Showing posts with label Buddism. Show all posts
Showing posts with label Buddism. Show all posts

Thursday, June 13, 2019

बौद्ध दर्शन र माध्यम भाषा

बौद्ध दर्शन र माध्यम भाषा
Nagrik, शनिबार, ०९ चैत २०७५, १२ : ५० |  वसन्त महर्जन
केही वर्षअघि नेपाल मण्डलको बौद्ध धर्मसम्वन्धी लोटस रिसर्च सेन्टरद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई फर्केका एक मित्रले बाटोमा मसँग आफ्नोे असन्तुष्टि यसरी व्यक्त गरे–सम्मेलनबाट बौद्ध धर्मको विकास हुन्छ हुन्न बेग्लै कुरा, नेपाल भाषाको विकासचाहिँ पक्कै हुन्छ होला।’
कुरा बुझ्न गाह्रो भएन। कार्यक्रम संचालनको माध्यम भाषा नेपाली नहुँदा नेपाल भाषा (नेवार)बारे जानकारी नभएका ती सहभागीलाई सकस परेको थियो। नेपालमण्डलको बौद्ध धर्म–दर्शन भन्नु यस क्षेत्रमा प्रचलित बौद्ध धर्मको एउटा शाखा हो, बज्रयानीे। बज्रयानीमा पनि नेपालमण्डलभित्र नेवार समाजमा आफ्नै विशिष्टतासहित विकास भएको र हालसम्म प्रचलनमा रहेका कारण कतिपय पश्चिमा विद्वान यसलाई ‘नेवार बुद्धिज्म’ पनि भन्न मन पराउँछन्। यसमा भएको विशिष्टलाई जोगाइराख्न तथा प्रदर्शन पनि गर्ने मनसायले हरेक कृयाकलापमा नेपालभाषालाई पनि स्थान दिने गरिँदै आएको पाइन्छ। कार्यक्रम आयोजक संस्थामा आवद्ध मात्रै नभएर आमन्त्रित पनि अधिकांश नेवार समुदायबाटै हुने भएकाले प्रायः नेपालभाषा र आवश्यकता हेरी नेपाली तथा अंग्रेजीमा पनि कार्यक्रम संचालन गरिन्छ। अन्य भाषालाई त्यहाँ प्रतिबन्ध नै लगाइने भने होइन। त्यहाँ नेपालभाषाबाट हुन्छ भनेर स्वतः थाहा पाइने कुरा हो, तर पनि सहभागी हुन जानु भनेको आफ्नो भाषामा कार्यक्रम संचालन नभए पनि केही छैन वा आफ्नो सुविधा अनुसार प्रयोग गर्छु भनेर पहिल्यै मानसिक रूपमा तयार भएर जानु पर्छ। होइन भने जानु नै किन परयो ? गइसकेपछि फेरि त्यस्तो असन्तोष र व्यंग्यको औचित्य छैन।
काठमाडौंको नेवार समुदायमा नेवार भाषामा गतिविधि हुँदा आलोचना गर्ने थुप्रै छन्। तर, काठमाडौंमै तिब्बती बौद्धले तिब्बती भाषामा बौद्ध धर्मका गतिविधि चलाउँदा भने चुप लागेर बस्छन्। नेवारका मामिलामा मात्रै दोहोरो मापदण्ड किन ? ‘बौद्ध धर्म–दर्शन र माध्यम भाषा’मा भ्रम पालेर बस्नेहरूको एउटा प्रतिनिधि घटना अर्को पनि छ। बुद्ध जयन्तीका बेला भिक्षु सुशील (हाल गृहस्थी) सँग म पनि पोखरामा थिएँ। विहारमा बुद्ध जयन्ती मनाउन आउनेलाई धर्मदान गर्न भिक्षुले आफ्नो र अरुको गरी थुप्रै पुस्तक तथा पुस्तिका लगेका थिए। उक्त दिन ती वितरण पनि भयो। वितरित सामग्री हात पारेका एक व्यक्तिले असन्तुष्टि र चिन्ता एकै साथ यसरी पोख्दै थिए–यहाँ धर्म प्रचार गर्न आएको कि भाषा ?
