Thursday, January 05, 2023

विक्रमशील महाविहार र ठमेलको इतिहास

 



विक्रमशील महाविहार र ठमेलको इतिहास

भागवतनरसिंह प्रधान

शिलापत्र,| आइतबार, पुस १७, २०७९

काठमाडौं महानगरपालिका– २९ठमेलको सञ्चय कोष केन्द्रीय कार्यालय र अस्कल क्याम्पस बाटोको पश्चिममा अवस्थित विक्रमशील महाविहार काठमाडौं उपत्यकाको अति प्राचीन् विहारमध्ये गणनामा आउँछ । उपत्यकाको सबैभन्दा पुरानो विहार साँखुको वज्रयोगिनी आसपासमा रहेको गुँ विहार मानिन्छ । विक्रमशील महाविहारको पुरानो भग्नावशेष ठमेल गल्कोपाखा सामाखुसीबाट ब्रिटिस चिहानको पश्चिम सानो बाटिकामा अहिलेसम्म पनि उपलब्ध छ । यहाँस्थित पुरानो विक्रमशील महाविहारलाई सामाखुसीको किनारमा रहेकाले यसलाई सामावही भन्ने चलन थियो ।

सामाखुसीआसपास हर साल सानो तिनो बाढी आइरहनाले यसलाई ठमेलको हारांम्ह म्ह्या मचा: भनेर जानिन्छ अर्थात् चुलबुले पुरानो सामावही सामाखुसीको बाढीले, भूकम्प वा आगजनीले ध्वस्त भएपछि स्थानान्तरण गरी उच्च भू-भाग हालको विक्रमशील महाविहारको दक्षिण-पश्चिम भागमा बनाइयो । यसको उदाहरण हो, स्व इन्जिनियर रमेशचन्द्रलाल प्रधानको घर निर्माणको सिलसिलामा जग खन्दा जमिनमुनि भेटिएका ठूलाठूला जग ।

विहारभित्रको विद्यालय बनाउने क्रममा जग खन्दा ११औँ शताब्दीभन्दा पुरानो अनुमान गर्न सकिने इँटा पाइएको थियो । त्यो जग अहिलेको भन्दा पुरानो विक्रमशील महाविहारको हो । हालसम्म पनि विहारको सालिन्दा खड्ग जात्रा र चकै द्य जात्रा यही विहारको भग्नावशेष ढोकाबाट भित्रबाहिर गर्ने चलन छ ।

वि.सं. १५८२ मा पाल्पाका राजा मुकुन्द सेनले उपत्यकामा हमला गरी शहरभन्दा उत्तरतिरको ठमेलमा आगो लगाएका थिए । यसभन्दा अगाडि ने.सं. ४७० मार्गकृष्ण तृतीयाका दिन शामसुद्दीन सुल्तानले नेपाल जितेर पशुपति, स्वयम्भू, भादगाउँ, पाटन, यङ्गल, काठमाडौं शहरको दक्षिण भाग यङ्गाल (काठमाडौं शहरको उत्तर भाग) मा आगो लगाएका थिए । तिब्बती इतिहासमा पनि विक्रमशील महाविहार आगोले ध्वस्त भएको भनी वर्णन गरिएको छ । हालको विक्रमशील महाविहारको भौतिक संरचना तेस्रो हो ।

मल्ल राजा प्रताप मल्लले आफू स्वयम् आई यहाँ भएको सुनको अक्षर लिखित शतसाहस्रिका प्रज्ञा पारमिता दर्शन गरी प्रज्ञा पारमिताको महिमासहित कविता रचेका थिए ।  यो स्वर्ण अक्षर प्रज्ञा पारमिता संवत् ३४४ मा पण्डित जीन श्रीले लेखेको उल्लिखित छ ।  

यस विक्रमशील महाविहारको प्रचलित नेवारी नाम हो– थैं वहि । तर, यसको खास नाम थैं बहिल हो । यो नाम दुई अर्थमा आउँछ । या त कान्तिपुरको सबैभन्दा पुरानो बहिल या सबैभन्दा उत्तरको । काठमाडौं उपत्यकाको योभन्दा उत्तरमा कुनै विहार वा बहिल छैन । यो विहार कान्तिपुरको उत्तरी माथिल्लो भेगमा पर्ने हुँदा थ बहिल भनिएको हो । थैं शब्दले नेवारी भाषामा माथिल्लो तथा ज्येष्ठताको अर्थ दिन्छ । यसै विहारको नामबाट यस विहार क्षेत्रको नाम थैं बहिल रहन गएको हो । काठमाडौंमा धेरै यस्ता स्थानहरू छन्, जसको नाम विहारको नामबाट राखिएका छन् । उदाहरणका रूपमा यट्खा बहाल, जनबहाल, क्वा: बहाल आदि । थैं बहिलबाट थँ वहि भएको हो । थै वहिबाट ठमेल भयो ।  

कुनै पनि विहार अथवा बहिलको संस्कृत नामकरण गरिएको हुन्छ । त्यस्तै, यो विहारको संस्कृत नाम हो सिंहकल्प नगर । तर, यस विहारलाई राज विहार तथा धर्मधातु विहारबाट पनि चिनिन्छ । भारतमा धर्मधातु विहार नामले प्रचलित छ ।

विक्रमशील महाविहार पुरानो भइकन यसको प्रमाणित ऐतिहासिक तथ्य हालसम्म पनि प्राप्त हुन सकेको छैन । तर, यसको प्राप्त भौतिक अवशेषले यो प्राचीन धरोहर भन्ने प्रमाणित गर्दछ । कारण, लिच्छविकालीन अवशेषहरू यस विहारका वरिपरि उपलब्ध छन् । यस कारण यो विहार लिच्छविकालीन हो । जस्तै, अमृत साइन्स क्याम्पसपछाडिको गाः हिटीमा रहेको लिच्छविकालीन ढुङ्गाका अवशेष, त्यस्तै मूल चोकको दक्षिणमा रहेको आँगन चोकको बीचमा रहेका तीनतल्ले चैत्य, जसको चारैतिर खाली गवाक्षहरू छन् ।

टुँ चोकमा रहेको चारमुखे बुद्धको चैत्य, जसमा लिच्छविकालमा ढुङ्गामा प्रयोग गरिने पालिस चैत्यको शिरोभागमा प्रयोग छ । यस चैत्यका चारैतिर भगवान्‌ बुद्ध कुदिएका छन् । यो चैत्य इस्वी संवत्‌को छैटौँदेखि आठौँ शताब्दीताका निर्माण गरिएको अनुमान गर्न सकिन्छ । मूलद्वारको सडकपारि तीन लिच्छविकालीन चैत्यहरू छन्, जसको तलतिरको दायाँमा प्रज्ञा पारमिता, बायाँमा अमिताभ बुद्ध र बीचमा अक्षोभ्य मूर्तिहरू बनाइएका छन् । हालको विहार पूर्वमल्लकालीन भए पनि विहारको सुरुवात लिच्छविकालको हो भन्ने प्रमाणित गर्दछ ।

