राम : सफल राजा असफल पति !
बबिता बस्नेत
प्रकाशित मिति, १९ चैत्र २०७६, बुधबार ००:४८
हजारौँ वर्ष बितेर जाँदा पनि भगवान् रामका प्रति मानिसहरूको
आस्था उस्तै छ । एकार्कामा भेट्दा ‘राम राम… सन्चै छ ?’ देखि कुनै कुरामा आश्चर्य लाग्दा ‘राम राम…, हो र !’ हुँदै मर्ने बेलामा ‘हरे राम…’सम्म रामकै नाम जपिन्छ ।
हिन्दु धर्म–संस्कृतिमा राम नाम यति लोकप्रिय छ कि कुनै न कुनै रूपमा ‘राम’ नामलाई
जोडिएको पाइन्छ । राम (बहादुर, कुमार, प्रसाद) रामजी, रामानान्द, रामेश्वरदेखि रामभक्त, रामाज्ञा, रामहरि, सीताराम
हुँदै राजाराम, बाबुरामसम्म यस्ता नाममा पर्छन् ।
बाबुआमाले आफ्नो छोरामा रामको गुण आओस् भनेर यी नाम राखेका हुन्
भनेर बुझ्न गाह्रो पर्दैन । ‘राम’लाई बुझ्नका लागि दुई वटा उपमा महत्वपूर्ण छन्–
‘रामराज्य’ र ‘मर्यादापुरुष’ । रामको राज्यमा जनतालाई कुनै दुःख–कष्ट र अन्याय
नभएकाले न्यायपूर्ण राज्यको प्रसङ्गमा ‘रामराज्य’ भन्ने गरिएको छ । तथापि, जनताको इच्छा–चाहना बुझेर सोहीअनुसार चल्ने राजाका कारण बनेको
‘रामराज्य’ अहिलेको सन्दर्भमा एउटा सुखद परिकल्पना मात्र हुन सक्छ ।
अयोध्याका राजा दशरथका छोरा राम कर्तब्यपरायण सन्तान मानिन्छन्
। राजा बन्नुपर्ने बेलामा बाबुको आज्ञा सिरोपर गरेर १४ वर्ष वनवास गएकाले उनले यो
उपमा पाएका हुन् । उनका ठाउँमा अरु सन्तान भए विद्रोह गर्ने थिए । राजा दशरथले
पत्नी कैकेयीको दबाबमा परेर छोरालाई वनवास पठाउन बाध्य भएपछि निकै विलौना गरे ।
अन्तिममा ‘तिमी मसँग बरु विद्रोह गरेर राज्य लेउ, राजकाज चलाउ तर वन नजाउ’ भन्दा रामले बाबुलाई कैकेयी पनि मेरी आमा नै
हुन्, उनको आज्ञाको पालना गर्नु मेरो धर्म हो
भनेर जङ्गल गए । बाबुआमाको आज्ञालाई आफ्नो कर्तब्य ठान्ने भएकाले उनलाई
कर्तब्यपरायण भनिएको हो ।
रामले पाएको अर्को उपमा हो ‘मर्यादापुरुष’ । मर्यादाको कसी
महिलामा मात्रै लागु हुने र जे–जे गरे पनि, केही नगरे
पनि पुरुष भनेको पुरुष नै हो भन्ने मान्यता रहेको तात्कालीन समाजमा एक जना पुरुषले
धेरै महिलाहरू विवाह गर्ने चलन थियो । आफ्नै बाबु राजा दशरथका तीन वटी पत्नी थिए ।
समाजमा बहुविवाह सामान्य थियो । ‘मर्दकी दश वटी’, ‘खुट्टा भए जुत्ता कति–कति’ लगायतका उखान त अझै यदाकदा प्रयोगमै
देखिन्छन् । श्रृङ्खलावद्ध विवाह गर्न सक्नुलाई मर्दानगी ठानिन्थ्यो । त्यस्तो
बेलामा रामले विवाहकै दिन पत्नी सीतालाई ‘तिमी नै मेरो पहिलो र अन्तिम पत्नी हौ, म अर्को विवाह गर्दिनँ’ भने र त्यो बचनमा अडिग रहे । एक
पत्नीमा सीमित रही मर्यादा कायम राखेकाले उनलाई पुरुषहरूमा उत्तमको संज्ञा दिँदै
मर्यादा पुरुषोत्तम भनियो । आखिर धेरै विवाह गर्नुलाई शानको रुपमा लिइए पनि
मर्यादित त त्यतिबेला पनि एक जनासँगको विवाहलाई नै लिइँदोरहेछ ।
हजारौँ
वर्षदेखि हामीले आदर्श मानिरहेका यी दुई पात्र राम र सीतालाई लिएर कुरा गर्दा
