Saturday, August 10, 2019

महेन्द्रको कूटनीति


महेन्द्रको कूटनीति
शुक्रबार, ०३ साउन २०७६, ०८ : ३५ |  युवराज गौतम
हरेक देशमा दुईवटा पाटा हुन्छन्– एउटा रहस्यमा छेकिन्छ। अर्को देखिन्छ। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, नागरिक समुदाय, प्रेसलगायत सबैका चपाउने र देखाउने दाँत हुँदारहेछन्। पारदर्शी हुन कोही चाहँदैन। ‘ट्रान्सपरेन्सी’ भन्ने संस्था नै कति ‘ट्रान्सपरेन्स’ छ भनेर प्रश्न उठाएका छन् पश्चिमका लेखक र विश्लेषकले। कूटनीतिमा पनि कुटिल खेल हुन्छ जो आफैँमा घातक हो।  देखिने र छेकिने कूटनीतिमा रुमल्लिएको छ नेपाल। लेबनान, इराक, इरान, सुडान, अफगानिस्तानलगायत देश पनि यसरी नै फस्दै गएका थिए।
आन्द्रेइ कोलेस्निकोभले लेखेका छन्– ‘आत्मसम्मानका लागि विश्वमा सरकारविरुद्ध जनता संघर्ष गरिरहेका छन्। मर्यादा र सम्मान चाहन्छन् उनीहरू। रसियामा पनि त्यही भइरहेको छ।’ कुनै न कुनै किसिमको वैचारिक ज्वालामुखी देखिन्छ, जताततै। त्यसले पनि कूटनीतिलाई प्रभावित पार्ने गर्छ।
निर्वाचनका बेला जनताबाट प्राप्त समर्थन वा जनादेशको अर्थ अंकुशरहित, विवेकहीन र सर्वसत्तावादी शैलीलाई समर्थन भन्ने होइन। नेताको स्वेच्छामा होइन, नीतिले राष्ट्र चल्नुपर्छ भन्ने राजनीतिशास्त्रको मान्यता छ। राजनीति र कूटनीतिलगायत सबैतिर त्यो लागु हुन्छ। ससाना कुरामा पनि उल्टोपाल्टो गर्ने र गम्भीर विषयलाई बलमिच्याइँ र ठट्टा–रमाइलोमा उडाउने प्रवृत्तिले शासक र सरकार मात्र बदनाम, असफल र अलोकप्रिय बन्दैनन्, राष्ट्रले विश्वसनीयतासमेत गुमाउँछ। त्यस्तो स्थिति टाट पल्टेको बैंकको जस्तै हुन्छ।

महेन्द्रले त्रिपन्न राष्ट्रसँग दौत्य सम्बन्ध नबनाएको भए ब्रिटेन र भारतकै इच्छामा नेपाली कूटनीति रुमलिन सक्थ्यो।
जेठी पत्नीको मृत्युपछि एकजना धनाढ्य व्यक्तिले दोस्रो विवाह गरे। जेठीको कोखबाट जन्मेको तीन÷चार वर्षको बालकलाई हुर्काइन् कान्छी पत्नीले। उनका पनि सन्तान भए। नातागोता, इष्टमित्र, छरछिमेक सबैको दृष्टिमा ‘असल’ देखिने उद्देश्यले उनले जेठीको छोरालाई साह्रै ‘माया’ गर्थिन्। ओछ्यानमै खाने कुरा पु¥याइदिने, बिहान आठ–नौ बजेसम्म सुतिरहन दिने, हिँडडुल गर्दा छोरो थाक्छ भनेर कारमै ओहोर–दोहोर गराउने र केटाले पाँचसय रुपियाँ खर्च माग्दा दुई तीन हजार रुपियाँ दिन्थिन् उनी। त्यस्तो घातक मायाले केटो बिग्रिँदै गयो। मोटाएर नब्बे केजीको भद्दा भयो। रक्सी–चुरोट आदिका कारण अनेकाँै रोगले थला प¥यो। पच्चीस छब्बीस वर्षमै हृदयाघात भएर म¥यो, सौताको छोरो।
दातृनिकाय, विदेशी शक्तिकेन्द्र तथा राजनीति÷कूटनीतिमा चलखेल गरिरहेका षड्यन्त्रकारीहरूले नेपालका प्रायः सबै शक्तिलाई त्यसरी नै अत्यधिक माया गरेर पुल्पुल्याइरहेका छन्। त्यसैले जनताका समस्या सुन्नै चाहँदैनन् नेता र दलहरू। राज्यका हरेक अंगमा जनताका सेवक होइन, ‘मालिक’ बसेका छन्। गाउँगाउँमा ‘सिंहदरवार’ पुगेको प्रचार गरिए पनि वडावडामा हजारौँ श्री ३ पैदा भएका छन्। यो भनेको राष्ट्रलाई कंगाल बनाउने र ऋणमा डुबाउने प्रपञ्चमात्र हो। जनता प्रतिपक्षी बन्दै गएका छन् र सरकार हाँक्ने दलको एउटा सम्प्रदायमात्र आफू सत्यको बाटो हिँडिरहेको दाबी गरिरहेको छ।
राजा महेन्द्रको शासनकालमा चीनका प्रधानमन्त्री चाउ–एन–लाइ तथा उपप्रम तथा विदेशमन्त्री मार्सल चेन यी नेपाल आए। प्रधानमन्त्री बिपी कोइराला तथा चीनका नेताहरूले सिंहदरबारमा संयुक्त पत्रकार सम्मेलन गरे। त्यहाँ चीनका नेताद्वयले स्पष्ट भनिदिए– ‘सबैभन्दा ठूलो कुरा मित्रता हो, कूटनीतिमा। नेपालले चीनको र चीनले नेपालको कहिले अहित चिताउँदैन। चीनले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र सार्वभौमसत्ताको सदैव समान गर्छ।’ भारतीय पत्रकार प्रकाशचन्द्र टण्डनले पटकपटक ‘नेपाल र चीनबीच केही समस्या छ त नि’ भनेर जिस्क्याएपछि मार्सल चेन यी जंगिए–तपाईँ पत्रकारमात्र बनेर प्रश्न गर्नुहोस्।
राजा महेन्द्रले कसरी भारत, चीन र अमेरिका जस्ता राष्ट्रसँग सन्तुलन कायम राखे ? यो प्रश्न परराष्ट्र मामिलामा अभिरुचि राख्ने सबैका निम्ति अध्ययन र जिज्ञासाको विषय बन्ने गरेको छ। प्रवल राष्ट्रवाद, अठोट, निर्णय क्षमता र विश्वास एवं समयमै आन्तरिक तथा बाह्य परिस्थिति बुझ्न सक्ने गुणले महेन्द्र सफल भए। उनको निकट बनेर काम गरेका पुराना राजनीतिज्ञ र कूटनीतिज्ञ भन्छन्– यदाकदा कुनै कुरामा द्विविधा हुँदा उनी तत्काल अरुको सल्लाह लिन्थे।

