Friday, September 09, 2022

जे हाम्रा होइनन्

जे हाम्रा होइनन्

सौरभ

विमर्श, भाद्र १७, २०७४

काठमाडौं — शीर्षकलाई पुन:परिभाषित गर्नुपर्ने छैन, त्यो स्पष्ट नै छ । यसैले पंक्तिकार आफ्ना कुराहरूलाई बुँदाका रूपमा सोझै प्रस्तुत गर्न चाहन्छ 

आयातित विकृति 
१. वैश्य पहाडी समाजमा पाइँदैन । त्यसैले मनुस्मृतिवादी वर्णव्यवस्था दक्षिणबाट आएको हो  
२. दास प्रथा पनि दक्षिणबाट आएको हो । किनभने कमैया, कमलरी आदि प्रथा पहाडी समाजमा पाइँदैन । कमैयाकै रूपान्तरण देखिन्छ पहाडको हलिया प्रथा 
३. छुवाछुत प्रथा पनि दक्षिणबाट आएको हो किनभने पहाडी समाजमा धोबी पाइँदैन 
४. दाइजो पाइएन भनेर महिलालाई जलाउने, घर निकाला गर्ने चलन हाम्रो होइन । जो आफ्नो जन्म घर छोडेर आएकी छ, त्यसलाई अमानवीय दुव्र्यवहार गर्ने परम्परा हाम्रो होइन  
५. देवदासीको प्रथा पनि दक्षिणबाट आएको हो । नागमल्लले देवदासी चढाएपछि त्यो प्रथा सुरु भएको मान्नेहरूले हेरे हुन्छ, त्योभन्दा धेरै पुरानो चलन हो भारतको देवदासीको प्रथा  
६. माहिली छोरीलाई झुमा बनाउने चलन तिब्बतबाट आएको हो । त्यो नेपाली चलन होइन  
७. जसरी शरीरमा टाटु (गोदना) हाम्रो मौलिक चलन होइन, त्यसरी नै चक्काहरूपहिराएर घाँटी तन्काउँदै लाने (बर्मा), फलामका जुत्ताभित्र हालेर गोडाको पौंठा खुम्चाउने (चीन), नाकका पोरामा काठका चक्काहरू जडेर ठूलो बनाउने (भारतको आसाम), तल्लो ओठमा काठका चक्का जडेर मानौं रिकापी बोकाउने (अफ्रिका) जस्ता अस्वाभाविक परोक्ष यौनजन्य शोषणका परम्परा पनि नेपालमा छैनन्  
८. जुवाको अवधारणा नै हाम्रो होइन । महिलालाई समेत जुवामा राख्ने न पासा हाम्रो हो, न कौडा पाउनका निम्ति समुद्रका छेउ छौं हामी । त्यसमाथि थपिएर क्यासिनोहरू आएका छन् होटलहरूमा । तर तिनबाट सरकारलाई आम्दानी हुने रकम नगण्य छ । त्यसका नाममा होटलहरू भरिन्छन्, पर्यटन चम्केको छ नेपालको मोनेको र लास भेगासको जस्तै ठान्ने हो भने त्यो पनि गलत कुरा हो । किनभने यी क्यासिनोहरू भरिन्छन् नै नेपालीबाट । जुवा नखेल, कृषिमा लाग (ऋग्वेद, बाजशनेयसंहिता, तैत्तिरीय संहिता–काणे पेज १२० खण्ड १) भन्ने उल्लेख छ । तर यहाँ क्यासिनोमा लाग भनेको जस्तो बुझेका छन्  
९. महिलाले आफ्नो श्रीमान् र आमाका गोडामात्र ढोग्छन् । यावत् धर्म सूत्र र स्मृतिहरूले गुरु पत्नीलाई ढोग्नै हुँदैन भनेका कुराहरूको लामो सूची काणेले दिएका छन् (पेज २३९, खण्ड १) तर विपश्यनाका गुरु गोयन्का आफ्नी पत्नीलाई ढोगाउँथे, साराका श्रीमतीलाई भारतका एक ‘पाइलट’ नामका निर्लज्ज साधु गोडा ढोगाउँछन्, गोडा मुसार्न लगाउँछन् । २०३१ सालतिर १००८ महाप्रभु नामकी महिला आएकी थिइन् वनकालीमा, लाखौं मूर्ख नेपालीलाई तिनले गोडा ढोगाइन् । गोडा ढोगाउने खास चलन हाम्रो होइन । लाओस, भियतनामदेखि बर्मा, इन्डोनेसिया, थाइल्यान्डतिरजस्तै टाउको छुन नदिने र गोडा नछुने चलन हो हाम्रो 

