Monday, November 04, 2024

महापातकी विरूपाक्ष !

 

महापातकी विरूपाक्ष !

विरूपाक्ष

डा० माधव प्रसाद पोखरेल

(‘नयाँ पत्रिका’ मा ‘महापातकी विरूपाक्ष’ शीर्षकमा प्रकाशित, कात्तिक २ गते २०७६ शनि बार)

 काठमाडौँमा पशुपति मन्दिरको पूर्वी ढोकाबाट वाग्मती किनारमा ओर्लिँदा दाहिने तिर ब्रह्मनाल नजिकै एउटा सानो मन्दिरमा एउटा उदेक लाग्दो मूर्ति छ । त्यस मूर्तिले सबै तीर्थ यात्रीको ध्यान आफु तिर तान्छ । धेरैजसो मानिसहरु त्यस मूर्तिलाई कलि (युग) को मूर्ति भनेर चिन्दछन् । मूर्ति पुरै तिघ्रा छोपिने गरी भुइँमा गाडिएको छ । त्यस मूर्तिका खुट्टा छन् कि छैनन् भन्ने कुराको भेउ पाइँदैन । मूर्तिको नाक नेप्टो छ, ओठ मोटो छ, टाउको बाटुलो छ, त्यसैले इतिहासकारहरुले त्यसलाई किरात कालको मूर्ति ठानेका छन् । नेपालमा भेटिएका सबभन्दा पुराना ढुङ्गाका मूर्तिमा यही कलिको मूर्ति र त्यसको पर तिर सिंहासनमा बसेको पुरुष मूर्ति समेत पर्दछन् (सत्यमोहन जोशी, २०१९, ‘पुरातत्त्व एक रोचक कथा’) । कलि युग जति जति छिप्पिन्छ, त्यति त्यति त्यो मूर्ति माथि माथि आउँछ भन्ने लोक विश्वास पनि पाइन्छ । जान्ने मान्छेहरु त्यस मूर्तिलाई विरूपाक्षको मूर्ति पनि भन्दछन् । संस्कृत कोशका आधारमा बिटुङ्गामा आँखो भएकाले यस मूर्तिलाई ‘विरूपाक्ष’ भनिएको रहेछ, किन भने शिवजीको जस्तै यस मूर्तिको पनि एउटा आँखो निधारमा छ, तर काठमाडौँ उपत्यकामा प्रचलित लोक कथाले ‘विरूपाक्ष’ अथवा ‘कलि’ को जस्तो परिचय दिन्छ, त्यस्तो अन्यत्र कतै पनि पाइँदैन।

काठमाडौँ उपत्यकामा प्रचलित लोक कथा अनुसार ‘विरूपाक्ष’ एउटा किराँती केटाको नाउँ हो । त्यो केटो सानै हुँदा घरमा सम्पत्ति नभएर केटाको बाबु धन कमाउन परदेश गयो, तर छोरो सात वर्षको हुँदा सम्म पनि बाबु चाहिँ घर नफर्के पछि हत्ते गरेर छोरो चाहिँ आमासित बिदा मागेर बाबु खोज्न निस्क्यो । जति ठाउँमा खोज्दा पनि आफु सत्र वर्षको भई सक्ता समेत बाबु कतै पनि नभेटिए पछि एक दिन छोरो चाहिँ जङ्गलमा भौँतारिई रहेका वेलामा रात पर्‍यो अनि उसले नजिकैको ओढारमा रात बिताउने निश्चय गर्‍यो । बाबुछोरै हराएको धेरै वर्ष बिते पछि आमा चाहिँ पनि बाबुछोरा खोज्न हिँडी । संयोगले आमाछोरा नै त्यसै ओढारमा वास बस्न पुगे । आमा तरुनी नै देखिन्थी । आमाछोराले एक अर्कालाई चिनेनन्, त्यसैले तिनीहरुको सहवास भयो । बिहान उठेर बाटो लाग्ने वेलामा चिनापर्ची गर्दा पो, तिनीहरु त आफ्नै आमाछोरा भएको थाहा भयो ।

विरूपाक्षको मातृगमन त्यो महापातक पछि नै कलि युगको सुरुवात भएको अरे । अहिले पनि  विरूपाक्षका कलि नेपालमै छ अरे । आमा चाहिँको कथा लोक कथाले के भन्छ, मलाई थाहा छैन, तर छोरो चाहिँ पश्चात्तापले हुरुक्क भयो । मातृगमनको पातकीले कस्तो प्रायश्चित्त गर्ने भनेर उसले भगवान पशुपति नाथलाई सोधेछ । पशुपति नाथ विष, भाङ, धतुराले लट्ठ भएको वेला परेछ, त्यसैले तिनले केटालाई १२ धार्नी तामा पगालेर खाए पछि मात्रै मातृगमनको पाप छुट्छ भनी दिएछन् । केटाले तामा पघाल्न भाँडामा पकाएछ । धेरै समय सम्म आगामा तताए पछि तामा पग्ल्यो कि भनेर हेर्दा तामा त पग्लेनछ, तर भाँडा भित्र डढेको तामाको धुवाँले केटाको रूपै कालो, मैलो र विरूप भएछ । त्यस पछि केटाको नाम ‘विरूपाक्ष’ भयो अरे (लोक कथाले ‘विरूपाक्ष’ नामको ‘विरूप’ भन्ने अर्थ मात्र बुझेछ, ‘अक्ष’ भनेको ‘आँखो’ भन्ने चाहिँ बुझेको देखिँदैन) ।

भगवान पशुपतिले त आफुलाई ठगेछन् भन्ने लागेर त्यस पछि विरूपाक्ष शिवजीलाई मनपरी गाली गर्दै र उनका मूर्तिमा लात्ताले हान्दै पशुपति क्षेत्रमा भौँतारिन्छ अनि उ भगवान बुद्धको शरणमा जान्छ । बुद्धले उसलाई बोधिचित्तको एउटा जपमाला दिन्छन् र त्यो माला नखुइलिउन्जेल घुमाउनु भन्ने उपदेश दिन्छन् । माला खुइलिए पछि तेरो पापमोचन हुन्छ भन्ने बुद्धको उपदेश थियो । विरूपाक्षले अहिले उसको मूर्ति जहाँ छ, त्यहीँ बसेर माला धेरै घुमायो, तर माला खुइलिएन । हताश भएको विरूपाक्षले एउटा फलामको पातो मरुन्जेल ढुङ्गामा घोटी रहेको एउटा केटालाई देखेर के गरेको भनेर सोध्यो । केटाले भन्यो, ‘हेर्नु होस् न, मेरो लुगा फाट्यो, त्यसैले फलाम घोटेर सियो बनाउन खोजेको ! त्यही सियाले यो लुगा तुन्छु भनेर यो फलाम घोटेको ।’ विरूपाक्षलाई कडा मेहनत गर्ने प्रेरणा दिन त्यो केटाको भेस लिएर आएका ती भगवान बुद्ध नै रहेछन् । त्यस केटाबाट ज्ञान पाए पछि विरूपाक्षको माला पनि खुइलियो, तर पशुपतिका भक्तहरुले शिवजीलाई तथानाम गाली गरेर उनका मूर्तिमा लात्ताले हान्दै हिँड्ने विरूपाक्षलाई पकडेर वाग्मती किनारमै भुइँमा गाढी दिए । आफुलाई धोका दिने भगवान र आफुलाई भुइँमा गाड्ने भक्तहरुसँग बदला लिन विरूपाक्ष भुइँबाट उखेलिन बल गरी रहेको छ । कलि युगको अन्तमा विरूपाक्ष पुरै बाहिर निस्किन्छ भन्ने लोक विश्वास छ । पशुपतिमा विरूपाक्षको मूर्ति नजिकैकी एउटी महिलाको मूर्ति विरूपाक्षकी आमा (किराँतिनी हो कि यक्षिणी) को हो भन्ने विश्वास पाइन्छ ।

