Showing posts with label Santhal. Show all posts
Showing posts with label Santhal. Show all posts

Thursday, June 13, 2019

सन्थाल बस्तीमा बाहा पर्वको रमझम

सन्थाल बस्तीमा बाहा पर्वको रमझम
चैत्र ६, २०७५देवनारायण साह
सन्थाल समुदायले बुधबार बाहा पर्व मनाएका छन् । फागु पूर्णिमाको अवसरमा सन्थाल समुदायले एकअर्कालाई पानी छ्यापेर बाहा पर्वको खुसीयाली साटासाट गरेका हुन् । सन्थाल समुदायले होली पर्व मनाउँदैनन् । तर, हिन्दु धर्मावलम्बीहरुले होली पर्वमा रंग खेल्न सुरु गर्नुअघि नै बाहा पर्व मनाइसक्नु पर्ने परम्परा छ । जहदा ७ सितमटोलका सन्थाल समुदायका नाइके भगवानलाल बेसराको घरमा बुधबार बिहानैदेखि बाहा पर्वको गीत र नाच सुरु भएको थियो ।
व्रत बसेका नाइकेसँगै मंझी हाडाम, प्राणिक, जगमंझी, जगप्राणिक, गुडित र कुडोम नाइके जाहेरथानमा पूजा गर्न बसे । जहदा ७ का वडाअध्यक्षसमेत रहेका नाइके बेसराले सुरुमा इष्ट देउता मराङ बुरु, जाहेर एरा र गोसाई एराको छापरोमा पानीले चोखो पारेर तीनतिर गाडे र कलश स्थापना गरेर काँचो धागोले बाँधे । त्यसपछि चामलको पिठोले ५ वटा कोठा बनाएर त्यसमा सालको पात, सुपारी लड्डु, सिन्दुर, भर्नीको फूल राखेर दूध र पानी चढाएर विधिवत् पूजा गरे । त्यसपछि अर्को छाप्रोमा इष्ट देउता पारगाना बोङगाको र दुबै छाप्रोको मध्यमा रहेको मोडेको, तुरुइको देउताको प्रतिक खुण्टीमा पनि बेसराले विधिवत् पूजा गरे । इष्ट देउताको पूजापछि कुडोम नाइके बडका सोरेनले खेतमा गएर जंगलको देउता वीरको विधिवत् पूजा गरे ।
सन्थाल समुदायले कुखुराको बली दिएर पूजा गर्ने परम्परा भएपनि बेसरा नाइके भएपछि बलीको साटो लड्डु चढाएर पूजा गर्न थालेको बताए । बाहा पर्वको प्रसाद सोडे पकाउनका लागि छुट्टै कुखुरा खरिद गरेर जाहेरथानमा पकाइन्छ । पूजा बिधिको समाप्तिपछि नाइके बेसरासँगै गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्मले सोडे खाएका थिए । प्रासद ग्रहणपछि नाइकेले प्रत्येक घर घरमा गएर भर्नीको फूल बाँड्ने चलन छ । नाइके बेसरा प्रसाद बाँड्न जाँदा महिलाहरुले आँगनमा पिरा, पानी र तेल तयार गरेर बसेका थिए । घरका मुख्य महिलाले नाइके र सगुन बोकेका बालकको खुट्टा धोएर तेल लगाइदिएर ढोगेपछि सबैले आशीर्वाद दिए । खुट्टा धोएकी महिलाले नाइकेलाई सादा पानी हाली दिइन् । त्यसपछि नाइके बेसराले ती महिलालाई दिएपछि घरका महिला सदस्यले चुल्ठोमा र पुरुषले कानमाथि राखेका थिए । त्यसपछि नाइकेसँगै सबैलाई सगुन खुवाएर बिदा गरेका थिए ।
कुडोम नाइके सोरेनका अनुसार सन्थाल समुदायमा बाहा पर्व फागुन महिनाको शुक्ल पक्षकै दिनदेखि सुरु हुन्छ । गाउँको गुडितले सन्थाल समुदायको प्रत्येक घरबाट बाहा पर्व मनाउनका लागि मंगलबार चामल र पैसा संकलन गरेका थिए । स्थानीय विष्णु मुर्मुले सन्थाल समुदाय प्रकृति पूजक भएकोले बसन्त ऋतुको अवसरमा कोपिला र त्यसको फूललाई बाहा पर्वमा पूजा गर्ने र त्यो फूल नाइकेबाट ग्रहण गरी सुख, शान्ति र समृद्धिको आशीर्वाद थाप्ने परम्परा रहेको बताए ।
कान्तिपुर, २०७५ फागुन ६, पुर्णिमा

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...