Showing posts with label Maoist insurgency. Show all posts
Showing posts with label Maoist insurgency. Show all posts

Tuesday, May 26, 2020

गुमनाम कमरेड


गुमनाम कमरेड

राजुबाबु श्रेष्ठ, सेतो पाटी, प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७,
प्रारम्भ
देशमा चलेको १० वर्षे जनयुद्धले कतिलाई सत्तामा पुर्यायो, कतिलाई सडकमा। कतिले युद्ध भूमिमा सहादत प्राप्त गरे। कतिले युद्ध भूमिमा पाइलो पनि नटेकी सम्पन्नता हासिल गरे। कतिले निम्न वर्गबाट उच्च वर्गमा छलाङ मारे। कतिले सपाङ्गबाट अपाङ्गको नियति भोग्न बाध्य भए।
कतिको जीवनमा नसोचेको सपना पूरा भयो। कतिको सामान्य सपनाहरु पनि जलेर खरानी भए। कतिले सहरमा महल जोडे। कतिले गाउँको झुपडी पनि उडाए। हिजो सामन्ति भनिएका बाबुसाहेबहरुको सान शौकत झन् उचो-उचो हुँदै गयो।
क्रान्तिमा लागेर जीवन गुमाउनेका परिवारहरु गुमनाम हुँदै गए। जनयुद्धका सहिदहरुको इतिहास हराउँदै गए। यस्तो बेला फेरि क्रान्ति गर्ने भन्दै गाउँ आईपुगेको छ अर्को क्रान्तिकारी समूह। यहि सेरोफेरोमा भेटिएको एउटा परिवारको दारुण कथाका दृष्यहरु यहाँ समेटिएको छ।

दृष्य एक
बिहान सातै बजे जनसेनाको हतियारधारी जत्था घ्यार गाउँमा दाखिल भयो। घ्यार गाउँ उक्लिएपछि सरासर माइली घ्यारको घरतर्फ सोझियो। गाउँलेहरु अनौठो मानेर ती जनसेनाको पोशाकमा रहेको जत्थालाई हेर्न लागे। गाउँलेहरुले यस्ता जनसेना नदेखेको धेरै भैसकेको थियो।
जनयुद्ध कालमा गाउँमा जनसेनाको आउजाउ निकै हुन्थ्यो। गाउँलेहरुले जनसेना आएपछि आफ्नै ठानेर घरघरबाट जे-जे हुन्छ जोहो गरेर खानपान गराउँथे। तर गाउँमा आएर परेड खेल्ने जनसेनाका कमाण्डरहरु देशका मन्त्री प्रधानमन्त्री भईसक्दा पनि गाउँ जस्ताको तस्तै रहेपछि, गाउँको दु:ख गाउँकै काँधमा अड्किएर बसेपछि गाउँलेहरुलाई यी र यस्ता जनसेनामाथिको भ्रम टुटेको हो। त्यसैले आज धेरै वर्षपछि जनसेना गाउँ पस्दा गाउँलेहरुमा कुनै उत्सुकता देखिएको थिएन।
माइली घ्यार भर्खरै उठेर लोटाको पानीले मुख छ्यापि पिडीमा बसेकी थिइन्। पिडीमा बसेर बिहानको घाम ताप्न निकै मनपर्छ उनलाई। श्रीमान् छदाका दिनमा बिहान सधै पिडीमा बसेर पालैपालो एक चिलिम कक्कड तानेपछि मात्र काममा लाग्थे उनीहरु। तर आजकल उनी बिहान कक्कड तान्दैनन्। श्रीमान छुटेदेखि आजसम्म छोएको छैन चिलिम। कक्कड खाँदा उनलाई श्रीमानको झल्को आउछ अरे।

'एक चिलिम कक्कडले किन मन बिगार्नु र दिनदिनै?' उनलाई यस्तो लाग्छ।
बिहानै घरको आँगनमा एकाएक हतियारधारी जत्थालाई देखेर उनको मनमा चिसो पस्यो। उनका आँखा अगाडि पूराना दिनहरु झलक्क झुल्कियो। भित्रबाट उनकी बुहारी काली घ्यार पनि बाहिर निस्की। आँगनमा नौला मान्छेहरुको आवाज सुनेर घरसँगै गोठमाथि सुतेको कालीको छोरो कर्ण पनि आँखा मिच्दै आँगनमा निस्कियो।
आँगनभरी हतियारधारी जनसेनाहरुलाई देखेर थोरै हच्कियो। सात जनाको समूहमा रहेका ती हतियारधारीहरु मध्ये छ जनाले हरियो टाटेपाटे कम्ब्याट ड्रेस लगाएका थिए। तिनीहरुको टोपीमा एक-एक वटा रातो तारा पनि थियो। एकजनाले सादा पोशाकमा टाउकामा रातो रुमाल बाँधेको थियो।
सायद यी रातो रङ्गले उनीहरु आफूलाई क्रान्तिकारी देखाउन चाहन्थे। सबैले पछाडि झोला भिरेका थिए। सबैको अनुहारमा हाँसोको बदला असन्तोषका रेखाहरु कोरिएका थिए। पाँच जना १५/२० वर्ष बीचका थिए। ओठ निचरे पनि दुध आउला जस्ता। एकजना त्यस्तै २५/२६ को हुँदो हो। एक जना भने ४०/४५ को पाको देखिन्थ्यो। उसको हाउभाउ हेर्दा उ टोली कमाण्डर जस्तो लाग्दथ्यो।
'आमा! तपाई सहिदकी आमा। हाम्रो पनि आमा। तपाईका दु:ख पीडा हामीलाई थाहा छ। हामी तपाईका श्रीमान् र छोराले दिएको बलिदानी त्यसै खेर नजाओस् भनेर फेरि गाउँ आएका छौँ। हामीलाई आशिर्वाद र माया दिनुहोस्। तपाईको आशिर्वाद लिएपछि मात्र हामी गाउँमा पस्छौँ' जनसेनाको टुकडीको कमान्डरले माइली घ्यार नजिकै गएर बोल्यो।
