Showing posts with label Education. Show all posts
Showing posts with label Education. Show all posts

Tuesday, August 25, 2020

शिक्षाविद्हरु भन्छन् : हाम्रा शिक्षकले किताब पढाउँछन् तर व्यवहार पढाउँदैनन्

सुनिता न्योपाने, रातो पाटी

काठमाडौं, पुस १९, २०७५

शिक्षा भनेको सबैले स्वीकार्ने र महत्त्व दिने विषय हो । निरपेक्ष रुपमा हेर्दा शिक्षाको इतिहास राम्रो छ । विभिन्न नीति नियमहरु बनेका छन् । विद्यालय बढेका छन् । विद्यार्थी बढेका छन् । छात्राहरु बढेका छन् । सान्र्दभिकताको दृष्टिले हेर्दा देशमा बेरोजगार बढेको कारण शिक्षा गुणस्तर नभएर हो भन्ने भनाइ सुन्नमा आइरहेको छ । गुणस्तर भन्ने कुरा समयसँग आबद्ध हुने कुरा हो । हिजोका दिनहरुमा थोरै पढेर र पढाएर हुने तर आज थोरै पढेर नहुने अवस्था  छ । 

शिक्षामा बढ्दो दलीय हस्तक्षेपको कारण पनि शिक्षाको गुणस्तर खस्किएको भनाई शिक्षाविद्हरुको छ । नेपालमा शिक्षा प्रणालीको योजनाबद्ध विकासमा विभिन्न प्रयासहरु भएकै हुन् । विभिन्न प्रयास र अभ्यासका वाबजुत पनि शिक्षाको विकास जनअपेक्षा अनुसार अगाडि बढ्न नसकेको वास्तविकता पनि हामै्र अगाडि छ । 

प्रसिद्ध लेखक हर्वट स्पेन्सरले भनेका छन् ‘मानिसलाई पूर्ण जीवन व्यतीत गर्नको लागि तयार पार्नु नै शिक्षाको कार्य हो ।’ तर, हाम्रो शिक्षा मानिसलाई पूर्ण जीवन व्यतीतको लागि तयार पार्नु भन्दा पनि निरन्तरता दिने तर नवीनता नदिने खालको  छ । हाम्रो शिक्षकले किताब पढाउँछन् तर व्यवहार पढाउँदैनन् । शिक्षकले किताब र व्यवहारको कडीलाई समन्वय गर्ने ज्ञान नै सिकाउन सकेको छैन् । जनशक्ति पनि किताबी कुरामा मात्र सिमित रहे भन्ने आरोप लागिरहेको अवस्थामा जनशक्ति पनि म गरेर खान्छु नभनेर जागिर कहाँ पाइन्छ भनेर खोज्यो ।

एक वर्ष बाँच्नु छ भने धान रोप, दश वर्ष बाँच्नु छ भने फलफूलको बोट रोप र पूरा जीवन बाँच्नु छ भने शिक्षा रोप’ भन्ने प्रसिद्ध चिनियाँ भनाइबाट पनि बुझ्न सकिन्छ शिक्षा जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरा । तर, शिक्षामा हुने दलीयकरण, व्यापारीकरण, राजनीतिक हस्तक्षेपको कारण शिक्षा क्षेत्रमा विभिन्न समस्याहरु बढ्दै गइरहेका छन् । यिनै पृष्ठभूमिमा सुनिता न्यौपानेले शिक्षाविद् विद्यानाथ कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठी र शिक्षाशास्त्र केन्द्रिय विभागअन्तर्गत अङ्ग्रेजी शिक्षा विभागका प्रमुख प्रेम फ्याकसँग गरेको कुराकानीको महत्त्वपूर्ण अंशहरु यहाँ प्रस्तुत गरिएको छ ।

नेपालको शिक्षा पद्धतिको बारे तपाईको समग्र मुल्याङ्कन कस्तो छ ?

कोइरालाःपद्धति भन्नाले मेरो विचारमा तीनओटा कुराले प्रभाव पार्दछ । लगानी, प्रक्रिया र परिणति ।

लगानी भनेको शिक्षक, विद्यार्थी, विद्यालय भवन आदिमा लगानी गर्ने कुरा भयो  । अर्थात सरकारले गर्ने लगानी । परिणति भन्नाले नतिजालाई बुझाउँछ । अर्काे हो प्रक्रिया । पठनपाठनलाई  हामी प्रक्रिया भन्छाँै । 

यी तीनओटा कुरालाई हेर्दा मैले लगानीमा ठूलो समस्या देख्दिनँ । किनभने प्रत्येक वर्ष विद्यार्थी बदलिरहन्छन् । शिक्षक भने कम बदलिन्छन् । पाठ्यक्रम निश्चित अवधिमा बदलिन्छ । अहिले सरकारको लगानी घट्दो क्रममा छ । सरकारको लगानी त खुम्चियो तर अभिभावकको लगानी भने बढेको छ । त्यसैले लगानी घट्यो भन्न पनि गाह्रो छ । लगानीको पाटोमा त्यति समस्या देख्दिनँ । 

मैले प्रक्रियामा सबैभन्दा ठूलो समस्या देख्छु । शिक्षण तरिका नै राम्रो भएन । स्कुल पढ्ने केटाकेटी मोबाइल चलाएर आउँछ तर शिक्षकले मोबाइल बन्द गर्न भन्छ । स्कुलको केटाकेटी कम्प्युटरमा जानकार भएर आउँछ, शिक्षक कम्प्युटर चलाउनै डराउँछ । त्यहाँ ठूलो खाडल सिर्जना भयो । 

हिजोको कटाकेटी र आजको केटाकेटीको जानकारीको तह फरक छ । हिजोको केटाकेटीमा जानकारी कम हुन्थ्यो भने आजको केटाकेटी सबै जानकारीबाट पोख्त छन् । शिक्षक भने हिजोकै बुद्धि बोकेर आयो । विद्यार्थीलाई केही थाहा छैन, मलाई मात्र थाहा छ भन्न लाग्यो ।  शिक्षक बोल्न मात्र खोज्छ विद्यार्थी गर्न खोज्छ । त्यसैले प्रक्रियामा अप्ठ्यारो छ । 