क्रमश: बाहिरी प्रकोप १
१. बितेको दस वर्षयता साउन महिनामा सञ्चालन हुने भारतको बिहार र उत्तरप्रदेशको बोलबम संस्कृति नेपालका पहाडहरूमा पनि उक्लेको छ । यो सुन्दरीजलसम्म पुगेको छ  
२. बितेको ५ वर्षयता महिलाले साउने सोमबार मान्ने, हरियो चुरा लगाउने चलन भित्रिएको छ 
३. विवाहमा गुजराती, डाँडिया नाच फाटफुट गराइन्छ । यो चलन ३० वर्ष जति अघि झापाको पुहातुगढी भएर छिरेको हो  
४. भारतको मारवाडकी रानी सतीको नाममा इन्द्रचोकमा कलशयात्रा गर्ने चलन आएको ७ वर्ष जति भयो 
५. दसैंमा देवी दुर्गाका माटाका मूर्तिहरू बनाई पण्डाल राख्ने बंगाली चलन उपत्यकामा देखिएको २० वर्ष जति भयो । २०५४ तिर पण्डाल गौशालाको ओरालो झर्दाझर्दै दक्षिणपट्टिको खाली जमिनमा राखिएको थियो । अहिले वनकालीमा ३ ठाउँमा राखिन्छ 
यथार्थ के भने प्राण प्रतिष्ठा गरेपछि मात्रै देवीदेवताको मूर्ति पूजा गरिन्छ र त्यस्तो मूर्ति कदापि सेलाइन्न । तर बंगालमा ‘भसान’का नाममा यस्ता मूर्तिहरू समुद्र र नदीहरूमा सेलाइन्छ । यो नेपाली परम्पराविरुद्ध हो  
६. जनै पूर्णिमामा ‘राखी बाँध्ने’ चलन फाटफुट रूपमा इन्द्रचोक नजिकको राँकी बजारबाट सुरु भएको थियो । यसले बिस्तारै व्यापक रूप लिँदै छ । कि भाइटीका मान्नु भएन, कि राखी बाँध्ने चलन । यी दुईको अवधारणा नै फरक हो  
७. दसैंमा वैष्णोदेवीको पूजास्थल स्थापना गर्ने चलन आएको पनि दस वर्ष जति हुन लाग्यो । यी वैष्णोदेवी भनेकी विष्णुकी पत्नी हुन् । नवदुर्गामा वैष्णवी पर्दिनन् । यो ठ्याम्मै नेपाली संस्कार र परम्पराविरुद्ध छ । त्यसमाथि हाम्रा सबै देवीहरू व्याघ्रबाहिनी हुन्छन्, सिंहबाहिनी होइनन््  
८. फागु वसन्तोत्सव, मन्मथोत्सव हो । नेपालको मौलिक परम्परा हो । यो सिर्जना र प्रगतिसँग सम्बन्धित छ । तर होली देवासुर युद्धसँग अर्थात् विनाश र द्वन्द्वसँग सम्बन्धित छ । यो नेपाली चाड होइन  
९. विवाहमा आयोजना गरिने ‘मेहंदी संगीत’ छिरेको पनि करिब १० वर्ष पुग्न लाग्यो । हाम्रो चलन बुकुवा लाउने मात्र हो । फेरि हाम्रो साधन तिउरी (इम्प्यासियन्स बालसामिना) हो, यो मेहंदी (लाउसनिया इनर्मिस) पनि होइन 
१०. जनै पूर्णिमाको डोरो नै पहेंलो मात्र हो हाम्रो, अरुण रङ्ग पनि भन्छन् । बेसारमा फिटकिरी (अलुम) मिसाएर बनाइन्छ । नकी उताबाट छिरेको पहेंलो र रातोको मिश्रण 
११. तिलहरी हो हाम्रो, मंगलसूत्र होइन । तिलहरीका काँडाहरू यतिवटा उतिवटा हुनुपर्छ भन्ने जुन विधान छ, त्यो मंगलसूत्रसँग पटक्कै मिल्दैन  
१२. नरीवल असुरको, ओखर यमका दूतको र सुपारी शत्रुको टाउकोको प्रतीक हो । यसैले देवीको अघि नरिवल फुटाउँछन्, ओखर भाइटीकामा फुटाइन्छ । र, तराईका केही जातिमा विवाहमा दुलहाले तरबारको टुप्पामा सुपारी उन्छ, तर नरिवल र सुपारी हाम्रा रैथाने होइनन् । त्यसैले त्यो चलन नै हाम्रा होइनन् । बेल प्रयोग गर्नुपथ्र्यो  
१३. व्रत शब्द ऋग्वेदमा २२० पल्ट परेको छ भनेर एक लेखक (पेज ५ खण्ड ४ काणे) ले लेखेका छन् । तर हाम्रो खास परम्परा भने व्रत होइन, भाकल हो  
१४. गीतापाञ्चाली अर्थात् गीता छोएर शपथ लिने ठाउँको थालनी त १५०० वर्षअघि लिच्छविहरूले सुरु गरेका हुन् नेपालमा । बूढानीलकण्ठ जाने बाटोमा परेका दुई ठाउँचपली र इटालीचोक यही गीतापाञ्चालीबाट बिग्रेर ‘इटाचपली’ हुँदै बनेको हो । टेकुको पचली पनि गीतापाञ्चालीकै अपभ्रंश हो । यसको स्रोत महाभारत भन्ने काव्य हो । हाम्रो मौलिक परम्परा भनेको दुबो र दर्सनढुङ्गा छुने हो, गीता होइन  
१५. वेदले अवतारको कुरा गर्दैन, पुराणले गर्छ, बुद्ध धर्ममा रिम्पोछेहरूले गर्छन् । यो पुराणको प्रभाव हो । अर्थात् अवतारवाद नै हाम्रो होइन । हाम्रो त सिद्धको परम्परा हो अर्थात् स्वर्ग–नर्क यही हो हाम्रोनिम्ति 
१६. हाम्रो परम्परा देवतालाई होइन, उनीभन्दा ठुलो पितृलाई मान्ने परम्परा हो । दिवंगत पुर्खाको सम्झना नगरी देवताका सम्झना हुँदैनन् हाम्रा कुनै पनि जातजातिमा 
१७. हाम्रा परम्परा देवताका भजन र भव्य पूजन होइनन्, जाँत र जात्राहरू हुन् 
१८. अकवरले इस्लाम र सनातन धर्महरूका मान्यताहरू मिसाएर दिन–ए–इलाही मतको स्थापना गराएपछि त्यसका विरुद्धमा सनातनधर्मीहरूले सत्यनारायण मत जन्माएका हुन् भनेर जनकलाल शर्माले एक ठाउँ लेखेका छन् । त्यसैले यो सत्यनारायणको पूजा गर्ने परम्परा नै हाम्रो होइन  
१९. सन्तोषी माता सिनेमाबाट आएको कुरा हो । यो कुनै देवीको मान्य रूप होइन 
२०. वर हाम्रो रैथाने होइन बटसावित्रीव्रत हुनलाई, पीपल पनि हाम्रो रैथाने होइन मंगलिनी विवाह हुनलाई । हाम्रो रैथाने भनेको पाखरी हो, शमी हो,काभ्रो हो 

