Thursday, July 04, 2019

आज रोल्पामा रमिता छ


आज रोल्पामा रमिता छ
 १४ असार २०७६ ०९:३०:००

यात्रा

अघिल्लो पल्ट रोल्पाबाट फर्कंदा मेरो मन चैं उतै अड्कियो। कमलादीको मोडमा फेरि जब रोल्पाका लागि गाडी चढेँ, अघिल्ला वर्षका स्मृतिहरू एकाएक सोहोरिएर आए। तर यसपटक म अक्षर महोत्सवका लागि होलेरी जाँदै थिएँ।
दुःखी भएँ।
मलाई सबभन्दा बढी माया गर्ने मेरी छोरीलाई छाडेर आएको छु। उसलाई खुब सम्झेँ। उसलाई ढाँटेर आएको छु र भनेको छु- छोरी, बाबा हलो गर्ने जाने, तीन दिनपछि आउँछु ल। हिँड्ने बेलामा देखिएको छोरीको अँध्यारो अनुहारले मलाई खुब पोलिरह्यो। आँखाको डिलबाट तरक्क के बगेर गयो मैले चालै पाइनँ। गाडी कलंकी चोक पुगिसकेछ। एकछिन रोकियो।
कवि रोशन पुनले भनेको सम्झेँ- स्मृतिहरू हावाजस्तै हलुंगा हुँदा रहेछन्।
अघिल्लो पटक जाँदा लिवाङमा मैले पहिलो पटक टेम्पु देखेथेँ। एक्कासि मुखबाट निस्केथ्यो- अरे वा, टेम्पु। सोचेँ, राजधानीमा बसेर राजधानीको आँखाबाट कहाँ देखिन्छ र रोल्पाको रङ ?        रोल्पाको सौन्दर्य।
१०औं नम्बरको सिटमा बसेर म सोचिरहेछु- पख् रोल्पा त पुग्न दे- सबभन्दा पहिला भेट्छु त्यो टुँडिखेललाई। त्यहाँ थुप्रै नानीलाई भेट्ेथेँ अघिल्लो चोटिको एक साँझ।
यो युग हाँसेरमात्र जीवन कटाउन सक्ने पुरन क्षेत्रीलाई भन्नु छ- हामीले गएको वर्ष हाम्रा पैतालाका डोबहरू यतै छाडेर गएका थियौं, ती डोबहरूलाई कस्तो छ ?       
नवीन लोचनमगरलाई भन्नु छ- लोचनजी, गुरुङ गाउँको होमस्टे चलिरहेछ नि ?        बाटो खन्दै गएको थियो डोजर त्यो कहाँ पुग्यो ?       
डीबी टुहुरालाई सोध्नु छ- देशको कविता कति वटा लेख्नुभो ?       
रोल्पा अब युद्ध चाहँदैन। रोल्पा अब किन प्रेम चाहन्छ ?        यो कुरा कसलाई सोधूँ कसलाई सोधूँ भा’छ- एक मनले त भन्छ दीप दर्पणलाई सोध्।
व्योमजी अवतारले झोला बोक्न छाडे कि छाडेनन् ?       
खेम गाउँलेले अहिलेसम्म कति हजारवटा फोटो खिचे होलान् ?       
दामु मर्सीफूल फेरि भेटिने भैयो भनेर खुसी व्यक्त गर्दै हुनुहुन्थ्यो।
भट्ट साहुजीलाई सोध्छु- साहुजी कस्तो चलिरहेछ व्यापार ?       
भेटेर मगर्नी आमालाई भन्छु- आमा सन्चै हुनुहुन्छ ?        के छ रोल्पाको खबर ?       
०००
चिया, चिया भनेको आवाजले बिउँझिएँ।
बसको झ्यालबाट टाउको निकालेपछि साइनबोर्डतिर आँखा लगाएँ, जहाँ लेखिएको थियो- सातदोबाटो, रोल्पा। बिहानको ६ बजिसकेको थियो।
मान्छेको चहलपहल कम थियो बाटोमा। म पनि ओर्लिएँ। कसैलाई कालो चिया। कसैलाई सेतो चिया। चियाको पनि अनेक प्रहार। धमिलो चिया चैं हुँदैन ?       
नवीन विभासले पारिपट्टिको पसल देखाउँदै विप्लव प्रतीकलाई भन्नुभो- दाजु यहाँ टिम्मुरको पाइन्छ। दुई सय रुपियाँ पर्छ क्यारे एक बोतलको।
चिया पाक्दै हो साउनी ?       
यहाँ टिम्मुरको कुरा आयो, के पाइन्छ टिम्मुरको ?        विप्लव दाइको कान ठाडो भयो। केही कवि शौचालयको खोजीमा थिए।
ऊ त्यो घरको पछाडि छ शौचालय- चिया पकाइरहनुभएकी दिदी बोल्नुभो। उनका आँखा भने चियाको कित्लीमा थियो। उसिनेको अन्डामा रमाइरहेका थिए रोशन पुन र प्रज्वल अधिकारी।
डोजर नचले हुन्थ्यो। बाटो नबने हुन्थ्यो। डोजर र बाटोले जलजलालाई कुरूप बनाउँछ। मास्छ, गुराँसको सौन्दर्य। मास्छ, रोल्पाको रौनक। भत्काउँछ, मन। भत्केको मन कसरी हेर्ने होला ? ऐंठन भएर आयो।
विप्लव दाजु सरासर पारिपट्टि जानुभो र उसैगरी मिनरल वाटरेको भरि बोतल बोकेर आउँदै भन्नुभो- हाम्रो टिममा भएको एक जनाको हातमा यो बोतल पर्न नदिने हो भने यो बोतल लिवाङसम्म पुग्छ ?        फर्केर काठमाडौं पुग्न पनि बेर लाग्दैन। राज शाह खुब हाँस्यो।
स्नेह सायमी दाजुको गफ सुरु भो। म चैं चिया थप्छु है- दाजु बोल्नुभो।
चिया पिउने काम सकियो। राबत बोलिहाल्यो। हिँडेर जान पर्छ कि के हो ?        मुखामुख भयो एकछिन।
विप्लव प्रतीक दाजु बोल्नुभो, जाने र ?        म बोलिनँ। प्रज्वल बोले- जाऊँ।
हामी चारजना चैं गाडीबाट ओर्लिहाल्यौं। हामी अलि पर पुगेपछि रोशन पनि ओर्लिए। हामी घामसँग हिँड्न खोजिरहेका थियौं। चालकले भन्नुभो- तपाईंहरूलाई हिँडेर लिवाङ पुग्न अझै साढे २ घण्टा लाग्छ।
एकै स्वरमा भन्यौं- हुन्छ हामी हिँड्छौं।
कवि विप्लव प्रतीक बोल्नुभो- जिन्दगीमा सकेको सबै काम गर्न पर्छ है केटा हो। यतिखेर कवि भएर सोच्ने होइन। पर्यटक भएर सोच्ने हो। खिच्ने हो रोल्पाको सौन्दर्य। क्यामेराले खिचे पनि। आँखाले खिचे पनि। मनले खिचे पनि। फेरि यो मौका पाइँदैन। फेरि यो सुन्दरता कैद गर्न पाइँदैन।
पहिला पहिला यो बाटोमा छापामारहरू हिँड्थे होला है ?        कति भो होला यो बाटो बनेको ?        अनि यस्तो पिच सडक त राजधानीमा पनि छैन।
कवि प्रज्वल बोलिहाले- विप्लव दाइ जिन्दगी भनेको पनि यही बाटोजस्तो हो र ?        घरि पिच घरि कच्ची ?        घरि उकालो। घरि ओरालो। कहिलेकाहीँ ऐँठन हुन्छ दाइ। दाइको जवाफ आएन। मेरो बोल्ने पालो आएकै थिएन।
गाडी लिवाङ पुग्यो भन्ने खबर तारन्तार दीप दर्पणको बजेको मोबाइलले दिइरह्यो। दाजु गाडी पुगेछ लिवाङ। हामी पनि ९ बजे त पुग्छौं होला है ?       