तेस्रो हो परिणति । हिजो हामीलाई बोलिखाने मान्छे चाहिएको थियो भने आज गरिखाने मान्छे चाहिएको छ । हिजो गरिखाने मान्छेलाई दलित भनेर हेपिएको हो । जो बोलेर खान्छ त्यो ठूलो भयो । आज उल्टाउनेपर्ने स्थिति छ । बोलिखानेले सम्मान नपाओस् । गरिखानेले सम्मान पाओस् । अथवा दुवैको बीचमा समन्वय कायम होस् । मैले प्रक्रिया र परिणतिमा समस्या देख्छु ।
त्रिपाठी –नेपालको शिक्षा सैद्धान्तिक बढी भयो, व्यवहारिक कम भयो । त्यसले गर्दा रोजगारी सिर्जना गर्ने खालको नभएर रोजगारी खोज्ने खालको भयो ।

खनियाँ –नेपालको शिक्षा परम्परागत ढाँचामै चलिरहेको छ । ठूलो राजनीतिक परिवर्तन पश्चात शिक्षामा पनि परिवर्तन आउँछ भन्छन् । पछिल्लो राजनीतिक परिवर्तन पश्चात शिक्षामा खास परिवर्तन आउन सकेन ।

फ्याक –सिकाइ प्रभावकारी छैन । गुणस्तरीय सिकाइका लागि गुणस्तरीय शिक्षा चाहियो । यसको लागि गुणस्तरीय व्यवस्थापन चाहियो । गुणस्तरीय व्यवस्थापनका लागि राम्रो नीति चाहियो । राम्रो लगानी हुनुपर्याे । शिक्षामा लगानी बढेजस्तो देखिए पनि त्यो लगानी सबै शिक्षकको तलबमा जान्छ । प्रभावकारी सिकाइका लागि राज्यको राम्रो लगानी छैन ।

हाम्रो शिक्षा प्रणालीको सबल र दुर्बल पक्षहरु केके हुन सक्लान् ?

त्रिपाठी – दुर्बल पक्ष भनेको व्यवहारिक कम र सैद्धान्तिक बढी भयो । शिक्षामा राजनीति बढी हाबी भयो । शिक्षक र विद्यार्थीहरु व्यक्तिगत राजनीतिको लागि शिक्षण संस्था प्रयोग गरिरहेका छन् ।  शैक्षिक क्षेत्रमा गर्न खोजेकोे काम गर्न नसक्नु अधिक राजनीतिक प्रभावले गर्दा भएको छ । 

सबल पक्ष त्रिभुवन विश्विद्यालयको सन्र्दभमा भन्दा नेपालको उच्च शिक्षालाई यसैले धानेको छ । यो सबै विश्वविद्यालयको आधार युनिभर्सिटी हो । 

खनियाका – नेपालको सन्दर्भमा नेपालमा पढ्न चाहने जति सबैलाई उच्च शिक्षा दिइरहेका छौँ । युरोप अमेरिकामा सबैले पढ्न पाउदैनन् । तर, हाम्रो विश्वविद्यालयले वर्षेनी लाखौँको सङ्ख्यामा विद्यार्थी भर्ना गर्छ । यो हाम्रो सबल पक्ष हो ।

दुर्बल पक्ष हाम्रो शिक्षा गुणस्तरीय हुनको लागि पूर्ण तयार छैन । हामीमा अनुसन्धान कम हुन्छ । विद्यार्थीको पढाइमा लगाब कम छ । हामीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर दिन सकेका छैनौँ । 

फ्याक –सबल पक्ष भनेको दुर्गम क्षेत्रमा पनि सामुदायिक विद्यालय खुलेका छन् । न्यून आर्थिक स्थिति भएकाले पनि पढ्न पाएका छन् । अपवाद बाहेक स्कुलको दायरा भन्दा बाहिर विद्यार्थी छैनन् । सबैको लागि खुला छ । नीतिगत रुपमा पनि राम्रै छ । मातृभाषमा पढाइ हुनु भनेको अर्काे राम्रो कुरा हो । 

दुर्बल पक्षमा शिक्षक व्यवस्थापन राम्रो छैन । सरकारको सामुदायिक विद्यालयमा लगानी छैन । सिकाइको स्तरमा जग नै बसेको छैन । सिकाइको जग कमजोर रहेको छ ।

नेपालको शिक्षा पद्धति सैद्धान्तिक बढी र व्यवहारिक कम भयो भन्ने टीकाटिप्पणीहरु सुन्न पाइन्छ । रेक्टर र उपकुलपतिले पनि यस्तै भन्नुभयो  । यसमा तपाईको विचार के छ ?

कोइरालाः यो भनेको बाटोमा गीत गाउने कुरा हो । हरेक सैद्धान्तिक कुरा व्यवहारिक हुन् र हरेक व्यवहारिक कुरा सैद्धान्तिक हुन् । प्रश्न के उठ्छ भने सैद्धान्तिकलाई व्यवहारिक बनाउन जानिन्छ कि जानिदैन ? यति मात्र ठूलो समस्या हो । त्यो समस्यामा हाम्रो शिक्षक चुकेको छ । कसैले हाम्रो शिक्षा व्यवहारिक भएन भने मैले ठाडै मुर्दावाद भनिदिन्छु । किनभने व्यवहारिक भएन भनेर कसले भन्ने ? शिक्षकले भन्न पाइन्छ ? रेक्टरले भन्न पाइन्छ ? कसैले व्यवहारिक भएन भन्यो भने उसले बनाउन पनि जान्नु पर्याे । हाम्रो शिक्षा व्यवहारिक नभएको होइन, व्यवहारिक नबनाएको हो  । शिक्षण गर्ने तरिका व्यवहारिक भएन र परिणाम पनि व्यवहारिक भएन । शिक्षा व्यवहारिक भएन भन्ने कुरा गलत हो । भएन भन्नेले गरेन, भएन भन्न मात्र जान्यो ।

हाम्रो शिक्षकले माक्र्सवाद पढेर आएको हुन्छ । माक्र्सलाई न उसले चिन्यो न देख्यो । थोत्रा किताब पढेको भरमा माक्र्सले भनेका कुरा व्यवहारिक हुन्छ भन्न पाइन्छ ? माओ, लेनिनले भनेको व्यवहारिक हो भन्न पाइन्छ ? न माक्र्सले यहाँको माटो देखेको छ, न उसले यहाँको माटो चिनेको छ । कसैले नेपाल वर्गीय समाज हो भन्छ भने त्यो सरासर गलत हो । नेपाल जात, धर्म, क्षेत्रको समाज हो । नेपालको समाज त अर्कै छ, जो माक्र्सले बुझेको समाज होइन ।

नेपालको शिक्षा पद्धतिमा व्यक्तिको शैक्षिक स्थितिको मुल्याङ्कन गर्दा उसले आफ्नो जीवनकालमा शिक्षाको माध्यमबाट समग्र रुपमा हासिल गरेको ज्ञान सीप र क्षमताको भन्दा पनि ३ घण्टाको समयावधिभित्र उसले प्रर्दशन गर्ने गरेका स्मरण शक्ति क्षमताको आधारमा मात्र मुल्याङ्कन हुने गरेको र त्यो आफैमा अत्यन्तै खोटपूर्ण रहेको भनाईलाई कत्तिको सत्यको नजिक ठान्नहुन्छ ?

