Wednesday, March 18, 2020

हथि मिसा : नेवार नायिकाको गोप्य प्रतिरोध


हथि मिसा : नेवार नायिकाको गोप्य प्रतिरोध 
नेपालभाषाको साहित्यमा विशिष्टपना भएको विधा हो– ‘बाखं म्ये’ (गीतिकथा) । अज्ञात कविहरुले लेखेका गीतिकथामध्ये लोकप्रिय सिर्जना हो– ‘सिलु म्ये’
फाल्गुन २४, २०७६राजेन्द्र महर्जन
तीन सय वर्षअघि नेवार जनमानसमा एउटा विश्वासले घर गरेको थियो– ‘लोग्नेस्वास्नीको जोडी सिलु तीर्थ (गोसाइँकुण्ड) गएर फर्किनासाथ विछोडिनुपर्छ, त्यसैले कसैको पनि दम्पती सिलु जानुहुँदैन।’ तत्कालीन समाजले यस्तो निषेधात्मक विश्वास थोपरेर पुरुष–महिलालाई तर्साइराखेकै कारण कम मात्रै नेवार दम्पतीले एकसाथ तीर्थयात्रा गरे होलान्
यस्तै विश्वासको शासन–अनुशासन फैलाउन नेपालभाषामा लेखिएको र गाइएको ‘बाखं म्ये’ (गीतिकथा) हुन सक्छ ‘सिलु म्ये।’ तर, यही रचनाकी नायिकाले भने अन्धतामाथि प्रश्न उठाउँदै श्रीमानसँगै तीर्थयात्रा गर्छे, ‘हथि’ (हठ) गर्दै यसका रचनाकारले पनि दोहोर्‍याएको निषेधात्मक विश्वासको पर्खाल ‘हथि मिसा’ (हठी महिला) लाई पटक्कै स्वीकार्य हुँदैन उसले पर्खाल नाघ्न खोज्दा लेखकको सन्देश र नायिकाको आचरणबीच मेल नखाने अवस्था आउँछ सयौं वर्षदेखि नेवार समाजले गाउँदै आएको ‘सिलु म्ये’ गीतिकथामा महिलाले गरेको प्रतिरोध अनौठो खालको

प्रत्येक वर्ष ‘गुँला पुन्हि’ (साउने पूर्णिमा) मा गरिने सिलु तीर्थको यात्रासँग सम्बन्धित यस गीतिकथाको रचनाकार अज्ञात नै छ रचनाअनुसार, अज्ञात रचनाकारले अन्तिम मल्ल राजा जयप्रकाश मल्लको कालमा यो गीतिकथा लेखेको देखिन्छ यस गीतिकथामा नेपालका छत्रपतिले प्रतिपालन गरेको भन्दै तत्कालीन राजाको प्रशंसा गरिएको , सँगै राजाहरूबाट हुने महिलाको अपहरणको चित्रण पनि छ यही ठूलो विरोधाभासबीच यस गीतिकथाकी नायिकाले गरेको प्रतिरोधको प्रगतिशील अर्थ जनमुखी मूल्य उल्लेखनीय

जब राजाबाट अपहरण हुन्छ
यो गीतिकथा एक नेवार दम्पतीको सिलु–यात्राको क्रममा हुने उतार–चढावको वृत्तान्त हो यसमा नायकले सँगै नआउन चेताए पनि श्रीमान्सँगै सिलु तीर्थसम्म पुगेकी नायिकालाई राजाले अपहरण गरेको कथा सुनाएर निषेधात्मक विश्वासको प्रचार गरिएको छ गीतिकथाको थालनीमा कान्तिपुरको नायकको मनमा सिलु तीर्थ जाने रुचि जागेको देखाइन्छ उसमा तीर्थस्थल पुगेर स्नान गरियो भने पुण्य कमाइन्छ भन्ने धार्मिक धारणा प्रबल हुन्छ तीर्थ जाने रहर जागेपछि घरसल्लाह हुन्छ, आमाबुबासँग अनुमति मागिन्छ त्यसैले बिदाबारी भई पुण्य कमाउन सिलु तीर्थतिर लाग्छ

सुरुमा नायक एक्लै सिलु तीर्थ गएको भान हुन्छ तर, उसकी श्रीमती पनि उसको पछिपछि लागेकी हुन्छे जब राजाले अपहरण गर्न सिपाही खटाउँछ, यात्रामा त नायिका पनि नायकसँगै रहेको भेउ पाइन्छ अज्ञात रचनाकारले गीतिकथाको बीचमा मात्रै नायिकालाई उपस्थित गराएर कौतूहलपूर्ण बनाउन खोजेको हुनसक्छ