प्रवल राष्ट्रवाद, अठोट, निर्णय क्षमता र विश्वास एवं समयमै आन्तरिक तथा बाह्य परिस्थिति बुझ्न सक्ने गुणले महेन्द्र सफल भए। उनको निकट बनेर काम गरेका पुराना राजनीतिज्ञ र कूटनीतिज्ञ भन्छन्– यदाकदा कुनै कुरामा द्विविधा हुँदा उनी तत्काल अरुको सल्लाह लिन्थे।
महेन्द्रले त्रिपन्न राष्ट्रसँग दौत्य सम्बन्ध नबनाएको भए ब्रिटेन र भारतकै इच्छामा नेपाली कूटनीति रुमलिन सक्थ्यो। रक्षा र परराष्ट्र मामिलामा भुटानले दिल्लीकै आदेश मान्नुपरेझैँ हामी दुनियाँबाट पृथक बन्न सक्थ्यौँ। तसर्थ, अमेरिका र चीनको विश्वास जितेर राजा महेन्द्रले नेपाललाई मात्र होइन, दक्षिण एसियालाई नै गुन लगाए।
जंगबहादुरलाई नेपोलियनले तरवार उपहार दिए। महारानी भिक्टोरियाले लण्डनमा भव्य स्वागत गर्दैै अभिनन्दनपत्र प्रदान गरिन् जंगबहादुरलाई। क्रिस्चियन धर्मावलम्वी शासक, कहिले सूर्यास्त नहुने सवल राष्ट्रकी महारानीबाट नेपालका प्रधानमन्त्री र प्रधानसेनापतिलाई गरिएको सम्मान ब्रिटेनले नेपाललाई गरेको सम्मान थियो। त्यो कालखण्ड मठ्याहातन्त्र थिएन। आफ्नै इच्छामा नेपाल चलेको थियो।
ससाना कुराको पनि ख्याल गरिन्छ कूटनीतिमा। राजा वीरेन्द्रको चीन भ्रमणका बेला राजाका लागि व्यवस्था गरिएको होटलमा श्री ५ को झण्डा फहयाउनुपर्ने भएपछि बेइजिङका अधिकारीहरूले सोधेछन्– राजाको झण्डामा सिंह अंकित छ। नेपाल दरवारमा राखिएको झण्डामा सिंहका कतिवटा जुँगा छन् ? जानकारी गराउनुहोला।
चीनस्थित नेपाली राजदूतले श्री ५ को झण्डाबारे आद्योपान्त सोधे। सोहीमुताविक जवाफ पठाइयो। यस्तै, अटलबिहारी बाजपेयी भारतको विदेशमन्त्री छँदा नेपाल भ्रमण गरे। राजदवारमा पुगेर सहर्ष राजा वीरेन्द्रको चरण स्पर्श गरे। भारतीय पत्रकारहरूले यसबारे जिज्ञासा राख्दा ‘विश्वका एकमात्र हिन्दु राष्ट्रनायक भएकै कारण राजाको चरण स्पर्श गर्न पाउँदा आफूलाई गर्व लागेको’ बताए। उनले ‘स्वतन्त्र राष्ट्रको हिन्दु राजा अरु कतै छन् भने उनको पनि खुट्टा छोएर आशीर्वाद लिन आफू तयार रहेको’ बताएपछि पत्रकारहरू निरुत्तर भए।
नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री छँदा सन् २००२ को फेब्रुअरी र मार्चमा सो राज्यमा हिन्दु–मुुसलमानबीच दंगा भयो। २५४ जना हिन्दु र ७९० जना मुसलमान मारिए। २२३ जना बेपत्ता पारिए। अमेरिकाले मोदीलाई सन् २००५ मा प्रवेशाज्ञा (भिसा) समेत दिएन। यसले मोदीको कूटनीतिबारे धेरै प्रश्न उठ्यो। पछि उनले अमेरिकासँग सम्बन्ध सुधार गरे। ब्रिटिस लेखक तथा पत्रकार एन्डी मारिनोले ‘नरेन्द्र मोदी ः अ पलिटिकल बायोग्राफी’ पुस्तकमा लेखेका छन्– ‘मोदी जे बोल्छन्, हृदयबाटै बोल्छन्।’ यसको अर्थ उनी देवता होइनन्, केही अवगुण छन् उनका पनि। तर अठोट बलियो छ। अठोटबेगरको कूटनीति ताप र प्रकाश नदिने सूर्यजस्तो हुन्छ।  त्यो न न्यानो हुन्छ न ज्योतिर्मय।
अठोट बलियो छ भने मानिसले गन्तव्य बिर्सिँदैन। टीकाप्रसाद आचार्य नवलपरासीमा मालपोतका हाकिम थिए। उनको प्रशस्त जमिन थियो राणाकालमा। टीकाका छोरा टंकप्रसाद आचार्य राणा शासनका कट्टर विरोधी भए। आचार्यले भनेका थिए– ‘त्यसबेला शासकहरूको चाकरी गरेको भए म पनि जागिरे बन्थेँ होला।’ राडीमा बसेर मकलको आगो तापिरहेका रामहरि शर्माले बालसुलभ पाराले हाँस्दै भने– ‘दाइले भन्नुभएको ठीक हो। हामीले कसैको चाकरी गरेनौँ। जनताको हक, स्वतन्त्रता र प्रजातन्त्र प्राप्ति हाम्रो एकमात्र लक्ष्य थियो।’ बिपी कोइरालाले आत्मवृत्तान्तमा टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वकालमा परराष्ट्रमन्त्री भएका चुडाप्रसाद शर्माका बाबु मोहनशमशेरका हजुरिया थिए भनेर लेखेका छन्।
नेपालमा कुनै राजनीतिक परिवर्तन गर्ने हो भने नेपालीकै बलबुतामा हुनुपर्छ भन्ने टंकप्रसाद आचार्य, रामहरि शर्मा र चुडाप्रसाद शर्मालगायतका प्रजातन्त्रवादीहरूको दृढ विश्वास थियो। त्यसैले २०४६ सालको आन्दोलन ‘विदेशीबाट सञ्चालित’ भन्दै आचार्यले वक्तव्य दिएका थिए। बिपी कोइरालाको सोच–संस्कार (स्कुल अफ थट्) सुरुमा फरक थियो। पुराना राजनीतिज्ञ तथा कांग्रेसका नेता सुन्दरराज चालिसेले ‘बिपीसँग सुरुमा बितेका मेरा केही दिनहरू’ शीर्षकको संस्मरणमा नेपाली कांग्रेस भारतमा जन्मँदा त्यसको नाम अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस रहेको जनाएका छन्। उनले पार्टी स्थापनाका दिन कलकत्तामा भारतीय झण्डा फर्फराइएको र गणेशमान सिंह र आफूले कडा विरोध गरेको उल्लेख गरेका छन्।
