Showing posts with label Sinja Development Project. Show all posts
Showing posts with label Sinja Development Project. Show all posts

Thursday, June 13, 2019

सिंजाको गुरुयोजना अलपत्र

सिंजाको गुरुयोजना अलपत्र
चैत्र १८, २०७५एलपी देवकोटा
जुम्ला — सिंजा क्षेत्रको विकासका लागि १० वर्षअघि थालिएको गुरुयोजना सरकारी बेवास्ताले अलपत्रसरह छ  । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष जगदीशप्रसाद पोखरेलको पहलमा झन्डै ५ वर्ष लगाएर २०७० मा गुरुयोजना तयार पारिएको हो  ।
०७१ मा सम्बन्धित सबै मन्त्रालयमा एक/एक प्रति बुझाइएको गुरुयोजना अहिले कहाँ छ भन्नेसमेत कसैलाई थाहा नभएको जुम्ला सामाजिक विकास केन्द्रका अध्यक्ष भक्तबहादुर बोगटीले बताए । उनका अनुसार समग्र सिंजा क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न केन्द्रको १५ लाख र राष्ट्रिय योजना आयोगको पाँच लाख रुपैयाँ लगानीमा १० वर्षे गुरुयोजना तयार पारिएको थियो । यसमा सिंजा क्षेत्रमा चार लेन सडक र तटबन्ध, संग्रहालय, अत्याधुनिक अस्पताल निर्माणका विषय समेटिएका थिए ।
लामो समय बित्दा पनि गुरुयोजना कार्यान्वयनमा ल्याउन कसैले चासो नदिएको सिंजा गाउँपालिकाका हर्क शाहीले बताए । ‘गुरुयोजना कार्यान्वयन गरिएको भए यहाँको विकासले फडको मार्थ्यो,’ उनले भने, ‘बेवारिस अवस्थामा रहेका पुरातात्त्विक सम्पदा तत्कालै संरक्षण नगरे हराएर जाने सम्भावना छ ।’
केन्द्रले गुरुयोजना पर्यटन मन्त्रालय र साबिक जिल्ला विकास समितिमा बुझाएको थियो । सिंजाको ऐतिहासिक पुरातात्त्विक सम्पदाको संरक्षण, खस भाषामा समाचार प्रकाशन, खस भाषामै पाठ्यपुस्तक पठनपाठन, सिंजा क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्नुपर्ने, सुर्खेत(जुम्ला(नाग्म(गमगढी सडकखण्ड २० सेमि कालोपत्रे गर्नुपर्नेलगायत विषय समेटिएका थिए ।
गुम्बा(देवल, दरबारलगायत जीर्ण सम्पदाको मर्मतसम्भार, पर्यटकका लागि होमस्टे, सुविधासम्पन्न अस्पताल, १० मेगावाट विद्युत्, रैथाने अर्गानिक परिकारको व्यवस्थालगायत गुरुयोजनामा समावेश गरिएको अध्यक्ष बोगटीले बताए ।
‘यहाँका गिडीदह, विष्टज्यू दह, ठाकुरज्यू दह, पातारासी हिमाल हुँदै रारा पुगेर सिंजा आउने ट्रेकिङ रुट निर्माण, ओझेलमा परेका मठमन्दिरको पुनर्निर्माण, स्नातकोत्तरसम्मको क्याम्पस स्थापनालगायतलाई गुरुयोजनामा समावेश गरेका थियौं,’ उनले भने, ‘कार्यान्वयनका लागि विभिन्न निकायमा पटक पटक ध्यानाकर्षण गराए पनि बेवास्ता भइरहेको छ ।’ साबिक जिल्ला विकास समितिको जिल्ला सभामार्फत पारित गरिएको गुरुयोजना समयअनुकूल परिमार्जन गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बोगटी बताउँछन् ।
कनकासुन्दरी गाउँपालिकाले सिंजाको विकासका लागि नयाँ गुरुयोजना निर्माण थालिएको र यसै वर्षभित्र बनाउने गरी २० लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ । स्थानीयले भने बनिसकेको गुरुयोजना नै कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् ।
गुरुयोजनालाई संघीय, प्रदेश र स्थानीय सरकार मिलेर कायान्वयन गर्न सके सिंजा क्षेत्रको विकास हुने स्थानीय पूर्ण शाहीले बताए । लामो समयको अध्ययनबाट बनाइएको गुरुयोजनालाई सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
‘पुरानो गुरुयोजनालाई लत्याउँदै जाने र स्थानीय तहले आफैं छुट्टाछुट्टै योजना बनाउन थाले विकासको काम झन् पछि धकेलिन्छ,’ उनले भने, ‘विज्ञहरू सम्मिलित टोलीले तयार पारेको र जिल्ला परिषद्ले समेत पास गरेकाले उक्त गुरुयोजना कार्यान्वयनमा लैजान जरुरी छ ।’ तत्कालीन सिंजा क्षेत्रमा ११ गाउँ विकास समिति थिए । सबै गाविसको समन्वय र सहकार्यमा गुरुयोजना निर्माण गरिएको उनको भनाइ छ ।
सिंजा क्षेत्रका कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, गुफाको गरुड नुहाउने मन्दिर, वाणगंगा मन्दिरलगायत धार्मिक एवं पर्यटकीय महत्त्व बोकेका सम्पदा हुन् । संरक्षण अभावमा ढुंगे खम्बा, देवल, मुग्राहालगायत प्राचीन बस्तीका भग्नावशेष अहिले बेवारिस छन् ।
प्रकाशित : कान्तिपुर, चैत्र १८, २०७५ १३:४३

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...