Wednesday, December 09, 2020

यो ‘ब्राह्मणवादी पितृसत्ता’को समय हो!

 यो ‘ब्राह्मणवादी पितृसत्ता’को समय हो!

पुष्पा पौडेल

यो ब्राम्हणवादी पित्तृसत्ताले हो जसले महिलालाई पुरुषको ‘भोग्य’, दलित महिलालाई त वस्तु भन्दा तल राखेर व्यवहार गर्छ । र, भन्छ– महिला भएर प्रेम गर्नु बर्जित छ ! 

गएको असोजको एक दिन । काठमाडौंको लामाटार । नीलो आकाशमा कहीं कतै बादल थिएन । उत्तरमा पूरै हिमाल देखिरहेका भए पनि जति दिन छिप्पिंदै गयो त्यति नै गर्मी बढ्दै थियो । यो दिन खास्सा थियो, धान काट्नलाई ।

 खेतमा पर्म तिर्ने गरेर खेताला जम्मा भएका थिए । छुट्टीको दिन भएकाले म पनि धान खेतमा सघाइटोपल्न गएँ । म कामभन्दा बढी त्यहाँ भइरहेको कुराकानीमा चाख दिइरहेको थिएँ । दुःख, गाईवस्तुदेखि पाठेघर, महिलाको स्वास्थ्य, गर्भ निरोधक साधन, पुरुष आदि विविध विषयमा गफ चल्दैथियो । बेला–बेलामा गफ चर्का–चर्कीमा बदलिन्थ्यो । महिलाको यो हूलमा सबै उच्च जातीय हिन्दू थिए।

 त्यहाँ भर्खरै स्थायी बन्ध्याकरण गरेकी एक महिला पनि थिइन् । उनीबारे अर्की महिलाले विशेष चासो देखाइन् र प्रश्न सोझ्याइन्, “तिम्रा श्रीमान् खाइलाग्दा, तगडा छन् त, किन उनैले बन्ध्याकरण गरेनन् ?” एकछिन वातावरण शून्य भयो । 

 अनि ती महिला गर्जेर भन्न थालिन्, “मेरो मर्जी !”

 त्यसपछि जवाफमा उनले जे भनिन्, त्यो सुन्नलायक थियो । पुरुषले स्थायी बन्ध्याकरण गरेमा उनीहरूलाई निकै समस्या हुने, यहाँसम्म कि कतिपय अवस्थामा जीवनभर हिंड्नेडुल्ने गर्न पनि नसक्ने भएकाले महिलाले बन्ध्याकरण गर्नु नै उपर्युक्त हुने उनको तर्क थियो ।

 ‘पुरुषहरूको शक्ति अण्डकोषमा निहित हुने भएकाले आफ्ना श्रीमानको पनि शक्ति क्षीण हुन नदिन, शारीरिक हिफाजतका लागि पनि आफूले नै यसो गरेको र सहन शक्ति बढी हुने हुनाले पनि यो प्रक्रियामा महिला नै अघि सर्नुपर्ने’ ति महिलाको थप जोड थियो ।

 ति महिलाले आफ्नो ‘ज्ञान’को स्रोत बताइनन् न उपस्थित अरुले नै त्यसको खण्डन गरे ।

 मलाई लाग्यो– उच्च जातीय पुरुषत्वको हिफाजत महिलाले आफ्नो शरीरको बाजी थापेर भए पनि गर्नुपर्ने पितृसत्ताको यो बलियो उदाहरण हो ।

 दक्षिण एशियाली समाजमा यी र यस्तै पुरुषत्व, मर्दाङ्गीको रक्षा गर्ने सोच, व्यवहारलाई भारतिय इतिहासकार उमा चक्रवर्तीले ‘ब्राह्मणवादी पितृसत्ता’ को नाम दिएकी छिन् । ब्राह्मणवादी पितृसत्ता जातीय र लैङ्गिक व्यवस्थाको यस्तो गठजोड हो जुन हिन्दू बाहेक अन्य समाजमा पाइँदैन।

 ब्राह्मणवादी पितृसत्ताले कुन जातजातिकी महिला कतिसम्म शोषित हुने/नहुने र कुन जातजातिका पुरुषको शक्ति कति हुने कुराको पनि निर्धारण गर्दछ । कुन महिलाको शरीर कति पवित्र र ‘भोग्य’ हुने जस्ता शरीरमाथिको नियन्त्रण यो व्यवस्थाको कसी हो। यो पित्तृसत्ताले विवाहमा अनेक नियम मात्र होइन प्रेममाथि नै बन्देज लगाउँछ । 