काठमाडौँको ‘विरूपाक्ष’ को यो लोक कथा बौद्धहरुले बनाए जस्तो छ, किन भने (१) यस कथामा विरूपाक्षसँग डराएर महादेव भागेर बुद्धको शरणमा गएको वर्णन छ, (२) बुद्धले शरण दिएर स्वयम्भूमा महादेव ‘पञ्चबुद्ध’ का रूपमा लुकेको कुरो पनि यसै कथामा पाइन्छ, (३) शिवजीले ठगेको कुरो छ, बुद्धले सद्बुद्धि दिएको कुरो कथामा छ, (४) सद्बुद्धि दिन बुद्ध गरिब केटाको भेसमा पनि आउँछन्, (५) शिवजीको नराम्रो कुरो मात्र छ, बुद्धको राम्रो कुरो मात्र छ, (६) विरूपाक्षले शिवजीलाई मनपरी गाली गरेको र लात्तले हानेको कुरो छ, अनि (७) विरूपाक्ष भगवान शिवकै एउटा नाउँ हो, तर यस कथाले विरूपाक्षलाई मातृगामी, महापातकी र कलि युगको साक्षात् मूर्तिका रूपमा यस्तो कथा रचेको छ, जसको छेउभेउ शिव पुराणमा कतै पनि आउँदैन । यी प्रमाणहरुका आधारमा के बुझिन्छ भने, कुनै वेला काठमाडौँ उपत्यकामा शैव र बौद्धहरुका बिचमा धार्मिक होड भएका वेलामा यहाँको बौद्ध परम्पराले महादेवलाई खसाल्न र बुद्धलाई शिवजी भन्दा ठुला र महान प्रमाणित गर्न यो कथा रचेको बुझिन्छ ।

पौराणिक (‘पुरानिक’) इन्साइक्लोपिडिया (वेत्तम मणि, २०७५ इ०) अनुसार विभिन्न पुराणमा विरूपाक्ष नामका आठ थरी पात्र पाइन्छन् । तिनीहरु मध्ये भगवान् शिवका एघार ओटा रुद्र रूप मध्ये एउटा रुद्रको नाम पनि विरूपाक्ष छ भने, विरूपाक्ष नाम भएका धेरैजसो पात्र चाहिँ दैत्य, दानव र राक्षस नै छन् (काठमाडौँ उपत्यकाको लोक कथा  चाहिँ कुनै पुराणमा पनि छैन), जस्तै, (१) यो पृथ्वी आठ ओटा हात्ती (दिग्गज) ले आठ दिशाबाट उचालेर थामिएको पौराणिक विश्वास छ । विरूपाक्ष तिनीहरु मध्ये एउटा हात्तीको नाउँ हो । (२) महाभारत, आदि पर्व (अध्याय ६७) अनुसार कश्यप प्रजापति र दनुको एउटा दानव सन्तानको नाम पनि विरूपाक्ष थियो । (३) महाभारत, सभा पर्व (दाक्षिणात्य पाठ, अध्याय ३८) अनुसार (मिथिलाबाट प्राग्ज्योतिषमा राज्य गर्न गएको) नरकासुरको एउटा असुर सेवकको नाम पनि विरूपाक्ष थियो, जसलाई लोहितगङ्गा (ब्रह्मपुत्र) किनारमा मारियो । (४) महाभारत, द्रोण पर्व (अध्याय १७५) अनुसार घटोत्कचको एउटा राक्षस मित्रको नाउँ पनि विरूपाक्ष थियो । (५) महाभारत, शान्ति पर्व (अध्याय १७०) अनुसार एउटा दैत्यको नाउ पनि विरूपाक्ष थियो । (६) वाल्मीकि रामायण (युद्ध काण्ड) अनुसार रावण पट्टि लागेर राम लक्ष्मणसित लडाइँ गर्ने एउटा राक्षसको नाम पनि विरूपाक्ष थियो । (७) अग्नि पुराण (अध्याय १०) अनुसार लक्ष्मणका हातबाट कुम्भकर्ण मरे पछि रावणका अनेक प्रमुख सेनापति मध्ये विरूपाक्ष पनि थियो । सुग्रीवले रावणको सेना तहसनहस पारेका वेलामा विरूपाक्ष हात्तीमा चढेर धनुर्वाणले युद्ध गर्न आयो र सबैलाई तर्सायो । अन्तमा सुग्रीवले विरूपाक्षलाई मारे । उत्तर वैदिक कालदेखि नै शिवजीलाई वैदिक साहित्यले खसालेकै पाइन्छ अनि जब जब देउता र दानवहरुका बिचमा युद्ध हुन्छ, त्यति वेला पुराणहरुमा भगवान विष्णुले चाहिँ देउताको ओर गरेको शिवजीले चाहिँ राक्षस, दानव, असुर र दैत्यहरुकै ओर गरी रहेको देखिन्छ । वैदिक साहित्य र पुराणहरुले ‘गतिछाडा’ ठहराएका शिवजी अवैदिकहरुका चाहिँ देउता रहेछन् भन्ने बुझिन्छ, त्यसैले विरूपाक्ष नाउँ भएका अनेक दैत्य, दानव, राक्षस र असुरहरु हुनु स्वाभाविक छ, किन भने शिवजी जसका देउता थिए, उनीहरुका हातमा कलम थिएन होला ।