कोइराला –कुनै पनि चिजलाई व्यक्त गर्ने तरिका हुन्छ । हाम्रो पुर्खाले कति राम्रो कुरा गरेका छन् । ‘जति डोरी बाटे पनि गाँठो एउटै ।’ जति कुरा गरे पनि टुङ्ग्याउने एउटै तरिकाले हो । त्यही कुरालाई एक मिनेटमा भन्न सकिन्छ । शिक्षकले विद्यार्थीलाई सिकाएन । आफैले भन्यो तीन घण्टामा जाँच्न सकिदैन । सकिन्छ । किन सकिदैन ? सीप जाँच्न सकिदैन ? अब प्रश्न यहाँ छ हाम्रो शिक्षकले ज्ञान सीप, प्रवृत्ति, सिद्धान्त पक्षको प्रश्न सोध्यो कि सिद्धान्तलाई व्यवहार र व्यवहारलाई सिद्धान्तमा बदल्न सक्न्ो किसिमको क्षमताको प्रश्न सोध्यो ? त्यो सोध्न नजान्ने शिक्षक, गाली खाने जाँच ? म यो कुरामा सहमत छैन । 

त्रिपाठी –शिक्षामा भएको यस्तो कुरालाई विस्थापित गर्नको लागि सेमेस्टर सिस्टम ल्याएको हो ।  वार्षिक प्रणाली अनुरुप ठीक थिएन, अहिले भने ठीक छ । 

खनियाँ –एक वर्ष पढेर ३ घण्टामा मुल्याङ्कन गर्नु भनेको यो भन्दा नराम्रो स्थिति अरु केही होइन । किनकि एक वर्ष सम्म उसको मुल्याङ्कन नगर्ने अन्तिमको तीन घण्टामा मुल्याङ्कन गर्नु भनेको यो भन्दा कमजोर पक्ष अरु छैन । त्यही हुनाले सेमेस्टेर सिस्टममा गएको हौँ । 

फ्याक– प्रणालीको दोष हो । राम्रो नम्बर ल्याउने राम्रो स्कुल, नराम्रो नम्बर ल्याउने नराम्रो स्कुल भनेर हामीले मुल्याङ्कन गर्याै । शिक्षालाई मात्र ध्यान दिइयो तर गुणस्तरीय सिकाइमा ध्यान दिन सकिएन । सिर्जनात्मक सीप हराउँदै गयो । यस्तो प्रणालीलाई निरुत्साहित गर्नुपर्छ ।

नेपालमा अपनाइएको शिक्षा पद्धतिले कस्तो किसिमको जनशक्ति उत्पादन गरिरहेको छ ?

कोइराला – अहिले बोलिखाने बनायो । समाजको बनोटलाई एक पटक हेर्याै भने पढ्ने मानिसले सम्मान पाउने बनोट रहेछ । पुरेतलाई गुन्द्री र राडी ओच्छ्याउनु पर्ने । एउटा दलित आए बाहिर बस भन्नुपर्ने ? यही बुद्धि न हो हाम्रो । त्यो बुद्धि हाम्रो टाउकोमा बस्यो । त्यसले के गर्याे भने त्यो मान्छेले सम्मान पाउनको लागि पढ्नुपर्छ भन्यो । पढेका मान्छेले सम्मान पाउन सकिन्छ भन्ने कारण नमिलेको परिस्थिति सिर्जना भयो । 

त्रिपाठी  – जनशक्तिको मेल छैन । देशलाई एउटा खालको जनशक्तिको आवश्यक पर्छ, हामी अर्काे जनशक्ति उत्पादन गरिरहेको छौँ । 

खनियाँ – देशको अर्थतन्त्र बढाउनुपर्छ । राम्रो शिक्षा आर्थिक स्तर उच्च भएको विद्यार्थीले मात्र पाउने भए । सरकारले छात्रवृत्ति उत्कृष्ट दिमाग भएको मान्छेलाई दिए खोजेको जनशक्ति प्राप्त गर्न सकिन्छ ।

फ्याक– हाम्रो देशमा कस्तो किसिमका जनशक्ति आवश्यक छन् भन्ने विश्लेषण गर्नुपर्छ । नेपालमा जनशक्ति उत्पादन गर्ने तर विदेश पलायन हुने अवस्था रहेको छ । हामीले धेरै विदेश पलायन हुने जनशक्ति उत्पादन गरिरहेका छौँ ।

उत्पादित जनशक्तिले समृद्ध नेपालको खाकालाई मुर्तता दिन सक्ला ?

कोइराला – समृद्ध नेपाल भनेको नेताको बकबक गर्ने भाँडो रहेछ । नेपाल आफै समृद्ध छ । नेपालको समृद्धिलाई विश्लेषण गर्दा भूगोलमा हामी समृद्ध छौँ । इतिहासमा हामी समृद्ध छौँ । भाषा, सस्कृति, चिन्तन गर्ने शैलीमा समृद्ध छौँ । प्रश्न के रहेछ भने समृद्धिलाई दोहन गर्न जानियो कि जानिएन ? शिक्षाले समृद्धिमा सघाउने हो भने कस्तो समृद्धिमा सघाउने त्यो नेताले भन्नु पर्याे । नेपाली सुखी बनाउने भन्छन् । नेपाली दुखी नै होइन । खान नपाएर भोकै बस्यो भने पनि रातभर निदाउँछ नेपाली । यो रमाइलो हो ।  किन रमाइलो भने नेताहरुले सपना देखाउन पाउँछन् ।

खनियाँ  – समृद्धि भनेको राजनीतिक नारा हो । यो नीति होइन । नीति भएको भए कार्यान्वयन हुने थियो । 

फ्याक – मुर्तता दिन सकेको छैन । ठूलो जमातका युवाहरु विदेशिएका छन् । समाज निर्माणमा शिक्षालाई जोड्न सकिएको छैन् । किनकी ती युवाहरुले उसको उर्वर समय र शक्ति यहाँ प्रयोग गरेका छैनन् ।
नेपालका विश्वविद्यालयहरु ज्ञानको मन्दिरभन्दा पनि राजनीतक चलखेलको अखडा बनेको, पदाधिकारी नियुक्तिदेखि शिक्षणसम्म राजनीतिक हस्तक्षेपका कारण शिक्षा र शिक्षण ध्वस्त बन्दै गइरहेको एकाथरिको भनाई छ । यसमा तपाईको विचार के छ