उनीहरू कान्तिपुरबाट धमाथू (धर्मस्थली), न्यागमानि (पाँचमाने), रानिपौवा, गांचो, धैबु व्यासि (धैबुङ), धुंच्या पौवा (धुन्चे), चन्द्र सिलु हुँदै सिलु तीर्थ (गोसाइँकुण्ड) पुग्छन् त्यहाँ पुगेपछि नाटकीय मोड आउँछ, राजाले नायिकाको अपहरण गराउँछ यही क्रममा दम्पती एकसाथ सिलुको तीर्थाटनमा जाने कि नजाने भन्ने प्रश्नमा नायक नायिकाबीच विवाद भएको थाहा पाइन्छ गीतिकथाको आधाआधीसम्म पुग्दा पनि विवाद भएको भेउ पनि कतै पाइँदैन राजाका सिपाहीले नायिकाको अपहरण गरेपछि नायकले दुःखमनाउ गर्दै यसबारे सङ्केत गर्छ

नायकले ठान्छ, आफूसँगै सिलु नआऊ भनी रोक्दारोक्दै पनि साथसाथै आउने नायिकाको हठकै कारण बर्बाद भएछ उसले पत्नीको हठकै कारण राजाबाट अपहरण भएको बित्याँस परेको भाव पोख्छ , पत्नी अपहरित भएपछि नायक अनारको बोटमुनि रोइबस्छ राजाको सुपाल (डोलीजस्तो) चढेर गएकी नायिकाले आफ्नो पति रोइरहेको आवाज सुन्छे

नायिकाले आफ्नो पति रोइरहेको गुनासो गर्दा राजाले होच्याउँछ ‘तिम्रो श्रीमान् होइन, कुकुर रोएको’ भन्दै नायिकाले ‘कुकुर रोएको होइन राजा, मेरो प्रभु वा स्वामी नै रोएको हो’ भनी प्रतिवाद गर्छे

डोलीमा बसेर हेर्दा नायिकाले ‘आफ्नो लोग्नेलाई पनि आफूजत्तिको योग्य महिला फेरि पाउँछौ’ भनी पतिलाई आश्वस्त पार्न खोज्छे त्यसबेला लोग्नेले ‘तिमी जत्तिको पाउन तपस्या नै गर्नुपर्ने’ भन्दै श्रीमतीप्रति सम्मान भाव व्यक्त गर्छ

नेपालभाषाको साहित्यमा विशिष्टपना भएको विधा हो– ‘बाखं म्ये’ (गीतिकथा) । अज्ञात कविहरुले लेखेका गीतिकथामध्ये लोकप्रिय सिर्जना हो– ‘सिलु म्ये ।’ सिलु म्येका अनेक संस्करणमध्ये यो गीतिकथा कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लको शासनकाल (१७९२–१८२५ साल) को सुरू अवधिमा लेखिएको हो 
नायिकाले राजाबाट पाइएको तारी (ताडी) फूल आफ्नो प्रभुलाई लगाइदिने प्रण गर्छे र कथालाई छोट्याएर नाटकीय रूप दिइन्छ : राजाले उपहार दिएको फूल श्रीमान्लाई लगाइदिएको भनाइसँगै ‘नेपालभाषाया प्राचीन काव्य सिर्जना’ अध्येता जनकलाल वैद्य लेख्छन्, ‘राजाले उपहार दिएको फूल श्रीमान्लाई लगाइदिएँ’ भन्नुको अभिप्राय नायिकाको सङ्कल्प वचन अभिव्यक्त गराउनु हो आफूलाई अपहरण गर्ने राजालाई त्यागेर आफ्नै प्रभु स्वामिसँग दाम्पत्य जीवन जिउन आउने सङ्कल्प नायिकाबाट अभिव्यक्त गराएर गीतलाई संयोगान्ततिर ढल्काइएको (वैद्य २०५९, २५७)।’

विछोडको चेतावनी र नायिकाको प्रयास
यस सिलु म्येमा नायिकाको माया नायकतिरै केन्द्रित रहेको र पुनः दाम्पत्य जीवनको सङ्कल्प गरिएको स्थितिमा पनि अनाम रचनाकारले भने निश्चित उद्देश्यका लागि गीतिकथा रचना गरेको भान हुनेगरी १५औं चरण लेखेको पाइन्छ त्यस चरणमा रचनाकारले श्रीमान्–श्रीमती सँगसँगै सिलु तीर्थ गएमा फर्कनासाथ विछोड हुन्छ, त्यसैले कसैको पनि दम्पतीले एकसाथ सिलु तीर्थको यात्रा नगर्नू भनी उपदेश नै दिएका छन् वैद्यका अनुसार, ‘यही उपदेश यस गीतिकथाको केन्द्रविन्दु हो।’

यही उपदेशभन्दा भिन्न छ नायिकाको प्रयास ‘नायिकाको दृढ संकल्प र सत्प्रयासको मनमोहक छनक’ले सन्देशलाई टेर्दैन ‘राजाले दिएको तारी फूल आफ्नो प्रभुलाई सिउरिदिएँ’ भन्ने नायिकाका शब्दले सामाजिक विश्वासलाई नाघ्छ आफूलाई अपहरण गर्ने राजालाई छाडेर नायिकाले आफ्नै ‘प्रभु स्वामी’ लाई अँगाल्न आउने उसको संकल्प पोखिन्छ यही अभिव्यक्तिका कारण यो गीतिकथा संयोगान्ततिर ढल्केको , वियोगान्त उपदेशभन्दा भिन्न बाटोमा लाग्दै संयोगान्त शब्द भाव हुँदाहुँदै पनि अज्ञात साहित्यकारले दम्पतीको सिलु यात्रा वियोगान्त हुने उपदेश दिन्छन् यो पहिलेदेखि समाजमा व्याप्त अन्धविश्वासकै पक्षपोषण हो

