लिच्छविकालीन गुठीले सिकाएको पाठ
१९ असार
२०७६ ०९:२८:००
संसारका विभिन्न मुलुकमा कतिपय प्रणाली त्यहाँको इतिहासका
निरन्तरता हुन्छन्। तिनमा त्यहाँको समाजको प्रभाव हुन्छ। कति पश्चिमा सामाजिक
सम्झौतामा विश्वास गर्छन् र जनताले सबथोक राज्यलाई सुम्पेर सरकारलाई आफूमाथि शासन
गर्ने अधिकार दिएको मान्छन्। उनीहरूमध्ये कति क्रिस्चियन डिस्कभरीमा विश्वास
गर्छन् र जग्गा–जमिन र सिंगो महाद्वीपसम्म आफूले पत्ता लगाएको र आफ्नो भएको भ्रम
फैलाउँथे। सायद मनमा त्यो धङधङी पाल्ने अझै हुन सक्छन्। युरोपमा बसी पादरीले जारी
कागज देखाएर दक्षिण अमेरिकामा जमिन हडपेका उदाहरण पनि सार्वजनिक छन्। जमिनमाथि
आँखा लगाउने चलन नौलो र हाम्रो मात्र होइन।
नेपालमा केही वर्षयता यहाँ कार्यरत विदेशी संस्था नेपालका धर्म, पद्धति, सभ्यता, संस्कृति र
आफ्नो साथ नदिनेको व्यक्तित्व समाप्त गर्न निरन्तर लागेका छन्। यसका लागि
क्षेत्रीय, जातीय र पारिवारिक स्तरसम्म फुट पैदा गराइँदै छ।
नेपालका कानुन नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमाथि प्रभाव पार्ने क्रम
जारी छ। उनीहरू वाद, सिद्धान्त, परिवर्तन, रूपान्तरण
र दयाको आड लिएर वादमाथि विश्वास हावी गराउँदै छन्। यस्तो पृष्ठभूमिमा कानुन, नीति र
पाठ्यक्रम मसौदा गर्ने, स्वीकृत वा पारित गर्नेमध्ये दाताजीवीहरू तोकिएको
परिणाम प्राप्तिको दबाबमा रहने र राष्ट्रसापेक्ष काम गर्न खोज्नेहरू दबाब रोक्ने
तनावमा रहनुपर्ने अवस्था छ।
गुठी नेपालको आध्यात्मिक, सांस्कृतिक, संस्कारजन्य
र लौकिक उन्नयन तथा विकासमा जनसहभागिता र स्थानीय स्वायत्तताको निम्ति अगाडि आएको
हो। नेपालमा बाटोमा पानी राख्ने, वास बस्न पाटीपौवा बनाउने, वन जोगाउने, स्वास्थ्य, शिक्षा, संगीत, वातावरण
रक्षा, सरसफाइ, चाडपर्व मनाउनेदेखि जात्रा
चलाउनेसम्मका काममा गुठी संलग्न भएको पाइन्छ।
व्यक्ति एक्लैले गर्न सम्भव वा पर्याप्त नहुने काम गुठीमार्फत
सामूहिकतामा वा संगठित भई गर्न गुठीले सिकाएको देखिन्छ।
गुठी उदात्त मन र दान तथा अर्पणजस्तो पवित्र भावको उपज थियो। यो
अधिकार खोज्न, नाफा कमाउन आर्थिक लाभ लिनदिन भनेर सुरु गरिएको
देखिँदैन। सम्पत्ति आर्जन नभई सम्पदा विकास र संरक्षण तथा अधिकार खोज्नेभन्दा
कर्तव्य निर्वहन यसको निहितार्थ रहेको पाइन्छ।
यो आलेखमा लिच्छविकालीन गुठी व्यवस्था सम्बन्धमा सीमित रही चर्चा
गरिनेछ।
अभिलेख व्यवस्था
लिच्छविकालमा श्रद्धालु राजा र प्रजाले धार्मिक कुरा चलाउन र लोकको
हित हुने कामको लागि अर्पण गरेको चलअचल सम्पत्तिलाई नियत रूपमा उपयोग
गरी निश्चित उद्देश्य प्राप्त गर्न गोष्ठी (गुठी शब्दको पूर्वरूप)
खडा गरिएका हुन्थे। लिच्छविकालको जनजीवनमा गोष्ठी प्रथा अभिन्न अंग बनेको थियो।
त्यसबेला गोष्ठी परिवारको अधीन रहेको र नियत गुठियारलाई सुम्पेको गरी दुई किसिमका
थिए। पारिवारिक गुठी परिवारका सन्तान दरसन्तानको विवेकबाट चल्थे। गुठियारलाई
