श्रद्धाञ्जलि
डा. गोविन्द प्रसाद थापा
प्रहरी अतिरिक्त महानिरीक्षक (अ.प्रा.)
दुई हजार छपन्न साल आश्विन मसान्तको दिनको विहानी पख प्रहरी प्रधान कार्यालयमा आयोजित प्रहरी दिवसको समारोहमा उनी पनि आफ्नो ४ बर्ष पुग्न लागेको छोरो सहित त्यहाँ थिइन् । धेरै दिन पछि आज सुन्तलीले आङमा पारिलो घाम लागेको महशुस गरिरहेकी थिईन् । कहिले उसका हात अवोध छोराको कैलो कपाल सुम्सुम्याउन पुग्थे भने कहिले ढाडमा थपथप्याउन पुग्थे । छोरा बालसुलभ रुपमा मातृमुहार हेरेर निश्चल रुपमा हाँसिरहन्थ्यो । सुन्तलीको खसम भोज बहादुर आफ्नो कर्तव्य पालनको सिलसिलामा आतंककारीहरुसंग भएको मुठभेडमा वीरको मृत्यु वरण गरी अमरत्व प्राप्त गरेको थियो । आज बीर गति प्राप्त गर्ने अमर प्रहरी हरु लाई उनीहरुको बीरताका कदर स्वरुप सम्मानपूर्वक प्रसंशापत्र प्रदान गरिने कार्यक्रम थियो । सुन्तली जस्तै थुप्रै वीरका विधवा तथा आफन्तहरुलाई आमन्त्रण गरिएको थियो । उ छोरालाई न्यानो माया दिएर पतिको यादमा टोलाई रहेकी थिई । त्यसैले आफ्नो स्वर्गीय पतिको नाउंको साथै घटनाको विवरण उद्घोषकले माईकवाट वर्णन गर्दा उनीलाई हेक्का भएन । एक्कासी कसैले उनी बसेको स्थानमा आएर अभिवादनका साथ कदरपत्र हातमा राखि दिएका थिए । त्यो क्षण सुन्तलीलाई असह्य भयो । मुटु छिया छिया भयो । आँसुका बलिन्द्र धारा बग्न थाले । कदरपत्र छोराको काखमा राखेर सेतो सारीको फेरले गालासम्म आएको आँसु पुछीन् । उनी बसेको कुर्सीवाट उठ्न पनि सकिनन् । छोरा काखमा रहेको बाबुको वीरताको कदरपत्र सुमसुमाउँंदै थियो । सुन्तली टुलुटुलु भावशुन्य रुपले अबोध छोरालाई हेरी रहीन् ।
विगतका दिनहरु चलचित्र जस्तो गरी उनलाई सम्झना आईरहेको थियो । भोज बहादुरको स्वाभिमान, निश्छल आचरण, मीठो मायालु बोलीवचन र शारीरिक तन्दुरुस्ती देखेर सुन्तलीले उसंग नचुंडिने मायाको माला गांसेकी थिईन् । उनी सम्झंदै थिईन्, कसरी सुन्तलीले जन्म दिने आमा बाबुको ईच्छा विपरित आफ्नो जातभन्दा बाहिरको जातसंग प्रेम विवाह गर्न पुगेकी थिईन् । भोज बहादुरको गुणहरुलाई र मायालाई सम्हाल्न आफुभन्दा तल्लो जातको हुंदा हुंदै पनि कसरी उनले समाजमा विद्यमान मान्यता र अवधारणा विपरित विवाह गरेकी थिईन् । कसरी उनीले रुढीवादी साजाजिक रिम्परा लाई भतकाएकी थिईन् । त्यसो त विवाह पछि पनि समाजले उनि माथि थुप्रै लान्छना नलागएको पनि होइन । तर अनि आफनो निश्चयमा अडिग थिईन् ।