 डा.भीमराव अम्बेडकरले भने झैं सजातीय विवाहको व्यवस्था जातीय समाजको उपज हो भने ब्राह्मणवादी पितृसत्ता यसको रक्षक। 

 यहाँ अम्बेडकरको प्रसंग किन पनि भने, दलित अधिकारकर्मी र अभियन्ताले मात्र होइन, महिलावादी आन्दोलनका लागि पनि अम्बेडकर बिर्सने नहुने नाम हुन् । अमेरिका र बेलायतमा बसेर उच्चशिक्षा हासिल गरेको कारण पनि हुनुपर्छ, अम्बेडकरमा महिलालाई हेर्ने दृष्टिकोण उदार र स्पष्ट थियो । कतिपयले त उनलाई महिलावादी समेत भनेका छन् ।

 अम्बेडकरलाई यसो भनिनुमा ‘हिन्दु कोड बिल’ प्रमुख आधार हो । ११ अप्रिल १९४७ मा स्वतन्त्र भारतको पहिलो कानूनमन्त्रीको हैसियतमा अम्बेडकरले यो विधेयकलाई संसदमा प्रस्तुत गरेका थिए, जसमा हिन्दु महिलाका लागि सम्बन्धविच्छेद, विधवा विवाह, पुरुष बराबरको सम्पतिको हकलगायतको व्यवस्था गरिएको थियो ।

 तर, कट्टर हिन्दु समुदायलाई यो सैह्य भएन । चौतर्फी विरोध प्रदर्शन हुन थाल्यो । आसन्न निर्वाचनका कारण पनि जवाहरलाल नेहरू नेतृत्वको सरकारले विधेयक संसदबाट फिर्ता लिन बाध्य भयो।

 भारतीय संविधानका प्रमुख मस्यौदाकारसमेत रहेका अम्बेडकर आफूले संविधानभन्दा भन्दा पनि हिन्दु कोड बिल पारित गराउनुमा बढी खुशी महशुस गर्ने बताउँथे। संसदबाट यो विधेयक फिर्ता भएलगत्तै नैतिकताका आधारमा उनले कानून मन्त्री पदबाट राजीनामा दिए । 

 सुनियोजित सत्ता–त्रासदी 

धेरैलाई ब्राह्मणवादी पितृसत्ता सुन्दै असजिलो लाग्नेगर्छ । जातको विरोधलाई जातिय गालीकै अर्थमा पनि कतिपयले बुझ्ने र प्रतिप्रश्न गर्ने गरेका छन् । भारतमा दुई वर्ष अघि ट्वीटरका प्रमुख कार्यकारी निर्देशक ज्याक डोरसेले ‘ब्राह्मणवादी पितृसत्तालाई खत्तम गरौं’ भनेर लेखेकै हुनाले ठूलै खप्की खानुपरेको थियो।

 हामीकहाँ पनि करीब दुई महीनाअघि ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रममा अभियन्ता सरिता परियारले यो शब्द प्रयोग गरेकी थिइन् । जात व्यवस्था सम्बन्धी परियारको गहिरो विश्लेषण सुन्नु भन्दा पनि ब्राह्मणवादी पितृसत्ता शब्दको प्रयोगले सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चियो। हुँदाहुँदा कार्यक्रमलाई आर्थिक सहयोग गर्ने दातृ संस्थासँग धार्मिक ध्येय जोड्दै कार्यक्रम प्रस्तोता चर्चित अभिनेता राजेश हमालसम्मको नियतमा प्रश्न उठ्न थाल्यो । कार्यक्रम उत्पादक संस्था समता फाउन्डेशनले विज्ञप्ति नै निकाल्नुपर्यो‍ ।

स्वभाविक थियो, ‘जातको प्रश्न’मा प्रश्न उठाउनेहरू अधिकांश उच्च जातका पुरुषहरू नै थिए । र, यो विरोधले ब्राह्मणवादी पितृसत्ताको अर्थ र अभिष्ट छर्लङ पारेको थियो । कार्यक्रममा परियारले भनेझैं कुनै खास किसिमको ज्ञानलाई मात्र स्वीकार्ने बानी परेको उच्च जातीय पुरुषहरूलाई आफ्नो जात र त्यसले दिएको अथाह शक्ति माथिको प्रश्न असह्य भएको हुनुपर्दछ ।