नपुगे पनि केही छैन। यो बाटो लिवाङ जान्छ, पक्का छ। अन्त जाँदैन। बाटोमा हराइँदैन क्यारे। कानको लोतीमा कसैले चिमोटेजस्तो भो। हँसिलो पाराले घामले हाम्रो थकित अनुहारलाई हेर्‍यो। बस्ने हो कि एकछिन ?       
रोल्पा गुराँस साहित्य मेला भन्या हैन, खै त गुराँस ?        कहीँ छैन त गुराँस, नानाथरीका रूख मात्रै छन् त। कि यो रोल्पा हैन ?        तर असाध्यै सुन्दर छ। पारिपट्टि निकै बेर हेर्दै राबत बोलिरह्यो।
खै अस्तिको पाला होलेरी आउँदा त टन्नै थियो गुराँस। गुराँसको सिजन सकियो कि- म बोलेँ।
दीप दर्पण फेरि फोनमा बोले- हिँड्दै हो र भन्या ?       
एकछिन थकाइ मार्दै छौं, चिसो खाँदै छौं भन्दिनुस् न- राबत बोल्यो।
कहाँ छ चिसो ?        तातो छ, दाइ पनि- प्रज्वल बोल्यो। विप्लव दाइ मनमनै हाँस्नुभो। उहाँको अनुहारले त्यो बताइरहेको थियो। टिम्मुरको पनि कति तातो।
आधा बोतल पनि सिध्याउन सकिएन। हैन यो टिम्मुरको जिनिस त कडा रै’छ।
बाटोमा भेटिएको सानो पसलमा एकछिन थकाइ मार्न बस्यौं। फ्रुटी माग्यौं। दुई अम्खोरा चिसो पानी दिनुस् त छोएन- रोशन बोल्यो।
अम्खोरा त छैन।
जे छ त्यसैमा दिनुस्।
पिच रोडले मेरो जुत्तालाई केही गरेन। मेरो जुत्ता बलियो रहेछ भन्ने प्रमाणित भो। हिँड्ने बेलामा राबतले भनेथ्यो- बाबुको यो जुत्ता फर्किंदैन काठमाडौं। उताबाट गाडीको जोड हर्न बज्यो ?        कस्तो डरलाग्दो घुम्ती। रोशन हाँसेको आवाज हर्नले खाइदियो। हिँड्नेबित्तिकै सैनिक क्याम्प ओझेलमा पर्‍यो।
प्रज्वल बोले- विप्लव दाइ आउनुस् हेर्न, यहाँबाट हेर्दा ठ्याक्कै युवतीको गालामा बसेको डिम्पलजस्तो देखिन्छ लिवाङ बजार।
क्या सुन्दर ! यहाँ नआएको भए जीवनको एक पाटो छुट्ने रहेछ- रोशन बोल्यो।
हो मा हो मिलाउँदै विप्लव दाजु बोल्नुभो- धन्यवाद रोल्पा।
तीन घण्टा हिँडेर हामी लिवाङ बजार पुग्यौं।
०००
होलेरी सम्झिएँ।
बत्तीसपुतलीको क्याफेमा (दीप दर्पण र राज शाहर म) थुप्रै पटक बसेर होलेरीको अक्षर महोत्सवका लागि योजनाहरू बुनेका थियौं। घोराही चोकमा हामीलाई पर्खेर बसेका गाडीहरूको लाम भनिरहेथ्यो- दुई घण्टामा होलेरी पुग्नुहुन्छ।
उसैगरी छोरीलाई सम्झिएँ। माडीचौरमा बसेर एकछिन दूबोलाई छामेँ। होमस्टे जाने साँझ उकालो र ओरालो बाटोमा मैले चालकलाई भनेको थिएँ- गुरुजी गाडी बिस्तारै चलाउनु ल, मलाई असाध्यै डर लाग्छ। भीरमात्रै छ। तपाईंले नचलाउने हो भने यो विपिन सलामीले चलाउँछ- यत्ति भनेथेँ।
सुन्दरता छुनलाई होइन- पछाडिबाट कोही यसो भनिरहेको आवाज मेरो कानमा आयो। मलाई पछाडि फर्कनसमेत डर लागिरहेथ्यो। भीरतिर त मेरो आँखा जाँदै गएन। मेरो आँखा चालकतिर मात्र थियो।
म कहाँ चलाउँछु। यस्तो डरलाग्दो बाटोमा- सलामी बोल्यो।
डरलाग्दो उकालोसँग फेरि जम्काभेट भयो। गाडी रोकिन नपाउँदै म हाम्फालेँ। अरू बिस्तारै ओर्लिए। बर्खामा के हुन्छ हँ यो बाटोमा। जान्छ त गाडी सोझै। म त बरु हिँडेर जान्छु- यति बोलेँ।
मेरो साथ कसैले दिएनन्। उकालो कटेपछि फेरि अघिकै सिटमा गएर बसेँँ।
यो हो गुरुङ गाउँ।
कमिलाको ताँतीजस्तो भएर एक लहरमा हामी हिँड्यौं। होमस्टे कहिले पुगिएला भन्ने काउकुती मनमा बढी थियो। वियोगी बुढाथोकी, तुलसीहरि कोइराला, भूपिन, प्रोल्लास सिन्धुलीय, ज्योति जंगल, हेम प्रभास, नवीन अभिलाषी, रोशन जनकपुरी, सुरेश बुढाथोकी फकिर, केवल विनावी, राधिका अधिकारी, लक्ष्मण संगम, बीपी अस्तु अघिअघि थिए। विपिन सलामी र म पछिपछि। मध्य भागमा थिए- कपिल, हुकुम, संगीता, महेन्द्रचन्द। अरू कता हुनुहुन्थ्यो हेक्का राख्न सकिनँ।
गुरुङ गाउँको आतिथ्य स्वीकार गरेपछि गएकाहरूमध्ये सबै फर्किए। विपिन सलामी र म त्यहीँ बस्यौं। दोहोरी खेल्यौं राति अबेरस्म्म। दोहोरीमा हारेपछि निद्रा लागेको बहाना बनायौं।
भोलि वर्षमान पुन र ओनसारी घर्तीमगरको गाउँ जाने हो। बाटो चैं कच्ची छ। भर्खर डोजर हिँड्दै छ।
त्यो बाटो पनि भीरैभीरै भएर जान्छ कि के हो ?        डराउने म मात्र हो। अरू सबको अनुहारबाट खुसी पोखिएर जान मानेकै थिएन।
यद्धलाई सम्झिएँ। कसरी हिँडे होलान् ती योद्धाहरू यस्तो भीरको बाटोमा। कतिलाई त यही भीरको बाटोले खायो होला। जसरी कतिलाई युद्धले खायो।
साँझ मेहफिल चल्यो। रात परेको हामीले चालै पाएनौं।
०००
