अंग्रेजी सिक्न मातृभाषा अपरिहार्य
संविधानले मातृभाषामा शिक्षालाई मौलिक हकको
रूपमा स्थापित गरे पनि मातृभाषी समुदायहरू यो हकको उपयोग गर्ने कुरामा खासै
उत्साहित हुन सकेका छैनन् ।
आधारभूत तहको शिक्षालाई गुणस्तरीय र समयसांपेक्ष बनाउन सुरूमा मातृभाषालाई
माध्यमको रूपमा प्रयोग गर्नु पर्छ भन्ने अवधारणाप्रति मातृभाषी समुदाय ढुक्क हुन
सकेका छैनन् ।
भाषाप्रति समानताको नीति
लिएको करिब तीन दशक हुन लाग्दा पनि मातृभाषा संरक्षण र उपयोगबारे सफलताको कथा
बन्ने कुनै काम हुन सकेका छैनन्। स्थिति निराशजनक छ। दिनप्रतिदिन मातृभाषाहरू
नेपाली भाषातिर अपसरित हुँदै गएका छन्। सरकारी कामकाजको भाषा भएकाले नेपाली भाषा
जान्नु आवश्यक मानिन्छ।
चिनियाँ, कोरियन, जापानी र जर्मनजस्ता विदेशी भाषाहरूप्रति
नेपाली समाजको मोह बढ्दैछ। तैपनि नेपाली समाजमा सबैभन्दा बढी मोह अंग्रेजी भाषातिर
नै छ। यसको महत्वलाई कसैले चाहेर पनि नकार्न सक्ने अवस्था छैन। निजी तहमा खोलिएका
विद्यालयमा पूर्वप्राथमिक तहदेखिनै अंग्रेजीलाई शिक्षण माध्यमको भाषाको रूपमा
प्रयोग गर्दै आएका छन्। सामुदायिक विद्यालयमा पनि एक कक्षादेखि अंग्रेजी पढाइ
हुँदै आएको छ। अब सरकार एकीकृत पाठ्यक्रम लागू गर्ने तयारीमा छ। केही सामुदायिक
विद्यालयले विद्यार्थीको आकर्षणका लागि भनेर अंग्रेजीलाई माध्यमको रूपमा प्रयोग
गर्ने प्रयास गरिरहेका छन्। मातृभाषी समुदाय आधारभूत तहमा मातृभाषामा पढाउने
मनस्थितिमा विल्कुलै छैनन्। सक्नेले बसाइँसराइ गरेर भए पनि निजी विद्यालयमा
पढाइरहेका छन्। अंग्रेजी पढाइ रोकिँदैन, रोक्न पनि हुँदैन। रोकिएमा हामी अझ पछाडि
धकेलिन्छौं। यसमा हाम्रो ठूलो लगानी भएको छ। यति भनेर पनि हाम्रो दायित्व पूरा हुन
सक्दैन। के हाम्रो लगानीअनुसार प्रतिफल आएको छ? यो विचारणीय प्रश्न हो।
अंग्रेजी जान्नुको अर्थ
सामान्य बोलीचाली मात्र जान्नु होइन। गणित, विज्ञान, सामाजिकजस्ता विषयका मूलभूत कुरा यस भाषामा पनि
बुझ्नु र बुझाउन सक्नु हो। आजका अधिकांश विद्यार्थी यी विषयमा निकै कमजोर
देखिन्छन्। बरू व्याकरणका नियमहरू रट्न लगाइएका र अनुवाद पद्धतिबाट ४/५ कक्षाबाट
अंग्रेजी सिकेकाहरू परिस्थिति अनुकूलको भाषा प्रयोगमा कमजोर भए पनि बुझाइ र
लेखाइमा राम्रा थिए। अंग्रेजी माध्यममा पढेकाहरू परिस्थिति अनुकूलको भाषा प्रयोगमा
राम्रा देखिए पनि लेखाइ र बुझाइमा कमजोर हुन्छन्।
अमेरिकी विद्वान्
डेभिडले भाषा सिकाइलाई विद्युतीय चुलोमा केक पकाउने कुरासँग दाँजेका छन्। १५०
डिग्री सेल्सियस तापक्रममा एउटा केक पाक्न एक घण्टा लाग्छ, त्यही केकलाई आधा घण्टामा पकाउन ३०० डिग्री