प्रत्युत्तरमा माइलीले केही बोलिनन्। चुपचाप एकोहोरो त्यो कमान्डरको अनुहार हेरेर टोलाई रहिन्। वरपरका छिमेकीहरु पनि माइलीको आँगनमा आउदै थिए। एकैछिनमा गाउँलेहरु जम्मा भएर माइलीको आँगन भरियो। कमान्डरको सांकेतिक आदेशमा दुई जना हतियारधारी जवान माइलीको आँगनको दुई तिर कुनामा गएर आउने जाने मान्छेहरुको रेक्की गर्न थाले।
'देशमा गणतन्त्र ल्याउन हामीले ठूलो बलिदानी दियौं। हाम्रा वीर सहिदहरुले आहुति दिए। तर आज हाम्रै कमरेडहरु सामन्ति, दलाल र पुँजीपतिहरुको चंगुलमा फसे। उनीहरुले साथीहरुको त्याग र बलिदानलाई भुले। अहिले तिनै क्रान्तिकारी भनाउदा कमरेडहरु नै नव सामन्ति बनेर देश लुट्न लागे।
अब तिनै सामन्ति कमरेडहरुको चंगुलबाट देश र जनतालाई मुक्त गर्न हामीले हतियार उठाएका हौं। सर्वहारा जनताको अधिकारको रक्षा गरी जनवादी शाषन स्थापना गर्न हामीलाई एक पटक फेरि तपाईहरुको साथ चाहिएको छ' कमान्डरले उपस्थित सबै गाउँलेहरुलाई गाउँ पस्नुको उद्धेश्य बतायो।
जम्मा भएका गाउँलेहरु कमान्डरका कुरा सुनेर एक-आपसमा हेराहेर गर्न थाले। माइली घ्यारलाई उसको कुराले कुनै प्रभाव परेन। उनी निरुत्तर मूर्तिवत पिडीमा बसेर उनीहरुलाई हेरिरहिन्।
माइलीको आँगनमा पहिले-पहिले पनि यस्ता जनसेनाका डफ्फाहरु आएकै हुन्। सबैले गरिब र सर्वहाराको सरकार बनाउने महान् कार्यमा योगदान दिने भन्दै महिनौ दिनसम्म उनको घरको आटोपिठो खाएकै हुन्। सकि-नसकी उनी र उनकी बुहारी कालीले तल रग्दाको पानी घट्टमा पुगेर रात-रातभरी पिनेर ल्याएको मकैको रोटी खुवाएकै हो।
उनलाई सरकार कस्तो हुन्छ? सर्वहारा के हो? आजसम्म पनि थाहा छैन। तैपनि पहिले-पहिले गाउँमा जनसेनाको डफ्फा पस्दा खुशी मान्थिन्। भोकाएको होला भनी गाउँ चाहारेर जे-जे मिल्छ खुवाउन अघि सर्थिन्। तर आज समयसँगै माइलीको मन बदलिएको छ। उनलाई जनसेनाको उपस्थितिले खुशीभन्दा पीडा दिएको छ।
देशमा गणतन्त्र आएपछि उनकै घरमा आटो रोटी नुनमा चोबेर खाने नेताहरु प्रधानमन्त्री, मन्त्री हुँदा पनि उनको दैलोमा सुख पुग्न सकेको छैन। चामलको भात खान चाडवाड कुर्नुपर्ने दिन फेरिएको छैन। मकै पिस्नका लागि डेढ घण्टा हिँडेर घट्ट पुग्नुपर्ने उनको दैनिकी फेरिएको छैन।
देशमा राजा फेरियो तर राजनीति फेरिएन भन्ने कुरा बारम्बार रेडियोहरुबाट सुनेकी छन्। आफ्नै घरमा लुकेर बसेका मान्छेहरु ठूलो पदमा पुगेको कुरा पनि रेडियोले नाम फुकेर सुनेकी हुन् उनले। माइलीको परिवारलाई त सदरमुकाम खलङ्गा पुग्न पनि धौँ धौँ छ अझै। केही वर्षदेखि भेरीको किनारमा मोटर गुडेको त देखेकी छिन् तर चढ्न पाएकी छैनन्। यस्तो लाग्छ ती मोटरहरु माइली घ्यारका परिवारका लागि कुदेका हुँदै होइनन्।
अघिल्ला वर्षसम्म त माइली पनि नुनतेल गर्न रग्दासम्म झर्थिन्। उमेर र अभावले गालेर हो कि के हो, यो वर्ष भने उनले रग्दा झर्ने हिम्मत गरिनन्। रग्दाबाट ठाडै एक घण्टाको उकालो चढेपछि पुगिन्छ उनको गाउँ। उमेर पुगेकाहरुलाई दुई घण्टा पनि लाग्छ। जब उकालो सकिएर गाउँको पुछार भेटिन्छ तब भने स्वर्ग पुगे जस्तै हुन्छ।
डाँडाको फराकिलो पाखोमा लहरै रहेका उस्तै-उस्तै बान्कीका दुई पाखे घरहरुले घ्यार गाउँलाई साच्चै नै सुन्दर बनाएको छ। लामा-लामा बाटुले पाखाहरुमा मकै, कोदो र गहुँ राम्रै फल्छ। रग्दा झरेर उक्लन मात्र गाह्रो हो। माथि पुगेपछि तल ओर्लन मनै मान्दैन भन्छन् गाउँलेहरु।
गाउँको उत्तरतिर लहरै खुलेका हिमशृङ्खलाको सुन्दरताले मन च्याप्प समात्छ। तर प्रकृतिले जति नै धनि बनाए पनि नियतिले दिएको पीडा भने दिनहुँ भोगिरहेछन् यहाँका घ्यारहरु।
कमान्डर निरन्तर आफ्ना कुराहरु गाउँलेहरु सामु राख्दै थिए। माइली, काली र कर्ण प्रतिकृयाविहीन थिए। गाउँलेहरु आश्चर्य र डर मिश्रित भावमा देखिन्थे। के बोल्ने के नबोल्ने अन्यौलमा देखिन्थ्यो।
'देशमा कम्युनिष्ट सरकार छ। यत्रा जनताको रगतको बलिदानीबाट आएको सरकार छ। राजा हटेर जनताको सरकार बनेको भनेर बारम्बार फुक्छ रेडियो। फेरि कसका विरुद्धमा उठाइरहनु भएको छ यो हतियार? सधै हामी जनतालाई किन कहिल्यै पूरा नहुने सपना बाड्छौ हो तिमेरु?’ धेरै बेर कमान्डरको कुरो सुनेर प्याच्च बोल्यो गाउँकै वृद्ध शिक्षक वृषबहादुर घ्यार।
