चाडबाडको संग्राम शृंखला
संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई
गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र
विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ,
त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो ।
कान्तिपुर कोसेली, कार्तिक
२९, २०७७ गनेस पौडेल
पहिलो
प्रसंग तिहारको बारेमा होइन ।
तीन वर्षपहिले दक्षिण
भारतको लामो भ्रमणमा थिएँ । हामी चढेको
मोटरको स्पिकरमा घनाघन मादल
घन्किन थाल्यो ।
बिल्कुल नेपाली झ्याउरे
गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो
गीत बजाइदिएछन् । तर, जसै गीतको बोल सुरु भयो म
अचम्भित भएँ । त्यहाँ नेपाली
होइन उतैको मलयालम
गीत बजिरहेको थियो ।
तर, बिल्कुल नेपाली लय र बान्कीमा ।
भनेपछि
यताका लोकगीतमा पनि मादल घन्किदोरहेछ, होइन ? आत्मप्रश्नको
जवाफ एउटा सांगीतिक संग्रहालयमा मिल्यो, जहाँ
पुराना साजहरू सजाइएका थिए । हाम्रो मादललाई
त्यता मृदंगम भन्दा
रहेछन् ।
कुरा संगीतकै मात्रै थिएन । त्यहाँका कतिपय परम्परागत
नाच पनि हाम्रैजस्ता
चालढालका थिए ।
नृत्यको चाल मात्रै
होइन दक्षिण भारतको भात पनि
बिल्कुल नेपाली स्वादकै थियो । खाने पनि
हातैले मुछेर, (हामीतिर किरियापुत्रीले मात्रै
खाने भए पनि) त्यो पनि केराको पातमा ।
होटलमा फर्केपछि
मानवशास्त्री सुरेश ढकाललाई फोनमा सोधेँ, ‘के
हामी पहाडी नेपाली र दक्षिण भारतीयका बीचमा कुनै ऐतिहासिक सम्बन्ध छ, भन्नाले पुर्ख्यौली सम्बन्ध छ ?’ उनले
त्यसको सम्भावना नभएको बताउँदै स्वाद र संगीत अथवा कुनै सांस्कृतिक सम्पदाको
समानता अरू धेरै कारणले पनि देखिन सक्छ भनिदिए ।
संस्कृतिको समकालीन उत्पत्ति, विकास र प्रसारणका अनेक सम्भावना
पो हुँदा रहेछन् ।
घर फर्केपछि पनि मलाई दक्षिण भारतीयसँगको हाम्रो
सांस्कृतिक (स्वाद र सांगीतको) समानताको चक्करले छोडेन ।
यसका बारे लेखिएका
सामग्री खोज्न थालेँ । अनलाइन पुस्तकालय
चहारेँ ।
र फेला पारेँ, कहिलेकाहीँ
भौगोलिक, जातीय वा भाषिक रूपमा भिन्न
समाजमा पनि एकै समयमा एउटै सांस्कृतिक सम्पदा उत्पन्न हुन सक्दारहेछन् ।
सांस्कृतिक मात्रै नभएर
वैज्ञानिक आविष्कारै पनि हुन
सक्दा रहेछन् ।
जस्तो कि हेर्नुस्, कोलम्बस
अमेरिका पुग्दा उनले त्यहाँका आदिवासी रेड इन्डियनहरूले डुंगा चलाइरहेको देखेका
थिए । अब
आफैँ भन्नुस्, डुंगाको आविष्कारक कसलाई भन्ने ? कुन
जाति वा व्यक्तिले पहिलो डुंगा बनायो भनेर तथ्य राख्ने ? यस्ता
समकालीन र समतुल्य आविष्कार र उत्पादनको प्रतिलिपि अधिकार कसलाई हस्ते गर्ने ?