खासमा अनाम साहित्यकारको रचनाको मूल मर्म उनको हेराइ र खुला सन्देशभन्दा भिन्न छ मूल कथा, त्यसको गुप्त सन्देश र रचनाकारको उपदेशबीच यस्तो अन्तरविरोध कसरी पैदा हुन्छ? रचनाकार र नायकको हेराइ एवं विचारसँग नायिकाको मतमा अन्तर रहे पनि रचनाकारचाहिँ आफ्नो पुरातन भनाइ थोपर्न किन उद्यत हुन्छ? यी प्रश्न अध्ययनयोग्य देखिन्छ मल्लकालीन नेवार समाजमा रचनाकार नायककै जस्तो अन्धविश्वास बलियोसँग जरो गाडेर बसेकोमा शङ्का छैन ‘दम्पतीहरू सिलु तीर्थ गएर फर्कनासाथ विछोड हुने भएकोले कुनै पनि श्रीमान् श्रीमती एकसाथ सिलु जानु हुँदैन’ भन्दै समाजले निषेधाज्ञा जारी गरेको प्रस्टै देखिन्छ यही गीतिकथाले सङ्केत गर्छ, राजा जयप्रकाश मल्लको शासनकालभन्दा पहिलेदेखि नै नेपाल उपत्यकामा यस्तो निषेधाज्ञा जारी गर्ने चलन थियो (वैद्य २०५९, २५७)

यही निषेधाज्ञाको पुनःउत्पादन गर्ने र त्यही अनुकूलको मानसिकता निर्माण गर्नेगरी यस रचना तयार गरिएको तथ्य बुझ्न कठिन छैन समाजका सत्तासीन वर्ग, शासक तप्का र साहित्यकारहरूको जे–जस्तो गुप्त वा खुला उद्देश्य भए पनि सामाजिक मनोविज्ञानमा अन्तरद्वन्द्व तीव्र रहेको सत्य बुझ्न पनि गाह्रो छैन। उदाहरणका लागि, यस गीतिकथाकी नायिकाको विद्रोही विचार, मनस्थिति र व्यवहारलाई लिन सकिन्छ उसले ‘दम्पतीहरू सिलु तीर्थ गएर फर्कनासाथ विछोड हुने’ विचार, विश्वास र मनोविज्ञानमाथि चुनौती सिर्जना गर्दै बस्छे, नायकसँग बाझ्दै, तर्कले चित्त बुझाउन खोज्दै कठिन यात्रामा पुरुष सँगसँगै हिँड्दै यात्राको क्रममा राजाजस्तो सर्वशक्तिवान् व्यक्तिबाट अपहरित हुँदा पनि, अनेक लोभलालचमा नफँसीकन, शक्तिशालीहरूसँग पनि पटक्कै नडराईकन उसले विभिन्न चाल चल्दै समाजको निषेधाज्ञालाई तोड्ने आँट गर्छे राजाको यौनपिपाशु व्यवहारविरुद्ध ‘गोप्य प्रतिरोध’ (हिडन रेसिस्टेन्स) द्वारा उसले सफलता प्राप्त गरिछाड्छे यसले देखाउँछ, समाजको निषेधाज्ञा र त्यसअनुकूलको मनोविज्ञान सिर्जना गर्ने साहित्यलाई हाँक दिनेगरी व्यक्तिको निर्माण भएको रहेछ, त्यसको अगुवाइ पनि विवाहित महिलाले नै गरेकी देखिन्छ

यस गीतिकथामा अज्ञात साहित्यकारका लागि नायिकाको उपस्थिति आफ्नो उपदेश सिद्ध गर्न नकारात्मक भूमिका खेल्ने गौण पात्रको रूपमा मात्रै रहेको देखिन्छ तर, नायिका भने साहित्यकारले निर्दिष्ट गरेको भूमिकामा मात्रै सीमित रहँदैन, ऊ रचनाकारको कठपुतली मात्रै भइरहँदैन साहित्यकारको आशय र उपदेशको सीमा नाघेर नायिकाले लेखकको मानसिकता र उद्देश्यलाई पनि चुनौती दिन्छे यो यस गीतिकथाको सबैभन्दा विचारणीय उल्लेखनीय पाटो हो अन्य कोणबाट हेर्दा तीनवटा परिदृश्यको सम्भावना छ– ) यो समाजको निषेधाज्ञालाई तोड्ने लेखककै सिर्जजनात्मक चतुर्‍याइँ पनि हुन सक्छ, २) यो लेखकको कलमसँग पात्रले गरेको विद्रोह पनि हुनसक्छ, ३) पात्रको निर्माण र कथाको बहावसँगै लेखकीय उपदेशको अन्तरविरोध पनि हुन सक्छ

