Showing posts with label कुसुण्डा. Show all posts
Showing posts with label कुसुण्डा. Show all posts

Wednesday, April 06, 2022

घाटुको शक्ति


 घाटुको शक्ति

सेवा भट्टराई, शनिबार, १८ जेठ, २०७६

थप सामग्री : https://www.himalkhabar.com/news/12819

नाच्ने क्रममा संगीतकै तालमा अचेत भएर घण्टौं झुम्ने र ब्युँझने घाटु नाच अन्तर्गतको सती घाटुले अचेत अवस्थामा पुर्‍याउने भएकाले जहाँसुकै देखाइँदैन।

लमजुङको बेसीशहर नजिकैको नाल्मा गाउँमा बुद्धपूर्णिमाको बिहानै बाक्लो चहलपहल छ । महिलाहरू गाउँको प्रवेशद्वार छेउको टाशी छ्योलेन गुम्बा पुगेर आशीर्वाद लिन्छन् र गाउँको बीचमा रहेको सामुदायिक भवन ‘ठाँटीघर’ पुग्छन्, घाटु नाचको तयारी गर्न  

खासगरी गुरुङ समुदायमा प्रचलित घाटुको तयारी श्रीपञ्चमीमा विशेष पूजापछि शुरू गरिन्छ र बुद्धपूर्णिमाको दिन नाच शुरु भएर ६/७ दिनसम्म चल्छ । नयाँ घाटुसरी (घाटु नाच्ने बालिका) छनोट गर्ने बेला रजस्वला नभएका, घाउ–चोट नलागेका र कपाल समेत नकाटेका बालिकाहरूलाई राखेर गीत गाइन्छ । जुन बालिकालाई घाटुले ‘छोप्छ’, तीमध्ये दुई जनालाई घाटुसरीका लागि छानेर बुद्धपूर्णिमासम्म अभ्यास गराइन्छ 

बाह्रमासे, कुसुण्डा र सती घाटु गरी तीन प्रकारका घाटु हुन्छन् । घाटुमा राजा पश्रामु र रानी यम्बावतीको कथा प्रदर्शन गरिन्छ । यसमा दुई बालिकामध्ये एकलाई राजा र एकलाई रानीको भेषमा सजाइन्छ र वनमा शिकार, राजारानीको विवाह, प्रेम, पुत्रलाभ, युद्धमा राजाको मृत्यु र रानी सती गएको प्रसंग गीत मार्फत प्रस्तुत गर्दै नचाइन्छ । घाटुसरीलाई गाउँका पुरुषहरूले मादल बजाएर गीत गाउँदै साथ दिन्छन् 

 नाच शुरु हुने अघिल्लो दिन राति सामूहिक दर खाएपछि गाउने–बजाउने र नाच्ने गुरु र घाटुसरीहरू उपवास बस्छन् । उनीहरू भोलिपल्ट दिनभर फलफूल मात्र खान्छन् । गुरुङ भेषभूषामा सजिएका दुई बालिकालाई दिउँसो विधिपूर्वक पूजा गरेपछि घाटु नृत्य शुरु हुन्छ । बालिकाहरूले धानको लावा र फूलबाट बनाइएको मुकुट लगाउँछन् 

त्यसपछि पुरुषहरू गीत गाउँछन्– ‘दही अक्षता चढाइदियो, गुनकेसरी फूल शिरमा लगाइदियो...’ आदि । गीतकै शब्द अनुसार केही महिलाले ती घाटुसरीलाई दही अक्षता चढाउने, फूल लगाइदिने गर्छन्  

घाटुका प्रत्येक खण्डलाई डाँडी भनिन्छ । धान रोप्ने, बिरुवा सार्ने जस्ता डाँडी मार्फत परम्परागत ज्ञानहरू नयाँ पुस्तामा हस्तान्तरण गरिन्छ । हरेक डाँडीको आफ्नै सामग्री हुन्छन्, जुन प्रत्येक वर्ष गुरुहरूले बनाउँछन् 

पश्रामुलाई चिनाउने सानो घोडा, यम्बावतीलाई चिनाउने काइँयो र ऐना, शिकार खेल्ने धनुबाण जस्ता सामग्री कथावस्तु अनुसार बोकेर घाटुसरीहरू अभिनय गर्छन् । सती घाटु डाँडी अन्तर्गत रानी यम्बावती सती गएको अभिनय गरेसँगै यो नाच सकिन्छ 

सती घाटुका क्रममा बालिकाहरू घण्टौंसम्म अचेत अवस्थामा संगीतको सुस्त तालमा नाचिरहन्छन् 

गुरुङ समुदायका साथै मध्य नेपालको गण्डक र आसपासका क्षेत्रमा मगर, दुरा, बलामी र कुमाल समुदायले पनि घाटु नाच नचाउने गर्छन् । यसको उत्पत्ति कसरी भयो भन्नेबारे भने अन्योल छ 



नाल्मालमजुङमा ४ जेठबुद्धपूर्णिमाको दिन भएको घाटु नाच । तस्वीरः झुमा लिम्बू

इतिहासमा राजा पश्रामु र रानी यम्बावतीको उल्लेख नभए पनि गुरुङ जातिले किंवदन्तीका रुपमा यी राजारानीसँग सम्बन्धित विभिन्न घटनाक्रमलाई सांस्कृतिक धरोहर मान्दै आएका छन्  नाल्मा गाउँका घाटुनाचका गुरु जंगबहादुर गुरुङ यो नाच बाजे–बराजुको पालादेखि नाचिंदै आएको र कसरी शुरु भयो भनेर पुर्खाहरूले नभनेको बताउँछन् । “तर यो यही क्षेत्रको कथा हो भन्ने मान्यता छ” उनी भन्छन्, “राजा पश्रामु लमजुङका गुरुङ राजा थिए भन्ने जनविश्वास छ ।”

