Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

Friday, January 13, 2023

समावेशीकरणको चीरहरण

 समावेशीकरणको चीरहरण

कान्तिपुर, मंसिर ६, २०७४केशव दाहाल

चुनाव आयो । यो चुनावमा सही निर्णय गर्ने कि आज गल्ती गरेर ५ वर्ष नेताहरूलाई गाली गर्दै बस्ने ? यो प्रश्न मतदातालाई । यहींनेर मलाई पढ्ने प्रिय पाठकहरूलाई साक्षी राखेर केही प्रश्न गर्छु । के तपाई आजको चुनावी ढाँचा, शैली र संस्कृतिसँंग सन्तुष्ट हुनुहुन्छ ? के तपाई हाम्रा दल र नेताहरूसंँग खुसी हुनुहुन्छ ? सम्भवत: धेरैलाई लाग्ला, राजनीति सही बाटोमा छैन । यो सत्तास्वार्थ, अहंकार, दिशाहीनता र परिवारवादमा फसेको छ । त्यसो हो भने के यो निर्वाचनमा मतदाताले कुनै चमत्कार गर्ने सम्भावना छैन ? चमत्कार याने कि ती मान्छेलाई हराउने, जो हार्नका लागि सबैभन्दा योग्य छन् 

मेरा यी प्रश्न ती असल मान्छेहरूलाई, जो लोकतन्त्रका लागि लडेका थिए । किनभने आज लोकतन्त्र धनतन्त्र या डनतन्त्र बन्यो । मेरा यी प्रश्न ती कार्यकर्तालाई, जो लामो समयदेखि दलमा आबद्ध छन् । उनीहरू हर्दम आन्दोलनको अग्रभागमा उभिन्छन् । तर उनीहरूको दल दलजस्तो छैन । यो कसैको निजी कम्पनीजस्तो भयो । मेरा प्रश्न ती अभागी कमरेडहरूलाई, जसले पार्टीको सेवामा जीवनका ऊर्जाशील समय बिताए, तर कहिल्यै निर्णय गर्न पाएनन् । मेरा यी प्रश्न ती इमानदार मतदातालाई, जसले जिन्दगीमा अनेकौंपटक मतदान गरे र हरेकपटक उनीहरूको विश्वासले हार्दै गयो । प्रिय साथीहरू, के हामी यो राजनीतिलाई फेर्न सक्दैनौं ? के हामी चुपचाप सबै बेथिति सहन श्रापित छौं ?

थप केही प्रश्न गर्ने अनुमति पाऊँ । आखिर प्रश्नहरू नै त हुन्, हामीले गर्ने । थप केही असंगति राख्न स्वीकृति पाऊँ । असंगतिहरू नै त हुन्, हामीले अस्वीकार गर्ने । जस्तो कि लामो समय पार्टीमा काम गरेका इमानदार कमरेडहरूले यो पाली पनि टिकट पाएनन् । बरु चुनावको ठिक अघिल्लो दिन पार्टी प्रवेश गर्ने प्रखर मण्डले महोदय टिकटका हकदार भए । किन ? सबैभन्दा ठूला व्यापारीलाई पार्टीले पूजा गरेपछि साना, निम्छरा र इमानदार सदस्यहरूको समाजवाद के हुन्छ ? जिन्दगीभर समाजवादको सपना देख्ने तपाई, समाजवाद बनाउन नेतृत्व गर्छ, दलाल पुुँजीपतिले । सफा राजनीतिको अपेक्षा गर्ने जनता, टिकट पाउँछ कुनै बन्दुकेले । जब राजनीतिले गुन्डागिरीलाई वैधानिकता दिन्छ, तब लोकतन्त्र र सुशासन कता पुग्छ ? यस्तो बेला कसैले बहुमत ल्याउँछ र स्थिर सरकार बनाउँछ भने पनि त्यो कसको सरकार बन्छ ?

निर्वाचन गाउँ पसेको छ । धुलो उडाउँदै नेताहरूको गाडीको लस्कर सडकमा दौडिन्छ । सयौं कार्यकर्ता नामका लोभी चाकरहरूले घेरिएको नेता मञ्चमा चढेर भन्छ, ‘म समृद्धि दिन्छु’ । इतिहासदेखि हेपिएका गरिब मनुवाहरूले कसरी विश्वास गर्ने ? हिजो, अस्ति र त्योभन्दा वर्षाैंअघि पनि उनै सत्तामा थियो, उनै सरकारमा थियो । त्यो बेला गाउँमा सडक किन बनेन ? त्यो बेला रोजगारी किन मिलेन ? त्यो बेला अस्पतालमा दबाइ किन पाइएन ? त्यो बेला स्कुलमा पढाइ किन भएन ? त्यो बेला विकास कहाँ गयो ? त्यो बेला गाँस, बास र कपासको सपना किन पूरा भएन ? इतिहासलाई सचेत मतदाताले यति सजिलै कसरी भुल्न मिल्छ ? बितेका ३० वर्षदेखि इतिहासको ब्याज खाने असफल मठाधीशहरू आज समृद्धिको सपना बाड्छन् त पत्याउने कसरी ? हामी मतदाताले तिनका झुटलाई नपत्याउँदा के हुन्छ ?