'बा! अहिले कम्युनिष्टको होइन, कमाउनिष्टको शाषन छ देशमा। दलाल पुँजीपतिहरुको रखवारी गर्ने कम्युनिष्ट नामको सरकार छ। हामी यिनै भ्रष्ट र नयाँ राजाहरुका विरुद्धमा हाम्रा महान कमरेड विप्लवको विचारधारा बोकेर युद्धमा होमिएका हौं। अब देशमा आमुल परिवर्तन गरी सर्वहाराको सत्ता स्थापित गर्ने अन्तिम लडाईको तयारीमा छौं। तपाईहरुले साथ दिनुपर्यो’ कमान्डरले सबैलाई बुझाउने प्रयास गरे।
'पहिला पनि यसैगरी आकाथ्यौ क्यार। सबै गाम्ले मिलेर भरथेग गरेकै हौँ। तर हाम्रो गाम्लाई लडाईमा होमेर आफूहरु त उम्की गयौ नि। तिमेरुले सत्ता पायौ। हामेरुले दुख खायौं। मतलब सकिएपछि तिमेरु पनि त्यस्तै हुने त हौ। बेकारमा हामीले किन तिमेरुलाई साथ दिने? जाउँ हाम्रो गाममा नपस’ वृखबहादुरले आफ्नो कहिलेदेखि गुम्सिएर रहेको भावना पोख्यो।
वृद्धको रुखो जवाफले कमान्डरको चित्त बुझेन। उसको अनुहारको रंग फेरियो। हतियार बोकेको डफ्फाका कमान्डरलाई यसरी खुल्ला चुनौती दिँदा उसको रीसको पारो बढ्नु स्वभाविकै थियो। तैपनि उसले आफूलाई पूर्ण नियन्त्रणमा राख्यो। सुरुकै दिन नराम्रो गर्न चाहेन।
युद्धमा डरको मनोविज्ञान भएन भने सफल हुन सकिदैन भनेर जान्दा जान्दै पनि उसले त्यहाँ कुनै धम्कीयुक्त भाषाहरु दिन चाहेन। १० वर्षे जनयुद्धमा कैयौं मोर्चामा आफै सहभागी भएको हुनाले बुढालाई पनि उनीहरुसँग डर नलाग्नु स्वाभाविकै थियो। युद्धमा अभ्यस्त गाउँलेहरु परिआएमा जस्तोसुकै परिस्थितिसँग पनि लड्न सक्ने अवस्थामा देखिन्थे।
'हेर्नोस बा! अबको विद्रोह अन्तिम विद्रोह हो। त्यसपछि देशमा गाउँ-सहर, धनी गरिबबीचको दुरी र विभेद मेटिनेछ। तपाईहरु सबैले हाम्रो यो पवित्र कार्यमा धन भए धन, नभए युवा जन दिएर सहयोग गर्नु पर्यो। हामीले जबरजस्ति गर्नु पर्यो भने राम्रो पनि हुँदैन’ थोरै धम्की पनि मिसिएको स्वरमा बोल्यो कमान्डर। कमान्डरको कुराले केहीबेर सबै चुपचाप लागे।
'तिमी हाम्रो सेनामा आउनुपर्छ है कमरेड?' कमान्डरले कर्णको काँधमा हात राख्दै बोल्यो। कमान्डरको कुराले कर्णको सातो उड्यो। उसकी आमा काली डर र रीसले कालो निलो भई। उ भित्र-भित्रै कमान्डरप्रति मुर्मुरिई।
'ल भन त तिमी कहिले जाने हामीसँग?' कमान्डरले फेरि सोध्यो कर्णलाई। कर्ण फेरि पनि चुपचप बस्यो।
कमान्डरको बारम्बारको सोधाईले कालीको रीसको धैर्यताको बाँध फुट्यो। उ रीसले नाक फ्वाँ-फ्वाँ पार्दै कमान्डरको सामुन्नेमा पुगेर कुर्लिई- 'क्यान लाने हौ मेरा छोरा। तिम्रा पार्टीमा जान पड्याछैन। यस्का बाउ बाजे मार्दा क्या हेरेर बसेउ? न लाश दियौ न सास देखायौ। न केही दिया हौ न कतै नाम राख्या हौ।
फेरि एउटा बचिबसेका मेरा छोरालाई लान्या तिमेरु? मरिगए दिन्या होइन। लान्या कुरा नगर निको हुन्न भन्द्याछु।'
'तपाईको दुख पीडा हामीले बुझेका छौँ। अब यिनले आफ्नो बाबु र बाजेको बलिदानीको हिसाब किताब माग्नुपर्छ। तपाईको परिवारको रगत बगाएर सत्तामा पुगेकाहरुले तपाईहरुलाई बिर्से। हामी सम्झेर आएका छौँ। तपाईको यो घाउ हामी पुर्छौँ।
अर्को हप्ता यसै गाउँमा आएर तपाईका छोरालाई हाम्रो महान् जनसेनामा सामेल गराउनेछौं। तपाईहरु चिन्ता नलिनोस्, कर्ण हाम्रो भयो' कमान्डरले रीसले क्रुद्ध काली घ्यारलाई सम्झाउने प्रयास गर्यो। जनयुद्दको गहिरो चोट बोकेर बसेकी कालीलाई कमान्डरको कुराले झन् बिचलित गरायो। उ कमान्डरसँग सवाल जवाफ गर्न अघि सरी। कमान्डरलाई त्यो समयमा प्रश्न प्रतिप्रश्न गरिरहन उचित लागेन। उ जनसेनाको टोली लिएर गाउँको सिरानतर्फ लाग्यो। एक लाइन लागेर हिँडेका ती जनसेनाको टोलीलाई आँखाबाट ओझेल नपरुन्जेलसम्म गाउँलेहरु सबैले हेरिरहे। गाउँ कटेर खोल्सीतर्फ लागेपछि देखिन छाड्यो।
दृष्य दुई
