राउटे किराँती ?
०४ जेठ २०७६ ०९:०६:००
भाषा
हिमालय मुन्तिर आएको तुलनात्मक जेठकान्छीका आधारमा
नेपाल र भारतमा भएका भोट चिनियाँ भाषा बोल्ने जातिहरूलाई प्राचीन र अर्वाचीन जाति
भनेर छुट्याउन सकिन्छ। भोट चिनियाँ भाषा बोल्ने प्राचीन समूह चाहिँ दक्षिण चीनबाट
पूर्वोत्तर भारतको ब्रह्मपुत्र बेँसीको बाटो असम छिरेर हिमालयको मुन्तिर पहाडै
पहाड अरुणाचल प्रदेश, भुटान, सिक्किम, नेपाल, उत्तराखण्ड र हिमाचल प्रदेशसम्म पुगेको पाइन्छ भने, अर्वाचीन समूह चाहिँ सातौँ शताब्दीमा स्रङ चन
गम्पोले तिब्बतको एकीकरण गरेपछि क्रमशः हिमालयका भन्ज्याङ हुँदै दक्षिणतिर ओर्लेको
पाइन्छ। भाषा वैज्ञानिक दृष्टिले प्राचीन समूहका भोट चिनियाँ भाषाहरू प्रायः जटिल
क्रियापद भएका पाइन्छन् भने, अर्वाचीन समूहका भोट चिनियाँ भाषाहरू तुलनात्मक रूपले सरल क्रिया
पद भएका पाइन्छन्। अर्थात्, प्राचीन
भोट चिनियाँ भाषाहरूमा क्रिया पद लामो हुन्छ भने, अर्वाचीन भोट चिनियाँ भाषाहरूमा क्रिया पद छोटो
हुन्छ।
प्राचीन र अर्वाचीन समूहका भोट चिनियाँ भाषामा
अर्को भिन्नता के छ भने, प्रायः
अर्वाचीन समूहका भोट चिनियाँ भाषाहरू तानल (रुद्रघण्टी तलमाथि सार्दा एउटै उही
अक्षरबाट बेग्लाबेग्लै अर्थ निकाल्ने खालका) हुन्छन् भने, प्राचीन समूहका भाषा चाहिँ प्राय अतानल हुन्छन्।
तान नभएका (नेपाली, लिम्बु, नेवार र धिमाल) जस्ता भाषाका वक्ताहरूलाई सुन्दा
उस्तै उस्तै लाग्ने शब्दबाट तान भएका भाषा (तामाङ, गुरुङ, घले, ह्योल्मो, शेर्पा, ह्लोमी, थकाली, मनाङे, चुम, नार, फु, छन्त्याल, काइके) का वक्ताहरूले चार ओटा सम्म फरक फरक अर्थ
निकाल्छन्। हिमालयको दक्षिण तिर केही प्राचीन भोट चिनिया भाषा (व्यासी, खालिङ, थुलुङ, मगर(खाम, मगर(ढुट, सुनुवार) हरू पनि तानल पाइएका छन्।
यसबाट भाषा वैज्ञानिकहरूले के अड्कल गरेका छन् भने, सबै भोट चिनियाँ भाषाहरू पहिले तानल नै थिए होलान्, तर पछि अरू भाषाको सम्पर्कमा आएपछि तान गुमाए
होलान्। यो कुरो हिमालयको छेउछाउमा बोलिने तामाङ र गुरुङ भाषाका भाषिकाहरू तानल
भएको, तर
नवलपरासी र पोखरामा चाहिँ तान हराएको पाउँदा ठीक हो कि जस्तो पनि लाग्छ।
क्रियाको रूपावली र तानका आधारमा अमेरिकाली भाषा वैज्ञानिक
जेम्स मातिसोफले सबै भोट चिनियाँ भाषाहरूलाई चीनात्मक (साइनोस्फोरिक) र हिन्दात्मक
(इन्डोस्फोरिक) भन्ने दुई वर्गमा बाँडेका छन्। चीन भित्रका बहुसङ्ख्यक भोट चिनियाँ