थानकोटबाट ओरालो लागेपछि मैले होलेरी खुब सम्झेँ। उसैगरी छोरीलाई सम्झिएँ।
युद्धकालमा भएको प्रहरी चौकी आक्रमण मेरो मनमा फरक्क फर्केर आयो। फर्केर आउँदा होलेरी प्रहरी चौकी आक्रमण भएको ठाउँमा आएर एकछिन गाडी रोकियो। आयोजक साथीले चोर औंला देखाउँदै आक्रमण भएको स्थान देखाउनुभो। त्यहाँ चौकी छैन अहिले। अब त भग्नावशेष मात्र बाँकी छ।
गाडी फेरि बेपत्तासँग सँग कुद्यो। ओनसरी घर्ती पहिलो पटक बन्दुक बोकर लड्न यही होलेरी आएकी थिइन् भन्ने कुरा गाडीमा भएका साथीले भन्नुभो। उहाँले भनेपछि पत्याएँ।
गाडी खाना खाने ठाउँमा गएर ओथारो बस्यो। खानापछि थियो कविताको सेसन। त्यसपछिको सेसन थियो- जीवन, मित्रता र समाज।
जीवन, मित्रता र समाज सेसन चल्दै गर्दा अगाडि लहरमा भएका सबै रोएका थिए, यो पक्का हो। पछाडि फर्केर हेर्ने हिम्मत गर्न सकिनँ। आँसु देखाउन नसकेर राज शाह उठेर कता गयो। लुकेर हेरेँ- कवि ज्योति जंगल आँखा पुछ्दै हुनुहुन्थ्यो।
नलेखिएको रोल्पा सेसनमा काँशीराम डाँगी सोध्दै हुनुहुन्थ्यो- जब खेम बूढा बोले, उसैगरी आँखा भरिएर आयो अगाडि लहरमा बस्नेहरूको। फेरि पनि पछाडि फर्केर हेर्न सकिनँ। होलेरी ल्याएर रुवाए यिनीहरूले। सीताराम बडालले होलेरीलाई आफ्नो क्यामेरामा कैद गरिरहे।
कवि बीपी अस्तुको कविताले पनि रुवायो।
ज्योति जंगल बोल्नुभो- थाहा छ बाबु, मलाई एक जनाले भन्नुभो, रोल्पा अब प्रेम चाहन्छ। अर्को पटक आउँदा युद्धको कविता बोकेर नआउनुहोला। यो कुराले खुब छोयो। म अब रोल्पा आउँदा प्रेमको कविता बोकेर आउने छु। एकछिन गम खाएँ। रोल्पा अब प्रेम चाहन्छ।
बिहानै महाप्रमुको जन्मस्थल जाने क्रममा गाडी बेपत्तासँग उसैगरी कुद्यो। ए, साथी अलि बिस्तारै कुदाउनु न। डरलाग्दो बाटो पो छ त। यहाँबाट खस्यो भने त अर्को जिल्ला पुगिन्छ। खोज्नै एक महिना लाग्छ।
डराउने मान्छे भीरतिर किन हेर्नु। गुराँसलाई हेर्नु नि। हामीलाई डर लागेको छैन- राज शाह यही कुरा दोहोर्‍याइरहेछ।
के सारो डरपोक हो बाबु- कवि भगवती बस्नेत बोल्नुभो। यात्रामा म खुब डराउँछु।
छाता ओढेजस्तै गरी बाटोबाटोमा बसेका छन् गुराँसका बोटहरू। मसँग क्यामेरा थिएन। मैले गुराँसको सौन्दर्यलाई सक्ने जति आँखामा कैद गरेँ। रोप्न चैं कसले रोप्यो यहाँ यसरी गुराँस ?       
कवि रीमा केसीले गुराँससँग सबैभन्दा बढी फोटो खिच्नुभो।
साँझ पर्‍यो।
जसरी पहिलो दिन घोराहीबाट गाडी चढेर होलेरी पुगेका थियौं। त्यसैगरी गाडी होलेरीबाट कुद्यो र घोराहीमा आएर रोकियो। गाडीले नयनराज पाण्डे, अमर न्यौपाने, अर्चना थापा, भूपिन, निमेश निखिल, शान्तिप्रिय वन्दना, ज्योति जंगल, रञ्जना निरौला, राज शाह, राधिका अधिकारी, सीताराम बडाल, मीनराज वसन्तलाई बोकेर उसैगरी फर्कियो। होलेरी देखिन्छ कि भनेर एकपटक फेरि आएको बाटोतिर आँखा लगाएँ। यतिबेलासम्म होलेरीलाई पहाडले छेकिसकेको थियो।
सुन्दरता होलेरीमा छुट्यो।
०००
यतिखेर त म लिवाङमा छु। भोलि बिहान ६ बजे ओखरेनीबाट जलजलाका लागि हिँड्ने हो है। यति भनेको सम्झना छ।
ओखरेनी पुग्दा झमक्क साँझ पर्‍यो। बत्तीको मधुरो उज्यालोमा एउटा पुरानो घर देखियो। त्यस बेला घरको मूल ढोकामा स्वागतका लागि उभिनुभएका ओखरेनीवासीको उज्यालो अनुहारसिवाय अरू केही देखिएन। अलि पर धुवाँ उडिरहेको थियो।
यै बेलामा बत्ती गयो, नसुनेको आवाज कानमा आएर ठोक्कियो।
यतिखेर यो बत्ती नभएकै राम्रो। उज्यालोले यहाँको सुन्दरता लुट्छ- बोलिहालेँ। उज्यालो नभएकै राम्रो। कुनै कुनै ठाउँमा त उज्यालोले पनि आफ्नो अस्तित्व गुमाउँदो रहेछ।
म धुवाँ आएको ठाउँतिर गएँ र आगोकै छेउमा बसेँ। प्रज्वल आइपुग्यो। खेम गाउँले मादल लिएर आइपुगे। व्योमजी अवतार अघिदेखि नै त्यहीँ थिए। मादल बज्न सुरु भयो। मादल बजाउने साथीलाई चिन्न सकिनँ।
एकछिनपछि राबत आइपुग्यो। ऊ बोल्यो, मादल म बजाउँछु।
कवि प्रज्वल र देवी गुरुङबीच घमासान दोहोरी सुरु भो।
एकातिर दोहोरी सुरु भो अर्कातरि नाच्नेहरूको तँछाडमछाड सुरु भो। रूपेश        श्रेष्ठ नाचे। राज शाह नाचे। व्योमजी अवतार नाचे। धुवाँभन्दा ठीकअगाडि मधुरो उज्यालोमा देखिनुभो- पुरन क्षेत्री, डीबी टुहुरो र नवीन लोचन मगर।
टेन्ट उभ्याउन सुरु गर्नेहरूले नाच र दोहोरीको मजा लिन पाएनन्।