कोइराला– सहमत छु । राजनीतिक भन्दा पनि दलियता स्वार्थ भनौँ ।  दल भन्दा पनि आफ्नै मान्छेलाई छाँया दिने अवस्था छ । दलको मान्छेले नराम्रो काम गर्याे भने पनि त्यसलाई संरक्षण दिने समस्या घातक छ । दल पनि खासै घातक होइन । राजनीति त झनै घातक होइन । आफ्नो मान्छे गलत छ भने पनि संरक्षण गर्ने प्रवृत्ति घातक हो ।

मिलन बिन्दुमा काम अगाडि बढाऔँ । फरक दृष्टिकोणमा परिक्षण गरौँ । बुद्धि ल्याउनु पर्दैन ? बुद्धि नल्याउने अरु, दोष लगाउने राजनीतिक दललाई ? हामी न राजनीतिक तरिकाले हामी अगाडि जान सक्यौँ न दलीय अनुबन्धसँग लगेर जोड्न सक्यौँ । जिम्मा नलिने मनस्थिति रह्यो । दलीयकरण समस्या हो कि जिम्मेवारी नलिने दलको समस्या हो ? राजनीति समस्या हो कि राजनीतिलाई उपयोग गर्न नजान्नु समस्या हो ? हाम्रो निम्ति समस्या नेताहरुको बदमासी हो ।

त्रिपाठी  –एउटा काल खण्ड थियो । प्रत्येक नेपालीहरुले सङ्घर्ष गर्नुपर्ने अवस्था थियो । त्यसमा आम नेपाली जनता होमिएको थियो । अहिले प्रत्येक व्यक्तिको राजनीतिमा रमाउने खालको प्रवृत्ति छ त्यो घटेको छैन । प्रत्येक पाइला पाइलामा राजनीति गरेर शैक्षिक क्षेत्रमा बेथिति ल्याउन आवश्यक छैन । आनन्दले आफ्नो पेशा सम्हालेर बसे हुन्छ । गफ चुटेको भरमा जागिर पाक्ने भएकोले राजनीति प्रवृत्ति हावी भएको छ । 

खनियाँ–भन्छन बैचारिक पार्टीबाट शिक्षामा राजनीतिको परावर्तन भयो । तर आन्तरिक व्यवस्थापन गरेर जाने हो भने यो समस्या ठूलो होइन ।

त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भर्ना हुन्छ भन्छन् तर म उपकुलपति नियुक्त हुन के कुरामा कमजोरी छु ?मेरो नियुक्ति कसरी राजनीति भयो ?

अर्काे कुरा गोविन्द केसी उफ्रिन पर्ने कारण के छ ? उहाँलाई सबैले अभियन्ता माने । उहाँले उठाएका विषय ठीक बेठीक भनेर कसैले हेरेनन् । उहाँ गलत मानिसको प्रयोगमा हुनुहुन्छ । यो देशको निर्णय आफूले भने अनुसार हुनुपर्छ, गौरी बहादुरको रिपोर्ट लागु हुनुपर्दछ भनेर आन्दोलन गर्नुभएको छ । उहाँले प्रक्रिया बुझ्नुहुन्न ।

फ्याक  –जति पनि उर्जा छ त्यो राजनीतिक शक्तिमा मात्र प्रयोग भयो । इमान्दारीपुर्वक पढ्ने र पढाउने मानिस निरुत्साहित भए । त्यो कुराले नकारात्मक प्रभाव पार्याे । शिक्षक र विद्यार्थीले उर्जा राजनीतिमा मात्र लगाए । त्यसले गर्दा इमान्दार मानिसहरु निरुत्साहित भए ।

शिक्षक शिक्षक नभई किन राजनीतिक दलका कार्यकर्ता भएका ? पढाउनुपर्ने शिक्षक किन राजनीतिमा लागेका होलान्​ ?

कोइराला –हाम्रो शिक्षकले विरोधको राजनीति जानेको छ । सिकेको पनि त्यही छ, सिकाएको पनि त्यही  छ । हामीले विरोध गर्न सिकाइएछ तर बिकल्प छान्न जानिएनछ । विकल्प छान्ने र विकल्पमा अगाडि बढ्ने प्रवृत्ति भएन । शिक्षक पेसाकर्मी नभई पार्टीको बफादार कार्यकर्ता भए । ट्रेड युनियनका सदस्य भए ।

खनियाँ–राजनीतिक परिवर्तनको बल स्कुल कलेजमा छ । कक्षाकोठामा राम्र्रो पढाएर प्रगति भएको छैन । प्रगती जो राजनीतिक दलसँग नजिक छ उसको मात्र भएको छ । राजनीति स्थायित्व नभएको कारण यस्ता मान्छेले चलखेल गर्छन् । 

हाम्रो शिक्षा प्रणालीले नेपाली समाजको वास्तविक चित्रलाई कोर्न सकेको छ ?

कोइराला – सकेको छैन । किनकी शिक्षक त्यतापट्टि फर्कन नै सकेको छैन । शिक्षक पाठयपुस्तकमा फर्के । शिक्षकको काम भने कोर्स सकाउने मात्र भयो । कोर्स शिक्षकले सक्ने हो कि विद्यार्थीले सक्ने हो ? त्यो कोर्समा विद्यार्थीलाई पारङ्गत बनाउनु पर्ने हो कि किताबमा बनाउने हो ? हाम्रो विद्यार्थीको अवस्थालाई हेर्नुभयो भने सामाजिक  विषयमा किताबभन्दा बाहिरको प्रश्न आयो भन्छ । यस्तो दुर्बुद्धि बोकेर पनि कोर्स सकेको हुन्छ ? हाम्रो शिक्षा सीपमा आधारित भएको भए त्यो व्यक्ति किताबमा पनि पारङ्गत हुन्थ्यो, सीपमा पनि पारङ्गत हुन्थ्यो । हाम्रो शिक्षाले जिन्दगीमा पारङ्गत बनाउन पनि जानेन र किताबमा पारङ्गत बनाउन पनि जानेन ।

खनियाँ –शिक्षा अहिलेको समाजलाई हेरेर दिने होइन । हामीले शिक्षा दिदा दश वर्ष पछिको समाजलाई परिकल्पना गरेर दिनुपर्छ । शिक्षा समाजसँग जोडिनुपर्याे । पढाइकै आधारमा कामलाई जोड्दै जाने हुनुपर्छ । समाजको फरवार्ड लुकिङलाई समात्न सक्ने कि नसक्ने ? शिक्षाले सन्तुलन कायम गर्नुपर्छ । 

शिक्षा कस्तो हुनुपर्ने ?