जे होस्, अज्ञात साहित्यकारले यस गीतिकथामा सिलु तीर्थ नपुग्दासम्म नायिकाको उपस्थिति र सहयात्रालाई उजागर नै गर्दैनन्, अज्ञात नै राख्छन् यस्तो लाग्छ, नायिकालाई नकारात्मक परिस्थितिका लागि जिम्मेवार ठहर्‍याउन मात्रै उपस्थित गराइन्छ सिलु तीर्थ पुगेपछि राजाबाट नायिकाको अपहरण हुँदा मात्रै नायकसँग नायिकाले पनि सहयात्रा गरिरहेको उनीहरूबीच बाटोमा द्वन्द्व भएको तथ्य पनि उजागर गरिन्छ उनीहरूको वैचारिक द्वन्द्व सामाजिक निषेधाज्ञा स्विकार्ने कि नस्विकार्ने भन्नेमा भएको प्रस्ट रूपमा देखिन्छ श्रीमान्चाहिँ सामाजिक निषेधाज्ञाको पक्षमा देखिन्छ उसको मनमस्तिष्क त्यसैबाट ढालिएको पाइन्छ तर, पत्नीचाहिँ सामाजिक निषेधाज्ञालाई बेवास्ता गर्दै, तोड्दै आगडि बढ्न चाहन्छे

साहित्यकारले सामाजिक निषेधाज्ञाको पक्षमा गीतिकथा बगाउन खोज्दाखोज्दै पनि नायिकाको संघर्षले गर्दा अन्तै मोडिन्छ यसरी चिप्लिएर कुद्ने पात्रहरू नै ‘पात्र भनेका लेखकका मुठ्ठीका माखो हुन्’ भन्ने भनाइका लागि चुनौती हुनसक्छन्

दोस्याउने भाष्यविरुद्ध द्रोह
यस गीतिकथा हेर्दा मुख्य द्वन्द्व त महिलाहरूलाई तीर्थस्थलबाट अपहरण गर्ने/गराउने राजा र प्रजाबीच नै हुनुपर्ने हो एक नारी, त्यसमा विवाहित महिलाको अपहरणसँगै राजासँग महिला, महिलाकी पति र आम रुपमा प्रजाजनबीच अन्तरविरोध देखिनुपर्ने हो तर, सामाजिक सीमाका कारण हुनसक्छ, तत्कालीन सामन्ती समाज, त्यसमा पनि नेवार समाजको अन्तरविरोध बाह्य रूपमा होइन, आन्तरिक रूपमै प्रकट भएको पाइन्छ

यस्तो आन्तरिक अन्तरविरोधले आफैंभित्र समस्या खोज्छ, समाधान पनि आफैंभित्र मात्रै खोतल्छ,समाजको शक्ति–संरचना (पावर स्ट्रक्चर) र शक्ति–सम्बन्ध (पावर रिलेसन) मा खोज्दैन त्यही कारण श्रीमान्ले चेताउँदा–चेताउँदै पनि श्रीमतीको ‘जिद्दी’तिर रचना केन्द्रित यसै क्रममा नायकले आफूले चेताउँदा–चेताउँदै पनि श्रीमती सँगसँगै आएकै कारण राजाबाट अपहरण भएको ्वास्नीकै हठका कारण बित्याँस परेको भाव पोखिन्छ

यस रचनामा ‘सिलु नआऊ’ भनी रोक्दारोक्दै पनि सँगै आउने नायिकाको हठकै कारण राजाबाट अपहरण भएको ठान्ने नायक र कविको ठम्याइमाथि पनि प्रश्न उठ्न सक्छ खासमा निश्चित उपदेश दिन, त्यसलाई वैधता र सहमति प्रदान गर्न नायिकाको हठलाई आरोपित गरिएको देखिन्छ जब कि समस्या राजाबाट महिलाहरूको अपहरण हुने प्रचलनका कारण सिर्जना भएको तथ्य यस गीतिकथाबाट पनि छिपेको छैन महिला पुरुषबीच, आम महिलापुरुष र राजाबीच, राजा र साहित्यकारबीचको शक्ति–सम्बन्ध (पावर रिलेसन) यसमा पनि प्रकट भएको छ, जुन शक्ति–संरचना (पावर स्ट्रक्चर) कै अभिव्यक्ति हो शक्ति– संरचना शक्ति–सम्बन्धले अनेक खालको लेखन, साहित्य, मानसिकताको उत्पादन–पुनरुत्पादन गरिरहेको छ यस गीतिकथा पनि त्यसबाट अछुतो हुने कुरै भएन, अन्य सिर्जनाजस्तै निश्चित उद्देश्यपूर्तिका लागि रचना र गायनकै निरन्तरताका कारण पनि अनेक खालका अन्धविश्वासले जरो गाडिरहेको तथ्यलाई बेवास्ता गर्न सकिँदैन अनेक खालका अन्धविश्वास खासमा त्यस्ता विश्वासका आयाम हुन्, जसले पुराना शक्ति–संरचना र शक्ति–सम्बन्धलाई कायम राख्न मद्दत गर्छन्

