Friday, January 13, 2023

मुक्त दासहरूको जीवन्त कथा

 केशव दाहालको उपन्यासमा मुक्त दासहरूको जीवन्त कथा

शिलापत्र संवाददाता

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  २१:१२

अखबारी लेखनबाट चर्चा कमाएका केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ सार्वजनिक भएकाे छ । साझा पार्टीका शीर्षस्थमध्येका एक यी नेताकाे उपन्यासका रूपमा याे पहिलाे कृति हाे ।

किताब पब्लिसर्सले  बजारमा ल्याएको  'मोक्षभूमि'को कथा संवत १२८० बाट सुरु हुन्छ । यो कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौँ दासहरूको मुक्तिको कथा हो ।

खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ । त्यससँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ ।

बहससँगै सुरु हुन्छ- मुक्त दासहरूको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा । 'मोक्षभूमि' त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन हो ।

'मोक्षभूमि' ती मान्छेहरूको सपनाको कथा हो, जसको रगत र पसिनामाथि हाम्रो इतिहास उभिएको छ । तर, स्वयं ती मान्छेहरूको इतिहास भने गुमनाम छ । लेखक दाहाल भन्छन्, ‘त्यही गुमनाम कुनामा अलपत्र परेका

 

आदिमान्छेहरूको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ । तर यो ऐतिहासिक उपन्यास होइन । यो एउटा खास समय, सत्ता र सपनाको कथा हो ।’

उपन्यासमा मुक्त दासहरू कता जान्छन् ? उनीहरूको देश खोज्ने यात्रा कसरी टुङ्गिन्छ ? एक निरंकुश र चक्रवर्ती खस सम्राट क्राचल्लदेवले कसरी बौद्ध धर्म लिन्छन् ? सनातन वैदिक धर्मलाई कसरी हिन्दुकृत गरिन्छ ? प्रेम, धर्म, मोक्ष र साधनाको मार्ग के हो ? यस्ता अनेक प्रश्नमाथि ३७६ पृष्ठको उपन्यासमा बिमर्श गरिएको छ ।

उपन्यास देशैभरका पुस्तक पसलका साथै अमेजन र थुप्रैडटकम मार्फत् ई-बुकका रुपमा  सबैतिर किन्न पाइन प्रकाशक कल्पना ढकालले जानकारी दिइन् । लेखक दाहालले यसअघि  नेपाली राजनीतिकाे पुनर्गठन नामक पुस्तक लेखिसकेका छन् । 

समावेशीकरणको चीरहरण

 समावेशीकरणको चीरहरण

कान्तिपुर, मंसिर ६, २०७४केशव दाहाल

चुनाव आयो । यो चुनावमा सही निर्णय गर्ने कि आज गल्ती गरेर ५ वर्ष नेताहरूलाई गाली गर्दै बस्ने ? यो प्रश्न मतदातालाई । यहींनेर मलाई पढ्ने प्रिय पाठकहरूलाई साक्षी राखेर केही प्रश्न गर्छु । के तपाई आजको चुनावी ढाँचा, शैली र संस्कृतिसँंग सन्तुष्ट हुनुहुन्छ ? के तपाई हाम्रा दल र नेताहरूसंँग खुसी हुनुहुन्छ ? सम्भवत: धेरैलाई लाग्ला, राजनीति सही बाटोमा छैन । यो सत्तास्वार्थ, अहंकार, दिशाहीनता र परिवारवादमा फसेको छ । त्यसो हो भने के यो निर्वाचनमा मतदाताले कुनै चमत्कार गर्ने सम्भावना छैन ? चमत्कार याने कि ती मान्छेलाई हराउने, जो हार्नका लागि सबैभन्दा योग्य छन् 