अझ कुरा अर्कै छ ।
म गीत, संगीत र नृत्यकै कुरामा
फर्किन्छु । तपाईं–हामीले वास्तै नगरेको
एउटा तथ्यमा एक
छिन गम्नुस् । संसारभरका हिमप्रदेश (अल्पाइन रिजन) का
गीत, बाजागाजा र नृत्यलाई ध्यानपूर्वक
हेर्नुस् (सजिलोका लागि हाम्रै हिमाली क्षेत्रका जनजातिका नृत्य सम्झिनुस्) ।
उनीहरू कहिल्यै एक्लै नाच्दैनन् । समूहमा नाच्छन् । त्यो पनि
एकअर्काको हात वा
कम्मर पक्रेर ।
नाचमा हात होइन बढी खुट्टा
चलाउँछन् । नृत्यको
ताल पनि एकनासको
र धीमा गतिको
हुन्छ ।
सबैले एकसाथ दाहिने
खुट्टा उचाल्यो अनि भुइँमा
राख्यो ।
त्यसपछि देब्रे खुट्टा
उचाल्यो अनि भुइँमा
राख्यो ।
सकेसम्म गोलाकार भएर हलुका
चालले फन्को मार्दै
नृत्य सम्पन्न गर्यो ।
संसारभरका
शीतक्षेत्रमा एकसमानको चालढालमा किन नाचिन्छ होला ? त्यस्तो
संगीत र नृत्यको आविष्कार कुनै जाति, भाषा
वा धर्मविशेषको कारणले नभएर भौगोलिक र प्राकृतिक कारणले भएको हो ।
हावाहुरी चलिरहने, हिउँ परिरहने यस्ता क्षेत्रमा
एक्लै हिँड्न प्रायः सम्भव हुँदैन । हिँडिहाले ज्यान जाने खतरा रहन्छ ।
बाक्लो कपडा लगाएर
एकले अर्काको साथ दिँदै
सुस्तसुस्त चालमा हिँड्नु
यहाँको भौगोलिक आवश्यकता हो ।
प्रकृतिले सुम्पेको यही आवश्यकताले
नै यहाँको नृत्यको
आविष्कार भएको हो ।
अब हिमालबाट अलिक तल पहाडमा ओर्लिनुस् ।
यहाँ एकल, दोकल वा सामूहिक सबै खाले नाच
हुन्छन् । तर, संगीतको
गति हिमालमा जस्तो धीमा हुँदैन । एकअर्कालाई (पूरै समय)
नछोडीकन च्याप्प समातेर वा
सम्हालेर नाच्ने पनि
हुँदैन ।
मादलको घन्काइसँगै फन्फनी घुम्ने, बुरुक्क
उफ्रिने, खुरुर्र कुद्ने नेपालका सबैखाले
पहाडी नाचको समान विशेषता हो । नेपाल मात्रै
नभएर संसारभरका पहाडी नाचमा
उस्तै चालढालले फुर्तीसाथ किन नाचिन्छ ? कारण उही प्राकृतिक र भौगोलिक
अवस्थाले हो । हाम्रैमा हेर्नुस् ।
पहाडका छरिता खोला
तर्न होस् वा
उच्चाल भीर उक्लिन
होस् ।
वा कुनै टारीको
एउटा आलीबाट बाख्रा
खेद्दै अर्कोमा हाम्फालेर कुद्न नै किन नहोस् कसैको हात वा कम्मर समातेर
फत्ते गर्न सम्भवै हुँदैन । पहाडले एउटा
छरितो गति माग्छ । त्यो पनि
एकल प्रयासको ।
अब तराईमा ओर्लिनुस् र त्यहाँका परम्परागत नाचलाई
हेर्नुस् । पहाडमा
जस्तो एकल नृत्य
छैन ।
तर, हात वा कम्मर समातेर पनि
नाचिन्नँ । संगीतको
आवाज पनि चर्को
चर्को छ ।
भाला, लाठीको प्रयोग छ ।
नाचमा आगोसमेत मिसिएको छ ।
त्यस्तो कसरी भयो ? कारण उस्तै छ ।
घना जंगलका बीचमा
झुप्पा–झुप्पा गाउँमा बसोबास
गर्ने जनजातिलाई जहिल्यै जंगली जनावरबाट
आफू जोगिने अनि
आफ्ना वस्तुभाउ तथा खेती