कुरा के परेछ भने वितरित सामग्रीमा नेपाल भाषाको पनि परेछ र उनले त्यही भाषाको सामग्री उठाएछन्। पोखरामा बौद्धहरूमा नेवारको बाक्लो उपस्थिति छ। त्यही भएर नेपालभाषाका पुस्तक पनि लगिएको बुझ्न सकिन्छ। जुन भाषा आफूले बुझ्दैन, फर्काएर बुझ्ने भाषाको पुस्तक लिन सकिन्थ्यो। तर, त्यसो भएन। भाषाको कुरा उठाउनकै लागि त्यस्तो टिप्पणी गरिरहनु ताज्जुवको विषय बनेको छ।
रामायण महाकाव्यलाई नेपाली भाषामा अवतरण गर्दा भानुभक्त आचार्यले पनि धेरै खप्की खानुपरेको थियो। रामायणलाई संस्कृत भाषामै राख्नुपर्छ र अनि मात्रै त्यसको मर्यादा कायम रहन्छ भन्ने संस्कृतवाजको आग्रह कति संकुचित थियो भन्ने कुरा तिनीहरू नै बुझून्। त्यही त्यो वर्ग हो, जसले भगवान बुद्धको समक्ष गएर बुद्ध वचनलाई संस्कृतमा श्लोकवद्ध गर्ने अनुमति मागेका थिए। तिनीहरूको त्यो मनसाय बुझेका बुद्धले ठाडै अस्वीकार मात्रै गरेनन्, जहाँ जुन भाषा बोल्ने जनता छन्, त्यहाँ त्यही भाषामा धर्मोपदेश दिनू भनेर शिष्यलाई आदेश पनि दिए। बौद्ध धर्म–दर्शन कुनै निश्चित भाषामा सीमित छैन। धर्मका प्रचारकका आ–आफ्नै भाषा त हुन्छन् नै। तर, त्यही भाषामा हुनुपर्छ भन्ने आग्रह गरेको पाइँदैन। तिब्बतमा बौद्ध धर्म–दर्शन प्रचार गर्न जाने धर्म प्रचारक संस्कृत भाषाका प्रकाण्ड विद्वान थिए। तर, तिनले तिब्बतमा धर्मको प्रचार तिब्बती भाषामै गरे। बौद्ध ग्रन्थपछि संस्कृतमा पनि उपलब्ध भयो। पाली तथा संस्कृत भाषाका बौद्ध ग्रन्थ तिब्बती भाषामा प्रशस्त मात्रामा अनुवाद गरियो। यसअघि चीनमा चिनियाँ भाषामै धर्म प्रचार गरेका थिए। यसरी नै श्रीलंकामा सिंहाली भाषामै धर्मको प्रचार गरेका थिए।
नेपाली भाषामा बौद्ध धर्म–दर्शनका पुस्तक तथा पत्रपत्रिका थोरै मात्र पाइन्छ, त्यो पनि केही दशकभित्रका प्रकाशनमात्रै। यद्यपि नेपाली भाषाको पहिलो लेख्य रूप दुल्लूपादुकाथानको साउना कार्की र साउका काक्र्यानिको अभिलेखलाई मान्ने हो भने बौद्ध धर्म–दर्शनसम्बन्धी नेपाली लेखन त्यतिबेला नै अर्थात् इस्वीको तेह्रौ शताब्दीमा खश राजा अशोक चल्लकै भइसकेको मान्नुपर्छ। बौद्ध धर्मसँग सम्बन्धित अन्य लेखोट पनि सोही क्षेत्रमा पाइन्छन्। राजा रिपु मल्लद्वारा लिखित भनिएको ‘लघुरत्न’ नामक ग्रन्थ सम्भवतः नेपाली भाषामै लेखिएको हो। पछि लामो समयसम्म बौद्ध धर्म–दर्शन र नेपाली भाषासँगै जान सकेन। नेपालमा बौद्ध धर्मको पुनर्जागरण हुँदा बौद्ध धर्म र नेपालभाषा सँगसँगै गयो। तत्कालीन राणा शासकहरू बौद्ध धर्मलाई मात्रै मन नपराउने नभई नेपाल भाषामाथि पनि वक्रदृष्टि राख्थे। परम्परागत रूपमा बौद्ध धर्म मान्दै आएका नेवारमा नै धर्मको पुनर्जागरण ल्याउनुपरेको थियो र तिनका लागि उपयुक्त नेपाल भाषा नै थियो। यस बेला नेपाली भाषामा प्रचार गर्नुको अर्थ बालुवामा पानी खन्याएजस्तो मात्रै हुने नभएर तत्कालीन शासकबाट थप कोपभाजन हुनुपर्ने सम्भावना पनि थियो।