दीप दर्पण नाचे। मादल बजाउन छाडेर राबत नाच्यो। रोशन पुन नाच्यो। अन्ततिर नवीन विभास पनि नाचे। नाँच्नेहरूको क्रम जारी रह्यो। म पनि के कम, नाँचे। दोहोरी चलिरहेको थियो। आगो बलिरहेको थियो। धुवाँ उडिरहेको थियो।
एकछिनमा वाह ओखरेनी सुरु भयो। विप्लव दाजु बोल्नुभो- रोल्पा नआएको भए धेरै थोक गुम्ने रहेछ।
खाना खाइवरी धेरै जना सुत्ने तर्खरमा लागे। विप्लव प्रतीक दाजु र म नसुत्ने निधो गरेर सोही घरको पिँढीमा गएर थचक्क बस्यौं। एकछिनमा रोशन र प्रज्वल अधिकारी आइपुगे। उनीहरू भुइँमा ढुंगा ओछ्याएर बसे।
हिजै भनिएको थियो। ओखरेनीबाट ६ बजे जलजलाका लागि हिँड्नुपर्छ। ६ बज्न अब दुई घण्टा बाँकी थियो। हामी गफिँदै गर्दा राबत आइपुगेको थियो, ऊ पनि हरायो। दाजु स्नेह सायमीलाई देखेथेँ। राज शाह आइपुगेको थियो हाम्रो फोटो खिच्न। ऊ पनि एकाएक हरायो।
दाजु सबै जना हराए त- विप्लव दाजुसँग जिज्ञासा राखेँ।
हराउन देऊ। अझ हराउनेभन्दा पनि निदाउनेहरू धेरै भए यहाँ।
यहाँ आएर पनि निदाउने हो- बोलिहालेँ।
हराएर केही फरक पर्दैन, मात्र मन नहराए पुग्छ- विप्लव दाजु बोल्नुभो।
मन त हराइसक्यो दाइ- फेरि रोशन बोले।
हराउने ठाउँमा आएपछि हराइहाल्छ नि। यहाँको सुन्दरतामा हराउन सबैले कहाँ पाउँछन् र ?       - प्रज्वल बोले।
हर रात सपनीमा ऐँठन हुन्छ गाउँमा सायद पहिरो गयो कि- विप्लव दाइ गाउन थाल्नुभो। बिहानको ३ बजेको थियो। दाजुले गीत गाइसकेपछि हामी चारै जना आकाशतिर हेर्दै तारा गन्नेतिर लाग्यौं।
भर्खर निदाउन थालेजस्तो लाग्छ। कसले हो बेस्सरी चिमोट्यो। ५ बजिसक्यो छिटो उठ्नुस्।
अघि भर्खर त सुतेको ४ बजे। कल्ले उठायो मलाई ?        म दाइ रोशन बोलेको। हिँड्ने बेला भो दाइ।
आँखा मिच्दै उठेँ, लट्ठी खोज्न थालेँ। लट्ठी भेटिएन। हिजो मेरो भागमा परेको लट्ठी हरायो। कसले चोर्‍यो मेरो लट्ठी- चिच्याएँ। लट्ठी मैले भेटेको छु कसैले भनेनन्।
ओखरेनीबाट जलजलाको यात्रा सुरु भो। धेरै जना अगाडि बढिसकेका थिए। मध्यबाट हामीले पनि यात्रा सुरु गर्‍यौं। अबको यात्रा ३५०० मिटरमाथि हुनेछ- हिजो भेटिएको एक जना छापामार साथीले भन्नुभो- मनमा धेरै जिज्ञासा थिए। उहाँलाई भनेँ- ए साथी तपाईं मसँग हिँड्नुस् ल, धेरै कुरा सोध्नु छ युद्धका बारेमा।
यसपटक लिवाङ आउनुको एउटा उद्देश्य थियो, जलजला।
पछाडि रोशन र प्रज्वल, त्योभन्दा पछाडि राबत। राज र विप्लव दाइ अझै अगाडि हुनुहुन्थ्यो। स्नेह दाइ र रूपेशलाई मैले देखिनँ। सीता प्याकुरेल र सुमन राजको अघिअघि देखिएको थियो एकछिन। त्यो दृश्य पनि हरायो। कवि अभय        श्रेष्ठ अगाडि हुनुहुन्छ भन्ने खबर पाइयो। राष्ट्रिय कविता महोत्सवमा छानिएका टप १० कवि कोही अघि कोही पछि थिए।
क्यामेरा हुनेहरू आँखाअगाडि आएका दृश्यलाई कैद गर्न आतुर देखिन्थे। ती छापामार साथीलाई मेरो पहिलो प्रश्न थियो- युद्धकालमा तपाईंहरू त धेरै हिँड्नुभो होला है यो बाटो।
हिँडियो नि, कति हिँडियो कति।
मोमिला दिदी आउनुभएन। उतै लिवाङमा बस्नुभो। देवी नेपाल सर पनि अगाडि नै हुनुहुन्थ्यो। दीप दर्पण कता पुगिसकेका थिए कुन्नि।
ती छापामार साथीसँग बात मार्दामार्दै एक घण्टाको बाटो केटेको पत्तै भएन। यद्धका बेला सम्झना भएका घटनाहरू ती छापामार साथीले सुनाउँदा लाग्थ्यो- यो गोरेटो पनि त्यसै बेला बनेको हो। थवाङ र जेलवाङको बीच बाटो भएर जलजला पुगिन्छ- बिहान कसैले भनेको सुनेथेँ।
वाङ भनेको चौर रहेछ।
पूर्वजनसेना कमान्डर क्षितिज मगरलाई हिजो राति ओखरेनीमा देखेथेँ। उनलाई सोध्न मन थियो- रातो झन्डा गाड्दाका केही अनुभूतिहरू त सोध्न पाइनँ। क्या गजबको कविता वाचन गर्नुभएको थियो लिवाङमा उहाँले।
जलजला जाँदा बीचमा थियौं हामीहरू। हामीलाई लाग्थ्यो- हामीभन्दा पछाडि अझै पचास छन्। हिँड्दाहिँड्दै हामी त सबैभन्दा पछाडि भइसकेको हामीले बिर्सिसकेका थियौं।
गारो भो त हँ पहाड चढ्न- राबत बोल्यो।
पानी पिउँ दाइ। चक्लेट खाऊँ- रोशन बोल्यो।
सबले छाडेर गएछन्। भोक लाग्यो, खानेकुरा छ त झोलामा- राबत बोल्यो।
चाउचाउ छ दाइ- रोशन बोल्यो।
सगरमाथा कसरी चढ्छन् हो मान्छेहरू ?        अचम्म छ। यति उकालो चढ्दा फोक्सो बाहिर आउलाजस्तो हुन्छ त, एकछिन बसौं है- म बोलेँ। अब बोल्ने भनेको हामी तीनजनामा एकआपसमा मात्र हो। अरू कता पुगे पुगे, आँखाले नदेख्ने गरी।