जोगाउने सुर्ता भइरहने भयो । जंगली जनावरलाई
तर्साएर खेद्न यस्ता
ठूल्ठूला, तिखा र कर्कश आवाज निकाल्ने
वाद्ययन्त्र चाहिए । लाठा–भाला चाहिए ।
आगोको प्रयोग अनिवार्यजस्तै
भयो ।
गीत, संगीत
र नृत्य मात्रै नभएर हाम्रा अन्य सांस्कृतिक सम्पदाको निर्माण र विकासमा पनि खासमा
प्रकृतिले प्रभाव पारेको हुन्छ । खाने कुराको
स्वाद, लगाउने पोसाक, बनाउने घर, चिन्ने चोक र चौतारामा पनि यसैको
प्रभाव हुन्छ ।
दोस्रो प्रसंग तिहारको बारेमा हो ।
नेपालमा लामो समयदेखि ‘तिहार कसरी सुरु भयो ?’ भन्ने
विषयमा लामो बहस चलेको छ । जातीय पहिचानको
बहसको छेकोमा दसैँ
र तिहारजस्ता चाडबाडहरू कतिले मनाउनै छोडेका छन् भने कतिले यस (तिहार) लाई
हिन्दुकरण गरिएको निश्चित जनजातिको चाडबाड भएको अर्थमा व्याख्या पनि गरेका छन् ।
तिनको छिनोफानो गर्ने विज्ञता
र सक्यता ममा
छैन ।
इतिहास, संस्कृति र मानवशास्त्रका
विज्ञहरूले यसका बारेमा बढी सामर्थ्य राख्लान् ।
इतिहासले ठूला राज्य भनेर बढाइँ गरेको भए पनि खासमा
हाम्रा पहाडी राज्यहरू त्यस्ता ठूला थिएनन् ।
प्रशासनिक केन्द्र रहने दरबारदेखि
एक दिनको पैदलयात्रा
वा घोड–सवारीमा छिचोलिने क्षेत्रभित्रै हिजोका पहाडी
राज्यहरू फैलिएका थिए ।
हाराहारीमा भन्दा अहिलेका एक जिल्ला बराबर
एक राज्य थिए । राज्यका सीमाहरू वैज्ञानिक थिएनन् र
स्थायी पनि थिएनन् ।
जति धेरै राज्य उति धेरै अन्तरद्वन्द्व, उति धेरै असुरक्षा, उति धेरै युद्ध ।
नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन
गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने
अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले
अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका
व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने
युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशारण र वितरणमात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने
भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।
देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । त्यसैले ‘बलि राजाले पठाएको’ भनिएकाे हो । उहिले हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो
खेलिन्थ्यो । तर, तिहार सकिएपछिको
देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो ।तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।
विशेष कारण र अपवादलाई बेवास्ता गर्ने हो भने तिनताकाका
अधिकांश युद्धहरू हिउँदमा हुन्थे । आउँदो हिउँदमा
हुने वा हुन
सक्ने युद्धको छायामा हाम्रा
अधिकांश ठूला चाडबाडहरू