सुम्पेका गुठी दाताका सन्तानको अधीन नरही नियत व्यक्ति र निश्चित व्यवस्थाका
आधारमा चल्थे। (धनवज्र वज्राचार्य, लिच्छवि कालका अभिलेख, २०३० पृष्ठ
१५७)
लिच्छवि कालमा धार्मिक र शिक्षा, स्वास्थ्य
आदि लौकिक काम कुरा चलाउन गोष्ठीहरू खडा गरिएका थिए। आवश्यक कुरा मिलेर गर्ने नै
गोष्ठी प्रथाको आधार हो। गोष्ठी शब्दबाट गुठी बनेको हो। त्यसबेला धार्मिक र लौकिक
काम चलाउन राजा प्रजाले चलअचल सम्पत्ति दान गर्थे। आर्थिक सहायताबाट गोष्ठी चल्थे।
गोष्ठीका सदस्यलाई गौष्ठिक भनिन्थ्यो। लिच्छवि कालका शासकले यस्ता संघटनलाई सुविधा
दिई प्रोत्साहन गर्थे। (वज्राचार्य २८६)
लिच्छवि कालमा लौकिक गोष्ठीको रूपमा पानीय गोष्ठीले खाने पानीको
व्यवस्था मिलाउने काम गथ्र्यो। जात्रा, मेला आदिमा पानीको व्यवस्था
गर्न गोष्ठी सक्रिय हुन्थे। मछिन्द्रनाथको जात्रामा पानीको व्यवस्था मिलाउने काम
आजसम्म पनि गुठीको तर्फबाट हुन्छ। (ऐजन)
स्थायी रूपमा पानीको बन्दोबस्त गर्न धारा बनाउने, तिनको
रेखदेख र मर्मत गर्ने काम प्रणाली गोष्ठीले गर्थ्यो। (ऐजन)
बग्गी, गाडा र यातायातसम्बन्धी सुविधा मिलाउन प्रवहण
गोष्ठी, कुस्ती वा मल्लयुद्धसम्बन्धी व्यवस्थाको लागि
मल्लयुद्ध गोष्ठी, मूर्ति बनाउन अर्चागोष्ठी, बाजाको
बन्दोबस्त गर्न वादित्र गोष्ठी, ध्वजको बन्दोबस्त गर्न
ध्वजागोष्ठी, बत्ती व्यवस्थाका लागि प्रदीप गोष्ठी, धूपका लागि
धूप गोष्ठी थिए। वेद अध्ययनका लागि तैत्तिरिय शाखा गोष्ठी थिए भने ब्राह्मण
गोष्ठीजस्ता वर्गविशेषसम्बन्धी गोष्ठी पनि थिए। (ऐजन २८६, २८७)
गुठीका विषयमा नीति वा कानुन बनाउँदा गुठीको प्रकृति, प्रकार र
मर्मलाई नजरअन्दाज गर्न खोजे समस्या आउन सक्छ।
मिलेर काम गर्ने भावनाले नै गोष्ठी प्रथाको जन्म दिएको हो। मिलेर
गर्नुपर्ने धेरैजसो कुरा (काम) गोष्ठीद्वारा गरिएको देखिन्छ। (ऐजन २८७)
बाजा बजाउने काम एक दिनमा सिक्न सकिँदैन। त्यसका लागि तालिम
व्यवस्था गर्न बाजा गुठी खडा गरी बाजा बजाउन सिकाउने व्यवस्था गरिएको हो। ध्वजा
घुमाउने तरिका सिकाउन, धूप बनाउने कला सिकाउन, मूर्ति
बनाउन सिकाउन केही वर्ष समय लाग्ने हुनाले त्यो सिकाउन भिन्नाभिन्नै गोष्ठीको
व्यवस्था भएको हो। (ऐजन २८७)
आरोग्यशाला गोष्ठी सार्वजनिक प्रकृतिको औषधालय हो र त्यसमा सबभन्दा
धेरै रकम छुट्ट्याएको देखिन्छ। राजा नरेन्द्रदेवको पालामा पनि बिरामीहरूको उपचारका
लागि गुठीहरू रहेको पाइन्छ। चिनियाँ राजदूत वाङयुनचेको वर्णनमा पनि नेपालीहरू
औषधिको काममा सिपालु रहेको भन्ने कुरा परेको छ। (ऐजन २८८)
त्यसबेला नवग्रहभित्रका गोष्ठीका खेतहरूमा मालपोत मिनाहा गरिएको छ।
त्यसबेला सरकारले गोष्ठीहरूलाई प्रोत्साहन गथ्र्यो। अंशुवर्माले गोष्ठीका
सदस्यहरूको सम्मानका लागि केही रकम नियत गरिदिएका थिए। (ऐजन २८८)
धर्म, स्वास्थ्य. शिक्षा आदि जनजीवनमा आवश्यक कैयन् कुरा
त्यसबेला गोष्ठीद्वारा गरिन्थ्यो। जनताको सुविधा होस् र व्यवस्थापूर्वक काम