धन, पार्टी, सत्ता र शक्ति कसले कब्जा गर्‍यो ? यो प्रश्न सचेत कार्यकर्ता र मतदाताहरूले नेताहरूलाई किन नसोध्ने ? समानुपातिक उम्मेदवारहरूको सूची हेरौं । त्यहाँ परिवारवाद, धनवाद र डनवादको राजनीतिक ‘कनेक्सन’ प्रस्ट देखिन्छ । किनभने समानुपातिक सूचीमा एउटै परिवारका अनेकौं लालची प्राणीहरूको नामावली समाविष्ट छ । तर इमानदार र योग्य मान्छेहरू किनाराकृत छन् । स्पष्ट छ कि समानुपातिक सूची डनवादको पापी फेहरिस्त हो । यो सूची लोकतन्त्र सकिएको र परिवारवाद मौलाएको असली प्रमाण हो । के पार्टीको गजुरमा बस्नेहरूको कार्यकर्ता, लोकतन्त्र र जनमतप्रति कुनै दायित्व हँुदैन ? अन्यथा टिकट वितरणमा महिला, सीमान्त समुदाय र गरिखाने वर्गका नाम कसरी छुट्न सक्छन् ? यस्तो राजनीतिले न्याय र समृद्धि दिँदैन । यस्तो नेतृत्वले लोकतन्त्रलाई सुन्दर रंगहरूले सजाउँदैन । यो समावेशीकरणको चीरहरण हो 

जगजाहेर छ कि सत्ता, शक्ति र स्वार्थलाई एउटै परिवारमा केन्द्रित गर्नु परिवारवाद हो । यो लोकतन्त्रको विकृत रूप हो । यसले अमूक परिवारमा सार्वभौमसत्ता निहित भएको भ्रम सिर्जना गर्छ । यसले राजनीतिमा पारिवारिक वर्चस्ववाद स्थापित गर्छ । आफ्नो परिवार र त्यसको शक्तिमाथि प्रश्न गर्ने सबैलाई फत्तुर लगाउनु परिवारवाद हो । हामीले राजशाहीको यसकारणले विरोध गरेका थियौं कि त्यो पारिवारिक भयो । त्यो लोकतन्त्र भएन । त्यो गणतन्त्र हैन । त्यसले परिवारको देवत्वकरण गर्‍यो । अहिले के भिन्न भयो ? निश्चित परिवारमा सार्वभौमसत्ताको हस्तान्तरण आज पनि छ । निश्चित मठाधीशमा लोकतन्त्रको केन्द्रीकरण आज पनि छ । तपाई जसलाई भोट हाल्नुहोस्, त्यो, यो वा त्यो कुनै परिवारकै प्रतिनिधि शासक बन्छ । परिणाम एउटै परिवारले सत्ताको दोहन गर्छ । एउटै परिवारले नीति बनाउँछ र उसैले त्यो नीतिको फाइदा लिन्छ । यो कस्तो गणतन्त्र हो ? यो गणतन्त्र हुनै सक्दैन, यो त परिवारतन्त्र हुन्छ । हामीले राजनीतिक रूपमा त शाह परिवारको शासकीय वर्चस्वलाई तोड्यौं । तर दलका नेताहरूको पारिवारिक वर्चस्वमा पुन: पँmस्यौं । यसलाई नतोडी लोकतन्त्र बन्दैन । यसलाई नतोडी चुनाव चुनावजस्तो हुँदैन । यसलाई नतोडी इमानदार कार्यकर्ताको लोकतन्त्र बन्दैन 

