Friday, July 15, 2022

१४ जातिको नृत्यमाथि प्रतिष्ठानको अनुसन्धान

 १४ जातिको नृत्यमाथि प्रतिष्ठानको अनुसन्धान

Naya Patrika, २०७८ चैत ७ सोमबार

लोपोन्मुख नृत्यको संरक्षण गर्दै नयाँ पिँढीलाई ती नृत्यबारे जानकारी दिने उद्देश्यसहित गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशका १४ जातिको नृत्यमाथि अनुसन्धान सुरु गरेको छ प्रतिष्ठानले उपकुलपति गोरे गुरुङको संयोजकत्वमा उपसमिति बनाएर ती नृत्यहरूको अध्ययन अनुसन्धान सुरु गरेको हो

उपकुलपति गुरुङका अनुसार थकाली, कुमाल, छन्त्याल, माझी, गुरुङ, मगर, थारू, दरै, तामाङ, दुरा, ब्राह्मण तथा क्षेत्री, नेवार, दमाईं र गन्धर्व जातिको नृत्यको अध्ययन र अनुसन्धान सुरु भएको हो जसका लागि १४ जना अनुसन्धानकर्तालाई जिम्मा दिएको

अनुसन्धानकर्ताहरूले ३० चैतभित्र अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानमा बुझाउनुपर्ने संयोजक गुरुङले जानकारी दिए अनुसन्धानकर्ताहरूले अक्षर भिडियोमा नृत्यको आवश्यक जानकारी संकलन गरिरहेका छन् छायांकन गर्नुपर्ने नृत्यका भिडियो २३ मिनेटदेखि दुई घन्टा ५८ मिनेटसम्मका हुने गुरुङले जानकारी दिए 

गुरुङका अनुसार प्राप्त भिडियो नयाँ पिँढीलाई देखाउन प्रतिष्ठानले श्रव्यदृश्य कक्षा तयार गर्न लागेको छ प्राप्त भिडियो लाइब्रेरीमा समेत राखिनेछ 

 

 

कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सव

 कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सव

किन, कसरी र कहिले गरिन्छ ?

https://www.onlinekhabar.com/2020/03/843865

हरेक मानिसको एउटा वंशवृक्ष हुन्छ, जसलाई पुर्खा वा कुल भन्ने गरिन्छ । आफ्नो पुर्खालाई सम्झिने वा सम्मान व्यक्त गर्ने विभिन्न जातजातिमा आ–आफ्ना तौरतरिका छन् । यसमध्ये एउटा हो, कुलपुजा । आर्य संस्कृतिमा मात्रै नभएर किराँतदेखि अरु पनि पूर्वीय परम्परामा कुलपूजाको परम्परा भेटिन्छ । यद्यपि, पुजाको विधिमा विविधता छन् । मानिसहरु फिरन्ते जीवन छाडेर पारिवारिक संरचनामा प्रवेशसँगै कुल पूजाको संस्कार सुरु भएको हो । पारिवारिक संरचनामा प्रवेश गरेसँगै बिस्तारै मान्छेमा ‘तेरो र मेरो’ को भावना विकास हुन थाल्यो । कृषि जीवन, परिवारका सदस्य र सिंगो जीवन नै तेरो–मेरोमा बित्न थालेसँगै कुलपूजाको परम्परा पनि कठोर र अनिवार्य हुँदै गयो ।

विशेषगरी देउराली र त्यस्तै साझा ठाउँमा कुलपूजाहरु गर्ने गरिन्छ । भगवानको पुजा र कुलपुजामा मुख्य फरक के छ भने कुलपुजा गर्दा कसैको पनि मुर्ति राखिँदैन । मानिसहरुले यायावरी जीवन छाडेको लामो समयसम्म एउटा परिवार विशाल वंशवृक्षमा परिणत हुँदै गएको पाइन्छ । यसैबाट एउटा ‘कुल’को निर्माण भएको हो । परिवारको वंशवृक्ष अझ बिस्तार हुँदै जाँदा यसमा ‘उपकुल’ हरु समेत थपिँदै गए । तिनलाई पनि ‘कुल’ को रुपमा नै मान्न थालियो । अहिले भने एकै गोत्र र थरभित्र समेत धेरै कुलहरु अस्तित्वमा छन् ।

कुलपूजा आफूलाई फुर्सदको मौसममा शुभ मुहूर्त जुराएर गर्न सकिन्छ भने अर्काेतर्फ यो पूजाको विधि पनि कुल अनुसार फरक हुने गर्छ । तर, यो पूजा नगर्ने हो भने कुल रिसाएर ठूलो अनिष्ट हुन सक्ने मान्यता छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई कुल पूजाको नियम खुकुलो हुँदा हुँदै पनि अति आवश्यक र अनिवार्य गर्नैपर्ने पूजाको रुपमा मान्ने गरिएको बताउँछन् । उनकाअनुसार कुल पूजामा विशेषगरी ७ पुस्तासम्मका दिवंगत पितृहरुलाई सम्झिने गरिन्छ । ‘कुल पूजालाई पहिलेदेखि नै भगवत् पूजनभन्दा पनि महत्वका साथ हेर्ने गरिएको छ,’ भट्टराई भन्छन् ।

जनजाति संस्कारका विज्ञ भोगीराज चाम्लिङ कुल पूजाको महत्व मुन्धुममा समेत विशेष किसिमको हुने गरेको बताउँछन् । यसलाई प्रकृति पूजनको रुपमा लिँदै चाम्लिङ भन्छन्, ‘यो एक किसिमको प्रकृति पूजा हो । तर, यसमा पितृहरुको सम्झना धेरै गरिन्छ । मुन्धुमले पनि आफ्ना पितृहरुको पूजा गर्ने परम्पराको रुपमा यसको ब्याख्या गरेको छ ।’

