Saturday, August 10, 2019

भएन तुइन विस्थापन, एक दशकमा सातको मृत्यु


भएन तुइन विस्थापन, एक दशकमा सातको मृत्यु
पदम सिंह, समाज,  २४ साउन २०७६ १३:१६:००
बाजुरा : सरकारले तुइन विस्तार कार्यक्रमलाई तिव्रता दिए पनि बाजुराका केही विकट क्षेत्रमा अझै तुइनकै भर पर्नु  पर्ने अवस्था छ। छिन्दु नदीमा अझै सर्वसाधारण तुइनकै सहारामा आवतजावत गर्छन्। तुइनकै यात्रा गर्दा
७ जनाले ज्यान गुमाइसकेका छन्। बाजुराको विकट हिमाली गाउँपालिका ३ गुम्बा र बौडीबीच भएर बग्ने छिन्दु खोला तर्ने क्रममा दशकयता सात जनाले ज्यान गुमाएको स्थानीय लालुकुवर भोटेले बताए।
छिन्दु नदी तरेर हिमाली गाउँपालिका ३ मा रहेको गुम्बा गाउँ र हिमाली क्षेत्रतिर जाने गरिन्छ। बाजुराको गुम्बाका छन्देव लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवँर र गुराउँसे लामाको नदी तर्ने क्रममा अघिल्ला वर्षमा ज्यान गएको हिमाली गाउँपालिका ३ का वडा सदस्य जगत लामाले बताए। पशु चौपाया त हरेक वर्ष बगेर मर्ने गरेका छन्। ‘नदीमा पुल भएको भए यसरी ज्यान जाने थिएन्’, उनले भने, ‘विकट क्षेत्र भएकाले कसैले आवाज सुन्दैनन्। वाध्य भएर आउजाउ गर्नुपर्छ।’
स्थानीयले डोरीको तुइन बनाएर तर्ने गरेका छन्। बाजुराको सर्वाधिक विकट गुम्बा गाउँ जान गुम्बा खोला र छिन्दु खोलामा चार ठाउँमा तर्नुपर्छ।हिउँदमा काठे पुलले सहज हुने गर्छ। साना खोला धेरै तर्नुपर्ने भए पनि दुई नदीमा झोलुंगे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरिएको छ। छिन्दु खोला साविकको बिच्छ्या गाविसको फुलिगुम्बा सानीसैन हिमालबाट सुरु भएर कवाडी हँुदै कर्णाली नदीमा मिसिन्छ।
नदी ठुलो भएकाले हिउँदको समयमा पनि तर्न सकिदैँन्। गुम्बा गाउँमा २६ परिवार बसोवास गर्छन्। हिमाली गाउँपालिका बौडीदेखि गुम्बा पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ। दुवै नदीमा झोलुंगे पुल नहुँदा जोखिम उठाउनु परेको हो।
गुम्बा खोला त अलि सानै रहेको छ तर छिन्दु खोला हिउँदमा पनि सकिन्न। वर्षातमा झनै समस्या हुने गरेको स्थानीय बताउँछन्। नदी भिरालो भएर बग्ने भएकाले पौडी खेलेर तर्नसमेत समस्या भएको स्थानीय लालु कुवँरले बताए।
हिउँदको समयमा काठेपुल निर्माण गरे पनि वर्षातमा बगाउने गरेकाले सर्वसाधारण डोरीको तुइन बनाएर तर्न बाध्य छन। छिन्दु खोलामा झोलुंगे पुल नहुँदा गुम्बा गाउँमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्ने झन समस्यामा पर्ने गरेका छन्।
नदीमा झोलुंगे पुल नभएर बाटो पनि अप्ठ्यारो भएकाले गुम्बाबाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ। वर्षातका ४ महिना त गुम्वा गाउँ र बाजुरा अन्य स्थानीय तह जिल्ला सदरमुकामको सम्पर्कविच्छेद नै हुने गरेको छ।
कहिले कवाडी नदीको किनारा किनार र भिरको बाटो हिँडनु पर्ने भएकाले हिउँदको समयमा पनि आवतजावत गर्नमा निकै समस्या हुने गरेको छ। फुलिगुम्वा नजिकै भिरमा त काठ राखेर वारपार गरिन्छ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ले गुम्बाका स्थानीयले धेरै समस्या भएको बताए। ‘साना साना धेरै खोला छन्, झोलुंगे पुलको लागि पहल भइरहेको छ’, अध्यक्ष मल्लले भने। सर्वाधिक विकट भएकोले लगानी धेरै लाग्ने भएकाले गाउँपालिकाको बजेटले नभ्याउने भएपछि माथिल्लो निकायसंग पहल गरिरहेको मल्लले बताए।



  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...