१७ वर्ष अघिको एक साँझ। एक्कासी घ्यार गाउँमा ठूलो चहलपहल बढ्यो। दिउँसोसम्म कसैलाई केही जानकारी थिएन। साँझ परेपछि माइलीको बारी पाटामा गाउँका सबै जम्मा भए। कोही ठूला-ठूला खुड्किलाहरुमा भात पकाउन लागे। कोही बाख्रा काटेर मासु बनाउन लागे। कसको लागि किन पकाईदै छ भन्ने कसैलाई केही खबर छैन। गाउँका सबै युवाहरु खानाको ब्यवस्थापन गर्न खटिएका छन्। केही युवाहरु जर्किनमा पानीको जोहो गर्दैछन्।
कोही गाउँमा पसेर लोकल रक्सी खोज्न व्यस्त छन्। सबै स्वस्फूर्त रुपमा खटिएका छन्। माइलीका श्रीमान बखते घ्यार सबै कुराको चाजोपाँजो मिलाउन व्यस्त छन्। खाना पकाउने ठाउँको वरपर दियालोका दाउरा बालेर उज्यालो पारिएको छ। दिउँसो सबै घरबाट संकलन गरिएको एक-एक डोको र नाम्लो बारीको कुनामा खात मिलाएर राखिएको छ।
बेलुकीको आठ बजेतिर जब ठूलो संख्यामा हतियार सहितको जनसेना गाउँमा प्रवेश गर्यो। बल्ल गाउँलेले थाहा पाए यी सब तयारी उनीहरुका लागि पो रहेछ। जनसेनाको ठूलो फौज बारीको डिलमा लहरै बसे। टाढाबाट हिँडेर आएका हुनाले सबै थकित देखिन्थे।
केही कमान्डरहरुले गाउँलाइ घेराबन्दी गर्ने गरी २० जनाको हतियारधारी समूहलाई गाउँको सिरानदेखि पुछारसम्म ड्युटीमा खटाए। अन्य हतियारहरु बारीको कान्लामा लहरै राखे। दुई जनालाई ती हतियारहरु सुरक्षाको जिम्मा लगाई अन्यलाई आराम गर्नका लागि आदेश दिए। कोही सुत्न गुन्द्रीमा पल्टिए। कोही प्लास्टिकका गिलासमा सोमरस पिउन थाले। कोही गीत गाउन थाले। गाउँमा दशै तिहार आए जस्तै रमाइलो माहौल बन्यो।
तीन/चार जना कमान्डरहरु माइलीको घरको पिडीमा बसेर दियालोको उज्यालोमा कागजको नक्शा हेर्दै आक्रमणको योजना बुन्दै थिए। माइलीलाई भने यिनीहरु कहाँ जान लागेका हुन्, के गर्न लागेका हुन् अत्तोपत्तो केही थिएन। उनीहरुले कुराकानीका क्रममा पटक-पटक डोल्पा-डोल्पा भनी नाम लिएकाले डोल्पा तिर जान लागेका रहेछन् भन्नेसम्म लख काटेकी थिइन्।
नौ बजेतिर खाना तयार भएको सूचना सबै जनसेनाहरुलाई पुर्याइयो। हातमा टपरी बोकेर सबै लाइनमा बसे। भात आफूखुशी झिके पनि मासु भने ठूलो डाडुले एक डाडु मात्र पाउने भान्सेको अड्कलअनुसार सुरु भयो जनसेनाको भान्सा। टपरीमा भात बोकेर लहरै बारीको डिलमा बसेर भात खान थाले। भात खादै गर्दा कमान्डरबाट आदेश जारी भो। दुई/अढाई घण्टा आराम गरेर गाउँबाट निस्कने। सबै खाना खाई आआफ्नै सुरसारमा लागे।
करिब-करिब रातको १२ बजे तिर गाउँबाट हिड्ने कुरो भयो। बखते घ्यार पनि जनसेनासँगै जानेको सुचीमा परे। लोग्ने जाने भन्ने सुनेर माइलीको मनमा चिसो पस्यो। अध्यारोमा हातले लोग्नेलाई कोट्याएर घरतिर आउने इशारा गरिन्। श्रीमतीको संकेत पाई उ लुरुलुरु घरमा आयो।
'बन्दुक चलाउन आउन्या होइन क्यान जानु पर्या हो तिमीलाई लडाईमा?' घरभित्र छिर्नासाथै माइलीले लोग्नेसँग असहमति जनाइन्।
'हेर माइली, म त लडाईमा अगाडि बस्न्या पनि होइन। म त साथीहरु घाइते भयो भने बोकी ल्याउन्या डोके मात्रै हुम् क्या। पीर नगर। अघि-अघि उनारु लड्लान् म पछिपछि बसुला' उसले माइलीलाई सम्झाउने प्रयास गर्यो।
लोग्नेको कुरा सुनेर माइलीको आँखाबाट आँशुको भेल बग्न थाल्यो।
'हेर माइली, हामी सधै यसरी गरिबै भएर कहिलेसम्म बस्न्या। अस्ति दिउँसो रग्दामा भेट्दा यिनै कमान्डरले लडेर गरिबको शाषन ल्याउन्या हो भन्थे। उनका कुरा चित्त बुझेर मैले पनि लड्नेमा नाम लेखाया हो। जो होला सो होला। अब पीर गरि केही हुन्न। लडाईबाट कसैगरी बाँची आउँला चिन्ता नगर भो' माइलीको आँशु पुछ्दै आफूलाई केही नहुने कुरामा आश्वस्त पार्न खोज्यो।
उसले जति नै सम्झाए पनि श्रीमतीको मन कहा मान्थ्यो र। त्यत्रा मान्छे जान लागेको ठाउँमा आफ्नो लोग्नेलाई मात्र रोक्ने आँट माइलीसँग थिएन। केवल आँखाबाट आँशु झारेर लोग्नेका सामु उभिईरहिन्।
टोली हिड्ने खबर आयो। बखते घ्यार पनि डोका बोकेर लाम लाग्यो।
'ल भाउजु नरुनुस्। तपाईको श्रीमान् हाम्रो महान जनयुद्धमा सामेल भएको छ। कि त सामन्ति सरकारलाई घुँडा टेकाउँछौ, कि त सहिद बनेर ईतिहासमा नाम लेखाउँछौ। चिन्ता नलिनोस्। ती सरकारी दलालहरुलाई जिति आउँछौं' हिड्ने बेलामा कमान्डरले माइलीलाई सम्झायो।