देउराली पुज्ने प्रचलन धेरै पहिलेदेखि चल्दै आएको हो । अहिले यो परम्परा बिस्तारै कम हुँदैछ । परिवारिक संरचनाको सुरुवाती समयदेखि नै चलेको ‘तेरो मेरो’ भन्ने भावना विकास हुँदै मान्छे मरेपछि पनि आत्मालाई मेरो र तेरो भन्ने चलन चल्दै गयो । यसैले आफ्ना पुर्खाहरुले जीवनपछि पनि आफूलाई संरक्षण गर्छन् भन्ने मान्यताको विकास हुँदै गयो । यो चलन बिस्तारै मृत्युपछिसम्म पनि चल्दै गयो ।

पूर्ववैदिककालमा पनि मानिसहरु अलौकिक शक्तिमाथि विश्वास गर्थे र उनीहरुको कृपाले नै आफूहरुको सहज दैनिकी सम्भव भएको मान्ने गर्थे। आफूले कूलपूजा गरेपछि मात्रै मृत पूर्खाहरुको आत्माले शान्ति पाउने गर्छन् भन्ने मान्यता विकास भएसँगै यो एउटा नियमित प्रक्रियाको रुपमा चल्दै आयो ।

वैदिककालीन सूत्र

वैदिककालका मानिसहरु दुईवटा शक्तिलाई मान्थे । एउटा त अदृश्य तत्वको रुपमा रहेको भगवान र अर्काे पुर्खाहरु । ऋग्वैदिक काल (आजभन्दा तीन हजार वर्ष पहिले) सम्म पनि कुनै प्राकृतिक समस्याको कारण अलौकिक शक्ति नै हो भन्ने मान्यता देखिन्छ । खडेरी, अतिबृष्टि, अनाबृष्टि, हुरीबतास आदिको कारण अलौकिक शक्तिलाई मान्ने चलन पहिलेदेखि नै चल्दै आएको चलन हो । यसैबाट जन्मिएको मानिन्छ कूलपूजाको परम्परा ।

ऋग्वेदका कतिपय ऋचाहरुमा रुद्र(शिव)लाई धेरै नरिसाउन र आफूहरुबाट भएको गल्तीमा माफी दिन धेरै आग्रह गरिएको पाइन्छ । त्यसको लागि उनीहरुले क्षमा पूजाको रुपमा स्तुति, यज्ञ जस्ता शर्तहरु समेत राख्ने गरेको वैदिक ऋचाहरुमा उल्लेख छन् । सोही समयमा कुल देवताको रुपमा आफ्ना पितृहरुलाई समेत पूजा गर्न सुरु गरियो । कुलायनको रुपमा वैदिक साहित्यहरुमा यसको धेरै चर्चा गर्ने गरिन्छ ।

के हो कूल ?

आचारो विनयो विद्या प्रतिष्ठा दर्शनम्

निष्ठा वृत्तिस्तपो दानं नवधा कुल लक्षणम् ।

अर्थात्, कुनै पनि कुल बन्नको लागि आचार, विनय, विद्या, प्रतिष्ठा, दर्शन, निष्टा, वृत्ति, तप, दान गरी नौ वटा गुणहरु आवश्यक पर्छन् । यही नौ वटा लक्षण रहेको कुलमा आफ्ना पुर्खाहरुलाई सम्झिएर गरिने पूजा नै कुल पूजा हो ।

सामान्यतया कुनै पनि कूलको पूजा हुने ठाउँमा मूर्ति राख्ने गरिँदैन । एउटा कूलको अदृष्य स्वरुपको पूजा गर्ने गरिन्छ । तसर्थ कुल देवताको रुपमा कुन देवीलाई पूज्ने भन्ने यकीन हुँदैन । यद्यपि कुल २४ वटा गोत्रका मानिसहरुले कुल देवीको रुपमा विभिन्न योगिनीहरुको उल्लेख गर्ने गरेका छन् ।

कहिले र कसरी गर्ने ?

कुल पूजा कुन समयमा गर्ने भन्ने निश्चित विधान छैन । विधि पनि फरक फरक हुनसक्छन् । कोही वेदोक्त विधिका अनुयायी छन् भने कसैले तान्त्रिक विधिबाट पूजा गर्छन् । वेदोक्त विधिबाट पूजा गर्नेहरु शान्त रुपमा पूजा गर्छन् । तान्त्रिक विधिबाट पूजा गर्नेहरु भने केही भिन्न हुन्छन् । कोही पूजाको समयमा ‘शरीरमा कुल चढेर’ काम्छन् । कसैको पुरै परिवार नै काम्ने गरेको पनि पाइन्छ ।

कसैले कुलपुजामा बली चढाउँछन् । कसैले बली बर्जित गरेका हुन्छन् । यही बली दिने पनि आ–आफ्नै शैली हुन्छ । कोही खुकुरीले काटेर बलि दिन्छन् । कोही रगत आफैं पिउने पनि गर्छन् । कोही भगवानलाई रगत चढाउँछन् ।

धेरैले कुलदेवताको मन्दिरमा छानो राख्दैनन् । कुलदेवताको मन्दिरमा मूर्ति नहुने भएकोले छानो पनि राख्न नहुने कतिपयको मत हुन्छ । कसैले छानो राखेर मन्दिर समेत बनाएको देखिन्छ । यद्यपि त्यो पूजा गर्ने ठाउँमा रुख वा एउटा किलोलाई नै कुल देवताको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ ।