सेल्सियसमा चुलो तताइयो भने केकको हालत के होला? केक बाहिर डढेको तर भित्र काँचो नै हुन्छ।
अहिलेको पद्धतिबाट अंग्रेजी सिकेकाहरू लगभग ३०० डिग्री सेल्सियसमा पकाइएका
केकजस्ता नै हुन्। विद्यार्थीले बुझ्न नसकेको कुरा सिक्न सक्दैनन्। यो सबैले
मानेको कुरा हो। केटाकेटीहरूले विद्यालयमा केही अंग्रेजी शब्द वा अंग्रेजी सरल
वाक्यहरू भनेको वा पढेको सुनिन्छ, तर तिनीहरूले पढेका कुरा बुझेका भने हुँदैनन्।
गणित, विज्ञान, इतिहास, भूगोलजस्ता विषयहरू जान्न आवश्यक पर्ने
सूचनाहरू बुझ्न सक्दैनन्। सही अर्थमा सिकाइ भएकै हुँदैन। यसको प्रमुख कारण के हो? यसबारे सोच्नु आवश्यक छ। यसको प्रमुख कारण
शिक्षण पद्धति नै हो। पद्धतिमा नै कमजोरी भएपछि शिक्षक, विद्यार्थी र अभिभावकले मरिमेटे पनि वास्तविक
सिकाइमा सुधार भएको छैन। जिनतिन विद्यालय तह पूरा गरे पनि उच्च शिक्षामा भने
उनीहरूले खासै प्रगति गर्न सकेका छैनन्। यो चिन्ताको विषय हो।
नेपालजस्ता बहुभाषिक
देशमा स्थानीय भाषा वा घरको भाषा, क्षेत्रीय वा राष्ट्रिय भाषा र अंग्रेजीजस्ता
अन्तर्राष्ट्रिय भाषाको आ–आफ्नै महत्व र भूमिका छ। त्यसैले युनिसेफ, युनेस्को, शिक्षा मन्त्रालय र गैरसरकारी संस्थाहरूले
अफ्रिका, दक्षिण
एसिया र पूर्वी एसियाका बहुभाषिक देशमा सफल शिक्षाको जग विद्यार्थीको मातृभाषा
हुने कुरामा जोड दिएका छन्। त्यसको जगमा नै विद्यार्थीको राष्ट्रिय वा क्षेत्रीय
भाषामा उपयुक्त पहुँच पुग्न सक्छ। मातृभाषाको जगमा नै अंग्रेजीजस्तो
अन्तर्राष्ट्रिय भाषा सिक्न र सिकाउने सर्वोत्तम उपागम हुने कुरालाई पनि स्वीकार
गरेका छन्। बालक विद्यालयमा छिर्दाखेरी आफ्नै बलियो वा समृद्ध भाषिक सञ्चय बोकेर
गएको हुन्छ। यसको मतलब बालकले आफ्नो मातृभाषामा स्थानीय विश्वास, संस्कृति, वातावरण, इतिहास, जीविकाका उपाय र सुरक्षाजस्ता कुराबारे
मातृभाषामा व्यक्त गर्न सक्ने भइसकेको हुन्छ। उसलाई आफूले बोल्ने भाषाबारे पनि
जानकारी हुन्छ। कसैले यसलाई ज्ञानकोष पनि भन्ने गरेको पाइन्छ। यही ज्ञानकोषमा
टेकेर दिइएको शिक्षा नै प्रभावकारी हुन्छ।
नेपालको सन्दर्भमा
सरकारी कामकाज र सम्पर्क भाषाको रूपमा नेपाली सिक्नैपर्ने हुन्छ। त्यसबाहेक
अन्तर्राष्ट्रिय भाषाको रूपमा अंग्रेजी सिक्नुपर्ने आवश्यकता छ। यसलाई सबै भाषिक
समुदायका मानिसले बुझेका छन्। यसमा कसैको पनि विमति देखिँदैन। तर अंग्रेजी पढाउने
तौरतरिकाबारे भने अभिभावक न विद्यालय वा शिक्षा अधिकारीहरू सजग रहेको पाइन्छ। सबै
अभिभावक आफ्ना बालबालिकाले छिटो र छरितोसँग अंग्रेजी सिकून्, प्राज्ञिक जीवनमा प्रभावकारी रूपले यसलाई