यो विहार दुनियाँ गुठीमध्ये सबैभन्दा सम्पन्न गुठीमध्ये एक हो । राणाकालसम्म पनि जग्गाजमिन ठमेलदेखि नागार्जुनसम्म फैलिएको थियो । जामाचोमा रहेको चैत्य नै प्रधान परिवारको देवाली चैत्य हो । राणाकालमा नागार्जुन डाँडो जबर्जस्ती हरण गरिएको हो ।

नागार्जुनजस्तै विक्रमशील महाविहारको अधीनमा रहेको १०० मिटरपूर्वस्थित कमल पोखरी निरंकुश चन्द्रशमशेरका छोरा केशर शमशेरले आफ्नो दरबार बनाउँदा आफ्नो कम्पाउण्डभित्र पारे । यो पोखरीको आफ्नै किसिमको महत्त्व थियो । यही पोखरीको कमलको फूल यस विहारका देवता श्री सिंह सार्थवाहको नित्य पूजामा चढाइन्थ्यो । साथै, ठमेलबाट नदीनाला टाढा भएकाले प्रधान परिवारले श्राद्धपछि पिण्ड यसै पोखरीमा विसर्जन गर्ने चलन थियो । त्यो संस्कार तथा सांस्कृतिक स्थल केशरशमशेरले नाश पारिदिए । यही पोखरीको डिलमा रहेको लिच्छविकालीन चैत्यहरू पनि नष्ट गरिदिए । यससम्बन्धमा गुठी संस्थान र पुरातत्व विभागले चासो देखाएको पाइँदैन ।

यस विहारका आफ्नै महत्त्व तथा विशेषता छन् । अरू विहार वा बहिलहरूमा मूल देवताका रूपमा बुद्ध वा बोधिसत्व स्थापना गरिन्छ तर यस विहारमा न त बुद्ध न त बोधिसत्व स्थापना गरिएको छ । यहाँ श्री सिंह सार्थवाह वा आजु द्य भन्ने पनि पुकारिन्छ, स्थापना गरिएको छ । त्यस्तै, विहार वा बहिलमा वज्राचार्य वा शाक्य परिवारबाट हर्ताकर्ता हुन्छन् तर यस विहारका हर्ताकर्ता र रेखदेख प्रधान परिवारले गर्छन् र मूल देवता श्री सिंह सार्थवाहको पूजा वज्राचार्यले गर्न पाउँदैन ।

त्यति मात्र होइन, भित्र पनि पस्न पाउँदैनन् । श्री सिंह सार्थवाहको पूजा पाँचथरी नेवारलाई काठमाडौंका मूल विहारहरूका वज्राचार्यहरूबाट शिक्षादीक्षा दिई, विधि पुयाई, नियुक्त गरी र सोही पाँचथरी नेवार यस सिंह सार्थवाहको मूर्तिको पुजारी बन्दछन् । काडमाडौं महानगरपालिकाको परम्परागत छ थरी नेवारहरूमा विक्रमशील महाविहार आवद्ध प्रधानहरू मात्रै बौद्धमार्गी हुन, जसले यस विहारको नियन्त्रण, व्यवस्थापन रेखदेख र सम्भार गर्दछन् ।

यो विहार महत्त्वपूर्ण हुनमा यसले राजकीय सम्मान पाउनु पनि हो । राणाकालसम्म पनि यस विहारको महत्त्वपूर्ण पूजा संचालन गर्दा गद्दीसीन राजाले नै पूजा संकल्प गर्नुपर्थ्यो । संकल्पका लागि विहारका वज्राचार्य पुरोहितले यहाँको कामदारलाई गोल पूजाका सामग्री बोकाई दरबारभित्र संकल्प गराई फर्काउने चलन थियो ।  यस्तै, दसैँमा यस विहारको पूजा तलेजुमा लाने चलन छ ।

यो विहार तीन चोकमा फैलिएको छ:

१) टुच्चोक दक्षिणमा जहाँ फाल्गुन पूर्णिमाको रातमा श्री सिंह सार्थवाहको प्रतीक चकँ द्य जात्रा मनाइन्छ ।

२) मूलचोकबीचको भाग, जहाँ विहारका मूल देवता श्री सिंह सार्थवाहको मानव उचाइभन्दा अग्लो अभय मुद्राको मूर्ति यही चोकमा प्रधान परिवारका छोराहरूको छेवर र व्रतबन्ध गरिन्छ र माथिल्लो तल्ला उत्तर-पश्चिम कुनामा नवविवाहित जोडीलाई अन्माउने गरिन्छ । नेवारीमा ह्वे विकिग भनिन्छ । नयाँ दुलहीलाई भित्र्याई यो विधि अपनाइएन भने प्रधान समाजले सदस्यको रूपमा मान्दैन । बाहिरको स्वयम्बर साइत विधिलाई महत्त्व दिँदैन ।  

३) उत्तरी ठूलो चोकलाई आँगन चोक भनिन्छ । यहाँ प्रधानहरूका कुल देवता र आँगन दुवै यस चोकमा रहेका छन् ।

विक्रमशील महाविहार ठमेल टोलको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको स्थल हो । यसको प्रसिद्धि स्वदेश तथा विदेशमा पनि फैलिएको छ । तर, हाल केही दशकदेखि नेपालको पर्यटन केन्द्रको रूपमा पनि विकास भइरहेको छ । काठमाडौं उपत्यकाभित्र आउने विदेशी होस् वा स्वदेशी पर्यटक, ठमेल पर्यटकीय केन्द्रमा नआएको कमै होला । ठमेल पर्यटकीय केन्द्र विक्रमशील महाविहारबाट मुस्किलले ५ मिनेटको पैदल दूरी पश्चिममा पर्छ ।

विक्रमशील महाविहारको चर्चा गर्दा दुई विदेशी विद्वान्‌को नाम उल्लेखनीय छ । एक हुन् अतिशा र दोस्रो धर्मस्वामी ।

अतिशाको जन्म दशौँ शताब्दीको अन्त्यताका हालको बंगलादेशको राजधानीनजिकै विक्रमपुरनजिकैको वज्रयोगिनी गाउँमा भएको थियो । यिनले राजकुलमा जन्मी आफ्नो कार्यथलो भारतको नालन्दा, विक्रमशील महाविहार, औदन्तापुरी तथा सोमपुरीमा अध्यापन गरी आफ्नो कृति चारैतिर फैलाइसकेका थिए । यिनी महायान बुद्ध धर्मका प्रकाण्ड विद्वान् थिए । त्यस कारण पश्चिम भोटका राजाको निम्तोमा नेपाल भई पश्चिम भोटमा गएका थिए । जाने सिलसिलामा सन् १०४१ मा एक वर्ष नेपालमा बिताएका थिए । त्यसबेला थै बहिललाई थम विहार भनिन्थ्यो र यससम्बन्धी राम्रै परिचय थियो । विहारमा खाने तरिका साथै यहाँ भिक्षुहरूको शिलपालन तथा धर्मको आचलन अध्ययन पनि धर्मसंगत थियो भनी उनले उल्लेख गरेका थिए । विक्रमशील महाविहारबाट आउनुभएका, यस विहारका शुभचिन्तक तथा विहारको विकासमा योगदान पुर्‍याउनुभएकाले पछि यस विहारलाई विक्रमशील महाविहार भनी जानिन थालियो ।



