका आफ्ना पुर्खाहरु बिते पश्चात उनीहरुको नाममा निश्चित तोकिएको थर अनुसार रोका थर, वुढा थर, घर्ती थर र पुन थरको ठाँउमा विभिन्न विधि पु¥याएर विसौना बनाउने चलन रहेको पाइन्छ । विसौनामा लाकुरी, पिपल र ओखर जस्ता रुख रोप्ने गरिएको पनि पाइन्छ । जुन विसौनामा घरका पितरहरुका नाममा छुत्ता छुत्तै थान पनि बनाईएको पाइन्छ । जुन सन्तानका सबैभन्दा जेठो पाको व्याक्तिले पूजा गर्ने गरिएको पाइन्छ । जुन पूजा गर्ने पूजारुले पूजा गर्नुभन्दा केही दिन देखी बितालो नखाएर चोखो बस्नु पर्दछ, भने पूजा गर्ने पुन्निको अगिल्लो दिनमा नुन समेत नखाई चोखो बस्नु पर्ने हुन्छ । पितर पूजा गर्ने वाला घरमा पनि पूजाको अगिल्लो साँझ रोटी बनाएर नुन बिनाको खानेकुरा खाएर घरमा गोबर र तितेपतीले चोखो बनाउनु पर्ने हुन्छ । पूजाको दिन बिहान घरमा धुप हालेर गाँउका प्राय सबै मानिसहरु विसौनामा जम्मा हुन्छन् ।

त्यसपछि विसौना थान सफा गर्ने गोबर र तितेपातीले चोख्याउने गरिन्छ । त्यस पछि शुरुमा देउपितर लाई पूजा गर्ने गरिन्छ । जसलाई एकदमै चोखो बनाएर थानमा तितेपातीको हाँगा गाडेर त्यसमा धजा झुण्डयाउने गरिन्छ । त्यसपछि अछेता चारैतिर फालेर पूजारुले देउपितरका लागि (स्थानिय मगर खाममा पर्मैन्या) भनिने मन्त्र भन्दै भाले हातमा लिएर सबै देउपितर दाइनो हुनु, हामी सबैलाई रक्षा गर्नु, आँटेको पुरा गरिदिनु आदि कुराहरु भन्दै तितेपाती (रिस) पानीमा डुबाउदै भालेको टाउकोमा छ्यापीदिने गर्दछन् । भालेले टाउको हल्लाएर पानी फालेमा देउपितरले मान्यो भनि थानमा कातिन्छ । भालेको टाउको थानमै राखिन्छ । यसरी अन्य साखा पितर, कुल पितर र मुथुङ पितरको लागि पनि आफुले ल्याएका रोटी, रक्सी, रुना, थानमा चढाएर तितेपातीमा धजा झुण्डयाएर प्रत्येकको लागि फरक फरक थानमा एउटा एउटा भालेलाई सबै साखा पुर्खा पितरहरु, कुल पितरहरु, मुथुङ पितरहरु दाइनो हुनु, तिम्रो नाम जोवनाम गरिदिईम, हाम्रो रक्षा गर्नु, आदि आदि कुराहरु भन्दै थानमा पूजा गरी सबै भालेका टाउको थानमै चढाउने गरिएको पाइन्छ भने झाँक्री पितरका लागि फादुलाको हाँगामा धजा टङग्याएर थानमा कमेरो घसेर रक्सीले साकासक फाली रक्सी, रोटी चढाएर मन्त्र गरी भालेले भोक दिएर पूजा गर्ने गरिएको पाइन्छ ।

अन्तमा थानको ढुङ्गामा गोबर राखेर पूजा गरिएका भालेको पखेताको प्वाँख निकाली गोबरमा कलात्मक तरिकाले प्वाँख गाडेर पूmलको आकृति जस्तै बनाउने गरिएको पाइन्छ । पूजा गरिएका भालेहरु त्यही विसौनामा पोलेर पूजारुले भालेको मुटुले साका सक फाली थानमा चढाए पछि बल्ल त्यस थानमा चढाईएका रोटी, रक्सी तथा भालेको टाउको उकासेर ल्याउने गरेको पाइन्छ । त्यसपछि सबै जना चढाईएका खानेकुराहरु बाँधेर खाने गरेको पाइन्छ । यसरी पितर पूजाको समाप्ती पछि घरमा आएर ती सन्तानका उमेरले जेठो रहेको मानिसलाई पितर स लगीदिने चलन पनि रहेको पाइन्छ ।