घाटुमा गाइने गीतको भाषा ठ्याक्कै कुन हो भनेर खुट्याउन सकिएको छैन । विभिन्न अध्ययनले यो भाषा भोजपुरी र थारु भाषासँग मिल्दोजुल्दो देखाएको छ । शिकार खेल्न जाने क्रममा राजा पश्रामुले निकै टाढा यम्बावतीलाई भेटेको आधारमा उनी मधेशकी थिइन् भन्ने एकथरीको धारणा छ 

तर गुरुङ समुदायमा सतीको प्रचलन नहुनु र गीतको भाषा पनि फरक हुनु लगायत कारणहरू विश्लेषण गरेर केही विज्ञले फरक निष्कर्ष निकालेका छन् । घाटुबारे अनुसन्धान गरेका लोकसंगीत विज्ञ किशोर गुरुङ भन्छन्, “नेपालबाट डेढ सयदेखि दुई सय वर्षअघि भारतीय र ब्रिटिश सेनामा गएका लाहुरेहरूले यो नाच भित्र्याएको हुनुपर्छ । त्यसैले यो गीतको भाषा पनि उतैको छ ।” 

 यो नाचको नाम ‘घाटु’ को अर्थ के हो भन्ने पनि स्पष्ट खुलेको पाइँदैन । प्राध्यापक युवराज गुरुङको बुझाइमा भने यो नाचले सतीको मानसिक घाउ सिउने काम गर्छ । उनका अनुसार ‘घा’ भन्नाले घाउ र ‘टु’ अर्थात् सिउनु हो । सती घाटुमा रानी यम्बावतीले राजाको मृत्युपछि काखे छोरालाई छाडेर सती जानुपर्ने र राजकाज अरुलाई नै जिम्मा लगाउनुको पीडा देखाइन्छ । अन्तिम क्षणमा यम्बावती काम्दै नाचेको दृश्य मार्मिक हुन्छ 

 घाटुको अर्थ र गीतको भाषाबारे विभिन्न मत भए पनि यसको संगीतको शक्तिका बारेमा भने विज्ञहरू एकमत देखिन्छन् । घाटुसरीहरू संगीतकै तालमा अचेत भएर घण्टौं झुम्छन् र ब्युँझन्छन् 

 घाटुको बारेमा वृत्तचित्र बनाइरहेकी लोकसंगीत अनुसन्धानकर्ता झुमा लिम्बू भन्छिन्, “नाच्ने घाटुसरीहरूलाई अक्सर कथा थाहा हुँदैन । संगीतसँगै उनीहरूको भावना बग्छ । त्यसैले संगीतकै माध्यमबाट यो नाच सम्भव भएको हो ।” 

 नाच्ने बालिका र हेर्ने दर्शकलाई भावनात्मक रुपमा उद्वेलित पार्ने र शान्त तुल्याउने शक्ति त्यही लोकसंगीतमा हुन्छ । घाटुसरी ओमिका गुरुङ भन्छिन्, “सुस्तरी संगीत बजिरहँदा आँखा खोल्न त मन लाग्छ, तर खोल्नै सकिंदैन ।”

 


घाटुसरीहरू घण्टौं अचेत भएर नाचेपछि तितेपातीले आँखामा पानी छम्किने गरिन्छ, त्यस क्रममा उनीहरूलाई आँखा खोल्न जति समय पनि लाग्न सक्छ । उनीहरूलाई संगीत मार्फत नै ब्युँझाइन्छ र ब्युँझिन ढिलो भए कसैले छोएर वा अरु उपायबाट उठाउन मिल्दैन । अनुसन्धानकर्ता लिम्बू भन्छिन्, “भावनामा उतारचढाव ल्याउन सक्ने यस्तो शक्तिशाली संगीतको अभिलेखीकरण र संरक्षण गर्नु आवश्यक छ ।”

 घाटु नाचमा सबै विधिविधान पुर्‍याउनुपर्ने भएकाले यसलाई निश्चित समयमा मात्रै मञ्चन गरिन्छ । समुदायमा विवाह, व्रतबन्ध जस्ता कार्यमा मनोरञ्जनका लागि घाटुको शुरुआती खण्ड वा बाह्रमासे घाटु नाच्न सकिन्छ  तर अचेत अवस्थामा पुर्‍याउने सती घाटु जहाँसुकै नाचिंदैन 

 अझ एक पटक घाटुसरी बनिसकेका बालिका जीवनको जुनसुकै समयमा त्यो संगीत सुनेमा अचेत अवस्थामा पुग्न सक्ने भएकाले अरु बेला बजाउनै नमिल्ने र रेकर्ड गरेर प्रसारण गर्न समेत नमिल्ने नाचका गुरुहरू बताउँछन् 

 “घाटुमा ठूलो शक्ति हुन्छ, त्यसैले यसलाई हामी जुनसुकै बेला गाउने, बजाउने र नाच्ने गर्दैनौं”, घाटुको संरक्षणमा लागेका युवा राजु गुरुङ भन्छन् । तर, यो विशिष्ट परम्परामा युवाहरूको रुचि घट्दै जानु चिन्ताको विषय भएको उनी बताउँछन् 

थप सामग्री : https://www.himalkhabar.com/news/12819


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...