राजा–महाराजाबाट अपहरित हुन सक्ने कटु यथार्थबीच धार्मिक अन्धविश्वासको डर–त्रास देखाएर लामो दूरीको विकट यात्रा नगर्न महिलाहरूलाई चेताउने र कज्याउने क्रममा यस्तो गीतिकथा रचिएको अनुमान गर्न कठिन छैन यसरी चेत्ने कजिने महिलाहरू घरपालुवा नारीमा रूपान्तरण हुने तथ्य स्पष्ट , जुन यस गीतिकथाकी नायिकालाई स्वीकार्य थिएन यस गीतिकथाको सारले त्यस्ता अपहरण, डर–त्रासबाट बचेर एकसाथ जिउने/मर्ने दृढ संकल्पतिर जनमानसलाई डोर्‍याउँछ भने केही उपदेशात्मक शब्दले त्यस्तो दृढ संकल्पलाई खण्डित गर्छ त्यस्तै, विकटको यात्रा, लामो दूरीको तीर्थाटन भनेको पुरुषको मात्रै, पुरुषार्थ देखाउन सक्ने राजा–महाराजाको पेवा हो भन्ने मानसिकता तत्कालीन समाजमा व्याप्त भएको हुन सक्छ त्यसको प्रतिविम्बन अज्ञात साहित्यकारका कलम, शब्द र उपदेशमार्फत पोखिएको हुन सक्छ

यति हुँदाहुँदै पनि राजा वा शक्तिशाली व्यक्तिहरूबाट आममहिलामाथि हुने यौन–हिंसाको पक्ष उजागर गर्न यो रचना सक्षम देखिन्छ साहित्यकारले चाहेर होस् या नचाहेर, यसमा महिलाको जुक्ति–बुद्धिको तीक्ष्णता र जुझारुपना प्रकट भएको छ, जुन निकै प्रभावशाली छ

यस गीतिकथामा आफ्नो पतिका साथ पत्नी पनि जिद्दी गर्दै विकट यात्रामा साथै निस्कन्छे र राजाबाट अपहरित हुँदा पनि आफ्नै लोग्नेसँग सँगसँगै जिउने गरी फर्कने संकल्प गर्छे, तारी (ताडी) फूलको सुन्दर संकेतबाट मल्लकालीन एक नेवार महिलाको संकल्प सङ्केत गीतिकथामा जबर्जस्ती थोपरिएको सन्देश बोक्ने महिलाको छविभन्दा भिन्नै देखिन्छ महिलाको आँखाबाट हेर्दा यस गीतिकथाकी नायिका पुराना विश्वासमाथि प्रश्न गर्ने, श्रीमानसंगै सहकार्य गर्न सक्ने, प्रेमका खातिर राजा–महाराजाको प्रतिवाद गर्न सक्ने वा सत्तासीन व्यक्तिहरूका शक्तिसँग अनेक जुक्ति–बुद्धि लगाएर जुध्न सक्ने जुझारु महिलाको रूपमा प्रकट भएको देखिन्छप्रकाशित : फाल्गुन २४, २०७६ १३:०७


अंग्रेजी सिक्न मातृभाषा अपरिहार्य


अंग्रेजी सिक्न मातृभाषा अपरिहार्य   
चैत्र ४, २०७६दानराज रेग्मी
संविधानले मातृभाषामा शिक्षालाई मौलिक हकको रूपमा स्थापित गरे पनि मातृभाषी समुदायहरू यो हकको उपयोग गर्ने कुरामा खासै उत्साहित हुन सकेका छैनन् । आधारभूत तहको शिक्षालाई गुणस्तरीय र समयसांपेक्ष बनाउन सुरूमा मातृभाषालाई माध्यमको रूपमा प्रयोग गर्नु पर्छ भन्ने अवधारणाप्रति मातृभाषी समुदाय ढुक्क हुन सकेका छैनन् 
भाषाप्रति समानताको नीति लिएको करिब तीन दशक हुन लाग्दा पनि मातृभाषा संरक्षण र उपयोगबारे सफलताको कथा बन्ने कुनै काम हुन सकेका छैनन्। स्थिति निराशजनक छ। दिनप्रतिदिन मातृभाषाहरू नेपाली भाषातिर अपसरित हुँदै गएका छन्। सरकारी कामकाजको भाषा भएकाले नेपाली भाषा जान्नु आवश्यक मानिन्छ।