क्रमश: बाहिरी प्रकोप २
१. हाम्रो प्रेम दिवस भनेको शिव र पार्वतीको विवाह भएको दिन अर्थात् अक्षय तृतीया हो । भेलेन्टाइन दिवस होइन 
२. हाम्रो निम्ति विश्व पुस्तक दिवस वेद लेख्ने व्यासको पूजा हुने दिन (गुरुपूर्णिमा) आषाढ शुल्क पूर्णिमा हो । नकि अप्रिल २३ तारिख 
३. हाम्रो निम्ति दासता उन्मूलन दिवस त्यही दिन हो, जुन मंसिर १४ को दिन चन्द्रशमशेर राणाले दासप्रथा उन्मूलन भएको घोषणा गरे । न कि नभेम्बर १९ तारिख 
४. ‘कण्डारुक’ हाम्रा लुतो–खटिराका देवता हुन् । ‘कण्डु’ शब्द ३००० वर्षअघि उत्तरकुरुमा लेखिएको मानिने सुश्रुतसंहिताको व्याख्यामै छ । आजको कोणले यो फङ्गल इन्फेक्सन हो । उनको पूजा हुने दिन साउने संक्रान्ति हो । त्यही दिन हाम्रोनिम्ति विश्व प्याथलोजी दिवस हो । नकि नभेम्बर ८ 
५. हाम्रो निम्ति मातृ सम्मान दिवस वैशाख महिनाको औंसीमा पर्छ । नकि पश्चिमाको मे महिनाको दोस्रो आइतबारको ‘मदर्स डे’ को दिन । विडम्बना मदर्स डे जन्माउने आन्ना यार्भिस नै आमा कहिल्यै भइनन्  
६. हाम्रो निम्ति पितृ सम्मान दिवस भदौ महिनाको औंसीमा पर्छ । नकि पश्चिमको ‘फार्दस डे’ को दिन 
७. हाम्रो जन्म दिनमा दियो बालिन्छ । बलिरहेको बत्ती फुकेर निभाइन्न 
८. शिवरात्रि, रामनवमी, कृष्ण जन्माअष्टमीका नाममा देवता पदापर्ण भएका दिन । हाम्रा पर्वहरू पर्छन् नकि राम वा कृष्ण बितेका दिन । तर ‘चिहान वाद’ हामीकहाँ आएको छ । यथार्थ भने मंसिरको विवाहले सीता वियोग भएको हुँदा धनुषा जिल्लामा त्यो महिना विवाहसमेत हँुदैन  
९. हाम्रो अभिवादन नमस्कार हो । व्यक्तिभित्र रहेको देवतारूपी आत्मालाई अभिवादन गरिएको हो । मेरो हातमा तिमीलाई सिध्याउने हतियार छैन भनेर खाली हात मिलाउने हिंसाबोधक चलन होइन, जो अहिले हाम्रो नयाँ खड्ग निसानामा राखिएको छ  
१०. जलन्त हो पश्चिमी पहाड, मध्यपहाड र तराईको चलन, उड्न्त हो हिमाली भेगको चलन, गडन्त पूर्वी पहाडको मात्र चलन हो र केही साधु–सन्न्यासीको अपवादलाई छोडेर । तर अहिले नेपालमा गडन्तहरूको प्रकोप बढ्दै गएको छ । सानो देशमा चिहानका नाममा जमिन घट्दै जाने क्रम बढ्दो छ । पश्चिममा पनि सम्भ्रान्तहरूको अनन्त तर सामान्यको दस वर्षमा चिहान खाली गरेर पुन: प्रयोग गर्ने चलन छ  
११. ऋग्वेदले इष्टा पूर्त (यज्ञ र जनकल्याणद्वारा प्राप्त भएको फल) लाई महत्त्व दिएको छ । तर हामीकहाँ समाज सेवाको पढाइ मात्र हुँदैन अरूका तलब खाएर उसका एजेन्डा पूरा गर्ने कामलाई पनि समाज सेवा भन्ने मान्यता बनिरहेको छ  
१२. उपचारलाई समाज सेवा मानिएको छ । तर त्यसलाई धर्म परिर्वतन गराउने उपाय बनाइएको छ  
१३. ‘वसुधैव कुटुम्वकम’् भन्ने दर्शनले गर्दा हामी बा, आमा, दाजु, भाइ, दिदी, बहिनी भन्ने नाता लगाएर कुरा सुरु गर्दछौं । तर ठाडो रूपमा मिस्टर र मिस भनेर संवाद सुरु गर्ने दर्शनहीन चलन आएको छ  
१४. जुठो शब्द र संस्कृति नेपालको उच्च पश्चिम पहाडी भेगको देन हो । यो शब्द भारतमा पनि विस्तार भयो । त्यसैले लेखियो जुठो खान र दिन हुँदैन (पेज ४१८ खण्ड १ काणे) तर पश्चिमा चमेनागृहहरूका कुकहरूले चम्चा र डाडुबाट नचाखी भाँडामा जुठो नहाली खाना ‘सर्भ’ नै गर्दैनन् । सारा नेपालीहरू भान्सेहरूका जुठो खाने भएर निस्किए । जसको जुठो खायो उसकै जस्तो बुद्धि हुने हाम्रो विश्वास छ । यो पश्चिमा संवेदनहीनताको प्रकोपमा नेपालीहरू दास पल्टेका छन् 
 
विज्ञानले पारेको असर 
१. सम्पत्ति चाहनेले घरको मोहोडा उत्तर फर्काउने र न्यायो मौसम चाहनेले दक्षिण फर्काउने चलन हो हाम्रो । तर मोटरको आविष्कारपछि सडकपट्टि मोहोडा फर्काउने चलन सुरु भयो । बाध्यता नै भयो  
२. साउने संक्रान्तिमा लुतो फाल्दा छिमेकी राज्यको नाम लिएर त्यतैतिर अगुल्टो फाल्थे । यसले गर्दा पुराना सिमानाहरू थाहा हुन्थ्यो । इतिहासको ज्ञान रहन्थ्यो । तर एन्टिबायोटिकको आविष्कारपछि मानिसमा लुतो–खटिरा नै देखिन छाड्यो । अगुल्टो फाल्ने पर्व मेटिन लागेको छ 
३. फलामको भाँडाकुँडा नितान्त वर्जित थियो परम्परामा । तर क्रोमियम पत्ता लागेपछि स्टनलेस स्टिलका भाँडाकुँडा बन्न थाले । अहिले सबैभन्दा राम्रो भाँडा त्यही मानिन्छ  
४. तराजुमा जोखेर नापतौल गर्ने प्रणाली नेपालको आफ्नै हो । जनकपुरमा लेखिएको भनिने यजुर्वेदमा ‘तुला’ शब्दको सबैभन्दा पुरानो प्रयोग छ । तौलका प्रत्येक एकाइ विष्णुसँग जोडिन्छन् । तर डिजिटल प्रणालीको आविष्कार भएपछि तराजुको माने रहेन  
५. दामोदरकुण्ड हुँदै कालीगण्डकी भेगमा पाइने शालिग्रामको महत्त्व पौराणिककालदेखि नै थियो । तर यो प्राग्ऐतिहासिक सामुद्रिक जीवावशेष एमोनाइट हो भन्ने यकिन भएपछि शालिग्राम पूजा गर्नेहरूको जमात घट्दोछ  
एमोनाइटको अर्को रूपका बारेमा त मानिसहरूमा परिचय नै छैन् । गुह्येश्वरी ढोकाबाट मृगस्थलीसम्म सिँढीमा छापिएका ढुङ्गाहरूमा त्यस वर्गका एमोनाइटहरू टड्कारै देखिन्छन् । तर शालिग्राम पूजक मानिसहरू पनि कुल्चिएर हिँडिरहेछन्  
६. ‘बिग ब्याङ्ग थ्योरी’ लगायत पृथ्वीको सृष्टिसम्बन्धी अनेकौँ सिद्धान्तले ब्रह्म पुराणको त्यो कथनलाई धराशायी बनायो । जसमा भनियो— पृथ्वीको सृष्टि चैत्र शुल्क पूर्णिमाको दिन भयो । यसैले त्यो दिन तन्त्रमा मात्र अडिन पुगेर महत्त्वहीन भयो  
७. ‘थ्योरी अफ इभोलुसन’ ले मानिसका सृष्टिबारे जे मत राख्यो त्यसले जनै (द्विज, पुर्न संस्कारं)को चलन र लोकप्रियतालाई निस्तेज बनाइदियो  