५. निष्कर्ष
पितर पूजा मगर जातिमा गरिने एउटा मौलिक पूजा हो । यो पूजा मगराँत गाँउहरुमा पुर्खौ देखि गर्दै आएको पाइन्छ । यो पितर पूजा गरिरहे पछि यात्रा सफल हुने, अनबर, धनबर पाईने, व्यापार फलदायी हुने देउपितर लाई सम्झेर आत्मबल बलियो भएको महसुस हुने जस्ता विश्वास गर्ने गरेको पाइन्छ । भने पितर पूजा नगरेमा देउपितर शान्त नगरेमा पितर रिसाउने, छल गर्ने, बनोबल उच्च नहुने भएकाले आफुले गर्न लागेका हरेक कामहरुमा सफलता पाउन गाह्रो हुन्छ भन्ने भनाई रहेको पाइन्छ ।

पितर पूजाले आफुलाई जन्म दिने पुर्खाहरुको सम्मान गर्ने, गोत्रको पहिचान गर्ने, दाजुभााई तथा दिदि बहिनिहरुमा आपसी सम्बन्ध गाढा राख्ने, आफुभन्दा ठूलोलाई मान राख्ने, पुरानो पुस्ता र नयाँ पुस्तालाई समायोजन गर्ने आदि संस्कारको विकास पनि गरेको पाइन्छ । यसरी मगर जातिमा पितर पूजा पुर्खौदेखि गर्दै आएको भएतापनि बिशेषत देशमा भएको सशस्त्र द्वन्द, बसाई सराई, आधुनिकतासँगै विश्वव्यापीकरण जस्ता विभिन्न कारणहरुले गर्दा अहिलेको नयाँ पुस्तामा संस्कार हस्तान्तरण हुन नसकी यो पितर पूजा गर्ने मगर संस्कार पनि लोप हुँदै जाने खतरामा रहेको पाइन्छ ।

परापूर्वकालमा नेपालका मगरहरुको एकै किसिमका भाषा संस्कृति रहेको भएतापनि समयको गतिसँगै बसोवासको क्रममा देशको विभिन्न भागहरुमा छरीएर बसोबास भएकाले मगर जातिभित्र भाषिक साँस्कृतिक रुपमा केही विविधता रहेको पाइन्छ । मानिस बाँच्नका लागि जुन ठाँउमा वसोवास गरिएको छ त्यस ठाउँको पर्यावरणसँग आफुलाई अनुकुलन गर्दै बाँच्नु पर्ने भएकाले मगरहरुको कयौ मौलिक संस्कारहरु लोप भएको पाइन्छ ।

केही संस्कारहरु परिमार्जन गर्दै मनाइएको पनि पाइन्छ भने केही कुनाकानीका मगर गाँउहरुमा बचेका मगर संस्कारहरु पनि लोप हुँदै जाने खतरामा रहेको पाइन्छ । त्यही भएर नेपालका सम्पुर्ण मगरहरुले यो पितर पूजा केही न केही रुपमा पितरकै पूजा गर्ने गरेता पनि ठाँउ अनुसार, चलन अनुुुसार फरक नामले पुकार्ने, फरक समयमा गर्ने र फरक फरक सामग्रीको प्रयोग गरीे पितरहरुलाई पुज्ने कार्य भएकाले कोई कोई मगरहरुले हामीले गर्दैनौ, हामीले अर्कै पूजा गर्छौ, हामी त अर्कै हौं भन्ने खालका आफुलाई पृथक देखाउने कामले पनि हामी मगरहरु बीच साँस्कृतिक एकता हुन नसकिरहेको अवस्था छ ।

