Wednesday, August 02, 2023

६५ करोडको डिल नमिल्दा १ क्‍विन्टल सुन समातिएको खुलासा


 

६५ करोडको डिल नमिल्दा १ क्‍विन्टल सुन समातिएको खुलासा

शलिना कुँवर,  २०८० साउन ११ गते, ९:२७ बजे प्रकाशित

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आफूले पुरस्कारको

 व्यवस्था मिलाएकाले त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट बाहिरिएको एक

 क्‍विन्टल सुन बरामद गर्न सफलता मिलेको दाबी गरे। तर, स्रोतहरूका

 अनुसार तस्कर समूहहरू बीच ६५ करोड रुपैयाँको डिल नमिल्दा उक्त

 सुनबारे सूचना सरकारी निकायले पाएका हुन्। ६५ करोडको डिलमा कुरा

 मिल्थ्यो त यसपटक पनि उक्त सुन बाहिरिने अनुसन्धानबाट खुलेको

 स्रोतहरूको दाबी छ।

हालसम्म उक्त सुनका मालिक चिनियाँ नागरिक लिङ चुवान भएको खुलेको

 छ। भारततर्फ सुन प्राप्त गर्ने मालिकहरूबारे अनुसन्धान जारी रहेको

 स्रोतहरूको भनाइ छ।

तर, नेपालमा बसेर गाडीको व्यापार गर्ने भारतीय नागरिक राकेश अडुकियामाथि अनुसन्धान टोलीले ध्यान केन्द्रित गरेको छ। उनी नेपालबाट भारतसम्म सुन पुर्‍याउने मुख्य व्यक्ति हुन सक्ने आशंका अनुसन्धान टोलीको देखिन्छ। अनुसन्धानमा असर पुग्‍ने भयका कारण अहिले सरकारी अधिकारीहरू आधिकारिक धारणा दिनबाट टाढिँदै आएका छन्। अडुकिया भने यही मौकामा नेपाल छाडेर भारत पुगिसकेका छन्। उनलाई भाग्ने मौका दिएर ढिलो गरी ८ दिनपछि बुधबार मात्र उनको घरमा छापा मारिएको छ।

गत बुधबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले झण्डै एक सय किलो सुन बरामद गरेको थियो। परिमाणका आधारमा हालसम्मकै धेरै सुन समातिएको दाबी सरकारी अधिकारीहरूको छ।

तस्कर समूहले बा२ज २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिरिँदै गर्दा विभागको टोलीले सुन बरामद गरेको थियो। हङकङबाट कार्गोमा आएको उक्त सुन विमानस्थल भन्सार कार्यालयमा सोझै झारेर कर्मचारीकै मिलेमतोमा भन्सार जाँच पास भएको खुलासा भइसकेको छ। र, यति ठूलो परिमाणमा ल्याइएको सुन भन्सार जाँचपास कसरी भयो भन्‍ने प्रश्‍न उठेको छ। त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेललाई सरकारले जिम्मेवारीबाट हटाइसकेको छ।

हालसम्म सुन प्रकरणमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरका हर्कराज राई, ट्याक्सी चालक अशोक लामा, ठेगाना नखुलेका राजन श्रेष्‍ठ, कृष्‍ण श्रेष्‍ठ, ट्रान्स ग्लोबल सर्भिसका सञ्‍चालक पुष्‍करराज भट्ट, भन्सार एजेन्ट राजेन्द्र राई छन्। यस्तै, चिनियाँ नागरिक लिङ चुवान र एक तिब्बती मुलका भारतीय नागरिक थिप्तेन छिरिङ पनि पक्राउ परेका छन्। सुनका मालिक चिनियाँ नागरिक लिङ चीनतर्फ भाग्‍न लाग्दा त्रिभुवन विमानस्थलबाट समातिएका थिए।