मेरा यी प्रश्न ती असल मान्छेहरूलाई, जो लोकतन्त्रका लागि लडेका थिए । किनभने आज लोकतन्त्र धनतन्त्र या डनतन्त्र बन्यो । मेरा यी प्रश्न ती कार्यकर्तालाई, जो लामो समयदेखि दलमा आबद्ध छन् । उनीहरू हर्दम आन्दोलनको अग्रभागमा उभिन्छन् । तर उनीहरूको दल दलजस्तो छैन । यो कसैको निजी कम्पनीजस्तो भयो । मेरा प्रश्न ती अभागी कमरेडहरूलाई, जसले पार्टीको सेवामा जीवनका ऊर्जाशील समय बिताए, तर कहिल्यै निर्णय गर्न पाएनन् । मेरा यी प्रश्न ती इमानदार मतदातालाई, जसले जिन्दगीमा अनेकौंपटक मतदान गरे र हरेकपटक उनीहरूको विश्वासले हार्दै गयो । प्रिय साथीहरू, के हामी यो राजनीतिलाई फेर्न सक्दैनौं ? के हामी चुपचाप सबै बेथिति सहन श्रापित छौं ?

थप केही प्रश्न गर्ने अनुमति पाऊँ । आखिर प्रश्नहरू नै त हुन्, हामीले गर्ने । थप केही असंगति राख्न स्वीकृति पाऊँ । असंगतिहरू नै त हुन्, हामीले अस्वीकार गर्ने । जस्तो कि लामो समय पार्टीमा काम गरेका इमानदार कमरेडहरूले यो पाली पनि टिकट पाएनन् । बरु चुनावको ठिक अघिल्लो दिन पार्टी प्रवेश गर्ने प्रखर मण्डले महोदय टिकटका हकदार भए । किन ? सबैभन्दा ठूला व्यापारीलाई पार्टीले पूजा गरेपछि साना, निम्छरा र इमानदार सदस्यहरूको समाजवाद के हुन्छ ? जिन्दगीभर समाजवादको सपना देख्ने तपाई, समाजवाद बनाउन नेतृत्व गर्छ, दलाल पुुँजीपतिले । सफा राजनीतिको अपेक्षा गर्ने जनता, टिकट पाउँछ कुनै बन्दुकेले । जब राजनीतिले गुन्डागिरीलाई वैधानिकता दिन्छ, तब लोकतन्त्र र सुशासन कता पुग्छ ? यस्तो बेला कसैले बहुमत ल्याउँछ र स्थिर सरकार बनाउँछ भने पनि त्यो कसको सरकार बन्छ ?

निर्वाचन गाउँ पसेको छ । धुलो उडाउँदै नेताहरूको गाडीको लस्कर सडकमा दौडिन्छ । सयौं कार्यकर्ता नामका लोभी चाकरहरूले घेरिएको नेता मञ्चमा चढेर भन्छ, ‘म समृद्धि दिन्छु’ । इतिहासदेखि हेपिएका गरिब मनुवाहरूले कसरी विश्वास गर्ने ? हिजो, अस्ति र त्योभन्दा वर्षाैंअघि पनि उनै सत्तामा थियो, उनै सरकारमा थियो । त्यो बेला गाउँमा सडक किन बनेन ? त्यो बेला रोजगारी किन मिलेन ? त्यो बेला अस्पतालमा दबाइ किन पाइएन ? त्यो बेला स्कुलमा पढाइ किन भएन ? त्यो बेला विकास कहाँ गयो ? त्यो बेला गाँस, बास र कपासको सपना किन पूरा भएन ? इतिहासलाई सचेत मतदाताले यति सजिलै कसरी भुल्न मिल्छ ? बितेका ३० वर्षदेखि इतिहासको ब्याज खाने असफल मठाधीशहरू आज समृद्धिको सपना बाड्छन् त पत्याउने कसरी ? हामी मतदाताले तिनका झुटलाई नपत्याउँदा के हुन्छ ?