अब त विवाह भएको पनि पाँच बर्ष वितिसकेछ । छोरो जन्मिएको पनि झण्डै चार बर्ष पुगिसकेछ । ति पाँच बर्षमा भोज बहादुरसंग उनले कति क्षण कति पल कसरी विताईन् त्यसको आफैलाई हेक्का थिएन । भोज बहादुर प्रहरी सेवामा प्रवेश गरेको तीन बर्ष मात्र भएको थियो । उनको गाउंँ उर्लेनी देखि चार घण्टा हिंडेपछि मात्र शान्तिपुर बजारमा पुगिन्थ्यो । सुन्तलीलाई सम्झना थियो एक दिन उनीहरुको गाउंमा नेपाल प्रहरीको एक डफ्फा शान्तिपुर थानावाट गश्ती गर्दै त्यहाँ पुगेको । भोज बहादुरले निक्कै चाख लिएर प्रहरीमा भर्ना हुने जिज्ञासा राखेको थियो । प्रहरी डफ्फाका एक जनाले उसलाई भर्ती हुने बारेमा जानकारी दिएका थिए । प्रहरी डफ्फा फर्कंदा भोज बहादुर निक्कै परसम्म उनीहरुसंगै गएको थियो र निक्कै बेर पछि फर्केको थियो । सुन्तलीसंग उसले त्यो सांझ आपूm पनि प्रहरीमा भर्ती हुने ईच्छा राखेको थियो । सुन्तलीले केही भनिनन्, आफ्नो काम गरिरही । त्यसपछि भोज बहादुर नेपाल प्रहरीमा भर्ना भएको थियो । भर्ती भएर तालीम सकेर घरमा आएको बेला उ प्रहरी पोशाकमै थियो । उसलाइृ आफू प्रहरी जवान भएकोमा धेरै गर्व थियो । उसलाई पोशाक पनि चौपट्टै सुहाएको थियो ।
उसका बाबु–आमा पनि खुसी देखिन्थे । भोज बहादुरका बाबु पनि भारतको सैनिक सेवा निबृत्त नायब सुबेदार भएकाले उनी त झनै खुसी थिए । गाउं घरमा सुवेदारको ईज्जत थियो । कैयौं पटक भोज बहादुरले आफ्ना बाबुबाट लडार्इंमा उनीले गरेका बहादुरीका कथा सुनिसकेको थियो । शायद यिनै कारणले पनि भोज बहादुर प्रहरी हुन तम्सिएको थियो । सुन्तलीले भने खै केही भन्न सकिनन् । बल्ल बल्ल एक बर्षको तालीम सकेर आउंदा पनि घरमा पांच दिनका लागि मात्र आएको रे । सल्यान जिल्लामा खटिएको कुरा भोज बहादुरले भनेको थियो उनलाई । सल्यान जानु भन्दा अघि त्यस भेगमा भएका घटनाहरु बारे रेडियो तथा समाचारपत्रवाट धेरै कुरा थाहा पाएको थियो उसले । सुन्तली खिन्न हुन्छे भनेर सबै कुरा भनेको थिएन । नभन्दा नभन्दै पनि सुन्तलीले धेरै कुरा केही हदसम्म थाहा पाएकी थिइन् । त्यसैले एक दिन उनले आफू भित्रको डर भोज बहादुर सामू प्रकट पनि गरेकी थिईन् ।
नेपाल प्रहरीको प्रहरी जवानमा भर्ती भएर देशको लागि सेवा गर्ने भोजबहादुरको पहिले देखिको अभिलाशा पुरा भएको थियो । उ आफू प्रहरी सेवामा प्रवेश गर्ने एउटा सम्वेदनशील कारण थियो, जुन उसले कहिल्यै विर्सन सकेको थिएन । साथै उसलाई त्यो दृष्यले घचघच्याई रहन्थ्यो । त्यो कारण थियो, उसको दिदीमाथि उसको भिनाजुले गरेको अमानवीय व्यवहार । ऊ सानै