वेदबाट पलायन 
१. ऋग्वेदमा बधिया शब्द अवश्य परेको छ । तर मानिसलाई तेस्रोलिंगीमा परिणत गर्ने चलन हाम्रो होइन— टेस्टेस्टोरन र स्ट्रोजोनजस्ता हर्मोनहरू प्रयोग गरेर वा भारतमा जस्तो राजखानी झिकेर 
२. ऋग्वेदले निरन्तर शान्तिको कामना गर्छ । तर १७ हजार मानिस मर्ने द्वन्द्व यहीँ हुन्छ  
३. सामवेदले उच्च सांगीतिक आध्यात्मिकताको वकालत गर्छ । तर यहाँ अमेरिकी अश्वेतहरूको‘रेग्गी’ गाउन मात्र पर्दैन । त्यो गाउने बेला हार्लेम र ब्रोंक्सका अश्वेतहरूको चमकदमकहीन बाक्ला कपडाहरूको पोसाक पनि लाउनैपर्छ 
४. यजुर्वेदले सबैको मंगलको कामना गर्छ । तर सबै अखबारका मुखपृष्ठ अमंगलकारी समाचारहरूले मात्र भरिएका हुन्छन् । अर्थ हो हामीलाई अमंगलकारी कुराहरू मात्रै मन पर्छन् 
५. अथर्ववेदका चिन्न नसकिएका आधा दर्जन जडीबुटीबाहेक अरू सबै कास्की भेगमा पाइन्छन् । तर वैद्यखानाले आफूलाई वर्षभरि चाहिने जडीबुटी नेपालीहरूबाटै किन्दैन  
६. ऋग्वैदिक हो नेवारहरूको व्याँ (भ्यागुतो) पूजा । तर अहिले हाउजिङ कम्पनीहरूको प्रकोपमा उनीहरूले भ्यागुतो पूजा गर्न छुट्याएर राखेका यावत् सार्वजनिक चौरहरू पनि सकिएका छन् 
७. ऋग्वैदिक भ्यागुतो पूजाकै चलन हुनुपर्छ ‘भुलाँ’ अर्थात् साँधमा सार्वजनिक जमिन छोड्ने नेवारहरूको पुरानो चलन । अन्जानमा कसैको जमिन मिचिन गएको छ भने प्राण जाँदैन, यसैले सजिलै प्राण जाओस् भनेर छोडिएको हो भन्ने विश्वास छ । तर यो भ्यागुतो, सर्प, मुसा आदिजीवजीवातका निम्ति छोडिएको आश्रयस्थल हो । अहिले चक्रपथबाहिर घुम्यो भने ६ वटा ‘भुलाँ’ पनि देखिँदैन 
८. वेदमा होमको प्रावधान छ । अर्थात् आगोको पूजा हुन्छ । वर्षा (इन्द्र वर्षाका देवता हुन्) सन्तान, सम्पत्तिसँगै धनपशु धन, मागिन्छ । तर अहिले हिउँरेखा घट्दो छ, सन्तान पनि थोरै हुन्छन् र ती पनि विदेश लाग्छन् । सम्पत्ति कृषि र पशुलाई मान्न छुटिसक्यो 
९. वेदमा पानीको पूजा हुन्छ । तर नदीहरू भयानक फोहोर छन् । यजुर्वेदका प्रेरणाले बनेका जनकपुरका तालहरू पुरिँदै छन् 
१०. वेदमा अन्न मागिन्छ । तर नेपालमा खेती नगर्ने जमात विदेश लागेको छ । खाद्यान्न बाहिरबाट आयात हुन्छ  
११. वेदमा चराको गायन गरिन्छ । नामै बाजश्येनसंहिता छ । तर अहिले बाज निर्यातमा प्रतिबन्ध लागेकाले यावत् चराका प्रजातिहरू विशेषगरी पश्चिम पहाडमा मासिँदैछन्  