विरूपाक्षको काठमाडौँ उपत्यकामा चलेको कथानक चाहिँ इपू० पाँचौँ शताब्दीका ग्रिसेली नाटककार सोफोक्लिजको ‘इडिपस रेक्स’ (राजा इडिपस) भन्ने नाटकको ग्रिसेली मिथकको कथानक (इन्साइक्लोपिडिया अफ ग्रिक एन्ड रोमन मिथोलोजी, २०१० इ०) सित मिल्छ । थेब्सका राजाको एउटा छोरो जन्मिने बितिक्कै के भविष्य वाणी भयो अरे भने, त्यस बालखले आफ्नै बाबुलाई मार्छ र आफ्नै आमालाई बिहे गर्छ । त्यस्तो अलच्छिनी बालखलाई जङ्गलमा मारेर फाल्न राजाले पठाए पनि सेवकले त्यसलाई जङ्गलमा त्यसै छोडी दिएछ । बालखलाई एउटा किसानले भेट्यो र कोरिन्थको निःसन्तान राजालाई दियो । राजा रानीले बालखको नाउँ ‘इडिपस’ राखे अनि त्यसलाई धर्म पुत्र बनाएर पाले । कतैबाट केटो यिनीहरु आफ्ना बाबु आमा होइन रहेनछन् भन्ने थाहा पाएर घर छोडेर हिँड्यो । बाटामा एउटा मान्छेसँग झगडा पर्‍यो । इडिपसले त्यसलाई मारी दियो र थेब्स गएर उसकी रानीलाई बिहे गर्‍यो र त्यसबाट सन्तान जन्मायो, तर डेल्फीको जोखाना अनुसार उसले आफ्नै बाबुलाई मारेछ र नचिनेर आफ्नै आमालाई बिहे गरेछ अनि आफ्नै भाइ बहिनी हो कि छोराछोरी जन्माएछ भन्ने थाहा पायो । त्यो अत्यन्त घृणित र पीडादायक महापातक चाल पाएर इडिपस, उसकी आमा हो कि रानी अनि उसका भाइ बहिनी हो कि छोराछोरी सबै आत्महत्या गरेर मरे ।

उदेक लाग्दो कुरो के छ भने, विरूपाक्षको किंवदन्ति मात्र ग्रिसेली मिथकको इडिपससित मिल्ने होइन, पशुपति आर्य घाटको विरूपाक्षको मूर्ति कला समेत ग्रिसेली शैलीमा बनेको छ (सत्यमोहन जोशी, २०१९, पुरातत्त्व एक रोचक कथा)।

भारतमा भगवान शिवका विरूपाक्ष मन्दिरहरु पाँच छ ठाउँमा छन् । कर्णाटक (हाम्पी, चारे, बङ्गलुरु, आदिहल्ली) मा मात्रै पनि विरूपाक्ष मन्दिर चार ओटा छन् । ती बाहेक ओडिशाको फुलबानीमा र मध्य प्रदेशको रतलाममा पनि विरूपाक्षका प्रसिद्ध मन्दिर छन् । भारत विरूपाक्ष मन्दिर भएको कुनै ठाउँमा पनि विरूपाक्षलाई दैत्य, राक्षस, दानव, कलि र पातकी ठानिँदैन । विरूपाक्षलाई मातृगामी पातकी कलि ठान्ने ठाउँ संसारभरमा काठमाडौँ उपत्यकामा मात्र हो, त्यसैले कलि युग अहिले कतै छ भने, नेपालमै छ भन्ने यस उपत्यकाको लोक विश्वास ठिकै हो कि जस्तो लाग्छ, किन भने भगवान शिवको पावन विरूपाक्ष मूर्तिलाई यस उपत्यकामा जस्तो अपमान, लाञ्छना र कलङ्क अन्यत्र कतै पनि लगाएको पाइँदैन ।

डा० जगमान गुरुङको ‘विरूपाक्ष र विराटकको मूर्ति’ भन्ने लेखमा उनले हरिणेश्वर नजिकै आर्यघाटमा रहेको विरूपाक्षको त्यही मूर्तिको शैली आन्ध्र प्रदेशको तिरुपति नजिकै गुडिमल्लमको परशुरामेश्वर लिङ्गमा कुँदिएको विरूपाक्षको मूर्तिसंग मिल्दछ भन्ने लेखेका छन् ।

गुडिमल्लममा ‘परशुरामेश्वर’ को पूर्ण कदको मूर्ति कालो कालो रछाहा रङको शिलामा सक्कली जस्तो देखिने विशाल लिङ्गको अग्र भागमा कुँदिएको छ । डा० गुरुङले भने झैँ परशुरामेश्वरको त्यो मूर्तिको लट्टा परेको कपाल झन्डै पशुपतिको विरूपाक्षको कपालको लट्टा जस्तै देखिन्छ, तर विरूपाक्षको मूर्ति कम्मर मुन्तिर भुइँमा छोपिएको छ भने, परशुरामेश्वरको मूर्ति शिरदेखि पाउ सम्म पुरै देखिन्छ । परशुरामेश्वरको नाक नेप्टो छैन, थेप्चो चाहिँ छ भने, पशुपतिका विरूपाक्षको नाक नेप्टो छ । गुडिमल्लमको शिव मूर्तिको देब्रे काँधमा परशुरामको  जस्तो बन्चरो भएकाले हो कि किन हो, त्यस मूर्तिको नाम ‘परशुरामेश्वर’ रहेको छ । शिवजीको दाहिने हातमा चाहिँ एउटा भेडो (सिकार?) लत्रिएको छ । शिवजीको काँधमा त्यहाँ पनि जनै छैन । काठमाडौँ र आन्ध्र प्रदेशका दुइटै मूर्तिमा शिवजीका हात दुइटै छन् । परशुरामेश्वरको पारदर्शी धोती बाहिरबाटै लिङ्ग चाहिँ छ्याङ्छ्याङ्ती देखिएको छ (एन.विकिपिडिया.ओआरजी)।

माथि उल्लेख गरिएका भारतको कर्णाटक, ओडिशा र मध्य प्रदेशका ‘विरूपाक्ष’ नै नाम भएका शिवजीको स्वरूप र आन्ध्र प्रदेशको ‘परशुरामेश्वर’ मा पाइने शिवजीको स्वरूप मध्ये नेपालको विरूपाक्षको अनुहारसित धेरै मिल्ने त परशुरामेश्वरकै स्वरूप हो, तर नेपालको विरूपाक्षको स्वरूपसँग काटिकुटी मिल्ने भगवान विरूपाक्षको स्वरूप चाहिँ कतै पनि छैन । भगवान विरूपाक्षको मानवाकृतिक रूप हाम्पीमा छन त छ, तर त्यसको स्वरूप नेपालका विरूपाक्षको स्वरूपसित मिल्दैन । सक्कली जस्तो देखिने पाँच फिट अग्लो शिव लिङ्गमा कुँदिएको परशुरामेश्वरको मूर्ति चाहिँ मानवाकृतिक छ, त्यसमा शिवजीको अनुहार त धेरैजसो नेपालका विरूपाक्षको अनुहारसित मिल्छ, तर त्यस मूर्तिलाई विरूपाक्षको भन्ने चलन छैन । अर्का तिर ‘विरूपाक्ष’ कै नाउँ भएका शिवजीको अर्को कुनै मूर्ति पनि नेपालको विरूपाक्षको मूर्तिसँग मिल्दैन । परशुरामेश्वरको जनै नलगाएको थ्याप्चो नाक र बाटुलो अनुहार भएको मूर्ति पहिलोदेखि तेस्रो शताब्दीको मानिए अनुसार डा० जगमान गुरुङले नेपालको सबभन्दा पुरानो त्यो विरूपाक्षको मूर्ति पनि उत्तिकै पुरानो हुनु पर्छ भन्ने अड्कल गरेका छन् । यहाँ सम्म गरिएको विरूपाक्षको स्वरूपको विवरणका आधारमा नेपालको विरूपाक्षको मूर्ति कुनै महापातकी र कलि युगको मूर्ति नभएर किरातेश्वर महादेवको मूर्ति हो भन्ने कुरो माथिका प्रसङ्गबाट बुझ्नु पर्छ ।