भाषाहरू तानल र एकाक्षरी (अर्थात्, चिनियाँ जस्ता) छन् भने, भारतीय उपमहाद्वीपमा भएका अधिकांश भोट चिनियाँ
भाषाहरू चाहिँ संस्कृतमा जस्तो (हिन्दात्मक) क्रियामा एकवचन, द्विवचन, बहुवचनको फरकफरक रूप चल्ने र लामा लामा क्रिया पद
हुने खालका छन्।
यी हिन्दात्मक अथवा प्राचीन भोट बर्मेली भाषाहरूमा
क्रियाको जटिलता वाक्यमा प्रयोग भएका सर्वनाम र क्रिया पदको सङ्गतिले भएको हो।
सर्वनाम र क्रिया पदको सङ्गतिलाई ‘सर्वनामीकरण’ भन्ने चलन छ। झापा र मोरङको धिमाल
भाषा, दोलखाको
नेवार भाषा, दोलखा र
रामेछापको थामी भाषा, गोरखाको
बराम भाषा, तनहुँको
भुजेल भाषा अनि पश्चिम स्याङ्जा (लसर्घा) को मगर–ढुट भाषा जस्तै केही भाषामा
चाहिँ कर्ता सर्वनाम र क्रिया पदबीचमा मात्र
सङ्गति हुन्छ भने, धेरै जसो
किराँती (लिम्बु, याक्खा, राई), रामेछाप र सिन्धुलीको हायु, मकवानपुरको चेपाङ, रोल्पा, रुकुम र पश्चिम बाग्लुङको मगर–खाम, कैलालीको राजी र दार्चुला तथा पिथौरागढको व्यासी
(सौका) भाषामा चाहिँ वाक्यमा प्रयोग भएका सर्वनामको कारक (कर्ता, कर्म, सम्बन्ध, सम्प्रदान, आदि) को पारस्परिक साइनाको जटिलता समेत मिसिएर
क्रिया पदको रूपावलीमा जटिलता हुने हुनाले यस्ता प्राचीन भोट बर्मेली भाषाहरूलाई
चाहिँ जटिल सार्वनामिकता (अथवा जटिल सर्वनामीकरण) भएका भाषा भनेर
छुट्याउने चलन छ। लिम्बू, याक्खा र धन्कुटाका केही राई जस्ता पूर्वी किराँती
भाषामा त निषेधार्थक प्रत्ययको जटिलता पनि क्रिया पदमा थपिन्छ। होल्यान्डका भाषा
वैज्ञानिक भान ड्रिमले यस्ता सबै किसिमका सर्वनामीकरण हुने भोट चिनियाँ भाषालाई
‘महाकिराँती’ भाषा भन्ने नाम दिएका छन्।
तामाङ, गुरुङ, थकाली, मनाङे, छन्त्याल, काइके, ह्लोमी, ह्योल्मो र शेर्पा जस्ता अर्वाचीन अथवा भोटात्मक
(अथवा तिब्बतीय) भोट बर्मेली भाषामा चाहिँ कर्ता (अथवा जुनसुकै कारकको सर्वनाम) र
क्रियाका बिचमा पद सङ्गति नै पाइँदैन। तिब्बतलाई तिब्बती भाषामा ‘बोद’, ‘बोत’, ‘भोद’ उच्चारण गरेको नेपाली कानले ‘भोट’ सुनेर
तिब्बत देशलाई भोट (संस्कृतमा ‘त्रिविष्टप’) र तिब्बतको विशेषण तिब्बती जाति, भाषा र संस्कृतिलाई ‘भोटे’ भनेको अड्कल गर्न
सकिन्छ। नेपालमा अचेल ‘भोट’ शब्दको गरिमा चाहिँ घटेको छैन, तर ‘भोटे’ शब्दचाहिँ संस्कृति बुझाउन (जस्तै, भोटे घोडा, भोटे नुन, भोटे ताल्चा, भोटे सेलो, भोट मास) र हिमाल पारिकै जाति बुझाउन त प्रयोग
भएकै छ, तर हिमाल