त्यसो त समानुपातिक निर्वाचन पद्धति लोकतन्त्रको गजव प्रयोग हो । यसको राजनीतिक अर्थ र उपादेयता पनि छ । तर दलहरूले जेजस्तो शैलीबाट समानुपातिक सूची बनाए, त्यो आफैमा सिद्धान्तहीन बन्न पुग्यो । किनभने त्यो सूचीमा समाविष्ट नामावली हेर्दा समानुपातिक निर्वाचनको व्यवस्थाकै चीरहरण गरियो । वस्तुत: यो निर्वाचन प्रणाली नेताहरूको परिवारवादलाई प्रबद्र्धन गर्न छनोट गरिएको होइन । तर भयो, त्यही । यो व्यवस्था नेताहरूको धन आर्जनको लागि थिएन । यो नेताहरूको ‘क्राइम पार्टनर’लाई खुसी पार्ने प्रयोजनका लागि थिएन । खासमा यो पद्धति यसकारण अपनाइयो कि चुनावी प्रतिस्पर्धामा भाग लिन नसक्ने सीमान्त समुदाय, वर्ग र लिंगलाई नीति निर्माणको उपल्लो हतमा लैजान आवश्यक छ । यो लोकतन्त्रको सुन्दर परिकल्पना थियो । तर नेताहरूले यो प्रणालीलाई यति धेरै विकृत गरे कि लोकतन्त्र नै लाजले निहुरियो 

पटक–पटक बहस गरिएको विषय हो कि युवाहरू राजनीतिमा आउनुपर्छ । पुरानाहरूलाई सम्मानपूर्वक विदा दिनुपर्छ । नयाँहरूको रचनात्मक क्षमताको उपयोगविना सिर्जनशील राजनीति सम्भव छैन । नयाँहरूको नेतृत्वविना समृद्धि पनि सम्भव छैन । तर यो पटकको निर्वाचनमा पनि पुरानाहरूको वर्चस्वले निरन्तरता पाउने स्पष्ट देखियो । पुरानाहरू टिकट वितरणमा त हावी छन् नै, उनीहरू नै शासकीय नेतृत्वमा पनि आउनेछन् । बितेका ३० वर्षमा जो सबैभन्दा असफल भए, अब पनि उनीहरू नै जित्नेछन् । यस्तो बेला कसरी भन्न सकिन्छ कि हाम्रो भविष्य सफल बन्छ ?

अत: सोचौं, अब पनि किन तिनै असफलहरूलाई भोट हाल्ने, जसले हामीलाई खराब ३० वर्षहरू उपहार दिए ? यो आजको युगप्रति बेइमानी हो । यो युवा स्वप्नद्रष्टाहरूप्रति बेइमानी हो । यो थोत्रो राजनीतिक सोच र वर्चस्वको हस्तक्षेप हो । यो कञ्चन र चलायमान राजनीति होइन 

स्पष्ट छ, हामीले परिवारमुखी, विकृत र धनवादी लोकतन्त्रका लागि बलिदान गरेको होइन । नेताहरूले परिवारवादको जुन धागो समाए, यसले उनीहरूको स्वर्ग त पक्का मिल्ला, तर जनताका लागि यो सुखद बाटो होइन । त्यसैले भन्नैपर्छ, परिवारवाद मुर्दावाद । मुर्दावाद जस्तो कठोर शब्द प्रयोग गर्नुपरेकोमा क्षमा चाहन्छु । यो मेरो आवेश होइन । अत्यन्तै सुविचारित रूपमा यो शब्दको प्रयोग गरिएको हो । जब लोकतन्त्र परिवारवाद, डनवाद र धनवादको घेराबन्दीमा पर्छ, कसैले न कसैले त यस्तो राजनीतिलाई

मुर्दावाद भन्नैपर्छ । अन्यथा कित आफूले गरेका आन्दोलनहरूलाई ब्यर्थ ठान्नुपर्छ । सहिदहरूको सपना बिर्सनुपर्छ । नेताहरूको शरण पर्नुपर्छ । नत्र यति धेरै बेथितिलाई सहनु आफैमा अपराध हो । यो निर्वाचनमा अपराध गर्न इन्कार गरौं 

हरेक निर्वाचनले नेताहरूलाई बलियो र मतदातालाई झन्–झन् कमजोर किन बनाउँछ ? यो उल्टो बाटो हो । उल्टो बाटो हिँड्न मतदाताहरू कसैगरी अभिशप्त छैनौं । हामी न त श्रापित छौं, न ऋणी । हामी स्वतन्त्र मतदाता हौं । यहींनेर आजका लागि म अन्तिम प्रश्न गर्छु, के हामी फोहोरी राजनीतिलाई इन्कार गर्न सक्दैनौं ? यो प्रश्नले हामी मतदाताहरूको परीक्षा लिँदैन ?
dahal.keshab@gmail.com

प्रकाशित : मंसिर ६, २०७४ ०८:१३

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...