प्रहरीले यसअघि मालिक रहेको आशंका गरेका दोलखा मेलुङ गाउँपालिका-१ का दिलिप भरिया मात्र भएको अनुसन्धान अधिकारीहरूको भनाइ छ। उनलाई मालिकको रूपमा व्याख्या गर्नुको पनि कारण छ। किनकि, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर सामान मगाएको ‘रेडी ट्रेडर्स प्रालि’ नामक कम्पनी उनकै नाममा दर्ता छ। अनुसन्धान अगाडि बढाउँदै लैजाँदा दिलिप भरिया मात्र रहेको पाइएको छ। कम्पनी आफ्नो नाममा दर्ता गरेवापत तीनजना व्यक्तिले २० हजार दिएको कुरा अनुसन्धानका क्रममा खुलेको छ। उनको नाम दर्ता रहेको ‘रेडी ट्रेडर्स प्रालि’ले सुन जडित ब्रेक सु ल्याएको पाइएको छ।

जागिरको सिलसिलामा त्रिभुवन विमानस्थलमा समेत काम गरेका राष्‍ट्रिय अनुसन्धान विभागका एक पूर्वअधिकृतका अनुसार अवैध सुन सुरक्षा जाँचबाट उम्काउन भन्सार कर्मचारी र प्रहरीको मिलोमतो हुने गर्छ। माथिल्लो तहको संरक्षण नभई उनीहरूले सुरक्षा जाँच पार गराउने हिम्मत नगर्ने उनी बताउँछन्। खासगरी, सामानको एक्स-रे जाँच गर्ने भन्सार कर्मचारीलाई ‘मिलाइएको’ हुन्छ। र, प्रहरीले नदेखेजस्तो गरेर बाहिरिन दिन्छ। सुन राखिएको सुटकेस एक्स-रेमा छिराइन्छ तर नदेखेजस्तो गरेर छाडिन्छ। आपसमा कारोबार नमिल्दा मात्र सुन समातिने गरेको ती अधिकृत बताउँछन्। त्यसका लागि सुनको परिमाणअनुसार ठूलो रकमको चलखेल हुन्छ।

भन्सारका ३ कर्मचारी निलम्बित

भन्सार जाँचपास भएर निस्किएको देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई ६ साउनमा निलम्बन गरिएको छ। निलम्बनमा पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र सरोज  श्रेष्‍ठ छन्। तर, त्यति ठूलो परिमाणको सुन भन्सार नेतृत्वको मिलेमतोबिना सहजै जाँचपास भएर बाहिरिन सम्भव छ ? त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षामा तैनाथ प्रहरीको नेतृत्वमाथि प्रश्‍न उठेको छ।

भन्सार प्रमुख पोखरेल र विमानस्थल सुरक्षा प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरी सुन तस्करीको समयमा विदामा रहेको खुलेको छ। यस्तो बेलामा उनीहरू विदामा बस्‍नुलाई पनि रहस्यका रूपमा लिइएको राजस्व अनुसन्धान विभागका एक अधिकारीले बताए।

यस प्रकरणमा अनुसन्धानका लागि पाँच सदस्यीय टोली गठन भएको छ। अन्यको नाम नखुलाइए पनि नेपाल प्रहरीले एसपी कृष्‍ण पंगेनीलाई टोलीको सदस्य बनाएको छ।

इतिहासमा सुन तस्करी

अवैध सुन बरामद गरिएको यो पहिलोपटक भने होइन। यसअघि पनि पटक-पटक प्रहरी र राजस्व अनुसन्धान विभागले अवैध रूपमा भित्र्याइएको सुनलाई बरामद गर्दै आएका छन्।

गत १० पुसमा पनि त्रिभुवन विमानस्थलबाट १९ किलो सुन मरामद गरिएको थियो। चीनबाट आएको ७३० थान ‘भेप’भित्र फिट गरेर तस्करले सुन ल्याएका थिए। तर, भेपले भरिएका दुईवटा सुटकेसमा सुन रहेको तथ्य पत्ता लगाउन करिब ५ महिना लागेको थियो। उक्त प्रकरणमा पनि विमानस्थल भन्सारको नेतृत्वमाथि प्रश्‍न उठेको थियो।

विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्काले उक्त सुन पास गराएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उक्त सुन तस्करीमा संलग्‍न रहेको आरोपमा खड्कासहित ४ जना हाल सीआईबीको हिरासतमा छन्।