धन, पार्टी, सत्ता र शक्ति कसले कब्जा गर्‍यो ? यो प्रश्न सचेत कार्यकर्ता र मतदाताहरूले नेताहरूलाई किन नसोध्ने ? समानुपातिक उम्मेदवारहरूको सूची हेरौं । त्यहाँ परिवारवाद, धनवाद र डनवादको राजनीतिक ‘कनेक्सन’ प्रस्ट देखिन्छ । किनभने समानुपातिक सूचीमा एउटै परिवारका अनेकौं लालची प्राणीहरूको नामावली समाविष्ट छ । तर इमानदार र योग्य मान्छेहरू किनाराकृत छन् । स्पष्ट छ कि समानुपातिक सूची डनवादको पापी फेहरिस्त हो । यो सूची लोकतन्त्र सकिएको र परिवारवाद मौलाएको असली प्रमाण हो । के पार्टीको गजुरमा बस्नेहरूको कार्यकर्ता, लोकतन्त्र र जनमतप्रति कुनै दायित्व हँुदैन ? अन्यथा टिकट वितरणमा महिला, सीमान्त समुदाय र गरिखाने वर्गका नाम कसरी छुट्न सक्छन् ? यस्तो राजनीतिले न्याय र समृद्धि दिँदैन । यस्तो नेतृत्वले लोकतन्त्रलाई सुन्दर रंगहरूले सजाउँदैन । यो समावेशीकरणको चीरहरण हो 

जगजाहेर छ कि सत्ता, शक्ति र स्वार्थलाई एउटै परिवारमा केन्द्रित गर्नु परिवारवाद हो । यो लोकतन्त्रको विकृत रूप हो । यसले अमूक परिवारमा सार्वभौमसत्ता निहित भएको भ्रम सिर्जना गर्छ । यसले राजनीतिमा पारिवारिक वर्चस्ववाद स्थापित गर्छ । आफ्नो परिवार र त्यसको शक्तिमाथि प्रश्न गर्ने सबैलाई फत्तुर लगाउनु परिवारवाद हो । हामीले राजशाहीको यसकारणले विरोध गरेका थियौं कि त्यो पारिवारिक भयो । त्यो लोकतन्त्र भएन । त्यो गणतन्त्र हैन । त्यसले परिवारको देवत्वकरण गर्‍यो । अहिले के भिन्न भयो ? निश्चित परिवारमा सार्वभौमसत्ताको हस्तान्तरण आज पनि छ । निश्चित मठाधीशमा लोकतन्त्रको केन्द्रीकरण आज पनि छ । तपाई जसलाई भोट हाल्नुहोस्, त्यो, यो वा त्यो कुनै परिवारकै प्रतिनिधि शासक बन्छ । परिणाम एउटै परिवारले सत्ताको दोहन गर्छ । एउटै परिवारले नीति बनाउँछ र उसैले त्यो नीतिको फाइदा लिन्छ । यो कस्तो गणतन्त्र हो ? यो गणतन्त्र हुनै सक्दैन, यो त परिवारतन्त्र हुन्छ । हामीले राजनीतिक रूपमा त शाह परिवारको शासकीय वर्चस्वलाई तोड्यौं । तर दलका नेताहरूको पारिवारिक वर्चस्वमा पुन: पँmस्यौं । यसलाई नतोडी लोकतन्त्र बन्दैन । यसलाई नतोडी चुनाव चुनावजस्तो हुँदैन । यसलाई नतोडी इमानदार कार्यकर्ताको लोकतन्त्र बन्दैन 

त्यसो त समानुपातिक निर्वाचन पद्धति लोकतन्त्रको गजव प्रयोग हो । यसको राजनीतिक अर्थ र उपादेयता पनि छ । तर दलहरूले जेजस्तो शैलीबाट समानुपातिक सूची बनाए, त्यो आफैमा सिद्धान्तहीन बन्न पुग्यो । किनभने त्यो सूचीमा समाविष्ट नामावली हेर्दा समानुपातिक निर्वाचनको व्यवस्थाकै चीरहरण गरियो । वस्तुत: यो निर्वाचन प्रणाली नेताहरूको परिवारवादलाई प्रबद्र्धन गर्न छनोट गरिएको होइन । तर भयो, त्यही । यो व्यवस्था नेताहरूको धन आर्जनको लागि थिएन । यो नेताहरूको ‘क्राइम पार्टनर’लाई खुसी पार्ने प्रयोजनका लागि थिएन । खासमा यो पद्धति यसकारण अपनाइयो कि चुनावी प्रतिस्पर्धामा भाग लिन नसक्ने सीमान्त समुदाय, वर्ग र लिंगलाई नीति निर्माणको उपल्लो हतमा लैजान आवश्यक छ । यो लोकतन्त्रको सुन्दर परिकल्पना थियो । तर नेताहरूले यो प्रणालीलाई यति धेरै विकृत गरे कि लोकतन्त्र नै लाजले निहुरियो 