सम्पन्न होऊन् भनी अंशुवर्माले गोष्ठीहरूको व्यवस्था मिलाइदिएका हुन्। (ऐजन २८८ थप
पूर्णिमा अंक १३)
लिच्छविकालमा गोष्ठी आदि संघ–संगठनमार्फत जनता निकै संगठित थिए।
जनता यसरी संगठित भएकाले शासकले जनतालाई हात लिन आवश्यक ठानी जनतालाई स्वायत
शासनसम्बन्धी अधिकार सुम्पिँदै जाने नीति लिए। यसले तत्कालीन प्रशासनमा नयाँ मोड
नै ल्यायो। (पाञ्चाली शासन पद्धतिको ऐतिहासिक विवेचना धनवज्र बज्राचार्य, टेकबहादुर
श्रेष्ठ, २०३५, पृ १०)
त्यसबेला गोष्ठीहरूको सुव्यवस्था गरी समाजलाई संगठित गरियो। (वज्राचार्य
र श्रेष्ठ पृ १४) लिच्छविकालमा गोष्ठी आदि स्थानीय संगठनमार्फत जनता संगठित भएकाले
शासकले जनताको मुख हेर्नुपथ्र्यो र जनता नभड्कियून् भनी शासकले दृष्टि
दिइरहनुपथ्र्यो। (ऐजन पृ २३) गोष्ठीजस्ता जनताका संगठनहरूलाई हर किसिमले
प्रोत्साहित गर्ने नीति अंशुवर्माको थियो। (ऐजन ८८)
लिच्छविकालीन समाजमा धार्मिक र सामाजिक खालका विभिन्न काम गर्न
गोष्ठी संस्था खडा गर्ने र चलाउने विशेषता थियो। लिच्छविकालीन लेलेस्थित शिलालेख
हेर्दा त्यसबेलाको समाज कति व्यवस्थित थियो भन्ने कुरा अन्दाज गर्न सकिन्छ।
अंशुवर्माको पालामा गुठियारले मुद्रा (रकम) पाउने व्यवस्था थियो। नरेन्द्र देवको
पालाको देवपाटन नवगृह बस्तीमा रहेका गोष्ठीहरूमा चाट र भट (सरकारी कर्मचारीका
पदनाम) हस्तक्षेप गर्न नपाउने बन्देज पनि बाँधिएको देखिन्छ। गोष्ठी लिच्छविकालीन
महत्वपूर्ण गैरसरकारी संस्थाका रूपमा रहेका देखिन्छन् र यिनको वास्तविक र
विश्लेषणात्मक इतिहास तयार पार्ने काम बाँकी छ। (नेपालको वैधानिक परम्परा, डा.
जगदीशचन्द्र रेग्मी २०३६ पृष्ठ ५८(६०)
सिक्न सकिने पाठ
१. गुठी पवित्र दान र कल्याणको
भावनाबाट स्वेच्छाले अर्पण गरिएको चलअचल सम्पत्ति हो। यो कसैको सम्पत्ति खोसेर र
राजाज्ञाद्वारा जबर्जस्ती राख्न लगाएको भन्ने पाइँदैन। स्वेच्छिक दान र अर्पण
हुँदा यो शोषण, अन्याय र अत्याचारको माध्यम थिएन।
२. गुठी जनताको स्वतस्फुर्त
भावनाको परिणाम हो। खासगरी व्यक्तिले एक्लै गर्न नसक्ने वा पर्याप्त नहुने काम
गर्न सामूहिकता र संगठनात्मक रूपमा गर्न गुठी संस्था खडा गरिएका हुन्।
३. गुठी जनताले आफ्नै विवेकमा
सुरु गरेको जनसहभागितामा विकास गर्ने संगठित उपाय हो। यो स्थानीय स्तरमा काम गर्न
सरकारको मुख मात्र नताक्ने नागरिक मनोविज्ञानको उपज र विकासको सामाजिक चेत हो।
४. गुठी कसैलाई अधिकार दिन र
कसैको अधिकार खोस्न सुरु गरिएको होइन। यो कर्तव्य अभिमुखी अवधारणा हो।
५. गुठी सरकारी संयन्त्रको
बुद्धि र विवेकको उपज नभई जनताले जनस्तरमा सामाजिक र आध्यात्मिक प्रयोजनका लागि
खडा गरेका हुन्।
६. सरकारले गुठीजस्ता
संस्थालाई आफ्नो राजस्व बढाउने वा त्यसबाट नाफा कमाउन दिने गरेको देखिँदैन। गुठी
सरकारले आफैं वा कर्मचारीबाट चलाउने संस्था होइन।
७. गुठीमा सरकारले हस्तक्षेप