कोइराला – शिक्षा भनेको रोजगारमुखी होइन । रोजगारमुखी भनेको सीप हो । सीपले जहिले पनि बजार खोज्छ । त्यसको निम्ति यत्ति लामो पढाइ पनि आवश्यक छैन । स्कुलमा किन दश वर्ष पढाउनु ? पन्ध्र बर्षको मानिसलाई सीप दिए त पुग्यो किन पढाउनु नौ/दश वर्ष ?

खनियाँ –शिक्षामा समसामयिक सुधार हुन बाँकी छ । आत्मनिर्भर हुने र शिक्षा र काम बीच सन्तुलन कायम गर्ने शिक्षा हुनुपर्दछ ।

फ्याक – शिक्षाले रोजगारको कुरा गर्ने होइन तर उत्पादन भएका मानिसलाई राज्यले खपत गर्ने शिक्षा हुनुपर्छ । शिक्षाले काम गर्न सक्ने सीप दिनुपर्छ । जागीरसम्म जाने बाटो देखाउनुपर्छ ।

 

Monday, March 30, 2020

गुरुकुलीय शिक्षामा बिगार पर्‍यो !


गुरुकुलीय शिक्षामा बिगार पर्‍यो !
फाल्गुन ३, २०७६माधवप्रसाद पोखरेल
गुरुकुलीय शिक्षा - गुरुकुलीय शिक्षा हाम्रो उपमहाद्वीपको सबभन्दा पुरानो औपचारिक शिक्षा प्रणालीको नाम हो वैदिक काल (इपू १५००) मै त्यो थालियो, उत्तर वैदिक र पौराणिक कालमा उत्तरोत्तर मात्रामा फस्टायो र उपमहाद्वीपीय संस्कृतिको जग र चिनारी बन्यो
पश्चिम एसियाली (१२ औं शताब्दीपछि) र युरोपेली (१८ औं शताब्दीपछि) आधिपत्यपछि यसलाई छल, बल, कल गरेर अनेक किसिमले आक्रमण गरियो र उपमहाद्वीपकै युवाहरूलाई आफ्नै गौरवमय परम्परा र आफ्नै सांस्कृतिक मौलोप्रति वितृष्णा, घृणा र वैराग्य चलाउने र विदेशबारे मात्रै सकेसम्म बढ्ता जान्नुपर्ने गोरखधन्दा र भुल्भुलैयाको नाम ‘शिक्षा’ दिइयो विद्यार्थीले आफ्ना सांस्कृतिक ज्ञानलाई विद्यालयमा पढ्नै नपर्ने, होडै नगराइने, नम्बरै नदिइने, पुरस्कारै नदिइने अनि विदेश, विदेशी र आफ्ना परम्पराको निमासो गर्ने शत्रुहरूबारे जति जान्यो, त्यति सम्मान, पुरस्कार र पदोन्नति पाउने, आफ्नै संस्कृति, लोक विद्या र गुरुहरूलाई असभ्य, अविकसित, असामयिक र सिकेर उँभो नलागिने भ्रम सिर्जना गर्ने मेकालेको सिफारिसबाट बेलाइतले पराधीन शत्रु राज्य (भारत) मा दिगो रूपमा आफ्नो शासन टिकाउन लागू गरेको कुटिलतालाई नेपालीले पनि हाम्रो राष्ट्र र जातिलाई उँभो लगाउने ‘शिक्षा’ ठान्यौँ अनि भारतले पनि विदेशीबाट स्वतन्त्र भएपछि त्यसलाई आफलेर आफ्नै गुरुकुलीय शिक्षालाई समसामयिक परिमार्जन गरेर फर्काउन सकेन समृद्ध गुरुकुलीय शिक्षा अकालैमा मर्‍यो
शिक्षा भनेकै के हो?
शिक्षाको विश्वव्यापी परिभाषा (जोन डिवे, १९५९ इ, ‘डिक्सनरी अफ एजुकेसन’) अनुसार जुनसुकै बालखले आफ्नै जातिको सामूहिक चेतनामा उत्तरोत्तर गहिरो सहभागिताबाट पाउने ज्ञानको नाम नै शिक्षा हो जन्मँदैदेखि सामुदायिक सहभागितामा जानी नजानी आफ्नै जातीय चेतनामा गहिरिएर सिक्तै जाँदा मान्छेले क्रमशः आफ्नै सामर्थ्यको बान्की मिलाउँदै जान्छ, चेतना बाक्लो बनाउँदै जान्छ, बानी बसाल्दै जान्छ, विचारहरूलाई तालिम दिँदै जान्छ, अनि आफ्ना भावनाहरूलाई जगाउँदै जान्छ (पराईजस्तो हुन होइन) चालै नपाई आफ्नो समुदायबाट पाइने यस्तै शिक्षाले बिस्तारै मान्छेले पुर्खाहरूले जोगाएको बौद्धिक नैतिक सम्पदालाई आफ्नो पनि रहेछ भन्ने चाल पाउँछ महान् मानव सभ्यता बनाउन आफ्नै पुर्खाको पनि योगदान रहेछ भन्ने कुरो बुझ्छ विद्यालयमा गएर सिक्नुपर्ने औपचारिक र प्राविधिक शिक्षा पनि यो परम्परागत शिक्षाको मर्मबाट बाहिरिन सक्तैन, आफ्नै परम्परागत शिक्षालाई विशेष लक्ष्यद्वारा परिमार्जन गर्न र कुनै निश्चित दिशा दिन मात्र सक्छ कलिन्स ओ’ब्रायन (२०११ , ‘ग्रिनउड डिक्सनरी अफ एजुकेसन’) ले शिक्षालाई मानिसको चिनाइको विकाससँगै शारीरिक, प्राकृतिक, पर्यावरणीय, सामाजिक, भावनात्मक र नैतिक विकासलाई पोस्ने प्रक्रिया मानेका छन् शिक्षाले निश्चित ज्ञानलाई उत्कृष्ट ठान्छ अनि त्यता पु‍र्‍याउने उपायहरू लगाउँछ औपचारिक शिक्षाले मान्छेका व्यक्तिगत चाहनाहरू सामाजिक आवश्यकताहरूबीचमा तालमेल राख्ने उद्देश्य लिन्छ
हाम्रो प्रचलित शिक्षाको जाँच