यस्तै, १३ पुस ०७३ मा रसुवाको टिमुरेबाट तस्करी गरी ल्याइएको ७ किलो सुनसहित कुन्साङ लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। १९ भदौ ०७४ मा प्रहरीले रसुवागढी नाका हुँदै काठमाडौं ल्याइएको ८८ किलो सुन बरामद गरेको थियो। त्यतिबेला सुन कारोबारमै संलग्‍न काठमाडौंका केही व्यापारीसमेत पक्राउ परेका थिए। उक्त सुन चीनको केरुङ नाका हुँदै अवैध रूपमा नेपाल भित्रिएको थियो। त्यसअघि सोही नाकाबाट १५ किलो सुन  केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बरामद गरेको थियो।

यस्तै, ०७५ सालमा साढे ३३ किलो सुनकाण्डमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासमेत भएको थियो। ०७६ कात्तिकमा २३ किलो अवैध सुन प्रहरीले बरामद  गरेको थियो। सोही वर्ष हङकङबाट आएका दुई चिनियाँ नागरिक ८ किलो सुनसहित विमानस्थलमा पक्राउ परेका थिए।

११ माघ ०७७ मा त्रिभुवन विमानस्थलबाटै अवैध सुनसहित दुईजना पक्राउ परेका थिए। कतारबाट आएका सुवास गुरुङ र तनहुँका टकबहादुर गुरुङ डाइपरमा लुकाएर ल्याएको अवस्थामा सुनसहित पक्राउ परेका थिए। त्यति बेला प्रहरीले ३४४.९९ ग्राम सुन बरामद गरेको थियो।

२०७१ देखि ०७८ सालसम्म करिब साढे ६ सय किलोभन्दा बढी सुन बरामद भएको थियो। र, त्यसयता ०७८ देखि ०८० सम्म आइपुग्दा सुन तस्करी झनै फस्टाएको देखिन्छ।

सेटिङ’मा चल्दै आएको धन्दाको शृंखला लामै छ। लागूऔषध र सुन तस्करी गर्न नेपालीलाई सिकाउने पोल्यान्डका नागरिक हुन्। पञ्‍चायतकालमा राजा महेन्द्रले मनाङका बासिन्दालाई सामान ल्याउन छुट दिएपछि शुरु भएको हो, सुन तस्करी। सुन र लागूऔषध तस्करीबीचको ‘कनेक्सन’ सन् १९७० कै दशकदेखि हो। सुनको अवैध कारोबार सन् १९८० को दशकमा ‘नोटिस’मा आएको हो। ०४५ सालतिर सुन तस्करीमा विमानस्थलमा तैनाथ प्रहरीको संलग्‍नता रहेको खुलेपछि पूरै सेट फिर्ता गरिएको थियो, एक प्रहरी अधिकृत पनि पक्राउ परेका थिए।

हङकङ, दुबई, थाइल्यान्ड, मलेसिया, कतार र चीनलगायतबाट भित्रिने अवैध सुनमध्ये थोरै नेपालमा खपत हुन्छ भने धेरै भारत पुर्‍याइन्छ।

उत्तरकोरियाली दूतावासका कर्मचारीको पनि संलग्‍नता देखिने गरेको थियो, त्यतिबेला। पञ्‍चायतकालमा सुन आउने-जाने भइरहन्थ्यो। ०४५ सालयता परिमाण ठूलो देखिन थालेको हो। खुमबहादुर खड्का र बामदेव गौतम गृहमन्त्री हुँदा संगठित रूप पायो यस धन्दाले। बहुदल कालमा शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द नेतृत्वका सरकारका पालामा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवैध धन्दा उत्कर्षमा थियो। त्यो पनि, सरकारका उच्चपदस्थ र प्रहरी अधिकृतकै प्रत्यक्ष संलग्‍नतामा।

