Showing posts with label folk song. Show all posts
Showing posts with label folk song. Show all posts

Wednesday, June 12, 2019

गल्लैलाउरे

गल्लैलाउरेकोसेली
दोस्रो महायुद्धताका गल्लावालहरू नेपाली गाउँघरमा पसेर युवालाई भर्ती गरेर लैजाने चलन थियो । गल्ला तथा गाउँले जवानको बिदाइ समयमा रातभर नाचगानका कार्यक्रम गर्ने चलन त्यसबेला थियो । प्रेम–वियोगको यो क्षणमा गल्लैलाउरे लोकगीत जन्मेको हो भन्ने विश्वास छ ।
फाल्गुन २५, २०७५तुलसी प्रवास
काठमाडौँ — गल्लैलाउरे’ नेपाली लोकगीतको बाह्रमासे गीतअन्तर्गत पर्ने एउटा महत्त्वपूर्ण प्रकार हो  । ‘गल्ला’ र ‘लाउरे’ शब्दको मेलबाट ‘गल्लालाउरे’ शब्द बनेको हो भने यही ‘गल्लालाउरे’ शब्द उच्चारण क्रममा अपभ्रंश हुँदै ‘गल्लैलाउरे’ हुन पुगेको गीत–गायनका विज्ञको दाबी छ  ।
गण्डकी प्रदेशको पर्वत जिल्ला र स्याङ्जा जिल्लाको पश्चिमी भूभागमा बसोबास गर्ने ब्राह्मण, क्षत्री, मगर तथा गुरुङ समुदायका महिला–पुरुषले अलिक ढिलो लयमा यो गीत गाउने गर्छन् । खेली गीतको एउटा प्रकार समेत हो— गल्लैलाहुरे । यो गीतलाई ठाउँअनुसार गल्लालाउरे, गल्लैलाउरे, गल्लैलागुरे, गल्लालागुरे आदि नामले सम्बोधन गर्ने गरिन्छ । यस्ता लोकगीतमा जानीनजानी लय, छन्द, विम्ब, अलङ्कारका काव्यात्मक गुण भित्रिएका हुन्छन् । संरचनागत कुरा गर्दा गल्लैलाउरे पंक्तिको अक्षर–संरचना प्रायः ६–७ को रहेको पाइन्छ । तर पनि गाउने क्रममा कहिलेकाहीँ अक्षरसंख्या तलमाथि हुन सक्छ । गल्लैलाउरे मूलतः भाकाप्रधान हुने भएकाले भाका मिल्यो भने अनुप्रास पनि यस्ता गीतमा अत्यावश्यक मानिँदैन । अक्षरको एकरूपता पनि यसमा बाध्य छैन । अधिकांश गल्लैलाउरे गीतको संरचना यस्तो हुन सक्छ :
जस्तै: आउँ दै र नु हो ला
लाउँ दै रहुँ ला पि र ति
यसरी हेर्दा गल्लैलाउरे गीतमा पहिलो पंक्तिमा छ अक्षर र दोस्रोमा सातको संरचना रहेको भेटिन्छ । गीत गाउँदा प्रत्येक अक्षरलाई ढिलो लयमा एक–एक गरी उच्चारण गरिन्छ । यो मानव हृदयको स्वस्फूर्त अभिव्यक्ति हो । गाउँदै जाँदा मानिसलाई जसरी सहज हुन्छ, त्यसरी नै यसलाई गाउने गरिन्छ । गल्लैलाउरेको लयमा पनि एकरूपता छैन । ठाउँअनुसार फरक तरिका र लयमा यो गीत गाइन्छ । हरेक लोकगीतमा कुनै न कुनै कथ्य विषय हुन्छ नै । गल्लैलाउरेमा पनि कथ्य विषय समेटिएको हुन्छ । विशेषतः प्रेम र वियोगका विषयवस्तु यसमा भेटिन्छ । विभिन्न धार्मिक उत्सवमा सुरुमा आरती, भजन प्रस्तुत गरिन्छ, त्यसपछि खेली–दोहोरी गाइन्छ । र, रात छिप्पिँदै गएपछि केही सीमित महिला–पुरुष बसेर गल्लैलाउरे गाइन्छ । शृंगार र करुण रसको प्रधानता गल्लैलाउरे गीतमा पाउन सकिन्छ । नेपाली ग्रामीण समाजका नारीले भोग्नुपरेको बाध्यात्मक परिस्थितिको विषय यस्ता गीतमा समेटिएका हुन्छन् ।
गल्लैलाउरे गीत एकप्रकारको भाषिक अभिव्यक्ति हो, यसमा लयात्मक भाषा हुन्छ । स्थानीयता झल्किएको यो गीत ग्रामीण अपठितले बढी गाउने हुनाले यसमा स्थानीय भाषिकाअनुसार शब्दोच्चारण भेटिन्छ । मौखिक अभिव्यक्ति भएकोले अनौपचारिक भाषा यसमा प्रयोग हुन्छ । गीतमा प्रयोग हुने शब्दहरू स्थानीय भाषिका, आगन्तुक र झर्रा नेपाली रहेका हुन्छन् । यस्तै भाषाले गर्दा यी गीतलाई प्राकृतिक एवम् जीवन्त तुल्याएका हुन्छन् ।
शैली भन्नाले गायन वा कथनको तरिका हो । यसको शैली सरल हुन्छ । यस्ता गीत अन्तरामुक्त शैलीमा गाइन्छ । सरलता, सहजता र कोमलता गल्लैलाउरे गीतका शैलीगत विशेषता हुन् । एकल वा सामूहिक दुवै रूपमा गाउन सकिने यी गीतमा प्रशस्तै विम्ब–प्रतीक हुन्छ । ‘आ...हा...’, ‘ए बाउ...’, ‘ए दाइ...’ आदि थेगोबाट गीत उठेको हुन्छ । यस्ता थेगोले गल्लैलाउरे गीतमा मीठास थपिदिएका हुन्छन् । थेगोलाई अत्यावश्यक मानिदैन । र, लौ, खै, त, नि जस्ता निपात गल्लैलाउरे गीतमा प्रशस्तै प्रयोग गरिन्छ । यस्ता गीतमा आलङ्कारिक, वर्णनात्मक, विवरणात्मक, संवादात्मक, वादविवादात्मक, मनोवादात्मक शैलीमध्ये कुनै एक वा अनेक शैली अपनाइएको हुन्छ ।
लोकगीतमा पटकपटक दोहोरिने पंक्ति वा पंक्ति समुह स्थायी हो । स्थायीलाई लोकसमाजले रिटक वा रहनी पनि भन्ने गर्छ । यही रिटक वा रहनीलाई गीतको बोल, गीतको बथन वा गीतको टुवा पनि भनिन्छ । गल्लैलाउरे गीतमा स्थायी दुई वा तीन पटक दोहोरिन्छ । एउटै स्थायीलाई २ देखि ३–४ पटकसम्म पनि दोहोर्‍याइन्छ । लोकगीत सन्दर्भमा लय र भाका भनेको एउटैजस्तो बुझिए पनि लय भनेको लोकछन्द हो भने भाका भनेको स्वरको आरोहअवरोह हो । गल्लैलाउरेको लयमा एकरूपता छैन । ठाउँअनुसार, फरक तरिकाले फरक लयमा गल्लैलाउरे गीत गाइन्छ । जस्तै ः
ए दाइ...