कतिपय जाति तथा सम्प्रदायहरुले फुर्सदको समयमा कुलपुजा गर्छन् । यसमा कुनै निश्चित समय तोकिएको हुँदैन । तर, अधिकांशले मंसिर पूर्णिमा, अष्टमी र पञ्चमीका दिनमा कुलपूजा गर्ने गरेको पाइन्छ ।

वैदिककालको कृषिमैत्री स्तुति

आदिम कालमा मेघ गर्जन, बिजुली चम्किने र भारी वर्षामा ‘ईश्वर’ रिसाएको भन्दै विभिन्न किसिमको प्रकृति पूजा गर्ने चलन थियो । यही स्तुतिबाट हिन्दू धर्ममा यज्ञको सुरुवात भयो ।

शिवलाई रौद्र रुप निकालेको भनेर उनको नाम नै रुद्र राखियो । यसको कारण थियो धेरै रिसाएर चट्याङ आदिबाट आफूहरुको विध्वंस गराए भन्नु । इन्द्र, मरुत (वायु), सूर्य, पानी जस्ता खेतीपातीसँग सम्बन्धित विषयमा धेरै स्तुतिहरु गरिएको पाइन्छ । कतिपयले आफ्ना कुलदेवताको रुपमा नै सूर्य, वायुआदिको समेत स्तुति गर्ने गरेको पाइन्छ ।

 

जनै लगाउनुको शास्त्रीय एव‌ं वैज्ञानिक महत्व

 यस्तो छ जनै लगाउनुको शास्त्रीय एव‌ं वैज्ञानिक महत्व

https://www.deshkonews.com/archives/89645

जनैको शास्त्रीय महत्व

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यसपछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यसपछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् ।

वैदिक ग्रन्थअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावणशुक्लपूर्णिमाका दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ)गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न न सक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

जनैको व्यावहारिक/वैज्ञानिक महत्व

जनै धारण गर्नाले चञ्चल चित्तलाई वशमा राख्न सकिने तथा व्यक्तिमा सद्गुणको विकास हुने विश्वास गरिन्छ । काम, क्रोधजस्ता नकारात्मक आवेगहरुमा नियन्त्रण राख्न सजिलो हुने विश्वास समेत गरिन्छ ।

जनै धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुने तथा यसमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन समेत जनैपूर्णिमाको दिन विधिपूर्वक जनैधारण गरिन्छ ।

जनै लगाउनाले हृदय रोगको सम्भावनालाई समेत कम गर्ने मत रहेको पाइन्छ । चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुनाले दिशा-पिसाब गर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्ने विस्वास गरिन्छ ।

 

Monday, June 20, 2022

महावीर ‘बहादुर शाह’को २६६ औं जन्म जयन्ती

 

नेपाललाई कुमाउँ-गढवालदेखि गङ्गासम्म फैल्याउने महावीर ‘बहादुर शाह’को २६६ औं जन्म जयन्ती

यिनै महावीरलाई राज्यकोष हिनामिनाको आरोपमा तातो तेल खन्याएर मारियो !

·          स्वदेश नेपाल,   सोमवार, असार ६, २०७९

·         बिशाल नेपाल एकीकरण अभियानका प्रमुख राष्ट्र निर्माता पृथ्वीनारायणपछिका अर्का महानायक ऐतिहासिक महापुरुष बहादुर शाहको आज २६६औं जन्म जयन्ती हो ।

·         पिता पृथ्वीनारायण शाह र माता नरेन्द्र राज्य लक्ष्मी देवीको माइलो सन्तानको रुपमा जन्मिएका बहादुर शाहलाई धेरै जसोले पृथ्वीनारायण शाहको कान्छो सन्तानको रुपमा चिन्छन् तर वास्तविक रुपमा बहादुर शाह माइला सन्तान हुन् ।

·         वंशावलीअनुसार पृथ्वीनारायण शाहका सन्तानमा जेठा प्रतापसिंह शाह, त्यसपछि बहादुर शाह र नारायण शाह जन्मिएका तर कान्छा नारायण शाहको निधन पछि बहादुर शाहलाई नै कान्छा भन थालिएको देखिन्छ ।

·         योग्य पिताका योग्य छोरा रहेका बहादुर शाहलाई इतिहासकारहरुले अभागी राजकुमार समेत भन्ने गरेका छन । एकिकरण अभियानमा पृथ्वीनारायण पछि उनकै योगदान बढी छ तर कामको जस कहिले पनि पाएनन ।

·         पृथ्वीनारायण शाहको नेपाल एकीकरण गर्ने महान सपना साकार पारी छाड्ने एक अदभूत साहसीक र कर्मनिषठ कर्तव्यपरायण बहादुर शाह नेपाल अधिराज्यका एक हुनाहार बिभुती हुनउन्कै नेतृत्वमा कर्णाली-बाइसी राज्य र गण्डकी-चौबिसी राज्य विशाल नेपालमा गाभिन सफल भएको थियो।

·         कुशल राजनीतिज्ञ तथा वैभवशाली देशभक्त जनताप्रेमी, वैदेशिक कुटनितिमा बिज्ञ र पोख्त बहादुर शाहले आफ्नो ८ बर्ष मात्र छोटाे नायबीकालमा ४४ वटा साना भारे टाकुरे २२-२४ से साना राज्यहरुलाइ विशाल नेपालमा जोड्न सफल भए, बहादुर शाहकै नेतृत्व र नायबीकालमा विशाल मुलुक चीन र चीनको स्वशासितक्षेत्र तिब्बत सङ्ग सफल कुतनितिक सम्बन्ध बनाउन र कायम राख्न अनि ऐतिहासिक सम्बन्ध राख्न सफल भएकैकारण चीन सरकार तथा तात्कालिक चीनका बादशाह बाट ‘कुङ्ग’ नामक उच्च पदक बाट सम्मानित भए।