हामीसँग क्यामेरा नभए पनि अनेक प्रकारका गुराँसलाई आँखामा कैद गरिसकेका थियौं। कसरी उठे होलान् यहाँ यसरी गुराँसका बोटहरू। कसले रोप्यो होला यसरी मन यहाँ ?        प्रकृति यहाँबाट अन्त जान नमानेजस्तो।
बीच बाटोमा नवीन विभास भेटिए। बिहान गफिएको छापामार साथी पनि भेटिए। हामी त अन्तिम पदयत्री पर्‍यौं- नवीन विभासलाई भनेँ। उहाँहरू फोटो खिच्दै हुनुहुन्थ्यो। त्यही कारणले पनि भेट भयो।
बड्डाहरू कति ढिलो त- विभास बोले।
केको ढिलो हुनु, यो त चाँडै हिँडेको। भर्खर त ६ घण्टा भो हिँडेको।
गुराँसमात्र देखेपछि राबतले आफ्नो भावी योजना सुनायो- यो ठाउँमा प्रेमी-प्रेमिकाहरू आएर बस्ने पार्क बनाउनुपर्छ। अझ भनूँ हनिमुन स्थल। अरूलाई नो इन्ट्री हुने गरी। हेर्नुस् त, त्यो गुराँसको बोटलाई। उसले आफ्नो औंला सोझ्यायो।
क्षितिज मगरलाई सम्झेपछि मनमा एउटा कुरा खेल्यो- युद्धले यहाँसम्म ल्यायो रोल्पालाई। डाँडामा पुगेपछि अघि छाडेर आएको बाटोलाई एकचोटि नियालेँ।
युद्धले बनाएका घाउहरू र युद्धपछिको रोल्पा अनि थरीथरीका गुराँसले मनमा अनेक किसिमका प्रश्नहरू खडा गरिदियो। यो प्रश्न कोसँग सोध्ने होला ?        उत्तर कसले देला ?        यो कुरालाई मनकै गर्भमा राखिदिएँ। जलजला कस्तो होला ?       
पदयात्राका क्रममा सँगैका साथी छुटिगए। युद्धकालमा पनि यसरी साथीहरू छुट्दा हुन्- सम्झिएँ। दिनको ३ बजे राबत, नवीन विभास, रोशन, ती छापामार साथी र म जलजला पुग्यौं। सबभन्दा छिटो पुग्ने राज शाह भएछ। ऊ १२ बजे नै पुगेको हल्ला जलजलामा फैलियो।
चौरमा भात पाकिसकेको गन्ध मैले चाल पाएँ। नजिक गएर नियालेँ। तरकारी पाक्दै रहेछ। साथीहरू कविता वाचनमा थिए। डोकोभरि भात देखेँ। यसरी डोकोमा भात राखेको मैले पहिलो चोटि देखेको थिएँ। भात खाऊँ न, साह्रै भोक लाग्यो। तरकारी नभए पनि हुन्छ- मैले भनेँ।
तरकारी चलाउँदै गर्नुभएका साथी बोल्नुभो- अहिले भात दिन मिल्दैन। आदेश त्यस्तै छ।
त्यो आदेश दिने मै हुँ। अब हुन्छ भात दिनुस्- मैले भोकले गर्दा ढाँटेँ।
आदेश दिने मान्छेले भनेपछि त दिइहाल्छु नि। उहाँ भात पस्किन थाल्नुभो।
सबैभन्दा ढिलो जलजला पुग्ने पनि हामी। भात खाऊँ न भोक लाग्यो भन्ने चैं पहिलोमा हामी नै। झोलालाई फालिदिएँ। भात खानेमा पहिलो म भएँ। दोस्रो राबत। तेस्रो रोशन।

ढिलो आउने माझमा सुत्ने- राज बोल्यो। उसको प्रश्नको उत्तर दिने फुर्सद मलाई थिएन। भात खाएपछि एकछिन जलजलाको छातीमा रोशन र म पल्टिन पुग्यौं। साथीहरूको थवाङ यात्रा सुरु भइसकेको थियो।
यो पो हो जलजला। यसको सुन्दरताको बयान कसले गर्ला ?       
जलजलाबाट थवाङ पदयात्रा गर्ने क्रममा हामी फेरि अन्तिम पदयात्री भएका थियौं। राबत, नवीन लोचनमगर, देवी गुरुङ, दिलकुमारी मगर, प्रज्वल अधिकारी, रोशन पुन र म उसैगरी हिँड्यौं लट्ठी टेकेर। जलजलाबाट पैदलयात्रा गरेर फेरि हामी ओरालै ओरालो हिँड्यौं लट्ठी टेकेर।
अब आउँछ। तलाबाङ। राँचीबाङ। खुन्ठीबाङ।
हैन यो बाङ पनि कति हो भन्या।
बीचमा सानो पँधेरोनिर दीप दर्पण, स्नेह सायमी दाइलाई कुरेर बसेको भेटियो। ओम पन्छी स्नेह दाइको स्याहारमा व्यस्त देखिनुहुन्थ्यो। घोडा र खच्चरको एक बथान हामीलाई छाडेर फेरि ओरालो लाग्यो।
त्यसपछि थवाङ।
थवाङ पुगेपछि        श्रीमतीको फोन आयो। उनले भनिन्- छोरी कुरा गर्ने रे। मैले फोन दिनू भनेँ। छोरीले भनी- बाबा कतिखेर आउने घर ?        मैले फेरि घर छाड्दाको उसको मलीन अनुहार सम्झिएँ।        श्रीमतीलाई भनेँ- म यति बेला थवाङ आइपुगेको छु।
गाडी फेरि हाम्रो पछिपछि आयो, उसै गरी धुलो उडाउँदै। अँध्यारोमा को बोल्नुभो मैले चाल पाइनँ। उहाँले भन्नुभो- गाडीमा बसिहाल्नुस्, अब यो गाडीले तपाईंहरूलाई थवाङ लैजान्छ। साँझ परिसकेको थियो।
बीचबीचमा ओर्लंदै उक्लँदै जिन्दगीको मजा लुट्न मैले कुनै कसर बाँकी राखिनँ। गाडीभित्र एक जना बोल्नु भो- हाम्रो उपराष्ट्रपतिको घर यतै पर्छ।
थवाङ आइपुग्यौं।
अँध्यारोले थवाङलाई आफ्नो कब्जामा लिइसकेको थियो। धुलाम्मे बाटो र गाडीको रफ्तारले हामीलाई परिवर्तन गाउँपालिकामा पुर्‍याएर त्यो गाडी उसैगरी बेपत्ता भयो जसरी अघिको उज्यालो हेर्दाहेर्दै बेपत्ता भयो।
अब भात खाने- राज आइपुगे। ओम पन्छी आइपुग्नुभो। प्रज्वल र म अगाडिको होटलमा पुग्यौं। औंलाले इशारा गर्दै भन्यौं- साहुजी छ ?       
के चाहिएको हो तपाईंलाई ?       