मनाइएका हुन् ।
त्यसको सुरुआत तीजबाट
हुन्थ्यो ।
ऋषिपञ्चमी अन्यत्र पनि मनाइएला
तर तीज मनाइने
नेपालमा मात्रै हो । मुख्य बाली
धान रोपिसकी थकाई मारेर
बसेको बेला पर्छ
तीज ।
हिउँदको सम्भावित युद्धमा मरिने वा बाँचिने पक्को नभएपछि पुरुष
सदस्यहरूले विवाहपछि परिवारबाट छुटेका महिला सदस्यलाई बोलाएर भेटघाट गर्ने र
दुःखसुख साट्ने काम तीजमा हुन्छ । उता जन्मघर
आएका विवाहित महिला सदस्यले
कर्मघरमा छोडिआएको लोग्नेको दीर्घायुका लागि व्रत
बस्नाको कारण पनि त्यही हो ।
(महिनावारी सुरु नहुँदै
बिहे गरिने तत्कालीन
चलनलाई मध्यनजर गर्दा) महिनाबारी
भएका महिलाले मात्रै तीजको
व्रत लिनुपर्ने भन्नुको अर्थ बिहे
गरेका महिलाले मात्रै तीजको
व्रत लिन्थे भनेर
बुझ्नुपर्छ ।
पछि व्रतको अर्थ
फेरियो र अविवाहित
महिलाका लागि पनि
त्यसलाई अनिवार्य गर्न थालियो । यस्तै महिनाबारी
बन्द भएपछि पतिको
दीर्घायु–व्रत लिनु पर्दैन
भन्नुको अर्थ त्यो
बेलासम्म महिलाको लोग्ने बूढो
भइसक्ने र बृद्ध
सदस्यहरूलाई युद्ध नलाग्ने
कारणबाट बुझ्न सकिन्छ ।
तीजपछि लाग्छ १६ श्राद्ध, जसमा युद्धमा दिवंगत भएका आफ्ना पुर्खाहरूलाई
सम्झिइन्थ्यो । श्राद्ध भनेको श्रद्धा
न हो ।
त्यो १६ दिनमा
उनीहरूलाई श्रद्धाञ्जली दिइन्थ्यो ।
कालगतिले बितेका पुर्खालाई
सामान्य तिथिमा श्रद्धाञ्जली
दिइन्थ्यो भने युद्धमा
वा अकालमा बितेकालाई
१६ श्राद्धमा ।
अहिले सबैखाले पुर्खालाई दुइटै श्राद्ध
गर्ने चलन बसेको छ ।
१६ श्राद्ध लगत्तै शक्तिपूजा अर्थात् बडा दसैँ सुरु
हुन्छ । व्याख्यामा
युद्ध विजयको पर्व
भनिए पनि खासमा
बडादसैँ युद्ध तयारीको
चाड हो ।
त्यसका लागि हातहतियारको
जोहो गर्ने, तिनमा सान लगाउने, तिनको पूजा गर्ने आदि काम
हुन्थ्यो । राज्यका
सैनिक र प्रशासनिक सेवामा पजनी
गर्ने काम यसै बेला हुन्थ्यो । युद्धको तालिम गर्ने, पौष्टिक
आहार खाएर हृष्टपुष्ट हुने बेला पनि त्यही थियो ।
वृद्ध सदस्यसँग विजयको आशीर्वाद
त्यसै मागिएको होइन ।
घटस्थापनादेखि तिहारको अघिल्लो दिनसम्म युद्धका अधिकांश
तालिमहरू सकिन्थेँ । मुख्य बाली
धान भित्र्याउन योग्य हुने
तरखरमा रहन्थ्यो तर अघिल्लो
वर्षको जगेडा अन्नपात
अझै भकारीमै हुन्थ्यो ।
बारीको काट्नयोग्य अन्न र
भकारीमा जगेडा अन्नको
मूल्याङ्कनका आधारमा परिवारले
आउने वर्ष खर्चिने
खान्कीको हिसाबकिताब हुन्थ्यो ।
अर्को वर्षका लागि
यतिसम्म चाहिएला भनी अनुमान गरी जगेडा देखिने सम्पत्तिलाई प्रयोग गरिने चाड भएको
हुनाले नै तिहारलाई धनलक्ष्मीको चाड भनिएको हो ।
यही अतिरिक्त बच्ने मूल्याङ्कन
