कवि फैजसँग डराएको सत्ता !
नसिरुद्दिन शाह
Naya Patrika, २०७९ बैशाख २७ मंगलबार ०६:४७:००
महिलामाथि गाडी चलाउन लगाइएको
प्रतिबन्धको अवज्ञा गरेर जेल परेकी साउदी मानवअधिकारवादी अभियन्ता मनल अल–सरिफले
आशाका साथ ‘वर्षा एक थोपा पानीबाट’ सुरु हुन्छ भनेकी थिइन् । तर, हाम्रो मुलुकमा पहिलो थोपा अम्लवर्षाको थियो र यो वर्षा
लालकृष्ण आडवाणीको घृणायुक्त ‘रथ यात्रा’मा सारथि बनेबापत नरेन्द्र मोदीलाई
गुजरातका मुख्यमन्त्रीको पुरस्कार दिइएपछि बर्सेको थियो । र, यो वर्षाले भारतका मुसलमानमाथि परायाकरणको बाढी निम्त्याउन
सुरु गर्यो ।
तीन–तलाकको
प्रतिबन्ध मात्रै नभई यसको अपराधीकरण गरेर मुसलमान पुरुष र महिलालाई छुट्याउने
तीक्ष्ण योजना बनाइएको थियो । र, विडम्बना त्यहाँ अडिएको थियो, जहाँ मोदी मुसलमान महिलाबारे चासो राख्थे, तर मुसलमान पुरुषबारे वास्तै गर्दैनथे । यो पाखण्ड अचम्मलाग्दो तब भयो, जब साहिनबागको प्रदर्शनमा सहभागी ‘बहन बेटिया’ (छोरी–चेली)
‘विदेशी’ उक्साहटमा लागेकाले गद्दार बन्न पुगे । आन्दोलनरत किसानलाई ‘आन्दोलनजीवी’ र परजीवी बनाउने मोदीको प्रयास भने असफल हुन पुग्यो ।
मोदीका दसौँ लाख समर्थकले स्वाभाविक
रूपमा प्रधानमन्त्री हाल हिन्दुत्वका ठेकेदारले दैनिकजसो गर्ने बर्बरतापूर्ण
उक्साहटलगायत सबै कुकृत्यका लागि जिम्मेवार नभएको र यी विषयमा टिप्पणी गर्नेछन्
भन्ने अपेक्षा गर्नु हुन्न भनेर तर्क गर्न सक्छन् । मुसलमानको आमसंहारको खुला आह्वानमा निन्दा त छोडौँ, प्रतिक्रिया
नै नदिनु प्रमाण हो र थप प्रमाण खोज्ने हो भने दुर्गन्ध माथिदेखि नै आउनेछ । औरंगजेब र महमुद गजनबीको निरन्तर रूपमा नाम उछालिनुको एउटै लक्ष्य छ, अर्थात् हाम्रो देशका दक्षिणपन्थी हिन्दू जनतामाझ काल्पनिक
घाउको निर्माण गर्नु । हुँदा–हुँदा बेलायती उपनिवेशविरुद्ध डटेर प्रतिरोध गरेका टिपु सुल्तान पनि दानवीकरणबाट अछुतो छैनन् । त्यसमा ताज महल र कुतुब मिनार ‘हिन्दू मन्दिर’ थिए, जसलाई मुसलमानको स्मारक बनाइयो भन्ने भाष्य त छँदै छ ।
फैज अहमद फैजको नज्म ‘हम देखेंगे’ जिया–उल हकको शासनकालमा
लेखिएको थियो र ‘आज बाजार में’ अयुब खानको सरकारले उनलाई जेलमा हालेका वेला लेखेका
थिए । विद्यालयका पाठ्यपुस्तकबाट उहाँका कविता हटाइनुले कुनै पनि
प्रकारको विरोध अब स्वीकार्य छैन भन्ने चिसो तथ्यलाई संकेत गर्छ । हाम्रो मुलुकमा थुनिएका बुद्धिजीवी, कार्यकर्ता र शिक्षकमाझ यी कविता गुञ्जिएलान् कि भनेर डर पो
पलाएको हो कि ?
