Showing posts with label गुरूङ नाच. Show all posts
Showing posts with label गुरूङ नाच. Show all posts

Thursday, September 15, 2022

मारूनी नाँच र यसको बिधि तथा परम्परा


 मारूनी नाँच र यसको बिधि तथा परम्परा

 https://fairnepal.net/6570/, November 1, 2021

 

मारूनी नाच नेपालको माैलिक एवं परम्परागत नाच हो।

याे नाचमा पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरू रामायण, महाभारत, कृष्णचरित्र अादिमामा आधारित गीतहरू गाएर नाचिन्छ ।

यो नाच नेपालका मगर, गुरुङ जातिको मुख्य संस्कृति हाे । तर पछिल्लाे समय पुस्तान्तरण हुन नसक्दा यो मारुनी नाच लोप हुने स्थितिमा पुगि सकेको छ। दशैँकाे कालरात्रीबाट विधिबत शुरू हुने याे नाँच मंसिरे पूर्णिमामा मादल पुजेपछि मात्र अन्त्य हुन्छ ।

यद्यपी अाजभाेलि परम्परागत बिधिपूर्पक नाच्चे प्रचलन भने लाेप भइसकेकाे छ । गुल्मी, पाल्पा, तनहुँ, म्याग्दी र बाग्लुङका केही स्थानमा अहिले पनि यदाकदा नाच्ने गरिए पनि माैलिकता भने हराउँदै गएकाे छ ।

युवा पुस्तामा लाेक तथा दाेहाेरी गायक प्रसाद खप्तरी मगरले याे गीतकाे संरक्षाणका लागि केही प्रयास गरे पनि अन्य कलाकार वा मगर गुरूङ समुदायकै अगुवाहरू यसकाे संरक्षणका लागि लागेकाे देखिँदैन ।

पहिले मारूनी नाच परम्परा मात्र हाेइन मनाेरञ्जनकाे माध्यम पनि थियाे तर अहिले अाधुनिकता र पश्चिमा संस्कृतिकाे प्रभाबका कारण लाेप हुँदै गएकाे छ ।

त्यसाे त याे नाँचकाे सबै विधि पुरा गर्न निरन्तर लामाे समय दिनु पर्ने भएकाले पनि ब्यस्तताका कारण नसकिएकाे जानकारहरू बताउँछन् ।

मारूनी नाचको एक समूह

मारुनी नाँचमा दुर्इ जना मारूनी दुईदेखि तीनजना मादले (मादल बजाउने मान्छे), एक जना पुरसिँगे र ६ जनादेखि १० जनासम्म गायकहरू हुन्छन्।

गायकहरूमा एक जना गुरु हुन्छ जसलाई मारुनी नाचको बारेमा सबै थाहा हुन्छ, जसले मारूनी नाचमा गाइने हरेक गीतहरूको लय जानेको हुन्छ, जसले नाचमा बजाइने ताल र नाचिने चालको बारेमा पूरा ज्ञान हुन्छ,

त्यसैलाई मात्र गुरु मानिएको हुन्छ । खास गरेर दशैँ, तिहार, देउसी, भैलीमा नाचिन्छ । कहीँकतै न्वारन, पूजा इत्यादी उत्सवहरूमा यो मारूनी नाँच नाच्ने गरिन्छ । यसकाे अाफ्नै विधि र परम्परा छ ।

मारूनी

मारूनी नै यो मारूनी नाचको मुख्य पात्र हुन् । दुइजना जुङ्घा दारी न आएका कलिला केटाहरू अथवा जुङ्घा दारी खौराएका ठुला पुरुष मानिसलाई महिलाको कपडा जस्तै:- चोलो, गुन्यू, चुरा, पोते, तिलहरी आदी महिलाले लगाउने गहनाहरू पहिराएर मारूनी बनाइन्छ।

मारूनीहरू मादलेकोसँगै अगाडि पछाडी घुमेर नाँच्दछन्। मारूनीलाई सिङारू (सिंगारीयको मान्छे) पनि भनिएको सुनिन्छ। सिङारू एक पटक बनि सके पछि नाचको पुरा अवधि सम्म तिनै मानिसहरू बाहेक अरु बदलिन पाउदैनन्।

पुरसिङे

पुरसिङे मारुनीहरू सँगै नाच्ने एक अर्को पात्र हो। पुरसिङेले महिलाको कपडा लगाएको हुदैन । पुरसिङे मादले र मारूनीकाे अघिपछि नाच्छ ।

भने याे नाचकाे समग्र लिड नै पुरसिङेले गरेकाे हुन्छ । पुरसिङेले हाउ भाउ तथा ताल चाल पुरै मारुनीकै मिलाउनु पर्ने भएकाले यसलाई पुरसिङे भन्ने गरिएकाे हाे ।

मादले

मादलेको पदबाटै थाह भएको छ की यिनिहरू मादल बजाउने मान्छे हुन्छन्। मादलेहरूले मादल कमरमा भिरेर बजाउदै मारूनीसँगै नाच्ने गर्छन्।