भे टै न हु न लाई
हरेक लोकगीतका आफ्ना निजी सन्दर्भ हुन्छन् । गीतका अन्य तत्त्वले पुष्ट भए पनि सन्दर्भले पुष्ट नभएको गेय अभिव्यक्ति अपेक्षित लोकगीत हुन सक्दैन । हरेक लोकगीतको आफ्नो एउटा इतिहास हुन्छ । इतिहासको कुनै घटनासँग लोकगीतको कतै न कतै सम्बन्ध जोडिएको पनि हुन सक्छ, त्यसलाई पनि ऐतिहासिक सन्दर्भ मान्न सकिन्छ । गल्लैलाउरे गीत पनि विश्वइतिहासको त्यस मार्मिक घटनासँग सम्बन्धित छ जसले सारा विश्वलाई प्रभावित पारेको थियो । यस गीतलाई ‘गल्लैलाउरे’ भनेर नामकरण भने दोस्रो विश्वयुद्धको समयदेखि भएको अनुमान गर्न सकिन्छ ।
दोस्रो महायुद्धको समयमा गल्लाहरू नेपालका गाउँगाउँमा आएर नेपाली युवालाई भर्ती गरेर लैजाने चलन थियो । त्यतिबेला उनीहरूको चालचलन तथा व्यवहारबाट नेपाली युवतीहरू छिट्टै प्रभावित हुन्थे भने अर्कोतर्फ आ–आफ्ना दाजुभाइलाई भर्तीमा लैजाने लोभले पनि उनीहरू गल्लावालसँग नजिकिन चाहन्थे । त्यसरी अन्जानमै ती गल्लालाई प्रेम गर्न पुग्छन् । गल्ला तथा गाउँले जवानको बिदाइ समयमा रातभर नाचगानका कार्यक्रम गर्ने चलन त्यसबेला थियो । प्रेम–वियोगको यो क्षणमा गल्लैलाउरे लोकगीत जन्मेको हो भन्ने विश्वास छ ।
नेपाली लोकजीवन गरिबी र अनेक समस्याबाट गुज्रिरहेको छ। सधैँभरि अर्काको घरमा निमेक गरेर जीवन चलाउनेहरू ग्रामीण क्षेत्रमा अहिले पनि छन्। यस गीतको नामकरण नै अर्काको मुलुकमा लाउरे हुन जाने र लाउरे बनाउन गाउँपसेका गल्लावालसँग सम्बन्धित भएकाले बिरानो मुलुकमा नोकरी गर्न जाँदाको पीडा यसको मुख्य विषयवस्तु बनेर आएको हुन्छ । गीत गाउँदा–गाउँदै रुने, आँसु झार्नेजस्ता क्रियाकलाप पनि उनीहरूमा स्वतः देखापर्छ । त्यसैगरी अर्काको घरमा गोठालो बस्ने, साहुको काम गर्नेजस्ता कुरा गल्लैलाउरे लोकगीतमा व्यक्त भएका हुन्छन्। यो गीत अत्यन्तै विरहलाग्दोसमेत हुने भएकाले गायकगायिका गीत गाउँदा–गाउँदै रुने र अन्य दर्शक/श्रोतालाई समेत रुवाउने गर्छन् ।
ए दाइ.....
भे टै न हु न लाई
ला ग्यो पा पी ब रि खा ।।
नेपाली ग्रामीण जनजीवन कृषिमा आश्रित छ । मेलापात, घाँस, दाउरा आदि उनीहरूका दिनचर्या हुन् । वर्षायामलाई मानो खाएर मुरी उब्जाउने समयको रूपमा किसानहरूले लिएका हुन्छन् । यस्तो समय मायाप्रेम गरेर बस्ने समय होइन । काममा दिनरात व्यस्त रहँदा अब भेटघाट हुँदैन भन्ने चिन्ता माथिको गीतमा अभिव्यक्त भएको छ । वर्षायाममा भेटघाट हुन गाह्रो हुने अवस्थाको चित्र पनि यो गीतमा पाइन्छ ।
ए बाउ....