हुंदा उसको दिदी निर्मलाले एकजना लाहुरेसंग विवाह गरेकी थिईन् । चन्द्रकोटको मेलामा मेला भर्न जाँदा उनलाई फकाएर लगेको रहेछ । उनका पति निकै अम्मली र पापी पनि रहेछन् । पतिको तर्फबाट निर्मलाले कहिल्यै पनि दाम्पत्य जीवनको सुख पाइनन् । उनले आफ्नो जीवनभर अमानवीय व्यवहार र लान्छनाको सामना गर्नु परेको कुरा भोज बहादुरले आफ्नै आँखाले देखेको भए पनि उसले आफ्नो दिदीमाथि भएको अमानवीय व्यवहार र हिंसाको विरुद्ध केही गर्न सकेको थिएन । ऊ निरन्तर उपायको खोजीमा थियो । ऊ छटपटी रहेको थियो ।
बाबु सुवेदारले नेपालको प्रहरीमा भन्दा पनि भारतीय सैनिकमा भर्ति हुने आग्रह गर्दागदै पनि उ आफ्नो दिदीमाथि भएको अन्याय, अत्याचार, अमानवीय व्यवहार र हिंसाको विरुद्ध कानूनी कारवाही गर्नका लागि आफु प्रहरी भएरै छाड्ने दृढ संकल्पित थियो । ऊ अब प्रहरीमा भर्ति भैसकेको थियो, अब सल्यानमा जाने नजाने बारे दोधारमा पर्न ऊ चाहदैनथ्यो । तर पनि प्राणप्यारी सुन्तलीका कुरामा उसले ध्यान दिएको थियो । उसलाई उसका बाबुले भन्ने गरेका कुराको पनि हेक्का थियो । जसरी ऊ आफ्नो दिदीमाथि भएको अन्यायको विरुद्धमा उभिनका लागि प्रहरी जवान बन्ने अठोट गरेको थियो, त्यस्तै कैयौं नेपाली नागरिकहरुले गरीबी, अशिक्षा, रोग, भोक, थिचोमिचो, अन्याय, अत्याचार एवं हिंसा विरुद्ध उठेका हुन् भनेर । उसलाई यो पनि थाहा थियो कि कैयौंले यही मौका पारेर आफ्नो निहित स्वार्थ पनि पुरा गर्न उद्दत छन् भनेर । श्रीलंका, भारत, इनडोनेसिया, बर्मा, भियतनाम आदि देशहरुमा भएका घट्नाहरुका बारेमा ऊ बिलकुलै अनभिज्ञ थिएन । उसलाई विश्वास थियो कि एक दिन माओवादी र सरकारले आ–आफ्नो गल्तीहरुको महसूस गर्ने छन् र देश र जनताको हकहितका लागि अघि बढ्ने छन् भनेर ।
यन्त्रवत सुन्तलीलाई कसैले झकझकाएर अमर प्रहरीको प्रतिमामा फुलका थुंगा चढाउन जानकालागी ईशारा गरे । बीर अमर शहीदहरुको शालीकमा सुन्तलीले आफ्नो बीर अमर स्वर्गीय पति प्रति श्रद्धान्जलि अर्पण गरीन् । यतिखेर उसका हात कामेनन्, गोडा लडखडाएनन्, मुटु भक्कानिएर आएन । आफनो देशकालागी आफनो ज्यानको बाजी लगाएर कर्तव्य पुरा गर्दा गर्दै शहीद भएको बीर समुतप्रति श्रद्धान्जलि प्रकट गर्दा उनलाई गौरवको अनुभूति भइरहेको थियो । मनमनै उनले आफनो कलिलो छोरा लाई पनि देशकै सेवामा समर्पित गर्ने अठौट गरी सकेकी थिइन् । अस्तु ।
कयौं बीरगति प्राप्त अमर प्रहरी जवानहरुको संझना र समर्पणमा । सबै नाम हरु काल्पनिक हुन् । लेखक