मादलेहरूमा एकजना गुरु मादल भिरेको हुन्छ गुरुमादल बजाउने मान्छेले मादलको ताल निकाल्छ । मारूनी नाचमा गीत अनुसार मादलको ताल पनि अलग अलग हुने भएकाले यदी मादलको ताल बिग्रियो भने र गुरुलाई स्वर तथा गीत परिवर्तनको संकेत दिनु परेमा गुरु मादल बजाउने मादलेले नै मादलमा जोरले ठोकेर ताल दिन्छ अथवा गुरुको अगाडि गएर मादल ठोक्छ ।

यसै गरी मारूनीलाई नचाउने मुख्य काम मादलेहरूको हो । मादलेले जुन चालमा खुट्टा चाल्छ, जुन तालमा मादल ठोक्छ, त्यसै तालमा मरूनीले नाच्नु पर्ने हुन्छ र मादलेहरू एक पछि अर्को बदलिन सक्छ ।

लाखे

लाखे पनि मारूनी नाचको एक मुख्य पात्र हो । एक जनालाई मुखमा लाखे खपर अथवा कार्टुनिस्टहरूले प्रयोग गर्ने मुखौटा लगाएर र शरीरमा पराल बाँधेर एक लाखे बनाइन्छ । लाखेको हातमा एक बाङ्गे लौरो हुन्छ ।

लाखेको मुख्य काम नाँचमा व्यांगात्मक कलाहरू देखाएर मनोरञ्जन गराउनु हो । यो बाहेक लाखेले दर्शकहरूबाट केही पैँसा माग्ने पनि गर्छ । लाखेलाई मारूनीको पतिको रूपमा बनाइएको हुन्छ ।

कतै कतै मारूनी नाचमा लाखे र मारूनीलाई महादेव र पार्वती को जोडी पनि भनिन्छ । त्यसैले लाखेलाई धेरै जिस्कायो भने भैरव चढेर बहुलाउछ भन्ने विश्वास गरिन्छ । [१]

मारुनी नाचमा प्रयोग हुने बाजाहरू

मारूनी नाचमा प्रयोग हुने बाजामा मादल मुख्य बाजा हो, मादलमा एक गुरु मादल पनि हुन्छ। मादल मादलेहरूले कमरमा भिरेर बजाउदै नाँच्दछन्।

यसै गरी खाँकर अर्को मुख्य बाजा हो, खाँकरलाई मारुनी तथा मादलेहरूले नाँच्दा खुट्टामा लगाउँछन्। खाँकर एक पितल र काँसोको मिश्रण धातु (जसलाई नेपालको गाउँले भाषामा “भरत धातु” पनि भनिन्छ) बाट बनेको गोलाकार रिँग हो।

रिँग भित्र साना साना फलामका गोटीहरू भरेको हुन्छ, जसले गर्दा खाँकर हल्लिदाँ “छम-छम” गरेर बज्दछ। यसै गरी मंजीरा मारूनी नाचमा प्रयोग गरिने अर्को बाजा हो। मंजीरा गायक टोलीले बजाउने गर्छन्। मारूनी नाचमा अन्य बाजाहरूमा बाँसुरी, मोरचंगा, हारमुनियम, गितार आदी आधुनीक बाजाहरूको पनि प्रयोग गर्न सकिन्छ।

केही प्रचलित गीतहरू

मारूनी नाचमा मारूनी नचाउनको लागि पौराणिक कथामा आधारीत गीतहरू गाइन्छन्। यसका साथै मारूनीको रूपको वर्णन, नाचको सुरुवात तथा अन्तमा प्रयोग हुने आरम्भ गित र अन्त्य गित, नाचको बीच बीचमा सल्याणी टप्पा आदी पनि गाइन्छन्। गितका केही उधारणहरू यहाँ दिइएका छन्।

आरम्भ गीत

पूरवै सुमेरू, पश्चीमै सुमेरू धार मधुम। चारै दिशा चारे किल्ला सुमेरू धार मधुम॥” अथवा पूर्व, पश्चीम, उत्तर, दक्षिण चारै दिशा चारै किल्लालाई बाँधेर राख्छौँ ताकि हाम्रो कार्यमा कुनै बाधा न आवस्।

उघारैलो, उघारैलो, सुनकै सँघार रूपकै द्वार उघारैलो, धारमी द्वार उघारैलो।” अथवा सुनको दरबाजा र रूपको खाँबा (सँघार) भएको यो संस्कृतिको ढोका उघारौँ।

हामरो नाचकी सरस्वती देवीले शरण देउ। शरण देउन शरण देउ सरस्वती देवीले शरण देउ” अथवा हामीहरू सबै मिलेर हाम्रा देवी देवताहरूलाई प्रणाम गरौँ । जसले गर्दा ति देवी देवताहरूले हाम्रो नाचलाई शरण दिउन् । (यसमा सरस्वतीको मात्र नभएर सबै देवी देवताहरूको नाम लिइन्छ।)