नेपाल प्रजापरिषद्को सदस्य रहेका गणेशमान सिंह र चालिसेलगायतका युवकले ‘नेपाल स्वतन्त्र राष्ट्र हो तसर्थ नेपाल र नेपाली हितमा पार्टी खोलिएको हो भने ‘अखिल भारतीय’ भन्ने शब्दहरू हटाऊ भन्ने दबाब दिएको कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले उल्लेख गरेका छन्। (स्रोत– नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, लेखक डा. राजेश गौतम, पृष्ठ ५५)
चर्को विरोध आएपछि ‘अखिल भारतीय’ भन्ने शब्दहरू हटाइयो। प्रजापरिषद्का प्रतिनिधि बनेर गएका गणेशमान सिंह (गुप्त नाम कृष्णबहादुर प्रधान) नेपाली कांग्रेसको सदस्य बनेर स्वदेश फर्किए। त्यसबेलासम्म टंकप्रसाद आचार्य, चुडाप्रसाद शर्मा, रामहरि शर्मा र खड्गमान सिंह काठमाडौँमा बन्दी थिए।
चीनमा माओले सुरुमा त्यस्तै भूल गरेका थिए। माओका रचनामा त्यसको व्याख्या छ। उनले लेखेका छन्– ‘मैले पनि रसिया र त्यहाँका कम्युनिस्ट नेता लेनिनलाई सुरुमा पूर्ण विश्वास गरेँ। पछि ज्ञान भयो, राष्ट्रियताको मोडल आफ्नै हुनुपर्ने रहेछ।’ त्यस्ता ऐतिहासिक पृष्ठभूमिबाट पाठ सिकेका राजा महेन्द्रले नेपालको राजनीति, अर्थतन्त्र, कूटनीतिलगायत आन्तरिक नीतिलाई आफ्नै ढंगले सञ्चालन गरेर ठूला शक्तिको दबाबबाट राष्ट्रलाई तटस्थ राख्न खोजेको देखिन्छ।
२००५ साल वैशाख १४ गते नेपालका प्रधानमन्त्रीले भारतबाटै राजीनामा पठाए। ‘रुन्चे महाराज’ भनिने श्री ३ पद्मको राजीनामा लिएर काठमाडौँ आए विजयशमेशर। ‘वैधानिक कानुन’ लाग गर्ने कुरा स्वतः हरायो। कानुन घोषणा गरे श्री ३ पद्मले तर उनमा त्यो लागु गर्ने अठोट थिएन। इमान, अठोट, समर्पण तथा आत्मसम्मानबेगरका नारा नक्कली ओखती बेच्ने चटकेका जस्तै हुन्छन्।
तपाईँ किन पृथ्वीनारायण शाह, महेन्द्र र वीरेन्द्रका कामको मात्र प्रशंसा गर्नुहुन्छ ?’ काठमाडौँको प्रदर्शनीमार्गमा भेटिएका एकजना प्राध्यापकले पंक्तिकारलाई सोधे। मैले हाँसेर प्रत्युत्तर दिएँ– ‘तपाईँले अहिलेका कुनै जीवित नेतालाई मन, वचन र कर्मले हृदयदेखि पूर्ण विश्वास, श्रद्धा, भरोसा र सम्मान गर्नुभएको छ ?’ जब ठूलो खडेरी पर्छ, तब हामी पानीका मुहान खोज्न थाल्छौँ। नेपाली राष्ट्रवाद र स्वाभिमानको पुनर्जागरण गराए ती महापुरुषले। त्यसैले सम्झना आइररहन्छ, पृथ्वीनारायण, महेन्द्र र वीरेन्द्रको।
सभ्यता, संस्कृति, परम्परा, कूटनीति आदिको अध्ययन गर्दा नेपालको इतिहासप्रति गर्व गर्नैपर्छ। पन्ध्र सय वर्षपहिले पनि हाम्रो आफ्नै मुद्रा, नीति र दर्शन थियो। कहिले पनि पराधीन भएनाँै हामी। कुनै पनि शासक त्यो बेला अरुको खटपनटनमा चलेनन्। केही वर्षयता नेपाल विदेशी शक्तिको उपराज्य जस्तो बन्दै गएको छ। निर्णय अरुले नै गर्दारहेछन्। डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएकै बेला भनेका थिए– साँचो त अन्यन्त्रै रहेछ। आज पनि प्रधानमन्त्री केपी शर्मा ओली लज्जित भएर भन्दैछन्– ‘मलाई त धेरै कुरा थाहै दिएनन्।’ यसबाट स्पष्ट हुन्छ– देश अरुले नै चलाइरहेका छन्।


भगवान् भरोसा/भगवान् भ्रम


भगवान् भरोसा/भगवान् भ्रम
रोशन दाहाल, फुर्सद,  २१ असार २०७६ ०९:०६:००

आस्तिक/नास्तिक

सबै भौतिक पदार्थ अभौतिक ऊर्जाबाट बन्छन्। अर्थात्, हरेक भौतिक पदार्थलाई टुक्राटुक्रा पार्दै जाने हो भने अन्तिममा ऊर्जा बाँकी रहन्छ। त्यही ऊर्जालाई तान्न आफूलाई सधैं तयार राख्नु नै अध्यात्म हो।
कस्तो अचम्म ! हजारौं मन्दिर छन्, हजारौं गुरु छन्, अनि हजारौं शास्त्रीय ग्रन्थ छन्। यस हिसाबले त यहाँ कम्तीमा पनि हरेक तीनजनामा एकजना मनोरोगी हुनुको सट्टा समाधिप्राप्त मान्छे हुनुपथ्र्यो।
पापी मानिएका रावण र दुर्योधनजस्ता व्यक्तिहरू सहजै समाधिमा बस्न सक्छन्, तर हामी धार्मिक मानिएका मान्छेहरू पनि समाधि त के मजाले निदाउनसमेत सक्दैनौं। हामी पाप र धर्मको क्षेत्र छुट्याउँदै झुटो बोल्नु या कसैको चित्त दुखाउने काम गर्नुसमेत पाप हो भनिरहेका छौं, अर्कातिर अर्जुनलगायतका योद्धाहरू हजारौं मान्छे मारिरहेका छन्, तर स्वर्ग पुग्छन्।
म बेलाबेलामा सोच्छु, ‘कसैले आफ्नो जीवनबाट भगवान्लाई हटाइदियो भने के फरक पर्ला ? ’
हुन त यस्ता व्यक्तिहरू पनि जन्मिए, जसले ठाडै ईश्वर छैनन् भनिदिए। ‘ईश्वर मरिसकेका छन्’, महान् दार्शनिक नित्सेले भने।