चिनियाँ, कोरियन, जापानी र जर्मनजस्ता विदेशी भाषाहरूप्रति नेपाली समाजको मोह बढ्दैछ। तैपनि नेपाली समाजमा सबैभन्दा बढी मोह अंग्रेजी भाषातिर नै छ। यसको महत्वलाई कसैले चाहेर पनि नकार्न सक्ने अवस्था छैन। निजी तहमा खोलिएका विद्यालयमा पूर्वप्राथमिक तहदेखिनै अंग्रेजीलाई शिक्षण माध्यमको भाषाको रूपमा प्रयोग गर्दै आएका छन्। सामुदायिक विद्यालयमा पनि एक कक्षादेखि अंग्रेजी पढाइ हुँदै आएको छ। अब सरकार एकीकृत पाठ्यक्रम लागू गर्ने तयारीमा छ। केही सामुदायिक विद्यालयले विद्यार्थीको आकर्षणका लागि भनेर अंग्रेजीलाई माध्यमको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेका छन्। मातृभाषी समुदाय आधारभूत तहमा मातृभाषामा पढाउने मनस्थितिमा विल्कुलै छैनन्। सक्नेले बसाइँसराइ गरेर भए पनि निजी विद्यालयमा पढाइरहेका छन्। अंग्रेजी पढाइ रोकिँदैन, रोक्न पनि हुँदैन। रोकिएमा हामी अझ पछाडि धकेलिन्छौं। यसमा हाम्रो ठूलो लगानी भएको छ। यति भनेर पनि हाम्रो दायित्व पूरा हुन सक्दैन। के हाम्रो लगानीअनुसार प्रतिफल आएको छ? यो विचारणीय प्रश्‍न हो।

अंग्रेजी जान्नुको अर्थ सामान्य बोलीचाली मात्र जान्नु होइन। गणित, विज्ञान, सामाजिकजस्ता विषयका मूलभूत कुरा यस भाषामा पनि बुझ्नु र बुझाउन सक्नु हो। आजका अधिकांश विद्यार्थी यी विषयमा निकै कमजोर देखिन्छन्। बरू व्याकरणका नियमहरू रट्न लगाइएका र अनुवाद पद्धतिबाट ४/५ कक्षाबाट अंग्रेजी सिकेकाहरू परिस्थिति अनुकूलको भाषा प्रयोगमा कमजोर भए पनि बुझाइ र लेखाइमा राम्रा थिए। अंग्रेजी माध्यममा पढेकाहरू परिस्थिति अनुकूलको भाषा प्रयोगमा राम्रा देखिए पनि लेखाइ र बुझाइमा कमजोर हुन्छन्।

अमेरिकी विद्वान् डेभिडले भाषा सिकाइलाई विद्युतीय चुलोमा केक पकाउने कुरासँग दाँजेका छन्। १५० डिग्री सेल्सियस तापक्रममा एउटा केक पाक्न एक घण्टा लाग्छ, त्यही केकलाई आधा घण्टामा पकाउन ३०० डिग्री सेल्सियसमा चुलो तताइयो भने केकको हालत के होला? केक बाहिर डढेको तर भित्र काँचो नै हुन्छ। अहिलेको पद्धतिबाट अंग्रेजी सिकेकाहरू लगभग ३०० डिग्री सेल्सियसमा पकाइएका केकजस्ता नै हुन्। विद्यार्थीले बुझ्न नसकेको कुरा सिक्न सक्दैनन्। यो सबैले मानेको कुरा हो। केटाकेटीहरूले विद्यालयमा केही अंग्रेजी शब्द वा अंग्रेजी सरल वाक्यहरू भनेको वा पढेको सुनिन्छ, तर तिनीहरूले पढेका कुरा बुझेका भने हुँदैनन्। गणित, विज्ञान, इतिहास, भूगोलजस्ता विषयहरू जान्न आवश्यक पर्ने सूचनाहरू बुझ्न सक्दैनन्। सही अर्थमा सिकाइ भएकै हुँदैन। यसको प्रमुख कारण के हो? यसबारे सोच्नु आवश्यक छ। यसको प्रमुख कारण शिक्षण पद्धति नै हो। पद्धतिमा नै कमजोरी भएपछि शिक्षक, विद्यार्थी र अभिभावकले मरिमेटे पनि वास्तविक सिकाइमा सुधार भएको छैन। जिनतिन विद्यालय तह पूरा गरे पनि उच्च शिक्षामा भने उनीहरूले खासै प्रगति गर्न सकेका छैनन्। यो चिन्ताको विषय हो।
नेपालजस्ता बहुभाषिक देशमा स्थानीय भाषा वा घरको भाषा, क्षेत्रीय वा राष्ट्रिय भाषा र अंग्रेजीजस्ता अन्तर्राष्ट्रिय भाषाको आ–आफ्नै महत्व र भूमिका छ। त्यसैले युनिसेफ, युनेस्को, शिक्षा मन्त्रालय र गैरसरकारी संस्थाहरूले अफ्रिका, दक्षिण एसिया र पूर्वी एसियाका बहुभाषिक देशमा सफल शिक्षाको जग विद्यार्थीको मातृभाषा हुने कुरामा जोड दिएका छन्। त्यसको जगमा नै विद्यार्थीको राष्ट्रिय वा क्षेत्रीय भाषामा उपयुक्त पहुँच पुग्न सक्छ। मातृभाषाको जगमा नै अंग्रेजीजस्तो अन्तर्राष्ट्रिय भाषा सिक्न र सिकाउने सर्वोत्तम उपागम हुने कुरालाई पनि स्वीकार गरेका छन्। बालक विद्यालयमा छिर्दाखेरी आफ्नै बलियो वा समृद्ध भाषिक सञ्चय बोकेर गएको हुन्छ। यसको मतलब बालकले आफ्नो मातृभाषामा स्थानीय विश्वास, संस्कृति, वातावरण, इतिहास, जीविकाका उपाय र सुरक्षाजस्ता कुराबारे मातृभाषामा व्यक्त गर्न सक्ने भइसकेको हुन्छ। उसलाई आफूले बोल्ने भाषाबारे पनि जानकारी हुन्छ। कसैले यसलाई ज्ञानकोष पनि भन्ने गरेको पाइन्छ। यही ज्ञानकोषमा टेकेर दिइएको शिक्षा नै प्रभावकारी हुन्छ।