प्रयोग गरून् भन्ने कुरामा भने अति नै चिन्ता लिएको पाइन्छ।
अबचाहिँ स्थानीय, क्षेत्रीय वा राष्ट्रिय र अन्तर्राष्ट्रिय
सन्दर्भमा सरकार र अभिभावकको अपेक्षाअनुसार कसरी अंग्रेजीलाई प्रभावकारी रूपमा
पढाउन सकिन्छ भन्ने बहस चलाउन थालिएको छ। परम्परागत मानसिकताले जकडिएको समाजमा यस
बहसलाई सजिलै अगाडि बढाउन भने सजिलो छैन। नेपालमा अंग्रेजीलाई निजी विद्यालयमा
विषय र माध्यमको रूपमा पढाइँदै आइएको छ। जुन गलत छ। माथि भनिएजस्तै अंग्रेजीजस्ता
अन्तर्राष्ट्रिय भाषा निश्चित अवधिसम्म विषयको रूपमा नपढाइकन माध्यमको रूपमा जसरी
नेपालमा प्रयोग गरिएको छ, यो
सही छैन।
निकै कम विद्यार्थीले
मात्र अहिले निजी विद्यालयमा चलेको पद्धतिबाट छिटो र प्रभावकारी रूपमा अंग्रेजी
सिकेका छन्। नेपालजस्ता मुलुकमा हरेक अभिभावकले विद्यालयमा गएपछि घरमा मातृभाषामा
सिकेका कुरा अंग्रेजीमा सिकून् भन्ने चाहन्छन्। त्यसैले महँगो शुल्क तिरेर निजी
विद्यालयमा बालबालिकालाई पठाएका छन्। बिहान–बेलुका सकिनसकी बालबालिकालाई घरमा पनि
सिकाइरहेका छन्, कतिले
त विद्यालय समयअघि वा पछि विशेष कक्षामा पठाइ पनि रहेका छन्। के सबै अभिभावक
लगानीको प्रतिफलप्रति खुसी छन् त? सबैले सोच्नुपर्ने यो विषय होइन र? नेपालमा गुणस्तरीय उच्च शिक्षा र रोजगारी असंभव
प्रायः सोचेर दस जोड दुई उत्तीर्ण नगर्दै विदेश छिरेका हजारौं हाम्रा युवाको
अवस्था साँच्चै राम्रो छ त? यसको
समीक्षा गर्नुपर्ने बेला भएन र? अझ नेपालजस्तो अल्पसंख्यक भाषिक समुदायका
बालबालिकाले त नेपाली र अंग्रेजीजस्ता भाषाहरू जबरजस्ती नै सिक्नु परेको छ। यस्ता
समुदायका बालबालिकाले नेपाली पढ्न सके पनि बुझ्न सकेका हुँदैनन्। जबर्जस्ती
आधारभूत तह उत्तीर्ण गरेपछि माथिल्लो तहमा एकाध विद्यार्थीबाहेक पढाइलेखाइ निकै
कमजोर देखिन्छ। न त उनीहरूको नेपाली नै राम्रो छ, न अंग्रेजी नै।
जसरी कोरियन भाषा
उत्तीर्ण गरेकाहरू पनि यन्त्रमा लेखिएका सावधानीका उपायहरू बुझ्न नसक्दा दुर्घटना
भोगेका समाचारहरू आइरहेका छन्, लगभग त्यस्तै अवस्था अंग्रेजीको पनि छ। हालसालै
गरिएका अध्ययनले के देखाएको छ भने अति नै राम्रो स्रोत सामग्रीले सम्पन्न भएका
विद्यालयमा कम्तीमा पनि ६ वर्षसम्म आधारभूत तहमा विषयको रूपमा अंग्रेजी पढाइएका
बालबालिकाले मात्र अरू विषय अंग्रेजी माध्यममा पढ्न सक्छन्। यदि विद्यालय साधन
सम्पन्न छैन भने त कम्तीमा पनि ८ वर्ष अंग्रेजी विषयको रूपमा पढ्नै पर्छ। बल्ल
उनीहरू अंग्रेजीमा साक्षर हुन्छन्। साक्षर नभएसम्म शिक्षण माध्यमको रूपमा