यो ब्रह्माण्ड आफ्नै नियमले चल्छ। यसका लागि ईश्वर हुनु आवश्यक छैन’, विश्वचर्चित वैज्ञानिक स्टिफन हकिङको धारणा रह्यो।
यी दुई व्यक्तिलाई नास्तिक भनियो। आफ्नाबारेमा नास्तिक भनेर प्रचार हुन थालेपछि हकिङले त सहजै स्वीकार गरे, ‘म नास्तिक नै हुँ, ईश्वर छैनन्।’
उनीहरू मरिसकेपछि पक्कै पनि कुनै ईश्वरले रिसाउँदै ‘तैंले मलाई छैन भनिस्, तँलाई सजाय दिन्छु’ पक्कै भनेनन्। बरु उनीहरूले आफ्नो स्वभावविपरीत कुरा गरेका थिए भने त्यति बेलै पीडित भए होलान्। शास्त्रहरूको मान्यता नै जोड्ने हो भने पनि यतिसम्म चैं भन्न सकिन्छ, आफूले कर्म गर्दाको भावअनुसार बनेको आफ्नो चित्तको संस्कार मर्ने बेलामा बोकेर गए होलान् र सोहीअनुसार कतै पुगे होलान्। यसरी कर्मलाई आधार मान्ने हो भने पनि यहाँ भगवान्को कुनै आवश्यकता छैन।
अर्कातिर बहुमत मान्छेहरू छन्, जसले सोच्छन्, ‘माथि कुनै लोकमा भगवान् बस्छन्। त्यहीँ बसेर संसार चलाइराखेका छन्। कहाँ के भइरहेको छ, ध्यान दिइरहेका हुन्छन्। उनको विरुद्धमा केही गर्‍यो भने सजाय दिन्छन्। मरेपछि उनकै लोकमा पुग्ने मनुष्यको उद्देश्य हुनुपर्छ।’
केही बौद्धिक मान्छे विशेषगरी युवावर्ग असमन्जसमा छन्। एकातिर भगवान्माथि विश्वास गर्न खोज्छन्, तर भगवान् कस्ता छन् भनेर कसैलाई कहिल्यै थाहा भएन। कसैले भगवान्को लोकमा पुगेर भगवान् देखेर आएको पनि छैन। भगवान्का जति पनि मूर्तिहरू छन् मूर्तिकारकै या उसका परिचित अनुहारका जस्ता लाग्छन्। फेरि एउटा ढुंगा देखे पनि त्यसलाई भगवान् मानेर पूजा गर्ने चलन छ। यसरी पूजा गर्नेहरू कुरा भने भगवान् जताततै भएको गर्छन्।
प्रश्न उठ्छ, ‘भगवान् जताततै छन् भने कुनै एउटा मूर्तिलाई पूजा गरिरहनु किन पर्‍यो ? ’
केही सम्प्रदाय त आआफ्ना भगवान् आफूसँग बोकेरै हिँड्छन्। आफ्ना भगवान्लाई नचढाई केही पनि खाँदैनन्।
चारैतिर व्याप्त भगवान्लाई मेरो भगवान् भनेर किन छुट्याउनु पर्‍यो ?
कसैले आफ्नो जीवनबाट भगवान्लाई हटाइदियो भने के फरक पर्ला ?       
यसरी बौद्धिक मानिसहरूले भगवान्माथि जति विश्वास गर्न खोजे पनि सकिरहेका देखिँदैनन्। यसले गर्दा स्वाभाविक रूपमै उनीहरूको विश्वास डगमगाएको अवस्था छ। उनीहरू भगवान्माथि अविश्वास गर्न पनि खोज्छन्। कार्लमाक्र्सको ‘धर्म अफिम हो’ भन्ने भनाइ प्रिय लाग्न थाल्छ उनीहरूलाई। नित्से र स्टिफन हकिङजस्तै गरी ‘ईश्वर छैनन्, ईश्वरको आवश्यकता नै छैन’ भन्न मन लाग्छ। फेरि धार्मिक परिवारमा हुर्किएर आफूभित्र त्यस्तै खालको संस्कार बनेका कारण भित्रभित्रै डर पनि लाग्छ, भगवान्ले मेरो हानि हुने केही गरी पो हाल्ने हुन् कि ! यसरी उनीहरूले मानिरहेका छन् भने पनि डरका कारण भगवान् मानिरहेका छन्। बुढेसकालमा जब शरीर कमजोर बन्दै जान्छ र मृत्युको नजिकनजिक पुगिन्छ, नदेखे पनि भगवान्माथि जबर्जस्ती विश्वास बढाउँदै जान्छन्।
हामी बच्चा हुँदा कसैले भूतको कुरा गरिदियो भने दिउँसै घरभित्र पस्न डर लाग्थ्यो। आजका बच्चाहरूलाई भूतको कुरा गर्‍यो भने फिस्स हाँसेर उडाइदिन्छन्। अहिले डरका कारण भगवान् मानिरहेका मानिसले अबको केही वर्षपपछि भगवान्का बारेमा कुरा गर्‍यो भने फिस्स हाँसेर उडाइदिने समय नआउला भन्न सकिन्न।
म आफैंलाई पनि जिज्ञासा जागिरहेको थियो, ‘मैले मेरो जीवनबाट भगवान् हटाइदिएँ भने के फरक पर्ला ? ’
शास्त्रीय ग्रन्थहरू धेरै पढेपछि, केही वर्ष साधनाभ्यास गरेपछि र हिमाली क्षेत्रमा तपस्यारत केही सन्तसँग संगत गरेपछि मैले मेरो यस जिज्ञासाको बडो मजाले उत्तर पाएँ।
एकजना साधुले त ठोकेरै भनिदिए, ‘आस्तिक भनिएका मान्छेहरूभन्दा नास्तिक मानिएका स्टिफन हकिङ आध्यात्मिक हुन्। उनले संसारको रहस्यका बारेमा धेरै बुझिसकेका थिए। केवल ब्रह्माण्डमा हरेक समय चेतनतत्व हुन्छ भन्नेबारेमा जान्न बाँकी थियो। जागरुकताका बारेमा बुझ्न बाँकी थियो। तर यो उनको रिसर्चबाट सम्भव थिएन।’
ती साधुका अनुसार मान्छेले जति पनि नियम बनाएका छन्, तीभन्दा पर हुन्छ अध्यात्म। नियमहरू त समाजलाई सन्तुलनमा राख्नका लागि समयअनुसार बनाइएका हुन्। अध्यात्म नियम होइन, स्वभावमा टिक्नु हो।
हुन त धर्मको परिभाषा पनि प्रकृतिको नियम हो, तर यो शब्द प्रयोग गर्न डराउनुपर्ने अवस्था आइसकेको छ। आगोले जलाउनु उसको धर्म हो। कुनै शास्त्रमा लेखिएको छ या कुनै सम्प्रदायले भनेको छ भन्दैमा आगोले नजलाउने भन्ने कुरै हुँदैन। आगोको स्वभाव हो जलाउनु।