त्यतिबेला एकपछि अर्को गृहमन्त्री बनेका खड्का र गौतमकै संरक्षणमा सुन र अमेरिकी डलरको अवैध ओसारपसार हुने गरेको थियो। डलर अन्य मुलुक पठाउने तथा सुन र चरेस भित्र्याउने धन्दा चलेको थियो। केही वर्षअघि अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्‍न एक नेपाली कारोबारीको खाता हङकङमा फेला पर्‍यो। एक चरेस व्यापारी काठमाडौंमा समातिए। उनको पैसा ती सुन व्यापारीको खातामा जम्मा भएको भेटियो। एक प्रतिशत कमिसनमा चरेस कारोबारीले काठमाडौंमै भुक्तानी पाइरहेका थिए।

बैंकसँग प्रहरीले खाताको विस्तृत विवरण माग्यो तर बैंकले कोड अर्डर माग्यो, जुन प्रहरीसँग थिएन। र, सुन कारोबारीलाई समाउने आधार भएन। पछिल्लो समय राज्य-प्रायोजित धन्दा सतहमा नदेखिए पनि सुनको अवैध व्यापार उस्तै छ। तस्करीमा मुछिने प्रहरी अधिकृत र सरकारी कर्मचारीहरू व्यक्तिगत हिसाबमा मात्र गिरोहको पछाडि लागेको देखिन्छ। बरु, भन्सार यसमा संगठित देखिन्छ। विमानस्थलमा ‘सेन्ट्रल कलेक्सन’ हुन्छ, त्यही बास्केटमा आएको रकम माथिदेखि तलसम्म बाँडचुँड हुन्छ।

जग्गा खरिद गर्दा मालपोतको अभिलेखबाट देखिन्छ, ठूलै परिमाणको सुन पनि सहजै लुकाएर राख्‍न सकिन्छ। नेपालमा आउने अवैध पहेंलो धातुको मुख्य बजार भारत हो। त्यसमध्ये थोरै परिमाण नेपालमै खपत हुन्छ। सुन बिग्रिने डर हुँदैन। र, मूल्य बढिरहने कारणले सञ्‍चिति सजिलो छ। खासगरी, भारत सरकारले यसअघि पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि भारतमा सुनको माग ह्वात्तै बढेको छ। मानिसले बैंकमा रकम जम्मा गर्नुको साटो सुन किनेर घरमै राख्‍ने गर्न थालेका छन्।

२० किलोको ग्यापका कारण तस्करी

नेपालमा दैनिक करिब ३५ किलो माग छ, वैध ढंगले १५ किलोभन्दा बढी ल्याउन पाइँदैन। नेपालमा भारतीय मुद्रा अभाव भए उताबाट सुन आइरहेको र पर्याप्त रहे नेपालबाट भारत सुन गइरहेको बुझिने गरेको छ। भारतमा वार्षिक ११६ टन सुन खपत हुन्छ। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार चीनमा सबैभन्दा बढी २४१ टन खपत हुन्छ।

नेपालमा दैनिक २५ किलो अवैध सुन प्रयोग हुँदै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले भनाइ रहँदै आएको छ। व्यवसायीले बजार मागअनुसार माल पाएका छैननन्। सरकारी कोटाको १५ किलोले बजार माग धान्दैन र अवैध रूपमा सुन भित्रिन्छ।

ठूला तीन सुन काण्ड

बुधबार समातिएको सुन इतिहासमै ठूलो बरामदी भएको प्रहरीको दाबी छ। तथापि, २९ मंसिर ०५४ मा पनि त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाटै १०० किलो सुन बरामद गरिएको थियो। उक्त सुन प्रकरणमा कोरियाली नागरिक जो कुन ह्वा र युन सोङ समातिएका थिए। उक्त सुन काण्डलाई अहिलेसम्मकै ठूलो बरामदी मानिँदै आएको थियो। १७ भदौ ०७४ मा रसुवागढी नाका हुँदै काठमाडौं ल्याइएको ८८ किलो सुन पनि ठूलो परिमाणको बरामदीमा पर्छ। त्यसमा सुन कारोबारमा संलग्‍न काठमाडौंका केही व्यापारीहरू संलग्‍न थिए।

कुन देशबाट भित्रिन्छ सुन ?