वारिका तिब्बती मूलका नेपाली जाति बुझाउन चाहिँ यस शब्दको प्रयोगमा अर्थको गरिमा
घटेको पाइन्छ, त्यसैले
गाली गर्दा बाहेक यस शब्दको प्रयोग गर्न छोडिएको छ। जे भए पनि तिब्बती भाषासित
निकट ऐतिहासिक साइनो भएका अर्वाचीन समूहका भोट चिनियाँ भाषाहरूलाई भोटात्मक
(बोडिस) भन्ने पनि चलन छ।
ग्रियर्सन (१९२७ इ, ‘टिबेटो–चाइनिज फेमिली’, लिङिस्टिक सर्भे अफ इन्डिया, १।१।४०–४९) ले भोट चिनियाँ भाषा बोल्नेहरूको मूल
थलो तिब्बतकै ईशान कोणको (तिब्बत, छिङ्हाई र सिछुवानतिर) माल भूमिलाई ठहराएका छन्। त्यसै ठाउँबाट
चीनका महानदी ह्वाङ ह र याङ्सी, सिछुवान (चार खोला) का चार ओटा नदी अनि भिएत्नाम र कम्बोडिया तिर
बग्ने मिकङ नदी उम्रेका छन्। म्यान्मारको इरावती र चीनको युन्नान हुँदै म्यान्मार
र थाइल्यान्डका साँधमा बग्ने साल्विन नदी पनि त्यसै पठारबाट उम्रिन्छन्। असमको
डिब्रुगढ नजिकैको परशुराम कुण्ड (सदिया) मा मानसरोवरबाट बग्दै आउने ब्रह्मपुत्र
नदी पनि त्यसै माल भूमिको अलिक दक्षिणतिरबाट बग्छ।
चिनियाँ भाषाको नक्सामा मानसरोवरको पूर्वतिरको
ब्रह्मपुत्र नदीलाई ‘तामाङ खोलो’ (तामाङ ह) भनेको पाइन्छ। यसबाट तामाङहरूको मूल
थलो त्यही रहेछ भन्ने अड्कल गर्न सकिन्छ। सातौँ शताब्दीमा तिब्बतको एकीकरण
अभियानपछि सम्भवतः तामाङहरू त्यसै ठाउँबाट नेपाल पसे होलान्। तामाङहरू तिब्बती
मूलका जातिमध्ये सबभन्दा पहिले नेपाल आए जस्तो लाग्छ। पहिलो कुरो त तिब्बती मूलका
नेपाली जातिमध्ये दक्षिण सम्म (जस्तै, नवलपरासी) नै चक्ला बस्ती हुने तामाङबाहेक अर्को
जाति छैन। अर्को कुरो काठमाडौँ उपत्यका वरिपरि तामाङहरूकै घना बस्ती छ। स्रङ चन
गम्पोले अंशुवर्माकी छोरी भृकुटी (छि चन) बिहे गरेका थिए। त्यस वैवाहिक साइनाले
सबभन्दा पहिले काठमाडौँ आउने तामाङहरू
नै थिए होलान्। जति जति
काठमाडौँ उपत्यकाबाहिरका
आप्रवासीहरूले ढाक्तै गए, त्यति तामाङहरू काठमाडौँ उपत्यकाबाट पाखा लाग्दै
गए जस्तो लाग्छ।भाषा वैज्ञानिकहरूले आफूलाई ‘त–म–ङ’ व्यञ्जनबाट चिनाउनेहरूका भाषा
(तामाङ, तमुङ, तमङ, तमु, आदि) लाई तामाङ समूहका भाषा मानेका छन्। यस समूहमा
तामाङ, गुरुङ, थकाली, मनाङे, छन्त्याल, तीन गाउँले, बार गाउँले आदि भाषा पर्छन्। अस्ट्रेलियाका
भाषाविद् वारेन ग्लोभरले चाहिँ तिनै तामाङ समूहका भाषालाई गुरुङ समूहका भाषा
मानेका छन्। मुगुका कार्मारोङ र मुगाली भाषा बोल्नेहरूमा पनि तामाङ थर पाइन्छ।
तिब्बती मूलका अरु जातिमा पनि तामाङ थर पाइएको छ।