अर्का विद्वान् धर्मस्वामी, जो भोटका हुन्उनी त्यही शताब्दीको पूर्वार्द्धमा नेपाल आएका थिए । बसाइचाहिँ स्वयम्भू तथा धम विहार, जसलाई धर्मधातु विहारले पनि चिनिन्छ, जहाँ जम्मा आठ साल बिताए, जहाँ धर्मसम्बन्धी पर्याप्त अध्ययन गरी ज्ञान प्राप्त गरे । त्यसपछि उनी भारतमा गए । साथमा यथेष्ट रूपमा धर्म ग्रन्थहरू लगे । विक्रमशील महाविहार भारत र भोटमा धेरै प्रसिद्धि कमाएको विहार हो । यहाँ उक्त दुवै ठाउँबाट विद्वान्‌हरू आई, जमघट भई, धर्मशास्त्रको ज्ञान आदानप्रदान गरिन्थ्यो ।

नेपालको नयाँ भूमि व्यवस्था ऐनबाट अरू ठाउँका गुठीहरूमा जस्तै यस विक्रमशील महाविहारलाई ठूलो असर परेको छ । यहाँको मूर्त-अमूर्त सांस्कृतिक सम्पदाहरू नयाँ ऐनले गर्दा परम्परादेखि चलिआएका कति लोप हुने क्रममा छन् भने कति लोप भैसकेका छन् । यसबारे सरकारले जतिसक्दो चाँडो नीति बनाउनु अति आवश्यक भैसकेको छ, किनभने सांस्कृतिक सम्पदा नै देशका चिनारी हुन् ।

ठमेल (थँ बहिल) क्षेत्रको फैलावट

परापूर्वकालदेखि परम्परागत रूपमा चलिआएको विहारको भगवान्‌को पूजा, पर्व, जात्रा चलाउन, उक्त विहार तथा विहारपरिसरका पाटी, इनार, ढुङ्गेधारा, चोक, पोखरी, डबली आदिको जीर्णोद्धार तथा मर्मतका निम्ति आयस्ताका लागि परापूर्वकालदेखि नै राखिएका भगवान्‌का नामका जग्गा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको उपत्यका विजयपश्चात् पनि यथावत् नै कायम राख्न विसं १८३९ आषाढ वदी १२ रोज १ मा थँ बहिलसहित मदनपुर, वहि गु, भोद्या घर, भिल्लाकोट घर, ढो गाउँको लालमोहर भएको र उक्त नेपालका राजाका पालादेखिको (मल्लकाल) भगवान्‌का जग्गाहरूमा उक्त जग्गाहरूको कुरियाका झगडाको पंचखतबाहेक आम्दानीको छैटी अदालतको स्याहामा दराई बाँकी भगवान्‌को भण्डारमा दाखिला गर्नू भन्ने वि.सं. १९३७ साल पुस सुदी ९ मा भगवान्‌ बहाल (थँ बहिल) का तालुकदार पृथ्वीमानसिंका नाममा दुईछापे रुक्का दस्थत भएको देखिन्छ । सोहीबमोजिम चिफ कर्णेल ईमानसिंह बस्न्यातले वि.सं. १९५८ सालमा घर क्याम्प बनाउँदा गुठीसँग खिचलो पर्दा उक्त जग्गा थँ बहिलको भगवान्‌को नामको गुठीको जग्गाभित्र परेको ठहरी पहाड बन्दोबस्त बिर्ता फाँटबाट वि.सं. १९७१ मा तत्कालीन श्री ३ महाराज कहाँ चढाएको रिपोर्टमा भगवान्‌को नामको यँ बहिल (ठमेल) को जग्गाको चारकिल्ला खुलाइकोमा थै बहिल जिन्सी गोदामअगाडिका सडकदेखि दक्षिण श्री मे.ज. भैरवनरसिंह राणाको ढोकाअगाडिको सडकदेखि उत्तर मजकुर जनरलको ढोकाअगाडिको चप्रासी पाटी निस्कने सडकदेखि पूर्व श्री प.क. जनरल जीतशमशेरको दरबार बारीको पर्खालदेखि पश्चिम ४ किल्ला सिमानाभित्र भगवान्‌को गुठीले भोग चलन गरिआएको भन्ने उल्लेख गरिएको छ ।

उक्त घर बनाउँदा प्रमाङ्गी तोक सदरबमोजिम कारबाही भई त्यसको सट्टाभर्ना भगवान्‌को गुठीकै नाममा टोखामा जग्गा बिर्ता बक्सी वि.सं. १९७४ साल कात्तिकमा खड्ग निशानसहितको श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहबाट लालमोहर बक्स भएको देखिन्छ ।

श्री प.क.ज. जीतशमशेरको दरबार हालको केशर महल हो, श्री मे.ज. भैरवनरसिंह राणाको ढोका हाल ठमेल चोकको पश्चिमपट्टिको नरसिंह गेट (ढोका) हो । जिन्सी गोदाम, हाल अस्कल क्याम्पसको छात्रावासको पूर्व–पश्चिमपट्टिका जग्गा हुन् ।

राजा सिंह सार्थवाह

श्री गणेसायेनम: । ।  परापूर्वका राजा विश्वकेतुका बषतमा पंजाव देषी १० । १५ दिनको वाटो पश्चीम चन्द्रभागा नदि र सतरुडा नदिका संगममा चन्द्रभागा नदि तरी नैवार सहरवाट आयाका थाकुर जातका हुन् तहाँ उप्रान्त सिंहकल्प भनेको सहरका राजा सिंह केसरे राजाका पालामा सिंह ठाकुर तिनि थुलो महाजन भयाका थिया तिनका पुत्र सीह सार्थ वाहु ठाकुर तिनिले ५०० वेपारि लि उत्तर तर्फ रतन वेपार जादा जहाज व्रम्ह नदि तर्नालाई जाहाजमा वसि जाँदा जहाज फुटि नदीमा पर्दा ५०० जवान सिहल दिपमा उतर्दा राछेसनिहरूको मायामा परि २।४ वर्ष ती राछेसनिहरूसँग भोग विलास संष गरि बसेका थीया परमेश्वर करुनामयेका भगतिमा लये भयाको सिह सार्थवाहु हुनाले परमेश्वर वाट उपदेस पाइ स्यामकर्ता घोडा चढि ५०० भागि आउदा राछेसनिहरूका मायामा परि अरू सबै राछेसनिहरूले मारे सिंह सार्थवाहु यकलै वाची आयो आफना गृह ठबहेल्मा आइ पगुदा ति सिंह सारथवाहुकि स्वास्नि राक्षेसनि ८ प भै आउदा सिंह केतु राजाले देषदा राजा मोह भै रानि गरी राखदा केहि वर्ष पछि अवसर पारी ति राक्षेसनि रातका बीचमा सिंगल दिप पुगि आफा दिदि वैन्हि सवै राक्षेसनिहरूलाइ वोलाइल्याइ सिंह केतु राजास्मेद दर्वारम जो भयाको ति राक्षेसनिहरूले भक्षे गरेछन् भोलिपल्ट मंत्री भारादार दुनिञाहरूले थाहा पाइ सिंह सार्थवाहुले ति राछेसनिहरूलाइ षडगप्रहार गरी भगायो र मंत्री दुनिञा गैहले सिंह सार्थवाहुलाइ राजा थापि माने र सिंह सार्थवाहुवाट पनि ति राक्षेसनिहरूसँग लडाइ गर्नालाइ दुनिञाहरूलाई  योग मंत्र सिकाइ सिंगल दिपमा गै राक्षेसनिहरूसंग लडाइ गरी राक्षेसनिहरूलाइ जिति आइ सिंह केतु राजाका राजधानिमा राजा भै केहि काल पछि जोगांवर भै श्री भगवान्‌ सिंह सार्थवाहु कहलाइ सिद्ध हुनु भया ।