चिसो जिनिस क्या। गर्मी भो।
यता त पाइन्न त्यस्तो। ब्यान्ड गरेको छ। जरिवाना लाग्छ। यहाँ त त्यो कुरा सोच्न पनि पाइन्न।
अगाडि सिटमा बस्नुभएको स्नेह सायमी दाजु बोल्नुभो- राबतले कति चोटि सोच्यो।
राबत बोल्यो- दाजु तीन चोटि।
सोचेको पनि जरिवाना। थकान बिर्सिएर खुब मज्जाले हाँस्यौं गाडीभित्र।
ओखरेनीबाट उकालो चढ्दै गर्दा घरि गालामा घरि आँखामा आएर गुराँसका थुंगाहरूले म्वाइँ खाइरहे। कतिको त गुराँसले ओठमा पनि म्वाइँ खायो भन्ने कुरा जलजलामा पुगेपछि थाहा भयो।
जिस्कन त हामी पनि खुब जिस्कियौं गुराँससँग। त्यसकारण त हामीलाई जलजला पुग्न नौ घण्टा लाग्यो।
हिजो रातभरि बसेर दोहोरी गाउँदा बजाएको मादल हरायो। कति मीठो हाँसेर खेम गाउँले बोलेको सम्झिएँ।
व्योमजी अवतारको झोला हरायो। उधारोमा किनेको राबतको टिसर्ट हरायो। मैले त सस्तोमा किनेको थिएँ तर राबतलाई भनेँ- मेरो एकदम महँगो ज्याकेट हरायो। सबभन्दा ठूलो कुरो हाम्रो मन हरायो।
मन उतै हरायो।
बिहानको २ बजे जब लिवाङबाट गाडीमा चढेँ, स्मृतिहरू फेरि उसैगरी हावाजस्तै हलुंगो भएर आयो।
जलजला सम्झिएँ।
विकासका लागि बाटो अनिवार्य छ। तर कति यस्ता ठाउँहरू छन् जहाँ बाटो पुग्दा हामीले विनाशसिवाय अरू केही देख्न पाउँदैनौं। बिन्ती छ, सबै ठाउँमा गाडी पुगे पनि, सबै ठाउँमा बाटो पुगे पनि जलजला पुग्नका लागि चैं गाडी नभए हुन्थ्यो। त्यतातिर बाटो बनाउन डोजर नचले हुन्थ्यो। त्यतातिर बाटो नबने हुन्थ्यो। बाटोले जलजलालाई कुरूप बनाउँछ। मास्छ हाम्रो गुराँसको सौन्दर्य। मास्छ रोल्पाको सौन्दर्य। त्योभन्दा पनि बढी मन भत्काउँछ त्यसले। भत्केको मन कसरी हेर्ने होला ?        ऐंठन भएर आयो।
त्रिपाठी ‘सालिकहरूको देश’ र ‘बा’ पुस्तकका सर्जक हुन्।


लिच्छविकालीन गुठीले सिकाएको पाठ


लिच्छविकालीन गुठीले सिकाएको पाठ
 १९ असार २०७६ ०९:२८:००
संसारका विभिन्न मुलुकमा कतिपय प्रणाली त्यहाँको इतिहासका निरन्तरता हुन्छन्। तिनमा त्यहाँको समाजको प्रभाव हुन्छ। कति पश्चिमा सामाजिक सम्झौतामा विश्वास गर्छन् र जनताले सबथोक राज्यलाई सुम्पेर सरकारलाई आफूमाथि शासन गर्ने अधिकार दिएको मान्छन्। उनीहरूमध्ये कति क्रिस्चियन डिस्कभरीमा विश्वास गर्छन् र जग्गा–जमिन र सिंगो महाद्वीपसम्म आफूले पत्ता लगाएको र आफ्नो भएको भ्रम फैलाउँथे। सायद मनमा त्यो धङधङी पाल्ने अझै हुन सक्छन्। युरोपमा बसी पादरीले जारी कागज देखाएर दक्षिण अमेरिकामा जमिन हडपेका उदाहरण पनि सार्वजनिक छन्। जमिनमाथि आँखा लगाउने चलन नौलो र हाम्रो मात्र होइन।
नेपालमा केही वर्षयता यहाँ कार्यरत विदेशी संस्था नेपालका धर्म, पद्धति, सभ्यता, संस्कृति र आफ्नो साथ नदिनेको व्यक्तित्व समाप्त गर्न निरन्तर लागेका छन्। यसका लागि क्षेत्रीय, जातीय र पारिवारिक स्तरसम्म फुट पैदा गराइँदै छ। नेपालका कानुन नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमाथि प्रभाव पार्ने क्रम जारी छ। उनीहरू वाद, सिद्धान्त, परिवर्तन, रूपान्तरण र दयाको आड लिएर वादमाथि विश्वास हावी गराउँदै छन्। यस्तो पृष्ठभूमिमा कानुन, नीति र पाठ्यक्रम मसौदा गर्ने, स्वीकृत वा पारित गर्नेमध्ये दाताजीवीहरू तोकिएको परिणाम प्राप्तिको दबाबमा रहने र राष्ट्रसापेक्ष काम गर्न खोज्नेहरू दबाब रोक्ने तनावमा रहनुपर्ने अवस्था छ।
गुठी नेपालको आध्यात्मिक, सांस्कृतिक, संस्कारजन्य र लौकिक उन्नयन तथा विकासमा जनसहभागिता र स्थानीय स्वायत्तताको निम्ति अगाडि आएको हो। नेपालमा बाटोमा पानी राख्ने, वास बस्न पाटीपौवा बनाउने, वन जोगाउने, स्वास्थ्य, शिक्षा, संगीत, वातावरण रक्षा, सरसफाइ, चाडपर्व मनाउनेदेखि जात्रा चलाउनेसम्मका काममा गुठी संलग्न भएको पाइन्छ।
व्यक्ति एक्लैले गर्न सम्भव वा पर्याप्त नहुने काम गुठीमार्फत सामूहिकतामा वा संगठित भई गर्न गुठीले सिकाएको देखिन्छ।
गुठी उदात्त मन र दान तथा अर्पणजस्तो पवित्र भावको उपज थियो। यो अधिकार खोज्न, नाफा कमाउन आर्थिक लाभ लिनदिन भनेर सुरु गरिएको देखिँदैन। सम्पत्ति आर्जन नभई सम्पदा विकास र संरक्षण तथा अधिकार खोज्नेभन्दा कर्तव्य निर्वहन यसको निहितार्थ रहेको पाइन्छ।
यो आलेखमा लिच्छविकालीन गुठी व्यवस्था सम्बन्धमा सीमित रही चर्चा गरिनेछ।
अभिलेख व्यवस्था
लिच्छविकालमा श्रद्धालु राजा र प्रजाले धार्मिक कुरा चलाउन र लोकको हित हुने कामको लागि अर्पण गरेको चलअचल सम्पत्तिलाई नियत रूपमा उपयोग