 सदियौंदेखि दबाउन बानी परेकाहरूलाई जात व्यवस्थावाट पीडितहरूको कथामा सहानुभूतिका हिसाबले आक्रोश पोख्ने तर दलितका विषयमा सशक्त बोल्ने अभियन्तालाई लाञ्छना लगाउने प्रक्रिया पनि ब्राह्मणवादी पितृसत्तात्मक सोच नै हो। हरेक महिलालाई निश्चित घेरामा राख्न चाहनेहरूको हाम्रो समाजमा दलित महिलाको आवाज झनैं ‘कर्णकटु’ लाग्नेगर्छ। यूट्यूबका टिप्पणी कार्यक्रम प्रस्तोताको तारिफ, दलित समुदायका नाम चलेका कलाकारलाई ल्याउनुपर्ने सल्लाहले भरिएका छन् । यो विषयान्तरणले दलित समुदायको संघर्षलाई अझै उही घेरामा सीमित गरिदिएको छ ।

 दलित महिलाको उत्पीडन र विद्रोहको कथा लेख्न सक्ने हैसियत, आँट र अधिकार यो पङ्तिकारसँग छैन् तर उच्च जातीय महिलाका माझ कसरी ब्राह्मणवादी पितृसत्ताले काम गर्छ भन्ने केही उदाहरण प्रस्तुत गर्न चाहन्छु ।

 महात्म्यको २९, ३० अध्यायमा महिला कस्तो हुनुपर्छ, के गर्नुहुन्छ, हुँदैन भन्ने बारे लेखिएको रहेछ । ‘पतिसँग हँ गरेर बोल्ने नारी अर्को जन्ममा लाटी हुन्छे, पतिसँग झगडा गर्ने नारी अर्को जन्ममा विधवा हुन्छे...’ म जति जति पढ्दै गएँ, कन्सिरीका रौं उति उति तातिन थाले । तर, मैले पढ्न छोडिनँ।

असोजकै अर्को एक दिन म घरमा हजुरआमासँग एक्लै थिएँ । मलमासको समय थियो । बिहान–बिहान हजुरआमालाई ‘पुरुषोत्तम महात्म्य’ सुन्नुपर्ने रहेछ । महात्म्यको त्यो पुस्तक संस्कृत र नेपाली दुवै भाषामा लेखिएको थियो । एकपटक संस्कृतमा पढेर म नेपाली अर्थ भन्न थालें ।

 महात्म्यको २९, ३० अध्यायमा महिला कस्तो हुनुपर्छ, के गर्नुहुन्छ, हुँदैन भन्ने बारे लेखिएको रहेछ । ‘पतिसँग हँ गरेर बोल्ने नारी अर्को जन्ममा लाटी हुन्छे, पतिसँग झगडा गर्ने नारी अर्को जन्ममा विधवा हुन्छे...’ म जति जति पढ्दै गएँ, कन्सिरीका रौं उति उति तातिन थाले । तर, मैले पढ्न छोडिनँ । त्यहाँ त महिलाले हेर्दा, हाँस्दा, बोल्दा, हिंड्दा के, कसो गर्नुपर्छ, पुरुषका लागि गर्नुपर्ने कार्यसूचीदेखि विधवा महिलाको हैसियत सम्बन्धी नियम, नियम नमानेमा हुने दण्ड सबै स्पष्ट लेखिएका रहेछन् । दण्ड नियम अधिकांश अर्को जन्मका सजायमा आधारित थिए । 

 हुन त हाम्रा हजुरआमा पुस्ता बाहेकले यस्ता पुराण विरलै सुन्छन् होला तर यो पढिसक्दा दुई कुरा मस्तिष्कमा आए । एकातिर हिन्दू उच्च जातका महिलालाई हदैसम्मको अनुशासनमा रहनुपर्ने, महिला हुनुको अर्थ नै पुरुषमा निहित हुने, उनीहरूको जीवन पतिसेवामा समर्पित हुनुपर्ने नियम बनाइएका छन् भने अर्कातर्फ यी महिला बाहेकका अन्य महिलाहरूलाई (दलित/जनजाति) ‘मानिस’ हुन् भन्ने आभाससम्म दिलाउन नखोज्ने प्रवृत्ति छ ।