अंग्रेजीलाई प्रयोग गर्नु हुन्न। यही कुरालाई हृदयंगम गरी ब्रिटिस काउन्सिलले सन्
२०१३ मा बहुभाषिक समुदायमा अंग्रेजी पढाउने नयाँ नीति घोषणा गरेको छ।
अंग्रेजीलाई मातृभाषाको
सट्टामा नभई मातृभाषाको अतिरिक्त भाषाको रूपमा पढाउने नीति लिइएको छ। अंग्रेजीलाई
आधिपत्य भाषाको रूपमा नभई बहुभाषिक सन्दर्भमा प्रवर्धन गर्ने नीति लिइएको छ।
यसअनुसार मातृभाषा, सरकारी
कामकाजको भाषा र अंग्रेजीजस्तो अन्तर्राष्ट्रिय भाषामा विद्यार्थीलाई राम्रो बनाउन
उद्देश्यपरक रूपमा कोड परिवर्तन (एउटा भाषामा बोल्दा बोल्दै अर्को भाषाको प्रयोग
गर्नु), अनुवाद
र सावधानी र योजनावद्ध रूपमा दुई भाषाको प्रयोगजस्ता विधिको प्रयोग गर्नुपर्ने
सिफारिस गरिएको छ। यसअनुसार शिक्षकले कहिले पाठको पहिलो भाषा मातृभाषामा सुरू
गर्ने, कहिले
दोस्रो भाग अंग्रेजीमा र तेस्रो भाग पुनः मातृभाषामा दिने गर्छन्। अर्को दिन यो
क्रमलाई परिवर्तन गर्न सकिन्छ। यस्तो विधिबाट पढाउँदा बालबालिकाले भाषा मिश्रण
गर्न, कोड
परिवर्तन गर्न, व्याख्या
गर्न वा अनुवाद गर्नका लागि दुई वा दुईभन्दा बढी भाषाहरू सजिलै बुझीबुझी प्रयोग
गर्न सक्छन्। बालकले आफ्नो भाषामा जानेका कुरा पनि अरू भाषा सिक्न सजिलै र
प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन्। यसबाट मातृभाषाको पनि विकास हुन्छ।
शिक्षक, अभिभावक र शिक्षक निर्माताले के कुरा जान्नु
आवश्यक छ भने बालकले जान्ने र बुझ्ने भाषामा मात्र सिक्न सक्छन्। अर्को जान्नैपर्ने
कुरा के हो भने, मातृभाषामा
उच्चस्तरको दक्षता प्राप्त नगरेको मानिसले अंग्रेजीमा उच्चस्तरको दक्षता प्राप्त
गर्न सक्दैन। यो सबैले महसुस गरेको कुरा हो। अझ अर्को, जबसम्म बालबालिकाले आफ्नो भाषामा बलियो दक्षता
प्राप्त गर्न सक्दैनन्, त्यतिबेलासम्म
अंग्रेजीलाई सफलतापूर्वक शिक्षण माध्यमको रूपमा प्रयोग गर्न सकिन्न।
अंग्रेजीलाई माध्यम
भाषाको रूपमा प्रयोग गर्नुपूर्व बालबालिकाले अंग्रेजी र मातृभाषा दुवैमा साक्षरता
विकास गरिसकेको हुनु पर्छ। यी कुरालाई ध्यान नदिई छिटो र राम्रो अंग्रेजी सिकाउने
ध्येयले आधारभूत तहमा नै अंग्रेजीलाई माध्यम भाषाको रूपमा प्रयोग गरिएमा भित्र
काँचा र बाहिर डढेका हुने छन्। यस्ता जनशक्तिले वैदेशिक बजारमा अदक्ष वा अर्धदक्ष
कामदारका रूपमा जीवन बिताउनुपर्ने बाध्यतामा कमी आउने छैन। यस कुरामा बेलैमा सरकार, अभिभावक र समुदायले सोच्नुपर्ने छ। बालकको
मातृभाषाको जगलाई अझ मजबुत बनाउँदै सरकारी कामकाज र अंग्रेजीजस्ता भाषामा
उच्चस्तरको दक्षता दिनसक्ने शिक्षण पद्धतिको विकास गर्नु पर्छ।
danrajregmi8@gmail.com
प्रकाशित : चैत्र ४, २०७६ १६:२५