·          

·         असार ६ -बहादुर शाह जन्मजयन्ती , बि सं २०५१ पौष ८ गते जारी गरिएको ६ रुपैंया अंकित हुलाक टिकट ।

·         बहादुरको उदयमान बहादुरी त्यो गिद्दे बेलायतलाई पचेन र त्यो इष्ट इन्डिया कम्पनीको नाममा भारत हत्याएर मस्ति गरिरहेका बेलायतिको कालो र बिषालु षडयन्त्रको उक्साहटमा दरबार वरिपरि घुम्ने स्वार्थी र अवसरबादी चौतरियाहरुलाई प्रयोग गरेर हुँदै नभएका झुटा मुद्दामा कषटडिमा राखेर हदैसम्मको शारीरिक-मानसिक यातन दिएर शरीरमा उम्लेको तेल खनाएर तड्पाइ तढ्पाइ १८५४ असार १४ का दिन महापुरुष बहादुर शाहको हत्या गरियो।

·         जबसम्म अखण्ड नेपाल अधिराज्य र देसभक्त स्वभिमानि नेपाली रहन्छ तबसम्म बहादुर शाहका स्मृति अजर अक्षुण र अमर रहिरहनेछ।

·         अर्जुन ज्ञवाली र पेशल आचार्यद्वारा लिखित पुस्तक ‘बाइबल र माओवाद’मा बहादुर शाहबारे देवीप्रसाद आचार्यले गरेको टिप्पणी यस्तो छ

·         एकीकरण महानायक बहादुर शाह यसरी बिदेशी क्रिश्चियन शक्तिको निशानामा परेका थिए !

·         नेपालको पछिल्लो कालखण्डको भनौँ वा आधुनिक इतिहासको अध्ययन गर्दा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान चलाएर काठमाडौं उपत्यकालाई नेपाली सार्वभौमभित्र समेटिसकेपछि यहाँबाट फिरङ्गी (क्रिश्चियन साम्राज्यवादी) का दूत पादरीलाई उपत्यका छोडाइएको घटनाका साथसाथै विदेशी साहू–महाजन, धर्म संस्कृतिलाई राष्ट्रभित्र आउन नदिनु, यो ‘असली हिन्दूस्तान’ हो भन्ने दिव्योपदेशमा उल्लेख गर्नुले नेपाली राष्ट्रिय एकताको आधारस्तम्भ सनातन हिन्दू धर्म संस्कृति भएको तथ्यलाई उजागर गरेको छ । त्यसबेला पनि क्रिश्चियनहरूले आफ्नो साम्राज्यवाद विस्तार गर्न बाइबल प्रयोग गर्ने गरेको देखिन्छ ।

·         तत्कालीन नेपाल एकीकरणको अगुवाइ गर्ने व्यक्तित्वहरूले यस तथ्यलाई समयमै बुझिदिएकाले नेपाल स्वतन्त्र राष्ट्रका रूपमा रहन सफल भएको देखिन्छ । तर, दुर्भाग्य नै भनौँ, नेपाल एकीकरण अभियान चल्दाचल्दै आफूलाई पनि राज्य दिनुपर्छ भनेर माग राख्ने महोद्दमकीर्ति शाह, दलमर्दन शाह, दलजीत शाहलगायत तत्कालीन भारदारहरूलाई देश निकाला गरिएपछि उनीहरू पटना र बेतियातिर गए । यी तीन जनासहित अन्य मानिसलाई क्रिश्चियन पादरीहरूले लोभलालच देखाएर तत्कालीन इस्टइन्डिया कम्पनीका दलाल (एजेन्ट) बनाएर तिनीहरूमार्फत नेपालमा चलखेल गर्न थालेको पाइन्छ ।

·         पृथ्वीनारायण शाह जीवित छउञ्जेल तिनीहरूको प्रभाव शून्य रहेको देखिन्छ । उनको देहवसानपछि महोद्दमकीर्ति शाह, दलमर्दन शाह र दलजित शाह यी तीनजनालगायतका केही मानिस नेपाल फर्किएका भए पनि बहादुर शाहको नायबी चलुन्जेल उनीहरूले नेपालभित्र भाँडभैलो मच्चाउन नसकेका मात्र होइनन् कि नेपालको एकीकरण अभियानलाई अवरुद्ध पार्नसमेत सकेनन् । यसरी प्रत्यक्ष रूपमा तिनीहरूले ठोस प्रभाव देखाउन नसकेका भए पनि तत्कालीन नेपालका केही भाइ भारदारहरूबीच फाटो र वैमनष्यता बढाउने दुस्कर्म भने गर्दैरहे । अन्ततः यिनीहरूले नेपाल आमाका वीर सपूत (वर्तमान नेपालको दुईतिहाइ भाग गुमेको नेपालको सम्पूर्ण भाग एकीकरण गर्ने सफल अभियानको शीर्ष नेतृत्व बहादुर शाहलाई जेलनेल ठोकेर, तातो तेल छ्यापेर मराउन सफल भए । तत्पश्चात् नेपालको केन्द्रमा पश्चिमा क्रिश्चियन साम्राज्यवादीहरूको प्रभाव बढ्दै गयो । फिरङ्गीका यी दलालहरूले बहादुर शाहको पालामा नेपालमा खोलिएको हतियार कारखाना बन्द गराए ।