नेपालको सन्दर्भमा सरकारी कामकाज र सम्पर्क भाषाको रूपमा नेपाली सिक्नैपर्ने हुन्छ। त्यसबाहेक अन्तर्राष्ट्रिय भाषाको रूपमा अंग्रेजी सिक्नुपर्ने आवश्यकता छ। यसलाई सबै भाषिक समुदायका मानिसले बुझेका छन्। यसमा कसैको पनि विमति देखिँदैन। तर अंग्रेजी पढाउने तौरतरिकाबारे भने अभिभावक न विद्यालय वा शिक्षा अधिकारीहरू सजग रहेको पाइन्छ। सबै अभिभावक आफ्ना बालबालिकाले छिटो र छरितोसँग अंग्रेजी सिकून्, प्राज्ञिक जीवनमा प्रभावकारी रूपले यसलाई प्रयोग गरून् भन्ने कुरामा भने अति नै चिन्ता लिएको पाइन्छ।

अबचाहिँ स्थानीय, क्षेत्रीय वा राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा सरकार र अभिभावकको अपेक्षाअनुसार कसरी अंग्रेजीलाई प्रभावकारी रूपमा पढाउन सकिन्छ भन्ने बहस चलाउन थालिएको छ। परम्परागत मानसिकताले जकडिएको समाजमा यस बहसलाई सजिलै अगाडि बढाउन भने सजिलो छैन। नेपालमा अंग्रेजीलाई निजी विद्यालयमा विषय र माध्यमको रूपमा पढाइँदै आइएको छ। जुन गलत छ। माथि भनिएजस्तै अंग्रेजीजस्ता अन्तर्राष्ट्रिय भाषा निश्चित अवधिसम्म विषयको रूपमा नपढाइकन माध्यमको रूपमा जसरी नेपालमा प्रयोग गरिएको छ, यो सही छैन।

निकै कम विद्यार्थीले मात्र अहिले निजी विद्यालयमा चलेको पद्धतिबाट छिटो र प्रभावकारी रूपमा अंग्रेजी सिकेका छन्। नेपालजस्ता मुलुकमा हरेक अभिभावकले विद्यालयमा गएपछि घरमा मातृभाषामा सिकेका कुरा अंग्रेजीमा सिकून् भन्ने चाहन्छन्। त्यसैले महँगो शुल्क तिरेर निजी विद्यालयमा बालबालिकालाई पठाएका छन्। बिहान–बेलुका सकिनसकी बालबालिकालाई घरमा पनि सिकाइरहेका छन्, कतिले त विद्यालय समयअघि वा पछि विशेष कक्षामा पठाइ पनि रहेका छन्। के सबै अभिभावक लगानीको प्रतिफलप्रति खुसी छन् त? सबैले सोच्नुपर्ने यो विषय होइन र? नेपालमा गुणस्तरीय उच्च शिक्षा र रोजगारी असंभव प्रायः सोचेर दस जोड दुई उत्तीर्ण नगर्दै विदेश छिरेका हजारौं हाम्रा युवाको अवस्था साँच्चै राम्रो छ त? यसको समीक्षा गर्नुपर्ने बेला भएन र? अझ नेपालजस्तो अल्पसंख्यक भाषिक समुदायका बालबालिकाले त नेपाली र अंग्रेजीजस्ता भाषाहरू जबरजस्ती नै सिक्नु परेको छ। यस्ता समुदायका बालबालिकाले नेपाली पढ्न सके पनि बुझ्न सकेका हुँदैनन्। जबर्जस्ती आधारभूत तह उत्तीर्ण गरेपछि माथिल्लो तहमा एकाध विद्यार्थीबाहेक पढाइलेखाइ निकै कमजोर देखिन्छ। न त उनीहरूको नेपाली नै राम्रो छ, न अंग्रेजी नै।