महिलाहरूलाई रामजस्तो पति चाहिएको छैन, तर पुरुषहरूलाई भने सीताजस्तै पत्नी
चाहिएको छ ।
एक मात्र विवाहमा सीमित रहेर मर्यादा कायम गरे पनि राम असल
पतिचाहिँ बन्न सकेनन् । जनक राजाकी छोरी सीताले आफ्ना पति रामका लागि सकेको त्याग
गरिन् । राजकुमारीका रूपमा हुर्किएकी उनले विवाह हुनासाथ गेरु वस्त्र लगाएर वनवास
जानु पऱ्यो । जङ्गलमा रावणद्वारा अपहरित भएपछि आफ्नो सतित्व रक्षा गर्न हर तरहले
कोशिस गरिन् र सफल भइन् पनि । रावणले लङ्का पुऱ्याएकी पत्नीलाई फर्काउन रामले
युद्ध नै गर्नुप¥यो, फर्काए पनि । तर १४ वर्ष वनवास काटेर आफ्नो राज्यमा फर्किएपछि सीताले
आफू पवित्र रहेको पुष्टि गर्न अग्निपरीक्षा दिनु पऱ्यो ।
सीतालाई रावणले लङ्कामा राखुन्जेल राम पनि जङ्गलमा एक्लै थिए ।
तर उनको अग्निपरीक्षाको माग कसैले गरेन । एकपटकको अग्निपरीक्षाले पुगेन । धोबी
अर्थात सर्वसाधारण जनताले कुरा काटे भनेर गर्भवती पत्नीलाई राम स्वयंले जङ्गल पठाए
। जङ्गलमै उनले जुम्ल्याहा छोरा जन्माइन् । समयक्रममा आफ्ना बच्चाहरू लिएर
फर्किएपछि फेरि उनलाई अग्निपरीक्षा दिन भनियो । आफ्नै सन्तानमाथि मनमा प्रश्न
चिह्न लिएर बसेका राम स्वयम् त्यो अग्निपरीक्षा चाहन्थे । पटक–पटकको शङ्का र
अविश्वासपछि अन्ततः सीताले ‘अब म थाकेँ, हे
धर्तीमाता मलाई लैजाउ’ भनिन् । पृथ्वी फाट्दै गर्दा आवाज आयो– ‘यो संसार
तिमीजस्ताका लागि उपयुक्त छैन, आउ मसँग ।’
उनी संसारबाट विलीन भइन् ।
हजारौँ वर्षदेखि हामीले आदर्श मानिरहेका यी दुई पात्र राम र
सीतालाई लिएर कुरा गर्दा महिलाहरूलाई रामजस्तो पति चाहिएको छैन, तर पुरुषहरूलाई भने सीताजस्तै पत्नी चाहिएको छ । केही महिला र
पुरुषमा यो सर्वेक्षण गरियो भने सङ्ख्यात्मक तथ्याङ्कमा सीताको ग्राफ टुप्पोमा र
रामको ग्राफ फेदमा रहने निश्चित छ । गुणात्मक सर्वेलाई केलाएर हेर्दा महिलाहरूले
भन्नेछन्– ‘आफ्नी पत्नीलाई विश्वास नगर्ने पति के काम ?’ अरु कसैले शङ्का गऱ्यो भनेर त्यसको पुष्टि गर्न ज्युँदै आगोमा
धकेल्ने लाचार र निरीह पति कसैको पनि रोजाइमा पर्दैन । कतिपयले भनेको सुनिन्छ, ‘विचरा राम त सीतालाई अति माया गर्थे तर जनताको आशङ्कालाई मेट्न
उनले पतिभन्दा बढि राजा बन्नु पऱ्यो, एउटा राजा
भएर त्यो गर्नै पर्थ्यो ।’
महिलामाथिको
मानसिक हिंसाको सुरुवात सीताको अग्निपरीक्षाबाट सुरु भएको थियो, जुन अहिलेसम्म जारी छ । अहिले पनि
कैयौँ सीताहरू शङ्का–आशङ्काको ज्वालाको रापमा जलिरहेकै छन् ।
हो, राजाको रूपमा
उनले स्थापित गर्नुपर्ने मूल्य–मान्यता धेरै थिए । उनले जनतालाई ‘म र सीता दुवै
मानव हौँ, मानवका रूपमा गल्ती–कमजोरी हामी दुवैबाट
भएका हुन सक्छन्,
म पनि अग्निपरीक्षा दिन्छु’ भन्न
सक्थे या त ‘यस्तो बेकार कुरा नगर’ भन्ने ठाउँ पनि थियो । तर उनले त्यसो भन्न र
गर्न सकेनन् । उनले फरक मान्यता स्थापित गरिदिएकै कारण सीताले अग्निपरीक्षा दिएर