माइलीको मन केही गरी संझिएन। उनको आँखाबाट साउने भेल झैँ एकोहोरो आँशुको नदी बगिरह्यो। माइलीको आँशुले बखते घ्यारको मनलाई निथ्रुक्क रुझायो। बोझिलो मन बोकेर जनसेनाको पछिपछि लागेर गाउँ छोड्यो। केही अनिष्ट पो हुने हो की भन्ने चिन्ताले उनको मन कोपरिरह्यो। त्यो निष्पट्ट अध्यारोमा लोग्ने गएको बाटोतिर हेरिरही। केहीबेरको कल्याङमल्याङ पछि अध्यारोबाट हराउँदै गयो मान्छेका आकृतिहरु।
केही दिनपछि रेडियोले दुनै हमलाको समाचार फुक्यो। सरकारी र विद्रोही दुबैतर्फ ठूलो क्षति भएको समाचारले माइलीको हंसले ठाउँ छोड्यो। बिहान, दिउँस, साँझ लोग्नेकै पीरले सतायो। कही कतैबाट केही बुझ्ने उपाय नै भएन। सरकारतर्फ मरेकाहरुको सबैको नाम फुक्यो तर विद्रोहीतर्फ को-को मरे, को-को बाँचे कतैबाट पत्ता लागेन।
आफ्नो लोग्नेको नाम रेडियोले फुक्लाकी भन्ने चिन्ताले माइलीको सातो उड्यो। रेडियोमा नाम नआएपछि बाचेछन् भन्ने झिनो आशाको त्यान्द्रो पलायो। दिनदिनै लोग्नेको बाटो हेरेर बस्न थालिन्।
हेर्दा हेर्दै हप्ता, महिना, वर्ष बित्यो। माइलीको लोग्ने फर्केर आएन। कसैलाई सोध्ने ठाउँ पनि रहेन। लडाईमा मरेका लाशहरुमा पनि उनको लोग्ने भेटिएन। अब उनको जीवनमा लोग्नेको बाटो हेरेर बस्नुभन्दा अर्को उपाय बाँकी रहेन। उनको लोग्ने बेखबर हराए। न शरीर भेटियो न त सहिदको पंक्तिमा नाम लेखियो। अझै पनि बेला-बेलामा गाउँको तल बाटोमा गई लोग्ने आई पो हाल्छन् कि भनेर टोलाईरहन्छिन् माइली।
दृष्य तीन
दुनै हमलाको दुई अढाई महिनापछिको एक रात। माइली, काली र सन्ते तीनै जना मस्त निन्द्रामा थिए। अकस्मात गाउँका कुकुरहरु भुकेको आवाजले माइलीको निन्द्रा खुल्यो। कुकुरहरुको भुकाई उनको घर नजिक-नजिक हुँदै आएकोले उनको मनमा डरले समात्यो। हुन त कहिलेकाही गाउँमा बाघ वा चितुवाहरु आउदा पनि यसरी नै गाउँभरीका कुकुरहरु जम्मा भएर भुक्ने गर्छन्।
कहिले सबै कुकुरहरु मिलेर बाघ लखेट्छन् त कहिले बाघले कुकुरलाई नै टिपेर पनि हिड्छन्। भोलिपल्ट कुकुर नदेखेपछि मात्र थाहा हुन्छ बाघले कुकुर टिपेछ। आफ्नै घर नजिक कुकुरहरु आएर एकोहोरो भुकिरहेकोले उनले विस्तारै झ्यालको चेपबाट आँगनतर्फ नियालिन्। आँगनमा मान्छेका आकृतिहरु चलमलाएको देखेपछि उनको हंसले ठाउँ छोड्यो। कुनै अनिष्ट हुने आशंकाले उनको खुट्टा लुगलुग काम्न थाल्यो। उनले पुराना दिनहरु सम्झिन्।
आँगनमा बाक्लै मान्छेको उपस्थिति देखेपछि फेरि जनसेनाहरु आएछन् कि भन्ने लख काटिन्। उनलाई जनसेनाहरुको मुख पनि हेर्न मन लागेन। एकैछिनमा एउटाले आएर उनको ढोकामा ढकढक्यायो। उनलाई ढोका खोल्नै मन लागेन। एकैछिन चुपचाप बसिन्। ढोका झन्-झन् जोडजोडले हान्न थालेपछि विस्तारै उठेर गई ढोका खोलिन्।
'तिम्रा छोरा सन्ते कहाँ छ?' एउटा जवानले सोध्यो।
प्रश्नले माइली अन्यौलमा परिन्। छोरो देखाउँ भने भएको एउटा छोरो पनि उठाएर लैजाने पो हो कि भन्ने डरले उसको मुटु काम्यो। दुई महिना अगाडि लोग्ने गुमाएकी उनले छोरालाई गुमाउन चाहिनन्।
उनी चुपचाप केही नबोली बसिरहिन्। एकहुल बर्दी लगाएका जवानहरु उनको घरभित्र प्रवेश गरि माथि तल सबै ठाउँमा सर्च गर्न थाल्यो। केही बर्दीधारीहरु उनको घरको पछाडि र अगाडिको बारीमा गएर बन्दुक तेर्स्याई बसे।
'केही फेला परेन हजुर। भित्र अरु मान्छे पनि कोही छैन' घर भित्रबाट निस्किएको एक जवानले आँगनको पर्खालमा बसेको कमान्डरलाई रिपोर्ट गर्यो।
'यी बुढीको छोरो घरमा नै रहेको खबर छ। राम्रोसँग खोज्' कमान्डरले आदेश गर्यो।
कमान्डरको आदेशले जवानहरु फेरि घर वरपर रहेका ठाउँहरु सर्च गर्न लागे। माइलीको मनमा डरले घर बनायो।
'सर! यहाँ सुतेको रहेछ'  गोठको माथिबाट एउटा जवान बोल्यो। अरु दुई जवानहरु त्यतैतर्फ दौडिए। केही बेरमा नै तीन जना जवानले सन्तेको कठलामा समाएर आँगनमा ल्यायो र कमान्डरको अगाडि बसायो। निंद्राबाट भर्खरै उठेको सन्ते थरथर काम्दै कमान्डरको अगाडि टुक्रुक्क बस्यो। सन्तेकी सुत्केरी श्रीमती काली बच्चा काखमा बोकी कमान्डरको अघिल्तिर आई रुन लागी। माइली पनि डाको छाडेर रुन लागिन्।