नेपालमा हामी जुन गोरखधन्दालाई ‘शिक्षा’ भन्न बानी परेका छौँ, त्यसलाई शिक्षा शास्त्रको यहाँ लेखिएको सार्वभौम परिभाषा अनुसार लेखाजोखा गर्दा यस्तो देखिने रहेछ :
नेपालमा बालखलाई जति पढाउँदै गयो, उति उसलाई समुदायको परम्परागत ज्ञानबाट टाढा पु‍र्‍याइन्छ पारंगत भए पछि नेपाली विद्यार्थी आफ्नो मातृभाषा, जातीय चालचलन, शिष्टाचार र लोक विद्यामा अज्ञानी भएर निस्किन्छ विद्यालयको ज्ञानले उसलाई जातीय जानकारीमा निष्पट्ट बनाउँछ शिक्षा मन्त्रालयले उच्च अंक दिएर उत्पादन गरेको ‘शिक्षित’ नेपालीले नेपालको शक्ति र सामर्थ्य ठम्याउनै पाउँदैन, बरु विदेशका विषयमा चाहिँ धेरै कुरा सिक्छ शिक्षाले नेपालीलाई ‘अजात’ ‘अनेपाली’ बनाउनचाहिँ सक्छ, किन भने हाम्रो शिक्षाले नेपाल पढाउनेमा भन्दा विदेश पढाउनेमा बढ्ता जोड दिन्छ, नेपाली चिनाउनेभन्दा विदेशी चिनाउनेमा महत्त्व दिन्छ, ‘राम्रो’ र ‘उत्कृष्ट’ ठहराउँछ, तर यस बिथितिले कसै गरे पनि एउटा छँदाखाँदाको नेपालीलाई नेपाल विद्यामा अज्ञानी मात्र बनाउन सक्छ, विदेश विद्यामा पारंगत बनाउनुचाहिँ असम्भव छ
मूल्य
छरछिमेकी र समाजले गर्ने गरेका प्रशंसा–गाली, उत्कृष्ट–निकृष्ट, राम्रो–नराम्रो, आदर्श–चुत्थो, रोज्नुपर्ने–छोड्नुपर्ने बाटो, सिक्नुपर्ने–आफल्नुपर्ने कुरो, गुण–अवगुण, आकर्षण–विकर्षण, फाइदा–बेफाइदा, ठुलाबडा–मामुली, विकसित–अविकसित, सभ्य–असभ्य, जित–हार र पुरुषार्थको लेखाजोखा गरेर समाजको गन्तव्य बन्छ हाम्रो शिक्षाले गर्दा नै समाजको गन्तव्य आफ्नो आफलेर विदेशी तिर एकोहोरिएको
गुरुकुलीय शिक्षा के हो?
गुरुकुलीय शिक्षाले यो नाम किन पाएको भने, त्यसमा राजादेखि रंकसम्मका विद्यार्थीहरूले शिक्षा लिन गुरुकै परिवार (गुरुकुल) मा स्थायी रूपमा बस्नुपर्यो, घरमा परी आएको सबै काम आफ्नै ठानेर गर्नुपर्थ्यो, सबै विद्यार्थीलाई गुरुले नै खाने लगाउने चाँजो मिलाउनुपर्यो, जस्तो परिवारको भए पनि गुरुले सबैलाई एकनासको पोसाक र भोजन दिनुपर्थ्यो, विद्यार्थीहरूले भिक्षा मागेर छाक टार्नुपर्थ्यो, मागेर ल्याएको गुरुलाई सुम्पिनुपर्थ्यो, खाने कुरो एउटै भाँडामा पाक्थ्यो पच्चीस वर्षको नहोउन्जेल गुरुकै घरमा बसेर पढ्नुपर्थ्यो
इपू चौथो शताब्दीसम्म भारतीय आर्यहरूले कुनै लिपि नै चलाउन जानेका थिएनन्, त्यसैले ऋषिमुनिले खोज अनुसन्धान गरेर बटुलेको ज्ञान सूत्र रूपमा (सूत्र विधि) विद्यार्थीहरूलाई घोकाउँथे विद्यार्थीले ध्यानपूर्वक सुनेर (श्रवण विधि) घोकेपछि गुरुलाई कण्ठस्थ सुनाउनु (कण्ठाग्रीकरण विधि) पर्थ्यो गुरुलाई पाठ बुझाउनुभन्दा अघि सबै विद्यार्थीहरू पहिले आफूलाई पाठ राम्रो आउँछ कि आउँदैन भनेर आफ्ना साथीलाई सुनाएर आफैँ जाँच्थे अनि आफूलाई राम्रो नआएको भए, आफैँ पाठ दोहो‍र्‍याउँथे (पारस्परिक जाँच विधि) आफ्नो पाठभित्र लुकेको अर्थबारे झन प्रस्ट हुन साथीहरूसित छलफल गर्थे (‘सुहृत्प्राप्ति’ विधि) भन्ने कुरो वाचस्पति मिश्रले लेखेका छन् (श्यामनारायण शुक्ल, २००४, ‘प्राचीन भारतीय पाठ्य चर्चा और शिक्षण पद्धति’, पीएचडी प्रबन्ध, झाँसी : बुन्देलखण्ड विश्व विद्यालय)
विद्यार्थीले त्यसरी पाठ बुझाएपछि गुरुले त्यस सूत्रको अर्थ बुझाइदिन्थे (व्याख्या विधि) बुझेको अर्थ मनमनै खेलाएर (मनन विधि) चेलाले गुरुसँग सिकेको ज्ञानलाई सकेसम्म गहिरिएर बढाउनुपर्थ्यो (‘स्मरणं तु गुरोर्वाक्यं मननं तदनन्तरम्’, डा. सरयूप्रसाद चौबे, १९५९ इ, ‘भारतीय शिक्षा का इतिहास’, पृ. ५)
नबुझेका ठाउँमा गुरुसँग गएर सोध्नुपर्थ्यो (ऊहापोह ‘तर्कवितर्क’ अर्थात्, शंका समाधान विधि) विद्यार्थीलाई कुनै कुरो बुझाउन उदाहरणका लागि महापुरुषहरूको जीवन वृत्तान्त अथवा इतिहास वा पुराणका प्रसिद्ध घटना अथवा काल्पनिक कथा र उपाख्यानको पनि प्रयोग (कथा अथवा दृष्टान्त विधि) गरिन्थ्यो (चौबे, २८) विद्यार्थीले गम्भीर प्रश्न सोधे गुरुले नै त्यस प्रश्न बारे ‘ध्यान’ गर्नुपर्थ्यो
