Showing posts with label women rights. Show all posts
Showing posts with label women rights. Show all posts

Wednesday, June 12, 2019

नारीका कुची, नारीका कुरा

नारीका कुची, नारीका कुरा
कान्तिपुर संवाददाता
दिनहुँ बढ्दै गइरहेको हिंसात्मक घटनाको त्रासले चित्रकलालाई पनि प्रभाव पारेको छ । अनिसा महर्जनको चित्रमार्फत अहिलेको अवस्थामाथि व्यंग्य कसेकी छन् । पाटनस्थित क्लासिक ग्यालरीमा जारी प्रदर्शनीमा उनको ‘प्रोटेक्सन’ शीर्षकको चित्र सजिएको छ, जहाँ एउटी बालिका पछाडि हतियार लिएर हिँडदै छन् ।
ग्यालरीमा अनिसासहित पाँच महिला चित्रकारका सिर्जना छन् । ‘सदन’ शीर्षकको प्रदर्शनीमा उनीहरूले आआफ्ना अनुभूति क्यानभासमा साटेका छन् । अनिसाले हिंसात्मक बन्दै गएको समाजमा छोरीहरू कसरी सुरक्षित हुने ? भन्ने त्रासपूर्ण मनोदशा क्यानभासमा उतारेकी छन् । उनका क्यानभासमा दु:खी कुमारीदेखि संस्कृतिको बहानामा बाँधिएका महिला चरित्रसम्म छन् ।
चित्रकार सरिता डंगोलका सिर्जना पुरानै सिरिजअन्तर्गत छन् । पछिल्लो समय काइँयोको विम्बमार्फत उनले महिला र पुरुषको सम्बन्ध देखाउँदै आएकी छन् । यस पटक पनि उनले त्यसै गरेकी छन् । प्रेम, विछोड, निराशा, खुसी, मनमुटावजस्ता अनेक मनोदशाबाट गुज्रिएका जोडीको मनोभाव उनका चित्रमा देख्न पाइन्छ । सबै चित्रमा सम्बन्धलाई जोड्न भने उनले काइँयोकै प्रयोग गरेकी छन् । अनामिका गौतमले नारी सशक्तीकरणको भाव रंगमा पोख्ने जर्मको गरेकी छन् ।
‘एड्जस्टमेन्ट टिल व्हेन ?’ थिममा सिर्जित उनका चित्रले पीडितले शासकीयको मनोमानी कहिलेसम्म सहने भन्ने भाव बोकेका छन् । नेपाली पेपरलाई क्यानभासमा सिधै टेक्स्चर गरेर अनामिकाले प्रस्तुति माध्यममा नौलो काम स्वाद दिएकी छन् । अर्की चित्रकार दीपमाला महर्जनले सेतो, रातो, पहेँलो, हरियो र नीलो रंगमा न्युड फिमेल फिगर उतारेकी छन् । एउटै न्युड शरीरमा फरकफरक रंगका माध्यमबाट भिन्नाभिन्नै मनोविज्ञान सिर्जिएकी छन् उनले ।
नम्रता सिंहको चित्रमा चाहिँ प्रेम र सद्भावको भाव झल्किन्छ । तराई परिवेशका महिला आकृति एवं बुट्टा उतारेकी उनले चम्किलो रंग प्रयोग गरेकी छन् । तर, महिलाको आँखामा देखिने निराशा, वेदना र मौनताले थुप्रै गुनासा पोखेजस्तै महसुस हुन्छ ।
‘साइलेन्ट लभ’ शीर्षकको चित्रमा उनले प्रेममा महिलाको स्थानमाथि व्यंग्य कसेकी छन् । मिथिला समाजमा महिला प्रकृतिप्रेमी हुन्छन् र उनीहरू मौन भई प्रेम गर्छन् भन्ने भाव चित्रले खुलाउँछ । हाँसको चुचोमा कमलको फूल हेर्दै घुम्टोभित्र लजाएकी महिला आकृतिले मैथिली नारी मनोविज्ञानको संकेत गर्छ ।
प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रकाशित : आश्विन १०, २०७५ १२:११

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...