ग्रियर्सनले ठहराएको सबै भोट चिनियाँ भाषाहरूको
मूल थलालाई आधार मान्दा त्यहाँबाट पश्चिमतिरको तिब्बती उच्च भूमिमा फस्टाएका
मातृभाषाहरू नै भोटे अथवा तिब्बती भाषा हुन्। स्विट्जरल्यान्डका भाषा वैज्ञानिक
दिवंगत रोल्यान्ड बिल्मायाले ठूलो परियोजना बनाएर तिब्बतीका सबै भाषिकाहरू जोडेर
‘तिब्बती भाषिका कोश’ तयार गरेका छन्, तर उनको असामयिक निधनले त्यो कोश अझै प्रकाशित
भएको छैन। अहिले प्राध्यापक भान ड्रिम बिल्मायाकै बर्न विश्व विद्यालयको नेतृत्व
गरी रहेका छन्, त्यसैले
त्यो कोश छिटै प्रकाशित होला भन्ने आशा छ। त्यस कोशमा उनले नेपालका तामाङ, गुरुङ, थकाली, ह्लोमी र शेर्पा जस्ता भोटात्मक भाषा र भुटानको
जोङ्खा भाषालाई पनि समेटेका छन्।
शरीरका अङ्ग, शारीरिक क्रिया अनि माटो, पानी, घाम, हावा जस्ता आधारभूत शब्दावलीको समानताका आधारमा
तुलनात्मक भाषा विज्ञानले चिनियाँ भाषा, तिब्बती भाषा, म्यान्मारका (बर्माली) भाषा र नेपाल भारतका प्राय
उत्तरी भेगका भाषाहरू एउटै मूलबाट विकसित भएको ठहर्याएका छन्। त्यसै हुनाले यस
भाषा परिवारलाई चिनियाँसमेत समेट्ता भोट चिनियाँ र चिनियाँ नसमेट्ता भोट बर्मेली
भन्ने चलन छ। यस हिसाबले भोट बर्मेली भाषा परिवार पनि भोट चिनियाँ भाषा
परिवारअन्तर्गत पर्छ। जेम्स मातिसोफ (२००८ इ) ले यौन र प्रजनन अङ्ग जनाउने ९ ओटा
मात्र शब्दबाट अर्थ विस्तार भएको तुलनात्मक कोश प्रकाशित गरेका छन्, जसमा उल्लिखित सबै भोट चिनियाँ भाषाहरूलाई अर्थ
वैज्ञानिक सामीप्यका आधारमा अध्ययन गर्न सकिन्छ। मातिसोफले गरेका तिनै नौ ओटा
शब्दहरूको अर्थ सामीप्यका आधारमा भोट चिनियाँ भाषालाई यसरी वर्गीकरण गरिएको छ ः
भोट चिनियाँ भाषा पहिले चिनियाँ
र भोट बर्मेली हाँगामा बाँडिन्छ। भोट बर्मेली भाषाहरू आठ ओटा हाँगामा बाँडिन्छन्।
(१) कामरूपीय (असम) हाँगामा बोडो (मेचे), गारो, नागा, मेतेई (मणिपुरी) आदि पर्छन्। (२) एउटा हाँगामा
बर्माली र लोलो आउँछन्। (३) ताङ्गुत–
छ्याङ वर्गमा चीनमा बोलिने ग्यारोङ भाषा आउँछ, जसले भोट बर्मेली माउ भाषाका रूपहरू साँचेको
पाइएको हुनाले भोट बर्मेली भाषाको ऐतिहासिक पुनर्निर्माण गर्न ग्यारोङले निकै
सघाएको छ। (४) हिमाली भाषाहरूले ती आठओटा हाँगामध्ये एउटा हाँगो ओगटेका छन्। यस
हाँगामा नेवार बेग्लै हाँगामा पर्छ। मैले माथि नाम लिएका प्राचीन (सबै सार्वनामिक)