गरिएको अन्नपातलाई दुई भाग
लगाइन्थ्यो— जुवा तास
खेल्ने र देउसी–भैलोमा
दान गर्ने ।
देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे ।
‘बलि राजाले पठाएको’
भनेको त्यही हो । हामी सानो
छँदासम्म काग तिहार
र कुकुर तिहारको
दिनमा भैली खेल्ने
चलन थिएन ।
अन्तिमका तीन दिनमध्ये
तेस्रो दिन भैली
खेलिन्थ्यो भने चौथो
र पाँचौं दिन
देउसी ।
आजकाल गाउँका सबै
घरमा खेल्न नभ्याएपछि
तिहारका पाँचै दिनले समेत नपुगेर
छैटौँ, सातौँ वा अझै बढी दिनसम्म पनि
(सामाजिक कामको लागि आँटिएका) देउसी खेल्ने गरिन्छ ।
कतिपयले तिहारपछि किन भैलो
खेलेको भनेर आलोचना
पनि गर्छन् ।
तर, उहिले त झन् हरिबोधिनी एकादशीको
दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो
घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो । तिहारका ५ दिनभित्रको
भैलीदान अघिल्लो वर्षको अन्नबाट
दिइन्थ्यो भने तिहारपछिको
दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ
रासबाट झिकेर दिइन्थ्यो ।
हरिबोधिनी एकादशीलाई फुल तार्ने एकादशी पनि भनिन्छ ।
फुल तार्नु भनेको
खोला तर्न योग्य
भयो भनेर निर्क्योल
गर्नु हो ।
हेलिएर तर्नयोग्य नभएको खोलालाई
डोरी (अहिलेको तुइनझैँ) को माध्यमबाट
तर्न योग्य बनाउनु
हो ।
त्यसपछि खोला तरेर
पराई देशमा आक्रमण
गर्न जाने साइत
आउने भयो ।
तिहारको बेलामा आफ्ना दाजुभाइलाई झट्टै नसड्ने सुख्खा
फलफूल, तेलमा तारिएका सेलरोटीलगायतका
पोषिला परिकार त्यसै दिइएको होइन । तिहारमा दाजुभाइको पूजा गरेमा
उनीहरूको दीर्घायु हुन्छ भन्ने
अर्थ यहीँ निहित
हुन्छ ।
दाजुभाइलाई यस्ता मिष्ठान्न
उपहार त्यही दिनमै
खान भनेर दिइएका होइनन् । भोलि युद्धमा
छँदा भाइ भोकै
पर्ला भनेर जगेडा
राख्न दिइएका हुन् ।
हिउँदभरिको युद्ध सकिएपछि सिपाहीहरू चैतमा घर फर्किन्थे ।
हार्नेहरू या त
मारिन्थे या त
दासदासी बनाइन्थे ।
घर फर्किने भनेको जित्ने
सिपाही नै हो । यसरी विजय
उल्लासमा घर फर्केको सिपाहीको स्वागतार्थ चैतेदसैं अर्थात्
रामनवमी मनाइएको हो । खासमा भन्ने
हो भने चैतेदसैं
मात्रै विजयादशमी हो ।
बडादसैँ भनेको युद्ध
तयारीको चाड हो ।
तेस्रो प्रसंग नेपालका पहाडमा हिन्दुहरूले मनाउने
चाडबाड किन भारत वा अन्य ठाउँका हिन्दुहरूले मनाउने चाडभन्दा फरक भए वा फरक
तरिकाले मनाइए भन्नेबारेमा छ ।
नेपालका धेरै इतिहासकार र संस्कृतिविद्हरूले चाडबाड, मेला, जात्रा आदिलाई कुनै अमुक राजाले
चलाएको चलनका रूपमा व्याख्या गर्छन् । जनश्रुति पनि त्यसरी
नै बनेका वा
बनाइएका हुन्छन् ।
यो हास्यास्पद र अल्छे
व्याख्या हो, जसका लागि कुनै अनुसन्धानको
