Showing posts with label Deuda. Show all posts
Showing posts with label Deuda. Show all posts

Thursday, June 13, 2019

देउडा गीत पश्चिमको प्रमुख चिनारी

देउडा गीत पश्चिमको प्रमुख चिनारी
बिधुत्मा रैका
http://eaawaj.com/archives/27203
कोहलपुर
, फागुन, २६,
देउडा गीत पश्चिमको ढुकढुकी हो । मेलापात, विवाह, छैंठी तथा विभिन्न चाडपर्वहरुमा यसका सुरिला भाकाहरु सुन्न र देख्न पाईन्छ ।
यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा, ठाडी भाका, न्याउले, भारी खेल, हुड्क्यौली आदीले चिनिन्छ । पश्चिमेली खस भाषामा आधारित देउडा गीत अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, मुगु जाजरकोट र हुम्ला जिल्लामा मुख्य रूपमा गाउने गरिन्छ ।
यी जिल्लामा पुख्र्यौली पश्चिमका पहाडी जिल्लामा घर भएका मानिसहरु जहाँ जान्छन् त्यही देउडामय बनाउँछन् । शनिबार कोहलपुरको गोलपार्क देउडामय बन्यो । दैलेखी एकता समाजले आयोजना गरेको देउडा कार्यक्रममा धेरै मानिसहरुले देउडा गाएर तथा नाँचेर आफ्नो सांस्कृतिक सहभागीता जनाए । देउडाको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्कमा धेरै दर्शकहरुको उपस्थिती रहेको थियो ।
महिला पुरुष मिलेर गोलपार्कको खुल्ला मैदानमा गोलो घेरा बनाएर एकै तालमा हातखुट्टा मिलाउदै दुई समूहमा देउडा खेलिरहेका थिए । कार्यक्रममा अछाम, दैलेख, हुम्ला, जुम्ला तथा मुगुका देउडा पे्रमिहरु देउडामा झुमिरहेका थिए । र धेरै जना दर्शकहरु रमाईलो मान्दै हेरिरहेका थिए । महिला र पुरुषहरूले छुट्टा–छुट्टै समुह बनाएर एक आपसमा हात समाएर देउडा गीत गाएको तथा पैतल मिलाएर देउडा खेलेको दृश्य निकै आकर्षक थियो ।
वि.सं. २०७० साल फागुन ४ गते दैलेखी एकता समाज शाखा कार्यालय कोहलपुरको स्थापना भएको थियो । स्थानीय कला संस्कृति तथा देउडाको जगेर्नाका लागी एकता समाज गठन गरिएको अध्यक्ष भरत कठायतले बताए । उनी भन्छन्–‘समयको परिवर्तनसँगै बजारमा विभिन्न किसिमका आधुनिक, रिमिक्स, ¥याप गीत संगीतहरू आईरहेका छन्, यसले हाम्रो देउडा संस्कृति पछाडी धकेलिरहेको छ । देउडाले हाम्रो छुट्टै पहिचान बोकेको छ ।’ उनले, मध्य तथा सुदुरपश्चिमकै शान देउडा गीत पछिल्लो समयमा संकटमा परेकाले समाज गठन गरि यसको जगेर्ना गर्न लागी परेको बताए ।
दैलेखी एकता समाजले हरेक महिनाको १५ गते देउडा कार्यक्रमको आयोजना गरि देउडा खेल्दै एक आपसमा रमाईलो वातावरणको सिर्जना गर्छ । यस्ता किसिमका कार्यक्रमहरुले यसको प्रचार प्रसार तथा देउडा संस्कृतिको जगेर्नामा टेवा पुग्ने दैलेखी एकता समाज वडा नम्बर ११ का सचिब प्रेमिका शाहीले इआवाजलाई बताईन् । उनले भनिन्,–‘हाम्रो मुख्य अभियान भनेको देउडा बचाउनु हो । आफ्नो पुख्र्यौली कला संस्कृति भनेको हाम्रो लागी पुर्खाहरुले छोडेको अनुपम उपहार पनि हो । उनीहरुले धेरै संरक्षण गरेर हामीलाई सुम्पेका छन् । हामीले यसको संरक्षण गर्नुपर्छ ।’
कोहलपुरमा आ–आफ्ना जिल्लाका एकता समाज गठन गरिएका छन् । एकअर्कालाई समस्या पर्दा मिलेर समाधान गर्दै आएका छन् । जुनसुकै एकता समाजले देउडा कार्यक्रमको आयोजना गर्छन त्यहाँ सबै जिल्लाका सदस्यहरुको उपस्तिथी रहने गरेको कालिकोट एकता समाजका अध्यक्ष खड्क बहादुर शाहीले बताए । उनले भने,–‘सुदूर तथा मध्यपश्चिमको कला संस्कृति एउटै हो । सबैलाई आफ्नो संस्कृतिको माया लाग्छ । त्यस कारण म पनि यस संरक्षणको अभियानमा सरिक भएको छु ।’
उनीहरुलाई समस्या पर्दा एकआपसमा सहकार्य गर्दै आएका छन् । जुनसुकै जिल्लाका एकता समाजको देउडाको संरक्षण, सम्र्वद्धन, विकास तथा प्रचार प्रसार गर्ने एउटै लक्ष्य रहेको छ । यसै क्रममा अछामी एकता समाज कोहलपुरका सदस्य कमल शाही भन्छन्,–‘देउडा हामीलाई चिनाउने माध्यम हो । पश्चिम भन्ने वित्तिकै देउडाको झल्को आउँछ । त्यसैले देउडालाई संरक्षण एवं सम्वद्र्धन गर्नु हाम्रो कर्तव्य र दायित्व पनि हो ।’
नेपालको संविधानको धारा ३२ को उपधारा ३ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वद्र्धन र संरक्षण गर्ने हक हुनेछ भनि उल्लेख गरिएको छ । त्यसैलाई मध्यनजर गर्दै कोहलपुरमा हरेक महिनाको १५ गते देउडा कार्यक्रम गरिँदै आएको छ ।
कामको सिलसिलामा हिँडेकी अछामको जनालीकोट घर भई कोहलपुर बस्दै आएकी सरस्वती स्वाँर शनिबार दिउँसो जब गोलपार्कमा पुगिन् उनको मन फुरुङ्ग भयो । त्यहाँ उनले देउडा खेल निकै चाख दिएर हेरिन् । उनी भन्छिन्,–‘अहिले म ६५ वर्षकी भएँ । १७ वर्षको उमेरमा कोहलपुर झरे पनि देउडा भनेपछि हुरुक्कै हुन्छु । घाँतपात मेला पर्व वनपाखा गर्दा आफुले आफ्नो काकी, भाउजुहरुले गाएको ठाडी भाका निकै याद आउँछ ।’
जो कोहीलाई पनि देउडा सुन्दा या गाउँदा छुट्टै आनन्द आउँछ । देउडाले एकआपसमा गहिरो सम्बन्ध र आत्मियता स्थापित गराउँछ । यसले मानिसलाई मनोरञ्जन र सन्देश दिनुका साथै समाजलाई एक सूत्रमा बाँध्ने काम गर्छ । पछिल्लो समय बजारमा चलेका गीतहरूको प्रभाव बढ्दै जाँदा देउडाका मौलिक सिर्जनाहरु खुम्चिंदै गएका छन् । यसको संरक्षण एवं सम्वद्र्धन गर्न सके हाम्रो लोक कला संस्कृति र हाम्रो पहिचान जोगिने छ । आउनुहोस् यस्ता लोक संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा सबैले हातेमालो गरौं ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...