नगर्ने नीतिअन्तर्गत गुठीका विषयमा सरकारी कर्मचारीलाई (चाट भट) प्रवेश निषेध नै
थियो। पारिवारिक गुठी परिवार र नियत गुठी गुठियारले चलाउँथे। दुवै गुठीको
सम्पत्तिमा सरकारले आँखा लगाउनुको सट्टा सहयोग गरेको देखिन्छ।
८. गुठियारलाई सरकारले मर्यादा
मात्र होइन, आर्थिक सहायता पनि दिने गथ्र्यो।
९. गुठीको रूपमा स्थानीय
नागरिक संस्थाले लोककल्याणकारी काम गरेकाले राज्यले तिनलाई सहयोग समर्थन र
प्रोत्साहन गरेको हो।
१०.गुठी कामको प्रकृतिअनुसार धार्मिक र लौकिक दुई
प्रकारको हुन्छ। धार्मिक गुठी भनेका मठमन्दिर र पूजा, जात्रा, पर्व, ध्वजा आदि
सम्बद्ध हुन् भने शिक्षा, स्वास्थ्य, यातायात, वन, वातावरण, पानी आदि
सम्बद्ध गुठी लौकिक गुठी हुन्। यस्तै गुठी सञ्चालनको हिसाबले परिवारले चलाउने निजी
र नियत गुठियारले पूर्वनिर्धारित व्यवस्थाबमोजिम चलाउने गरी दुई किसिमका थिए।
११. गुठीमा राजा र शासकले पनि
सम्पत्ति दान गर्थे। तर गुठीको सम्पत्तिमा आँखा लगाउँदैनथे।
१२. गुठीको आम्दानीबाट राज्य
कोष बढाउने वा राजनीतिक लाभ लिने आशय रहेको देखिँदैन।
१३. गुठीको प्रोत्साहनका लागि
मालपोत मिनाहा गरेको देखिन्छ।
१४. गुठीका कारण समाज व्यवस्था
सुचारु र व्यवस्थित थियो।
१५. गुठीले मानिसमा परोपकार, सेवाभाव र
दानशीलता अभिवृद्धि गर्न मद्दत गरेको थियो।
१६. स्वास्थ्य संस्था खडा गरी
स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको थियो, जसको प्रशंसा चिनियाँ
राजदूतले पनि गरेका थिए।
गुठीमा हाम्रो आफ्नै मौलिकता छ। किनकि यसको लामो जरो यहीं छ।
गुठीको आत्मा–अध्यात्म, अर्पण, संस्कृति, संस्कार, स्थानीय
स्वायत्तता र विकास हो। यो सरकारले लादेको र राजस्वका लागिसम्म आँखा लगाएको
क्षेत्र होइन। त्यसैले अहिले पनि संविधानले सञ्चित कोषबाट बोलीचालीमा देवस्व भनिने
गुठी रकम अलग गरेको छ। गुठी जनताले स्वेच्छाले सामाजिक कल्याणका लागि मिलेर काम
गर्ने संस्थागत प्रबन्ध हो, जसलाई सरकारले सहयोग, सम्मान र
प्रोत्साहन गरेको भने हो। यो शोषणको पर्याय होइन। यो सम्पत्ति अर्पण गरेर सुरु
भएको हो खोसेर होइन।
गुठीका विषयमा नीति वा कानुन बनाउँदा गुठीको प्रकृति, प्रकार र
मर्मलाई नजरअन्दाज गर्न खोजे समस्या आउन सक्छ। गुठीको जरामा मोहियानीको अवधारणा
थिएन। यो पछि गुठी राख्न छोड्दै गएपछिको र सम्पदालाई सम्पत्ति मान्न थालेपछिको
समस्या हुन सक्छ। गुठी जग्गा कमाउनेहरूका समस्या समाधान हुनु मानवीय पक्ष अवश्य
हो।
खासखास अन्तरालमा गुठीको जग्गामा स्वामित्व दिँदै गए एक दिन गुठी
लोप हुने सम्भावना हुन्छ। गुठीको जरो मासेर अधिकार स्थापना गर्न खोज्दा त्यसले
पक्कै तरंग पैदा गर्छ। गुठी महन्त र गुठियारले दुरुपयोग गर्न पाउनु हुँदैन। गुठी
परिवार र समाज कल्याणका निम्ति राख्ने परम्परा रहेकाले यसको प्रयोग कल्याणसापेक्ष
रहन दिनु कल्याणकारी नै हुन सक्छ। लिच्छविकालीन व्यवस्थाले यतै संकेत गरेको
देखिन्छ।