'तिमीहरु हाम्रा दुश्मनहरुलाई गाउँमा भोज भतेर खुवाउने। गाउँभरीका डोको नाम्लो जम्मा गरी हामीमाथि आक्रमण गर्न पठाउने अनि अहिले रोएर हुन्छ?' कमान्डरले सन्ते र कालीलाई हप्काएको आवाजमा बोल्यो।
'के गर्नु हजुर, उनेरु आएर प्रहरीलाई गाउँमा भात खान दिने भन्दै कुट्छन्। हजुरहरु आएर उनेरुलाई भोज खुवाउने भन्दै गाली गर्नुहुन्छ। हामी त चेपुवामा पर्या छौँ हजुर!' सन्तेले डराईडराई बोल्यो।
'बढी कुरो गर्छस्। दुनै हान्न तेरो बाउ पनि डोको बोकेर गएको खबर छ हामीसँग। लौ भन् तेरा बाबु कहाँ छन्? कि बाबु देखा कि त हामीसँग हिड्' कमान्डर रिसाउँदै बोल्यो।
नभएका बाबु कहाँबाट देखाओस्। वास्तवमा सन्तेलाई आफ्नो बाबुको अवस्था थाहा पनि थिएन। एकातिर बाबु नफर्केको पिर अर्कोतर्फ आफूलाई पनि मार्छन् कि भन्ने डर।
'बा घरमा नआया धेरै भयो हजुर? कहाँ गया हुन् हामीलाई नि था नाई!' सन्तेले सानो स्वरमा जवाफ फर्कायो।
'सर! यो झुट् बोल्दैछ, ठोक्दिम् हजुर!' एउटा जवान बोल्यो।
 'यो गाउँमा विद्रोहीहरु बोलाएर राख्ने नै यसैका बाउ हो रे हजुर!' अर्को जवान बोल्यो।
'हाम्रा साथीहरुलाई मार्ने यसैका बाउ हो हजुर, यसलाई छोड्नुहुन्न' फेरि अर्को जवान बोल्यो।
माइली कमान्डरको नजिक गएर आफ्नो छोरो सरकारको विरुद्धमा नलागेको भन्दै छाडिदिनको लागि कमान्डरसँग अनुनयविनय गर्न थालिन्। माइली र कालीको रोदन र अनुनयको कुनै मूल्य रहेन।
केही जवानहरु सन्तेको हात बाँध्न लागे। एक जना जवानले सन्तेको हातमा बाँधेको डोरी समातेर तान्यो। सन्ते डोरी तान्ने जवानको पछि लाग्न उठे। माइली र काली कोकोहोलो गर्दै सन्तेको हात समाउन पुगे। एकैछिन तानातान चल्यो। त्यत्रा फौजका अगाडि ती बुढी र सुत्केरी कालीको केही लागेन। सन्तेलाई माइली र कालीबाट छुट्टाएर घर तलको बाटोमा ओराल्यो।
'हामी सरकारी मान्छे हौं। तपाईको छोरालाई केही हुँदैन चिन्ता नगर्नुस्। केही कुरा सोधपुछ गरेर भोलि फिर्ता पठाईदिन्छौँ'कमान्डरले माइली र कालीलाई सम्झायो।
'घरमा मर्द मान्छे कोही नाई। दया गरिद्यौ सरकार' माइलीले कमान्डरसँग हात जोडेर बिन्ति गरिन्।
सरकारी टोली छोडने सुरमा देखिएन। जवानहरु सन्तेलाई डोर्याउदै गाउँबाट तलतर्फ लागे। माइली र काली रुदै-रुदै सन्तेको पछिपछि केही तलसम्म पुगे। केही नलागेपछि केही तल पुगेर विवश भै घर फर्के। सन्तेलाई लगेपछि रातभर गाउँमा रुवावासी चल्यो।
भोलिपल्ट उज्यालो भएपछि गाउँका सबै माइलीको आँगनमा भेला भए। कसले लग्यो, कहाँ लग्यो केही भन्न सक्ने अवस्था थिएन। राति सन्तेलाई समाएर लगेको कुरो गाउँभर फैलिसकेको थियो। गाउँका युवाहरु सबै डरले भागेकाले सन्तेको खोजि गर्न जाने मानिस कोही थिएन।
त्यतिखेर गाउँमा अनेक ठाउँबाट सुरक्षाकर्मीहरु सर्च गर्न भनि आईपुग्थे। पोशाक हेरेर कुन दर्जा छुट्याउन गाह्रो हुन्थ्यो। सबैका पोशाक उस्तै-उस्तै हुन्थ्यो। माइलीका घरमा सुत्केरी बुहारी र उनी मात्र थिइन्। सन्तेको खोजी गर्न उनीहरुलाई सहयोग गर्ने मान्छेहरु कोही थिएन। भगवान भरोसामा बस्नु सिवाय अर्को कुनै उपाय थिएन उनीहरुसँग।
कसैको साथ पाउने नदेखेपछि काली काखको छोरा सासु माइलीलाई छाडेर रुदैरुदै रग्दा झरी। रग्दा प्रहरी चौकीमा पुगेर आफ्ना लोग्नेको बारेमा सोधपुछ गरी। प्रहरीले अनविज्ञता प्रकट गरेपछि भने उसको होसहवास् उड्यो। प्रहरीको जवाफले उ बेसाहारा जस्तै बनी।
कसैले उसलाई सदरमुकाम जाने सल्लाह दिए। लोग्नेको चिन्ताले उसलाई काखको छोराको पनि याद भएन। उ त्यहाबाट बतासिएर सदरमुकाम पुगिन्। सदरमुकाम पुगेर प्रहरी सेना सबै कार्यालयहरुमा पुगी। जतिसुकै सोधखोज गर्दा पनि उसले लोग्नेको अत्तोपत्तो पाउन सकिन। आफूले लागे पुगेसम्मको ठाउँमा पुग्दा पनि लोग्नेको बारेमा कुनै खबर पाउन नसके पछि निराश र मरेतुल्य भै गाउँ फर्किई।
