Showing posts with label Traditional Music. Show all posts
Showing posts with label Traditional Music. Show all posts

Friday, June 14, 2019

कान्छा कपालीको सनई

कान्छा कपालीको सनई
प्रशान्त माली
एक दशकअघि रातो मत्स्येन्द्रनाथ जात्रामा म्वाली (सनई) बजेको सुनिन्थ्यो । पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका ऐतिहासिक राजखड्गअगाडि बजाइन्थ्यो यो बाजा । संस्कृविदहरूका अनुसार लाखे नचाउँदा पनि अनिवार्य बजाउनुपर्थ्यो ।
अहिले यो सनईको धुन हराउँदै गएको छ । पाटन दुपा टोलका ७६ बर्षिय कान्छा कपाली नै अन्तिम सनईवादक बनेका छन् । ‘छोरा नातीले चासो देखाउन छाडे’, हालैको भेटमा कान्छाले गुनासो गरे, ‘अरुलाई के भन्नु ।’
कान्छाले १२ वर्ष उमेरमा म्वाली (सनई) बजाउन सिके । त्यति बेला उनको परिवारको गुजारा म्वाली बजाएरै हुन्थ्यो, घरमा बाली भित्रिन्थ्यो । त्यसैले उनलाई बुबाले बाजा सिक्न प्रस्ताव राख्नेबित्तिकै नाइँनास्ति गरेनन् । बुबाले जस्तै उनले पनि ३४ वर्षअघि छोरा रत्नलाललाई बाजा सिक्न आग्रह गरे । समय फेरियो, छोराले मानेनन् । ‘नगर प्रहरीमा जागिरे बन्नतिर पो लागे’, ७६ वर्षीय कान्छाले भने, ‘अब सनई बजाउने मान्छे नै छैनन् ।’
उनका अनुसार शंखमूलस्थित नारायण मन्दिर, मसानघाट र पाटन दरबार क्षेत्रस्थित तलेजु, भीमसेन मन्दिरमा पनि कुनैबेला दैनिक बिहान र साँझ सनई बजाउनु पर्थ्यो । अहिले यो चलन हराइसकेको छ । कात्तिक नाच मञ्चन गर्दा र सिंह जात्रा मनाउँदा मात्रै बजाउने चलन बाँकी छ । कान्छाका अनुसार मन्दिरमा बाजामार्फत विभिन्न देवीदेवताका नेपाल भाषामा लेखिएका गीत बाह्रै महिना फरकफरक गाउनुपर्थ्यो । ‘अहिले बाजासँगै गीत पनि हराउँदै गएको छ,’ उनले भने ‘यस बाजाको छुट्टै गुठी नभएकाले पनि जर्गेना गर्न गाह्रो परेको हो ।’
गार्‍हो त कान्छा स्वयंलाई पनि छ । उनी ढाड, घुँडा दुख्ने समस्याका कारणले मुस्किलले घर भित्र–बाहिर गर्छन् । स्थानीयवासी भने जसरी भए पनि उनले अरूलाई बाजा सिकाउनुपर्ने पक्षमा छन् । ‘छोरालाई त बाजा बजाउनुपर्छ, संस्कृति मास्नु हुँदैन भनेर सिकाउन सकिनँ’, उनले भने, ‘अरूको त कुरै छाडौं ।’ उनले पुराना समय सम्झे । तिनताक पाटनका कपाली समुदायका प्रत्येक घरका एक जना सदस्यले अनिवार्य बाजा बजाउन जानेका हुन्थे ।
पाटनमा कपाली समुदायको संख्या दुई सयको हाराहारीमा छन् । ०३८ मा ५ खलकमा सीमित भए । अहिले उनीसँगै बाजा बजाउन सिकेकामध्ये बाँचेकाहरू अशक्त छन् । ‘मैलेपनि जेनतेन चलाइरहेको छु । कहिले छोड्छु थाहा छैन’, उनले भने ।
उनका अनुसार ०४० सम्म बाजा बजाएबापत बाली भित्रिन्थ्यो । गुठी संस्थानबाट वार्षिक ५ मुरी धान दिन्थे । पछि जग्गा धनीले संस्थानमा केही रकम जम्मा गरी जग्गा रैतानीमा परिणत गरे । त्यसयता न गुठीले रकम दिए न त जग्गाधनीले बाली नै दिए ।प्रकाशित : वैशाख २, २०७६ ०८:२४

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...