त्यसरी सिकेको ज्ञान विद्यार्थीले ठीकसित बुझ्यो कि बुझेन भनेर जाँच्न द्रोणाचार्यले कौरव पाण्डवलाई जाँचेझैँ गुरुले विद्यार्थीलाई त्यो ज्ञान उपयोग गरेरै फत्ते गर्न सकिने कुनै काम (कौशल अथवा बुद्धिको जाँच वा प्रयोगात्मक परीक्षा विधि) अराउँथे यसरी गुरुसँग पढेको हरेक नयाँ कुरो विद्यार्थीले घोक्नैपर्ने, घोकेको कुरो गुरुसँग बसेर बुझ्नैपर्ने, बुझेको कुरो मन मनै खेलाएर विद्यार्थीले गहिरिएर आफ्नै मनलाई सोधेर बढाउनैपर्ने, विद्यार्थीले बुझे नबुझेको कुरो जाँच्न गुरुले अराएको काम व्यवहारमा उतारेर जान्नै पर्ने अनि नयाँ पाठ सिक्न जाँदा अघिल्ला पाठ कण्ठस्थ बुझाउनैपर्ने (पूर्व ज्ञान परीक्षण) चलन थियो भनाइ नै थियो, ‘आचार्यात्पादमादत्ते, पादं शिष्यः स्वमेधया पादं सब्रहृमचारीभ्यः, पादं कालक्रमेण तु।।’ (गुरुले एक चौथाइ ज्ञान मात्र दिन सक्छन्, अर्को एक चौथाइ ज्ञान शिष्यले आफ्नै तर्क र बुद्धिले निकाल्नुपर्छ तेस्रो एक चौथाइ ज्ञानचाहिँ साथीहरूसँग छलफल गरेर बढ्छ भने, बाँकी चौथाइ ज्ञानचाहिँ व्यवहारमा परेर मात्र सिकिन्छ (सीताराम चतुर्वेदी, २०१४, ‘अभिनव शिक्षण सिद्धान्त’, ५१) नबुझेको कुरो गुरुलाई सोध्ने गुरुले उत्तर दिने (प्रश्नोत्तर विधि) परिपाटी गुरुकुलीय शिक्षाको एउटा मुख्य विधि थियो यो विधि उपनिषद् पतञ्जलि महाभाष्य जस्ता व्याकरणमा पनि पाइन्छ धनुर्वेद, आयुर्वेद र कर्मकाण्डजस्ता जुन–जुन विषयमा प्रयोगात्मक तालिमको आवश्यकता थियो, ती–ती विषयमा ‘प्रयोगात्मक शिक्षा’ पनि दिइन्थ्यो हरेक गुरुले हरेक दोस्रो पाठ थाल्दा अघिल्लो दिन आफूले पढाएको कुरो चेलाले कण्ठस्थ भन्न सक्छ कि सक्तैन, मनन गरेको छ कि छैन, आदि कुरो सोध्ने चलन थियो विद्यार्थीले अघिल्लो दिनको पाठ बुझाएपछि मात्र छात्रले नयाँ पाठ पढ्न पाउँथ्यो, नत्र पुरानै पाठ दोहो‍र्‍याउनुपर्थ्यो (सीताराम चतुर्वेदी, २००९, ‘भारत में सार्वजनिक शिक्षा का इतिहास’, ५९)
बेलाबेलामा अर्कै गुरुकुल वा विद्या केन्द्रका विद्वान्हरू पाहुना आएका बेलामा त्यस्ता विद्वान्हरूले ‘अतिथि कक्षा’ लिन्थे, कुनै निश्चित विषयमा प्रवचन दिन्थे अथवा विद्यार्थी अथवा गुरुले राखेका कुनै समस्यामा आफ्नो मन्तव्य दिन्थे र गुरुहरूका बीचमा अथवा बेग्लाबेग्लै गुरुकुलका गुरु चेलामा प्रश्नोत्तर हुन्थ्यो गुरुकुलका विद्यार्थीहरू त्यस्ता ‘प्रवचन’ बाट पनि सिक्थे त्यस्तै, बेग्लाबेग्लै गुरुकुलका गुरु चेलाहरू ‘ब्राह्मण संघ’, ‘शिक्षा सम्मेलन’, ‘यज्ञ स्थल’, ‘तीर्थ स्थल’, ‘श्राद्ध स्थल’, ‘राजसभा’, ‘ऋषि आश्रम’ र ‘विद्वत्परिषद्’ मा हुने ‘प्रवचन’, ‘विद्वद्विमर्श’ र ‘शास्त्रार्थ’ (र वादविवाद प्रतियोगिता) मा सहभागी भएर पनि आफ्नो ज्ञान, योग्यता र प्रतिभाको विस्तार गर्थे (शुक्ल, पृ. ४१)।
गुरुकुलभित्र ‘शास्त्रार्थ’ का रूपमा ‘सामूहिक परीक्षा’ पनि हुन्थ्यो, जसमा एउटै गुरुकुलका चेलाहरू दुई समूहमा बाँडिन्थे र कसैले पूर्व पक्ष लिन्थ्यो, कसैले उत्तर पक्ष लिन्थ्यो त्यसरी विद्यार्थीहरूको प्रतिभा, तर्क शक्ति, ज्ञान र अध्ययनको जाँच हुन्थ्यो ्यहाँ गुरु नै निर्णायक र मध्यस्थ हुन्थे ‘शास्त्रार्थ’ ‘अन्ताक्षरी’ गुरुकुल बाहिर पनि हुन्थ्यो
शिष्यगुरुको चलन
गुरुकुलमा जान्ने विद्यार्थीको ल्याकत बढाउन उही अथवा माथिल्ला कक्षाका जान्ने विद्यार्थीलाई सिकाउन लगाइन्थ्यो त्यसरी सिकाउने ‘शिष्यगुरु’ लाई सिक्ने विद्यार्थीले गुरु समानै आदर गर्नुपर्थ्यो शिष्यगुरुको चलनले एकातिर गुरुकुलमा भएको शिक्षकहरूको खाँचो पनि पूरा हुन्थ्यो भने, अर्कातिर जुनसुकै मान्छेले आफू विद्यार्थी हुँदा नबुझेको पाठ अरूलाई सिकाउँदा छर्लङ्ङ बुझ्छ, त्यसैले आफ्नै सहपाठीलाई र तल्लो कक्षाका नजान्ने साथीहरूलाई पढाउन लगाएर विद्यार्थीहरूको ज्ञान दरो बनाउने चलन गुरुकुलीय पद्धतिमा थियो त्यसरी सिकाउँदा साथीहरूमाझ सिकाउने विद्यार्थीहरूको मान बढ्ने हुनाले विद्यार्थीहरू पनि आफ्नो ल्यागत बढाउन घम्मर गर्थे यसरी विद्यार्थीहरूमा ल्याकत बढाउने होड चल्थ्यो ‘आपस्तम्बगृहृयसूत्र’ अनुसार गुरु नभएका बेलामा त्यस्तै शिष्यगुरुहरूले सिकाउँथे