हाम्पीको विरूपाक्षको मूर्तिमा भने, तन्त्रको प्रभाव अलिक बढ्ता देखिन्छ । भारतीय उपमहाद्वीप भरि शैव र शाक्त परम्पराका सबैजसो देवीदेवताको स्वरूप र मन्दिरहरु तान्त्रिक आडमै बनेका छन् । यस उपमहाद्वीपमा तन्त्रको परम्परा सबै भन्दा पुरानो हो । सिन्धु बेँसीको सभ्यतामा नै तन्त्रको प्रभाव पाइन्छ । उपमहाद्वीपमा वैदिक सभ्यता (इपू १३००-१२००) विकसित हुनु भन्दा अगाडिदेखि नै त्यस (सिन्ध र पञ्जाब) देखि दक्षिण (इजिप्ट, मेसोपोटामिया र सिन्धु बेँसी) का प्राचीन सभ्यतामा तान्त्रिक संस्कृति चलेको देखिन्छ ।

तन्त्रका केही आधारभूत विशेषता मध्ये एउटा हो पुरुषलाई भन्दा महिलालाई बढ्ता सम्मान गर्नु, दोस्रो विशेषता हो यौन (पुरुष र नारीको लैङ्गिक सम्बन्ध) लाई चर्चा गर्नै नहुने, लुकाउनु पर्ने, जीवनमा कामै नलाग्ने जस्तो, असभ्य, छाडा, पापी र अपवित्र कुरो नठानेर कला र जीवनको महत्त्वपूर्ण विषय बनाउने, अनि तेस्रो विशेषता चाहिँ दम्पती मध्ये पुरुषले नारीलाई साक्षात् भगवती पार्वती ठान्ने, नारीले पुरुषलाई साक्षात् महादेव ठान्ने अनि उनीहरुको रति क्रीडालाई शिव पार्वतीकै आराधना ठानेर आनन्दमय भक्तिमा लीन हुनु र चौथो विशेषता हो पञ्चमकार (मद्य, मांस, मीन, मिथुन, र मुद्रा) लाई त्यागेर होइन, सेवन गरेरै विस्तारित ज्ञान र चेतनाको मार्गबाट मोक्ष प्राप्ति गर्ने हो (स्वामी आनन्दकल्पित सरस्वती, २००२ इ०, ‘एक्स्ट्यासी थ्रु तन्त्र’) । भारतीय उपमहाद्वीपमा प्रचलित त्यस तान्त्रिक दर्शन र तज्जन्य संस्कृतिलाई पहिले वैदिक आर्यहरुले र पछि बौद्धहरुले गतिछाडा र असभ्यहरुको आचरण ठाने ।

वैदिक धर्म (इपू० १२००-७००) र त्यसको उत्तराधिकारी सनातन हिन्दु धर्म (चौथो-छैटौँ शताब्दी) को प्रभाव कम भएका ठाउँ (हिमाली लेक, नेपाल, असम, दक्षिण भारत) मा चाहिँ अहिले पनि तान्त्रिक लोकाचार कायमै छ । शिव लिङ्ग, योनिर्लिङ्ग, जलहरी, मन्दिरका टुँडाल र भित्ताहरुको रतासन, थानकोट र भक्तपुरको गाई जात्रा, भीमसेन, घण्टाकर्ण र उग्रचण्डीको महोत्सव, असमको कामाख्या मन्दिर, उर्ध्वरेता विरूपाक्ष, छत्रचण्डेश्वर (भैरव) को नग्नमूर्ति, मध्य प्रदेशको खजुराहोको मन्दिरका कामकला अनि हाम्पीमा शिव पार्वतीको यौन विलास जस्ता सांस्कृतिक कुरा नेपाल भारतमा देखिनु तान्त्रिक दर्शन र संस्कृतिकै प्रभाव हो । दक्षिण भारत बाहिर मेसोपोटामिया र इजिप्टमा ओसिरिस र इसिसको अनि ग्रिसमा डायोनिससका उर्वरता सम्बन्धी महोत्सवले दक्षिणमा तन्त्रको व्यापकता सिद्ध गर्छ । प्राग्वैदिक, वैदिक र उत्तर वैदिक साहित्यमा पनि अश्वमेध यज्ञ, राजसूय यज्ञ, वाजपेय यज्ञ, व्रात्यस्तोम र महाव्रतका अनुष्ठानहरु (अस्को पर्पोला, २०१५ इ०, ‘रुट्स अफ हिन्दुइज्म’) मा यौन लोकाचारले जुन सांस्कृतिक स्वरूप पाएको छ, त्यो चाहिँ तान्त्रिक लोकाचार होइन ।

यौनलाई भारतीय उपमहाद्वीपमा तन्त्रले जति उदार दृष्टिले आफ्नो जीवन दर्शन बनाएको थियो, त्यति उदार युरोप र पश्चिमले सिग्मन्ड फ्रायड (२००५ इ०, ‘इडिपस कम्प्लेक्स’)  ले मनोविश्लेषणको सिद्धान्त र उपचार विधि नै विकास गरी सके पछि पनि बनाउन सकेको छैन ।

भारतका ६-७ ठाउँका विरूपाक्ष मन्दिरहरुमा भगवान शिवको मात्र श्रद्धा र भक्तिपूर्वक पूजा गरिएको कुरो हेर्दा माथिको विश्लेषणबाट के निष्कर्ष आउँछ भने, पशुपति आर्यघाटको विरूपाक्षको मूर्ति भगवान शिवकै किरातेश्वर मूर्ति रहेछ । विरूपाक्षका जस्ता शिवका जनै नलगाएका मूर्तिहरु जनै लगाएका शिव मूर्ति भन्दा पुराना रहेछन् । शैव धर्म र तन्त्र आज भन्दा झन्डै ६ हजार वर्षदेखि सिन्धु बेँसीको हडप्पा र मोहेन्जोदडोको प्राग्वैदिक सभ्यतामा प्रचलित थियो, तर वैदिक धर्म आज भन्दा दुई अढाई वर्ष भन्दा अगाडिको होइन । पछि आएका धर्मको लोकाचारले अनादि कालदेखि चली रहेका स्थानीय धर्मको लोकाचारलाई कलङ्कित गर्ने रहेछ । पुराना देउताहरु पनि कलङ्कित, गतिछाडा र महापातकी प्रमाणित गरेर लोक धर्मबाट विमुख पार्ने कथाहरु पछि आउनेले बनाउने रहेछन् । त्यसै गरी वैदिक धर्म र हिन्दु धर्मले वैष्णव धर्मको उत्थान गर्दै शिवजीलाई गतिछाडा ठहराई रहेकै थिए, पछि (छैटौँ शताब्दी) विकसित भएको बौद्ध धर्मले पनि भगवान विरूपाक्षलाई कलङ्कित र महापातकी प्रमाणित गर्ने लोक कथा बनाएछ भन्ने कुरो नेपाल खाल्डामा प्रचलित विरूपाक्षको उपाख्यानबाट बुझिन्छ ।

