कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सव
किन, कसरी
र कहिले गरिन्छ ?
https://www.onlinekhabar.com/2020/03/843865
हरेक मानिसको एउटा
वंशवृक्ष हुन्छ, जसलाई पुर्खा
वा कुल भन्ने गरिन्छ । आफ्नो पुर्खालाई सम्झिने वा सम्मान व्यक्त गर्ने विभिन्न
जातजातिमा आ–आफ्ना तौरतरिका छन् । यसमध्ये एउटा हो, कुलपुजा । आर्य संस्कृतिमा मात्रै नभएर
किराँतदेखि अरु पनि पूर्वीय परम्परामा कुलपूजाको परम्परा भेटिन्छ । यद्यपि, पुजाको विधिमा
विविधता छन् । मानिसहरु फिरन्ते जीवन छाडेर पारिवारिक संरचनामा प्रवेशसँगै कुल
पूजाको संस्कार सुरु भएको हो । पारिवारिक संरचनामा प्रवेश गरेसँगै बिस्तारै
मान्छेमा ‘तेरो र मेरो’ को भावना विकास हुन थाल्यो । कृषि जीवन, परिवारका सदस्य र
सिंगो जीवन नै तेरो–मेरोमा बित्न थालेसँगै कुलपूजाको परम्परा पनि कठोर र अनिवार्य
हुँदै गयो ।
विशेषगरी देउराली र
त्यस्तै साझा ठाउँमा कुलपूजाहरु गर्ने गरिन्छ । भगवानको पुजा र कुलपुजामा मुख्य
फरक के छ भने कुलपुजा गर्दा कसैको पनि मुर्ति राखिँदैन । मानिसहरुले यायावरी जीवन छाडेको लामो
समयसम्म एउटा परिवार विशाल वंशवृक्षमा परिणत हुँदै गएको पाइन्छ । यसैबाट एउटा
‘कुल’को निर्माण भएको हो । परिवारको वंशवृक्ष अझ बिस्तार हुँदै जाँदा यसमा ‘उपकुल’
हरु समेत थपिँदै गए । तिनलाई पनि ‘कुल’ को रुपमा नै मान्न थालियो । अहिले भने एकै
गोत्र र थरभित्र समेत धेरै कुलहरु अस्तित्वमा छन् ।
कुलपूजा आफूलाई फुर्सदको मौसममा शुभ
मुहूर्त जुराएर गर्न सकिन्छ भने अर्काेतर्फ यो पूजाको विधि पनि कुल अनुसार फरक
हुने गर्छ । तर, यो पूजा नगर्ने हो भने कुल रिसाएर ठूलो अनिष्ट हुन सक्ने मान्यता छ
।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका
पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई कुल पूजाको नियम खुकुलो हुँदा हुँदै पनि
अति आवश्यक र अनिवार्य गर्नैपर्ने पूजाको रुपमा मान्ने गरिएको बताउँछन् ।
उनकाअनुसार कुल पूजामा विशेषगरी ७ पुस्तासम्मका दिवंगत पितृहरुलाई सम्झिने गरिन्छ
। ‘कुल पूजालाई पहिलेदेखि नै भगवत् पूजनभन्दा पनि महत्वका साथ हेर्ने गरिएको छ,’ भट्टराई भन्छन् ।
जनजाति संस्कारका विज्ञ भोगीराज
चाम्लिङ कुल पूजाको महत्व मुन्धुममा समेत विशेष किसिमको हुने गरेको बताउँछन् ।
यसलाई प्रकृति पूजनको रुपमा लिँदै चाम्लिङ भन्छन्, ‘यो एक किसिमको प्रकृति पूजा हो
। तर, यसमा पितृहरुको सम्झना धेरै गरिन्छ । मुन्धुमले पनि आफ्ना
पितृहरुको पूजा गर्ने परम्पराको रुपमा यसको ब्याख्या गरेको छ ।’
देउराली पुज्ने प्रचलन धेरै पहिलेदेखि
चल्दै आएको हो । अहिले यो परम्परा बिस्तारै कम हुँदैछ । परिवारिक संरचनाको
सुरुवाती समयदेखि नै चलेको ‘तेरो मेरो’ भन्ने भावना विकास हुँदै मान्छे मरेपछि पनि
आत्मालाई मेरो र तेरो भन्ने चलन चल्दै गयो । यसैले आफ्ना पुर्खाहरुले जीवनपछि पनि
आफूलाई संरक्षण गर्छन् भन्ने मान्यताको विकास हुँदै गयो । यो चलन बिस्तारै
मृत्युपछिसम्म पनि चल्दै गयो ।
पूर्ववैदिककालमा पनि मानिसहरु अलौकिक
शक्तिमाथि विश्वास गर्थे र उनीहरुको कृपाले नै आफूहरुको सहज दैनिकी सम्भव भएको
मान्ने गर्थे। आफूले कूलपूजा गरेपछि मात्रै मृत पूर्खाहरुको आत्माले शान्ति पाउने
गर्छन् भन्ने मान्यता विकास भएसँगै यो एउटा नियमित प्रक्रियाको रुपमा चल्दै आयो ।
वैदिककालीन सूत्र
वैदिककालका मानिसहरु दुईवटा शक्तिलाई
मान्थे । एउटा त अदृश्य तत्वको रुपमा रहेको भगवान र अर्काे पुर्खाहरु । ऋग्वैदिक
काल (आजभन्दा तीन हजार वर्ष पहिले) सम्म पनि कुनै प्राकृतिक समस्याको कारण अलौकिक
शक्ति नै हो भन्ने मान्यता देखिन्छ । खडेरी, अतिबृष्टि, अनाबृष्टि, हुरीबतास आदिको कारण अलौकिक
शक्तिलाई मान्ने चलन पहिलेदेखि नै चल्दै आएको चलन हो । यसैबाट जन्मिएको मानिन्छ
कूलपूजाको परम्परा ।
ऋग्वेदका कतिपय ऋचाहरुमा
रुद्र(शिव)लाई धेरै नरिसाउन र आफूहरुबाट भएको गल्तीमा माफी दिन धेरै आग्रह गरिएको
पाइन्छ । त्यसको लागि उनीहरुले क्षमा पूजाको रुपमा स्तुति, यज्ञ जस्ता शर्तहरु समेत राख्ने
गरेको वैदिक ऋचाहरुमा उल्लेख छन् । सोही समयमा कुल देवताको रुपमा आफ्ना पितृहरुलाई
समेत पूजा गर्न सुरु गरियो । कुलायनको रुपमा वैदिक साहित्यहरुमा यसको धेरै चर्चा
गर्ने गरिन्छ ।
के हो कूल ?