याे लेखकसँग रहेको वंशावलीबाट दुरुस्त पाठ सारिएको हाे ।  यिनलाई गंधूरी जूजू (गंधूरी भट्टारक) पनि भनिन्छ ।

थँ बहिलको क्षेत्रको नाम

थँ बहिल प्राचीन् नाम सिंहकल्प नगर हो । थँ बहिल विक्रमशील महाविहारसँग सम्बन्धित अप्रकाशित मध्यकालका ताडपत्रहरूको ने.सं. ५८२, पाना नं. २५ को दोस्रो हरफमा थैं बहिललाई गजुरी.... क्षेत्र नाम प्रदेश...भनी उल्लेख गरिएको हुनाले यस क्षेत्रलाई त्यस बखत गजुरी नामको प्रदेशको रूपमा उल्लेख गरिएको खुल्न आउँछ । यस विहारको मूल चोकको भगवान्‌को मूर्तिको ढोकासँग रहेको ने.सं. ९२४ को अभिलेखमा श्री ३ विक्रमशील महाविहार थँ बहिल देशस..उल्लेख छ ।

बहिललाई देशको रूपमा पनि लिइने गरेको यस अभिलेखले खुलाउँछ । यस विहारमा प्रसिद्ध महायानी बौद्ध दर्शन प्रज्ञा पारमिताको दर्शनले मात्र ठूलो पुण्य हुने त्यस्तो कस्मिक इनर्जी डिभाइन पावर भएको कुमारीले समेत दर्शन गर्नुपर्ने १ लाख २५ हजार श्लोक भएको प्रज्ञा पारमिता भएको स्थानमा बस्न पाउने मानिस भाग्यमानी भएकाले यस सिंहकल्प नगर भगवान्‌ बहालको अर्को नाम प्रज्ञा नगरी पनि भएको संस्कृतविद् सत्यमोहन जोशीले भनेका थिए ।  

लिच्छविकालमा कान्तिपुर महानगरको दक्षिण भेक (दक्षिण कोलिग्राम) र उत्तरी भेक (कोलिग्राम) गरी कान्तिपुर शहरलाई दुई भागमा विभक्त गरिएको पाइन्छ । लिच्छविकालपछि दक्षिण कोलिग्रामलाई यङ्गल र कोलिग्रामलाई यम्बु भनिएको पाइन्छ ।

अधिकांश पुस्तकमा थँ बहिल कान्तिपुर शहरबाहिरको क्षेत्र भनी उल्लेख गरिएको छ । प्रकाशित थँ बहिल विक्रमशील महाविहारसँग सम्बन्धित अप्रकाशित मध्यकालका ताडपत्रहरूको ने.सं. ५६० को पा.नं. १८ को पूर्वमल्लकालको ताडपत्रमा... श्रेयोस्त ...संवत् ५६० ...चैत्र शुक्ला पञ्चम्यायो श्री यम्बू महानगरे । श्री सातीगुलके श्री विक्रमशील महाविहार वासिनस् महापात्र भनी उल्लेख गरिएकाले यँ बहिल कान्तिपुर महानगरको बाहिरी भेगमा होइन, कान्तिपुर महानगरभित्रको उत्तरी भेगमा पर्ने सामन्त (महापात्र) द्वारा शासित नगर । देश तथा प्रदेशको रूपमा रहेको यस अभिलेखद्वारा सिद्ध हुन्छ । ने.सं. ७८६ सम्म पनि थँ बहिलका प्रधानहरूलाई महापात्र पदले सम्मानित गरिएको थँ बहिल मूल चोकभित्रको ने.सं. ७८६ को अभिलेखले सिद्ध गर्छ ।

थँ बहिल, विक्रमशील महाविहारका जात्रा, पर्व तथा संस्कारहरू

यस विहारका संस्थापक सिंह सार्थवाह भनिन्छन् । यस विहारको मूल चोकमा यिनै सिंह सार्थवाहको मूर्ति स्थापना गरिएको छ । यिनलाई उक्त विहारका भगवान्‌का रूपमा पुज्ने गरिन्छ । सिंह सार्थवाहलाई थँ बहिलका प्रधानहरूका पूर्वज भनिन्छ ।

सामन्त (महापात्र) का हैसियतले यस क्षेत्रमा मल्लकालको पूर्वार्द्धदेखि उत्तरार्द्धसम्म शासन गरेका प्रधानका पुर्खाहरूले यस विहार परिसरमा धर्मकीर्तिका लागि विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका मन्दिर, कमल पोखरी, ढुङ्गेधारा, पाटी, धर्मशाला इनार, चोक, डबली निर्माण गराए । विभिन्न पूजा, संस्कार, चाड–पर्व, जात्रा आदिको थालनी गरे । तसर्थ, यस विहारका परापूर्वकालदेखि चलिआएका सम्पूर्ण दैनिक नित्य पूजा, महास्नान, जात्रा, चाडपर्वहरूको सञ्चालनको व्यवस्थापनको जिम्मा तथा सम्पूर्ण चल-अचल जायजेथाहरूको संरक्षण परापूर्वकालदेखि प्रधानहरूमा निहित रहेको पाइन्छ ।

 


पृथ्वीनारायण शाहले यस क्षेत्रका सामन्तहरूसँग १८२५ भाद्र २२ गते लडाइँ गरी अधिकार जमाए पनि उनको उपत्यका विजयपश्चात् विहारका भगवान्‌का नाममा रहेका जग्गाहरू साबिकबमोजिम भगवान्‌का नाममा अर्पण गरी परम्परागत रूपमा चलिआएका पूजा, जात्रा, पर्व आदिलाई निरन्तरता दिन लालमोहर गरिदिएका थिए । त्यसैले उक्त आयस्ताबाट विहारका प्रधानहरूले विहारका भगवान्‌का नामका श्री सिंह सार्थवाह गरुड भगवान्‌ गुठीलाई स्थायी रूपले परम्परागत पूजा, संस्कार, चाड-पर्व, जात्राहरूको संरक्षण तथा निरन्तरता दिँदै आइरहेका छन् ।

यस विहारका परापूर्वकालदेखि परम्परागत रूपमा मनाइँदै आइरहेका मौलिक दैनिक नित्य पूजा, स्नान, जात्रा पर्वहरू तथा संस्कारहरू छन् । यस विहारका केही सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्वका जात्रा, पर्व तथा संस्कारहरू निम्न प्रकारका रहेका छन् ।