मान्छेले आफ्नो स्वभावमा टिक्नु धर्म हो। जब ‘यस्तो गर्नुपर्छ या यस्तो गर्नु हुँदैन’ भनेर कुनै बाहिरी नियम लगाइन्छ, त्यो धर्म होइन। मनुष्यको प्राकृतिक स्वभाव हो, निरन्तर जागरुक अवस्थामा रहनु। जागरुक अवस्थामा कसैले उसलाई दया, नीति या करुणाको कुरा सिकाउनै पर्दैन। बेहोशीमा रहेका बेला मनुष्यले गरेका हरेक कर्म, चाहे ती नीतिसम्मत कुरा नै किन नहोऊन्, अप्राकृतिक हुन् र होशका बेला गरेका हरेक कर्म प्राकृतिक हुन्। यो बेला उसले जे गरे पनि उसभित्र त्यसको संस्कार बन्न पाउँदैन। यही कारण हो, अर्जुनलाई त्यत्रो मान्छे मार्दा पनि पाप नलाग्नु। महाभारत पढ्दा थाहा हुन्छ, उनी युद्ध अवधिभर एकछिनका लागि पनि बेहोशीमा रहेनन्।
जातीय भेदभावलगायतका अहिले जति पनि धर्मका नाममा विकृति चलिरहेका छन्, ती सबै अप्राकृतिक हुन्। दुःखको कुरा के भने विविध धार्मिक सम्प्रदाय आध्यात्मिक विकासका लागि उदय भएका हुन्, तर इतिहासका पन्ना पल्टाउने हो भने तीन हजारभन्दा बढी युद्ध धर्मकै बहानामा भएका छन्।
अठार सय वर्षपहिला आचार्य चाणक्यको पालामा देश चलाउनका निमित्त जनताबाट धन उठाउनु पर्‍यो भने धर्मकै सहारा लिइन्थ्यो। एकजना गुप्तचरलाई उच्च कोटिको साधु बनाएर पठाइन्थ्यो। अन्य केही गुप्तचर साधुका शिष्य बन्थे र साधुको प्रचार गर्थे। उनीहरूले कुनै उपयुक्त ठाउँ खोजेर गोप्य रूपमा कुनै मूर्ति गाडिदिन्थे। दुई–तीन महिनापछि साधुले समाधिको अवस्थामा या सपनामा देखेको भनेर मूर्ति भएको ठाउँका बारेमा बताइदिन्थ्यो। गुप्तचरहरू आफूले गएर खनेर हेर्दैनथे, बरु जनतालाई नै अगाडि लगाइदिन्थे। आफ्नै आँखाले देखेपछि जनतामा एक खालको उत्साह र विश्वास जाग्थ्यो र त्यहाँ भव्य मन्दिर बन्थ्यो। साधुरूपी गुप्तचरहरूले जति धेरै धन चढाइन्छ, त्यत्ति नै कमाइन्छ भनिदिन्थे। यसरी मन्दिरमा धन चढाउनेहरूको भीड लाग्थ्यो। त्यो धन सरकारको हुन्थ्यो।
अन्य कुनै देशमा आक्रमण गर्नुपर्‍यो भने पनि यही तरिका अपनाएर त्यस देशमा छिर्थे र त्यहाँका सबै गुप्त कुरा आफ्नो देशमा पुर्‍याउँथे। यसरी भगवान्का नाममा धेरै ठाउँमा धेरै अन्याय भएका छन्।
अहिले चलिरहेको धर्म र अध्यात्म फरक कुरा हुन्, तर आपसमा सम्बन्धित छन्। यही कारणले धार्मिक विकृतिले गर्दा अध्यात्ममा पनि असर परेको अवस्था छ।
भगवान् नमाने पनि आखिर आध्यात्मिक यात्रामा फरक पर्दैन। संस्कृति जोगाउन धर्म मान्नु या मन्दिर गएर मूर्तिको दर्शन गर्नु फरक कुरा हो। आध्यात्मिक विकासको उद्देश्यले मूर्तिपूजा गर्ने, तर त्यसका माध्यमबाट अन्तर्मुखी बन्ने प्रयास नगर्ने हो भने त्यसले खासै उपलब्धि दिँदैन। भगवान्को पूजा गर्नु भनेको आफूभित्र भगवान्को मूर्ति स्थापना गरेर त्यसलाई याद गर्नु हो। यस्तो गर्दा बिस्तारै भित्रका क्लेश हट्दै जान्छन् र अन्तिममा त्यसलाई पनि छाडेर निराकारमा पुग्नुपर्छ। हिजोआज त्यस्तो भइरहेको पनि त छैन। मन्दिरमा गएर चारवटा धूप सल्काउँदैमा मान्छे आध्यात्मिक कदापि हुन सक्दैन। भगवान्लाई खुसी बनाउने यस्तो तरिका नै गलत छ।
भगवान्लाई फरक तरिकाले मानेर पनि अध्यात्ममा अगाडि बढ्न सक्ने बाटो छ। त्यो बाटो हो, शास्त्रमा लेखिएका भगवान् मस्तिष्कको पूरै विकास भएका मनुष्य हुन् भन्न सकिन्छ।
गौतम बुद्धले अनिश्वरवादको कुरा गर्नुको कारण पनि यही हो। त्यस बेला पनि धर्मका नाममा विकृति प्रशस्त थियो, तर अनुभवी मान्छेहरू कम थिए।
अब भगवान्को वैज्ञानिक व्याख्या गर्नुपर्छ।
भन्न सकिन्छ, हाम्रो दिमागमा लगभग एक खरब न्युरोन हुन्छन्। प्रत्येक न्युरोनको क्षमता अहिलेको आधुनिक कम्प्युटरभन्दा धेरै हुन्छ। अनि हरेक न्युरोनमा दस हजारजति डेन्ड्राइट हुन्छन्। प्रत्येक डेन्ड्राइटले अर्को डेन्ड्राइटमा बायो केमिकल न्युरो ट्रान्समिटर प्रक्षेपण गर्छ।
जाग्रत अवस्थामा डोपामाइनजस्ता रसायन मस्तिष्कमा रिलिज हुन्छन्। यस्ता रसायन नशालु पदार्थ सेवन गर्दा पनि रक्तधारमा बग्छन्। नियमित विचार सञ्जालबाट मुक्त रहन जान्ने हो भने नशालु पदार्थको आवश्यकता नै पर्दैन।
विचारद्वारा मस्तिष्कको केही भाग चल्छ। यसका उदाहरण हामी सबै विचारशील मनुष्य हौं। अवचेतन मन (कल्पना, भावना आदि)द्वारा मस्तिष्कको अझै केही बढी भाग चल्छ। यसका उदाहरण हुन्, अल्बर्ट आइन्सटाइन। उनी यति गहिरो कल्पना गर्थे कि टर्चको लाइटमाथि आफू बसेर यात्रा गर्थे। अहिलेसम्म परीक्षणद्वारा सबैभन्दा बढी मस्तिष्क चल्ने व्यक्ति पनि उनी नै हुन्। उनको करिब १३ प्रतिशत मस्तिष्क चलेको पाइएको छ।