मगरजाति र माघे सकरान्ति पर्व

 मगरजाति र माघे सकरान्ति पर्व

डा. मीन श्रीस मगर

परिचय
सौर्य तिथिका हिसाबले माघ महिनाको पहिलो दिन सूर्य मकर राशीमा प्रवेश गर्दछ । यो दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा वर्षभरिको सबैभन्दा छोटो दिन, लामो रात र न्यून तापक्रम हुन्छ । माघे सङ्क्रान्तिकै दिनदेखि सूर्यले मकर राशीबाट उत्तर कर्कट राशितर्फको यात्रा प्रारम्भ गर्ने भएकाले दिन लामो, रात छोटो र तापक्रम बृद्धि हुँदै जान्छ ।  त्यसकारण सूर्य उत्तरायणको समयावधि अर्थात माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्ति  सम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरूमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि बृद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहरू मनाउने गरिन्छ । अंग्रेजी पात्रोअनुसार पनि यही समयतिर साल फेरिने हुन्छ । 

माघे सङ्क्रान्तिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कन्दमूल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ ।

शैलीगत विविधता र मान्यताहरू
नेपाल र भारतका अधिकांश समुदायमा माघे सङ्क्रान्तिलाई फरक–फरक नाम र मान्यताका आधारमा मनाउने चलन रहेको पाइन्छ । नेपालको पहाडी समुदायमा ‘माघे सङ्क्रान्ति’ काठमाडौंको नेवार समुदायमा ‘हामो संल्हु’ वा ‘घ्योचाकु संल्हु’ र तराईको थारु समुदायमा ‘माघी’ नामले यो चाड मनाइन्छ । नेपालको हिमाली समुदायमा पनि लगभग सूर्य उत्तरायणकै समयमा नयाँ वर्षको रुपमा ‘ल्होसार’ मनाउने गरिन्छ । छिमेकी भारतका अधिकांश स्थानमा मकर सङ्क्रान्ति नामले तीन चार दिनसम्म यो चाड मनाइन्छ । दहीचिउरा, तिलको मिठाई, खिच्री र खिर (पंजावमा) खाने गरिन्छ । हरियाणा, हिमाचल र पंजावमा ‘माघी’, तमिलनाडूमा ‘पोङगाल’, आसाममा ‘माघ विहु’ वा ‘भोगाली विहु’ र काश्मिरमा ‘शिशुर सयन्क्रात’ नामले मनाउने गरिन्छ । थाइल्याण्डमा ‘सोङ्गक्रान’, कम्वोडियामा ‘मोहा सङ्गक्रान’ लावसमा ‘पि–मा–लाख’ र वर्मा (म्यानमार) मा ‘थिङ्गयान’ नामले मनाइन्छ । हिन्दु समुदायमा विशेष धार्मिक विधिविधानअनुसार नदी–तलाउमा स्नान, तिर्थव्रत, पूजा आराधना, दानदक्षिणा गरेर मनाइन्छ । हरिद्वार, उज्जैन आदि स्थानमा बाह्रवर्षे कुम्भ मेला, प्रयागमा हरेक वर्ष मकर मेला लाग्ने गर्दछ भने नेपालको वागमती, शंखमुल, टेकुदोभान, पनौती, दोलालघाट, वराहक्षेत्र, त्रिवेणी संगम, सप्तगण्डी संगम, रिडी, देवघाट आदि नदी दोभानहरूमा मकर मेला लाग्ने गर्दछ । आदिवासी जनजाति समुदायमा भने धार्मिकभन्दा पनि सांस्कृतिक रुपमा माघेसक्राति मनाउने चलन रहेको पाइन्छ । 

उत्पत्ति
माघे सङ्क्रान्ति  मनाउने शैली र खानाका परिकारहरूका आधारमा यो चाडको विकास सिकारी युग (hunting gathering age) मा भएको बुझिन्छ । माघे सङ्क्रान्तिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कन्दमूल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ । रुकुमका कुनै भेगका मगरहरूले माघे सङ्क्रान्तिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको वदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ ।  

धार्मिक पक्ष
यो चाड कुनै खास धार्मिक तथा जातीय समुदायसँग मात्र सम्बन्धित नभएर खास यामको थालनी अर्थात उँभेउली यामको प्रारम्भसँग अन्तरसम्बन्धित रहेकाले स्थान र समुदायअनुसार आ–आफ्नै खाले मान्यता र जीवनशैली अनुरुप मनाउने परम्पराको विकास भएको पाइन्छ । मगर समाजमा माघे सङ्क्रान्तिलाई उँभेउलीको पहिलो चाड वा मिन्हामल्हेस (नयाँ वर्ष) को रुपमा मनाउने गरिएको पाइन्छ । मगरहरूले विशेषतः सांस्कृतिक चाडको रुपमा मनाउने गरे पनि कुलपितृको पूजा स्मरण गर्ने आफ्नै खाले धार्मिक विश्वास र मान्यता रहेको छ । मगर समाजमा हरेक चाडवाड एवं संस्कारजन्य कार्यहरूमा सर्वप्रथम आफ्नै कुलपितृ र स्थानीय देवदेवीको आराधना गर्ने परम्परा रहेको पाइन्छ । माघे सङ्क्रान्तिको विहानै स्नान गरी घरआँगन सरसफाई गरेपछि कुलपितृलाई धूप, दीप, जल, ध्वजा र प्रसाद चढाएर सुख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको निम्ति कामना गरिन्छ । वागलुङ गलकोट खुवाक्षेत्रका मगरहरूले पितृको नाउमा माघेको पातमा सुकुटी र घिउमा फुराएको चामल राखेर अगेनाको नजिक अम्टोमा र छानामा घुसार्ने गर्दछन् । गण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा माघेसक्रातिको विहानै घरमुलीले खोला वा पँधेरामा गएर स्नान गरी केराको पातमा एक–एक मुठी चामल र मासको दाल, अदुवाको टुक्रा, सिद्रा, फलफूल र जाँडरक्सी सात ठाउँमा राखेर धूपदीप सहित पितृलाई चढाउने चलन छ, जसलाई ‘मुठी याहाके’ (मुठी दिने) वा ‘डी डाके’ (पानी चढाउने) भनिन्छ ।

रुकुमका कुनै भेगका मगरहरूले माघे सङ्क्रान्तिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको वदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ । 