·         विहारका भगवान्‌लाई दिनहुँ कमल पोखरीको कमलको फूल, पानी अक्षता आदिले नित्य पूजा, स्नान गराई भगवान्‌को पूजा अर्चना गराइने धार्मिक सस्कार । (विहारका भगवान्‌लाई कमल पोखरीको पानीबाट नित्य स्नान गराइने धार्मिक संस्कार नष्ट गरिएको छ ।)

·         फाल्गुन पूर्णिमामा विहारका भगवान्‌लाई हुँ चोकमा र सरस्वती मन्दिरको दक्षिणतिरको चोकमा रहेको डबलीमा राखेर गरिने चकँद्य जात्रा ।

·         चैत सुदी चतुर्दशीमा मनमैजुमा गरिने मकँ पुइकेगु जात्रा ।

·         दसैँको टीकाको दिन मनाइने पायो (खड्ग) जात्रा ।

·         इन्द्रजात्राको पूर्णिमामा नचाइने अस्माचुली जात्रा । (हाल यो नाच देखाउने परम्परा लोप भइसकेको छ ।)

·         यस विहारका प्रधानहरूको जन्मदेखि मरणसम्मका सम्पूर्ण संस्कारः पास्नी, व्रतबन्ध, विवाह, मृत्यु हुँदा सम्पूर्ण दाहसंस्कार विहारको गुठीमार्फत गरिने, श्राद्धको पिण्ड यसै विहारको कमल पोखरीको डिलमा विसर्जन गर्ने धार्मिक संस्कार । (यस विहारको कमल पोखरीको डिलमा श्राद्धको पिण्ड विसर्जन गर्ने धार्मिक संस्कार नष्ट गरिएको छ ।)

·         श्री लुमडी भद्रकालीको प्रख्यात १२ वर्षे धार्मिक नाच देखाउने जात्रा । (हाल यो जात्रा देखाउने परम्परा लोप भइसकेको छ ।)

माथि उल्लिखित परापूर्वकालदेखि चलिआएका जात्रा, पर्व, संस्कारहरूजस्ता अमूर्त तथा पाटी, पोखरी, इनार, चोक, डबलीजस्ता मूर्त सम्पदा कतिपय नष्ट गरिएका छन् त कतिपय नष्ट हुँदैछन् । कैयन् यस्ता धार्मिक संस्कार, जात्रा, पर्वहरू तथा प्राचीन् स्मारकहरू यस विहारमा छन्, जसबारे विहारका प्रधानहरू तथा स्थानीयहरू अनभिज्ञ रहेका देखिन्छन् । जसमध्ये धार्मिक, सांस्कृतिक ऐतिहासिक महत्त्वको कमल पोखरी नष्ट गरिँदैछ भने श्री लुमडी भद्रकालीको प्रख्यात १२ वर्षे धार्मिक नाच देखाउने, इन्द्रजात्राको पूर्णिमा नचाइने अस्माचुलिको नाच देखाउने आदिजस्ता धार्मिक तथा सांस्कृतिक परम्परा लुप्त भइसकेका छन् ।

(प्रधानको  थँ बहिल विक्रमशील महाविहारको ऐतिहासिक कमल पोखरी  पुस्तक प्रकाशित छ ।)  

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०६:५६

 

Thursday, December 08, 2022

‘नेपालका गढी–किल्ला दर्पण’ लाई नियाल्दा…

 नेपालका गढी–किल्ला दर्पण’ लाई नियाल्दा…


काठमाण्डुपाटी

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार

मोहन थापा,सुबेदार (अ.प्रा.)

काठमाण्डु – प्राचीन हिन्दुशाश्त्रका आचार्यहरु मनु, वृहस्पति, भीष्म, चाणक्य लगायतले राज्यका सात अङ्ग : स्वामी वा राजा, अमात्य वा मन्त्री, पुर, दुर्ग वा राजधानी, निवासि तथा जनता, भण्डार वा कोश, दण्ड वा बल (सेना) र सुहृत वा मित्रलाइ अभिन्न मानेका छन । उनीहरुको मत छ : उपरोक्त सात अङ्ग राज्यरुपी शरीरका अङ्ग वा अवयव हुन् ।

जसरी कुनैपनि मानिस उपर कोही कसैले आक्रमण गरेमा सबैभन्दा पहिले उसले आफ्ना हातले प्रतिकार गर्दछ, रोक्ने प्रयास गर्दछ, त्यसरी नै राज्यमाथि बिदेशीले आक्रमण गरेमा राज्यका पहरेदारहरुले दुर्ग, किल्ला वा गढीमै लुकेर, आड लिएर शत्रुको आक्रमणको प्रतिकार गर्न सफल हुन्छन् । राज्य जोगाउन सक्दछन् । तसर्थ राज्यको सुरक्षा र संरक्षणका लागि दुर्ग, किल्ला वा गढीको धेरै महत्व छ ।

प्राचीनकालका सैन्य बिश्लेषकको भनाइ छ : कोश, बल (सेना) र दुर्ग, किल्ला वा (गढी) को अभावमा कुनैपनि देशको राजा/राष्ट्रप्रमुख शत्रु देशको अधीन हुन विवस हुनेछ ।

लेखक अम्बिकाप्रसाद वाजपेयी, आफ्नो पुस्तक : ‘हिन्दु राज्यशाश्त्र’, (भारत, हिन्दी साहित्य सम्मेलन प्रयाग, बि.सं.२००६, तेस्रो संस्करण, पृ. ८३), मा लेख्छन : ‘जहां ‘शत्रु कठीनसाथ जान सक्दछ, जुन स्थल शत्रु सेनाका लागि दुर्गम छ, त्यो स्थल ‘दुर्ग’ कहिन्छ ।’

नेपाली बोलीचालिमा र नेपाल राज्यको परापुर्वदेखिको अभ्यासमा : किल्लाको अर्थ बुझाउने गढ, गढी, गडी, गड, गौंडा, क्वाथ, कोत, जोङ, खलङ्गा, चोक, जस्ता शव्दहरु राज्यको सुरक्षाका खातिर सेैनिक दृष्टिमा महत्वका स्थल हुन् । माथिका यी शव्द सारमा समान हुन् ।

आजको नेपालको राजधानी काठमाण्डु उपत्यका र वरपरका इलाकामाथि पराइ राज्यका सेनाले आक्रमण गर्दा स्थानिय वासिन्दाहरुले टाढाका पुर वा दुर्गमा लुकेर बांच्न सकेका घटनाहरुबारे धेरै इतिहास लेखकहरुले उल्लेख गरेका छन् । शत्रु सेनाको आक्रमणबिरुद्ध प्रतिकार गर्न डाँडा र गौंडामा बलिया किल्ला र गढ निर्माण गरेका र तिनै ‘गढ’ पछि ‘गढी’ का रुपमा बिकास भएको पाइन्छ ।