अनि बाँकी भाग ध्यानबाट अर्थात् विचार नचलेको अवस्थामा सक्रिय हुन्छ। सजिलो भाषामा भन्नुपर्दा गहिरो ध्यानको अवस्थामा मस्तिष्कका सबै भागमा विद्युत् प्रवाह हुन्छ।
वैज्ञानिकहरूका अनुसार समाधि या गहिरो निद्रावस्थाका बेला बिटा, अल्फा, थेटा र डेल्टामध्ये डेल्टा लेभल चल्छ। यसबेला प्रकृतिमा सधैंभरि रहने ऊर्जा शरीरभित्र प्रवाह हुन्छ। यही अवस्थामा पुगेका व्यक्ति मानिदिऊँ न भगवान्लाई।
क्वान्टमा फिजिक्सका अनुसार सबै भौतिक पदार्थ अभौतिक ऊर्जाबाट बन्छन्। अर्थात्, हरेक भौतिक पदार्थलाई टुक्राटुक्रा पार्दै जाने हो भने अन्तिममा ऊर्जा बाँकी रहन्छ। त्यही ऊर्जालाई तान्न आफूलाई सधैं तयार राख्नु नै अध्यात्म हो। यसको ज्ञान भएका साधुसन्तले कुनै ढुंगालाई खानेकुरा बनाइदिन पनि सक्छन्, तर यो अध्यात्म मार्गमा ठूलो कुरा होइन, संसार चाहे चमत्कारकै पछि किन नलागोस्।
भविष्यमा वैज्ञानिकहरूले मस्तिष्कमा रसायन प्रयोग गरेर सधैं आनन्दको अवस्थामा रहन सक्ने अवस्था विकास नगर्लान् भन्न सकिन्न। यस्तो भयो भने यो पनि एउटा नशालु पदार्थजस्तै बन्नेछ। अध्यात्ममा यस अवस्थामा रहनका लागि सधैं जागरुक अवस्थामा रहनुपर्छ। त्यो जागरुकता सायद विज्ञानले दिन नसक्ला। अथवा मान्छे आनन्दित अवस्थामा त रहला, तर उसलाई बेलाबेलामा त्यसको डोज दिइरहनुपर्ने हुन सक्ला। त्यो बेला अध्यात्म भने लोप नहोला भन्न सकिन्न।
यही आनन्दित अवस्थामा जागरुकताका साथ पुर्‍याउनका लागि भगवान्को अवधारणा विकसित भएको हो। शास्त्रहरूमा पूर्ण विकसित मनुष्यलाई भगवान्को उपमा दिइयो, जसअनुसार उनी कुनै छुट्टै संसारलाई अधीनमा राख्ने लोकबाट आएका होइनन्। कुनै लोक हुन्छ भने त्यो देवताहरूको हुन्छ। देवता भगवान् होइनन्, मनुष्य बन्न तड्पिरहेका प्राणी हुन्। अहिले यतातिर नजाऔं, यसका बारेमा छुट्टै व्याख्या गर्नुपर्ने हुन्छ।
अहिलेलाई यति बुझ्न सकिन्छ, पूरै ब्रह्माण्ड ऊर्जाद्वारा व्याप्त छ भने पूर्ण मानव अन्तिममा त्यहीँ मिसिन्छ। यस आधारमा उसका लागि सबै ब्रह्माण्ड नै आफ्नो लोक हो।
शास्त्रहरूकै आधार लिने हो भने पनि संसारमा सत्य, त्रेता, द्वापर र कलि चार युगको चक्र सधैं चलिरहन्छ। हरेक युगमा एउटै घटना दोहोरिइरहन्छन्। अब फेरि द्वापर युग आउँछ र महाभारत युद्ध हुन्छ। कृष्ण द्वैपायनले शास्त्रहरू लेख्छन्। कृष्णले आफ्नो लीला पनि देखाउँछन्। तर त्यस बेला पात्रहरू फेरिन्छन्। जस्तै– अबको द्वापर युगमा अर्जुन       श्रीकृष्ण बन्छन्। अबको ब्रह्मा बन्ने पालो हनुमानको हो।
यस आधारमा भन्न सकिन्छ, मनुष्य क्रमशः विकसित हुँदै पूर्ण मनुष्य बन्छ। अध्यात्म मार्ग या मनुष्य पूर्ण बन्ने प्रक्रियामा भगवान् होइन, शास्त्रहरूको सही बुझाइ आवश्यक पर्छ।
अध्यात्म लोप भयो भने त्यसका बारेमा बताउने शास्त्रहरू पनि हराउन सक्छन्, जब कि यिनलाई जोगाउनुपर्छ। शास्त्रका धेरै कुराहरू उजागर हुन बाँकी छन्। जस्तै- श्रीकृष्णको वर्णन पढ्दा या सुन्दा हामीलाई सामान्य लाग्छ। तर यसमा ठूलो ज्ञान लुकाइएको छ। उनको नीलो शरीर, उनले लगाएका लुगाको रङ, उनको चम्किलो माला, राधासँगै बस्नु- यस्ता कुरालाई आँखा बन्द गरेर त्राटक गर्दा मनुष्यको शरीरमा भएका सात चक्रहरू सक्रिय हुन सुरु हुन्छन्।
आनन्दको रसायन प्रवाह गर्ने औषधि नै माने पनि हुन्छ ती चिजलाई। उदाहरणका लागि उनको शरीरको नीलो शरीरमाथि त्राटक गर्दा हरेक मनुष्यको घाँटीमा रहेको विशुद्धि चक्र जाग्न थाल्छ। उनले लगाएको धोतीको पहेँलो रङले मणिपुर चक्र जाग्न थाल्छ। चम्किलो मालाले आज्ञा चक्र सक्रिय हुन थाल्छ। चक्रहरू जागृत गराउनु अत्यन्तै महत्वपूर्ण आवश्यकता हो अध्यात्ममा। विविध तिकडम विधि नअपनाई राधासहितको       श्रीकृष्णलाई भित्रैदेखि याद गर्दा मात्रै मेरुदण्डभित्र हुने सुषुम्ना, सुषुम्नाभित्रको बज्रा, बज्राभित्रको चित्रा र चित्राभित्रको ब्रह्मनाडीबाट ऊर्जा माथितिर प्रवाहित थाल्छ। राधा र कृष्णलाई सँगै राख्नु भनेको हरेक मान्छेभित्र रहेको पुरुष र स्त्री तत्व मिलाउनु हो। यी दुईबिना मानव पूर्ण हुन सम्भव छैन। यही कारण हो, मूर्तिका माध्यमबाट आध्यात्मिक यात्रा गर्नु सबैभन्दा सजिलो हुन्छ भन्नुको। तर यसरी अभ्यास कसले गर्छ ?