बाटै फरक
१. हामी तेस्रो आँखा शिवको हुन्छ भनी मान्छौं, कुमारी (शक्ति) को हुन्छ भनी मान्छौं, बुद्धको (ज्ञानचक्षु) हुन्छ भनी मान्छौं । तर विष्णु र ब्रह्माको हुन्छ भनी मानिएको छैन । जुन देवताहरूको परिकल्पना नेपालबाहिरको हो । यसर्थ यो तेस्रो आँखाको अवधारणा नै मौलिक हो  
२. अक्षता लगाइन्छ देवी पूजामा हाम्रो । अक्षता भनेको कुमारी हो र अक्ष भनेको आँखा हो । यसैले तेस्रो अक्ष जहाँ हुनुपर्ने हो, त्यहीँ अक्षता लाउने गरी अक्ष र अक्षताको ‘फ्युजन’ गरिएको छ । यो चलन भारत र अन्यत्र छैन  
३. शंकराचार्यले खडा गरेका चार मठमा नेपालका पर्दैनन् चार ज्योतिर्लिंगमा पनि नेपालका छैनन्, पौराणिक १०८ शक्ति पीठमा पनि नेपालका छैनन् । यसर्थ हाम्रा चार धाम भनेको पशुपतिनाथ, मुक्तिनाथ, खार्पुनाथ, हलेसीनाथ आदि आदि हुन् । हाम्रो तीर्थको आधार भनेको स्वस्थानी व्रत कथा हो  
४. हाम्रो चलन क्षेत्रपालको हो, जसका मूल रूप शिव हुन्, अन्य होइनन् । मष्टहरू भनेको पनि सबै क्षेत्रपाल नै हुन् र संरक्षक सन्त भनेका गोरखनाथ हुन् । पूर्वपहाडमा शवयात्राका बेला मुन्धुम पाठ गर्नेहरूले ठाउँ–ठाउँका नाम लिएबाट पनि यो कुराको ज्ञान हुन्छ  
५. हाम्रो भूभाग हिमवत् खण्ड हो— जसलाई तपोभूमि मानिन्छ । अरूको भूभाग भरत खण्ड हो— जसलाई कर्मकाण्डको स्थल मानिन्छ— बौधायन धर्म सूत्रदेखि विभिन्न स्मृतिहरू बनेका ठाउँ । कर्मभन्दा माथि धर्म (वेद ) हुन्छ, धर्मभन्दा माथि अध्यात्म (तपज्ञान) हुन्छ  
६. हाम्रा शिवलाई भाकल गरेर पूजा गर्न नगए पनि उनी रिसाउँदैनन् । पाप लाग्दैन र प्रायश्चित गर्नु पर्दैन । यसैले यो पाप र प्रायश्चितको कर्मकाण्डी अवधारणा नै आयातित हो  
७. वेदमा रूद्र, इन्द्र अनेक देवीदेवताका नाम भए पनि देवताभन्दा पितृलाई ठूलो मान्ने परम्पराहरूको देश भएकाले हामी मूलत: मूर्तिपुजक होइनौं, निराकार पूजक हौं । मूर्ति हाम्रोनिम्ति माध्यम मात्रै हो बौद्धमार्गी र इसाईहरूले पनि मूर्तिहरू आफ्ना प्रार्थनागृहमा खडा गरेजस्तै हो यो 
८. शिव संहारका देवता हुन् । तर संहारमा पनि सिर्जना खोज्ने नेवारहरूको ‘सिकाभू’ र सिर्जनामा पनि पूर्ण संस्कार खोज्ने राई प्रणीत तीजको उचाइ यही सनातन मान्ने अरू परम्पराहरूमा सम्भवत: देखिन्न  
९. हाम्रा गोरखानाथीहरू वर्षमा दुईपटक फेरि लगाउँदै हिँड्छन् देशवासीको रक्षा र कल्याण होस् भनेर । त्यो त्यागमा पनि राजकीय सेवाको भाव हो, जुन सीमाबाहिर छैन  

हाम्रै सनातन 
१. हाम्रो सनातन परम्पराले दायाँप्रधान पहिरन पुरुषको, बायाँप्रधान नारीकोलाई मान्थ्यो । तर पश्चिमको उल्टो र अझ माओवादी प्रणीत सुटको चलनले यसलाई छोप्यो । यो ‘लेफ्ट ह्यान्ड वाकिङ’ को चलन भएको लन्डन सहरलाई ‘राइट ह्यान्ड वाकिङ’को चलन भएको युरोपवासीहरूको आगमनले उल्टाइदिएजस्तै भएको छ  
२. कलियुगमा संघ नै बल हो भन्ने गरिन्छ । सनातन परम्परामा बौद्धमतावलम्बीहरू त भन्छन् नै सघं शरणं गच्छामी । तर न्युक्लियस परिवारको चलन पनि आएको छ । संघीयताका नाउँमा फुटाउँदै जाने चलन पनि थोपरिएकै छ । अपव्याख्या भएको छ संघ शब्दको 
३. हाम्रो सनातन परम्परा हो वृद्धकालमा माता–पितालाई हेर्ने तर अब पश्चिमाको ‘वृद्धाश्रम’ आएको छ, माता–पितालाई भीरबाट खसाल्ने 
४. सनातन परम्परामा गुरु त्यतिबेला मात्र भइन्छ जब कोही आफ्नो शिष्य बन्न तयार हुन्छ । तर करारमा नियुक्त भएको शिक्षकले स्थायी गुरु हुन पाउनुपर्छ भनेर हामी कहाँ आमरण अनशन बस्छ  
५. सनातन परम्परामा पहिला कर्तव्य अनि अधिकारको प्रवद्र्धन हुन्छ । तर हेरे हुन्छ अहिलेकै संविधान जसमा अधिकारबाहेक केही छैन । कर्तव्यको कुनै नाम छैन देशप्रति 
६. सनातन मतले कसैका देवतालाई पनि शैतान भन्ने असभ्यता किन गर्दैन भने त्यो अनन्त अज्ञातकालबाट सुरु भएकाले यसमा तीव्र सहिष्णुता छ । यसले विष्णु, राम, कृष्ण, बुद्ध सबैलाई राजा मान्दछ । अर्थात् राजनीतिक उच्च तह सर्वदा सहिष्णु हुनैपर्छ भन्ने बोधले गर्दा, राजाहरूबाट निसृत मानिएकाले यसमा जुन सहिष्णुता छ त्यो सहिष्णुता र सभ्यता गोठालाहरूबाट सुरु भएको मतमा नदेखिएकोमा आश्चर्यनै छैन  
७. नेपाली अष्टमंगलमा चमर हुन्छ र तिब्बतीमा धर्मचक्र हुन्छ । तर त्यो परको कुरा भयो, नेपाली लामावाद (वोनपो) लाई तिब्बती गेलुक्पा मतले खाँदैछ 
८. हाम्रा विभिन्न जातजातिहरूको मूल मत बोन्पो हो, तर ती हिन्दु होइनन् बौद्ध मतावलम्बी हुन् भनेर बोन्पोलाई मास्ने काम पश्चिमाहरूले बढाउँदै आइरहेका छन् । बोन्पो भएन भने हाम्रा सनातनी मान्यता त्यसैगरी अन्योलमा पर्छ जसरी जंगली धान भएन भने धानका खेती प्रजातिहरू अलपत्र पर्छन् 