त्यस दिनदेखि आजसम्म पनि काली आफ्नो लोग्नेका बारेमा बेखबर छे। अझै पनि बेलाबेलामा माइली र कालीका आँखाहरु गाउँ आउने बाटोमा बारम्बार गईरहन्छ। कुनै न कुनै दिन आफ्ना पतिहरु यहीँ बाटो हिँडेर आउलान् कि भन्ने आशा जिवीतै छ उनीहरुको मनमा।
दृष्य चार
जनयुद्ध सकियो। विद्रोहीहरु सरकारमा सामेल भए। विद्रोही नेताहरु देशका ठूलाठूला ओहदामा बिराजमान भए। जिल्ला-जिल्लाबाट जनयुद्धमा सहिद भएका र घाइते भएकाहरुका नाम माग गरियो। जनयुद्धमा सहिद हुने सबैलाई १०/१० लाख रकम दिने घोषणा भयो।
माइलीलाई पनि आफ्नो लोग्ने र छोराको नाम सहिदको लिष्टमा समावेश गर्न सुझाए। सहिदको सूचिमा नाम पार्न के गर्नु पर्छ भन्ने बारेमा उनीहरुलाई केही थाहा थिएन। उनीहरुलाई त खलङ्गा पुग्न पनि मुस्किल थियो। तर सबै गाउँलेहरुले पैसा पाइन्छ भनेकाले दशैको लागि पालेर राखेको बोको बेचेर खर्चको जोहो गरी सासु-बुहारी नै खलङ्गातर्फ लागे।
जनयुद्धमा आफ्ना पति र छोराले ज्यान गुमाए पनि सरकारले दिएको पैसाले नातिलाई पढाएर ठूलो मान्छे बनाउने आशा पलाएर आयो।
सदरमुकाममा उनीहरु सिधै सिडिओ कार्यालयमा पुगे। मान्छेहरुको घुइचो थियो। फाँटका कर्मचारीलाई भेटेर आफ्नो भएको बेलिविस्तार लगाए। कर्मचारीले रेकर्डमा उनीहरुको नाम खोजी गर्यो। बखतबहादुर र सन्त बहादुरको नाउँ मृतकको लिस्टमा भेटिएन। घाइतेको लिस्टमा हेर्दा त्यहाँ पनि भेटिएन। उनीहरु मरेको कुनै प्रमाण नभएकोले मृतकको लिस्टमा राख्न नमिल्ने भनी प्रशासनले जवाफ दियो।
मरेको प्रमाण लिन सचिव कहाँ पुगे। सचिवले पनि प्रमाण खोजे। मृतकको रेकर्डमा नदेखिएको भनि सिफारिस दिएनन्। उनीहरुले चिनेजानेका सबैसँग भेटे। आफ्ना नेताहरु कहाँ पनि पुगे। सबैले आश्वासन दिए तर काम भएन।
दशौ पटक सदरमुकाम आउजाउ गरे। घरको पिठो र पाठो सकियो। उनकै घरमा आएर खाना खाने नेताहरु पनि सांसद मन्त्री भए। फेरि उनीहरुको मनमा आशाको अंकुर पलायो। तिनीहरुको आश्वासन पनि हात्ति आयो हात्ति आयो फुस्सा भयो। सासु बुहारी नै धाउदा धाउदा थकित भए।
उनीहरुको मन मर्यो र सदरमुकाम जान छाडे। उनीहरुको लागि गाउँ नै सबैथोक बन्न पुग्यो। आफ्नै नेताहरुसँग पनि उनीहरुको मन भाचियो।
'हाम्रै गाउँमा आएर हाम्रा पोई लैजान्या अनि अहिले थाछैन भन्या। त्यस्ता नेतालाई गाउँमा आया चप्पल हान्या थेँ' त्यसपछिका दिनमा गाउँमा सधैजसो यसो भन्थिन् माइली। बेलाबेलामा पार्टीका नेताहरुलाई गाली गर्दै हिड्थिन् माइली। पति र छोराको वियोगले बनाएको उनको मनको घाउमा मल्हम लगाउनुको सट्टा सरकार र आफ्नै पार्टीका नेताहरुले नुनचुक दलेको थियो।
दृष्य पाँच
विप्लवको जनसेना आएको दिन साँझ। माइली र काली पिडीमा बसेर कर्णको बारेमा कुरा गरिरहे। बिहान जनसेनाको कमान्डरले कर्णलाई जनसेनामा सामेल गराउने उदघोष गरेर गएकाले दिनभर माइलीको आङमा धाम लागेन। कालीले त रोएरै दिन कटाई। सासु-बुहारी दुबै जना कुनै काम गर्न गएनन्।
जनयुद्धमा आफ्ना पति गुमाएका माइली र कालीले अब फेरि आफ्नो एक मात्र सहारा कर्णलाई गुमाउन चाहदैनथे। घरको दु:ख र परिवारको अवस्थाले गर्दा उसले राम्रोसँग पढ्न पनि सकेन। पढाई नभएकोले गर्दा कतै सहरमा गएर नोकरी गरी खान सक्ने अवस्था पनि रहेन। त्यहि खलङ्गासम्म पनि वर्षमा एक/दुई पटक काम परेमात्र मात्र पुग्थ्यो उ।
गाउँकै सेरोफेरोमा हुर्किएको हुनाले काठमान्डौँ र नेपालगन्ज जाने कुरो त उसको सोंच बाहिरको थियो। त्यसो त माइली र कालीले नै कर्णलाई कहिल्यै गाउँ बाहिर पठाउन चाहेनन्। आफ्नो पतिको निशानीका रुपमा त्यही एउटा उज्यालो थियो उनीहरुका लागि।
भएको जेथाजमिनबाट दुखजिलो गरी जेनतेन तीन पेट पाली आएका थिए। हिजो जस्तो सत्ता पल्टाउँछु भन्ने सपनाहरु पनि बाँकी थिएन। उनीहरु कर्णलाई आँखाबाट टाढा राख्न चाहदैनथे। बाबु बाजे नभए टुहुरा भएपनि निकै लाडप्यारले हुर्काएका थिए।
बिहान जनसेनाका कमान्डरको कुराले एक पटक फेरि उनीहरुको जीवनमा आँधी ल्याईदिएको थियो। बेलुकी खाना खाईवरी तीनै जना अँगेनाको छेउमा बसेर निकैबेर कर्णकै बारेमा कुराकानी गरे। कुराकानीको बीचबीचमा माइली र कालीको आँखामा निरन्तर उर्लिरह्यो आँशुको भेल।