काठमाडौंमा नेवार समाजमा बौद्ध धर्मका गतिविधि आज पनि नेपालभाषामै हुन्छ। ती गतिविधि नेपाली भाषामा हुनुपर्ने आग्रह कतिपयको छ। जुनसुकै भाषाबाट गरे पनि सुन्न आउने त नेवार नै हो। नेवारभाषी बाहेकलाई पनि धर्मलाभ होस् भनेर नेपाली भाषामा संचालित गतिविधिमा गैरनेवार निकै न्यून मात्रामा वा शून्य हुने गरेको अनुभव पनि छ। नेपाली भाषाका बौद्ध धर्मसम्बन्धी प्रकाशनको पाठक नेपालीभाषी नभएर गैर नेपालीभाषी हुने गरेको अनुभव पनि छ। यसको अर्थ नेपाली भाषीहरू बौद्ध धर्मप्रति आकर्षित नै नभएको हो ? अथवा उनीहरू नेपाली भाषामा बौद्ध धर्मका प्रकाशन र गतिविधि होस् भन्ने मात्रै चाहेको ? जवाफ नितान्त जरुरी छ।
नेपाली भाषामा पनि बौद्ध धर्मका गतिविधि र प्रकाशन तथा प्रसारण हुनु जरुरी छ। तर, यसको अर्थ गैरनेपाली भाषामा हुने गतिविधि रोक्नुपर्छ भन्ने मनसाय राख्नु हुन्न। काठमाडौंको नेवार समुदायमा नेवार भाषामा गतिविधि हुँदा आलोचना गर्नेहरू थुप्रै छन्। तर, काठमाडौंमा नै तिब्बती बौद्धहरूले तिब्बती भाषामा बौद्ध धर्मका गतिविधि चलाउँदा भने चुप लागेर बस्छन्, सरोकार राख्दैनन्। काठमाडौंका नेवारका मामिलामा मात्रै दोहोरो मापदण्ड किन ? नेवारले नेवार भाषामा गर्लान्, तामाङले तामाङ भाषामा गर्लान्। नेपाली भाषीहरूले पनि नेपाली भाषामा गरौं भन्ने भावना विकास किन हुन सक्दैन ? भाषाकै कारणले बौद्ध धर्मप्रति आकर्षण हुन नसकेको भन्ने तर्कसंगत कुरा होइन किनभने सर्वप्रथमतः नेपालीभाषामा संचालित कार्यक्रममा नेपालीभाषीको सहभागीता न्यून नै देखियो। आफ्नो सहभागिता नहुने तर नेवारले भाषा परिवर्तन गर्नुपर्ने अनावश्यक आग्रह बौद्ध भावना अनुकूल छैन। दोस्रो कुरा, नेवार समुदायले पनि प्रारम्भका दिनमा बौद्ध धर्मका कुरा धेरै मात्रामा हिन्दीलगायतका भाषाबाट सिकेका हुन् र पछि मात्रै आफूअनुकूल बनाउन आफ्नै भाषामा कार्यक्रम संचालन गर्नुका साथै प्रकाशनका कार्य पनि थालिएको थियो। बौद्धधर्मका गतिविधि नेपालीमा गर्नमा कुनै बाधा छैन, यसमा बौद्ध समुदाय सहयोगी नै हुन्छ।
अचेल नेपाली भाषामै पनि बौद्ध धर्मसम्बन्धी थुप्रै ग्रन्थ प्रकाशित छन्। यसको अर्थ हो, बौद्ध धर्मसम्बन्धी गतिविधि अब नेपाली भाषामै चलाउन सामग्री पर्याप्त मात्रामा उपलब्ध छन्। तर, सम्बन्धित भाषी आइदिँदैनन् भने कसको के लाग्छ ? अन्य भाषा नजान्नेका लागि नेपाली भाषामा धार्मिक गतिविधि संचालन गर्नमा कुनै आपत्ति छैन, किनभने तिनीहरू भाषिक आग्रह राख्दैनन्, आवश्यकताअनुसार माध्यमभाषाको निर्धारण गर्नु तिनको परम्परा वा संस्कार हो, यसलाई बुद्धवचन नै पनि भन्न सकिन्छ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...