ब्रह्मनाडीको प्वाल त यति सानो हुन्छ कि त्यसका लागि मनलाई अत्यन्तै सूक्ष्म बनाउनुपर्छ। एउटा अणुलाई पाँच भाग लगाएर एक भाग छुट्याएजत्तिकै।
सबै ध्यानविधिको एउटै लक्ष्य मनलाई सूक्ष्मभन्दा सूक्ष्म बनाउँदै लानु हो। यस अवस्थामा त्यहाँ सूर्यको भन्दा हजारौं गुणा तेज भएको, तर ताप नभएको ऊर्जा अनुभव हुन्छ। ज्योति नै ज्योति देखिन थाल्छ।
विश्वमा धेरै मनोचिकित्सक, जसले हिप्नोटाइज्ड विधि अपनाउँछन्, यस ज्योतिका बारेमा सुनिसकेका छन्। कोमामा पुगेर फर्केका केही मान्छेहरूले पनि यसबारेमा बताएका छन्।
अध्यात्मको गहिराइ बुझेका सबैले अन्तिममा ज्योतिलाई स्वीकार गरेका देखिन्छ। यही ऊर्जाका कारण सबै चिज चल्छ। यो ऊर्जा जतिखेर आफ्नो मस्तिष्कलाई खालि राख्यो तत्कालै मस्तिष्क हुँदै शरीरमा छिरिहाल्छ। राति गहिरो निद्राका बेला, जुन बेला विचार चलेको हुँदैन, यही ऊर्जाद्वारा शरीर चार्ज हुन्छ र दैनिकीहरू चलाउन सकिन्छ। यस ब्रह्माण्डको नियममा भगवान् शब्दलाई भित्र छिराउनु आवश्यक नै छैन।
यहीँनेर आएपछि सबै पूर्ण मानवहरूको भिन्नता सकिन्छ। बुद्धका सबै निर्वाण प्राप्त शिष्यहरू अन्तिममा ज्योतिमै विलय भएका थिए। यहाँसम्म कि येशुले समेत- म ज्योति हुँ भनेका प्रसंग पढ्न पाइन्छ।
फरक यत्ति हो, गौतम बुद्धले तलबाट यात्रा सुरु गराउँछन् भने हिन्दू शास्त्रहरूले माथिबाट। शास्त्रहरूका अनुसार कुनै ज्योति कल्पनामा ल्याएर त्यसमा निरन्तर ध्यान गर्दागर्दा ज्योति ओर्जिनल अवस्थामा परिणत हुन्छ। बुद्धले दुःखबाट कुरा सुरु गर्छन् र क्रमशः भित्र दबिएको संस्कार हटाउँदै लान सिकाउँछन्। फरक यत्ति मात्रै हो।
शास्त्रहरूमा ज्ञानकाण्ड र कर्मकाण्ड हुन्छन्। पण्डितहरूले विविध धार्मिक कार्यका लागि कर्मकाण्ड प्रयोग गर्छन्। भइदियो के भने एकै ठाउँमा गाँसिएको हुनाले ज्ञानकाण्डमा पनि पण्डितहरू नै जान्ने हुन्छन् भन्ने भ्रम परिदियो।
कर्मकाण्ड गर्नका निमित्त व्यक्ति सात्विक खानेकुरा खाने र सात्विक स्वभावकै हुनुपर्छ। सात्विक नभएकाजतिलाई कर्मकाण्ड गर्न अयोग्य मानियो। अयोग्य मानिएकाहरू समाजमा तिरस्कृतजस्तै हुँदै गए। भूल कहाँनेर भयो भने पण्डितको छोरा चैं पण्डित नै रहँदै गए तर समयक्रममा पण्डितवर्ग पनि सात्विक अवस्थामा रहन छाडे, यस्ता पण्डितले कर्मकाण्डचाहिँ छाडेनन्। यही कारणले विभेद बढ्दै गयो।
आज धर्मका नाममा विकृतिहरू छन् भने त्यसको दोषी पण्डितहरू नै हुन्। पण्डित्याइँ एउटा पेसा बनेको हो, पैसा कमाउने। तर उनीहरू आफू अनभिज्ञ भएको शास्त्रको ज्ञानकाण्ड पनि सिकाउँदै हिँडिरहेका छन्। विकृति हटाउन नचाहने तर हिन्दू शास्त्रहरू जोगाउनुपर्छ भन्ने उनीहरूको तर्क अधुरो लाग्छ। अहिले हिन्दूकै नाममा राजनीति पनि सुरु भइसकेको छ।
यस्तो अवस्था हट्नुपर्छ। बरु शास्त्रबाट कर्मकाण्ड र ज्ञानकाण्डलाई अलग्गै गरिदिनुपर्छ। अनि धेरैभन्दा धेरै मानिसलाई संस्कृत पढ्ने वातावरण तयार गरिदिनुपर्छ। शास्त्रहरूमा भनिएका कुराहरूलाई रिसर्च गरेर स्वीकार गर्नुपर्छ।
त्यसैले अहिलेको आवश्यकता भगवान्माथि जबर्जस्ती विश्वास दिलाउन मन्दिरहरू स्थापना गर्ने नभई वास्तविकता बाहिर ल्याउन रिसर्च सेन्टरहरू खोल्नु आवश्यक छ।
दाहालका ‘काँचुली’ उपन्यास, ‘गौतम बुद्धको जीवनी र दर्शन’, ‘चार वेदको सार’ (सहलेखन), जे कृष्णमूर्ति जस्ता पुस्तक प्रकाशित छन्।

भक्तपुरमा पुजिन्छन् ‘भुइँ भगवान्’


भक्तपुरमा पुजिन्छन् ‘भुइँ भगवान्’
शनिबार, ०४ साउन २०७६, ११ : २४ |  रेणु त्वानाबासु

भगवान् भन्नेबित्तिकै प्रायको दिमागमा मन्दिर र मूर्तिका आकृति आउँछन्। भक्तपुरमा भने ‘भुइँका भगवान्’हरू हुने विश्वास गरिन्छ, जसका मूर्ति हुन्नन् र तिनलाई मन्दिरमा पनि सजाइँदैन। ती भगवान् बाटामा बस्छन् भन्ने जनविश्वास पाइन्छ। संस्कृतिविद् ओम धौभडेलका अनुसार मन्दिरभित्रका भगवान्भन्दा भुइँ भगवान्को महŒव धेरै हुन्छ। त्यस्ता भगवान् तीन प्रकारका रहेको उनी बताउँछन्। ती हुन्– कुमार, क्षेत्रपाल र छ्वास।
कुमार सबैका घरका आँगनमा हुन्छन्,’ उनी भन्छन्, ‘क्षेत्रपाल भने टोलमा एउटा मात्र हुन्छन्।’ मान्छे मर्दा गर्नुपर्ने सबै कर्म क्षेत्रपालमा समापन हुने उनी बताउँछन्। बच्चाको जन्म भएपछि धूपबत्ती चढाउनुपर्ने ठाउँमा छ्वास रहने उनी बताउँछन्। अरू भगवान्को पूजा कुनै चाडपर्व वा विशेष दिन पारेर गरिन्छ। तर यी भुइँ भगवान्हरूलाई दिनहुँ पूजा गरिन्छ। कति भुइँ भगवानहरूलाई मन्दिरमा रहेका भगवान्हरूले पुज्नुपर्ने खालका रहेको धौभडेल बताउँछन्। सबैको आ–आफ्नो महŒव र विशेषता भएको उनी बताउँछन्। यी भगवान्हरूको संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