यसरी शिष्यगुरु प्रणालीले गर्दा गुरुकुलभरि सबै गुरु नै गुरु हुन्थे त्यस्तो चलनले गर्दा माथिल्ला कक्षाका विद्यार्थी तल्ला कक्षाका आफ्ना विद्यार्थीले चाल पाउलान् नेर अनुशासित हुन्थे भने, तल्ला कक्षाका विद्यार्थी जताततै गुरु नै गुरु देखेर मर्यादित हुन्थे यसरी गुरुकुलमा विनयशीलता, मर्यादा र अनुशासन कायम हुन्थ्यो (चतुर्वेदी, ५३)
शिक्षाको मूल आधार : धर्म र शासन
संसारभरमा शिक्षा दिने मूल कारण नै धर्म र शासन (वा राजनीति) हुने रहेछ अंग्रेजहरूले भारतमा अनिवार्य अंग्रेजी शिक्षा थाल्दा (१८३४ ) थोमस मेकालेले आफ्ना हिन्दु इस्लाम धर्ममै आक्रमण गरेका थिए त्यो शिक्षा लागू भएको पाँच वर्षमा आफ्ना बाबुलाई लेखेका चिठीमा भनेका थिए, ‘अबदेखि अंग्रेजी पढेको कुनै हिन्दु पनि आफ्नो धर्ममा इमानदार हुन सक्तैन अब कतिले हाम्रै नीतिको पालन गरी रहन्छन्, अनि कति त, धर्म परिवर्तन गरेर इसाई नै हुन्छन् मलाई के विश्वास भने, हाम्रो शिक्षा योजना यसैगरी सफल भएर चल्यो भने, अब आजको ३० वर्षपछि बंगालका छेत्री–बाहुनका घरमा मूर्ति पूजा गर्ने मान्छे एउटै पनि भेटिँदैन यो सबै काम धर्म परिवर्तन गराउने कुनै प्रयास नगरे पनि, धार्मिक स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरे पनि उनीहरूले पाएको ज्ञान र त्यसले जन्माउने सोचबाटै स्वतः सम्भव हुन्छ यो कुराले कस्तो गदगद भएको छु ! मेकालेको यस भनाइबाट भारतमा संस्कृत शिक्षा बन्द गरेर अनिवार्य अंग्रेजी लादेका बेलामै त्यस्तो शिक्षाको मूल उद्देश्य नै अरूको धर्ममा रोक लगाएर आफ्नो धर्म फैलाउनु थियो
मेकालेले बेलाइती संसद्मा (२ फरबरी १८३५) यस्तो प्रस्ताव राखेका थिए अरे, ‘मैले भारतवर्षमा सर्वत्र चाहार्दा एउटै माङ्ने पनि देखिन, एउटै चोर पनि फेला परेन त्यहाँका मान्छेको कस्तो उच्च नैतिकता ! कस्तो महान् चरित्र ! त्यहाँको कस्तो समृद्धि ! अहँ! मलाई के लाग्यो भने, त्यहाँको आध्यात्मिक र सांस्कृतिक सम्पदा अनि प्राचीन शिक्षा प्रणालीलाई हटाएर (अर्थात्, तिनीहरूको अस्मिताको ढाड भाँचेर) त्यसका ठाउँमा हाम्रो लादेनौँ भने, मरी गए, हामी त्यस देशलाई जित्न र त्यहाँ दिगो शासन गर्न सक्तैनौँ संस्कृत माध्यमको उनीहरूको शिक्षाको साटो अंग्रेजी माध्यमको हामीले योजना गरेको शिक्षा लाद्यौँ भने मात्रै, बल्ल, भारतीयहरूलाई जे जे बेलाइती र विदेशी हो, त्यो नै आफ्नोभन्दा उन्नत हो भन्ने पर्छ त्यति भएपछि चाहिँ तिनीहरूले आत्मसम्मान जातीय संस्कृति गुमाउँछन्, अनि मात्र हामी पराजित राज्यका नागरिकलाई झैँ तिनीहरूलाई हामीले जे भन्यो त्यही मान्ने बनाउन सक्छौँ।’
गुरुकुलीय शिक्षा पनि धर्मद्वारै अनुप्राणित थियो, त्यसैले विदेशीले अर्काको मुलुकमा दिगो शासन गर्न ‘शिक्षा’ का बाहाना बुनेर धर्ममै आक्रमण गर्नुपर्ने रहेछ भन्ने मेकालेको कुटिल मन्त्रबाट बुझ्नुपर्छ पश्चिमाहरूले हाम्रो शिक्षा, अनुशासन, न्याय, समाजशास्त्र र जीवनाधार बुझाउने ‘धर्म’ शब्दको अनुवाद युरोपमा बदनाम भएको ‘रिलिजन’ शब्दमा गरेर बुझ्नाले हामी मेकालेले चिताएकै बाटामा आफ्नो लोक समृद्धि स्वाहा पार्दै विदेश पोस्न तँछाडमछाड गरी रहेका छौँ !
आचार र संस्कार नै शिक्षाको लक्ष्य
आजको नेपाली शिक्षाको लक्ष्यचाहिँ पढेर आफ्ना दाजुभाइ, नातेदार, कुटुम्ब, छिमेकी, देशवासी र आफ्नो समाजभन्दा एकदम फरक अर्थात् अद्वितीय हुने देखिन्छ, तर यस्तो लक्ष्य त न माथि लेखिएको शिक्षाको परिभाषासित मिल्छ, न आजको जापानी शिक्षासित मिल्छ आदर्श चरित्र भएका नागरिक बनाउनु नै गुरुकुलीय शिक्षाको लक्ष्य थियो आचार सिकाउने हुनाले नै मूल गुरुलाई ‘आचार्य’ भनिन्थ्योप्रकाशित : कोसेली, फाल्गुन ३, २०७६ १४:१९


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...