त्यसैले यी र यस्ता मगराँत संस्कारहरुको खोज तथा अनुसन्धान गरी मुख्य जरा कुन हो ? कसरी गरिन्छ ? भनि सिद्धान्तको खोजी गर्नु पर्ने आबश्यकता छ । अन्यथा मगरहरुको संस्कार हराउँछ त्यसपछी संस्कृति हराउदै भाषा हराउछ र अन्तमा जाति नै हराएर लोप हुने अवस्थामा पुग्न सक्ने खतरा पनि हुन सक्दछ । त्यसैले मगराँत मौलिक संस्कारको संरक्षण, र संस्थागत विकासका लागि राज्यको उपयुक्त नीति तथा कार्यन्वयनको खाँचो रहेको छ भने सम्बन्धित समुदायका सरोकारवालाहरुको ध्यान जान पनि जरुरी देखिन्छ ।

सन्दर्भ सामग्रीहरुः
घर्तीमगर, बलबहादुर, २०७१. मगर संस्कार, रोल्पाः आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् ।
बरालमगर, केशरजङग, २०६८. पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति, दोस्रो संस्करण, काठमाडौंः अस्मिता बुक्स पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स (प्रा) लि. ।
सिङ्जाली विष्णुकुमार, २०७१. आदिवासी मगरका विविध पक्षहरु, काठमाडौंः मगर अध्ययन केन्द्र ।
हिच्कक, जोन टी. (१९७०) द मगर्स अफ बनयान हिल्, न्यू हिलः हल्ट रिन्जर्ट एण्ड विन्स्टन ।
धधध।अदक।नयख।लउ
सुचनादाताहरु:
थबाङ २ रोल्पाका वर्ष ५८ का सत्यप्रसाद वुढामगर (मिति २०७२ असार २४ गते)
मिरुल ५ रोल्पाका वर्ष ६८ का पूजारी सर्बै रोकमगर (मिति २०७१ चैत्र २८ गते)
घोराही ६ दाङका वर्ष ३९ का भु.पु. आर्मी विपिन रोकामगर (मिति २०७२ कात्तिक २३ गते)
मिरुल ५ रोल्पाका वर्ष ५४ का गोविन्द झाँक्रीमगर (मिति २०७२ कात्तिक ७ गते)
थबाङ २ रोल्पाका वर्ष ७० का पूजारी दयाजी रोकामगर (मिति २०७२ असार २८ गते)
थबाङ ४ रोल्पाका वर्ष ४८ का भद्र झाँक्रीमगर (मिति २०७२ असार २४ गते)
मिरुल ५ रोल्पाका वर्ष ६८ का पूजारी लहरबहादुर झाँक्रीमगर (मिति २०७२ कात्तिक ६ गते)
मिरुल ५ रोल्पाका वर्ष ७० का लालबहादुर झाँक्रीमगर (मिति २०७२ कात्तिक ६ गते)
मिरुल ५ रोल्पाका वर्ष ३४ का दिपेन्द्र वुढामगर (मिति २०७२ मंसिर २४ गते)
अनुसुची – १
शब्दावली
पुन्नी = पूर्णिमा
रुना = तामाको पैसा
लिस = पूजाआजा गर्दा, पितर स सँग दिईने रक्सी जो पहिले पहिले बाँसको भाँडामा राखी शुद्धकार्यका लागि प्रयोग गरिन्छ ।
रिस = पूजाआजामा बलि दिँदा पशुपँछीलाई पर्सिने÷छकिर्ने शुद्ध पानि

फोटोः बलबहादुर घर्तीमगर

Bishnukumar Sinjali

राम्रो जानकारीमुलक लेख । अध्येतालाई धन्यवाद ! मगर संस्कार र संस्कृतिमा, मगरले दुईवटा कुरालाई प्राथमिकता दिएको पाइन्छ (१) पितृहरुलाई (२) प्रकृतिलाई । मगरको पुजाआजाको संस्कृति यहि दर्शनमा आधारित छ । हुनसक्छ ठाउँअनुसार, यसमा केही सामान्य फरकपन । तर, पनि आधारभुत दर्शन एउटै हुन्छ । यहि कुरालाई बुझ्नको लागि क्रस कल्चरल अध्ययनको लागि यो लेख उपयोगी छ । अझ, मगरहरुको अरु संस्कृति बारेमा पनि लेखकबाट आओस भन्ने आशा गर्दछु ।

 

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...