आफ्नो शुद्धता प्रमाणित गर्नुपर्ने अवस्था रहिरह्यो । महिलामाथिको मानसिक हिंसाको
सुरुवात सीताको अग्निपरीक्षाबाट सुरु भएको थियो, जुन अहिलेसम्म जारी छ । अहिले पनि कैयौँ सीताहरू शङ्का–आशङ्काको
ज्वालाको रापमा जलिरहेकै छन् ।
रामलाई प्रेमभन्दा प्रतिष्ठा चाहिएको थियो । इज्जत र
प्रतिष्ठाका नाममा उनले पत्नीलाई पटक–पटक मानसिक यातना मात्र दिएनन् घरबाट निकालेर
जङ्गल नै पठाए । जङ्गल पठाउनुको अर्थ मरोस् या बाँचोस् वास्ता नगर्नु हो । जसले
आफ्नो पत्नी या पतिमाथि शङ्का गर्छ त्यहाँ प्रेम हुँदैन । प्रेम भनेको विश्वास हो
। विश्वासै नरहेपछि त्यो सम्बन्धको कुनै अर्थ हुँदैन । यता जबर्जस्ती हरण गरेर लगे
पनि रावणले सीतालाई सम्मानका साथ पुष्पबाटिकामा लगेर राख्यो । खाने, लाउने उनको चाहना र इच्छाको सोधनी गरेर ‘केयर’ गऱ्यो ।
सीतालाई जबर्जस्ती गरेन, छुँदा पनि
छोएन । चाहेको भए सीतालाई जे पनि गर्न सक्ने परिस्थिति थियो तर रावणको दुनियाँमा
सीता सुरक्षित रहिन् । रामको दुनियाँमा चाहिँ सीताले पटक–पटक अपमानित भएर अन्ततः
यो संसारबाटै बिदा हुनु पऱ्यो ।
रावणको
दुनियाँमा सीता सुरक्षित रहिन् । रामको दुनियाँमा चाहिँ सीताले पटक–पटक अपमानित
भएर अन्ततः यो संसारबाटै बिदा हुनु पऱ्यो ।
अन्तिम समयमा सीतासँग दुई वटा विकल्प थियो, फेरि पनि अपमानित भएर अग्निपरीक्षा दिई रामराज्यमा बस्ने या
संसार छोड्ने ! उनले आत्मसम्मानित बाटो रोजिन् । त्यसैले रामायणमा सीता
आत्मसम्मानले भरिएकी आदर्श पात्र हुन् । सहनुसम्म सहिन्, कति सहनु ? अबचाहिँ
अलि बढि नै भयो भन्ने महसुस भएपछि उनी पृथ्वीमा बिलिन भइन् । अहिले जस्तो भए
‘भइहाल्यो तिम्रो राज्यमा तिमी आफै बस’ म आफ्ना सन्तान लिएर दुःख–सुख गरेर खान्छु
भनेर अलग बस्थिन् होला तर त्यतिबेला राजाकी छोरी र पत्नीलाई त्यस्तो गर्ने छुट
थिएन । रामले ‘जनताका लागि पत्नी पनि छोड्न सक्छन् हाम्रा राजा’ भन्ने देखाई आफु
वाहवाहीको पात्र बन्न पत्नीलाई त्यागे । सीताले पत्नीधर्म निभाउनका लागि पतिसँगै
आफूले कहिल्यै नसोचेको जङ्गलको यात्रा तय गरिन् । जब सहज समय आयो आफ्नै पतिबाट
मानसिक हिंसाको शिकार हुनु पऱ्यो ।
रामबाट सिक्नैपर्ने कुराचाहिँ के हो भने जतिसुकै आपद् विपदमा
पनि उनी सधैं शान्त रहे । हरेक विपद्लाई सहन सक्ने क्षमता उनमा थियो । देश र
जनतालाई उनले सर्वोपरि ठाने । मुलुकको हितको अगाडि परिवार, नाता गोता गौण बन्न पुगे । जनताको चाहनालाई नै आफ्नो इच्छा
ठाने र उनीहरू मध्ये कसैलाई पनि अन्याय नहोस् भन्ने कुरामा सधैं सचेत रहे । सीताको
आत्मसम्मानित त्यागकै कारणले हुन सक्छ, यो जोडीको
नाम सँगै लिँदा राम–सीता नभनेर सीता–राम भनिन्छ । राम सफल राजा हुन् तर आदर्श पति
होइनन् । आफ्नै पत्नी माथि न्याय गर्न नसके पनि न्यायिक राज्यको निर्माण गरेर
तात्कालीन जनताको मनमा मात्र नभई अहिलेसम्म पनि मानिसहरूको मन–मस्तिष्कमा बस्न
सक्नु उनको जिन्दगीको सबैभन्दा ठूलो सफलता हो ।