भोट बर्मेली भाषा चाहिँ ‘महाकिराँती’ वर्ग भित्र राखिएका छन् भने, अर्वाचीन (तिब्बती मूलका) भोट बर्मेली भाषाचाहिँ
‘भोट–किन्नर’ वर्गभित्र पाइन्छन्।
जर्ज भान ड्रिमको ‘महाकिराँती’ शब्दमा परेको
‘किराँती’ शब्द नेपालमा प्रचलित शब्द हो भने संस्कृतमा चाहिँ ‘किराँती’ शब्दका
ठाउँमा ‘किरात’ र ‘किलात’ शब्द प्रयोग भएको पाइन्छ (म्याक्डोनेल र किथ, १९१२ इ, वेदिक इन्डेक्स)। यो किरात शब्द अथर्व वेदलगायत
उत्तर वैदिक साहित्यमा प्रयोग भएको पाइन्छ। म्याक्डोनेल र किथले ‘वेदिक इन्डेक्स’
भन्ने कोशमा वैदिक कालमा भारतीय उपमहाद्वीपमा भएका जातिहरू कुनकुन भूभागमा थिए
भन्ने देखाउने नक्सा बनाएका छन्। त्यस नक्सामा उनीहरूले किरात जाति कर्णाली नदीको
पूर्वतिर देखाएका छन्। यसरी उत्तर वैदिककालमा जहाँ आर्यहरूले किरातहरूलाई भेटे, ती किरातहरू त सम्भवतः भाषालाई ‘पाङ’ भन्ने रुकुम, रोल्पा र पश्चिम बाग्लुङका मगरहरू थिए, आज पूर्वी नेपालमा ‘किराँती’ भनेर प्रसिद्ध भएका
‘चिराइतो’ (किराततिक्त) चलाउने राई, लिम्बू र याक्खा (सुनीति कुमार चटर्जी, १९७४ इ, ‘किरात जन कृति’, पृ. २९) थिएनन् होला।
इमानसिंह चेमजोङले ‘किरातकालीन विजयपुरको संक्षिप्त
इतिहास’मा नेपाल एकीकरण कालमा गोर्खाली सैनिकमा भएका मगर र लिम्बूहरू दुवै किराँती
भएको ठहर गरेर आपसमा लडाइँ गर्न नहुने निधो गर्दै नुनपानी छोएर सन्धि गरेका थिए
भनेर लेखेका छन्। भान ड्रिमले समस्त प्राचीन भोट चिनियाँ भाषालाई ‘महाकिराँती’
घोषित गरेका छन् र म्याक्डोनेल र किथको वैदिक कोशमा पनि कर्णाली र भेरी नदीको
पूर्वतिर किरातहरू भेटिएको हेर्दा के कुरो बुझिन्छ भने, उत्तर वैदिक साहित्यमा ‘किरात’ र ‘किलात’ शब्दले
जनाउने जातिका विशेषतामा तिनीहरू ओढारमा बस्ने, सिकार खेल्ने र जडिबुटी सिलो गर्ने आदि विशेषता
पर्छन्। मगर–खाम भाषाको व्याकरण पनि किराँती भाषासित निकै मिल्छ।
वैदिक साहित्यमा उल्लिखित किरातहरूका विशेषता आज
राउटेहरूमा काटिकुटी मिल्छन्, केही दशकअघि चेपाङ र कुसुन्डाहरूमा पनि ती विशेषता मिल्थे।
कुसुन्डाहरूको भाषा त भोट चिनियाँ होइन, तर राउटे र चेपाङको भाषा चाहिँ भान ड्रिमको
‘महाकिराँती’ भित्रै पर्छन्। संस्कृतका महाकवि भारवि (भारवि) ले ‘किरातार्जुनीय’
महाकाव्यमा किरातेश्वर महादेवसित अर्जुनले युद्ध गरेको प्रसङ्ग पनि
अनुसन्धाताहरूले कुमाउँ (उत्तराखण्ड) तिर औँल्याएका छन्। राहुल सांकृत्यायन (१९५३
इ, गढवाल, पृ० ४२) ले पिथौरागढका ‘राजी’ लाई जनाउन