बि.सं. १३४४ पछि लगातार तीनपटक तत्कालीन पश्चिम नेपालका खस राजा जितारी मल्लले काठमाण्डु उपत्यकामाथि आक्रमण गरि बस्ति र शहर ध्वस्त बनाइदिएको र खस सैनिकको अत्याचारबाट पीडित उपत्यकावासिहरु टाढाका वनजंगल र दुर्गहरुमा लुकेर ज्यान बचाएको बाबुराम आचार्य (नेपालको संक्षिप्त इतिहास, काठमाण्डु, सम्पा./प्रकाशक श्रीकृष्ण आचार्य, २०६३, पृ. ५६–५७) ले उल्लेख गरेका छन् ।

खस सैनिकको आक्रमणपछि बि.सं.१३४७ मा तिरहुते सैनिकले चण्डेश्वर ठाकुर नेतृत्वमा सिन्धुलीको बाटो आएर काठमाण्डु उपत्यकामा आक्रमण गरेका थिए । त्यस समयपनि उपत्यकावासिले घर छाडेर वनजंगल र दुर्ग खोज्नु परेको थियो ।

यसपछि बि.सं.१४०६ मा बंगालका सुल्तान समसुद्दीन इलियस साहका मुसलमान सैनिकले काठमाण्डुमा आक्रमण गरेका थिए । यी सैनिकले भक्तपुर, पाटन, स्वयम्भु लगायतका ठुला शहर र वस्ति जलाएर, मन्दिर भत्काएका थिए । सार्वजनिक र नीजि सम्पत्ति लुटपाट गर्नुका साथै मुसलमान सैनिकले स्थानीयमाथि नृशंस हत्या आतंक मच्चाएका थिए । उपत्यकावासिहरु र स्वयं राजा राज मल्ल पनि आफ्ना सम्पत्ति र दरबार छाडेर नजीकको वन दुर्गभित्र लुक्न बाध्य भएको आचार्य (ऐ.पृ.६२) ले उल्लेख गरेका छन् ।

नेपालमा मात्र होइन, भारतका बिभिन्न हिन्दु राजाहरुका प्राचीन राज्यमाथि इस्लाम सेनानायकले बिशाल सेना र शक्तिशाली हतियारबाट महिनौं घेराउ गर्दा पनि हिन्दुराजाका किल्ला र गढ कव्जा गर्न नसकेका बिबरण इतिहासमा प्रशस्त पाउन सकिन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा बेल्जियमको लिज र नामुर दुर्ग वा किल्ला कव्जा गर्न नसकेपछि जर्मनीको बिजयी हुने सपना चकनाचुर भएको दृष्टान्तलाई विश्वको युद्ध इतिहासका पाठकहरुले आजपनि स्मरण गरिरहन्छन ।

बिदेशी सेनाको आक्रमणकाट बच्न र बलियो किल्ला वा गढीमा सुरक्षित रहेर शत्रु सेनाको प्रतिकार गर्न व्यवस्थित किल्ला वा गढीको व्यवस्था गर्न चुकेका पुनःएकीकरण अघिका काठमाण्डु उपत्यकाका राज्यले पटकपटक बिदेशी सैनिक सामु पराजय व्यहोर्नु परेको थियो । राजा पृथ्वीनारायण शाह यस तथ्यबाट अवगत थिए ।

तसर्थ उनले उपत्यका बिजयपछिका दिनमा उपत्यकामा सैनिक आक्रमण गर्न आउने मुख्य नाका सिन्धुली, मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे जस्ता स्थानमा रहेका महत्वपूर्ण गढीहरु : सिन्धुली गढी, पौवा गढी, मकवानपुर गढी, हरिहरपुर गढी, चिसापानी गढी, नुवाकोटका बिभिन्न गढी, सिन्धुपाल्चोकका गढी र काभ्रेका कोटतिमाल, पलान्चोक जस्ता गढीको निरन्तर हेरचाह र सुरक्षा प्रबन्ध मिलाएका थिए । युद्धका अनुभवि सैनिक कमाण्डरलाई ती स्थलमा खान्गी दिएर सपरिवार बसोवासको व्यवस्था गरिदिएका थिए ।

नेपाल एकीकरणका प्रणेता राजा पृथ्वीनारायण शाहलाई आदर्श मान्ने प्रेमसिंह बस्न्यात, पिएच.डि. ले नेपाली सेनाको सहायक रथी (बृगेडियर जनरल) पदबाट सेवानिवृत्त भएपछि राष्ट्र र सेनाको यस संवेदनशील पक्षलाई दृष्टिगत गरी गहन खोज गरेका छन् ।

बस्न्यातले, हालको नेपाल सरहदभित्र रहेका र नेपाली सेनाले युद्ध लडेका तर हाल नेपालवाहिर (भारतका बिभिन्न इलामा समेत) पारिएका गढ, गढी, गड, गौंडा, किल्ला, क्वाथ, कोत (कोट), खलङ्गा, चोकहरुमा आफैं पुगेर, ती स्थानमा पहिले भएका युद्ध, हाल ती स्थलहरुको अवस्था, तिनको महत्व र मर्मत सम्भार एवम् संरक्षण गरिनुपर्ने कारणसहितको विवरण उल्लेख गरी ‘नेपालका गढी–किल्ला दर्पण’ (सैनिक इतिहास) नामक अलग्गै पुस्तक तयार पारेर बजारमा ल्याएका छन् ।

तीन सय ३६ पृष्ठको प्रस्तुत पुस्तक नेपाली भूमिमा नेपाल राष्ट्र निर्माण अभियानको सिलसिलामा पछिल्ला दिनमा लडिएका युद्ध बिबरणहरुको संगालो पनि हो । पुर्वी नेपालदेखि पश्चिम नेपालसम्मका भुमीमा लडिएका युद्ध बिबरण र युद्धस्थलहरुको शाव्दिक चित्रण हो ।

पुस्तकमा सिक्किमसँगको पहिलो र दोस्रो युद्ध, सेन राज्य र राजाहरुसँगको युद्ध, नेपाल सगोल राज्य भएपछिको राज्यबिरुद्ध गरिएको बिद्रोह समेतको पुस्तकमा सजिव वर्णन छ । ती बिद्रोह नियन्त्रणमा भएका प्रयास र सैनिक कारवाहीका घटना केलाइएको छ ।

जहाँ पुर्वको हतुवागढी, उदयपुर गढी, चौदण्डि गढी, चेैनपुर गढी, सिद्धिपुर गढी, संगुरी गढी, बिजयपुर गढी, गढी थुम्का (इलाम), सिन्धुली गढी, सिन्धुलीको पोैवा गढी, सिन्धुपाल्चोकको दुगुनागढी, लिस्तिकोट, कप्तानपाटी, साँगाचोक गढी, पलान्चोक गढी, भंवरकोट गढी, फुलवारी कोट, जहरसिंह पौेवा, नालदुम तथा महादेवपोखरी, नालदुम गढी, कपन गढी, दहचोक, रसुवागढी, नुवाकोट, बेलकोट, समनपुर, बारागढी, सिम्रोैनगढ, तिमालकोट, अम्बास गढी, ढुंगे गढी, मकवानपुर गढी, हरिहरपुर गढी, डढुवा गढी, चिसापानी गढी, पर्सा गढी, कान्द्राङ्ग गढी, लिगलिग कोट, गोर्खा दरबार कोट, लमजुङ्ग दरबार कोट, लमजुङ्गको पुरानो कोट, तुर्लुङ कोट, रागीनास कोट, कास्की कोट, सिन्च्याङ गढी, प्याहुली गढी, उपरदाङ गढी, कबिलासका गढी, सुमेश्वर गढी चितवन, पाल्पाको जितगढी, स्याङ्गजाको सतहुं (कोट) गढी, नुवाकोट (पल्लो) गढी, शिवराज (स्युराज) गढी, छिल्लिकोट, बयलकाटा गढी, मंगल गढी, दुल्लु गढी, दैलेख गढी, जोरायल (डोटी) गढी (कोट), अमरसिंह गढी डडेल्धुरा, अजयमेरु कोट (दरबार), तिखा गढी डोटी, समेत हाल नेपालभित्र रहेका गढीमा लेखक आफैंले पुगेर त्यहांको सचित्र व्याख्या गरेका छन् ।