·         भाइभारदारहरूबीच व्यापक गुट–फुट र वैमनश्यता बढेर अन्ततः आफैले पटक–पटक परास्त गरेको क्रिश्चियन साम्राज्यवादीसँग सुगौली सन्धि गरेर नेपालले आफ्नो दुईतिहाइ भू–भाग गुमाउने अवस्था निर्माण भयो । यसरी महोद्दामकीर्ति शाहजस्ता भारदारहरूमार्फत नेपालमा पसेका क्रिश्चियन साम्राज्यवादी (एजेन्ट)हरूको सङ्ख्या दिन–प्रतिदिन नेपालमा बढ्दै गयो । त्यसपछि तत्कालीन क्रिश्चियन ब्रिटिस साम्राज्यवादले उनीहरूमार्फत सच्चा देशभक्त नेपाल आमाका सपूतहरूलाई मार्ने, मराउने, विस्थापित गराउँदै लगेर वि.सं. १९०३ मा जंगबहादुरमार्फत कोतपर्व गराई सत्ता हत्याउन सफल भए ।

·         त्यसपछि राणाहरूमार्फत आफ्नो साम्राज्यवादलाई चुनौती दिने नेपालीका सन्तानलाई समाप्त पार्नका लागि नेपालका तामाखानी, फलामखानीलगायत सम्पूर्ण उद्योग बन्द गराउने, नेपालीलाई शिक्षाबाट वञ्चित गराउने र अन्धकारको युगमा धकेल्ने काम गर्न सफल भए । उनीहरूका दलालहरूलाई विभिन्न सेवासुविधा उपलब्ध गराएर मख्ख बनाउन सोभन्दा बाहेकका हामी सम्पूर्ण नेपालीलाई निरङ्कुश जहानियाँ शासनको जञ्जिरले बाँधेर राख्न सफलता प्राप्त गरे । ब्रिटिस (बाइबल) साम्राज्यवादीहरूलाई भारतमा भएको स्वतन्त्रता आन्दोलन र त्यसपछि नेपालमा चलेको प्रजातान्त्रिक आन्दोलनले केही अस्थिर र अन्योलको अवस्था सिर्जना गरायो । तिनै ब्रिटिस क्रिश्चियन लिगेसी बोकेका राणाहरूमार्फत शाहहरूलाई उक्साएर वि.सं. २०१७ मा बहुदलीय व्यवस्थालाई किनारा लगाउन सफल भएपछि वि.सं. २०१८ मा क्रिश्चियन साम्राज्यवादीका बिनाबर्दीका सेनाको टुकुडी ‘पिसकोर’मार्फत संस्थागत रूपमै नेपाल प्रवेश गरे ।

·         नेपालका गाउँगाउँ, बस्तीबस्तीमा पसेर के गर्दा नेपालीलाई आफ्नो साम्राज्यवादी जालभित्र फसाउन सकिन्छ भनेर रणनीति बनाई नयाँ शिक्षा पद्धति (२०२८), गुठी साट्ने बेच्ने कानुन आदि इत्यादि गतिविधि गर्दै अगाडि बढेर बुद्ध धर्मको आवरणमा दलाई लामालाई प्रयोग गरेर चीनलाई ध्वस्त गर्ने रणनीति बनाएजस्तै हिन्दू धर्मको खोल ओढेका घोर दक्षिणपन्थीहरूलाई प्रयोग गरेर नेपाली मौलिक धर्म संस्कृति समाप्त पार्दै नेपाललाई आफ्नो गुलाम बनाउने रणनीतिमा केही हदसम्म मात्र सफल भए । त्यसलाई पूर्णता दिनका लागि चर्चमार्फत लगानी गरेर माओवादका नाममा धर्मनिरपेक्षता लादेर ॐकार परिवारभित्रका सनातन धर्म संस्कृतिलाई समाप्त पारेर त्यस ठाउँमा क्रिश्चियानिटी संस्थागत गर्ने प्रयत्न भएको कुरालाई लेखकले उजागर गर्ने साहस गर्नुभएको छ । यो आफैँमा चुनौतीपूर्ण छ । उहाँको यो पुस्तक नेपाल राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्ने अभियानको कोसेढुङ्गा सावित हुनेछ ।

·         बहादुर शाहबारे विद्यावारिधी गरेका इतिहासकार भद्ररत्न वज्राचार्यका अनुसार

·         नेपाल एकीकरणलाई कुमाउँ-गढवालदेखि गङ्गासम्म फैल्याउने बहादुर शाह अर्थात् अभागी राजकुमार- बहादुर शाह सुरुआती दिनमा गोर्खा राजदरबारभित्र निकै लोकप्रिय थिए । यसका पछाडि केही स्पष्ट कारण देखिन्छन् । उनको जन्मका बेला बुबा पृथ्वीनारायण शाह कीर्तिपुर युद्धमा व्यस्त थिए, उनका लागि यो निकै तनावपूर्ण युद्ध सावित भयो । त्यस युद्धमा उनले कालु पाँडेलाई गुमाएका थिए । पृथ्वीनारायण शाह स्वयं मृत्युको स्थितिमा पुगेका थिए ।

·         कीर्तिपुर युद्धका बेला उनलाई धेरै पीर परेको थियो । ठीक यही बेला उनले बहादुर शाह जन्मेको खबर सुनेका थिए । यसले पृथ्वीनारायणलाई खुबै आनन्द दिएको थियो । उनले युद्धको तनाव भुल्ने बहाना पाएका थिए ।