पटक–पटक बहस गरिएको विषय हो कि युवाहरू राजनीतिमा आउनुपर्छ । पुरानाहरूलाई सम्मानपूर्वक विदा दिनुपर्छ । नयाँहरूको रचनात्मक क्षमताको उपयोगविना सिर्जनशील राजनीति सम्भव छैन । नयाँहरूको नेतृत्वविना समृद्धि पनि सम्भव छैन । तर यो पटकको निर्वाचनमा पनि पुरानाहरूको वर्चस्वले निरन्तरता पाउने स्पष्ट देखियो । पुरानाहरू टिकट वितरणमा त हावी छन् नै, उनीहरू नै शासकीय नेतृत्वमा पनि आउनेछन् । बितेका ३० वर्षमा जो सबैभन्दा असफल भए, अब पनि उनीहरू नै जित्नेछन् । यस्तो बेला कसरी भन्न सकिन्छ कि हाम्रो भविष्य सफल बन्छ ?

अत: सोचौं, अब पनि किन तिनै असफलहरूलाई भोट हाल्ने, जसले हामीलाई खराब ३० वर्षहरू उपहार दिए ? यो आजको युगप्रति बेइमानी हो । यो युवा स्वप्नद्रष्टाहरूप्रति बेइमानी हो । यो थोत्रो राजनीतिक सोच र वर्चस्वको हस्तक्षेप हो । यो कञ्चन र चलायमान राजनीति होइन 

स्पष्ट छ, हामीले परिवारमुखी, विकृत र धनवादी लोकतन्त्रका लागि बलिदान गरेको होइन । नेताहरूले परिवारवादको जुन धागो समाए, यसले उनीहरूको स्वर्ग त पक्का मिल्ला, तर जनताका लागि यो सुखद बाटो होइन । त्यसैले भन्नैपर्छ, परिवारवाद मुर्दावाद । मुर्दावाद जस्तो कठोर शब्द प्रयोग गर्नुपरेकोमा क्षमा चाहन्छु । यो मेरो आवेश होइन । अत्यन्तै सुविचारित रूपमा यो शब्दको प्रयोग गरिएको हो । जब लोकतन्त्र परिवारवाद, डनवाद र धनवादको घेराबन्दीमा पर्छ, कसैले न कसैले त यस्तो राजनीतिलाई

मुर्दावाद भन्नैपर्छ । अन्यथा कित आफूले गरेका आन्दोलनहरूलाई ब्यर्थ ठान्नुपर्छ । सहिदहरूको सपना बिर्सनुपर्छ । नेताहरूको शरण पर्नुपर्छ । नत्र यति धेरै बेथितिलाई सहनु आफैमा अपराध हो । यो निर्वाचनमा अपराध गर्न इन्कार गरौं 

हरेक निर्वाचनले नेताहरूलाई बलियो र मतदातालाई झन्–झन् कमजोर किन बनाउँछ ? यो उल्टो बाटो हो । उल्टो बाटो हिँड्न मतदाताहरू कसैगरी अभिशप्त छैनौं । हामी न त श्रापित छौं, न ऋणी । हामी स्वतन्त्र मतदाता हौं । यहींनेर आजका लागि म अन्तिम प्रश्न गर्छु, के हामी फोहोरी राजनीतिलाई इन्कार गर्न सक्दैनौं ? यो प्रश्नले हामी मतदाताहरूको परीक्षा लिँदैन ?
dahal.keshab@gmail.com

प्रकाशित : मंसिर ६, २०७४ ०८:१३

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...