ती गढी, कोट, किल्लाको महत्व, मर्मत र सम्भारको आवस्यकता औंल्याएका छन् । ती स्थलमा समयसमयमा भएका युद्धहरुको बिबरण उल्लेख गरेका छन् । माथिका बाहेक पुस्तकमा नेपाल एकीकरण अभियानस“ग सम्बन्धित नेपाल वाहिरका सिक्किम, वाहुल किल्ला (पिथौरागढ, भारत), अल्मोडा भारत, गोर्खा गढ, कुमाउँ भारत, नालापानी किल्ला भारत, नाहानको किल्ला भारत, जैथकको किल्ला भारत, आर्की किल्ला भारत, मलाउ किल्ला भारत, का“गडा किल्ला भारतसमेतको परिचय र युद्ध इतिहास तथा महत्वबारे चर्चा छ ।

पुस्तकका केहि कमजोरी

पृ.४८ मा, बि.सं.१८३३ तदनुसार सन् १७७६ मा नेपालको गोर्खाली फौज र सिक्किमे फौजबीचको युद्धमा सिक्किमे फौज हारेर भागे । नेपाली सेनासं“ग डराएर सिक्किमे राजाले पृथ्वीनारायण शाहसंग टिष्टा नदीसम्मको भूमी नेपाललाई छाडिदिन्छु अब हमला नगरिदिनुस् भनेपछि सोही बमोजिम इलाम गढीमा सम्झौता गरी यो युद्ध सकियो, उल्लेख छ ।

पृथ्वीनारायण शाहको बि.सं.१८३१ माघ १ तदनुसार सन १७७६ जनवरी १० का दिन नुवाकोटको देवीघाटमा स्वर्गारोहण भएको कुरा इतिहास शिरोमणी बाबुराम आचार्यले आफ्नो पुस्तक : श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, ललितपुर, साझा प्रकाशन, बि.सं.२०६१ को पृ. ४३५–३६ मा उल्लेख गरेका छन् । यो मिति त्रुटी छ, यहां सम्पादनमा ध्यान नपुगेको देखिन्छ ।

पृ. ५७ मा बि.सं.१८६२ मा ज्ञानमणी नेपालको पुस्तक ‘नेपालको महाभारत’ लाई उदृत गर्दै राजा रणबहादुर शाहले ब्राह्मणलाइ दिइएको बिर्ताहरण गरेको र सो घटनालाइ नेपालको इतिहासमा बासठ्ठीहरण भनी चिनिने उल्लेख छ ।
बि.सं.१८५५ मा रणबहादुर शाहले राजगद्दी त्याग गरेर बालक पुत्र गिर्वाणयुद्धबिक्रम शाहलाई राजा बनाएका थिए ।

बि.सं.१८६२ मा रणबहादुर शाह राजा गिर्वाणयुद्धबिक्रम शाहका नायब थिए । ज्ञानमणी नेपालले आफ्नो पुस्तक नेपालको महाभारत, पृ. ५८–५९ मा रणबहादुर शाहलाई राजा उल्लेख गरेका छैनन, नेपाल लिखित पुस्तकको सो अध्यायमा रणबहादुर शाहलाई ‘पूर्व राजा’ भनिएको छ । यहाँ आगामी संस्करणमा सच्याउनु पर्ने देखिन्छ ।

पुस्तकमा इश्वी सम्वत र बिक्रम सम्वत भनि उल्लेख छैन । त्यसैले पाठक अलमलमा पर्न सक्छन । सुद्धासुद्धीमा ध्यान नपुगेको देखिन्छ । जस्तै पृ. ५० मा राजकुमार बहादुर शाह हुनुपर्नेमा राजाकुमार बहादुर शाह उल्लेख छ । यस्ता असुद्दी अझै छन् । यो हेर्दा सामान्य हो तर भोलीका पाठकले, अनुसन्धाताले यस पुस्तकका आधारमा अनुसन्धान गर्दा राजाकुमार बहादुर शाह र राजा रणबहादुर शाहका नायब बहादुर शाह अलग थिए भनि अन्य अर्थ लगाउन सक्ने सम्भावना हुनसक्छ ।

लेखको आयु अल्प मानिन्छ, प्रभाव पनि सिमित हुन्छ । पुस्तकको आयु दीर्घ मानिन्छ । पुस्तकको प्रभाव व्यापक र सुदीर्घ हुन्छ भन्ने मान्यता राखिन्छ । प्रेमसिंह बस्न्यातका पुस्तकको महत्व आजको हज्जार बर्षपछि अझ धेरै हुन्छ । इतिहासको मेरुदण्ड भन्नु साल, नाम, पदहरुको स्पष्टता हो । तिनमा भएको कमजोरीले पुस्तकमाथि केन्द्रित भएर अध्ययन गर्नेलाई केहि असहज हुनसक्छ भन्ने आसयले उपरोक्त कमजोरीबारे चर्चा गरिएको हो ।

असहमत
लेखकले पृ.७३ मा सिन्धुलीगढीमा भएको युद्धको नेतृत्व गर्ने सिकारी सर्दार बंशु गुरुङ्ग र खजान्ची वीरभद्र उपाध्याय उल्लेख गर्नु भएको छ । आजअघिका सैनिक इतिहासमा सिन्धुलीगढीको युद्धको नेतृत्व गरेका काजीद्धय बंशराज पांडे र श्रीहर्ष पन्तको नाम यहां उल्लेख नगरिनु दुःखद छ ।

खजान्ची वीरभद्र उपाध्यायलाइ पुर्व प्रधानसेनापति राजेन्द्र षत्री क्षेत्रीका पुर्वज भनि पुस्तकमा किटानी गरिएको छ । यसमा पाठक र इतिहास अध्येताबाट लेखकले खप्की खानुपर्ने अवस्था आउनसक्छ । हुनसक्छ, तर यसले उठाउने धेरै प्रश्नका जवाफ आजसम्म लिखित इतिहास पुस्तकमा अनुत्तरित छन् ।