भक्तपुरका स्थानीय गायत्री रञ्जितकार दिनहँु मन्दिर जान्छिन्। त्यसैबेला उनी भुइँ भगवान्लाई पनि पुज्छिन्। भुइँ भगवान्प्रति पनि उत्तिकै सम्मान रहेकाले तिनलाई पनि पुज्ने उनी बताउँंछिन्। कुनै मन्दिर नभए पनि भुइँ भगवान्हरूलाई सबैले पुज्ने चलन अहिले पनि भक्तपुरमा छ। अहिले पनि मान्छेहरू भुइँ भगवान्हरूलाई कुल्चिँदैनन्। मोटरसाइकल वा साइकलले पनि सकेसम्म भुइँ भगवान्लाई दायाँबायाँ पारेर जाने गर्छन्।
अधिकांश भुइँ भगवान् ढुंगाका रूपमा छन्। भक्तपुरमा यस्ता भगवान्हरू भक्तपुरको मुख्य बजारका ठाउँंठाउँंमा छन्। भक्तपुरको मुख्य बजार च्याम्हासिंहदेखि भार्वाचोकसम्मको रुटमा आधा दर्जनभन्दा बढी भुइँ भगवान् छन्। नासमना, टौमढी, गोल्मढी, इनाचो, दत्तात्रय, सूर्यमढीलगायत ठाउँंमा भुइँ भगवान्हरू छन्। भक्तपुरको यो मुख्य बाटो धेरै पुरानो हो। इँटा ओछ्याइएका ती बाटामा मानिस मात्रै हिँड्ने गर्दछन्। यहाँं सवारीसाधनको खासै आवतवाजत हुँंदैन। सामान्यतया मोटरसाइकल मात्रै ओहोरदोहोर हुन्छन्। त्यसकारण अहिलेसम्म भक्तपुरका भुइँ भगवान् सुरक्षित रहेको धौभडेलको भनाइ छ।


भएन तुइन विस्थापन, एक दशकमा सातको मृत्यु


भएन तुइन विस्थापन, एक दशकमा सातको मृत्यु
पदम सिंह, समाज,  २४ साउन २०७६ १३:१६:००
बाजुरा : सरकारले तुइन विस्तार कार्यक्रमलाई तिव्रता दिए पनि बाजुराका केही विकट क्षेत्रमा अझै तुइनकै भर पर्नु  पर्ने अवस्था छ। छिन्दु नदीमा अझै सर्वसाधारण तुइनकै सहारामा आवतजावत गर्छन्। तुइनकै यात्रा गर्दा
७ जनाले ज्यान गुमाइसकेका छन्। बाजुराको विकट हिमाली गाउँपालिका ३ गुम्बा र बौडीबीच भएर बग्ने छिन्दु खोला तर्ने क्रममा दशकयता सात जनाले ज्यान गुमाएको स्थानीय लालुकुवर भोटेले बताए।
छिन्दु नदी तरेर हिमाली गाउँपालिका ३ मा रहेको गुम्बा गाउँ र हिमाली क्षेत्रतिर जाने गरिन्छ। बाजुराको गुम्बाका छन्देव लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवँर र गुराउँसे लामाको नदी तर्ने क्रममा अघिल्ला वर्षमा ज्यान गएको हिमाली गाउँपालिका ३ का वडा सदस्य जगत लामाले बताए। पशु चौपाया त हरेक वर्ष बगेर मर्ने गरेका छन्। ‘नदीमा पुल भएको भए यसरी ज्यान जाने थिएन्’, उनले भने, ‘विकट क्षेत्र भएकाले कसैले आवाज सुन्दैनन्। वाध्य भएर आउजाउ गर्नुपर्छ।’
स्थानीयले डोरीको तुइन बनाएर तर्ने गरेका छन्। बाजुराको सर्वाधिक विकट गुम्बा गाउँ जान गुम्बा खोला र छिन्दु खोलामा चार ठाउँमा तर्नुपर्छ।हिउँदमा काठे पुलले सहज हुने गर्छ। साना खोला धेरै तर्नुपर्ने भए पनि दुई नदीमा झोलुंगे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरिएको छ। छिन्दु खोला साविकको बिच्छ्या गाविसको फुलिगुम्बा सानीसैन हिमालबाट सुरु भएर कवाडी हँुदै कर्णाली नदीमा मिसिन्छ।
नदी ठुलो भएकाले हिउँदको समयमा पनि तर्न सकिदैँन्। गुम्बा गाउँमा २६ परिवार बसोवास गर्छन्। हिमाली गाउँपालिका बौडीदेखि गुम्बा पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ। दुवै नदीमा झोलुंगे पुल नहुँदा जोखिम उठाउनु परेको हो।
गुम्बा खोला त अलि सानै रहेको छ तर छिन्दु खोला हिउँदमा पनि सकिन्न। वर्षातमा झनै समस्या हुने गरेको स्थानीय बताउँछन्। नदी भिरालो भएर बग्ने भएकाले पौडी खेलेर तर्नसमेत समस्या भएको स्थानीय लालु कुवँरले बताए।
हिउँदको समयमा काठेपुल निर्माण गरे पनि वर्षातमा बगाउने गरेकाले सर्वसाधारण डोरीको तुइन बनाएर तर्न बाध्य छन। छिन्दु खोलामा झोलुंगे पुल नहुँदा गुम्बा गाउँमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्ने झन समस्यामा पर्ने गरेका छन्।
नदीमा झोलुंगे पुल नभएर बाटो पनि अप्ठ्यारो भएकाले गुम्बाबाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ। वर्षातका ४ महिना त गुम्वा गाउँ र बाजुरा अन्य स्थानीय तह जिल्ला सदरमुकामको सम्पर्कविच्छेद नै हुने गरेको छ।
कहिले कवाडी नदीको किनारा किनार र भिरको बाटो हिँडनु पर्ने भएकाले हिउँदको समयमा पनि आवतजावत गर्नमा निकै समस्या हुने गरेको छ। फुलिगुम्वा नजिकै भिरमा त काठ राखेर वारपार गरिन्छ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ले गुम्बाका स्थानीयले धेरै समस्या भएको बताए। ‘साना साना धेरै खोला छन्, झोलुंगे पुलको लागि पहल भइरहेको छ’, अध्यक्ष मल्लले भने। सर्वाधिक विकट भएकोले लगानी धेरै लाग्ने भएकाले गाउँपालिकाको बजेटले नभ्याउने भएपछि माथिल्लो निकायसंग पहल गरिरहेको मल्लले बताए।



Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...