वा फैज पाकिस्तानी कवि हुन्
भनेर प्रतिबन्ध लगाइएको हो ? फैजले
बन्दै गरेको बंगलादेशको भ्रमण गर्दा घाउमा नुनचुक दल्न नभई घाउलाई निको पार्न
लेखिएको ‘हम के ठेहरे अजनबी’ कविता हटाउनु पनि उदेकलाग्दो छ । यी कवितालाई निषेध गर्ने शिक्षा बोर्डका योग्य अधिकारीले वास्तवमा यी कविता पढेका वा बुझेका छन् कि छैनन् भनेर म गम खान्छु ।
विद्यालयका
पाठ्यपुस्तकबाट फैजका कविता हटाइनुले कुनै पनि प्रकारको विरोध अब स्वीकार्य छैन
भन्ने चिसो तथ्यलाई संकेत गर्छ
यो प्रतिबन्धको सुरुवात आइआइटी कानपुरका प्राध्यापकले ‘सब
ताज उछाले जाएंगे,
सब बुथ उखाडे जाएंगे’ पंक्तिले
गजनवीको स्तूतिगान गर्यो भनेर आपत्ति व्यक्त गरेदेखि सुरु भएको हो, (उसो त नज्म दक्षिणपन्थी भड्काउको
सिकार बन्न थालिसकेको थियो) । बिम्बको संकुचित एवं संकीर्ण बुझाइ भएका व्यक्तिले आइआइटी वा भनौँ कुनै पनि अन्य शैक्षिक संस्थामा कसरी अध्यापन गर्न सक्छन् ? सबैभन्दा
ठूलो विडम्बना के रह्यो भने ‘हम देखेंगे’लाई पाकिस्तानका दक्षिणपन्थीले
मुसलमानविरोधी नज्मका रूपमा लिन्थे । अत्यधिक भयका साथ कुनै दिन उर्दूलाई विदेशी वा मुसलमानको भाषाका रूपमा तोकेर फैजको कविता–साहित्य वा कुनै अन्य उर्दू कविता–साहित्यलाई नै मुलुकमा पूर्ण रूपमा प्रतिबन्ध लगाइन बेर छैन । हतारोमा भारतका मुसलमानको
विगतका सबै अवशेष मेटाउने प्रयास भइरहेको छ, जब कि
हाम्रा प्रधान सेवक लालकिल्लाको पर्खालबाट राष्ट्रलाई सम्बोधन गर्छन् । लालकिल्ला निःसन्देह ‘हिन्दू शासक’द्वारा स्थापना गरिएको थियो अरे र यसमा आक्रमणकारी मुगलले ‘झुटो’ श्रेय लिने गरेका छन् रे !
यसका साथै वास्तवमा हामीलाई लुटेको मुलुकका प्रधानमन्त्रीलाई
उत्साहपूर्वक स्वागत गरिन्छ र अँगालो हालिन्छ र ती व्यक्ति मोदीका ‘खास दोस्त’
(विशेष मित्र) हुन्, जुन कुनै
वेला डोनाल्ड ट्रम्प र नवाज सरिफ पनि हुने गरेका थिए । बोरिस जोनसन आफ्नो विकृत कपालको
त्यान्द्रोसँगै मुलुकको प्रधानमन्त्री पदमा टाँसिएका छन् भने ट्रम्प जेल जाने
अवस्थामा छन् । मोदीसँग हातमा हात मिलाएर हिँड्ने अर्को अन्तर्राष्ट्रिय नेताको भविष्यलाई लिएर कोही चिन्तित हुन सक्छ । के ती व्यक्ति भ्लादिमिर पुटिन हुन सक्छन् ? केही समयअघि एउटा हाजिरी जवाफ कार्यक्रममा कुनै पनि प्रतियोगीले
‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’का लेखक वा ‘इन्कलाब जिन्दावाद’को नारा
धन्काउने लेखकको नाम बताउन सकेनन् ।
फारसी नाम भएका सहरको हिन्दीकरणसँगै ‘प्राचीन भारतका वैदिक
वैज्ञानिकहरू’ जस्ता सामग्रीको प्रसार, राइट
ब्रदर्सभन्दा शताब्दीयौँ अगाडि हामीसँग विमान थिए भन्ने दाबी, आइभिएफबाट सय कौरवको जन्म भयो र भगवान् गणेशको टाउकामा
हात्तीको टाउको प्लास्टिक सर्जरी गरेर राखिएको थियो भन्ने दाबी छरपस्ट छन् । वास्तवमा भविष्यमा इतिहासका पुस्तक लगभग निश्चित रूपमा किंवदन्तीभन्दा भिन्न हुनेछैनन्, जसले हामीलाई संसारको हाँसोको पात्र मात्र बनाउने छ । हाम्रो मुलुकको इतिहासमा लगभग ६ सय यस्ता वर्ष पक्कै हुनेछन्, जब केही पनि भएको थिएन वा मुसलमान आक्रमणकारीले भारतको
हिन्दू आबादीमा विनाश मच्चाएकै मन्दिरलाई मस्जिदमा रूपान्तरणका लागि हो भनेर
लेखिने वा लेखाइनेछ । वास्तवमा ‘खुन के धब्बे धुलेंगे कितनी बरसातोके बाद ?’ (रगतका टाटा कति वर्षा भएपछि पखालिनेछ ?)
द इन्डियन एक्सप्रेसबाट