बाबु र बाजेलाई जनयुद्धले निल्यो। लाशको समेत अत्तो पत्तो लागेन। अब सन्तानका नाउँमा बचेको एउटै बीउलाई पनि कसरी पठाउने युद्धमा? गाउँमै बस्ने हो भने त यो उरन्ठेउलो उमेरका केटोलाई जसरी पनि लगिहाल्छन्। कि फकाएर लान्छन् कि धम्काएर लान्छन्।
माइलीको मन अधिर भयो। कहाँ पठाउँदा नाति सुरक्षित हुन्छ भनेर चिनेजानेसम्मको नातागोता इष्टमित्र सबै सम्झदा पनि केही उपाय सुझेन। अचानक उनलाई दुई वर्ष अघि दशैको एउटा घटनाको याद आयो। त्यस दिन उनी दशैको मालसामान जोहो गर्न रग्दा झरेकी थिइन्। रग्दाकै मल्ल बाबुसाहेबको घरमा मान्छेहरुको घुइचो थियो। काठमान्डौँबाट बाबुसाहेबका छोरा आएका रहेछन्। बाबुसाहेबलाई देखेर उनले पनि टाउको झुकाएर अभिवादन गरेकी थिइन्।
'ए माइली! ल लाउ यो स्याउ खाउ। काठमान्डौँबाट साना बाबुसाहेबले ल्याएका। साना बाबुसाहेबले त्यहा ठूला घर बनाएका छन्। तिमीहरु जानुपर्यो भने वाहि बस्न जानु। केही समस्या पर्यो भने भन्नु है। म तिमीहरुकै मान्छे त हुँ नि' बाबुसाहेबले हातमा दुई दाना स्याउ दिँदै भनेका थिए।
बाबुसाहेबले त्यसो भनिरहँदा विगतका घटनाहरु सम्झेर माइलीको मन अमिलो भएको थियो। जनयुद्धताका माइलीका लोग्ने बखतबहादुरले जनसेना लगेर बाबुसाहेबको जग्गा कब्जा गरेका थिए। सामन्ति सफाया गर्ने भन्दै डर धम्की देखाई बाबुसाहेबलाई गाउँबाट लखेटेका थिए।
जनयुद्धको समयमा सदरमुकाममा नै बस्थे बाबुसाहेब। गाउँमा बस्नै नसक्ने अवस्था आईपरेपछि काठमान्डौँमा घर किनेर उतै पनि बसे धेरै वर्ष। यस्तो दुख दिएका मान्छेले पनि यसरी माया गरेको देख्दा उनलाई थोरै पश्चाताप पनि लाग्यो। आफूले लखेटेका मान्छेले बरु आफ्नो ठाने तर आफूले ज्यान दिएका पार्टीका नेताले भने चिन्नै छाडे।
विगतको सम्झना गाढा भएर आयो उनको आँखामा। उनले मनमनै नातिलाई बाबुसाहेबको जिम्मा लगाउने निधो गरिन्। बाबुसाहेबको पछि लागेपछि एक पेट खानको के को दुख पर्ला र? त्यत्रा ठूला मान्छेले एउटा काम कसो नदेलान् र? साना बाबुसाहेबका पछि लाग्दा कमसेकम ज्यान जाने डर त हुन्न। माइलीले मनमनै नातिलाई बाबुसाहेब कहा पठाउने निधो गरि बसेको ठाउँबाट जुरुक्क उठिन्। काली र कर्ण ट्वाल्ल परे।
'ल साने लुगा मिलाउ, भोलि बिहानै बाबुसाहेबको मा जान्या हो। उतैबाट त काठमाडु गईजाला। त उतै काम गरी बस्। यता हामी रहुँला।'
सासुको कुराले काली आश्चर्यमा परि। कर्ण पनि अवाक् बने।
'भोलि म लिएर जान्या हो। बाबुसाहेबसँग कुरा भयाछ। यो मान्छे मार्ने गाउँमा क्यारी बस्नु। अब साने सहर बस्न्या हो' माइलीले फेरि बोलेपछि भने कालीले पनि सहमतीमा टाउको हल्लाई।
रात छिप्पिन लागेको थियो। तर माइलीको घरमा निन्द्रा आउन सकेको थिएन। जसलाई सामन्ति भनेर गाउँलेहरु एकजुट भई उनीहरुकै विरुद्धमा जनयुद्धमा होमिए, तिनै मान्छे आज उनीहरुको भरोसा गर्न लायक एकमात्र पात्र बन्यो। जनयुद्धमा आफ्नो घरको दुई-दुई ज्यानको बलिदानी दिएको यस परिवारको लागि आफ्नै पार्टीको सत्ता बिरानो बन्यो।
बाँच्नको लागि बाबुसाहेबको पछि लाग्नुभन्दा अरु कुनै बाटो देखेनन् उनीहरुले। अन्तत: तीनै जनाको एकैमत भयो- भोलि बिहानै रग्दा झर्ने र काठमान्डौँ गई बाबुसाहेबको घरमा काम गरी बस्ने।
काठमान्डौँ जाने निर्णयले तीनै जनालाई ठूलो राहत मिल्यो। भोलि बिहानको प्रतिक्षामा मस्त निदाए।
अन्त्यमा,
के कुनै दिन माइली र कालीले आफ्ना पतिहरुको अवस्था जान्न पाउलान्? क्रान्तिको बलले सत्तामा पुगेका कमरेडहरुले आफ्नै सहिद कमरेडको सदाहतलाई न्याय गर्न सक्लान्? कसले पुछिदेला माइली र कालीको आँखाबाट भेरी जस्तै अविरल बगिरहने आँशुको भेल? प्रश्नहरु निरुत्तर छन्।
कुनै न कुनै दिन माइली र कालीको मौनताले सोधिरहेका प्रश्नहरुको उत्तर सरकारमा बस्नेहरुले दिनु पर्नेछ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७,

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...