हाम्रै सनातन २
१. सनातन परम्परामा जन्मेर मात्रै वैदिक सनातनी भइन्छ, परिर्वतित भएर बाहिर जान सकिन्छ, भित्र आउन ल्याउन पाइँदैन । यो यसको भयानक कमजोरी हो । यो कमजोरी कर्मकाण्डीहरूले बनाएका हुन् । यसलाई हटाउनैपर्छ 
२. शेर्पाहरूमा फूलचुँड्नु र केटाकेटीलाई हप्काउनुलाई ठूलो पाप मानिन्छ भनेर जेनिस सेररले एकठाउँ लेखेकी छन् । तर कृष्णलाई भुइँसम्म छुने बैजयन्ती माला नभई हुँदैन । यो फूल चढाउने आयातित प्रथा नै ठीक छैन 
३. राई–लिम्बूलगायत जातजातिहरूमा सेतो टीका लगाउने चलन छ । यो बोनमतको अहिंसावादी हाङ्गो भोनाक(सेतो वोन) को चलन हो । रातोलाई उनीहरू मार(असुर शक्ति) को रङ्ग मान्छन् । तर त्यसलाई शोकको रङ्ग ठान्ने अन्य पहाडवासीको अबुझपन नै ठीक छैन 
४. सनातन धर्मले त्यागलाई सबैभन्दा महत्त्वपूर्ण मान्छ । तर आधुनिक युगमा राजा त्रिभुवन र नेता गणेशमानबाहेक अरू कोही त्यागी भएनन् । तैपनि त्रिभुवन गद्दीमा फर्के, प्रधानमन्त्री पद नलिएका गणेशमान आफन्तलाई राजकीय पद र अवसर दिलाउन सिफारिस र द्वन्द्व गरेर बदनाम हुन पुगे 
५. सनातन मतले त्यागको पनि चुली बानप्रस्थलाई मान्छ । तर यावत्जीवन नोकरीमा बितेर अवकाश पाउने भैसकेका मानिस पनि हामीकहाँ सेवा अवधिथप्न लगाउन दौडिरहन्छन् । नयाँ पुस्तालाई ठाउँ दिन कोही तयार देखिँदैन 
६. सनातन मतले होम, पूजा, तप, जप, ज्योतिष आदिका माध्यमबाट कमजोरहरूलाई कसरी मद्दत गर्ने सहयोग गर्ने ? भनेर चिन्ता गरिरहन्छ । तर हाम्रो राजनीतिक संस्कार भने भष्मासुरहरूलाई कसरी स्थापित गर्ने भनेर चिन्तन गरिरहन्छ । भयानक द्वन्द्व छ सनातन परम्परा र राजनीतिको 
७. भारद्वाज गोत्र अर्धसन्न्यासी हो भनेर काँणेले एक ठाउँ लेखेका छन् अर्थात् काश्यप गोत्रमा पृथ्वीनारायण शाह परिणत हुनुअघिसम्म भारद्वाजी थिए गोरखाली राजाहरू, तिनको सन्न्यासी चरित्रको जिम्मा गोरखनाथ पन्थले लिएको थियो नजिकै टिला(अखडा) खडा गरेर । त्यसपछि जब उनीहरूभारद्वाजी नै रहेनन्, जनताको निम्ति त्याग गर्नुपर्ने चिन्ता पनि रहेन 
८. हामी बसुन्धरालाई मान्ने हौं, ह्योल्मो आमालाई मान्ने हौं, हामी ङरिझ्योव (ङरिकी देवी) लाई मान्ने हौं, हामी युम्मालाईमान्ने हौं । हामी ‘फादर ल्यान्ड’ मान्ने नै होइनाँै देशलाई । तर लिंकन्स इन शिक्षित नेहरूले मोहनदास गान्धीलाई भारतका राष्ट्रपिता के बनाइदिए यहाँकालाई त्रिभुवनलाई राष्ट्रपिता नबनाई भएन 
९. हामीले तिहारमा भैलो, देउसीमा नाम लिने बलिराज जुम्लाका राजा बलिराज शाही हुन् । हामी युद्धका निम्ति चन्दा उठाएर उनलाई सहयोग गर्न निस्केका हौं । त्यो दक्षिणीहरूले भन्नेजस्तो कोजाग्रत पूर्णिमाको अघिल्लो दिनलाई असुर वलिको नाममा भनिने ‘बलि प्रतिपदा’को कारण होइन । हाम्रो राजकीय हो, त्यो कर्मकाण्डी हो  

तर एकलकाँटे होइनौँ
१. फुल/अण्डालाई सगुन मान्छन् हाम्रा नेवारहरू । यो संस्कृतको शकुन (चरा) बाट आएको हो मोरक्कनहरूले पनि अण्डालाई सगुन मान्छन् 
२. शोकमा नेपालीहरू सेतो लुगा लगाउँछन्, पत्नी र छोराहरूले विशेष । कम्बोडियालीहरू पनि कपाल खौरन्छन् र सेतो लुगा लगाउँछन्  
३. एउटा कुरा यहाँनिर दोहोर्‍याऊँ नेपालीहरू जसरी टाउको छोएको मन पराउँदैनन् त्यसमा देवताको बास हुन्छ भनेर, लाओ, भियतनामी, कम्बोडियालीदेखि थाई, इन्डोनेसियनहरूले पनि मन पराउँदैनन् र गोडा छुँदैनन् । नेपालीहरू कसैले कुम छोएको पनि मन पराउँदैनन् । यो क्षेत्री मतबाट आएको हो । उनीहरू काँधमासूर्य चन्द्र हुन्छ भन्ने मान्यता राख्छन्  
४. फेरि दोहोर्‍याऊँ एउटा वाक्य । हामी बसुधैव कुटुम्वकमका दर्शनले गर्दा नाता लगाएर संवाद सुरु गर्दछौं । यो सम्बोधनका अनेक प्रकार क्याम्बोडियादेखि थाइल्यान्डसम्ममा पनि प्रचलित छ 
५. हाम्रा सबै चाडपर्व परम्परा मान्ने काम चन्द्र पात्रोअनुसार नै हुन्छ । मकर संक्रान्तिका नाममा होस, वैशाख संक्रान्ति वा पूर्णिमाका नाममा होस् त्यो क्याम्बोडिया, भियतनामदेखि इन्डोनेसियासम्म पनि अनुसरण गरिन्छ  
६. बज्रासनमा बस्नुपर्ने चलन छ लिम्बूहरूमा, अतिथिहरूलाई स्वागत गर्दा । बज्रासन योगको एउटा आसन हो । जापानी टी सेरेमनीमा पनि जापानीहरू बज्रासनमा नै बस्छन् । जापानदेखि बर्मा, इन्डोनेसियासम्म महिलाहरूचाहिँ बज्रासन कोल्टो पारेर बस्छन् । नेपाली गोरखानाथीहरू जे भन्छन्— राम देवको योग हाम्रोसँग मिल्दैन–सही छ । हाम्रो धार दक्षिण लाग्दैन । त्यो जापानदेखि इन्डोनेसियासँग तादात्म्य राख्छ 
७. गाईजात्रा मनाउँछौं हामी बितेका पुर्खाहरूको सम्झनामा । त्यसै ढाँचामा र त्यही समयमा ‘शबे बरात’ मनाउँछन् इस्लामहरू उस्तै उद्देश्यका साथ 