रामायण गीतहरू

बारहै बरषको सोमवारे औँसी लैजाउ लैजाउ श्रवण तिरथ घुमाउन।”

अथवा बाह्र बर्षमा एक पटक सोमती आमावस्या परेकोले यो पुण्य तिथीमा श्रवण कुमारका आमा बाबुले तिर्थ घुम्ने इछ्छा प्रकट गर्छन् ।

शिव शिव राम राम भानिजलाई बाण लाग्यो।” अथवा श्रवण कुमारले आफ्ना आमा बाबुलाई घुमाउन लगेको क्रममा जंगलको कुवामा पानी भर्दा राजा दशरथको बाण लागेर घाइते श्रवण कुमारलाई देखेर राजा दशरथले पश्चाताप गर्छन् ।
बाहिर बस्यो लक्षुमन बाहिर रह्यो राम । हेर दाजु राम चन्द्र देहलीका थाम । हेरें भाइ लक्षुमन लेख्यो वनवास ।”

अथवा रामलाई राजा दशरथले वनवासको आज्ञा गरेका दिन राम र लक्ष्मण दरबार प्रवेस गर्दा राम भित्र पसे भने लक्ष्मणले दैलो अथवा देहलीमा रामले वनवास जानु पर्ने सूचना टाँसेको देखेर दुइ भाइले आपसमा कुरा गर्छन् ।

लैगो लैगो सिता लैगो, लङ्कापति रावन्नेले सिता लैगो । ” अथवा राम वनवास गएको बेला लंकाको राजा रावणले सीतालाई हरण गरेर लियो ।

श्री राम नारायणले अश्वमारी जग्य लायो” अथवा भगवान श्रीरामले अश्वमेध (अश्वमार्ने) यज्ञा लगाए ।
यसै प्रकार रामायण तथा महाभारतलाई गीतहरूको पारामा ढालेर गाउँदै मारूनीलाई नचाइन्छ।

मारूनीलाई फुल्ल्याउने गीतहरू

शिरखण्ड काठको मादलु मेरो बजाउ गुरु दम दम, नाच मेरी मारूनै आगनीमा छम छम।”

नाच मारूनै मादलेको अगी पछि नाच मारुनै।”

यस्तै प्रकारका अनेक गितहरू बीच बीचमा गाएर मारूनीको हौशला बढाएर नचाइन्छ।

टप्पा

टप्पा सल्यान जिल्ला तिरको प्रचलित गीत भएर होला यसलाई सल्यानी टप्पा पनि भनेको सुनिन्छ। केही टप्पा गितहरू:-
चामल सरी आटो जुमलाको तिते फापर, जुम्ला जाने बाटो सिकाइ देउन मारुनी।

सँगै जाउँला बेंसी सितल पाटी झर्यौ भने, बनाइएल्यो आँसी, चिर्ते मिर्ते फलामको।
यस्तै प्रकारका अनेकौँ टप्पाहरू नाचको बिच बिचमा गाएर रमाइलो टप्पा नाच नाचिन्छ।

बीट मार्ने गीतहरू

मारूनी नाचको अन्तमा बीट मार्ने गीतहरू गाएर मारूनीले लगाएका कपडा गहना आदी फुकाल्न लगाइन्छ। केही बीट मार्ने गीतहरू:-
शिरैको शिरफूल खोलेर राख, हिजो थियौ जनाना आज मरिद।

आङको चोलिया खोलेर राख, हिजो थियौ जनाना आज मरिद।
यसरी नै बिट मार्ने गितहरू गाएर मारूनीको पहिरन उतार्न लगाएर मारूनी नाचको बीट मारीन्छ।

नाचको परम्परागत नियम

मारूनी नाच नेपाली समुदायको परम्परागत नृत्य भएता पनि यो नाचलाई जहिले कहिले जहाँ तहीं प्रदर्शन गर्दा अनिष्ठ हुन्छ भन्ने विश्वास गरिन्छ ।

मारूनी नाच प्रदर्शन गर्ने समुदायहरूमा दशैंको फूलपातीको दिन विशेष पूजा आजाका साथ नाचको आरम्भ गरिन्छ अथवा नाच बाँधिन्छ भने दशैं र तिहारको समयमा देउसी, भैलो, खेल्दा मारूनी नाचको प्रदर्शन गरिन्छ ।

चाडवाडहरू सिद्धिएपछी फेरी विशिष पूजाआजा गरेर नाच फुकुवा गरिन्छ अथवा नाचको अन्त गरिन्छ । नाच फुकुवा गरीसके पछी नाचमा प्रयोग गरिने मादल, खाँकर, मारूनीको लुगा, लाखेको खपर र लौरो आदी सबै सामानहरू लुकाएर राखिन्छ ।

यसरी नाच फुकाइ सकेपछी अर्को वर्ष नाच नबाँधुन्जेलसम्म नाचको प्रदर्शन गर्नु त परै जावस यदी गुरु मादल बजेको सुनिएमा पनि अनिष्ठ हुन्छ भन्ने जन विश्वास गरिन्छ ।

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...