नेपालमा पछिल्ला ८ वर्षमा विभिन्‍न देशबाट दुई खर्ब ३५ अर्ब ४५ करोड २० लाख ४३ हजार रुपैयाँको सुन भित्रिएको पाइएको छ। उक्त रकमअनुसार ३९ हजार ९१५.९ किलो सुन भित्रिएको देखिन्छ। भन्सार विभागका अनुसार यो आँकडा वैध रूपमा नेपाल भित्रिएको सुनको मात्र हो। नेपालमा सबैभन्दा ठूलो मात्रामा कच्चा र ढिक्का सुन युनाइटेड अरब इमिरेट्स (यूएई), टर्की र स्विट्जरल्यान्डबाट आउने गरेको छ।

विभागका अनुसार गत आर्थिक वर्ष ०७९-८० को ११ महिनामा मात्र नेपालले यूएईबाट करिब १९ अर्ब रुपैयाँ बराबरको सुन आयात गरेको छ। नेपालमा हालसम्म अस्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, कम्बोडिया, क्यानाडा, चीन, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, मोरक्को, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर, थाइल्यान्डलगायत मुलुकबाट सुनका गहना आयात हुँदै आएका छन्।

गत आवमा मात्र नेपालले साढे ४४ अर्ब रुपैयाँभन्दा बढी मूल्यको ३४९३.४४ किलो सुन वैध रूपमा आयात गरेको थियो। अघिल्लो आव ०७८-७९ मा ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँ खर्चेर नेपालले ५६२७.२९ किलो सुन आयात गरेको थियो।

किन बढ्दै छ सुन तस्करी ?

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी नेपाल र भारतमा बजार मागअनुसार सुन आयात गर्न सरकारले नदिएका कारण तस्करी मौलाएको बताउँछन्। भन्छन्, ‘वैध आयात र स्थानीय बजारको मागबीच ठूलो ग्याप छ। सोही कारण सुन तस्करी मौलाएको छ।’

यो ग्याप नमेटिएसम्म सुन तस्करी यही रूपमा अझ बढी परिमाणमा पनि हुन सक्ने उनको भनाइ छ। भन्छन्, ‘विगतमा सुन तस्करी परिमाणात्मक हिसाबले कम हुन्थ्यो। तर, समयअनुसार जनसंख्या बढ्दै गएअनुसार सुनको माग पनि बढ्दै गएकाले विगतभन्दा अहिले सुन तस्करी परिमाणात्मक हिसाबले बढ्दै गएको छ।’

पछिल्ला वर्षमा नेपालमा सिंगापुर र हङकङबाट बढी अवैध सुन आउने गरेको छ। चीनाबाट पनि नेपालमा सुन आयात हुन्छ। तर, चीनले सुन निर्यात गर्दैन। चीनबाट निर्यात भई रसुवाबाट आउने सुन पनि हङकङबाट निर्यात भई आउने गरेको पूर्वडीआईजी मल्ल बताउँछन्।

नेपालमा हुँदै आएको सुन तस्करीका मालिक नेपाली नभई भारतीय नागरिक रहेको उनको भनाइ छ। भन्छन्, ‘ठूलो  मात्रामा सुन जाने भनेको भारतमै हो। नेपालीहरूले सानोतिनो लगानी गर्ने र सुनको ओसारपोसारको चाँजोपाँजो मिलाइदिने काम मात्र गर्छन्। तर, यसको लगानीकर्ता र मालिक भनेका भारतीयहरू हुन्छन्।’ उनका अनुसार बेलाबेलामा नोटबन्दी गरेर भारत सरकारले नोटमा कारोबार र बचतप्रति नागरिकमा अविश्वास सिर्जना गरेको छ। र, भारतीय नागरिकहरू त्यसको साटो सुन सञ्‍चित गर्न लालायित देखिन थालेका छन्। नेपाललाई ट्रान्जिट बनाएर भारतमा सुन तस्करी हुनुको मुख्य कारण पनि त्यही हो। उनी भन्छन्, ‘यसैकारणले पनि आगामी दिनमा सुन तस्करी अझै बढ्न सक्ने देखिन्छ।’

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...