आचारो विनयो विद्या प्रतिष्ठा
दर्शनम्
निष्ठा वृत्तिस्तपो दानं नवधा
कुल लक्षणम् ।
अर्थात्, कुनै पनि कुल बन्नको लागि आचार, विनय, विद्या, प्रतिष्ठा, दर्शन, निष्टा, वृत्ति, तप, दान गरी नौ वटा गुणहरु आवश्यक
पर्छन् । यही नौ वटा लक्षण रहेको कुलमा आफ्ना पुर्खाहरुलाई सम्झिएर गरिने पूजा नै
कुल पूजा हो ।
सामान्यतया कुनै पनि कूलको पूजा हुने
ठाउँमा मूर्ति राख्ने गरिँदैन । एउटा कूलको अदृष्य स्वरुपको पूजा गर्ने गरिन्छ ।
तसर्थ कुल देवताको रुपमा कुन देवीलाई पूज्ने भन्ने यकीन हुँदैन । यद्यपि कुल २४
वटा गोत्रका मानिसहरुले कुल देवीको रुपमा विभिन्न योगिनीहरुको उल्लेख गर्ने गरेका
छन् ।
कहिले र कसरी गर्ने ?
कुल पूजा कुन समयमा गर्ने भन्ने निश्चित
विधान छैन । विधि पनि फरक फरक हुनसक्छन् । कोही वेदोक्त विधिका अनुयायी छन् भने
कसैले तान्त्रिक विधिबाट पूजा गर्छन् । वेदोक्त विधिबाट पूजा गर्नेहरु शान्त रुपमा
पूजा गर्छन् । तान्त्रिक विधिबाट पूजा गर्नेहरु भने केही भिन्न हुन्छन् । कोही
पूजाको समयमा ‘शरीरमा कुल चढेर’ काम्छन् । कसैको पुरै परिवार नै काम्ने गरेको पनि
पाइन्छ ।
कसैले कुलपुजामा बली चढाउँछन् । कसैले
बली बर्जित गरेका हुन्छन् । यही बली दिने पनि आ–आफ्नै शैली हुन्छ । कोही खुकुरीले
काटेर बलि दिन्छन् । कोही रगत आफैं पिउने पनि गर्छन् । कोही भगवानलाई रगत चढाउँछन्
।
धेरैले कुलदेवताको मन्दिरमा छानो
राख्दैनन् । कुलदेवताको मन्दिरमा मूर्ति नहुने भएकोले छानो पनि राख्न नहुने
कतिपयको मत हुन्छ । कसैले छानो राखेर मन्दिर समेत बनाएको देखिन्छ । यद्यपि त्यो
पूजा गर्ने ठाउँमा रुख वा एउटा किलोलाई नै कुल देवताको मूर्ति बनाएर पूजा गर्ने
गरिन्छ ।
कतिपय जाति तथा सम्प्रदायहरुले
फुर्सदको समयमा कुलपुजा गर्छन् । यसमा कुनै निश्चित समय तोकिएको हुँदैन । तर, अधिकांशले मंसिर पूर्णिमा, अष्टमी र पञ्चमीका दिनमा
कुलपूजा गर्ने गरेको पाइन्छ ।
वैदिककालको कृषिमैत्री स्तुति
आदिम कालमा मेघ गर्जन, बिजुली चम्किने र भारी वर्षामा
‘ईश्वर’ रिसाएको भन्दै विभिन्न किसिमको प्रकृति पूजा गर्ने चलन थियो । यही
स्तुतिबाट हिन्दू धर्ममा यज्ञको सुरुवात भयो ।
शिवलाई रौद्र रुप निकालेको भनेर उनको
नाम नै रुद्र राखियो । यसको कारण थियो धेरै रिसाएर चट्याङ आदिबाट आफूहरुको विध्वंस
गराए भन्नु । इन्द्र, मरुत (वायु), सूर्य, पानी जस्ता खेतीपातीसँग सम्बन्धित विषयमा धेरै स्तुतिहरु
गरिएको पाइन्छ । कतिपयले आफ्ना कुलदेवताको रुपमा नै सूर्य, वायुआदिको समेत स्तुति गर्ने
गरेको पाइन्छ ।