·         दरबारभित्र दुई दाजुभाइमध्ये प्रतापसिंह शाहको तुलनामा बहादुर शाह नै बढी लोकप्रिय थिए । पृथ्वीनारायण शाहले १८१४ मा कीर्तिपुर जिते र नुवाकोटमा गएर राज्य गरे । पृथ्वीनारायण शाह जहाँ जान्थे, बहादुर शाह पनि त्यहीं पुग्थे । त्यसपछि १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौं जिते । त्यसपछि उनले काठमाडौं हेर्ने जिम्मा प्रतापसिंह शाहलाई दिए । आफूसँग बहादुर शाहलाई राखे ।

·         भारदारको कामै राजासँग जो हुन्छ, त्यसकै चाकडी गर्ने हुन्छ । बहादुर शाहलाई खुसी बनाए मात्र पृथ्वीनारायण शाह पनि खुसी हुने हुँदा भारदार सबैले खालि बहादुर शाहको मात्र प्रशंसा गरे । तिनलाई बहादुर शाहले पनि माया गर्ने भए । यता काठमाडौंमा रहेका प्रतापसिंह शाहको आफ्नो अलगै भारदारको समूह थियो । ती नयाँ भारदार थिए । पुराना भारदार जति थिए, ती युद्धमा जाने खालका थिए ।

·         काठमाडौंमा रहेका भारदारमा वज्रनाथ पण्डित, स्वरूपसिंह कार्कीजस्ता थिए । यसले एकातर्फ पुराना भारदार र अर्कोतर्फ नयाँ भारदारको स्थिति उत्पन्न गरायो । यसरी राजदरबारमा पहिलोपल्ट फुट आयो । यसबाट पृथ्वीनारायण शाहको जीवनको अन्त्यसम्म दरबारमा दुई गुट भइसकेका थिए । यसरी गुट–गुट भएको तथ्यको झल्को उनको दिव्य उपदेशमा पनि पाउन सकिन्छ ।

·         त्यति बेला पुराना भारदारले नयाँ भारदारलाई हटाउन खोजेका थिए । यसै क्रममा दरबारमा ‘शक्तिका लागि संघर्ष’ सुरु भयो । दरबारमा यस्तो प्रवृत्ति पहिलोपल्ट देखिएको थियो । यो नै बहादुर शाहको उत्थान र पतनको कारण पनि बन्यो । बहादुर शाह कति लोकप्रिय थिए भन्ने अभिलेख वसन्तपुर दरबारमै पाइन्छ । त्यसमा पृथ्वीनारायण शाहका दुई छोरामध्ये बहादुर शाह निकै लोकप्रिय छन् भनेर नै बयान गरिएको छ ।

·         तर त्यो अभिलेख अन्तत: बहादुर शाहका लागि अभिशाप सावित भयो । दरबारभित्र सुरु हुन लागेको द्वन्द्वको पृष्ठभूमि यसैले तयार पारेको थियो । एक समूहले प्रतापसिंह शाहलाई आफ्ना भाइबाट सशंकित हुन सल्लाह दियो । पृथ्वीनारायण शाहको १८३१ मा मृत्यु हुँदा बहादुर शाह १७ वर्षका मात्र थिए । यता राजा भने प्रतापसिंह शाह भए । त्यही बेला नयाँ राजालाई भनियो, बहादुर शाहले उनलाई सत्ताच्युत गर्न सक्छन् ।

·         त्यही अफवाहबीच पृथ्वीनारायण शाहको मृत्यु भएको १३ दिन नहुँदै बहादुर शाहलाई नजरबन्दमा राखियो । खासमा उनलाई यसरी नजरबन्दमा राख्नुपर्ने कारण नै थिएन । त्यसैले हाम्रा इतिहासकार के भन्छन् भने दुई दाजुभाइबीच खटपट सुरु भइसकेको थियो । पछि बहादुर शाहलाई भारतको बेतिया पठाइयो । षड्यन्त्र गरेको आरोपमा उनलाई देश निकाला गरिएको थियो । बेतियामै रहेका बहादुर शाहले दाजुलाई आफूले केही षड्यन्त्र नगरेको आशयको चिठ्ठी पनि लेखे ।

·         बरु प्रतापसिंह शाहलाई एकीकरण अभियान फेरि सुरु गर्न सल्लाह दिए । प्रतापसिंह शाह जिउँदो रहेसम्म नै बहादुर शाह नेपाल फर्कन पाएनन् । त्यति बेला रानी राजेन्द्रलक्ष्मीलाई पनि के लागिसकेको थियो भने बहादुर शाहले कतै नयाँ राजा रणबहादुर शाहमाथि बदला लिने त होइनन् ? तर पनि उनले एक समूह भारदारलाई दमन गर्न बहादुर शाहको साथ खोजिन् । यसरी १८३४ मा बहादुर शाह नेपाल फर्के ।

·         दुवै मिलेर छ महिना राज्य चलाए । पछि भाउजू–देवरबीच पनि मेलमिलाप हुन सकेन । भारदार षड्यन्त्रबीच बहादुर शाह फेरि एकपल्ट बाहिरिए । राजेन्द्रलक्ष्मीको १८४२ मा मृत्यु भएपछि भने बहादुर शाह फिर्ता आए र नायबी सुरु गरे । यसरी बहादुर शाह एकपछि अर्को संघर्ष गर्दै अघि बढे । सत्तामा आउन उनले ठूलो संघर्ष गरे । सत्तामा आउनेबित्तिकै उनले स्वरूपसिंह कार्कीमाथि बदला लिए/मारे ।