‘राजकिरात’ भन्ने शब्द प्रयोग गरेका छन्। रमेश खत्री (२००८, राजी भाषाको व्याकरण) ले नेपाल (कैलाली) को राजी
भाषामा अनुसन्धान गरेका छन् भने, कविता रस्तोगी (२०१२ इ, ले भारत पिथौरागढको राजी भाषामा पिएचडी गरेकी
छिन्।
रमेशको अनुसन्धान (राजी भाषाको भाषा वैज्ञानिक
अध्ययन) का आधारमा कैलालीको राजी भाषा किराँती भाषाझैँ सार्वनामिक छ। राजी भाषाको
स–उपसर्गले भाषा वैज्ञानिकहरूले कल्पना गरेको किराँती भाषामा लोप भएको सकार फेला
परेको छ। लखनऊ विश्व विद्यालयकी प्राध्यापक कविता रस्तोगीले अध्ययन गरेको पिथौरागढको
राजी भाषा र रमेश खत्रीले अध्ययन गरेको कैलालीको राजी भाषा नाम मिले पनि एउटै भाषा
होइनन्। कविता र रमेश दुवै जनासित छलफल गर्दा रस्तोगीले अध्ययन गरेको पिथौरागढको
राजी भाषाचाहिँ राउटे भाषाको नजिक भएको थाह भएको छ।
वैदिक साहित्यका किरातहरूका लक्षण हेर्दा
पिथौरागढका राजी, दार्चुलाका
व्यासी र कर्णाली प्रदेश र सुदूर पश्चिममा यायावर भएर घुम्ने राउटे जाति पनि
व्यापक अर्थमा ‘किरात’ समूहमै पर्ने देखिन्छ। राउटेहरू आफुलाई जङ्गलका राजा
मान्दछन्। फिरन्ते प्रकृतिका राउटेहरू अहिले सम्म पश्चिममा बझाङ, उत्तरमा मुगु जिल्लाको रारा ताल, दक्षिणमा दाङ हुँदै कैलाली अनि महेन्द्रनगर र
पूर्वमा रोल्पा सम्म पुगेका कुरा बताउँछन् (सूर्य नारायण कल्याल शाही, राउटेका मुखिया)। त्यस हिसाबले व्यापक अर्थमा
कर्णाली प्रदेशका दैलेख र सुर्खेतका मगर मात्र होइन, कैलालीका राजीहरू पनि किरात समूहमै पर्न सक्छन्।
वनमै बस्नु, बाँदरको सिकार गर्नु, एक किसिमको वस्त्र लगाउनु, घर नबनाउनु, आफ्नो वासस्थान सारी रहेर यायावर बन्नु, आफ्ना तीन किसिमका थर सुनाउनु, एउटै थरमा बिहे नगर्नु, पुरुष र स्त्रीका लोकाचारमा फरक पर्नु, विधवालाई निषेध गर्नु, काठका सामान बनाउनु, आँटोपीठो साट्नु, भोट बर्मेली खाम्ची भाषा बोल्नु, मस्टाको पूजा गर्नु, केही निश्चित लोककथा र लोक साहित्य पुस्ता
पुस्तामा सार्नु, आफुलाई
वनको राजा मान्नु र अरू मानव समुदायबाट आफुलाई अलग्ग राख्नु राउटेहरूको संस्कृति
हो।
आज राउटेहरू जस्तो किसिमको जीवन बिताइरहेका छन्, प्रागितिहासमा र वैदिक तथा उत्तर वैदिक कालमा
‘किरात’ जाति भनेर म्याक्डोनेल र किथले चिनाएका लक्षणहरू धेरैजसो मिल्छन्, तर एउटै कर्णाली प्रदेशमा बसे पनि राउटेकै जस्तो
चलन उही भोट बर्मेली सार्वनामिक भाषा नै बोल्ने राजीकै चलनसित पनि मिल्दैन।