व्यक्तिगत वा पारिवारिक पितृपूजाका अतिरिक्त गाउँटोलका सबै घरधुरी मिलेर सामुहिक पितृपूजा गर्ने चलन पनि छ । काह्राङ्च पूजा (ठूलो पूजा) नामले गरिने यस्तो पूजामा झांक्री विधिबाट बाजेबजैको थानमा सुँगुर, बोका र कुखुरा बलि चढाइन्छ (वराल मगर, २०५०ः १२५ र थापा मगर, २०७३ः ९–१०)। डोल्पाली मगर समाजमा भोजपत्रको पातमा सेलरोटी, फर्सी, दालभात लगायतका परिकारहरू राखेर कागको पूजा गर्ने, राँको फाल्ने र सिकपाती (मोसोमा तेल राखेर बनाएको टीका) लगाएर आशीर्वाद दिने चलन रहेको छ । रुकुम रोल्पाको मगर समाजमा छोरीचेलीहरूले विहान स्नान गरी बारीमा उम्रेका जौंको झोप्ल्यानी (फूलको रुपमा प्रयोग गरिने जौंको पात) र दहीचामलको सेतो टीकाले पँधेरो, धुरीखाँबो र अगेना पुजेपछि घरपरिवारका सबै सदस्यहरूलाई टीका लगाइदिन्छन् । त्यसपछि छोरीचेलीहरूलाई मिसरा (चामल, तरुल, पिडालु, दाल र पैसा) दिइन्छ (बुढा मगर, २०७४ः १) । कतिपय गाउँका युवायुवतीहरूले माघे सङ्क्रान्तिभन्दा अघि उच्च लेकाली क्षेत्रको चरनमा गएर कुलपितृलाई चढाउनका लागि फूल टिपेर ल्याउने गर्दछन् । दोलखातिरका सारु मगरहरूले माघे सङ्क्रान्तिको अवसरमा लामाझांक्री विधिबाट चार दिनसम्म कुलपूजाको कार्यक्रम चलाउने र पाहुना बोलाएर ख्वाउने गर्दछन् भने रुकुमका केही मगरहरूले पनि माघे सङ्क्रान्तिका  दिन कुलपूजा गरेको पाइन्छ (श्रीस मगर २०६७ः ६०) । माघे सङ्क्रान्तिका दिनमा गरिने यस प्रकारका रीथिथितिलाई मगर जातिको पितृ र प्रकृति पूजक धार्मिक परम्परा र मान्यताको रुपमा लिन सकिन्छ । 

रुकुमको कुनै भेगमा सिस्नो खेल्ने पनि गरिन्छ । डोल्पाली मगरहरूले माघेसंक्रान्तिको अवसरमा तारो हान्ने, घोडा दौडाउने र पुतली नचाउने गर्दछन् । वागलुङको निसी भल्कोटमा पञ्चेबाजाको तालमा पुतलीनाच (तरवारनाच) नचाइन्छ भने निसी कापारुपमा मुकुण्डो लगाएर जौं बारीमा उफ्रदै घरघरमा गएर दान माग्दै नाच्ने काइपानाच नचाइन्छ ।

सामाजिक पक्ष
माघे सङ्क्रान्तिको अवसरमा टोलछिमेक भेला भएर मासुका लागि खसीबोका, सुँगुर, राँगा आदि काट्ने, वनमा गएर तरुल खन्ने तथा पात टिपेर ल्याई दुनाटपरी खुट्ने, माइती–चेली भेटघाट हुने र मिठोमसिने परिकार बनाएर खाने जस्ता गतिविधिले सामाजिक सम्बन्धलाई सुमधुर बनाउने गर्दछ । मगर समाजमा मनाइने माघे सङ्क्रान्तिले यही सामाजिक पक्षलाई विशेष जोड दिएको पाइन्छ । विवाह गरेर गएका आफ्ना छोरीचेलीलाई माइतीले सम्झने, आफ्नै छोरीचेली नभएकाहरूले दाजुभाइ खलकका छोरीचेलीलाई बोलाएर भए पनि एकछाक मिठोचोखो खुवाउने र मिसरा दिने परम्परा रहेको छ । मगर समाजमा माघे सङ्क्रान्तिको विशेष परिकारलाई मिसरा भनिन्छ । भारतको विहारमा माघे सङ्क्रान्तिको बेलामा खाने दाल, चामल, काउली, केराउ र आलु मिसाएर बनाएको परिकारलाई खिच्री भनिन्छ भने कुमाउँमा दाल र चामलको मिश्रित परिकारलाई खिचडी भनिन्छ । नेपालको अधिकांश समुदायमा मासको दाल, चामल, अदुवा, नून, बेसार र घिउको मिश्रणबाट बनेको परिकारलाई खिचडी भन्ने गरिन्छ । रुकुम रोल्पा भेगको मगर समाजमा माघेसक्रातिको बेलामा चेलीवेटीलाई दिइने विशेष परिकार र दक्षिणा (तरुल, पिंडालु, सखरखण्ड, रोटी, चामल, सिमी, पैसा आदि) लाई मिसरा भनिन्छ । वागलुङ गलकोट खुवाक्षेत्रको मगर समाजमा चेलीलाई दिइने मिसरामा सुकुटी समेत समावेश गरिएको हुन्छ । रुकुम रोल्पातिर सङ्क्रान्तिको दिन दाजुभाइले विहानै स्नान गरी केही नखाएर विवाहित चेलीको घरमा मिसरा लिएर जाने गर्दछन् । माघको दोस्रो दिन चेलीहरूले लिसक (रक्सी आदि पाहुर) लिएर माइतीमा आएर खानपिन गर्दछन् । सोही दिन कन्याकेटीहरू जान्या (वनभोज) जाने चलन छ । माघे सङ्क्रान्तिका बेलामा विवाहित चेलीसँग भेट हुन अनुकूलता नमिलेमा माघ महिनाभित्रको कुनै पनि दिनमा चेली पुज्ने अर्थात मिसरा दिने र भोजन गराउने चलन छ । वागलुङ गलकोट खुवाक्षेत्रका अर्गल, हिल, तारा र अमरभूमि भेगका मगरहरूले माघको पहिलो दिनलाई जेठी सङ्क्रान्ति र दोस्रो दिनलाई कान्छी सङक्रान्ति भनेर मनाउने गर्दछन् । जेठी सङ्क्रान्तिका दिन आउन नपाएका चेलीहरूलाई कान्छी सङ्क्रान्तिका दिन बोलाइन्छ । चेलीवेटी ख्वाएपछि मिसरा दिएर पठाइन्छ तर कुनै कारणवस माइती आउन नसकेका चेलीवेटीका लागि मिसरा घरमै पठाइन्छ । माघे सङ्क्रान्तिको मुख्य परिकारको रुपमा खिचडी, तरुल, पिडालु, मासु, रक्सी आदिलाई लिइन्छ । यद्धपि वागलुङको अर्गल, रुकुम–रोल्पाका केही भेगको मगर समाजमा खिचडी खाने चलन पाइँदैन । गण्डकी प्रश्रवणक्षेत्रको कतिपय मगर गाउँमा डेउली बारा अर्थात मास वा मस्याङ (सिल्टुङ) बाट बनाएको बारा, नौ थरिका अन्न मिसाएर पकाएको खिचडी, तरुल, सखरखण्ड आदि परिकार खाने चलन छ (थापा मगर, २०७३ः १०) । माघे सङ्क्रान्तिको समयमा पिडालु, तरुल, अदुवा जस्ता कन्दमुलहरू एवं मास, सिमी जस्ता गेडागुडी तयार हुने भएकाले नै मुख्य परिकारको रुपमा प्रयोग गरिएको हो । माघे सङ्क्रान्तिमा तरुल खाएमा शरीरका रोगव्याधी पखालिने र वर्षभरि नै रोग नलाग्ने विश्वास पनि लिइन्छ । 