आवश्यकतै पर्दैन । सयौँ वा
हजारौँ वर्षदेखि चलेका यस्ता
चाडबाड–जात्रा–पर्वहरू कुनै सानो
देशको एउटा शासकको
उर्दीका भरमा चलेका
हुन् भन्ने कुरामा
कम्तीमा म त
विश्वास गर्दिनँ ।
चल्थ्यो भने आफूलाई
सर्वशक्तिमान् सम्झने संसारका
हरेका शासकले त्यसो गर्दा हुन् ।
हाम्रा प्रधानमन्त्री केपी ओली
त झन् आफ्नो
नामको जात्रा चलाउन
उहिल्यै कम्मर कस्दा
हुन् ।
कुनै राजाले दिएको उर्दीका भरमा त्यो देश मात्रै नभएर
सारा छिमेकी (सम्भवतः शत्रु) मुलुकभर कुनै चाड मनाउने चलन चल्यो भन्नु कदाचित
वैज्ञानिक व्याख्या होइन । त्यस्तो हुन्थ्यो भने शासकले
चलाउने यस्ता चलन
शासकको राजनीतिक सीमाबाहिरका क्षेत्रमा पनि किन
स्थापित हुन्थ्यो ? हामीले
चाडबाडहरूको उत्पत्ति र विकासका बारेमा नयाँ वैज्ञानिक विधिबाट सोच्ने सकेनौँ भने
यो गल्ती गरिरहनेछौँ । मलाई के
लाग्छ भने यस्ता
सांस्कृतिक सम्पदाको सामाजिक, आर्थिक, लैङ्गिक, मानवशास्त्रीय व्याख्या हुनु
जरुरी छ । अझ
जरुरी छ त्यस्ता
सम्पदा चलनकै रूपमा
स्थापित गरिन आवश्यक
ठानिनुको भौगोलिक र प्राकृतिक
कारण खोज्न ।
मैले पहिलो प्रसंगमा हिमाल, पहाड र तपाईंका नाचको
ताल–चाल–ढालमाथि प्राकृतिक व्याख्या यसैले गरेको हुँ ।
चाडबाड मनाउन चाहिने यस्तै भौगोलिक र प्राकृतिक कारणले
गर्दा नै एउटै धर्मका एउटै चाड पनि सबै ठाउँमा मनाइँदैनन् ।
कम्तीमा उही तरिका
र अर्थले मनाइँदैनन् । मुम्बईमा ‘दिवाली’ का दिन
एउटा प्रेमीले आफ्नी प्रेमिकालाई
‘ह्याप्पी दिवाली’ भन्दै प्रेम प्रस्ताव राख्न सक्छ ।
तर, के हामीले ‘तिहारको शुभकामना’
भनेर आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेमपत्र थमाउन सक्छौं त ? यस्तो
फरक कसरी भयो त ?
किनभने हाम्रा सांस्कृतिक पर्वले धर्म अर्थात् मिथक
(कथा) को आडेस लागेको मात्रै हो । खासमा संस्कृतिको
उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने
हुन्छ : प्रकृति, संस्कृति
र विकृति । प्रकृतिले
दिएका कुराले मात्रै
नपुगेपछि मान्छेले जे सुरु
गर्छ, त्यो संस्कृति हो ।
संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने
त्यो विकृति हो
(किनकि संस्कृतिको निर्धारण प्रकृतिले गरेको हुन्छ ।)
जंगली खाद्यान्नले नपुगेपछि, जंगली जनावरको सिकारले नधानेपछि
कृषि संस्कृति सुरु भयो । यसरी संस्कृतिका
अनेकन आयाम बने । भाषा, वेशभूषा, आहार, निवास, जीवनशैली, कला, गीत, संगीत, नृत्य, साहित्य, धर्म, चाडबाड, जात्रा, मेला, पर्व... ।
हिन्दुइतरका नेपालका पहाडी जनजातिहरू कृषि संस्कृतिका
