Showing posts with label Bisket jatra. Show all posts
Showing posts with label Bisket jatra. Show all posts

Friday, June 14, 2019

नयाँ वर्ष जात्रामय

नयाँ वर्ष जात्रामय
वैशाख २, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — नयाँ वर्षको अवसरमा जिल्ला जात्रामय बनेको छ । मध्यपुर थिमिमा प्रसिद्ध बिस्का जात्राको रौनक छ । अन्य ठाउँमा पनि जात्रा चलिरहेको छ ।
बिस्काको पाँचौं दिन अर्थात् नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अघिल्लो दिन उभ्याइएको लिंगो ढालिएको छ । चैत मसान्तको दिन राति भेलुखेलमा बाजागाजासहित तान्त्रिक विधिपूर्वक उभ्याइएको ५५ हात लामो लिंगो दिनभर पूजाआजा गरी आइतबार साँझ ढालिएको हो ।
तान्त्रिक विधिपूर्वक दसकर्म विधान गरी लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठवटा डोरीले बाँधी उभ्याइने प्रचलन छ । लिंगोको कोखामा झुन्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केट (बिस्का) को लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नास हन्छ भन्ने धार्मिक मान्यता रहेको स्थानीयको भनाइ छ ।
अष्टमात्रिकाको प्रतीक मानिने लिंगोमा नागनागिनाको प्रतीकस्वरूप हलिपतका ध्वजा बाँधेर फहराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ । लिंगो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गःहिटी पुर्‍याएको छ ।
जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई स्थानीय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौं दिन वैशाख ५ गते बिहान तालाक्वस्थित उभ्याइएको ज्याठा गणेशको ‘ल्हा मरुम्ह यसीं’ हात नभएको लिंगो ढालिन्छ र बेलुका जात्राकोपहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।
नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्ल बिस्केट जात्रालाई थप व्यवस्थित गरीआठ रात र नौ दिनसम्म मनाउने प्रचलन बसाएको उल्लेख गरिन्छ ।
विक्रम संवतअनुसार सौर्य मासको आधारमा मनाइने बिस्केट जात्रा बिःसित अर्थात् नागनागिन मर्‍यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको बताइन्छ भने विश्व केतुको पछिल्लो रूपान्तरणका रूपमा समेत विश्वनाथ एवं भैरवनाथ तथा शिवशक्तिको प्रतीकका रूपमा जात्रा मनाउने प्रचलन रहेको इतिहास एवं संस्कृतिकर्मीहरू बताउँछन् । बिस्केटलाई सहकालको देवताको प्रतीकका रूपमा समेत लिइने इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
त्यसैगरी, सूर्यविनायक नगरपालिका सिरुटार र दधिकोटको संगमस्थल चरखण्डी मन्दिरमा आइतबार स्नान गरी जात्रा मनाएको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पुण्य प्राप्त हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । प्रत्येक वर्ष वैशाख १ गते मनाइने चरखण्डी मन्दिर परिसरमा शरीरमा बत्ती बाल्ने प्रचलन छ । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास छ ।
चरखण्डी मन्दिरमा आइतबार बिहान सबेरैदेखि तीनवटा खटसहितको खटजात्रा मनाइएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ । सूर्यविनायक नगरपालिकाका चित्रपुर, ललितपुरको टीकाथलीस्थित गुप्तेश्वर महादेव, चाँगुनारायण नगरपालिका सुडाललगायत स्थानहरूमा खटसहितको जात्रा मनाएको छ ।
त्यस्तै, मध्यपुर थिमि विष्णुवीर, सिद्धिकाली, बालकुमारी, दक्षिण बाराहीलगायतको जात्रा मनाएको जनाएको छ । बिस्काकै अवसरमा सोमबार बिहान मध्यपुर थिमिमा ३२ खटसहित सिन्दुरजात्रा र दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ ।प्रकाशित : वैशाख २, २०७६ ०७:४८

बिस्केट जात्रा सुरू

बिस्केट जात्रा सुरू
चैत्र २७, २०७५कान्तिपुर संवाददाता
भक्तपुर — भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्वको प्रशिद्ध बिस्केट जात्रा सुरु भएको छ । चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बुधबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो ।
बिस्केट जात्राको पहिलो दिन काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ । तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ । साथै भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखिसकेपछि रथ तान्न सुरु हुन्छ ।
जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्‍याएर पुनःतौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याउने प्रचलन छ । जात्रामा रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ जात्रालुले रथलाई 'होस्से/हैसें/हाहा' गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । जात्रामा रथ तानातान गर्दै हजारौं स्थानीयले आ-आफनो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।
रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यः क्वहाँ बिज्याइगु (देवता पृथ्वीमा आगमन हुने) भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चर्ढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेंवासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा 'स्याःक्वःत्याःक्वः' भनिन्छ ।
बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङखेलमा उभ्याइन्छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँडिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । बिस्केट जात्रा हर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याइन्छ र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।
बिस्केटको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसलगतै खंला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । जसलाई नेपाल भाषामा द्यःल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि/विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउन थालिएको संस्कृतिकर्मीहरू बताउँछन् । यो जात्रा सर्प अथवा नागनागिनी मारियो भन्ने भावमा मनाउँदै आएको किंबदन्ती छ ।
किंबदन्ती अनुसार प्राचीन समयमा भक्तपुरमा भक्तग्राम जङ्गल थियो । लिच्छविकालीन राजाको एकमात्र सुन्दरी छोरी थिइन् । राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरे पनि सफल भएन । पछि राजाले आफ्नी छोरी विवाह गर्ने पुरुषलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेका थिए । राजगद्दीको लोभमा विवाह गर्ने धेरैजना पुरुषले राजकुमारीसित पहिलो रातमै ज्यान गुमाउनु परेको थियो । जसले गर्दा राजाले आफ्नी छोरीको शयन कक्षबाट हरेक बिहान लास उठाई मसानघाट पुर्‍याउने मलामी गुठीको समेत स्थापना गर्नुपरेको थियो ।
संस्कृतिकर्मी ओम द्यौभडेलका अनुसार एक दिन सिकारी युवक घुम्दै जाँदा हनुमन्ते खोला किनारमा एक तान्त्रिक वृद्धासित भेट भएछ । ती तान्त्रिक वृद्धाले ती युवकलाई त्यस रहस्यको सम्पर्ण कुरा बताई राजकुमारीसित विवाह प्रस्ताव राख्न निर्देशन दिए । भोलिपल्ट बिहान लास उठाउन जाँदा युवक जिउँदो रहेको र राजकुमारी पति पाएर खुसी भइरहेकी पाउँदा सबै आश्चर्यमा परेका थिए ।
अन्ततः ती युवकले रातभरि जाग्राम बसी राजकुमारीको दुई नाकको प्वालबाट निस्केका भाले-पोथी नागनागिनीले डस्न खोज्दा तरवारले दुई टुक्रा पारेपछि मृत्युबाट बचेको रहस्य सुनाएछन् । यसरी युवकले राजकुमारीको नाकबाट निस्किएको सर्पलाई काटेर मार्न सफल भएपछि राजकुमारीसँग बिहे गर्न सफल भएको दिनदेखि नै त्यही सर्पको अन्त्येष्टिको सम्झनामा भक्तपुरवासीले बिस्केट जात्रा मनाउन थालिएको किंवदन्ती छ ।
प्रकाशित : चैत्र २७, २०७५ १६:४६

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...