·         यसले दरबारभित्रको एक खेमा फेरि बहादुर शाहको विपक्षमा गयो । राज्य काठमाडौंबाट चल्न थालेदेखि दरबारको षड्यन्त्रमा पहिलो मारिने यिनै स्वरूपसिंह कार्की थिए । आफ्ना विपक्षीलाई मार्ने षड्यन्त्रको सुरुआत यहींबाट भएको थियो । यसपछि बहादुर शाहले सबै भारदारलाई बोलाएर नेपाल एकीकरण कसरी सुरु गर्ने भन्ने सल्लाह गरे ।

·         बहादुर शाहको पहिलो रणनीति थियो, अरू राज्यलाई नेपालमा आश्रित गराउने । यस नीतिअनुसार शक्तिशाली पाल्पाले सबैभन्दा पहिले नेपालसँग आश्रित हुन मान्यो । त्यसपछि बहादुर शाहले युद्ध नीति अपनाए । यसअनुसार १८४३ को असारदेखि फेरि सैनिक अभियान सुरु गरे । छ महिनाभित्र नेपाल सीमा भेरी नदीसम्म पुगिसकेको थियो । त्यसपछि केही समय नेपाली सेनाले आराम लिएको थियो । तिब्बतसँग युद्ध भयो, १८४४–४५ मा । त्यो युद्धको समाप्तिपछि फेरि नेपालको विस्तार सुरु भयो ।

·         लगत्तै १८४६ मा गण्डकीपारि २२ राज्य जित्यो, १८४९ सम्म कुमाउँ गढवाल पनि हात पार्‍यो । नेपालको सीमा गंगा नदीसम्म पुग्यो । यसबीचमा फेरि नेपालको तिब्बतसँग युद्ध सुरु भयो । तिब्बतले यसपल्ट चीनको सहयोग मागेको थियो । यसपल्टको युद्धमा भने नेपाल हारको संघारमा पुगेको थियो । त्यसैले काठमाडौंबाट राजधानी सारेर नुवाकोट लगिएको थियो । यस्तोमा नेपालले पनि अंग्रेजसँग सहयोग लिन खोज्यो ।

·         चीनजस्तो ठूलो र शक्तिशाली देशलाई छाडेर अंग्रेजले नेपालको पक्ष लिने प्रश्नै थिएन, त्यसैले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न कक प्याट्रिकको नेतृत्वमा फौज पठायो । जति बेला कक प्याट्रिक काठमाडौं आइपुगे, त्यति बेलासम्म तिब्बत र चीनसँगको युद्ध समाप्त भइसकेको थियो । त्यसैले कक प्याट्रिकलाई फिर्ता पठाइयो । तर उनले आफू फर्कंदा नेपालबारे सबैखाले तथ्यांक भने लान सफल भए । यसबारे उनको सन् १८१२ मा पुस्तक पनि निस्क्यो । त्यसको दुई वर्षपछि नेपालको अंग्रेजसँग युद्ध नै भयो । यसरी अंग्रेजी फौज बोलाउनु नै बहादुर शाहको पतनको कारण बन्यो । रणबहादुर शाहले बहादुर शाहमाथि पछि लगाएका १२ आरोपमध्ये प्रमुख हो– अंग्रेजी फौजलाई नेपाल भित्र्याउनु । रणबहादुर शाहको दाबी थियो, अंग्रेजसँग मिलेर बहादुर शाहले चिनियाँ बादशाहसँग शत्रुता गर्न खोजेका थिए ।

·         बहादुर शाहले नेपाल एकीकरणमा ठूलो योगदान गरे पनि आफूले जितेको राज्यका जनतामाथि भने न्याय गर्न सकेनन् । यो नै उनको सबैभन्दा ठूलो कमजोरी सावित भयो । एकीकरण अभियानको हतारोमा धेरै ठाउँमा लुटपाट पनि भए । पराजित राजपरिवारका सदस्यमाथि अमानवीय व्यवहार पनि अत्यधिक भयो । यसले नेपाली गोर्खाली सेनाको सम्मान पनि रहेन । पछि अंग्रेजसँग युद्ध हुँदा तिनै पराजित राजपरिवारले नेपाललाई साथ दिएनन् । अंग्रेजसँग मिले । विशेषत: गरेर कुमाउँ गढवाल । नेपालले त्यस युद्धमा एकतिहाई भूभाग गुमाउनुपर्नाको ठूलो आधार बहादुर शाहकै पालामा तयार भएको थियो । यी कुमाउँ गढवाल जितेका त बहादुर शाहले नै थिए । यस्ता धेरै अरू उदाहरण छन् ।

·         बहादुर शाहले राज्य त विस्तार गरे, तर आफ्नो बनाउन भने सकेनन् । त्यसैले उनी राम्रा एकीकरणकर्ता त थिए, तर राम्रो प्रशासक थिएनन् । नेपोलियन बोनापार्ट पनि यस्तै थिए । उनले फ्रान्सका लागि धेरै युद्ध जिते, तर जहाँ–जहाँ युद्ध जिते, त्यहाँका जनताको मन जित्न सकेनन् । बहादुर शाहले जति काम गरे, त्यसको फल भोग्न पाएनन् । पछि गएर भारदारको साथ पाएनन्, राजा नै उनको विपक्षमा गए ।