तारो हान्दा निसाना ढाल्ने व्यक्तिलाई बाजा बजाउँदै र ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ भन्ने गीत गाउदै बोकेर डुलाउने गरिन्छ । यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्दछन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरुप फिर्ता दिने चलन छ ।

सांस्कृतिक पक्ष
मगर समाजमा मनाइने माघे सङ्क्रान्तिको प्रमुख आयाम भनेको सामाजिक र सांस्कृतिक पक्ष हो । मगरहरू स्वभावैले बढी मनोरञ्जनमुखी हुने भएकाले गीत, संगीत, नाच र खेलहरू पहिलो प्राथमिकतामा परेका हुन्छन् । यो चाडमा बन्दुक वा धनुवाण वा गुलेलीले तारो हानेर मनोरञ्जन लिने गरिन्छ । रुकुम रोल्पातिरको मगर समाजमा पुस १५ गते नम्सुइँ (तीर फुकाउने) विधि गरेर तीर हान्ने अभ्यास शुरु गरिन्छ । माघको तेस्रो दिनदेखि पाँचौं दिनसम्म एक ठाउँमा भेला भएर तारो हान्ने चलन रहेको छ । स्थानीय मगर भाषामा लामुई र कोथले भनिने धनुषवाणले काठको फल्याकमा बनाइएको गोलो चिन्हमा तिर हान्ने गरिन्छ । तारो हान्दा निसाना ढाल्ने व्यक्तिलाई बाजा बजाउँदै र ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ भन्ने गीत गाउदै बोकेर डुलाउने गरिन्छ । यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्दछन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरुप फिर्ता दिने चलन छ । तारो हान्ने खेलको क्रममा युवायुवतीहरूले गाउने र नाच्ने गर्दछन् (थापा मगर, २०७३ः ११) । रुकुमको कुनै भेगमा सिस्नो खेल्ने पनि गरिन्छ । डोल्पाली मगरहरूले माघेसंक्रान्तिको अवसरमा तारो हान्ने, घोडा दौडाउने र पुतली नचाउने गर्दछन् । वागलुङको निसी भल्कोटमा पञ्चेबाजाको तालमा पुतलीनाच (तरवारनाच) नचाइन्छ भने निसी कापारुपमा मुकुण्डो लगाएर जौं बारीमा उफ्रदै घरघरमा गएर दान माग्दै नाच्ने काइपानाच नचाइन्छ ।

माघेसक्रातिको अघिल्लो साँझ (पुस मसान्तको साँझ) घरघरमा बारा पकाउने हुँदा युवायुवतीहरूले समूह बनाएर बारा माग्न जाने गर्दछन्, जसलाई ओह्याँ बारा गेस्के (खेल्ने) भनिन्छ । एउटा लामो लौरोको एक टुप्पामा कोर्को बाँधेर दैलोबाट भित्र बारा पकाइरहेको स्थानतिर छिराउने गर्दछन् । यस क्रममा एक जनाले बच्चा रोए झैं ‘ओह्याँ ओह्याँ’ आवाज निकाल्ने र अरुले फकाए झैं ‘नरोऊ नानी भोकायौ होल; घरधनीले बारा दिन्छिन्’ भन्ने गर्दछन् ।

तिहारमा भैलोदेउसी खेले झैं घरघरमा गएर दान लिने चलन रुकुम रोल्पातिर पनि रहेको छ । माइतीमा आएका चेलीहरू र गाउँका अन्य चेलीहरूले मिसरा खाइसकेपछि एक ठाउँमा भेला भएर प्रत्येक घरघरमा गएर मस्यान्द्रा खेल्ने गर्दछन् । यस क्रममा उनीहरूले ढोकामा झोप्ल्यानी टाँसेपछि एकै स्वरमा मस्यान्द्रा पाई कि नपाई भन्दै भित्र पसेर घरका सदस्यहरूलाई दहीचामलको सेतो टीका र झोप्ल्यानी लगाइदिन्छन् । तिनीहरूलाई पिठो, चामल, नून, तेल, मासु आदि खानेकुरा र पैसा दान दिइन्छ । युवाहरू भिकुरा भन्ने चराको सिकार खेल्न वनतिर जाने गर्दछन् । मस्यान्द्रा खेल्ने र सिकार खेल्नेहरू साँझ पख पायक पर्ने नदी किनारमा भेला भएर जम्मा गरिएको खानेकुरा पकाएर खाने र कपडाको पुतला बनाई दहन गर्दछन् जसलाई स्थानीय मगर भाषामा ‘पुतली हिप्ने’ भनिन्छ । यसरी भैलीमा झैं दानदक्षिणा उठाउने चलन गण्डकी प्रश्रवणक्षेत्रमा पनि रहेको पाइन्छ ।

माघेसक्रातिको अघिल्लो साँझ (पुस मसान्तको साँझ) घरघरमा बारा पकाउने हुँदा युवायुवतीहरूले समूह बनाएर बारा माग्न जाने गर्दछन्, जसलाई ओह्याँ बारा गेस्के (खेल्ने) भनिन्छ । एउटा लामो लौरोको एक टुप्पामा कोर्को बाँधेर दैलोबाट भित्र बारा पकाइरहेको स्थानतिर छिराउने गर्दछन् । यस क्रममा एक जनाले बच्चा रोए झैं ‘ओह्याँ ओह्याँ’ आवाज निकाल्ने र अरुले फकाए झैं ‘नरोऊ नानी भोकायौ होल; घरधनीले बारा दिन्छिन्’ भन्ने गर्दछन् । उक्त कोर्कोमा बारा, तरुल, सखरखण्ड, रक्सी, मासु आदि राखिदिन्छन् । कोर्कोको सामाग्री कसैले नझिकोस् भनेर सिस्नेले छोपिएको हुन्छ । यसरी रातभरि घरघरमा डुलेर जम्मा गरिएको परिकारलाई कुनै एउटा घरमा बसेर खाने र नाचगान गरी रमाउने गर्दछन् । पूर्वी पाल्पा, तनहूँ लगायतका मगर बस्तीहरूमा माघेसक्रातिकै दिन कौ¥हा नाचको विधिवत थालनी गरिन्छ । कौ¥हामा गुरुवाले गीत शुरु गर्ने, सहभागी पुरुषहरूले छोप्ने, युवाहरूले खैँजडी बजाउने र कन्या (अविवाहित युवती) हरू नाच्ने गर्दछन् । कौ¥हा नाचमा बन्धन लिँदा लामाझांक्री र पुजारीहरूलाई झाँक आउँदछ । कन्याहरूले नाच्दै झाँक आएकाहरूको शिरमा छोएपछि झाँक छुट्छ । त्यसपछि स्वच्छन्द तरिकाले गीत गाएर नाच्ने गरिन्छ । रुकुम रोल्पातिरको मगर समाजमा माघेसक्रातिको दिन डाँफे र मयुरको आख्यानमा आधारित डाम्फ्या स्याई (झोराल्नी वा जोरा स्याई) नृत्य गीत प्रस्तुत गरिन्छ (बराल मगर, २०५०ः ११८, आचार्य, २०६८ः १५ र थापा मगर, २०७३ः १०) ।  