निक्र्योल 
हाम्रो धार शैवधार हो, यसको अभियन्ता गोरखानाथ पन्थ हो । दक्षिणको धार कर्मकाण्डी धार हो । हामीले आजका दिन यसलाई परिमार्जन गरेर केही भइहाल्छ भन्ने होइन । यसलाई मानवको निम्ति कल्याणकारी, अध्यात्मकेन्द्रित र उदार बनाउन सकेनौँ भने अरू विकृति थपिने र अधोगतितिर लाग्ने मात्रै हुन्छ 
 

sauravst@gmail.com

 

 

 

Thursday, September 08, 2022

श्रद्धाञ्जलि

श्रद्धाञ्जलि
डा. गोविन्द प्रसाद थापा
प्रहरी अतिरिक्त महानिरीक्षक (अ.प्रा.)
दुई हजार छपन्न साल आश्विन मसान्तको दिनको विहानी पख प्रहरी प्रधान कार्यालयमा आयोजित प्रहरी दिवसको समारोहमा उनी पनि आफ्नो ४ बर्ष पुग्न लागेको छोरो सहित त्यहाँ थिइन् । धेरै दिन पछि आज सुन्तलीले आङमा पारिलो घाम लागेको महशुस गरिरहेकी थिईन् । कहिले उसका हात अवोध छोराको कैलो कपाल सुम्सुम्याउन पुग्थे भने कहिले ढाडमा थपथप्याउन पुग्थे । छोरा बालसुलभ रुपमा मातृमुहार हेरेर निश्चल रुपमा हाँसिरहन्थ्यो । सुन्तलीको खसम भोज बहादुर आफ्नो कर्तव्य पालनको सिलसिलामा आतंककारीहरुसंग भएको मुठभेडमा वीरको मृत्यु वरण गरी अमरत्व प्राप्त गरेको थियो । आज बीर गति प्राप्त गर्ने अमर प्रहरी हरु लाई उनीहरुको बीरताका कदर स्वरुप सम्मानपूर्वक प्रसंशापत्र प्रदान गरिने कार्यक्रम थियो । सुन्तली जस्तै थुप्रै वीरका विधवा तथा आफन्तहरुलाई आमन्त्रण गरिएको थियो । उ छोरालाई न्यानो माया दिएर पतिको यादमा टोलाई रहेकी थिई । त्यसैले आफ्नो स्वर्गीय पतिको नाउंको साथै घटनाको विवरण उद्घोषकले माईकवाट वर्णन गर्दा उनीलाई हेक्का भएन । एक्कासी कसैले उनी बसेको स्थानमा आएर अभिवादनका साथ कदरपत्र हातमा राखि दिएका थिए । त्यो क्षण सुन्तलीलाई असह्य भयो । मुटु छिया छिया भयो । आँसुका बलिन्द्र धारा बग्न थाले । कदरपत्र छोराको काखमा राखेर सेतो सारीको फेरले गालासम्म आएको आँसु पुछीन् । उनी बसेको कुर्सीवाट उठ्न पनि सकिनन् । छोरा काखमा रहेको बाबुको वीरताको कदरपत्र सुमसुमाउँंदै थियो । सुन्तली टुलुटुलु भावशुन्य रुपले अबोध छोरालाई हेरी रहीन् ।
विगतका दिनहरु चलचित्र जस्तो गरी उनलाई सम्झना आईरहेको थियो । भोज बहादुरको स्वाभिमान, निश्छल आचरण, मीठो मायालु बोलीवचन र शारीरिक तन्दुरुस्ती देखेर सुन्तलीले उसंग नचुंडिने मायाको माला गांसेकी थिईन् । उनी सम्झंदै थिईन्, कसरी सुन्तलीले जन्म दिने आमा बाबुको ईच्छा विपरित आफ्नो जातभन्दा बाहिरको जातसंग प्रेम विवाह गर्न पुगेकी थिईन् । भोज बहादुरको गुणहरुलाई र मायालाई सम्हाल्न आफुभन्दा तल्लो जातको हुंदा हुंदै पनि कसरी उनले समाजमा विद्यमान मान्यता र अवधारणा विपरित विवाह गरेकी थिईन् । कसरी उनीले रुढीवादी साजाजिक रिम्परा लाई भतकाएकी थिईन् । त्यसो त विवाह पछि पनि समाजले उनि माथि थुप्रै लान्छना नलागएको पनि होइन । तर अनि आफनो निश्चयमा अडिग थिईन् ।
अब त विवाह भएको पनि पाँच बर्ष वितिसकेछ । छोरो जन्मिएको पनि झण्डै चार बर्ष पुगिसकेछ । ति पाँच बर्षमा भोज बहादुरसंग उनले कति क्षण कति पल कसरी विताईन् त्यसको आफैलाई हेक्का थिएन । भोज बहादुर प्रहरी सेवामा प्रवेश गरेको तीन बर्ष मात्र भएको थियो । उनको गाउंँ उर्लेनी देखि चार घण्टा हिंडेपछि मात्र शान्तिपुर बजारमा पुगिन्थ्यो । सुन्तलीलाई सम्झना थियो एक दिन उनीहरुको गाउंमा नेपाल प्रहरीको एक डफ्फा शान्तिपुर थानावाट गश्ती गर्दै त्यहाँ पुगेको । भोज बहादुरले निक्कै चाख लिएर प्रहरीमा भर्ना हुने जिज्ञासा राखेको थियो । प्रहरी डफ्फाका एक जनाले उसलाई भर्ती हुने बारेमा जानकारी दिएका थिए । प्रहरी डफ्फा फर्कंदा भोज बहादुर निक्कै परसम्म उनीहरुसंगै गएको थियो र निक्कै बेर पछि फर्केको थियो । सुन्तलीसंग उसले त्यो सांझ आपूm पनि प्रहरीमा भर्ती हुने ईच्छा राखेको थियो । सुन्तलीले केही भनिनन्, आफ्नो काम गरिरही । त्यसपछि भोज बहादुर नेपाल प्रहरीमा भर्ना भएको थियो । भर्ती भएर तालीम सकेर घरमा आएको बेला उ प्रहरी पोशाकमै थियो । उसलाइृ आफू प्रहरी जवान भएकोमा धेरै गर्व थियो । उसलाई पोशाक पनि चौपट्टै सुहाएको थियो ।