जसरी कोरियन भाषा उत्तीर्ण गरेकाहरू पनि यन्त्रमा लेखिएका सावधानीका उपायहरू बुझ्न नसक्दा दुर्घटना भोगेका समाचारहरू आइरहेका छन्, लगभग त्यस्तै अवस्था अंग्रेजीको पनि छ। हालसालै गरिएका अध्ययनले के देखाएको छ भने अति नै राम्रो स्रोत सामग्रीले सम्पन्न भएका विद्यालयमा कम्तीमा पनि ६ वर्षसम्म आधारभूत तहमा विषयको रूपमा अंग्रेजी पढाइएका बालबालिकाले मात्र अरू विषय अंग्रेजी माध्यममा पढ्न सक्छन्। यदि विद्यालय साधन सम्पन्न छैन भने त कम्तीमा पनि ८ वर्ष अंग्रेजी विषयको रूपमा पढ्नै पर्छ। बल्ल उनीहरू अंग्रेजीमा साक्षर हुन्छन्। साक्षर नभएसम्म शिक्षण माध्यमको रूपमा अंग्रेजीलाई प्रयोग गर्नु हुन्न। यही कुरालाई हृदयंगम गरी ब्रिटिस काउन्सिलले सन् २०१३ मा बहुभाषिक समुदायमा अंग्रेजी पढाउने नयाँ नीति घोषणा गरेको छ।

अंग्रेजीलाई मातृभाषाको सट्टामा नभई मातृभाषाको अतिरिक्त भाषाको रूपमा पढाउने नीति लिइएको छ। अंग्रेजीलाई आधिपत्य भाषाको रूपमा नभई बहुभाषिक सन्दर्भमा प्रवर्धन गर्ने नीति लिइएको छ। यसअनुसार मातृभाषा, सरकारी कामकाजको भाषा र अंग्रेजीजस्तो अन्तर्राष्ट्रिय भाषामा विद्यार्थीलाई राम्रो बनाउन उद्देश्यपरक रूपमा कोड परिवर्तन (एउटा भाषामा बोल्दा बोल्दै अर्को भाषाको प्रयोग गर्नु), अनुवाद र सावधानी र योजनावद्ध रूपमा दुई भाषाको प्रयोगजस्ता विधिको प्रयोग गर्नुपर्ने सिफारिस गरिएको छ। यसअनुसार शिक्षकले कहिले पाठको पहिलो भाषा मातृभाषामा सुरू गर्ने, कहिले दोस्रो भाग अंग्रेजीमा र तेस्रो भाग पुनः मातृभाषामा दिने गर्छन्। अर्को दिन यो क्रमलाई परिवर्तन गर्न सकिन्छ। यस्तो विधिबाट पढाउँदा बालबालिकाले भाषा मिश्रण गर्न, कोड परिवर्तन गर्न, व्याख्या गर्न वा अनुवाद गर्नका लागि दुई वा दुईभन्दा बढी भाषाहरू सजिलै बुझीबुझी प्रयोग गर्न सक्छन्। बालकले आफ्नो भाषामा जानेका कुरा पनि अरू भाषा सिक्न सजिलै र प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन्। यसबाट मातृभाषाको पनि विकास हुन्छ।

शिक्षक, अभिभावक र शिक्षक निर्माताले के कुरा जान्नु आवश्यक छ भने बालकले जान्ने र बुझ्ने भाषामा मात्र सिक्न सक्छन्। अर्को जान्नैपर्ने कुरा के हो भने, मातृभाषामा उच्चस्तरको दक्षता प्राप्त नगरेको मानिसले अंग्रेजीमा उच्चस्तरको दक्षता प्राप्त गर्न सक्दैन। यो सबैले महसुस गरेको कुरा हो। अझ अर्को, जबसम्म बालबालिकाले आफ्नो भाषामा बलियो दक्षता प्राप्त गर्न सक्दैनन्, त्यतिबेलासम्म अंग्रेजीलाई सफलतापूर्वक शिक्षण माध्यमको रूपमा प्रयोग गर्न सकिन्न।

अंग्रेजीलाई माध्यम भाषाको रूपमा प्रयोग गर्नुपूर्व बालबालिकाले अंग्रेजी र मातृभाषा दुवैमा साक्षरता विकास गरिसकेको हुनु पर्छ। यी कुरालाई ध्यान नदिई छिटो र राम्रो अंग्रेजी सिकाउने ध्येयले आधारभूत तहमा नै अंग्रेजीलाई माध्यम भाषाको रूपमा प्रयोग गरिएमा भित्र काँचा र बाहिर डढेका हुने छन्। यस्ता जनशक्तिले वैदेशिक बजारमा अदक्ष वा अर्धदक्ष कामदारका रूपमा जीवन बिताउनुपर्ने बाध्यतामा कमी आउने छैन। यस कुरामा बेलैमा सरकार, अभिभावक र समुदायले सोच्नुपर्ने छ। बालकको मातृभाषाको जगलाई अझ मजबुत बनाउँदै सरकारी कामकाज र अंग्रेजीजस्ता भाषामा उच्चस्तरको दक्षता दिनसक्ने शिक्षण पद्धतिको विकास गर्नु पर्छ।

danrajregmi8@gmail.com

प्रकाशित : चैत्र ४, २०७६ १६:२५


सम्झनाहरूको झरिलो मौसम

सम्झनाहरूको झरिलो मौसम किशोर नेपाल , नयाँ पत्रिका, जेठ १४, २०७९ सहरको मौसममा बिस्तारै परिवर्तन आउँदै छ   । समयका यी क्षणमा सम्झनाहर...