माघेसक्रातिका मानव–पर्यावरणीय विम्वहरू
साउने सङ्क्रान्तिदेखि सूर्य दक्षिणायन अर्थात उँधेउली याम र माघेसङ्क्रान्ति सूर्य उत्तरायण अर्थात उँभेउली यामको सांस्कृतिक विम्व भएकाले यी चाडहरू मनाउने तरिकामा स्थानीय पर्यावरण अनुकूलका रीतिथिति र मान्यताहरूको विकास भएको पाइन्छ । माघे सङ्क्रान्तिपछि तापक्रम बढ्दै जाने हुँदा आगो तापेर बस्ने समयको अन्त्य भएको प्रतीकका रुपमा डोल्पाली मगरहरूले राँको फाल्ने र काग पुज्ने रीति प्रचलनमा ल्याएको बुझिन्छ । गर्मी याममा झिंगा, लामखुट्टे, सर्प, विच्छी, मुसा जस्ता हानीकारक जीवहरू सक्रिय हुने तथा घर, आँगन र बारीको फोहरले रोग निम्त्याउने हुँदा मानव बस्ती वरपरको सफाईमा सघाउने कागलाई पूजा आह्वान गरिएको हो । साउनेसङ्क्रान्तिदेखि तापक्रम घट्दै जाने भएकाले डोल्पाली मगरहरूले न्यानोको प्रतीक आगोको अगुल्ठो घरको छाना (छत) को चारैतिर बालेर पूजा गर्दछन् । घोडा दौडाउने खेलले पनि बेसीबाट लेकतिर बसाइँ सर्ने समय भएको तर्फ संकेत गरेको देखिन्छ । झोप्ल्यानीको प्रयोगमा पनि पर्यावरणीय बिम्ब लुकेको छ ।

च्च पहाडी भेगमा बसोबास गर्ने मगरहरूको लागि सबैभन्दा पुरानो रैथाने जातको अन्नबाली जौं भएकाले शुभकार्य र उत्सवहरूमा यसको प्रयोग थालिएको हो । उँधेउलीको प्रारम्भमा मनाइने साउनेसक्राति र वर्षेवाली भित्र्याएपछि मनाइने कृषि चाड (harvest festival) डस्याक्य (दसैं) मा फूलको रुपमा प्रयोग गरिने जौंको जमरा घरभित्रको कुनामा उमार्न सकिने भए पनि पुस पन्ध्रपछिको अत्यधिक चिसोमा जमरा उमार्न सम्भव हुँदैन । त्यसैले बारीमा उम्रेका झोप्ल्यानी (जौंका वोट) लाई माघेसक्रातिमा प्रयोग गरिएको हो । मानवले आफू वरिपरिको पर्यावरणसँग घुलमिल हुँदै जीवनलाई निरन्तरता दिने क्रममा संस्कृतिको विकास हुने भएकाले संस्कृतिका महत्वपूर्ण अंग चाडवाडहरूमा पनि स्थानीय भूगोल, वातावरण र त्यहाँका जीव–वनस्पतिहरूको प्रभाव वा बिम्ब झल्केको हुन्छ । त्यो नै मौलिकता र विशिष्ट चिनारीको आधार हो । यस्तै खाले अतुलनीय एवं विशिष्ट चिनारीका आधारहरू माघेसक्रातिको अवसरमा मगर जातिले प्रर्दशन गर्ने लोकगीतनृत्य र संगीतमा प्रतिबिम्बित भएको देख्न पाइन्छ । मगरहरूले उँभेउलीको प्रारम्भ साउनेसक्रातिमा मादल फुकाएर शुरु गरेको आख्यानयुक्त नृत्य गीत मारुनीलाई माघेसक्रातिमा समापन गरेर कौ¥हा नृत्यको विधिवत थालनी गर्दछन् । माघेसक्रातिमा पुत्ला पोल्ने चलनले नारीको भेषमा पुरुष नाच्ने मारुनीको समापनलाई प्रतिविम्बित गरेको हुन्छ । माघेसक्रातिदेखि मादल बन्द हुने भएकाले उँभेउली याममा मादल बिनाको नृत्य गीत कौ¥हा र घाटुु नचाउने गरिन्छ । उँधेउली र उँभेउलीमा नाचिने नृत्य, गाइने गीत र संगीतको सिर्जना पनि प्रकृति र मौसम अनुकूल गरिएका छन् । उँधेउलीमा जाडो हुने भएकाले कुर्लेर गाउने गीत, घन्काएर बजाउने मादल र उफ्रेर नाचिने पुरुष नृत्यहरू सिर्जना भएका छन् भने उँभेउली अर्थात गर्मी याममा नयाँ पालुवा पलाउने, चराचुरुङ्गीले बच्चा कोरल्ने, खेतवारीमा अन्नको बिऊ छर्ने भएकाले सृष्टिका प्रतीक नारी अर्थात कन्याहरूको सौम्य र शान्त प्रकृतिका नृत्यहरू प्रस्तुत गरिन्छ । यिनै विम्ब, मान्यता र शैलीहरूमा नै मगर जातिले मनाउने माघेसक्रातिको मौलिकता र ऐतिहासिकता झल्केको पाइन्छ ।    

सन्दर्भ सामग्री
आचार्य, गोविन्द. (२०६८ वैशाख). था रू अर्थात हराएको मान्छे. जनपहुँच, १(२), पृ. १५–१६ । 
बराल मगर, केशरजंग. (२०५०, पुनः मुद्रण २०६८). पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति. काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
बुढा मगर, बमकुमारी. (२०६५). असौजको जवारा माघको झोप्ल्यानी. मगरदीप, ललितपुरः मगर समाज सेवा केन्द्र, अंक ४, पृ. ३८—४० । 
––– .(
२०७४ पुस २७). माघे सकरातीको सन्दर्भमा छलफल कार्यक्रम. नेपाल मगर संघ, केन्द्रीय समितिको आयोजनामा संचालित ‘माघे सकराती राष्ट्रिय मौलिक चाड ऐहासिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम’   मा प्रस्तुत पत्र ।
बुढामगर, भोजविक्रम र घर्तीमगर, श्यामप्रसाद. (२०७१). काइकेमगरको भाषा, संस्कार र चाड. सम्पा. यमबहादुर पुन र झकेन्द्र घर्तीमगर. मगर जातिः ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (पृ. १४९–१७५). काठमाडौंः मगर प्राज्ञिक समूह ।
श्रीस मगर, मीन. (२०६७). मगर जातिको चिनारी, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल मगर संघ केन्द्रीय समिति । 
थापा मगर, यमबहादुर. (२०७३ फागुन). मगरहरूको लोक संस्कृति एक अध्ययन. हाम्रो गोरेटो, ४(४), पृ. ८–११. 


महापातकी विरूपाक्ष !

  महापातकी विरूपाक्ष ! विरूपाक्ष डा० माधव प्रसाद पोखरेल (‘नयाँ पत्रिका’ मा ‘महापातकी विरूपाक्ष’ शीर्षकमा प्रकाशित, कात्तिक २ गते २०७६ शनि बा...