 ब्राम्हणवादी पितृसत्तामा ‘भोग्य’ ठानिने दलित महिलालाई वस्तुभन्दा पनि तल्लो तहमा राखिन्छ । यसो गर्नाले एकसाथ तीन उद्देश्य पूरा हुन्छ । पहिलो दलित र जनजाति महिला मात्र नभई सबै महिलाको शरीरमाथि नियन्त्रण, दोस्रो आफ्नो स्थानमा नबसे दलित महिला जस्तै भोग्नुपर्ने नियतिको त्रास अनि तेस्रो महिलाको सामूहिक एकता बन्न नदिने आधार ।

 यी तीन डरको खेल ब्राह्मणवादी पितृसत्ताको महत्वपूर्ण हत्कण्डा हुन् । महिला मात्र नभई उपेक्षित सबैलाई एक ठाउँमा आउन नदिने र तहतहमा विभाजित गर्ने कार्यले व्यवस्थामाथि चुनौती दिन नसकिने आधार जात व्यवस्थाले बनाएको हुन्छ । कथं यो व्यवस्थालाई प्रश्न मात्र गरे पनि भोग्नुपर्ने नियति यति कठोर हुन्छ कि यस्तो आँटलाई जरोकिलो उखेलिने गरी भताभुङ्ग पारिन्छ ।

 यसरी ब्राह्मणवादी पितृसत्ताले यसरी सुगठित रूपमा एकै तीरले धेरै निशाना लगाउँछ । नेपालको सन्दर्भमा त संरचनात्मक अनि कानूनकै रूपमा लादिएको यो गठजोडलाई भत्काउन ठूलै कसरतले पनि नभ्याउने देखिन्छ । 

 प्रतिरोधकै हत्या !

अझै पनि अजित मिजार, नवराज विकहरूको ज्यान जातकै कारण गइरहेको छ । यस्ता घटनाको त्रासदी दलित समुदायमा मात्र होइन, सम्पूर्ण समाजमा बृहत् र मिहिन दुवै प्रकारले परेको छ ।

जस्तो कि, रुकुम घटनालगत्तै मेरी बहिनी पर्ने एक युवतीले आफ्नो प्रेमीको नियति नवराज विकको झैं नहोस् भनेर प्रेमको तिलाञ्जली दिइन । प्रतिरोधको शुरुआत गर्नै आँटेकी ती बहिनी हत्यासम्म उत्रने समाजको चरित्र देखेपछि नराम्ररी तर्सिइन् ।

 जातीय समाजले ‘चोखो’ राखेको उच्च जातका महिलाको शरीर विवाहपछि मात्र सार्थक भएको ठहरिन्छ । जस्तो कि, मेरै घर छिमेकमा तीस वर्ष टेकिसकेकी अविवाहितलाई ‘कन्या केटी’ को दर्जामा राखेर दशैंको टीका पहिले लाइन्छ ।

 यसो गरिनु घुमाउरो हिसाबमा महिलाको शरीरमा शुद्धताको नाममा नियन्त्रण गरिरहनु हो । उच्च जातका पुरुषका लागि यसरी शुद्ध राखिएको शरीरमा दलित पुरुषले प्रेम पर्नु मात्र पनि पुरुषत्वमा प्रश्नचिह्न तेस्र्याउनु हो भन्ने बुझाइ नै रुकुम घटनाको जड हो । र यसको कारण ब्राह्मणवादी पितृसत्ता नै हो ।

अम्बेडकरले यो जात व्यवस्था चिर्न ‘शिक्षित हुनु, सङ्गठित हुनु र संघर्ष गर्नु’ भनेका छन् । र, यसो गरिनु दलित समुदाय मात्र नभई, हरेक समुदायका महिला मुक्तिका लागि पनि अत्यन्तै आवश्यक छ । विभाजन गरेर शक्ति केन्द्रीकृत गर्ने ब्राह्मणवादी पितृसत्ताको विरुद्ध जुट्न अम्बेडकरको यो रणनीति महत्वपूर्ण शुरूआत हो ।

(पौडेल मानवशास्त्रकी विद्यार्थी हुन्।)

सामग्री : https://www.himalkhabar.com/news/121197 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...