उपासक हुन् । उनीहरूका चाडबाड, पर्व, जात्रा, मेला, गीत–संगीत, नृत्य आदि सबै कृषिसापेक्ष उत्सव
हुन् । कृषि
उत्पादनमा फरक पार्ने
ऋतु परिवर्तन, मौसम, वर्षा, खडेरी आदिको प्रभावका आधारमा
उनीहरूका धार्मिक विश्वास र अन्धविश्वासको निर्माण भएको छ ।
जीवनशैली बनेको छ ।
तर हिन्दुहरूको संस्कृति युद्ध संस्कृति हो ।
हिन्दुका सबै चाडबाडहरू
मनाउन पर्नुका कारण स्वरूप
सदैव एउटा युद्ध, लडाइँ
वा संग्रामको पृष्ठमूमि छ । राम, कृष्ण, वामनलगायत विष्णुका अनेक अवतार, महादेव वा दुर्गा आदिले जितेका
लडाइँको स्मृतिमा हिन्दुका चाडबाडहरू मनाइएका छन् ।
नेपालका खसहरूको हिन्दुकरण भएपछि (यसो भन्नेहरू पनि
भएकाले) होस् अथवा नेपालमा हिन्दुहरूको प्रवेश भएपछि होस् (यसो भन्नेहरू पनि
भएकाले) वा नेपालमा हिन्दु र प्रकृतिपूजक गैरहिन्दुले एकैसाथ बास बसेपछि (यसो
भन्नेहरू पनि हुन सक्ने भएकाले) युद्ध संस्कृतिका उपासक हिन्दुहरूको घुलमिल यहाँका
आदिवासी प्रकृतिपूजकहरूसँग भयो । युद्ध संस्कृति
र कृषि संस्कृतिको
अन्तरद्वन्द्व, संवाद र सहमतिका आधारमा नेपाली
पहाडमा नयाँ संस्कृतिको निर्माण भएको हो । किनकि प्रकृतिलाई
अपहेलना गर्ने हिम्मत कसैलाई हुँदैन ।
यहाँका हिन्दुका चाडबाडहरू आदिवासीका प्राकृतिक चाडबाडसँग मिसिए, घुले ।
यसरी घुल्दा दुवैतर्फ
केही नयाँ चाडबाड
निस्किए वा भनौँ
चाडबाड मनाउने नयाँ
तरिका निस्किए ।
नभए भारतीय हिन्दुले
‘दिवाली’ मा नखेल्ने
भैलो नेपाली हिन्दुले
किन खेल्थे ? दसैँमा
अक्षता र जमरा किन लगाउँथे ? गोठ र खर्कपूजा किन चल्थ्यो ? लुतो
किन फालिन्थ्यो ? धानको पहिलो पुला हिमाललाई किन
चढ्थ्यो ? गाउँको पुछारमा झाँक्रीको थान
किन बसालिन्थ्यो ? हरेलो किन हालिन्थ्यो ? साउने–पुसे–माघे
संक्रान्ति,
असार १५, किन मनाइन्थ्यो ?
जसरी नेपालका गैरहिन्दु प्रकृतिपूजकमाथि हिन्दु धर्मको
प्रभाव पर्यो,
उसै गरी यहाँका
हिन्दुमा प्रकृति पूजकहरूको पनि प्रभाव परेको छ ।
नेपालका (त्यसमा पनि
पहाडी) हिन्दुहरू प्रकृतिपूजक हिन्दु भएका
छन् ।
प्रकृतिपूजकहरू भने हिन्दु
प्रकृतिपूजक भएका छन् । यसको अनुपात र विस्तृतिमा भने अवश्य फरक छ ।
यहाँ यतिखेर संस्कृतिलाई
धर्मसँग जोड्ने शासकीय
यत्न, हिन्दु धार्मिक शासकहरूको
ऐतिहासिक वर्चस्व र तिनले लादेको धार्मिक एकलौटीपनका कारणले हाम्रो सांस्कृतिक
अन्तरघुलनमा परेको/पारिएको अप्राकृतिक प्रभाव र त्यसले जन्माएको अल्पसंख्यक जातिको
सांस्कृतिक र धार्मिक पहिचानमाथिको अपमानको जालोलाई बिर्सनु भने अवश्य हुँदैन ।
त्यसो त अहिले संस्कृति कम विकृति ज्यादा चल्तीमा छ ।
प्रकाशित : कार्तिक २९, २०७७ ०९:४५