·         उनीमाथि जस्तै आरोप लागे पनि बहादुर शाहले राजतन्त्रको भने कहिल्यै विरोध गरेनन् । राजाको विरोधमा कहिल्यै काम गरेनन् । अन्त्यतिर आफ्नो मृत्युलाई नै ठीक माने । रणबहादुर शाहलाई लेखेको अन्तिम पत्रको जवाफमा बहादुर शाहले लखेका थिए, ‘मैले सबै भोगिसकें, अब मलाई धरै बाँच्ने आस पनि छैन । म जस्तो छु, त्यस्तै ठीक छु । अब मलाई केही चाहिन्न । राजाले गरेको काममा मेरो केही भन्नु छैन ।’

·         रणबहादुर शाहले यसपछि पनि आफ्ना काकासँग चीनसँगको युद्धको हिसाब मागे । बहादुरले त्यस्तो हिसाब दिन सकेनन् । त्यसै कारण बहादुर शाहलाई भीमसेनस्थानको जेलमा राखियो । त्यसै क्रममा उनको अस्वाभाविक मृत्यु भयो । पछि उनलाई मारिएको आरोप लाग्छ भनेर रूखमा झुन्ड्याइएको थियो, आत्महत्या गरेको जस्तो देखाउन । बिहान हुन नपाउँदै उनको लास पनि जलाइसकिएको थियो ।

·         बहादुर शाहको मृत्युबारे तीन स्रोत छन्, एउटा अंग्रेज, अर्को चिनियाँ । तेस्रो हाम्रो आफ्नै स्थानीय भनाइ । यो भनाइ खासमा उनको परिवारको हो । त्यो समय काठमाडौंको भीमसेनस्थानमा जेल थियो । स्थानीय रूपमा त्यस स्थानलाई भिद्यंपाचा भनिन्छ । अहिले त्यही स्थानमा परोपकार केन्द्र छ । बहादुर शाहलाई त्यहींको जेलमा राखिएको थियो । उनको परिवारको के दाबी थियो भने उनको मृत्यु स्वाभाविक थिएन । त्यो प्राकृतिक थिएन ।

·         बहादुर शाहको मृत्यु अकालमा भएको थियो, जेलमै रहेका बेला । धेरै पछि म त्यहाँ जाँदा जेलको अवशेष थिएन । जेलमै रहेको बेला त्यति बेलाका राजा रणबहादुर शाहको निर्देशनमा उनको शरीरमा तातो तेल छर्किइएको थियो । तातो तेलले पुर्‍याएको पीडाले नै अन्तत: बहादुर शाहको मृत्यु भएको थियो । त्यो बिभत्स मृत्यु थियो । त्यसअगाडि बहादुर शाहकी पत्नीलाई बदनाम गर्ने चेतावनी पनि दिइएको थियो ।

·         बहादुर शाहको मृत्यु १८५४ को असार १५ मा भएको थियो । मृत्युका बेला उनी ४० वर्षका मात्र थिए । उनको जन्म भने चिनाअनुसार असार कृष्ण पक्ष औंसीका दिन भएको मानिन्छ । चित्तरञ्जन नेपालीका अनुसार यो असार ६ गते पर्छ । मिति मिलाउने हो भने यो सन् १७५७ जुन १६ हुन आउँछ ।

·         बहादुर शाहको मृत्यले ०५८ सालको पछिल्लो राजदरबार हत्याकाण्डलाई पनि सम्झाउने गर्छ । यसबीच यस्ता धेरै हत्याकाण्ड भए, राजदरबारभित्र । सबैको प्रकृति यस्तै छ । बहादुर शाहको त्यो मृत्युलाई वीरेन्द्र र उनको परिवारको मृत्युसँग पनि तुलना गर्न
सकिन्छ । दरबारभित्रको षड्यन्त्रमा मारिने धेरै छन् । मारिनेको शृङ्खला नै तयार हुन्छ, तर कसरी र किन मारिए भन्ने तथ्य भने कहिल्यै बाहिर आएनन् ।

·         बहादुर शाहको मृत्यु पनि वास्तवमै कसरी भयो भनेर कहिल्यै बाहिर आएन । तर बहादुर शाहलाई सम्झिने कारण उत्तिकै छन् । खासमा बहादुर शाहलाई अभागी राजकुमार भनिन्छ । नेपाली इतिहासकारले यस्तै भन्न रुचाएका छन् । उनलाई योग्य पृथ्वीनारायण शाहका योग्य छोरा पनि भनिएको छ ।एउटा तथ्य के निश्चित छ भने पृथ्वीनारायण शाहपछि बहादुर शाह हुँदैनथे भने नेपालको अवस्था आजको जस्तो हुँदैनथ्यो ।

·         अग्नि समशेरको फेसबुक पोस्ट अनुसार ” पृथ्वीनारायणका माहिला सुपुत्र बहादुर शाह यो मुलुकको पहिलो मुलुकी ऐन बनाउने नायक हुन, उन्ले १८४८ मा कृषि क्षेत्र, भुमीसुधारका क्षेत्रमा र हतियार निर्माणमा समेत आमूल परिवर्तन गरे र आफैंमा आत्मानिर्भर हुने मौलिक र बैज्ञानिक बाटो अबलम्बन गरे। १८४९ मा कानुन तथा स्थिति बाँधे त्यो स्थितिले पुर्व टिष्टा पश्चिम् काँगडा सम्म फैलिएको बिशाल नेपाल अधिराज्यको शान्ति सुरक्षा, न्याय र प्रशासन बिदेश नीति र कुटनितीलाई स्वतन्त्र र स्वाधीन बनाउन बलियो विधि बिधान नीति र नियमको ब्यबस्था गरे, बहादुर शाहले बाँधेको स्थिति-ऐन सबै बडामहाराजधिराज पृथ्वीनारायणको महान दिब्योपदेशको ब्यबहारिक निरन्तरता थियो ।”

·          

 



किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...