वन् को न्याउ ली प नि
सो झो छै न म सि त ।।
न्याउली चरीलाई विरह प्रतीकको रूपमा लिने नेपाली लोकविश्वास छ । न्याउली कराउँदा प्रेममा वियोग खेपेका कतिपय मानिसहरू शोकमा डुब्ने गर्छन् । अन्य सामाजिक चालचलन, ऐँचोपैँचो आदिजस्ता सामाजिक व्यवहारले गल्लैलाउरे गीतलाई बढी भावनात्मक र जीवन्त तुल्याएका हुन्छन् ।
गल्लैलाउरे लोकगीतमा पर्वत, स्याङ्जातिर बोलिने स्थानीय भाषिकाको प्रयोग पाइन्छ। गाउँघरमा बोलिने बोलचालको भाषाले गीतलाई प्राकृतिक र जीवन्त तुल्याएको हुन्छ। जस्तै ः
बोल न मयालो
तिम्रै बोली सुन्नर ।।
डाइको गलबन्डीमा
झुन्निएर मोरुँला ।।
हात काटेर रउतै
मन फाटेर बिरउतै ।।
गल्लैलाउरे गीतमा नायकनायिकाको मिलनको आशालाई जगाउने प्रवृक्ति विद्यमान हुन्छ । यस्ता गीतमा नायक–नायिकाका बीच वैयत्तिक, सामाजिक, आर्थिक वा अन्य कुनै बाधा बन्देजका कारण प्रेम सम्बन्ध कायम हुन नसकेको झल्को मिल्छ । यसमा विप्रलम्भ शृंगारको भाव अभिव्यक्त भएको पाउन सकिन्छ । विप्रलम्भ शृङ्गारमा रति (प्रेम) भने पूरा छ तर आफ्नो प्रिय वा प्रियाको लाभ भने भएको हुँदैन । यो पूर्वराग, मान, प्रवास र करुण गरी चार प्रकारको हुन्छ । यसमा रति स्थायीभाव रहेको हुन्छ । आलम्बन विभावको रूपमा नायक–नायिका, उद्दीपन विभावको रूपमा पूर्वस्मृति, स्मृति चिह्न, प्रकृति, एकान्त स्थल आदि रहेको हुन्छ । त्यसका साथै अनुभावको रूपमा छट्पटाउनु, पिरोलिनु, आँसु झार्नु, टोलाउनु, विह्वल हुनु आदि रहेका हुन्छन् भने व्यभिचारीभावका रूपमा धैर्य, स्मृति, विषाद, ग्लानि, चिन्ता, वितर्क, चपलता आदि आएका हुन्छन् । गल्लैलाउरे गीतमा घटीत विप्रलम्भ शृंगार रसलाई यसप्रकार उल्लेख गरिएको छ ः
ए दाइ...मरेँ असेटैले
मरिँदैन भन्थ्यौ नि ।।
यो गल्लैलाउरे गीतमा नायक (दाइ) ले नायिकालाई छोडेर कतै टाढा वा विदेश गएको प्रसङ्गको वर्णन भएको छ । प्रेमिकाले गीत गाउने सिलसिलामा आफ्नो प्रेमीलाई दाइ भनेर सम्बोधन गरे पनि उनीहरू दाजुबहिनीचाहिँ होइनन् । गल्लैलाउरे गीत गाउँदा गायिकाले ‘ए दाइ...’ र गायकले ‘बैनी हो...’ भन्ने थेगो प्रयोग गर्ने गर्छन् ।
सम्झी...रुन्छु दसै धारा
अचेल काँ छौ पियारा ।
यो गीतमा नायक (प्रेमी) लाई सम्झेर नायिका (प्रेमिका) दसै धारा रोएको प्रसङ्ग छ । कुनै बाध्यताले नायक र नायिकाको विछोड भएको छ । नायक सम्झनाले गर्दा नायिका विह्वल बनेकी छन् ।
गल्लैलाउरे लोकगीत नेपाली लोकगीतको अत्यन्तै महत्त्वपूर्ण उपविधा हो । पर्वतको पैयुँखोला क्षेत्र र स्याङ्जाको पश्चिमी भेगमा यस्ता गीत गाउने प्रचलन रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने विशेषगरी बाह्मण, क्षत्री र मगर जातिका मानिसले यो गीत गाउने गर्छन् । यस गीतलाई गल्लालाउरे, गल्लैलागुरे आदि नामले समेत सम्बोधन गरिएको पाइन्छ । शब्द र अर्थको चातुर्यपूर्ण प्रस्तुतिले यी गीत नेपाली समाजका सदावहार गीत बनेर गुन्जिरहेका छन् । लाहुरे संस्कृतिले जन्माएको एउटा पीडादायी लोकगीत गल्लैलाउरे हो ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २५, २०७५ १२:१२

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...