गरी निश्चित उद्देश्य प्राप्त गर्न गोष्ठी (गुठी शब्दको पूर्वरूप) खडा गरिएका हुन्थे। लिच्छविकालको जनजीवनमा गोष्ठी प्रथा अभिन्न अंग बनेको थियो। त्यसबेला गोष्ठी परिवारको अधीन रहेको र नियत गुठियारलाई सुम्पेको गरी दुई किसिमका थिए। पारिवारिक गुठी परिवारका सन्तान दरसन्तानको विवेकबाट चल्थे। गुठियारलाई सुम्पेका गुठी दाताका सन्तानको अधीन नरही नियत व्यक्ति र निश्चित व्यवस्थाका आधारमा चल्थे। (धनवज्र वज्राचार्य, लिच्छवि कालका अभिलेख, २०३० पृष्ठ १५७)
लिच्छवि कालमा धार्मिक र शिक्षा, स्वास्थ्य आदि लौकिक काम कुरा चलाउन गोष्ठीहरू खडा गरिएका थिए। आवश्यक कुरा मिलेर गर्ने नै गोष्ठी प्रथाको आधार हो। गोष्ठी शब्दबाट गुठी बनेको हो। त्यसबेला धार्मिक र लौकिक काम चलाउन राजा प्रजाले चलअचल सम्पत्ति दान गर्थे। आर्थिक सहायताबाट गोष्ठी चल्थे। गोष्ठीका सदस्यलाई गौष्ठिक भनिन्थ्यो। लिच्छवि कालका शासकले यस्ता संघटनलाई सुविधा दिई प्रोत्साहन गर्थे। (वज्राचार्य २८६)
लिच्छवि कालमा लौकिक गोष्ठीको रूपमा पानीय गोष्ठीले खाने पानीको व्यवस्था मिलाउने काम गथ्र्यो। जात्रा, मेला आदिमा पानीको व्यवस्था गर्न गोष्ठी सक्रिय हुन्थे। मछिन्द्रनाथको जात्रामा पानीको व्यवस्था मिलाउने काम आजसम्म पनि गुठीको तर्फबाट हुन्छ। (ऐजन)
स्थायी रूपमा पानीको बन्दोबस्त गर्न धारा बनाउने, तिनको रेखदेख र मर्मत गर्ने काम प्रणाली गोष्ठीले गर्थ्यो। (ऐजन)
बग्गी, गाडा र यातायातसम्बन्धी सुविधा मिलाउन प्रवहण गोष्ठी, कुस्ती वा मल्लयुद्धसम्बन्धी व्यवस्थाको लागि मल्लयुद्ध गोष्ठी, मूर्ति बनाउन अर्चागोष्ठी, बाजाको बन्दोबस्त गर्न वादित्र गोष्ठी, ध्वजको बन्दोबस्त गर्न ध्वजागोष्ठी, बत्ती व्यवस्थाका लागि प्रदीप गोष्ठी, धूपका लागि धूप गोष्ठी थिए। वेद अध्ययनका लागि तैत्तिरिय शाखा गोष्ठी थिए भने ब्राह्मण गोष्ठीजस्ता वर्गविशेषसम्बन्धी गोष्ठी पनि थिए। (ऐजन २८६, २८७)
गुठीका विषयमा नीति वा कानुन बनाउँदा गुठीको प्रकृति, प्रकार र मर्मलाई नजरअन्दाज गर्न खोजे समस्या आउन सक्छ।
मिलेर काम गर्ने भावनाले नै गोष्ठी प्रथाको जन्म दिएको हो। मिलेर गर्नुपर्ने धेरैजसो कुरा (काम) गोष्ठीद्वारा गरिएको देखिन्छ। (ऐजन २८७)
बाजा बजाउने काम एक दिनमा सिक्न सकिँदैन। त्यसका लागि तालिम व्यवस्था गर्न बाजा गुठी खडा गरी बाजा बजाउन सिकाउने व्यवस्था गरिएको हो। ध्वजा घुमाउने तरिका सिकाउन, धूप बनाउने कला सिकाउन, मूर्ति बनाउन सिकाउन केही वर्ष समय लाग्ने हुनाले त्यो सिकाउन भिन्नाभिन्नै गोष्ठीको व्यवस्था भएको हो। (ऐजन २८७)
आरोग्यशाला गोष्ठी सार्वजनिक प्रकृतिको औषधालय हो र त्यसमा सबभन्दा धेरै रकम छुट्ट्याएको देखिन्छ। राजा नरेन्द्रदेवको पालामा पनि बिरामीहरूको उपचारका लागि गुठीहरू रहेको पाइन्छ। चिनियाँ राजदूत वाङयुनचेको वर्णनमा पनि नेपालीहरू औषधिको काममा सिपालु रहेको भन्ने कुरा परेको छ। (ऐजन २८८)
त्यसबेला नवग्रहभित्रका गोष्ठीका खेतहरूमा मालपोत मिनाहा गरिएको छ। त्यसबेला सरकारले गोष्ठीहरूलाई प्रोत्साहन गथ्र्यो। अंशुवर्माले गोष्ठीका सदस्यहरूको सम्मानका लागि केही रकम नियत गरिदिएका थिए। (ऐजन २८८)
धर्म, स्वास्थ्य. शिक्षा आदि जनजीवनमा आवश्यक कैयन् कुरा त्यसबेला गोष्ठीद्वारा गरिन्थ्यो। जनताको सुविधा होस् र व्यवस्थापूर्वक काम सम्पन्न होऊन् भनी अंशुवर्माले गोष्ठीहरूको व्यवस्था मिलाइदिएका हुन्। (ऐजन २८८ थप पूर्णिमा अंक १३)
लिच्छविकालमा गोष्ठी आदि संघ–संगठनमार्फत जनता निकै संगठित थिए। जनता यसरी संगठित भएकाले शासकले जनतालाई हात लिन आवश्यक ठानी जनतालाई स्वायत शासनसम्बन्धी अधिकार सुम्पिँदै जाने नीति लिए। यसले तत्कालीन प्रशासनमा नयाँ मोड नै ल्यायो। (पाञ्चाली शासन पद्धतिको ऐतिहासिक विवेचना धनवज्र बज्राचार्य, टेकबहादुर श्रेष्ठ, २०३५, पृ १०)
त्यसबेला गोष्ठीहरूको सुव्यवस्था गरी समाजलाई संगठित गरियो। (वज्राचार्य र श्रेष्ठ पृ १४) लिच्छविकालमा गोष्ठी आदि स्थानीय संगठनमार्फत जनता संगठित भएकाले शासकले जनताको मुख हेर्नुपथ्र्यो र जनता नभड्कियून् भनी शासकले दृष्टि दिइरहनुपथ्र्यो। (ऐजन पृ २३) गोष्ठीजस्ता जनताका संगठनहरूलाई हर किसिमले प्रोत्साहित गर्ने नीति अंशुवर्माको थियो। (ऐजन ८८)
लिच्छविकालीन समाजमा धार्मिक र सामाजिक खालका विभिन्न काम गर्न गोष्ठी संस्था खडा गर्ने र चलाउने विशेषता थियो। लिच्छविकालीन लेलेस्थित शिलालेख हेर्दा त्यसबेलाको समाज कति व्यवस्थित थियो भन्ने कुरा अन्दाज गर्न सकिन्छ। अंशुवर्माको पालामा गुठियारले मुद्रा (रकम) पाउने व्यवस्था थियो। नरेन्द्र देवको पालाको देवपाटन नवगृह बस्तीमा रहेका गोष्ठीहरूमा चाट र भट (सरकारी कर्मचारीका पदनाम) हस्तक्षेप गर्न नपाउने बन्देज पनि बाँधिएको देखिन्छ। गोष्ठी लिच्छविकालीन महत्वपूर्ण गैरसरकारी संस्थाका रूपमा रहेका देखिन्छन् र यिनको वास्तविक र विश्लेषणात्मक इतिहास तयार पार्ने काम बाँकी छ। (नेपालको वैधानिक परम्परा, डा. जगदीशचन्द्र रेग्मी २०३६ पृष्ठ ५८(६०)