उसका बाबु–आमा पनि खुसी देखिन्थे । भोज बहादुरका बाबु पनि भारतको सैनिक सेवा निबृत्त नायब सुबेदार भएकाले उनी त झनै खुसी थिए । गाउं घरमा सुवेदारको ईज्जत थियो । कैयौं पटक भोज बहादुरले आफ्ना बाबुबाट लडार्इंमा उनीले गरेका बहादुरीका कथा सुनिसकेको थियो । शायद यिनै कारणले पनि भोज बहादुर प्रहरी हुन तम्सिएको थियो । सुन्तलीले भने खै केही भन्न सकिनन् । बल्ल बल्ल एक बर्षको तालीम सकेर आउंदा पनि घरमा पांच दिनका लागि मात्र आएको रे । सल्यान जिल्लामा खटिएको कुरा भोज बहादुरले भनेको थियो उनलाई । सल्यान जानु भन्दा अघि त्यस भेगमा भएका घटनाहरु बारे रेडियो तथा समाचारपत्रवाट धेरै कुरा थाहा पाएको थियो उसले । सुन्तली खिन्न हुन्छे भनेर सबै कुरा भनेको थिएन । नभन्दा नभन्दै पनि सुन्तलीले धेरै कुरा केही हदसम्म थाहा पाएकी थिइन् । त्यसैले एक दिन उनले आफू भित्रको डर भोज बहादुर सामू प्रकट पनि गरेकी थिईन् ।
नेपाल प्रहरीको प्रहरी जवानमा भर्ती भएर देशको लागि सेवा गर्ने भोजबहादुरको पहिले देखिको अभिलाशा पुरा भएको थियो । उ आफू प्रहरी सेवामा प्रवेश गर्ने एउटा सम्वेदनशील कारण थियो, जुन उसले कहिल्यै विर्सन सकेको थिएन । साथै उसलाई त्यो दृष्यले घचघच्याई रहन्थ्यो । त्यो कारण थियो, उसको दिदीमाथि उसको भिनाजुले गरेको अमानवीय व्यवहार । ऊ सानै हुंदा उसको दिदी निर्मलाले एकजना लाहुरेसंग विवाह गरेकी थिईन् । चन्द्रकोटको मेलामा मेला भर्न जाँदा उनलाई फकाएर लगेको रहेछ । उनका पति निकै अम्मली र पापी पनि रहेछन् । पतिको तर्फबाट निर्मलाले कहिल्यै पनि दाम्पत्य जीवनको सुख पाइनन् । उनले आफ्नो जीवनभर अमानवीय व्यवहार र लान्छनाको सामना गर्नु परेको कुरा भोज बहादुरले आफ्नै आँखाले देखेको भए पनि उसले आफ्नो दिदीमाथि भएको अमानवीय व्यवहार र हिंसाको विरुद्ध केही गर्न सकेको थिएन । ऊ निरन्तर उपायको खोजीमा थियो । ऊ छटपटी रहेको थियो ।
बाबु सुवेदारले नेपालको प्रहरीमा भन्दा पनि भारतीय सैनिकमा भर्ति हुने आग्रह गर्दागदै पनि उ आफ्नो दिदीमाथि भएको अन्याय, अत्याचार, अमानवीय व्यवहार र हिंसाको विरुद्ध कानूनी कारवाही गर्नका लागि आफु प्रहरी भएरै छाड्ने दृढ संकल्पित थियो । ऊ अब प्रहरीमा भर्ति भैसकेको थियो, अब सल्यानमा जाने नजाने बारे दोधारमा पर्न ऊ चाहदैनथ्यो । तर पनि प्राणप्यारी सुन्तलीका कुरामा उसले ध्यान दिएको थियो । उसलाई उसका बाबुले भन्ने गरेका कुराको पनि हेक्का थियो । जसरी ऊ आफ्नो दिदीमाथि भएको अन्यायको विरुद्धमा उभिनका लागि प्रहरी जवान बन्ने अठोट गरेको थियो, त्यस्तै कैयौं नेपाली नागरिकहरुले गरीबी, अशिक्षा, रोग, भोक, थिचोमिचो, अन्याय, अत्याचार एवं हिंसा विरुद्ध उठेका हुन् भनेर । उसलाई यो पनि थाहा थियो कि कैयौंले यही मौका पारेर आफ्नो निहित स्वार्थ पनि पुरा गर्न उद्दत छन् भनेर । श्रीलंका, भारत, इनडोनेसिया, बर्मा, भियतनाम आदि देशहरुमा भएका घट्नाहरुका बारेमा ऊ बिलकुलै अनभिज्ञ थिएन । उसलाई विश्वास थियो कि एक दिन माओवादी र सरकारले आ–आफ्नो गल्तीहरुको महसूस गर्ने छन् र देश र जनताको हकहितका लागि अघि बढ्ने छन् भनेर ।
यन्त्रवत सुन्तलीलाई कसैले झकझकाएर अमर प्रहरीको प्रतिमामा फुलका थुंगा चढाउन जानकालागी ईशारा गरे । बीर अमर शहीदहरुको शालीकमा सुन्तलीले आफ्नो बीर अमर स्वर्गीय पति प्रति श्रद्धान्जलि अर्पण गरीन् । यतिखेर उसका हात कामेनन्, गोडा लडखडाएनन्, मुटु भक्कानिएर आएन । आफनो देशकालागी आफनो ज्यानको बाजी लगाएर कर्तव्य पुरा गर्दा गर्दै शहीद भएको बीर समुतप्रति श्रद्धान्जलि प्रकट गर्दा उनलाई गौरवको अनुभूति भइरहेको थियो । मनमनै उनले आफनो कलिलो छोरा लाई पनि देशकै सेवामा समर्पित गर्ने अठौट गरी सकेकी थिइन् । अस्तु ।
कयौं बीरगति प्राप्त अमर प्रहरी जवानहरुको संझना र समर्पणमा । सबै नाम हरु काल्पनिक हुन् । लेखक


 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...