लेखकले प्रस्तुत पुस्तकमा वीरभद्र उपाध्यायका सन्तान राजेन्द्र षत्री क्षत्री भनी दावीसहित लेख्नुअघि कुनै आधिकारिक स्रोत सामग्री पुस्तकमा कहिँ कतै पेश गर्नुभएको छैन । कुनै इतिहास लेखकको पुस्तकमा आजअघिसम्म यो तथ्य उल्लेख छैन । यसबारेमा लेखकमाथि भोलिपनि प्रश्न उठ्न सक्छ । प्रामाणिकता पुष्टि गर्ने स्रोतबिनाको कहानी यति महत्वपुर्ण पुस्तकमा उल्लेख नगर्दा नै पुस्तक थप खंदिलो बन्ने थियो ।

प्रस्तुत पुस्तकको पृ.७८–७९ मा, सिन्धुली गढीको युद्ध चर्चामा सो युद्धमा बहादुरीसाथ लड्नेमध्येका चम्पासिंह गोदार थापाको सन्तान पुर्वप्रधानसेनापति प्यारजंग थापा उल्लेख छ । सिन्धुलीको खनियाखर्क निवासि चम्पासिंह गोदार थापा र काठमाण्डौंका चम्पासिंह गोदार थापा एकै व्यक्ति थिए भन्ने आधार कहिं भेटिदैन । गोदार थापा बंशपरिचय सारसंङ्क्षेप, ले. बिनोद गोदार थापा, कोविद प्रकासन, बि.सं. २०५७ को पृ.३४– ३५ र पृ. १५७ मा उल्लेख भएका चम्पासिंह गोदार थापा फरक बंश र पुस्ताका हुन् । प्रस्तुत सन्दर्भमा सत्यता न्युन छ ।

डा. प्रेमसिंह बस्न्यातसंग नेपालको सैनिक इतिहासका धेरै सत्य र तथ्यका स्रंग्रह छन् । उहा“ सैनिक इतिहासका भण्डार हुनुहुन्छ । लेखनका क्रममा, केहि हतारमा, तिथिमिति र कहिंकतेै नामहरु फरक पर्न गएका छन् । इतिहासका पाठक, बिद्यार्थी, सोधार्थी, जानकार शुभेच्छुकलाइ एकपटक सरसरति पढ्न र सम्पादन गर्न लगाउन सकेको भए कृति थोरै कमजोरीरहित बन्नेथियो भनी अपेक्षा गर्नसकिन्छ । डेढ दर्जनभन्दा बढि पुस्तकका लेखक डा.बस्न्यातलाई भोलीको थप पुस्तकका लागि यत्ति सुझाव दिनु आवस्यक ठानेको छु ।

अन्तमा
प्रेमसिंह बस्न्यातको पुस्तक ‘नेपालका गढी–किल्ला दर्पण’ नेपालको युद्ध इतिहासको बिबरणात्मक सङ्गालो पनि हो ।
नेपाली सेनाको नेतृत्व गरेका केहि पूर्वमहारथीले आत्मकथा नाम दिइएको आत्मप्रशंसाको गन्थन बजारमा छरेर नीजि महत्वाकांक्षा र अल्पज्ञान प्रष्फुटन गरेका छन् । ती प्रकाशनबाट उनीहरुमा देश र सैनिक सङ्गठनबारेमा ठोस दृष्टिकोण नभएको र उच्च पदमा पुगेर पनि खास योगदान गर्न नसकेको आत्मस्वीकारोक्ति सहज थाहा पाउन सकिन्छ ।

यो परिप्रेक्ष्यमा डा.प्रेमसिंह बस्न्यात नेपाली सेनाका फरक अधिकृत हुन् । सफल र पृथक पहिचान बनाउन सफल बृगेडियर जनरल हुन् । निरन्तरको अध्ययन र मेहनतबाट नेपालको सैनिक इतिहासको प्राक्कथनमा वहाँले बिशेष योगदान दिन सफल हुनुभएको छ । उनी स्वयं सैनिक इतिहासका बिद्यार्थी हुन् । सेनाका बफादार सहायक रथी पनि हुन् । देशका असल नागरिक हुन् । देश, जनता र सेनाप्रति इमान्दारी, कर्तव्यनिष्ठता, बफादारी यीनको रगतभरि छ, रौं रौं मा छ । सेवानिवृत्तपछिका दिनमा देशमा व्याप्त विकृतिबिरुद्ध निरन्तर खबरदारी गरेर बस्न्यातले राष्ट्रप्रेमको ताजा उदाहरण पस्किरहेका छन् ।

इतिहास लेखक बस्न्यात आफुलाई नेपाल एकीकरणमा उल्लेख्य योगदान गर्ने सर्दार शिवरामसिंह बस्न्यातका सन्तति बताउंदछन् । सरकारको पेन्सन खाएर आनन्दले घरमा बस्ने समयमा देशको कुनाकाप्चामा, पहाड र हिमालमा, दुर्गम भुभागमा पुगेर देशले गर्न नसकेको काम छोटो समयमा गरेर प्रेमसिंह बस्न्यातले नेपाल राष्ट्र र नेपाली सेनालाई अमुल्य गुन लगाएका छन् ।

सगोल राज्य र सिंगो सेैनिक सङ्गठनको ध्यान नपुगेको बिषयमा यथासमयमा देशको मर्मस्थल मानिने गढीको महत्व र संवेदनशीलताबारे घच्घच्याएर बस्न्यातले स्तुतियोग्य सुकार्य गरेका छन् । शिवरामसिंह बस्न्यात र उनका छोरा तथा नातीहरु समेतले नेपाल निर्माणमा महत्वपूर्ण योगदान गरेको तथ्य इतिहासका पाठकलाई राम्ररी थाहा छ । एकपछि अर्काे सुकार्य गरेर सुरवीर पुर्खाका सुयोग्य सन्तानका रुपमा प्रेमसिंह बस्न्यातले आफुलाई उभ्याउन सफल भएका छन् ।

बि.सं.१६१६ मा गोरखा राज्य स्थापनादेखि बि.सं.२०६५ मा गणतन्त्र स्थापना हुनुअघिसम्म नेपालमा शासन गरेका शाह राजाहरुको र प्रत्येक कोट, किल्ला, गढी, गौंडाको तश्वीर राखिएकोले कृति जिवन्त बनेको छ । सरल नेपाली भाषामा लेखिएको प्रस्तुत पुस्तक अध्येता, सेना, सरकारी निकाय, इतिहासका पाठक, बिद्यार्थीे, देशको चिन्ता गर्ने र सुरक्षाको जानकारी राख्ने हरेक नागरिकका लागि महत्वपूर्ण खुराक हो । नेपालको सामरिक महत्व वोध गराउन सफल प्रस्तुत पुस्तक खोजीखोजी संग्रह गरिनु तत्तत्पक्षका लागि अपरिहार्य छ ।

पुस्तकको नाम : नेपालका गढी–किल्ला दर्पण (सैनिक इतिहास)
लेखक : डा. प्रेमसिंह बस्न्यात,
प्रकाशक : वीर भक्ति थापा प्रतिष्ठान
संस्करण : २०७७
पृष्ठ : ३३६
मुल्य : रु. ४००।–
मुद्रक : इन्जिन प्रिन्टर्स, काठमाण्डौं

जोरपाटी काठमाडौं । सम्पर्क : ९८४१२४२०२८ ।

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...