सिक्न सकिने पाठ
१. गुठी पवित्र दान र कल्याणको भावनाबाट स्वेच्छाले अर्पण गरिएको चलअचल सम्पत्ति हो। यो कसैको सम्पत्ति खोसेर र राजाज्ञाद्वारा जबर्जस्ती राख्न लगाएको भन्ने पाइँदैन। स्वेच्छिक दान र अर्पण हुँदा यो शोषण, अन्याय र अत्याचारको माध्यम थिएन।
२. गुठी जनताको स्वतस्फुर्त भावनाको परिणाम हो। खासगरी व्यक्तिले एक्लै गर्न नसक्ने वा पर्याप्त नहुने काम गर्न सामूहिकता र संगठनात्मक रूपमा गर्न गुठी संस्था खडा गरिएका हुन्।
३. गुठी जनताले आफ्नै विवेकमा सुरु गरेको जनसहभागितामा विकास गर्ने संगठित उपाय हो। यो स्थानीय स्तरमा काम गर्न सरकारको मुख मात्र नताक्ने नागरिक मनोविज्ञानको उपज र विकासको सामाजिक चेत हो।
४. गुठी कसैलाई अधिकार दिन र कसैको अधिकार खोस्न सुरु गरिएको होइन। यो कर्तव्य अभिमुखी अवधारणा हो।
५. गुठी सरकारी संयन्त्रको बुद्धि र विवेकको उपज नभई जनताले जनस्तरमा सामाजिक र आध्यात्मिक प्रयोजनका लागि खडा गरेका हुन्।
६. सरकारले गुठीजस्ता संस्थालाई आफ्नो राजस्व बढाउने वा त्यसबाट नाफा कमाउन दिने गरेको देखिँदैन। गुठी सरकारले आफैं वा कर्मचारीबाट चलाउने संस्था होइन।
७. गुठीमा सरकारले हस्तक्षेप नगर्ने नीतिअन्तर्गत गुठीका विषयमा सरकारी कर्मचारीलाई (चाट भट) प्रवेश निषेध नै थियो। पारिवारिक गुठी परिवार र नियत गुठी गुठियारले चलाउँथे। दुवै गुठीको सम्पत्तिमा सरकारले आँखा लगाउनुको सट्टा सहयोग गरेको देखिन्छ।
८. गुठियारलाई सरकारले मर्यादा मात्र होइन, आर्थिक सहायता पनि दिने गथ्र्यो।
९. गुठीको रूपमा स्थानीय नागरिक संस्थाले लोककल्याणकारी काम गरेकाले राज्यले तिनलाई सहयोग समर्थन र प्रोत्साहन गरेको हो।
१०.गुठी कामको प्रकृतिअनुसार धार्मिक र लौकिक दुई प्रकारको हुन्छ। धार्मिक गुठी भनेका मठमन्दिर र पूजा, जात्रा, पर्व, ध्वजा आदि सम्बद्ध हुन् भने शिक्षा, स्वास्थ्य, यातायात, वन, वातावरण, पानी आदि सम्बद्ध गुठी लौकिक गुठी हुन्। यस्तै गुठी सञ्चालनको हिसाबले परिवारले चलाउने निजी र नियत गुठियारले पूर्वनिर्धारित व्यवस्थाबमोजिम चलाउने गरी दुई किसिमका थिए।
११. गुठीमा राजा र शासकले पनि सम्पत्ति दान गर्थे। तर गुठीको सम्पत्तिमा आँखा लगाउँदैनथे।
१२. गुठीको आम्दानीबाट राज्य कोष बढाउने वा राजनीतिक लाभ लिने आशय रहेको देखिँदैन।
१३. गुठीको प्रोत्साहनका लागि मालपोत मिनाहा गरेको देखिन्छ।
१४. गुठीका कारण समाज व्यवस्था सुचारु र व्यवस्थित थियो।
१५. गुठीले मानिसमा परोपकार, सेवाभाव र दानशीलता अभिवृद्धि गर्न मद्दत गरेको थियो।
१६. स्वास्थ्य संस्था खडा गरी स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको थियो, जसको प्रशंसा चिनियाँ राजदूतले पनि गरेका थिए।
गुठीमा हाम्रो आफ्नै मौलिकता छ। किनकि यसको लामो जरो यहीं छ। गुठीको आत्मा–अध्यात्म, अर्पण, संस्कृति, संस्कार, स्थानीय स्वायत्तता र विकास हो। यो सरकारले लादेको र राजस्वका लागिसम्म आँखा लगाएको क्षेत्र होइन। त्यसैले अहिले पनि संविधानले सञ्चित कोषबाट बोलीचालीमा देवस्व भनिने गुठी रकम अलग गरेको छ। गुठी जनताले स्वेच्छाले सामाजिक कल्याणका लागि मिलेर काम गर्ने संस्थागत प्रबन्ध हो, जसलाई सरकारले सहयोग, सम्मान र प्रोत्साहन गरेको भने हो। यो शोषणको पर्याय होइन। यो सम्पत्ति अर्पण गरेर सुरु भएको हो खोसेर होइन।
गुठीका विषयमा नीति वा कानुन बनाउँदा गुठीको प्रकृति, प्रकार र मर्मलाई नजरअन्दाज गर्न खोजे समस्या आउन सक्छ। गुठीको जरामा मोहियानीको अवधारणा थिएन। यो पछि गुठी राख्न छोड्दै गएपछिको र सम्पदालाई सम्पत्ति मान्न थालेपछिको समस्या हुन सक्छ। गुठी जग्गा कमाउनेहरूका समस्या समाधान हुनु मानवीय पक्ष अवश्य हो।
खासखास अन्तरालमा गुठीको जग्गामा स्वामित्व दिँदै गए एक दिन गुठी लोप हुने सम्भावना हुन्छ। गुठीको जरो मासेर अधिकार स्थापना गर्न खोज्दा त्यसले पक्कै तरंग पैदा गर्छ। गुठी महन्त र गुठियारले दुरुपयोग गर्न पाउनु हुँदैन। गुठी परिवार र समाज कल्याणका निम्ति राख्ने परम्परा रहेकाले यसको प्रयोग कल्याणसापेक्ष रहन दिनु कल्याणकारी नै हुन सक्छ। लिच्छविकालीन व्यवस्थाले यतै संकेत गरेको देखिन्छ।


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...